विकासन्युज

अमेरिकामा रोजगारी गुमाएका ३ हजार नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग

काठमाडौं । अमेरिकाको टेक्सस राज्यस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत कामविहीन नेपाली विद्यार्थीलाई खाद्यान्न सहयोग गरिने भएको छ । टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि समुदाय कार्यक्रम नामक अभियान सुरु गरेर करिब तीन हजार नेपाली विद्यार्थीका लागि खाद्यान्न सहयोग संकलन गरिरहेका छन् । कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा विद्यार्थीलाई चामल, दाल, तेल, नुन, चना लगायतका खाद्यान्न सामग्री उपलब्ध  गराउन लागिएको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिए । महासचिव भुसालका अनुसार हालसम्म ७०० बढी नेपाली विद्यार्थीले खाद्यान्न बुझेर लगिसकेका छन् । सवारी साधन भएका विद्यार्थीले नेपाली साँस्कृतिक तथा अध्यात्मिक केन्द्र युलेशबाट खाद्य सामग्री प्राप्त गर्नसक्ने र सवारी साधन नभएका विद्यार्थीलाई उनीहरुको ठेगानामा  पुर्याउने व्यवस्था मिलाइएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गैरकानुनी आप्रवासीलाई निष्काशन गर्ने योजनालाई कडाइका साथ  कार्यान्वयनमा ल्याएपछि त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीमा पनि परेको छ । गैरकानुनी आप्रवासीको खोजी गर्ने क्रममा प्रहरीले दैनिक हजारौं व्यावसायिक फर्ममा छापा मारिरहेको छ । सोही क्रममा कानुनी रूपमै बसोबास गरिरहेका र कामदार अनुमति पत्र (वर्क पर्मिट) भएका बाहेकले व्यावसायिक फर्ममा काम गरिरहेको भेटिएमा प्रहरीले चेतावनी दिने, पक्राउ गर्ने र केहीलाई निष्काशन गर्दै आइरहेको छ । यसैको प्रभावमा नेपाली विद्यार्थी परेका हुन् । उनीहरूलाई काम गरिरहेको भेटेमा प्रहरीले पक्राउ गर्न सक्छ । गैरआवासीय नेपाली सङ्घ अमेरिकाको तथ्याङ्कअनुसार हाल अमेरिकाका विभिन्न विश्वविद्यालयमा करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत छन् । रासस

नागढुंगाबाट सुनसहित २ जना भारतीय नागरिक पक्राउ

काठमाडौं । नागढुंगाबाट सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला छन् । काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भैँसीले हान्दा सिन्धुलीमा एक जनाको निधन

कमलामाई । सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा बिहीबार बिहान निधन भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।

आन्तरिक पर्यटकको रोजाइमा तेह्रकुनेपोखरी

फिक्कल । दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । यहाँ घुम्न, तस्बिर खिच्न, भिडियो छायाङ्कन गर्न र वनभोज खान आउनेको हरेक सप्ताहान्तमा भीड लाग्ने गरेको छ । स्थानीयवासीको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुङ्गासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । जैविक विविधता, प्राकृतिक सौन्दर्य र सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय सुवर्ण राईले बताए । ‘शनिबार र सार्वजनिक बिदाको दिन पोखरीमा आउने पर्यटकको भीडभाड हुने गर्दछ’, उनले भने । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले माई नगरपालिकामा आजदेखि तेह्रकुनेपोखरी पर्यटन महोत्सव हुँदैछ । स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता संस्थाको आयोजनामा माई नगरपालिका–१ र ९ को सङ्गमस्थलमा महोत्सव हुन लागेको हो ।  यही फागुन ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिका संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनको प्रयास गरिने महोत्सव आयोजक समितिका अध्यक्ष पदम राईले बताए । महोत्सवमा आदिवासी लिम्बू, राई, मगर, तामाङलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेशभूषा प्रदर्शन गरिने उहाँले जानकारी दिए। ‘यहाँका आदिवासी भूमिपुत्रहरुको मौलिका संस्कृति, कला, साहित्य, सङ्गीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने हाम्रो प्रयास हो । यसका लागि तीनै दिन अलगअलग कार्यक्रम तय गरिएको छ’, अध्यक्ष राईले भने, ‘प्रत्येक दिन फरकफरक जातजातिको पहिचान र संस्कृति झल्कने झाँकीसहित वेशभूषा प्रदर्शन गरिनेछ ।’ किरातीहरुको प्रथम राजा ‘यलम्बर’को मूर्ति स्थापना सहयोगार्थ प्रत्येक दिन साँझमा ‘यलम्बर साँझ’ साङ्गीतिक कार्यक्रम तय गरिएको छ । कार्यक्रममा पहिलो दिन गायक तथा सङ्गीतकार कृष्णभक्त राई, दोस्रो दिन हास्यकलाकार पदम राई र तेस्रो दिन हास्यकलाकार विलसनविक्रम ९तोक्मे बुढा० को प्रस्तुति रहनेछ । यसैगरी, लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला सिली, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्य जातिको सङ्गिनी नृत्यलगायत प्रस्तुत हुने उनले बताए । महोत्सवले तेह्रकुनेपोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्नमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बूले बताए । ‘विगत चार वर्षदेखि यहाँका स्थानीयले बर्सेनि महोत्सव आयोजना गरिरहनुभएको छ’, उनले भने, ‘यसले तेह्रकुनेपोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्नमा सहयो पुगिरहेको छ भन्नेमा विश्वस्त छु ।’ उनले तेह्रकुनेपोखरीको प्रवद्र्धन र संरक्षणमा नगरको तर्फबाट सधैँ साथ रहने बताए। सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा अवस्थित तेह्रकुनेपोखरीसम्मको सडक विस्तार जारी छ । अन्य भौतिक पूर्वाधार पनि धमाधम बनिरहेकाले यो पोखरी अधिकभन्दा अधिक पर्यटकको प्रमुख गन्तव्य बन्ने अध्यक्ष राईको विश्वास छ । रासस

ईभी ब्याट्री रिसाइक्लिङमा नयाँ उपलब्धी हासिल, युरोपलाई चीनविरुद्ध प्रतिस्पर्धा गर्न सजिलो

काठमाडौं । दुई युरोपियन स्टार्टअपहरूले बिहीबार इलेक्ट्रिक सवारीसाधन (ईभी) का ब्याट्री सामग्री रिसाइक्लिङमा महत्त्वपूर्ण प्रगति हासिल गरेको घोषणा गरेका छन्। यो उपलब्धीले युरोपेली नियमहरू पूरा गर्न, चीनको ब्याट्री आपूर्ति शृंखलामा निर्भरता घटाउन र कार्बनडिअक्साइड उत्सर्जन कमी गर्न मद्दत गर्नेछ । अगस्ट २०३० देखि युरोपेली अटोमोबाइल निर्माताहरूका ईभी ब्याट्रीहरूमा कम्तीमा ६ प्रतिशत रिसाइकल गरिएको लिथियम र निकेल र १६ प्रतिशत कोबाल्ट समावेश गर्नुपर्ने जनाइएको छ । जुन पाँच वर्षपछि अझ बढ्नेछ । यसले चीनलाई चुनौती दिने प्रतिस्पर्धा बढाएको छ । ब्रिटिस स्टार्टअप अल्टिलियमको सफलता ब्रिटिश ब्याट्री रिसाइक्लिङ स्टार्टअप अल्टिलियमले लन्डनको इम्पेरियल कलेजले गरेको अनुसन्धान अनुसार यसको रिसाइकल गरिएको क्याथोड एक्टिभ सामग्रीबाट बनेको सानो ब्याट्री चिनियाँ आपूर्तिकर्ताहरूबाट प्राप्त नयाँ मटेरियलबाट बनेको ब्याट्रीभन्दा राम्रो वा उत्तम प्रदर्शन गर्ने भनेको छ । क्याथोड मटेरियलमा सामान्यतया लिथियम, कोबाल्ट, निकेल वा म्याङ्गनीज हुन्छ । कम्पनीको मुख्य अपरेटिङ अफिसर क्रिस्चियन मास्र्टनले रायटर्सलाई भने, ‘कम्पनीको रिसाइकल गरिएको मटेरियलले नयाँ सामग्रीको तुलनामा कार्बनडाइअक्साइड उत्सर्जन ७० प्रतिशतले घटाउँछ र लागत २० प्रतिशतले कम गर्छ ।’ ’यो एक वास्तविक प्राविधिक सफलता हो जसले अटोमेकरहरूका लागि रिसाइकल गरिएको सामग्रीको प्रयोग जोखिममुक्त बनाउन मद्दत गर्छ,’उनले थपे । अल्टिलियममा चिलीको सोसिएडाड किमिका वाई मिनेरा र जापानी व्यापारिक कम्पनी मारुबेनीले लगानी गरेका छन् । कम्पनीले हाल टाटा मोटर्सको एकाइ जेएलआरसँग पुरानो जगुआर आइ–पेस इलेक्ट्रिक वाहनहरूबाट रिसाइकल गरिएको सामग्रीबाट बनेको इलेक्ट्रिक वाहन ब्याट्री सेलहरूमा काम गरिरहेको छ । अर्कोतर्फ जर्मनीको टोजेरोले होन्डालगायतका लगानीकर्ताहरूबाट १७ मिलियन युरो (१७.५६ मिलियन डलर) सङ्कलन गरेको छ र यसले ग्राफाइट रिसाइक्लिङको लागि पायलट प्लान्टमा काम गरिरहेको छ । यसले विश्वव्यापी अटोमेकरहरूलाई आपूर्ति गर्ने विषयमा कुराकानी गरिरहेको छ । टोजेरोको हाइड्रोमेटालर्जी प्रक्रियाले ग्राफाइट रिसाइक्लिङ गर्दा उत्सर्जन ‘नेट जीरो’ हुन्छ यदि नवीकरणीय ऊर्जा प्रयोग गरिएको भने । जसले ओटोमेकरहरूलाई मद्दत गर्छ किनभने कुनै पनि लिथियम आयन ब्याट्रीको कार्बन फुटप्रिन्टको ४० प्रतिशत ग्राफाइटले ओगटेको हुन्छ । टोजेरोले विश्वव्यापी ओटोमेकरहरूलाई रिसाइकल गरिएको ग्राफाइट आपूर्ति गर्ने विषयमा कुराकानी गरिरहेको पनि जनाइएको छ । कम्पनीले अर्को दुई वर्षभित्र पायलट प्लान्ट निर्माण गर्ने र २०२७ सम्ममा प्रति वर्ष लगभग २ हजार टन रिसाइकल गरिएको ग्राफाइट उत्पादन गर्ने लक्ष्य राखेको छ । जुन लगभग ५० हजार इलेक्ट्रिक वाहनहरूका लागि पर्याप्त हुनेछ । (एजेन्सीहरूको सहयोगमा) निसान र होन्डाको ६० अर्ब डलरको मर्जर वार्ता कसरी असफल भयो ? मस्कको दशक लामो ‘स्वचालित टेस्ला’ ल्याउने वाचा पूरा होला ? विज्ञ भन्छन्- जोखिम धेरै विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने

करोड बढी तलब खान्छन् होटलका सीईओ, यस्तो छ सुविधासम्पन्न यी ६ होटलका सीईओको तलब

काठमाडौं । सुविधा सम्पन्न ६ वटा होटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा महाप्रबन्धकहरूले आकर्षक तलब सुविधा लिने गरेका छन् । होटलका लागि अनुभवी, योग्य र विज्ञ सीईओ आवश्यक पर्ने भएकोले कम्पनीले पनि आकर्षक तलब सुविधा प्रदान गरेर सीईओ राख्ने गरेको देखिएको हो । ६ वटा पब्लिक कम्पनीका रूपमा सूचीकृत भएका होटलहरूमा कार्यरत सीईओहरूले एक कराड बढी बढी तलब सुविधा लिने देखिएको हो । सार्वजनिक तथ्यांकअनुसार सबैभन्दा बढी हायात र सोल्टी होटलका सीईओले तलब लिने गरेका छन् । कुन सीईओको तलब कति ? तारागाउँ रिजेन्सी होटल्स गत आर्थिक वर्ष २०८०/८१ मा यस कम्पनीले प्रबन्ध सञ्चालकलाई कुल १ करोड २० लाख ८७ हजार २४ रुपैयाँ र कार्यकारी सञ्चालकलाई ८१ लाख ७ हजार १५० रुपैयाँ पारिश्रमिकवापत भुक्तानी गरेको छ । साथै गाडी तथा इन्धन सुविधा पनि प्रदान गरिएको छ । होटलको सञ्चालक समिति बैठक बस्दा प्रतिबैठक अध्यक्ष र सदस्यहरूलाई समान रूपमा ११ हजार ७६४ रुपैयाँ बैठक भत्ता प्रदान गरिएको छ । आव २०७९/८० मा प्रबन्ध सञ्चालकलाई कुल १ करोड ११ लाख ८९ हजार ६३ रुपैयाँ (करसमेत) र कार्यकारी सञ्चालकलाई ७५ लाख ४ हजार ८५९ रुपैयाँ पारिश्रमिक भुक्तानी गरेको कम्पनीले जनाएको छ । कम्पनीको प्रबन्ध सञ्चालक अरुणकुमार सराफ छन् भने कार्यकारी सञ्चालक सुरेशलाल श्रेष्ठ छन् । सोल्टी होटल लिमिटेड सोल्टि होटलले आ‍व २०८०/८१ मा कम्पनीका कार्यकारी अध्यक्ष, उपाध्यक्ष, महाप्रबन्धक र प्रबन्धकहरूलाई पारिश्रमिक, भत्ता र अन्य सुविधाहरू वापत १६ करोड २० लाख १८ हजार ७३८ रुपैयाँ प्रदान गरेको कम्पनीले जनाएको छ । आव २०७९/८० मा कार्यकारी अध्यक्ष, उपाध्यक्ष, महाप्रबन्धक र प्रबन्धकहरूलाई कम्पनीले १४ करोड ३६ लाख ४६ हजार ३७७ रुपैयाँ प्रदान गरेको थियो । गत आवमा यस कम्पनीको कुल ६ पटक सञ्चालक समितिको बैठक बसेको थियो । गत वर्ष कम्पनीका कार्यकारी अध्यक्षले बैठक भत्ता लिएका थिएनन् । तर, सञ्चालक समितिका सदस्यहरूले बैठक भत्ता बापत १७ लाख ९४ हजार १३२ रुपैयाँ बुझेको कम्पनीले जनाएको छ । कम्पनीले सञ्चालक समितिको प्रति बैठक भत्ता बापत २५ हजार रुपैयाँ प्रदान गर्दै आएका छन् । कम्पनीका अनुसार आव २०७९/८० मा सञ्चालकहरूलाई १४ लाख ९० हजार रुपैयाँ बैठक भत्ता प्रदान गरेको थियो । कम्पनीले कार्यकारी अध्यक्ष, उपाध्यक्ष र महाप्रबन्धकहरुलाई अन्य सुविधाहरुको रुपमा ड्राइभर, सवारीसाधनको इन्धन तथा मर्मतसम्भारसहित कार्यालय सवारी साधन (कार) पनि उपलब्ध गराउने व्यावस्था गरेको छ । कम्पनीको कार्यकारी अध्यक्ष पदमा दिनेशबहादुर विष्ट कार्यरत छन् भने उपाध्यक्ष पदमा सुदर्शन चापागाईं छन् । ओरियण्टल होटल्स लिमिटेड ओरियण्टल होटल्सले आव २०८०/८१ मा प्रबन्ध सञ्चालकलाई १ करोड ३६ लाख ५० हजार रुपैयाँ, सहप्रबन्ध सञ्चालकलाई ७३ लाख ६१ हजार ९०६ रुपैयाँ र महाप्रबन्धकलाई १ करोड १० लाख ४२ हजार २१६ रुपैयाँ पारिश्रमिक प्रदान गरेको छ । यसको अलावा निजहरूसँग भएको सम्झौता बमोजिम बस्ने गरेको घरको बिजुली, खानेपानी, मर्मत सम्भार तथा टेलिफोन खर्च पनि कम्पनीले नै व्यहोर्ने गरेको छ । सञ्चालक समितिमा भाग लिए बापत प्रतिबैठक भत्ता अध्यक्षलाई १० हजार रुपैयाँ र अन्य सञ्चालकहरुलाई ९ हजार रुपैयाँ उपलब्ध गराएको कम्पनीले जनाएको छ । आव २०७९/८० मा प्रबन्ध संचालकलाई १ करोड ३६ लाख ५० हजार रुपैयाँ, सहप्रबन्ध संचालकलाई ७३ लाख ६१ हजार ४०५ रुपैयाँ र महाप्रबन्धकलाई ८८ लाख ६ हजार २५० रुपैयाँ पारिश्रमिक प्रदान गरिएको थियो । सिटि होटल सिटि होटलले गत आव २०८०/८१ मा कम्पनीका महाप्रबन्धक वरुण तलवारलाई ९० लाख ६३ हजार ९७५ रुपैयाँ भुक्तानी गरेको छ । आव २०७९/८० मा महाप्रबन्धक वरुण तलवारलाई ९३ लाख ९ हजार ९०१ रुपैयाँ भुक्तानी गरेको थियो । यस कम्पनीका सञ्चालकहरूलाई प्रत्येक बैठक बापत १० हजार रुपैयाँ (कर सहित) बाहेक कुनै पनि पारिश्रमिक, भत्ता र सुविधा दिइएको छैन । सञ्चालक समितिलाई आव २०८०/८१ मा भुक्तान गरिएको कुल बैठक भत्ता ३ लाख रुपैयाँ रहेको छ । आव २०७९/८० मा सञ्चालकहरूलाई बैठक भत्ता बापत २ लाख ८० हजार रुपैयाँ भुक्तानी गरिएको थियो । कम्पनीको अध्यक्ष पवन कुमार गोल्यान छन् भने कार्यकारी निर्देशक अक्षय गोल्यान छन् । चन्द्रागिरि हिल्स चन्द्रागिरि हिल्सको सीईआले ६१ लाख बढी तलब सुविधा लिने गरेका छन् । आव २०८०/८१ मा कम्पनीका पूर्व महाप्रबन्धक संजिव थापालाई पारिश्रमिक, भत्ता, तथा सुविधामार्फत ३० लाख ४० हजार १८४ रुपैयाँ (कर सहित) प्रदान गरिएको थियो भने हालका प्रमुख कार्यकारी अधिकृत अरुण प्रधानलाई पारिश्रमिक, भत्ता, तथा सुविधा मार्फत ३१ लाख ६३ हजार ९६५ रुपैयाँ (कर सहित) प्रदान गरिएको छ । आव २०७९/८० मा कम्पनीका पूर्वमहाप्रबन्धक सञ्जीव थापालाई पारिश्रमिक, भत्ता, तथा सुविधामार्फत ६१ लाख १२ हजार ३२५ रुपैयाँ (कर सहित) प्रदान गरिएको थियो । साथै सो वर्ष निमित्त महाप्रबन्धक श्याम तण्डुकारलाई पारिश्रमिक, भत्ता तथा सुविधाबापत ३४ लाख ५६ हजार ९२४ रुपैयाँ (कर सहित) प्रदान गरिएको थियो । आव२०८०/८१ मा सञ्चालकहरूलाई सञ्चालक समितिको बैठक भत्ताका रुपमा संचालक समितिका अध्यक्षलाई १ लाख ६० हजार तथा अन्य संचालकहरुलाई ५ लाख ९५ हजार रुपैयाँ भुक्तानी भएको छ । आर्थिक वर्ष २०७९/८० मा संचालकहरूलाई बैठक भत्ताका रुपमा संचालक समितिका अध्यक्षलाई ६५ हजार तथा अन्य संचालकहरूलाई २ लाख ३ हजार भुक्तानी भएको छ । कालिञ्चोक दर्शन कालिञ्चोक दर्शन लिमिटेडले गत आव २०८०/८१ मा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब तथा अन्य सुविधाबापत् एक वर्षमा २८ लाख बढी भुक्तानी गरेको छ । उनलाई तलब बापत १७ लाख ७४ हजार ८ सय रुपैयाँ, भत्ता तथा बोनस बापत ८ लाख ४० हजार ५२५ रुपैयाँ, सञ्चय कोष बापत १ लाख ८ हजार ७८० रुपैयाँ र दशैँ भत्ता बापत ९० हजार ६५० रुपैयाँ भुक्तानी गरेको छ । साथै सीईओलाई गाडी सुविधासँगै चालक, मोबाइल खर्च, बीमा ऐन बमोजिम बोनस पनि प्रदान गरिएको कमपनीले जनाएको छ । कम्पनीमा सीईओ अशोक शिवाकोटी कार्यरत छन् । कम्पनीले सञ्चालकहरूलाई बैठक भत्ता बापत ४ लाख ८३ हजार रुपैयाँ प्रदान गरेको छ । आव २०७९/८० मा कम्पनीले सीईओलाई तलब बापत १६ लाख २० हजार रुपैयाँ, सञ्चय कोष बापत १ लाख ५ हजार ३ सय रुपैयाँ र दशैँ भत्ता बापत ८७ हजार ७५० रुपैयाँ भुक्तानी गरेको थियो । साथै सञ्चालकहरूलाएै बैठक भत्ता भत्ता बापत ५ लाख ६२ हजार रुपैयाँ प्रदान गरिएको कम्पनीले जनाएको छ ।  

तोलामा दुई हजार ३ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो । बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएकामा बिहीबार सोही परिमाणको सुनको मूल्य एक लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

नसर्ने रोगविरुद्धको स्क्रिनिङ अभियान सफल पार्न स्वास्थ्यमन्त्री प्रदीप पौडेलको अपिल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् । एक सन्देश जारी गर्दै उनले नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गरेका छन् । यसै समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागिता सहित अभियानका रुपमा स्थानीय तहबाट स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक एवम् उपचारात्मक सेवालाइ व्यवस्थित गर्न आवश्यक भएको महसुस गरे पछि आफूले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट यथासम्भव जोगाउने योजना बनाएको उनले बताए । ‘हामीले हाम्रा स्वास्थ्य संस्थाहरुमा सेवा तथा उपचारको गुणस्तर अभिवृद्धिका लागि यथासम्भव प्रयत्नहरु गरिरहेका छौं,’ उनले सन्देशमा भनेका छन्, ‘साथसाथै निरोधात्मक विधि अन्र्तगत नागरिकको आधारभूत स्वास्थ्य परीक्षण अनि सचेतनाका माध्यमबाट सकेसम्म रोग लाग्नै नदिने तथा लागेको खण्डमा समयमै उपचारबाट नागरिकको स्वास्थ्य र नागरिक तथा राज्य दुवैको धनराशी जोगाउने हाम्रो प्रयत्न जारी छ ।’ मन्त्री पौडेलले यसैलाई ध्यानमा राखेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन महिनालाई नसर्ने रोगहरूको पहिचान अभियानका रुपमा संचालन गर्ने निर्णय गरेको छ । यो अभियानमा नेपाल भित्र बसोबास गर्ने ३० वर्ष भन्दा माथिका नागरिकहरुलाई हरेक स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी रोग एवम् शरीरको उचाई र तौलको अनुपात समयमै पहिचान गरि उल्लेखित नसर्ने रोगहरुको रोकथाम तथा व्यवस्थापन गर्ने लक्ष्य राखेर फागुन महिनाभर अभियान थालिएको बताएका छन् । मन्त्रालयले हरेक वर्ष यो अभियानलाई निरन्तरता दिने भएको छ । मन्त्री पौडेलले नेपालमा नसर्ने रोगको भार कम गर्न र स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने कार्यमा हातेमालो सबैमा सन्देशमार्फत अपिलसमेत गरेका छन् । देशभरका स्थानीय तहका स्वास्थ्य संस्थामा नसर्ने रोगहरुको निःशुल्क परीक्षणमार्फत नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिने तथा जटिलता देखिएमा उपचारका लागि प्रोत्साहन गर्ने उद्देश्यसाथ थालिएको अभियानबाट प्राप्त स्वास्थ्य नीति निर्माणमा समेत योगदान दिने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले बताए ।