विकासन्युज

आगामी जुन देखि अन्तर्राष्ट्रिय उडानहरू पुनः सुरु गर्दै कुवेत

काठमाडौं । आगामी जुन-१ देखि कुवेत अन्तर्राष्ट्रिय एयरपोर्टमा अरब लगायतका अन्तर्राष्ट्रिय एयरलाइन्सको सञ्चालन चरणबद्ध रूपमा पुनः सुरु गर्ने कुवेतले घोषणा गरेको छ । नागरिक उड्डयन महानिदेशालयका महानिर्देशक शेख हुमौद मुबारक अल सबाहका अनुसार विमानस्थल प्रणाली र पूर्वाधारमा सुधार र परिचालन सुविधामा मर्मत–सम्भार र विकास कार्य सम्पन्न भए पछि उडानहरु सुरु गर्ने निर्णय गरिएको बताएका छन् । सुरक्षित र सहज हवाई यातायात प्रवाह र यात्रु आवागमन सुनिश्चित गर्न परिचालन तयारी भई रहेको उल्लेख गर्दै उनले  प्राविधिक मूल्याङ्कनको आधारमा एयरपोर्ट तथा उडानहरु पुन: खोलिने बताएका छन् । उनले एयरपोर्ट तथा उडानहरुको पूर्ण सञ्चालनका लागि  प्रत्येक चरणको मूल्याङ्कन जारी रहेको समेत बताएका छन् । अल सबाहले टर्मिनल –१ मा हाल सुविधालाई स्थर उन्नती गर्ने र उच्च सुरक्षा मापदण्ड अनुरूप यात्रुहरूको प्रवाह बढाउने उदेश्यले मर्मत तथा विकासका कामहरु भई रहेको बताएका छन् । रासस   

विकास निर्माणमा ढिलाई हुँदा परियोजनाको लागत बढ्योः ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले विकास निर्माणमा हुने ढिलासुस्तीका कारण परियोजनाहरूको लागत अस्वाभाविक रूपमा बढ्दै गएको प्रति चिन्ता व्यक्त गरेका छन् । शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले समयमै काम नसकिने प्रवृत्तिका कारण विकास महँगो मात्र नभई लगानीकै सान्दर्भिकतामाथि पनि प्रश्न उठ्ने अवस्था आएको बताए । मन्त्री श्रेष्ठकाअनुसार अन्तर्राष्ट्रिय कारणले हुने मुद्रास्फीतिसँगै आन्तरिक ढिलासुस्तीले विकासको लागत बढाएको हो । जुन मूल्यमा पहिले नै काम भइसक्नुपर्ने थियो, त्यो नहुँदा अहिले आयोजनाहरू महँगोतर्फ जानुपरेको उनले स्पष्ट पारे ।  विशेषगरी जलविद्युत क्षेत्रमा निजी क्षेत्रको लगानी यसरी नै महँगो हुँदै जाने हो भने एउटा बिन्दुमा पुगेर यो लगानी सान्दर्भिक कि असान्दर्भिक भन्ने ठूलो बहस सिर्जना हुने उनको भनाइ छ । बैठकमा मन्त्री श्रेष्ठले नेपालको सार्वजनिक खरिद प्रक्रिया र ठेक्का व्यवस्थापनमा रहेका जटिलताहरू औंल्याए । बीचैमा ठेक्का रद्द हुने र कामहरू रोकिने अवस्थाले अन्योल सिर्जना गरेको भन्दै उनले यस्ता नीतिगत तथा कानुनी छिद्रहरूलाई आगामी बजेटपछि घनीभूत छलफल गरेर बन्द गर्नुपर्ने बताए । यस्तो, अस्थिरताले प्रत्यक्ष वैदेशिक लगानी र निजी क्षेत्रको मनोबलमा नकारात्मक असर परेको उनको तर्क थियो । ‘हामीले अन्तर्राष्ट्रिय कारणले भएको मूल्यवृद्धिको कुरा त ग¥यौं, तर त्यो सँगसँगै समय घर्कँदै जाँदा हाम्रो विकास निर्माण महँगो पनि हुँदैछ,’ मन्त्री श्रेष्ठले भने, ‘सबै प्रक्रिया पूरा गरेर अघि बढ्दा पनि एउटा बिन्दुमा पुगेर ठेक्का रद्द भइदिन्छ । यस्तो अन्योल र जटिलताका छिद्रहरूलाई हामीले अब कसरी बन्द गर्ने भन्नेबारे बजेटपछि छलफल गर्नुपर्छ । ’ विकास निर्माणको कार्यलाई गुणस्तरीय र समयमै सम्पन्न गराउन मन्त्री श्रेष्ठले पूर्वाधार समितिलाई सक्रिय अनुगमनका लागि समेत आग्रह गरे ।  मन्त्रालयले गर्ने काममा संसदीय समितिले योजनाबद्ध अनुगमनको प्रणाली बनाएमा त्यसले आयोजनाहरूलाई गति दिने, काम गर्न प्रेरित गर्ने र जिम्मेवार निकाय तथा व्यक्तिहरूलाई दायरामा ल्याउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।

फेटा गाउँपालिकाबाट फरार प्रतिवादी ७ वर्षपछि पक्राउ

चितवन । सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई बाराको फेटा गाउँपालिका–१ बाट पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी मनिष श्रेष्ठका अनुसार पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–४ का ३० वर्षीय पन्चदेव महरा रहेका छन् । उनका अनुसार २०७६ चैत २३ गते खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको कम्पाउण्डभित्र रहेको मजदुर बस्ने कच्ची घरको कोठाभित्र फेटा गाउँपालिका–३ का ४६ वर्षीय सखिचन महरा मृत फेला परेका थिए ।  उक्त घटनामा संलग्न रहेको आरोपमा उनलाई इलाका प्रहरी कार्यालय रत्ननगर र इलाका प्रहरी कार्यालय खैरहनीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका महरालाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।   

१.५३ करोड रुपैयाँ तिर्न लोहनी एण्ड ब्रदर्सलाई सरकारको ताकेता

काठमाडौं । लोहनी एण्ड ब्रदर्स प्रालिलाई डेढ करोड रुपैयाँ तिर्न ताकेता गरेको छ । सडक डिभिजन भरतपुरले लोहनी एण्ड ब्रदर्स प्रालि भरतपुर, चितवनलाई सरकारी बाँकी सरहको १ करोड ५३ लाख ६० हजार ९७९ रुपैयाँ चुक्ता गर्न ताकेता गरेको हो ।  सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गत रहेको सडक डिभिजन भरतपुरले उक्त कम्पनीसँग भएको ठेक्का सम्झौता पटक-पटक म्याद थप गर्दा पनि सम्झौताअनुसार कार्य सम्पन्न नभएको भन्दै ठेक्का अन्त्य गरेको थियो ।  कार्यालयका अनुसार वि.सं २०७३ मंसिर २९ मा बुढी राप्ती खोलामा प्रि-स्ट्रेस्ड ब्रिज निर्माणसम्बन्धी ठेक्का सम्झौता गरेको थियो । तर, सम्झौता अनुसार कार्य नगरेपछि विसं २०८० जेठ ७ को निर्णयअनुसार ठेक्का अन्त्य गरिएको थियो ।  ठेक्का अन्त्यपछि सार्वजनिक खरिद ऐन, २०६३ तथा प्रचलित नियमावलीअनुसार कायम भएको १ करोड ५३ लाख रुपैयाँ सरकारी बाँकी सरह रकम दाखिला गर्न निर्देशन दिइएको हो  कार्यालयले उक्त रकम ३५ दिनभित्र सडक डिभिजन भरतपुरको राजस्व खातामा जम्मा गरी सक्कल भौचर बुझाउनुपर्नेछ । निर्धारित समयभित्र रकम दाखिला नगरे कानुनअनुसार थप कारबाही प्रक्रिया अघि बढाइने डिभिजनले जनाएको छ । 

जब सजन श्रेष्ठसहित तीनजना छाडा बोलेको भन्दै माफी माग्न ब्यूरोमा पुगे...

काठमाडौं । विवादित युट्युबर सजन श्रेष्ठसहित तीन जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले नियन्त्रणमा लिएर छाडेको छ । युट्युबमा छाडा बोलेको भन्दै चर्चित स्ट्यान्डअप कमेडियन तथा कलाकार सजन श्रेष्ठसहित उनका साथीहरूले ब्यूरोमा पुगेर माफी मागेका हुन् । जेठ ५ गते साइबर ब्यूरोको कार्यालयमा उनीहरू पुगेका थिए । ब्यूरोले उनीहरूलाई ‘आइन्दा छाडा शब्द नबोल्ने’सर्तमा छाडेको हो । साजन श्रेष्ठले सञ्चालन गर्ने युट्युब च्यानलमा ‘इन दी लास्ट कोइसन’ नामक कार्यक्रम प्रसारण हुँदै आएको छ ।  कार्यक्रमको एउटा एपिसोडमा साजन श्रेष्ठ, उत्सव सापकोटा र विशाल गौतमबीचको कुराकानीमा अत्यधिक छाडा र उच्छृङ्खल शब्दहरू समावेश थिए । उनीहरूले ‘कमेडी’ को नाममा अश्लील र अपाच्य शब्दहरू बोलेपछि सर्वसाधारणले कडा आलोचना गरेका थिए । दर्शकहरूले कार्यक्रममा बोलिएका शब्दहरू छाडा भएको भन्दै साइबर ब्यूरोमा गुनासो र उजुरी गरेपछि प्रहरीले एक्सन लिएको हो । ब्यूरोका एक अनुसन्धान अधिकृतले टीआरपी (भ्युज र चर्चा) को नाममा कार्यक्रममा जथाभावी उच्छृङ्खल र छाडा शब्द प्रयोग गरेकाले उनीहरूलाई बोलाएर सोधपुछ गरिएको बताए । ‘टीआरपीका नाममा छाडा शब्द प्रयोग गरेको मौखिक ब्यूरोमा उजुरी परेको थियो । श्रेष्ठसहित तीनै जनालाई बोलाएर सोधपुछ गरिएको हो,’ साइबर ब्यूरोका एक प्रहरी अधिकृतले भने, ‘उहाँहरू तीनै जनाले गल्ती महसुस गर्दै अब आइन्दा छाडा शब्द नबोल्ने भनेर माफी मागेपछि छाडिएको हो ।’ यसअघि पनि गायक तथा कुमा सागरको बोलीलाई क्यारिकेचर गरेपछि उनी विवादमा आएका थिए । कार्यक्रममा श्रेष्ठले कुमा सागरको गीत उनकै लवजमा गाउने प्रयास गरेका थिए । यसपछि श्रेष्ठले गायक कुमा सागरलाई होच्याएको भन्दै आलोचना सुरु भयो । विवाद बढेपछि उक्त कार्यक्रम युट्युबबाटै हटाइएको थियो । भदौ २३ र २४ गतेको आन्दोलनमा पनि श्रेष्ठ सहभागी भएका थिए । पछि उनले आफूले आगजनी तथा तोडफोड गर्नेलाई सम्झाएको भनेर बताएका थिए ।

कामना सेवाको सहयोगमा अनाथ बालबालिकालाई शैक्षिक सामग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले 'हाम्रो बाल संरक्षण धरोहर नेपाल' मा रहेका अनाथ तथा असहाय बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । बैंकको शाखा कार्यालय गोंगबु मार्फत आयोजित कार्यक्रममा काठमाडौं क्षेत्र प्रमुख केदारनाथ शर्माले कक्षा एल.के.जी. देखि १० सम्म अध्ययनरत २८ जना बालबालिकाका लागि आवश्यक शैक्षिक सामग्री संस्थाका संस्थापक बिनिता अर्याललाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै संस्थापक अर्यालले बैंकको सहयोगले संस्थामा आश्रित बालबालिकाको शैक्षिक पहुँच विस्तारमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन् । उनले यस्तो सहयोगले बालबालिकामा अध्ययनप्रति थप उत्साह र प्रेरणा मिल्ने बताइन् । यस अवसरमा बालबालिकाहरूले खुशी व्यक्त गर्दै बैंकप्रति आभार प्रकट गरेका थिए । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

महासंघ केन्द्रीय कार्यसमितिमा ६ जना मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा ६ जना सदस्य मनोनीत भएका छन् । महासंघको विधानअनुसार अध्यक्ष अञ्जन श्रेष्ठले उनीहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका हुन् । महासंघद्वारा मनोनीत सदस्यहरूमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, दर्शना श्रेष्ठ, साहारा जोशी र गोकर्ण कार्की रहेका छन् । महासंघको विधानअनुसार २ जना महिला सहित ७ जना मनोनीत गर्नुपर्ने व्यवस्था भए पनि हालका लागि ६ जना मात्रै मनोनीत गरिएको हाे ।