सचिव पोखरेल बने एशियाली सहकारी नियमन अलायन्सको अध्यक्ष
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव एशियाली सहकारी नियमन अलायन्सका अध्यक्ष बनेका छन् । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्ष समेत रहेका उनी सो अलायन्सको अध्यक्षमा निर्वाचित भएका हुन् । पोखरेलसँगै अलायन्सको उपाध्यक्षमा अल्तानतुल सोग्साईखान (मंगोलिया), सचिवमा अलेक्जेण्डर वि राकेपो (फिलिपिन्स), कोषाध्यक्षमा बुन्यारात आथानरोनारित (थाईल्याण्ड) निर्वाचित भएका छन् भने यस अलायन्सको सदस्य सचिव इलेनिता भिसान्सोके (थाईल्याण्ड) रहेकी छन् ।
चीनसँग व्यापार सम्झौता सम्भव छ : ट्रम्प
काठमाडौं । चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बताएका छन् । ट्रम्पले सन् २०२० मा अमेरिकाले चीनसँग ठूलो व्यापार सम्झौता गर्न सहमति जनाइसकेको र नयाँ सम्झौता सम्भव भएको बताएका हुन् । आफ्नो दोस्रो कार्यकालको एक महिनापछि ट्रम्पले चीन, छिमेकी क्यानडा, मेक्सिको र युरोपेली सङ्घलाई लक्षित गर्दै सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाउने चेतावनी दिएका हुन् । फेब्रुअरीको सुरुमा उहाँले चीनबाट आयात हुने सबै उत्पादनमा १० प्रतिशत थप भन्सार शुल्क लगाएका थिए । उनले सबै आयातित कारहरूमा २५ प्रतिशत कर लगाउने र औषधी र ‘सेमीकन्डक्टर’मा समान वा उच्च शुल्क लगाउने चेतावनी पनि दिइरहेका छन् । ट्रम्पले सुरुमा सबै क्यानेडियाली र मेक्सिकोली आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थियो तर निर्णय लागु हुनुभन्दा केही घण्टा अघि सैद्धान्तिक रूपमा निर्णयलाई थाति राख्दै मार्च १ सम्म निर्णयलाई कार्यान्वयनमा नलाने बताएपछि एक महिनाको लागि राहत मिलेको थियो । उनले गत हप्ता विदेशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत थप कर लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सुरक्षा सामग्री वितरण
गलेश्वर । पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्य र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको छ । गाउँपालिकाभित्रका सातवटै वडाका १४ उपभोक्ता समिति र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको हो । गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रत्येक वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतका दुई–दुई योजना गरी सात वडामा १४ योजना सञ्चालनमा छन् । स्वरोजगार कार्यक्रमअन्तर्गतका योजनामध्ये सार्वजनिक शौचालय निर्माण, पदमार्ग निर्माणलगायत योजनाका उपभोक्ता समिति र कामदारलाई हेल्मेट, ग्लोभ्स, बुट, ज्याकेटलगायत सुरक्षा सामग्री वितरण गरिएको गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीले जानकरी दिए । सुरक्षित, व्यवस्थित र प्रभावकारी कार्य सञ्चालन सुनिश्चित गर्न श्रमिकलाई प्रदान गरिएका सुरक्षा सामग्रीले काम गर्दा सुरक्षित वातावरण बन्ने सुवेदीले बताए ।
चिम्टेश्वरमा ज्ञान यज्ञको शुभारम्भ, मन्दिर परिसरको पूर्वाधार विकासका लागि भेटी खर्च गरिने
काठमाडौं । नुवाकोटको चिम्टेश्वरमा श्रीमद्भागवत धान्याञ्चल विराट ज्ञान यज्ञ– २०८१ बुधबारदेखि सुरु भएको छ । ऐतिहासिक एवं पुरातात्विकस्थल चिम्टेश्वरमा फागुन १४ गतेसम्म ज्ञान यज्ञ सञ्चालन हुने जनाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिजो ज्ञान यज्ञको शुभारम्भ गरे । उनले चिम्टेश्वर क्षेत्रको प्रवद्र्धनमा सरकारले सहयोग गर्ने बताए । पूर्वाङ्ग तथा शोभा यात्रा हिजो भएको थियो भने आजदेखि पाठपारायण तथा प्रवचन सुरु भएको छ । यो १४ गतेसम्म हुने जनाइएको छ । यसैगरी फागुन १५ गते साँझ दीप प्रज्वलन, रातभर जाग्राम तथा भजनकीर्तन हुने समितिले जनाएको छ । महायज्ञ आयोजक मूल समारोह समितिका अध्यक्ष तथा वडा- २ का अध्यक्ष रामचन्द्र तिमल्सिनाका अनुसार ज्ञान यज्ञ पण्डित नारायण न्यौपानेले कथावाचन गर्नेछन् । यसबाट उठेको भेटी मन्दिर परिसरको पूर्वाधार विकासका लागि खर्च गरिने समितिले जनाएको छ ।
दक्षिणकालीको वनमा फैलियो डढेलो
काठमाडौं । काठमाडौंको दक्षिणकालीको वन क्षेत्रमा डढेलो फैलिएको छ । दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले बुधबार साँझ ४, ५ बजेदेखि डढेलो लागेको बताए । उनका अनुसार डढेलो निभाउने प्रयास गरिएपनि पूर्ण रुपमा निभाउन सकिएको छैन । हालसम्म नगरपालिकाको वडा नं ४, ३ र १ को जङ्गल क्षेत्रमा डढेलो फैलिएको र यसले ३० हेक्टर भन्दा बढी वनक्षेत्र जलिसकेको बताए । अहिले नगर प्रहरी, जनपथ प्रहरी तथा स्थानीय उपभोक्ता आगो निभाउन खटिएका छन् । नगरप्रमुख बस्नेतले भने, ‘हिजो भन्दा डढेलो केही नियन्त्रणमा आएको छ तर ठूटामा सल्किएको आगो फेरि फैलिने डर कायमै छ ।’ उनले सडक मार्गले काटेको क्षेत्र भएकाले बस्तीमा आगो सल्किने सम्भावना हाललाई टरेको बताए । वडा नं ४ बाँसबारी क्षेत्रबाट आगो फैलिएको उनले जानकारी दिए ।
बिक्री भएन ऊन, विस्थापित हुने जोखिममा ‘भेडिहार’
भैरहवा । कोटहीमाई गाउँपालिका– ५ देवनबक्सापुरका रामायन पालले विगत २० वर्षदेखि भेडा पालन गर्दै आएका छन् । उनको अधिकांश समय घर बाहिर नै बित्ने गरेको छ । भेडा चराउन पाल मर्चवार मात्र नभई भैरहवा, लुम्बिनीलगायत क्षेत्रमा लैजाछन् । करिब तीन सय भेडाबाट सुरु भएको ‘भेडिहार’ पालको यो यात्रामा बिराम लाग्ने अवस्था उत्पन्न भएको छ । हाल उनीसँग ३५ वटा मात्र भेडा छन् । यसअघि चरन क्षेत्रको समस्या थियो नै अब भेडाको ऊन नै बिक्री हुन छाडेपछि पाल मात्र होइन भेडिहार समुदायको पेसा नै लोप हुने अवस्था छ । मर्चवारको मुख्य बाटोमा भेडाको रौँ काटेर यत्रतत्र फालिएको भेटिन्छ । भेडाको ऊन बिक्री हुन छोडेपछि भेडिहारले जहा रौँ काट्यो त्यही छोडेर हिँड्ने गरेका छन् । ऊन नै बिक्री हुन छोडेपछि विस्तारै उनीहरुको रुचि यसबाट घट्न थालेको छ । ‘पहिला मसँग तीन सय बढी भेडा थिए, ऊन पनि एक सय किलोभन्दा बढी बेच्ने गरेको थिएँ,’ पालले भने, ‘केही वर्षयता ऊन बिक्नै छोडेको छ । त्यसैले अहिले सङ्ख्या घटाएर ३५ मात्र पालेको छु ।’ यसअघि विभिन्न स्थानबाट क्रेताहरु भेडिहार खोज्दै उहाँहरुको घर वा चरनस्थलमै पुग्ने गरेका थिए । तराईमा सामान्यतः भेडाको मासु पनि खाइँदैन । त्यसैले भेडा पाल्नेको अब आम्दानीको स्रोत शून्य भएको छ । भेडाको ऊनबाट बनेका कपडामा उपभोक्ताको रुचि घट्दै गएको कारण ऊन बिक्री नभएको कोटहीमाई गाउँपालिका–३ कुडसर बस्ने वरुनदेव पाल बताउँछन् । ‘पहिला भेडाको ऊनबाट बनेको कपडाको माग उच्च रहेको थियो र यस पेसाबाट धानिन बल पुगेको थियो,’ उनले भने , ‘अहिले त्यस्ता उद्योग बन्द हुँदै गएकाले पनि यसको माग नभएको हुन सक्छ ।’ भेडाको ऊनबाट कम्बल, स्विटर, टोपीलगायत न्याना कपडा बुनिन्छ तर आधुनिक ब्लाङकेटले यसलाई विस्थापित गरेको छ । ब्लाङकेट दुईदेखि तीन हजारमा पाइन्छन् तर ऊनबाट बनाइएका कम्बल तुलनात्मक रुपमा महँगा भएकाले ऊनको माग घटेको उनको बुझाइ छ । यसबाहेक अहिले तराईमै भेडाहरुको लागि चरन क्षेत्रको समस्या पनि छ । ‘पहिला धेरै खेत थिए चरन क्षेत्र पनि प्रशस्त हुन्थ्यो’, स्थानीय नापु पालले सुनाए, ‘चरनक्षेत्र अभावमा अब भेडा पाल्न गाह्रो छ ।’ मर्चवारको कोटहीमाई गाउँपालिका–३र ५ को सम्मरीमाई गाउँपालिकालगायत जिल्लामा भेडा पाल्नेहरु उल्लेख्य सङ्ख्यामा थिए । एक दशकअघि ३० हजारभन्दा बढी भेडा आफूहरुले पालेको पाल बताउँछन् । चरन क्षेत्रको कमी, ऊन र दूध र मासु पनि बिक्री नहुने भएपछि घरखर्च जुटाउन बाध्य भएर वैकल्पिक पेसामा लाग्नुपरेको उनको गुनासो छ । भेडापालकलाई जोगाउन स्थानीय सरकारले सघाउनुपर्ने स्थानीयको माग छ । स्थानीय समाजसेवी गणेश पाल परम्परागत पेसालाई जोगाउन स्थानीय सरकारले सघाउनुपर्नेमा जोड दिन्छन् । ऊन खरिद र बजारीकरणमा पालिकाले सहयोग गर्नुपर्ने उनको सुझाव छ । यसले ‘एक स्थानीय तह, एक उत्पादन’को नीति कार्यान्वयन गर्न सहयोग पुग्ने उनी बताउँछन् । रासस
४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम, आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । काठमाडौंको पूर्वीभेगस्थित शंखरापुर नगरपालिका–३ बोझिनीमा ४०० केभी लप्सीफेदी सबस्टेसन निर्माण धमाधम भइरहेको छ । तामाकोशी तथा सुनकोशी नदी र तिनीहरुका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जिआईएस) प्रविधिमा आधारित ४००/२२०, २२०/१३२ र १३२/११ केभी तहको लप्सीफेदी सबस्टेसन निर्माणाधीन छ । सबस्टेसन निर्माण आगामी पुसभित्र (डिसेम्बर २०२५) सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको छ । स्थानीय समस्याको बाबजुद करिब एक वर्षअघि सुरु भएको सबस्टेसन निर्माण हाल पूर्ण रुपमा (फूल फेज)मा भइरहेको छ । करिब १७२ रोपनी जग्गामा निर्माणाधीन लप्सीफेदी सबस्टेसन काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि सबैभन्दा ठूलो हब हो । मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नु पर्ने माग राख्दै केही स्थानीयबाट सबस्टेसन निर्माणमा लामो समयदेखि अवरोध हुँदै आएको थियो । सबस्टेसन निर्माणस्थलको जग्गा अधिग्रहण गर्दा सम्बन्धित जग्गाधनीहरुले राजीखुसीले मुआब्जा तथा क्षतिपूर्ति बुझेको र प्रारम्भिक वातावरणीय परीक्षण(आईई) तथा पूरक आईईलगायतका सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी उपलब्ध विकल्पहरुमध्ये सबैभन्दा उत्तम बोझिनीलाई सबस्टेसन निर्माणस्थल छनोट गरिएको थियो । स्थानीयले उठाएका जायज मागलाई सम्बोधन गर्दै सबस्टेसन निर्माण भइरहेको छ । खिम्ती–बाह्रबिसे– लप्सीफेदी सबस्टेसन आयोजनाअन्तर्गत ४००/२२० केभी लप्सीफेदी सबस्टेसनको नियन्त्रण कक्ष, जिआइएसका उपकरणहरु रहने भवनलगायतका सिभिल संरचनाहरुको निर्माण करिब ४० प्रतिशत सकिएको छ । सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर,जिआईएस, कन्ट्रोल प्यानललगायतका सम्पूर्ण उपकरणहरुको आपूर्ति करिब ८० प्रतिशत भइसकेको छ । आयोजनाअन्तर्गतका खिम्ती र बाह्रबिसे सबस्टेसन पनि निर्माणाधीन छन् । | तामाकोशी –काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत २२०/१३२ र १३२/११ केभी तहका सबस्टेसनका सिभिल संरचनाहरुको निर्माण ५० प्रतिशत सकिएको छ । उपकरणहरुको आपूर्ति ९८ प्रतिशत भइसकेको छ । सिभिल संरचनाहरुको निर्माण सम्पन्न भएपछि सबस्टेसनमा उपकरणहरुको जडान सुरु हुनेछ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार सबस्टेसन निर्माणस्थलको अनुगमन गर्दै जनशक्ति अझै थप गरी तोकिएकै समयमा काम सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीहरुलाई निर्देशन दिए । ‘स्थानीय समस्याका कारण सबस्टेसन निर्माणमा केही ढिला भयो तर हालसम्मको निर्माण प्रगति सन्तोषजनक नै देखिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने । ‘स्थानीयबाट सडक मर्मत तथा विस्तार, खानेपानी योजना, विद्यालय भवन, खेलमैदान गुम्बा निर्माण, स्थानीयलाई रोजगारीलगायतकामा राखिएका जायज मागलाई आयोजना निर्माणका क्रममा संस्थागत सामाजिक उत्तरदायीत्व (सिएसआर)अन्तर्गत सम्बोधन गरिरहेका छौं,गर्दै जानेछौं ।’ स्थानीयसँगको प्रतिबद्धताबमोजिमका सिएसआरअन्तर्गतका कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाउनसमेत उनले आयोजना व्यवस्थापनलाई निर्देशन दिए । तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसे हुँदै काठमाडौं आउने ४०० केभी प्रसारण लाइन लप्सीफेदी सबस्टेसनमा जोडिने छ । प्रसारण लाइन आयोजनाअन्तर्गत खिम्ती–बाह्रबिसे खण्डमा पर्ने सम्पूर्ण टावरहरु खडा गरिएको छ । करिब तीन किलोमिटर मात्र तार तान्न बाँकी रहेको छ । त्यस्तै, बाह्रबिसे–लप्सीफेदी लाइन खण्डमा पर्ने १२२ टावरमध्ये २ वटाको मात्र निर्माण बाँकी रहेको छ । उक्त टावरहरु लप्सीफेदी क्षेत्रमै पर्दछन् । करिब ४२ किलोमिटर तार तानिएको छ । तामाकोशी–काठमाडौं प्रसारण लाइनको निर्माण आगामी चैतभित्र सम्पन्न गर्ने लक्ष्यकासाथ काम भइरहेको आयोजना प्रमुख नितिश पौडेलले बताए । आयोजनाअन्तर्गत नै बाह्रबिसेमा २२० केभी सबस्टेसन निर्माण सम्पन्न भइसकेको छ । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले निर्माण गर्ने ४०० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भएपछि विद्युत्लाई लप्सीफेदीबाट नुवाकोटको रातामाटे हुँदै नवलपरासीको (बर्दघाट सुस्ता पश्चिम) सुनवल नगरपालिकास्थित नयाँ बुटवल सबस्टेसनतर्फ प्रवाह गराउन सकिनेछ । नेपाल सरकार तथा विद्युत प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडिबी) को ‘विद्युत प्रसारण विस्तार तथा प्रणाली सुधार आयोजना’मार्फत प्रवाह भएको सहुलितपूर्ण ऋणमा सबस्टेसनहरु तथा प्रसारण लाइन निर्माण भइरहेको हो । लम्सीफेदी-चाँगुनारायण निर्माणमा अझै अवरोध लप्सीफेदी सबस्टेसनबाट काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि निर्माण अगाडि बढाइको लप्सीफेदी–चाँगुनारायण १३२ केभी प्रसारण लाइन निर्माणमा भइरहेको अवरोध अझै हट्न सकेको छैन । प्रसारण लाइनको मार्गधिकारका जग्गाधनीले अवरोध गर्दा करिब ७ वर्ष अघिदेखि निर्माण प्रभावित हुँदै आएको छ । यसका कारण प्रसारण लाइन निर्माण नै सुरु हुन सकिरहेको छैन । आयोजनाअन्तर्गतको चाँगुनारायण १३२ केभी. सवस्टेसन निर्माण सम्पन्न भइसकेको छ । तर, विद्युत् आपूर्तिका लागि स्रोत नभएकाले चाँगुनारायण सबस्टेसन सञ्चालनमा आउन सकिरहेको छैन । उक्त सबस्टेसनबाट विद्युत् आपूर्ति दिन थालिएपछि मुख्य रुपमा काठमाडौंको पूर्वीभेगको आपूर्ति भरपर्दो र गुणस्तरीय हुनेछ । हाल उक्त क्षेत्रमा चावहिल सबस्टेसनबाट विद्युत् आपूर्ति हुँदै आएको छ ।
‘माइक्रोसफ्ट’ले २ दशकको अनुसन्धानपछि बनायो पहिलो ‘क्वान्टम कम्प्युटिङ चिप’
काठमाडौं । माइक्रोसफ्टले बुधबार ‘मेजराना वान’ नामक आफ्नो पहिलो क्वान्टम कम्प्युटिङ चिप घोषणा गरेको छ । कम्पनीले करिब दुई दशकको अनुसन्धानपछि यो उपलब्धि हासिल गरेको हो । तर माइक्रोसफ्टका अनुसार मेजराना वान बनाउनको लागि पूर्ण रूपमा नयाँ पदार्थको अवस्था निर्माण गर्नुपर्यो, जसलाई कम्पनीले ‘टोपोलोजिकल अवस्था’ भनेर परिभाषित गरेको छ । टोपोलोजिकल अवस्था भन्नाले भौतिकशास्त्रमा एउटा विशेष प्रकारको पदार्थको अवस्थालाई जनाउँछ, जुन यसको भौगोलिक संरचनाअनुसार परिभाषित हुन्छ ।याे सामान्य पदार्थको अवस्था ठाेस, ग्यास, तरल, प्लाज्माभन्दा भिन्न नयाँ प्रकारको पदार्थको अवस्था हो । माइक्रोसफ्टको क्वान्टम चिपले आठ टोपोलोजिकल क्युबिटहरू प्रयोग गर्छ, जसमा इन्डियम आर्सेनाइड नामक सेमिकन्डक्टर र एल्युमिनियम नामक सुपरकन्डक्टर प्रयोग गरिएको छ । नयाँ पदार्थको अवस्था विकास गर्न निकै चुनौती माइक्रोसफ्टले एक ब्लगमा लेखेअनुसार उचित सामग्री विकास गरी अनौठा कणहरू र तिनीहरूको सम्बन्धित टोपोलोजिकल पदार्थ अवस्था बनाउन निकै चुनौतीपूर्ण छ, जसले गर्दा धेरै क्वान्टम अनुसन्धानहरू अन्य प्रकारका क्युबिटहरूमा केन्द्रित भएका छन् । टोपोलोजिकल पदार्थ बुझ्न र क्वान्टम कम्प्युटिङ चिप निर्माण गर्न यसको प्रयोग गर्न माइक्रोसफ्टले निकै दुःख गर्नुपर्यो । माइक्रोसफ्टका टेक्निकल फेलो क्रिस्टा स्वोरेले भनिन्, ‘विडम्बनापूर्ण कुरा के हो भने हामीलाई यी सामग्रीहरू बुझ्न क्वान्टम कम्प्युटरकै आवश्यकता छ । जब हामीले ठूलो स्तरको क्वान्टम कम्प्युटर निर्माण गर्छौं, तब अझ उत्कृष्ट गुणहरू भएका नयाँ सामग्रीहरू भविष्यका कम्प्युटरहरूका लागि भविष्यवाणी गर्न सक्नेछौं ।’ मेजराना वान : क्वान्टम कम्प्युटिङको भावी दिशा प्राकृतिक विज्ञान जर्नल नेचरमा प्रकाशित नयाँ अनुसन्धानपत्रले मेजराना वान चिपको विस्तृत वर्णन गरेको छ । प्रविधि विज्ञहरू विश्वास गर्छन् कि भविष्यमा क्वान्टम कम्प्युटरहरूले त्यस्ता समस्याहरू समाधान गर्नेछन्, जुन क्लासिकल कम्प्युटरहरूका लागि असम्भवजस्तै छन् । अहिलेको कम्प्युटरहरूमा बिट्स ‘अन’ वा ‘अफ’ हुन्छन्, तर क्वान्टम कम्प्युटरहरू क्युबिट्स प्रयोग गर्छन्, जसले दुवै अवस्थाहरू एकैसाथ सञ्चालन गर्न सक्छन् । माइक्रोसफ्टको क्वान्टम रणनीति गुगल र आईबीएमजस्ता ठूला कम्पनीहरू साथै आअनक्यू र रिगेट्टी कम्प्युटिङजस्ता साना कम्पनीहरूले पनि क्वान्टम प्रोसेसर विकास गरिरहेका छन् । तर माइक्रोसफ्ट मेजराना वान चिपलाई आफ्नै अज्यूर क्लाउड सेवामार्फत सार्वजनिक रूपमा उपलब्ध गराउने छैन । यसको सट्टा कम्पनी एक मिलियन क्युबिट्स भएको चिप निर्माण गर्ने दीर्घकालीन लक्ष्यतर्फ अघि बढ्ने जनाइएको छ । माइक्रोसफ्ट अन्य कम्पनीहरूमा भर नपरी मेजराना वानको कम्पोनेन्टहरू स्वयम् अमेरिकाभित्रै उत्पादन गरिरहेको छ । माइक्रोसफ्टका कार्यकारी उपाध्यक्ष जेसन जान्डरले भने, ‘हामी केही सय क्युबिट्ससम्म पुग्न चाहन्छौं, त्यसपछि मात्र व्यावसायिक प्रयोगबारे सोच्नेछौं ।’ क्वान्टम प्रविधिमा लगानीकर्ताहरूको चासो यद्यपि अहिले अनुसन्धानमै केन्द्रित भए पनि लगानीकर्ताहरू क्वान्टम प्रविधिप्रति निकै आकर्षित छन् । आईअनक्यूको सेयर मूल्य २०२४ मा २३७ प्रतिशतले वृद्धि भएको छ । रिगेट्टी कम्प्युटिङको सेयर १५०० प्रतिशतले बढेको छ । यी कम्पनीहरूले मात्र तेस्रो त्रैमासिकमा १४.८ मिलियन डलर आम्दानी गरेका थिए । जनवरी २०२५ मा माइक्रोसफ्टले ‘अब क्वान्टमको लागि तयार हुने वर्ष हो’ भनेर ब्लग पोस्ट गरेपछि लगानीकर्ताहरूको रुचि अझै बढेको छ । भविष्यमा क्वान्टम कम्प्युटिङ र एआईको संयोजन माइक्रोसफ्टले अज्यूर क्वान्टम क्लाउड सेवामार्फत विकासकर्ताहरूलाई आईअनक्यू र रिगेट्टीका क्वान्टम चिपहरूमा प्रयोग गर्न अनुमति दिएको छ । भविष्यमा माइक्रोसफ्टको आफ्नै क्वान्टम चिपहरू २०३० भन्दा अगाडि अज्यूर क्लाउडमार्फत सार्वजनिक हुनसक्ने अनुमान गरिएको छ । क्वान्टम कम्प्युटिङलाई स्वतन्त्र प्रविधिभन्दा पनि अन्य क्षेत्रमा उपयोग गर्न सकिन्छ। माइक्रोसफ्टको एआई व्यवसाय जसले वार्षिक १३ बिलियन डलरभन्दा बढी राजस्व उत्पन्न गर्छ, क्वान्टम कम्प्युटिङबाट फाइदा लिन सक्छ । (एजेन्सीहरूको सहयोगमा)