उम्मेदवारबीच पाँचतारे होटलमा भोट तानातान

काठमाडौं । ‘हामी कार्यसमिति सदस्यलाई रमाइलो भइरहेको छ । सबैतिरबाट तानातान भइरहेको छ । कुन पाँचतारे होटलमा बस्ने हो ? छानि-छानि पाँचतारे होटलमा बस्ने अफर छ । अहिले होटलमा बस्ने अफर छ । अब राति के-के अफर आउँछन्, हेराैँ,’ नेपाल उद्योग वाणिज्य महासंघका एक कार्यकारिणी सदस्यले विकासन्युजसँग भने ।

जेठ ८ गते शुक्रबार हुने नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पदको चुनावी माहोल निकै तातेको छ । निर्वाचनअघि उम्मेदवारहरू आ-आफ्ना टिमसहित सक्रिय रूपमा मत मागिरहेका छन् भने शक्ति सन्तुलन विभिन्न समूहमा विभाजित भएका छन् । 

महासंघको वरिष्ठ उपाध्यक्षका लागि हेमराज ढकाल, सुरकृष्ण वैद्य, रामचन्द्र संघाई, भरतराज आचार्य र किशोर प्रधान आकांक्षी छन् । साथै, महासंघको कोषाध्यक्ष पदका लागि हालसम्म अम्बिका प्रसाद पौडेल, भक्तबहादुर हमाल र मनिषलाल प्रधान चुनावी मैदानमा छन् ।  

चुनावी गतिविधि केवल औपचारिक प्रचारमा मात्र सीमित नभई विभिन्न होटल तथा रिसोर्टमा केन्द्रित भई रणनीतिक छलफलसमेत भइरहेको छ । केही उम्मेदवार गोदावरीस्थित वेस्ट वेस्टर्न प्लस गोदावरी रिसोर्टमा, केही होलिडे इनमा र अन्य समूह बुढानीलकण्ठस्थित लेमोन ट्री होटलमा बसेर चुनावी गणित मिलाइरहेका छन् ।

महासंघ स्रोतका अनुसार वैद्य र प्रधानको टोली गोदावरी रिसोर्टमा, ढकाल र हमालको टिम होलिडे इनमा र पौडेलको टिम लेमोन ट्रीमा बसेर आन्तरिक चुनावी हिसाबकिताब गरिरहेका छन् ।

अध्यक्ष अञ्जन श्रेष्ठ समूह भने अन्तिम चरणमा विभाजित भएको छ । एशोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डेले वरिष्ठ उपाध्यक्षमा संघाई वा आचार्यलाई समर्थन गर्ने र कोषाध्यक्षमा अम्बिका प्रसाद पौडेललाई अघि सारेपछि अञ्जनको टिम वैद्य र प्रधानलाई लिएर गोदावरी पुगेको हो ।

स्रोतहरूका अनुसार केही उम्मेदवारहरू अन्तिम चरणमा आपसी समझदारी वा गठबन्धनको प्रयासमा समेत छन् । ढकाल र आचार्यबीच सहकार्य हुन सक्ने सम्भावना पनि रहेको बताइएको छ । 

जिल्लानगर, वस्तुगत र एशोसिएट समूहका मतहरूको हिसाबकिताबलाई लिएर उम्मेदवारहरू आ-आफ्नो पक्षमा मत सुनिश्चित गर्न सक्रिय छन् । यद्यपि, महासंघको चुनावमा अन्तिम क्षणसम्म पनि समीकरण बदलिन सक्ने भएकाले परिणामबारे निश्चित अनुमान गर्न कठिन मतदाताहरू बताउँछन् ।

विधान अनुसार नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि मतदान गर्नेछन् । 

समग्रमा महासंघको निर्वाचन केवल पदको प्रतिस्पर्धा नभई व्यावसायिक नेतृत्व र समूहगत प्रभावको शक्ति प्रदर्शनका रूपमा देखिएको छ, जसले अन्तिम परिणामलाई अझ रोचक बनाएको छ ।

‘फोन आइरहेको छ । भोट माग्दा ठोस एजेन्डा राख्नुभएको छैन । तर, विगतमा आफूले महासंघमा रहेर गरेका काम र योगदानहरू सुनाएर फकाउँदै छन्’, एक सदस्यले भने, ‘महासंघमा रहेर यो-यो काम गरेको छु भनेर भोट मागिरहेका छन् । आफ्नो सांगठनिक यात्रादेखि लिएर योगदान देखाएर भोट मागिरहेका छन् ।’

उनको दाबीअनुसार हेमराज ढकालको वस्तुगतमा ९ भोट सुनिश्चित छन् । यस्तै, एशोसिएटमा ढकाल प्यानलबाट एक जना मात्रै जितेको भए पनि २ वटा भोट आउन सक्छन् । जिल्लानगरमा ४२ वटा भोट हुन्छन्, त्यसमा ढकालको करिब ८ वटा भोट स्पष्ट रहेको उनले दाबी गरे । प्रदेश अध्यक्ष ३ जना रहेका छन् ।

‘ढकालजीको करिब २० वटा भोट स्पष्ट छ । बाँकी अब उहाँले साेरेर ल्याउनुपर्छ,’ उनले भने, ‘एशोसिएटमा पाण्डेको १८ वटा भोट स्पष्ट हो । सचिन ढकालले हेमराजलाई भोट हाल्छन्, तर कोषाध्यक्षमा अम्बिकालाई हाल्छन् ।’

जिल्लानगरमा वैद्य र प्रधान मिलेको स्पष्ट रूपमा बलियो रहेको उनले दाबी गरे । साथै, वस्तुगतबाट वैद्य र प्रधान पक्षसँग ८ वटा भोट पाउन सक्छन् । किनभने उनीहरू वस्तुगत उपाध्यक्ष उम्मेदवार शिवप्रसाद घिमिरेको टिमबाट निर्वाचित भएका हुन् ।

‘चुनावी नतिजा हिजो जितेका आधारमा मात्रै गणना गरेर हुँदैन । किनभने वस्तुगतमा नरेशजीभन्दा शिवजी धेरै बलियो हुनुहुन्थ्यो । शिवजी जित्नेमा ढुक्क थिए । तर, उहाँले हार्नुभयो । त्यसकारण अहिले नै यस्तै हुन्छ भन्ने सकिँदैन,’ उनले भने ।

उनका अनुसार वैद्य र संघाई उठ्दा ढकाललाई फाइदा हुन सक्छ । तर, आचार्य पनि वरिष्ठ उपाध्यक्षमा उठे भने वैद्यले स्वतः जित्ने उनको दाबी छ ।

‘भरत र हेमराजको भोट कमन हुन्छन् । वरिष्ठमा कम्तीमा ३ जना उठ्नुहुन्छ, यदि सहमति भएन भने त ४ जनाले उम्मेदवारी दिनुहुन्छ,’ उनले भने ।

भरतलाई दुई ठाउँबाट दबाब

वरिष्ठ उपाध्यक्षका उम्मेदवार भरत आचार्यलाई संघाई र ढकाल पक्षबाट पछाडि हट्न दबाब आइरहेको स्रोतको दाबी छ । आचार्य निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल निकट मानिन्छन् । साथै, हेमराज ढकालले चन्द्र ढकालमार्फत भरत आचार्यलाई पछि हट्न दबाब दिइरहेको स्रोतको दाबी छ । 

साथै, एशोसिएट उपाध्यक्ष पाण्डेले आचार्य र संघाईमध्ये एक जनालाई समर्थन गर्नेछन् । तर, अबको महासंघ हाँक्न सक्ने अब्बल व्यक्ति भएकाले आचार्यलाई केही व्यक्तिले उक्साइरहेको पनि पाइन्छ ।

‘प्रबलजंग पाण्डेको कोषाध्यक्षको उम्मेदवार अम्बिका पौडेल हो । वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाई वा भरत आचार्यमध्ये एक जनालाई सहयोग गर्नुहुन्छ । अन्तिम समयमा उहाँले आचार्य र संघाईलाई मिलाउनुहुन्छ । तर, अहिलेसम्म उहाँले यसलाई उसलाई गर भनेर केही भन्नुभएको छैन । चुनावअघि हामी सबै सेट भएर आउने अनि निर्णय गर्ने योजना थियो । अब उहाँहरूले मिलाउनु होला । उम्मेदवारबीच सहमति गर्नुहुन्छ,’ स्रोतले भन्यो ।

Share News