विकासन्युज

३ महिना नदीजन्य पदार्थ उत्खनन बन्द, अवैध रोक्न प्रहरी परिचालन

काठमाडौं । कास्की जिल्लाभर नदी तथा खानीजन्य पदार्थ उत्खननका लागि तीन महिना रोक लगाइने भएको छ । जिल्ला नदीजन्य तथा खानीजन्य पदार्थ अनुगमन समितिको बिहीबार बसेको बैठकले आगामी असारदेखि भदौ मसान्तसम्म उत्खनन रोक्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले जानकारी दिए । अनुगमन समितिका संयोजकसमेत रहेका पौडेलले ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापन मापदण्ड, २०७७ बमोजिम निर्णय गरिएको बताए । ‘बैठकले निर्णयलाई कडाइका साथ कार्यान्वयन गर्न प्रदेश, स्थानीय तह र नेपाल सरकारका सरोकारवाला निकायहरूलाई निर्देशन दिएको छ । नदीजन्य तथा खानीजन्य पदार्थको उत्खनन तथा सङ्कलन स्वीकृत मापदण्ड वातावरणीय प्रभाव मूल्याङ्कन प्रचलित कानुनबमोजिम मात्र गर्ने, अवैध उत्खनन, अवैध सङ्कलन तथा अनधिकृत ओसारपसार पूर्ण रूपमा नियन्त्रण गर्न गस्ती परिचालन गरी प्रहरीबाट नियन्त्रणमा लिइने छ,’ पौडेलले भने । नदी खोला, वन क्षेत्र खेतीयोग्य जमिन विपद् जोखिम क्षेत्र वस्तीमा वातावरणीय विनाश नहुने गरी मात्र उत्खनन व्यवस्थापन गर्ने, स्थानीय तहहरूले नदीजन्य वस्तुको उत्खनन समय बिहान ८ देखि बेलुका ६ बजेसम्म तोक्ने समेत निर्णय बैठकले गरेको छ । त्यसैगरी, समयको पालना नभएका क्षेत्रमा अनुगमन गरी रोक लगाउने, उत्खननबाट प्राप्त राजस्व गुम्न नदिन वास्तविक कारोबार मूल्यमा बिलबिजक जारी हुने अवस्था सुनिश्चित गर्न कारोबार बिना बिलबिजक जारी गर्न रोक लगाउने निर्णयसमेत गरिएको छ । बैठकले पालिकाहरूले नदीजन्य खानीजन्य पदार्थको उत्खनन र सङ्कलन गरिने क्षेत्र स्वीकृत वातावरणीय अध्ययन प्रतिवेदनले तोकेको स्थान र क्षेत्रमा कार्ययोजना तयार गरी गाउँ र नगरपालिकाबाट स्वीकृत गरेर मात्र गर्न, तोकिएको क्षेत्रमा स्वीकृत परिणामभन्दा बढी उत्खनन र सङ्कलन हुन नदिन स्वीकृत दिइएको क्षेत्रमा सम्बन्धित गाउँ-नगरपालिकाले अनुगमन गर्ने र उत्खनन तथा सङ्कलनको अभिलेख राख्न आग्रह गरिएको जिल्ला समन्वय अधिकारी नवराज बरालले बताए । उत्खनन सङ्कलन वा ढुवानीकर्ताले ढुवानी गरेको परिणामको दैनिक अभिलेख र दैनिक पटके बिक्री तथा ढुवानी अभिलेख राख्ने, फेवातालको जलाधार क्षेत्रबाट कानुन विपरीत ढुङ्गा, बालुवा र अन्य प्रकारको माटो खन्ने, झिक्ने वा ओसारपसार गर्ने कार्य रोक्न लगाउन र कोही कसैले उक्त कार्य गरेमा कानुनबमोजिम कारबाही गर्न लेखी आएकामा उल्लेखित कार्य पूर्ण रूपमा रोक लगाउने निर्णय पनि बैठकले गरेको छ । त्यसैगरी, स्थानीय तहले कानुनबमोजिम ठेक्का लगाइएका घाटहरूको तोकिएको म्याद समाप्त हुनुभन्दा अगावै उठाइ सक्नुपर्ने र यदि म्यादभित्र नउठाएमा पालिकाले जफत गरी प्रचलित कानुनबमोजिम लिलाम बिक्री गरी स्थानीय सञ्चित कोषमा आम्दानी जनाउनुपर्ने उल्लेख गरिएको छ । त्यसैगरी, स्थानीय तहले कानुनबमोजिम ठेक्का लगाइएका घाटहरूको तोकिएको म्यादभित्रै उठाई अन्यत्र मौज्दात राखेकामा म्यादभित्रै पालिकाले मौज्दात प्रमाणित गरी प्रमाणित गरेको मौज्दात विवरण अनिवार्य रूपमा जिल्ला अनुगमन समितिमा पठाउन निर्देशन दिइएको समन्वय अधिकारी बरालले बताए ।

अब झापामा राति पनि अन्तर्राष्ट्रिय खेल, फ्लडलाइटका लागि साढे ३ करोड बजेट

काठमाडौं । झापाको भद्रपुरस्थित ऐतिहासिक मेची रङ्गशालामा रात्रिकालीन खेलकुद गतिविधि सञ्चालन गर्न फ्लडलाइट (उच्च क्षमताको प्रकाश प्रणाली) जडान कार्य अघि बढाइएको छ । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ मा ३ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेसँगै यो प्रक्रियाले गति लिएको हो । झापाकै सबैभन्दा पुरानो खेलकुद मैदानका रूपमा परिचित मेची रङ्गशालामा २०७९ साल यता दुइवटा अन्तर्राष्ट्रिय टोलीसहितका फुटबल प्रतियोगिता र वार्षिक रूपमा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आयोजना हुँदै आएका छन् । फ्लडलाइट जडान परियोजनालाई मूर्तरूप दिन कोशी प्रदेश सरकारको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, भद्रपुर नगरपालिका र झापा जिल्ला खेलकुद विकास समितिबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट प्रदेश सचिव पुष्कर प्रसाद पोखरेल, भद्रपुर नगरपालिकाका तर्फबाट नगर प्रमुख गणेश पोखरेल र खेलकुद विकास समितिका तर्फबाट कार्यालय प्रमुख विष्णु कुमार नेम्वाङले हस्ताक्षर गरेका छन् । खेलकुद गतिविधिले सधैँ गुञ्जायमान रहने मेची रङ्गशालालाई अत्याधुनिक र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडान प्रक्रिया सुरु गरिएको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले बताए । ‘खेलकुद गतिविधिका लागि व्यस्त रहँदै आएको मेची रङ्गशालालाई आधुनिकीकरण र प्रविधियुक्त बनाउने लक्ष्यअनुरूप फ्लडलाइट जडानको प्रक्रिया सुरु गरिएको हो,’ नगर प्रमुख पोखरेलले भने, ‘यो काम सम्पन्न भएपछि भद्रपुरमा रात्रिकालीन खेलकुद प्रतियोगिताहरू सञ्चालनमा सहजता हुनेछ ।’ पछिल्लो समय भद्रपुरमा अन्तर्राष्ट्रियस्तरका फुटबल तथा क्रिकेट प्रतियोगिताहरू बाक्लै रूपमा आयोजना हुन थालेका छन् । जसमध्ये ‘भद्रपुर गोल्डकप’ र ‘महिला गोल्डकप’ फुटबल प्रतियोगिता निकै चर्चित छ । फ्लडलाइट जडानका लागि भएको त्रिपक्षीय सम्झौताअनुसार प्रदेश सरकारले बजेट उपलब्ध गराउनेछ भने खेलकुद विकास समितिले जग्गा दिनेछ । भद्रपुर नगरपालिकाले फ्लडलाइट प्रणाली जडानका लागि नेपाल विद्युत् प्राधिकरणबाट विद्युतको मिटर ल्याउने र विद्युत् शुल्क व्यहोर्ने कुरा सम्झौतामा उल्लेख छ । फ्लडलाइट प्रणाली जडान कार्य पूर्ण रूपमा सम्पन्न भएपछि यसलाई औपचारिक रूपमा झापा जिल्ला खेलकुद विकास समितिलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।

पश्चिमी वायु र न्यून चापीय क्षेत्रको प्रभाव: गण्डकीभन्दा पूर्वमा भारी वर्षा

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण बिहीबार (आज) गण्डकी प्रदेशभन्दा पूर्वमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा भारी वर्षासमेत भएको छ । तराई क्षेत्रमा तातो बढिरहेका बेला केही जिल्लामा वर्षा भइरहेको छ ।  बिहीबार साँझ अबेर प्राप्त वर्षा मापनको अभिलेखअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी झापाको केचनाकवलमा १५२ मिलिमिटर वर्षा भएको छ । यो धेरै भारी वर्षा हो ।  यस्तै, सिन्धुपाल्चोकमा ८३.२ मिलिमिटर वर्षा भएको छ । सङ्खुवासभामा ५८, गोरखामा झण्डै ४९, तनहुँमा ६०.२ र कास्कीमा ५७.६ मिलिमिटर वर्षा भएको छ । यो भारी वर्षा हो । यस्तै, लमजुङमा ४६ मिलिमिटर वर्षा भएको छ । विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार भोलि जेठ ८ गते कोशी, मधेश, बागमती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । लुम्बिनी प्रदेशको तराई भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भाग तथा लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै  स्थानहरूमा मेघगर्जनरचट्याङ्गसहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू-भागमा तातो लहर हुने सम्भावना र लुम्बिनी प्रदेशका पहाडी तथा तराई  भू-भागमा तातो दिन हुने सम्भावना रहेको सूचना अधिकारी कायस्थले बताए । आज दिपायल र नेपालगञ्जमा ४१ डिग्रीभन्दा माथि अधिकतम तात्रफम तापक्रम पुगेको छ । 

सुदूरपश्चिममा ६० करोड बढी बेरुजु, ५ करोड बढी असुल गर्नुपर्ने

काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँसमक्ष महालेखा परीक्षकको आठौँ वार्षिक प्रतिवेदन पेस गरिएको छ । बिहीबार (आज) महालेखा परीक्षकको कार्यालयले प्रदेश प्रमुखसमक्ष महालेखा परीक्षकको आठौं वार्षिक प्रतिवेदन पेस गरेको हो । महालेखा परीक्षकको कार्यालयका नायब महालेखा परीक्षक थवराज अधिकारीले आर्थिक वर्ष २०८१/८२ को आठौं वार्षिक प्रतिवेदन प्रदेश प्रमुख मियाँलाई बुझाएका हुन् ।   प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख मियाँले महालेखा परीक्षकको कार्यालयले आर्थिक अनुशासन कायम गर्न उत्प्रेरित गरेको बताए । उनले आर्थिक पारदर्शीता र मितव्ययिताका लागि महालेखा परीक्षकको कार्यालयले विशेष योगदान दिएको भन्दै प्रशंसा गरे । उनले सो प्रतिवेदन यथाशीघ्र मुख्यमन्त्रीमार्फत प्रदेशसभा पठाइने बताए ।   महालेखा परीक्षकको कार्यालयले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ मा सम्पादन गरेका कामकारबाही समेटेर तयार गरिएको प्रतिवेदन पेस गरेको हो ।  

अमेरिकाको 'युद्ध प्रलोभन' अन्त्य गर्न इरानको नयाँ रणनीति, पाकिस्तानका सेना प्रमुख तेहरान प्रस्थान

काठमाडौं । इरानका सर्वोच्च नेता मोजतबा खामेनीले एक निर्देशन जारी गर्दै देशको संवर्धित युरेनियमको भण्डारलाई विदेशमा स्थानान्तरण गर्न नसकिने बताएका छन् ।  नाम नबताउने सर्तमा एक स्रोतले भन्यो,  ‘सर्वोच्च नेताको निर्देशन र संवर्धित युरेनियमको भण्डारले देश छोड्नु हुँदैन भन्ने संस्थापनभित्रको सहमति हो ।’ स्रोतका अनुसार संवर्धित सामग्री विदेशमा पठाउँदा देश अमेरिका र इजरायलको भविष्यमा आक्रमणको लागि थप जोखिममा जाने सर्वोच्च नेता लगायतका उच्च अधिकारीहरूको राय रहेको छ ।  उनीहरूले भनेका छन्,  ‘इरानमा संयुक्त राज्य अमेरिकाले आक्रमण गर्नुअघि शत्रुतामा विराम आउनुमा ‘गम्भीर शङ्का’ गर्ने ठाउ मिलेको छ । यो इरानको ‘सुरक्षाको भावना सिर्जना गर्न’ को लागि भएको ‘रणनीतिक छलकपट’ थियो।  एक स्रोतले भन्यो, ‘इरानको संवर्धित युरेनियमको स्थानान्तरणको विकल्पमा यसलाई समाधान गर्न अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) को सुपरिवेक्षणमा भण्डार घटाउनेजस्ता ‘सम्भाव्य सूत्रहरू’ लागु गर्न सकिन्छ ।’ आइएइएको अनुमानअनुसार इरानसँग ६० प्रतिशत शुद्धता भएको ४४० किलोभन्दा बढी युरेनियम छ । यो सन् २०२५ मा १२ दिने युद्धको क्रममा अमेरिका र इजरायलले बमबारी गरेको इरानको आणविक केन्द्रको भग्नावशेषमुनि भण्डार रहेको बताइएको छ। यसैबीच, इरानी स्टुडेन्ट्स न्यूज एजेन्सी (आइएसएनए) ले बिहीबार दिएको जानकारीमा भनिएको छ,  ‘इरानले संयुक्त राज्य अमेरिकाले युद्ध अन्त्य गर्न पठाएको पछिल्लो मस्यौदा प्रस्तावमा आफ्नो प्रतिक्रियाको तयारी गरिरहेको छ ।’  आइएसएनएका अनुसार, अमेरिकी मस्यौदाले विद्यमान खाडललाई केही हदसम्म कम गरेको तर यसको थप कटौती गर्दै अमेरिकाको ‘युद्धको प्रलोभन’ को अन्त्य गर्न आवश्यक छ। इरानले हाल तेहरानमा व्यापक संरचना, केही विवरण र विश्वास–निर्माण उपायहरूको ग्यारेन्टीको रूपमा वार्ता गरिरहेको छ ।  पाकिस्तानका सेना प्रमुख असिम मुनीरको बिहीबार हुने तेहरान भ्रमणको उद्देश्य यी खाडललाई कम गर्नु र समझदारी पत्रको स्वीकृतिको आधिकारिक घोषणाको तयारी गर्नु रहेको आईएसएनएले जनाएको छ । इरान, अमेरिका र इजरायलले फेब्रुअरी २८ मा तेहरान र अन्य इरानी शहरहरूमा आक्रमण गरेपछि सुरु भएको ४० दिनको लडाइँपछि अप्रिल ८ मा युद्धविराम गरेका थिए।  युद्धविरामपछि इरानी र अमेरिकी प्रतिनिधिमण्डलहरूले अप्रिल ११ र १२ मा पाकिस्तानको राजधानी इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका थिए, तर त्यसमा कुनै सम्झौता हुन सकेको थिएन ।  विगतमा, दुई पक्षहरूले पाकिस्तानमार्फत् द्वन्द्व समाप्त गर्नका लागि सर्तहरू प्रस्तुत गर्दै धेरै प्रस्तावित योजनाहरू आदानप्रदान गरेका छन् ।

एमाले सचिवालय बैठक शुक्रबार बस्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक शुक्रबार बस्दैछ । बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डुस्थित निजी निवासमा बिहान ११ः०० बजे बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । बैठकमा नेताहरुको कार्यविभाजन हुने उनले बताए ।  गत मङ्सिरमा सम्पन्न पार्टीको ११औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हुन सकेको थिएन ।    

कृषि मन्त्री चौधरी र विश्व बैंकका प्रबन्धक विलामारबीच कृषि क्षेत्रको विकास र साझेदारीबारे छलफल

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीसँग विश्व बैंकका ’प्र्याक्टिस म्यानेजर फर एग्रिकल्चर एन्ड फुड ग्लोबल प्र्याक्टिस, साउथ एसिया’ टोमस रिकार्डो रोसाडा विलामार लगायतका पदाधिकारीहरूले शिष्टाचार भेटघाट गरेका छन् । मन्त्रालयमा भएको उक्त भेटवार्ताका क्रममा नेपालको कृषि क्षेत्रको संस्थागत सुधार, भूमि तथा जलाधार व्यवस्थापन, पशुधन तथा पहाडी कृषि वस्तुको निर्यात प्रवद्र्धन, पशु रोग नियन्त्रण एवं कृषि क्षेत्रको डिजिटलाइजेसन (विद्युतीयकरण) सम्बन्धी विविध विषयमा गहन छलफल भएको छ । साथै, बैठकमा एनएलएसआईपी र रीड परियोजनाको हालसम्मको उपलब्धि तथा फ्यान्सेप र रानी जमरा कुलरिया परियोजनाको प्रगतिका विषयमा समेत समीक्षा गरिएको थियो । भेटका क्रममा मन्त्री चौधरीले युवा वर्गलाई कृषिमा आकर्षित गर्ने, रोजगारीको सिर्जना गर्ने, किसान सूचीकरण कार्यलाई गति दिने तथा कृषि क्षेत्रमा नवप्रवर्तन प्रवद्र्धन गर्ने विषयमा विशेष जोड दिए ।  नेपाली कृषि र पशुजन्य उत्पादनको विश्व बजार सुनिश्चित गर्नका लागि मुलुक रोगमुक्त हुनुपर्ने आवश्यकता औंल्याउँदै मन्त्री चौधरीले मन्त्रालयबाट विश्व बैंकमा प्रेषित गरिएको एनिमल हेल्थ सिस्टम ट्रान्सफर्मेसन प्रोजेक्ट बारे टोलीको विशेष ध्यानाकर्षण गराए । छलफलका क्रममा नेपालमा एग्री-कनेक्ट कार्यक्रम कार्यान्वयन गर्ने विषयमा समेत दुई पक्षबीच कुराकानी भएको थियो ।  मन्त्रालय र विश्व बैंकका अधिकारीहरूबीच भएको यस सकारात्मक संवादमा विश्व बैंकको टोलीले नेपालको रासायनिक मल सम्बन्धी अध्ययन तथा एग्री-कनेक्ट कार्यक्रमलाई अगाडि बढाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

उम्मेदवारबीच पाँचतारे होटलमा भोट तानातान

काठमाडौं । ‘हामी कार्यसमिति सदस्यलाई रमाइलो भइरहेको छ । सबैतिरबाट तानातान भइरहेको छ । कुन पाँचतारे होटलमा बस्ने हो ? छानि-छानि पाँचतारे होटलमा बस्ने अफर छ । अहिले होटलमा बस्ने अफर छ । अब राति के-के अफर आउँछन्, हेराैँ,’ नेपाल उद्योग वाणिज्य महासंघका एक कार्यकारिणी सदस्यले विकासन्युजसँग भने । जेठ ८ गते शुक्रबार हुने नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको चुनावी माहोल निकै तातेको छ । निर्वाचनअघि उम्मेदवारहरू आ-आफ्ना टिमसहित सक्रिय रूपमा मत मागिरहेका छन् भने शक्ति सन्तुलन विभिन्न समूहमा विभाजित भएका छन् ।  महासंघको वरिष्ठ उपाध्यक्षका लागि हेमराज ढकाल, सुरकृष्ण वैद्य, रामचन्द्र संघाई, भरतराज आचार्य र किशोर प्रधान आकांक्षी छन् । साथै, महासंघको कोषाध्यक्ष पदका लागि हालसम्म अम्बिका प्रसाद पौडेल, भक्तबहादुर हमाल र मनिषलाल प्रधान चुनावी मैदानमा छन् ।   चुनावी गतिविधि केवल औपचारिक प्रचारमा मात्र सीमित नभई विभिन्न होटल तथा रिसोर्टमा केन्द्रित भई रणनीतिक छलफलसमेत भइरहेको छ । केही उम्मेदवार गोदावरीस्थित वेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा, केही होलिडे इनमा र अन्य समूह बुढानीलकण्ठस्थित लेमोन ट्री होटलमा बसेर चुनावी गणित मिलाइरहेका छन् । महासंघ स्रोतका अनुसार वैद्य र प्रधानको टोली गोदावरी रिसोर्टमा, ढकाल र हमालको टिम होलिडे इनमा र पौडेलको टिम लेमोन ट्रीमा बसेर आन्तरिक चुनावी हिसाबकिताब गरिरहेका छन् । अध्यक्ष अञ्जन श्रेष्ठ समूह भने अन्तिम चरणमा विभाजित भएको छ । एशोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डेले वरिष्ठ उपाध्यक्षमा संघाई वा आचार्यलाई समर्थन गर्ने र कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेललाई अघि सारेपछि अञ्जनको टिम वैद्य र प्रधानलाई लिएर गोदावरी पुगेको हो । स्रोतहरूका अनुसार केही उम्मेदवारहरू अन्तिम चरणमा आपसी समझदारी वा गठबन्धनको प्रयासमा समेत छन् । ढकाल र आचार्यबीच सहकार्य हुन सक्ने सम्भावना पनि रहेको बताइएको छ ।  जिल्लानगर, वस्तुगत र एशोसिएट समूहका मतहरूको हिसाबकिताबलाई लिएर उम्मेदवारहरू आ-आफ्नो पक्षमा मत सुनिश्चित गर्न सक्रिय छन् । यद्यपि, महासंघको चुनावमा अन्तिम क्षणसम्म पनि समीकरण बदलिन सक्ने भएकाले परिणामबारे निश्चित अनुमान गर्न कठिन मतदाताहरू बताउँछन् । विधान अनुसार नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि मतदान गर्नेछन् ।  समग्रमा महासंघको निर्वाचन केवल पदको प्रतिस्पर्धा नभई व्यावसायिक नेतृत्व र समूहगत प्रभावको शक्ति प्रदर्शनका रूपमा देखिएको छ, जसले अन्तिम परिणामलाई अझ रोचक बनाएको छ । ‘फोन आइरहेको छ । भोट माग्दा ठोस एजेन्डा राख्नुभएको छैन । तर, विगतमा आफूले महासंघमा रहेर गरेका काम र योगदानहरू सुनाएर फकाउँदै छन्’, एक सदस्यले भने, ‘महासंघमा रहेर यो-यो काम गरेको छु भनेर भोट मागिरहेका छन् । आफ्नो सांगठनिक यात्रादेखि लिएर योगदान देखाएर भोट मागिरहेका छन् ।’ उनको दाबीअनुसार हेमराज ढकालको वस्तुगतमा ९ भोट सुनिश्चित छन् । यस्तै, एशोसिएटमा ढकाल प्यानलबाट एक जना मात्रै जितेको भए पनि २ वटा भोट आउन सक्छन् । जिल्लानगरमा ४२ वटा भोट हुन्छन्, त्यसमा ढकालको करिब ८ वटा भोट स्पष्ट रहेको उनले दाबी गरे । प्रदेश अध्यक्ष ३ जना रहेका छन् । ‘ढकालजीको करिब २० वटा भोट स्पष्ट छ । बाँकी अब उहाँले साेरेर ल्याउनुपर्छ,’ उनले भने, ‘एशोसिएटमा पाण्डेको १८ वटा भोट स्पष्ट हो । सचिन ढकालले हेमराजलाई भोट हाल्छन्, तर कोषाध्यक्षमा अम्बिकालाई हाल्छन् ।’ जिल्लानगरमा वैद्य र प्रधान मिलेको स्पष्ट रूपमा बलियो रहेको उनले दाबी गरे । साथै, वस्तुगतबाट वैद्य र प्रधान पक्षसँग ८ वटा भोट पाउन सक्छन् । किनभने उनीहरू वस्तुगत उपाध्यक्ष उम्मेदवार शिवप्रसाद घिमिरेको टिमबाट निर्वाचित भएका हुन् । ‘चुनावी नतिजा हिजो जितेका आधारमा मात्रै गणना गरेर हुँदैन । किनभने वस्तुगतमा नरेशजीभन्दा शिवजी धेरै बलियो हुनुहुन्थ्यो । शिवजी जित्नेमा ढुक्क थिए । तर, उहाँले हार्नुभयो । त्यसकारण अहिले नै यस्तै हुन्छ भन्ने सकिँदैन,’ उनले भने । उनका अनुसार वैद्य र संघाई उठ्दा ढकाललाई फाइदा हुन सक्छ । तर, आचार्य पनि वरिष्ठ उपाध्यक्षमा उठे भने वैद्यले स्वतः जित्ने उनको दाबी छ । ‘भरत र हेमराजको भोट कमन हुन्छन् । वरिष्ठमा कम्तीमा ३ जना उठ्नुहुन्छ, यदि सहमति भएन भने त ४ जनाले उम्मेदवारी दिनुहुन्छ,’ उनले भने । भरतलाई दुई ठाउँबाट दबाब वरिष्ठ उपाध्यक्षका उम्मेदवार भरत आचार्यलाई संघाई र ढकाल पक्षबाट पछाडि हट्न दबाब आइरहेको स्रोतको दाबी छ । आचार्य निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल निकट मानिन्छन् । साथै, हेमराज ढकालले चन्द्र ढकालमार्फत भरत आचार्यलाई पछि हट्न दबाब दिइरहेको स्रोतको दाबी छ ।  साथै, एशोसिएट उपाध्यक्ष पाण्डेले आचार्य र संघाईमध्ये एक जनालाई समर्थन गर्नेछन् । तर, अबको महासंघ हाँक्न सक्ने अब्बल व्यक्ति भएकाले आचार्यलाई केही व्यक्तिले उक्साइरहेको पनि पाइन्छ । ‘प्रबलजंग पाण्डेको कोषाध्यक्षको उम्मेदवार अम्बिका पौडेल हो । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई वा भरत आचार्यमध्ये एक जनालाई सहयोग गर्नुहुन्छ । अन्तिम समयमा उहाँले आचार्य र संघाईलाई मिलाउनुहुन्छ । तर, अहिलेसम्म उहाँले यसलाई उसलाई गर भनेर केही भन्नुभएको छैन । चुनावअघि हामी सबै सेट भएर आउने अनि निर्णय गर्ने योजना थियो । अब उहाँहरूले मिलाउनु होला । उम्मेदवारबीच सहमति गर्नुहुन्छ,’ स्रोतले भन्यो ।