विकासन्युज

गाउँपालिकाको बेवास्ताले ७० लाखमा बनेको सभाहल बन्यो बेवारिसे

ठाकुरबाबा । यहाँस्थित बढैयाताल गाउँपालिकाको एक मात्र सभाहल उपयोगमा चासो नदिँदा निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे बनेको छ । बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल ७० लाख २६ हजार रुपैयाँमा निमार्ण गरिएको थियो । दुई सय ४२ वर्गमिटर क्षेत्रफलमा निर्मित तीन सय जना क्षमताको सुविधा सम्पन्न सभाहलमा शौचालय, आराम कक्ष र पोसाक परिवर्तन गर्ने कक्ष रहेको गाउँपालिकाको योजना शाखा उपप्रमुख उमानबहादुर हमालले जानकारी दिए । गाउँपालिका र निमार्ण कम्पनीबीच भएको सम्झौता अनुसार निर्माण कम्पनीले काम नगरेको र समयमा हस्तान्तरण नगर्दा सभाहल जीर्ण र बेवारिसे बनेको वडा नं ८ का वडा सदस्य दिल्लीप्रसाद गौतमले बताए । जय बागेश्वरी निमार्ण सेवा कम्पनी र बढैयाताल गाउँपालिकाबीच विसं २०७८ जेठ ८ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम पूर्ण रुपमा निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीले पुनः भत्किएका ठाउँमा मर्मत सुरु गरेको छ । सभाहल उपयुक्त स्थानमा निर्माण नगर्दा महँगो भाडा तिरेर गाउँपालिकाले होटलमा कार्यक्रम गर्ने गरेको स्थानीयको भनाइ छ । गाउँपालिकाको कार्यालय रहेको स्थानदेखि पाँच किलोमिटर पश्चिममा निर्मित सभाहलका झ्यालका सिसा फुटेका छन् भने छाडा पशुको विश्रामस्थल र बालबालिका खेल्ने ठाउँ बनेको छ । रासस

म्याग्दीको दुर्गम बस्ती बगरमा सडक सञ्जालमा जोडियो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगर गाउँमा सडकको पहुँच पुगेको छ । सोही वडाको नाउरामा पुगेको सडकलाई ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगर स्थित जेल्टुङ बस्तीमा सडकको पहुँच पुगेको हो । नाउरादेखि म्याग्दी खोलाको किनार हुँदै भिर पहाड काटेर छ किलोमिर लामो सडकको ट्याक निर्माण भएपछि बगरको जेल्टुङ सडकको पहुँचमा जोडिएको म्याग्दीखोला जलविद्युत आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिए । ट्याक खोल्न बाँकी रहेको नाउराको भिर छिचोलिएसंगै बुधवार जेल्टुङमा पहिलो पटक बोलेरो जीप पुगेको थियो । चक्रीय धौलागिरि पदमार्ग अन्तरगत अन्तिम मानव बस्तीको रुपमा रहेको बगर सडक सञ्जालले जोडिएसंगै स्थानीयबासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवत जावत गर्न सहज भएको धवलागिरि – ४ मुदीका वडा अध्यक्ष यामप्रसाद घर्तिमगरले बताए । सडकले बगर र जेल्टुङ गाउँका करिब ६० घरधुरी लाभान्वित भएका छन् । यस अघि नाउराको अक्करे भिरमा बनाइएको गोरेटो बाटो हुँदै करिब २ देखि ३ घण्टा लाग्ने बाटो सडक सञ्जालले ३० मिनेटमा छोटिएको छ । सडकको पहुँच विस्तार भएसंगै उर्जा डेभलपर्स अन्तगत रहेको हाइड्रो भिलेज प्रा।लि प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युतको जेल्टुङमा विद्युतगृहको लागि बंकर घर र क्याम्प लगायतका पूर्वाधार निर्माण सुरु हुने भएको छ । यस आयोजनाको बाँधस्थल रहने दोभानसम्म थप ११ किलोमिटर सडकको पहुँच विस्तार गर्ने कार्यसंगै विद्युतगृह, सुरुङमार्ग निर्माणको काम एकैसाथ अघि बढाउने आयोजनाले जनाएको छ । धवलागिरि गाउँपालिका– ४ को चेचुङ गाउँमा हालै ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले सडकको पहँच विस्तार गरेको थियो । यस वडाको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन् ।

मेची भन्सारले उठायो ८ अर्ब ८४ करोड राजस्व

भद्रपुर । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा आठ अर्ब ८४ करोड ८६ लाख ९८ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको माघ महिनासम्ममा नौ अर्ब ६० करोड ९२ लाख १५ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । गत आव २०८०÷८१ को सोही अवधिमा राजस्व आठ अर्ब ९० करोड सात लाख ६७ हजार रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य रहेकामा त्यसमध्ये ७६ दशमलव १० प्रतिशत मात्रै राजस्व सङ्कलन भएको थियो । चालु आवको सात महिनामा पेट्रोलियम पदार्थको आयतबाट पाँच अर्ब २८ करोड १४ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी तरकारीको आयतबाट ४४ करोड २५ लाख ४२ हजार रुपैयाँ, यातायातका साधन र तिनका पाटपुर्जाबाट २४ करोड ७५ लाख ९१ हजार रुपैयाँ, दलहनबाट १५ करोड ९६ लाख ८५ हजार रुपैयाँ, खनिज उत्पादनबाट १५ करोड ७३ लाख २५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी कँडेलले जानकारी दिए । चालु आवको सात महिनामा १६ अर्ब चार करोड ४८ लाख ६३ हजार रुपैयाँ बराबरको वस्तु निर्यात हुँदा नौ करोड २२ लाख २९ हजार रुपैयाँ र २७ अर्ब ३४ करोड ५३ लाख ८१ हजार रुपैयाँ बराबरको वस्तु आयात गरिँदा आठ अर्ब ७५ करोड ६४ लाख ६३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सुनको मूल्य बढेर तोलाको एक लाख ७१ हजार पुग्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बुधबारको तुलनामा बिहीबार प्रतितोला सुनमा ५०० रुपैयाँ र चाँदीमा १० रुपैयाँले वृद्धि भएको छ । बुधबार एक लाख ७० हजार ५०० रुपैयाँमा किनबेच भएको एक तोला सुनको मूल्य आजका निम्ति एक लाख ७१ हजार रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, बुधबार एक हजार ९८५ रुपैयाँमा कारोबार भएको सोही परिमाणको चाँदीको मोल एक हजार ९९५ रुपैयाँ कायम भएको छ ।

‘ग्रे-लिस्टमा परे ठूलो मात्रामा वैदेशिक सहयोग कटौती हुनसक्छ’

काठमाडौं । बुधबारदेखि फ्रान्सको पेरिसमा फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को बैठक सुरु भएको छ । बैठकमा अन्तर्राष्ट्रिय मुद्रा कोष, संयुक्त राष्ट्र संघ, विश्व बैंक, इन्टरपोल र एग्मोण्ट ग्रुप अफ फाइनान्सियल इन्टेलिजेन्स युनिट्स लगायत ग्लोवल नेटवर्क र पर्यवेक्षक संस्थाका २०० भन्दा बढी सदस्यहरूको प्रतिनिधित्व गरेका छन् । यो बैठकले नेपाललाई ग्रे लिस्टमा राख्ने वा नराख्नेबारे निर्णय लिनेछ । यसअघि नेपाल सन् २००८ को जनवरीदेखि २०१४ को जनवरीसम्म ग्रे लिस्टमा परेको थियो । यसपछि नेपालले कानूनी र संस्थागत संरचना (सम्पत्ति शुद्धीकरण विभाग) बनाएपछि सूचीबाट हटेको थियो ।अहिले फेरि नेपालले पूर्वशर्तहरु पालना नगर्दा ग्रे लिस्टमा पर्ने खतरा बढेको छ। यससम्बन्धि विज्ञ तथा सरकारी अधिकारीहरुले समेत नेपाल ग्रे लिस्टमा पर्न लागेको बताउँदै आएका छन् । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले नेपालले पूरा गर्नुपर्ने विभिन्न शर्तहरु नगरेकै कारण ग्रे लिस्टमा पर्न लागेको बताए। उनले नेपाल ग्रे लिस्टमा पर्दा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एशियाली विकास बैंक लगायतले दिने ऋण तथा आर्थिक सहायतामा नियन्त्रण गर्ने, अनुदान र सहायतामा कटौती गर्ने सम्भावना रहेको बताए । उनले भने, ‘ग्रे लिस्टमा परेमा वैदेशिक ऋण, अनुदानका साथै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) समेत प्रभावित हुने खतरा छ। नेपालले विश्वजगतमा वित्तीय हैसियत गुमाउने सम्भावना हुन्छ, जसले गर्दा नेपाली बैंकहरुले खोलेको प्रतिपत्र अस्वीकृत हुनसक्छ।’ उनकाअनुसार नेपाल जस्तै थ्रुपै मुलुकहरु ग्रे लिस्टमा परेका छन् । तर ती मुलुकहरु आर्थिक रुपमा सम्पन्न छन् । नेपालजस्तो परनिर्भरताको अवस्थामा छैनन् । नेपाल ग्रे लिस्टमा पर्दा यहाँका गरिवीको रेखामुनी रहेका समुदायलाई असर पर्ने थापाले बताए । उनले  भ्रष्टाचार, सुशासनमा नेपालले सुधार नगर्दासम्म नेपाललाई अन्तर्राष्ट्रिय जगतले हेर्ने नजर राम्रो नहुने बताए । ग्रे लिस्टमा परिरहने खतरा रहिरहन्छ । सरकारले जनतालाई दिने सेवामा सुधार ल्याउने, बैंक तथा वित्तीयसंस्थामा रहेका समस्याहरुलाई समेत हल गरेर अघि नबढेसम्म सम्पती शुद्धिकरणसंवद्ध एपिजीजस्ता संस्थाहरुले नेपाललाई ग्रेलिस्टमा राखिरहने छन् । यस्तै, गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र तिवारीले नेपाल ग्रे लिस्टमा पर्नसक्ने जोखिम बढ्नुमा गृह मन्त्रालयलाई दिएको दुईवटा काम पूरा गर्न नसक्नु पनि भएको बताए । आतंकवाद क्रियाकलापमा वित्तीय लगानी सम्पती शुद्धिकरणको जोखिम न्यूनीकरणको लागि टार्गेटेड फाइनन्सियल सेक्सनको सफ्टवेयर निर्माण नगर्नु र गैरनाफामुलक संस्थाहरुको नियमनको लागि सफ्टवेयर नभएकाले पनि देश ग्रे लिस्टमा पर्न लागेको गृह मन्त्रालयको बुझाई रहेको बताए । उनले भने– ‘ग्रे लिस्टमा पर्नसक्ने मध्ये हाम्रा पनि दुईवटा क्रियाकलाप थिए । हाल फाइनन्सियल सेक्सनको सफ्टवेयर बनाएर लागू भइसकेको र गैरनाफामुलक संस्थाको नियमनको लागि सफ्टवेयरको टिओआर तर्जुमा भई निर्माणको चरणमा रहेको छ।’ गृहमन्त्रालयका अनुसार नेपाल–भारत सीमा सम्बन्धिको बारेमा दुईदेशका सहसचिवस्तरीय वार्ता हुँदैछ। नेपालले चैत्रको मध्यतिर  वार्ताको मिति प्रश्ताव गरेको छ । उक्त वार्तामा नेपाल भारतको सीमामा हुने अवैध ओसारपसार कारोबारको विषयमा छलफल हुनेछ । साथै सीमापार अवैध कारोबारको विषय सम्पती शुद्धिकरणको विषय पनि भएकाले एफएटिएफको सुझाव र निर्देशनका बारेमा समेत सो बैठकमा छलफल हुने बताइएको छ ।

८ महिनामा ७५ हजारले गरे गोरखा दरबार सङ्ग्रहालयको भ्रमण

गोरखा । नेपाल एकीकरणको इतिहास अध्ययन गर्ने थलोका रूपमा विकास हुँदै गएको गोरखा दरबार सङ्ग्रहालयमा आठ महिनाको अवधिमा ७५ हजारभन्दा बढीले अवलोकन भ्रमण गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि माघसम्ममा आन्तरिक र बाह्य पर्यटक गरी ७५ हजार ७९१ जनाले सङ्ग्रहालयको अवलोकन भ्रमण गरेका सङ्ग्रहालयका प्रमुख जयनारायण कार्कीले जानकारी दिए। उनका अनुसार सङ्ग्रहालयको भ्रमण गर्नेमध्ये सबैभन्दा धेरै शैक्षिक भ्रमणमा आउने विद्यार्थीहरू छन् । ‘गोरखा दरबार सङ्ग्रहालयमा नेपाल एकीकरणको इतिहास बुझ्न र अध्ययन गर्न पाइन्छ’, प्रमुख कार्कीले भने, ‘शैक्षिक भ्रमणका सिजनमा धेरै जिल्लाबाट यहाँ अवलोकन गर्न विद्यार्थीहरू आइपुग्छन् ।’  यस्तै, सार्क राष्ट्र र अन्य देशका पर्यटकसमेत गोरखा दरबार सङ्ग्रहालय घुम्न आउने गरेको उनको भनाइ छ । प्रमुख कार्कीकाअनुसार साउनयता सङ्ग्रहालयको भ्रमण गर्नेहरूमा ४३ हजार ८४८ जना विद्यार्थी छन् । यस्तै, ३० हजार ७०४ जना आन्तरिक, एक हजार १६६ जना तेस्रो मुलुक र ७३ जना सार्क राष्ट्रभित्रका पर्यटकले सङ्ग्रहालयको भ्रमण गरेका छन् । सङ्ग्रहालयमा पर्यटकहरूले नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहलगायत शाहवंशीय राजाहरूको इतिहास अध्ययन गर्न पाउने व्यवस्था छ ।सङ्ग्रहालयमा पृथ्वीनारायण शाहको चिना, भाँडाकुँडा, मानापाथी, हातहतियार तथा विभिन्न कलात्मक सामग्रीहरू अवलोकनका लागि राखिएका छन् भने काष्ठकलाले भरिपूर्ण तीन मुखे झ्याल, टुँडाल, १६ वटा थामको कलात्मक बरण्डा सङ्ग्रहालयको थप आकर्षणका रूपमा रहेको छ । यस्तै, विभिन्न जातजातिको संस्कृति र परम्परा झल्कने डमी, दिव्य उपदेश कक्ष, वंशावली कक्ष, धार्मिक परम्परा कक्षलगायत १२ वटा प्रदर्शनीकक्ष सङ्ग्रहालयमा रहेका छन् । यो सङ्ग्रहालय विंस २०६५ देखि सञ्चालनमा आएको हो ।

पोखरा विश्वविद्यालयबाट सात हजार ८७२ विद्यार्थी दीक्षित हुँदै

गण्डकी । पोखरा विश्वविद्यालयको २० औं दीक्षान्त समारोह आज पोखरा महानगरपालिका – ३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हुँदैछ । समारोहमा विभिन्न तह र विषयका सात हजार ८७२ जना विद्यार्थी उपाधि प्रदान गरिने विश्वविद्यालयका डिन डा. अजय थापाले जानकारी दिए । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समुपस्थितिमा हुने समारोहमा शिक्षाविद् जर्ज जोनले दीक्षान्त मन्तव्य व्यक्त गर्ने कार्यक्रम  छ ।

क्रेस्ट माइक्रोले फागुन २२ गतेदेखि आईपीओ बिक्री गर्ने, १० हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले फागुन २२ गतेदेखि प्राथमिक सेयर निष्काशन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशत आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको २२ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता, कम्पनीका कर्मचारीलाई ६७ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता सेयर बिक्री गरिसकेको छ । कम्पनीले अब दोस्रो चरणमा १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गर्नेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले फागुन २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि चैत ७ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालनमा ल्याएको मेरो सेयरमार्फत् लगानीकर्ताहरुले आईपीओमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।