कोशी र गण्डकी प्रदेशमा चट्याङसहित वर्षा हुने, कर्णाली, सुदुरपश्चिमलगायत पहाडी भागमा बदली
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कर्णाली, सुदुरपश्चिमलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको र यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन अनुरोध गरिएको छ
ग्रे लिष्ट : हुण्डी, भ्रष्टाचार र बढ्दो क्रिप्टो कारोबारले निम्तिएको जोखिम, एफडीआईदेखि वैदेशिक ऋणमा दबाब
काठमाडौं । नेपाल फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटीएफ)को ग्रे लिष्ट (खैरो सूची)मा परेसँगै अब देशको अर्थतन्त्रमा थप चाप पर्ने देखिएको छ । एफएटीएफले पत्रकार सम्मेलनमार्फत् नेपाललाई ग्रे लिष्टमा परेको जानकारी दिएसँगै अब नेपालको अर्थतन्त्र थप समस्यामा पर्न सक्ने देखिएको हो । नेपालसँगै लाओस पनि ग्र लिष्टमा परेको छ भने फिलिपिन्स सो लिष्टबाट हटेको छ । सरोकारवालाहरुले पनि समस्याउन्मुख देशको अर्थतन्त्र थप समस्यामा पर्ने भन्दै चिन्ता व्यक्त गर्न थालेका छन् । सम्पत्ति शुद्धीकरण निवारणमा नेपाल कमजोर भएको भन्दै नेपाललाई ग्रे लिष्टमा राखिएको हो । यसअघि पनि ग्रे लिष्टमा परिसकेको नेपालले त्यतिखेर विभिन्न कुटनीतिक पहल र कानूनी सुधार गरेर बाहिर आउन आउन सफल भएको थियो । सम्पत्ति शुद्धीकरण अर्थात मनी लाउन्डरिङ र आतंकवादी क्रियाकलापमा वित्तीय सहायता रोकथाम गर्न आवश्यक मापदण्ड पूरा गर्न नसक्ने मुलुकहरूलाई ग्रे लिष्टमा राखिँदै आएको छ । अब नेपालले यो सूचीबाट बाहिर आउनका लागि धेरै प्रयत्न गर्नुपर्ने विज्ञहरु बताउँछन् । तथापि, त्यसअघि पनि देशको अर्थतन्त्रमा एक किसिमको मन्दी नै सिर्जना हुने जानकारहरु बताउँछन् । ग्रे लिष्टमा परेका मुलुकहरूलाई अन्तर्राष्ट्रिय वित्तीय सहायता, वैदेशिक व्यापार, वैदेशिक लगानी र कूटनीतिक सम्बन्धमा ठूलो असर गर्ने जानकारहरु बताउँछन् । त्यसको सम्पूर्ण नकारात्मक प्रभाव नेपालको अर्थतन्त्रमा पर्नेछ । जसमा आयात महँगो हुनेछ भने निर्यात प्रक्रिया थप झन्झटयुक्त हुनेछ । नेपाल ग्रे लिष्टमा पर्दा विदेशी ऋणको ब्याजदर बढ्नेछ भने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक लगायतका संस्थाले नेपाललाई आर्थिक सहायता तथा ऋण प्रवाहमा कडाइ मात्रै होइन रोक्न पनि सक्नेछन् । यसले विदेशी लगानी ल्याउन निरुत्साहित गर्नेछ भने व्यापारिक सम्झौतामा थप कठिनाइ सिर्जना हुनेछ । अब यसबाट बाहिर निस्किनका लागि नेपालले ठूला बैंक तथा सहकारीमा कडाइका साथ नियमन गर्नुपर्नेछ भने हुण्डी तथा क्रिप्टो कारोबार थप प्रतिबन्ध लगाउनुपर्नेछ भने भ्रष्टाचार निवारणमा अभियान नै सञ्चालन गर्नुपर्नेछ । विभिन्न संघ संस्था तथा निकायको नियमन तथा सुपरीवेक्षणलाई प्रभावकारी बनाई सम्पत्ति सुद्धिकरण सम्बन्धि तथ्यांकहरु नियामकमा पेस गर्ने कार्यलाई तीव्रता दिनुपर्नेछ । कम्पनी तथा संस्थाले जोखिम तथा शंकास्पद कारोबारलाई नियामक कहाँ पठाउने तथा जानकारी दिने कार्यलाई थप प्रभावकारी बनाउनु पर्नेछ भने यसमा संलग्न व्यक्ति तथा संस्थालाई कारवाही तथा जरिवाना प्रक्रियालाई पनि थप परिस्कृत बनाउनु पर्नेछ ।
नेपाल ग्रे लिष्टमा, अर्थमन्त्री भन्छन् : अब छिट्टै बाहिर निस्कन्छौं
काठमाडौं । नेपाल ग्रे लिष्टमा परेको छ । फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ)ले पत्रकार सम्मेलनमार्फत् नेपाल ग्रे लिष्टमा परेको जानकारी दिएको हो । सम्पत्ति शुद्धीकरण निवारणमा नेपाल कमजोर भएको भन्दै नेपाललाई ग्रे लिष्टमा राखिएको हो । नेपालसँगै लाओस पनि ग्रे लिष्टमा परेको छ । अब नेपाललाई वैदेशिक व्यापार तथा अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न सकस पर्ने विज्ञहरु बताउँछन् । एफएटीएफका अनुसार ‘इफेक्टिभ रेटिङ’ अन्तर्गत ११ मापदण्डमध्ये कम्तीमा ३ वटामा ‘हाइली कम्प्लायन्स’ वा ‘सब्स्टान्सियल कम्प्लायन्स’ हुनु आवश्यक छ । नेपालले भने ४ मापदण्डमा ‘मध्यम’ र ७ मापदण्डमा ‘न्यून’ मूल्यांकन पाएको छ । नेपाल यसअघि पनि ‘ग्रे लिस्ट’मा परिसकेको छ । तर, विभिन्न कुटनीतिक पहल र कानुनी सुधारबाट त्यसबाट बाहिर आउन सफल भएको थियो । ग्रे लिस्ट सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी राख्ने अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्सको नकारात्मक सूची हो । ‘ग्रे लिस्ट’ एफएटीएफले तयार गर्ने यस्तो सूची हो, जसमा सम्पत्ति शुद्धीकरण अर्थात मनी लाउन्डरिङ र आतंकवादी क्रियाकलापमा वित्तीय सहायता रोकथाम गर्न आवश्यक मापदण्ड पूरा गर्न नसक्ने मुलुकहरूलाई राखिन्छ । ग्रे लिष्टको असर ग्रे लिष्टमा परेका मुलुकहरूलाई अन्तर्राष्ट्रिय वित्तीय सहायता, वैदेशिक व्यापार, वैदेशिक लगानी र कूटनीतिक सम्बन्धमा ठूलो असर पर्छ । त्यसको सम्पूर्ण नकारात्मक प्रभाव नेपालको अर्थतन्त्रमा पर्नेछ । जसमा आयात महँगो हुनेछ भने निर्यात प्रक्रिया थप झन्झटयुक्त हुनेछ । नेपाल ग्रे लिष्टमा पर्दा विदेशी ऋणको ब्याजदर बढ्नेछ भने विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक लगायतका संस्थाले नेपाललाई आर्थिक सहायता तथा ऋण प्रवाहमा कडाइ गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय समुदायमा नेपालको छवि कमजोर हुन गई विदेशी लगानी घट्नेछ भने व्यापारिक सम्झौतामा थप कठिनाइ सिर्जना हुनेछ । यसको सम्पूर्ण प्रभाव देशको अर्थतन्त्रमा परेर कुल ग्राहस्थ उत्पादनमा नकारात्मक असर पर्नेछ । छिट्टै बाहिर निस्किन्छौं : अर्थमन्त्री एफएटीएफले नेपाललाई ग्रे लिष्टमा राखेपछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कने बताएका छन् । अर्थमन्त्री पौडेलले भने, ‘विगतमा निर्धारित समयमा निर्धारित काम सम्पन्न गर्न नसक्दा यो परिस्थिति निर्माण भएको हो । पेरिस बैठकबाट नेपालको एक्सन प्लान स्वीकृत भएको छ । एक्सन प्लान अनुसार प्रभावकारी रुपमा काम गरेर हामी निर्धारित समय अगावै ग्रे लिष्टबाट बाहिर निस्कन्छौं । सम्बन्धित सामग्री : नेपाल ग्रे लिष्टमा पर्नेमा प्रधानमन्त्री ओली पनि निश्चित, प्रचण्ड सरकारलाई दोष ‘ग्रे लिष्ट’बाट बच्न पञ्च वर्षीय रणनीति तयार, अध्ययनका लागि एपीजी टोली आउँदै
प्रधानमन्त्री कार्यालयले मूल्याङ्कन गर्न नजानेको भौतिकमन्त्रीको आरोप, थोरै नम्बर दिएकोमा आक्रोशित
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले हाल राजमार्ग निर्माणको काम द्रुत गतिमा अघि बढिरहेको दाबी गरेका छन् । शुक्रबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा उनले मन्त्रालयका १९ वटा आयोजनामध्ये ८ वटा सुरु हुन लागेको, ३ वटा सम्पन्न भइसकेको र ८ वटा जारी रहेको अवस्थामा रहेकाले प्रगति ५० प्रतिशतमाथि रहेको बताए । यस्तै, मन्त्री दाहालले ग्वार्को फ्लाइओभरको ८२ प्रतिशत काम सम्पन्न भइसकेको र सम्पन्न हुने चरणमा रहेको बताए । विभिन्न राजमार्ग निर्माणको काम पनि द्रुत गतिमा अघि बढिरहेको उनको भनाइ छ । उनले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताए । आफ्नो नेतृत्वमा विभिन्न कामले गति लिए पनि प्रधानमन्त्रीको कार्यालयले मूल्याङ्कन गर्न नजानेको गुनासो मन्त्री दाहालको छ । उनले प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्ने बताउँदै आफूलाई सबैभन्दा थोरै नम्बर दिएकोमा आक्रोश व्यक्त गरे । संघीय सरकारका मन्त्रालयहरूले आर्थिक वर्षको पहिलो ६ महिनामा सम्पन्न गरिसक्नुपर्ने कामको हिसाबले भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाल सबैभन्दा कमजोर देखिएका थिए । उनलाई दिइएको नम्बरअनुसार उनी असफल मन्त्रीको सूचीमा छन् । उनी नेतृत्वको मन्त्रालयले ७.९ प्रतिशत काम मात्र सम्पन्न गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको थियो । उनीपछि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले १०.७ प्रतिशत र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले १५.३ प्रतिशत मात्रै अंक ल्याए ।
वायुसेवा सञ्चालकले भने : युरोपेली देशसँग वार्षिक अर्बौंको कारोबार हुन्छ, हेलिकोप्टर आयात रोकियो भन्नु गलत हो
काठमाडौं । निजी क्षेत्रका वायुसेवा कम्पनीहरूको छाता संस्था वायुसेवा सञ्चालक संघ नेपालले युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध लगाएको भन्नु गलत रहेको बताएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै हेलिकोप्टर आयात रोकियो भन्ने समाचार गलत भएको धारणा राखेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली हेलिकप्टर आयातमा प्रतिबन्ध लगायो भनेर विभिन्न सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएकोउल्लेख गर्दै संघले त्यस्तो नभएको बताएको हो । संघले विज्ञप्तिमा भनेको छ, ‘नेपाली बजारमा ९० प्रतिशतभन्दा बढी बजार हिस्सा युरोपेली वायुयानहरूले ओगटेको छ, साथै जहाज, पार्टपुर्जा तथा तालिमबापत वार्षिक अर्बौं रुपैयाँ युरोपियन कम्पनीहरूसँग कारोबार भइरहेको छ ।’ शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक तथा सदस्य वायुसेवा कम्पनीका पदाधिकारीहरूको उपस्थितिमा सेफ्टी लिस्टबाट हटाउने सम्बन्धमा गहन छलफल भएकोले त्यसले साथर्कता पाउने विश्वास संघको छ । ‘हामीले गरेको कामको उचित मूल्यांकन गर्दै युरोपियन यूनियनको हेडक्वार्टर ब्रुसेल्समा बस्ने सेफ्टी कमिटीको आगामी मिटिङले अवश्य पनि सेफ्टी लिस्टबाट हटाउँछ भन्ने नेपाल सरकार, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा संघले पूर्ण विश्वास लिएको छ,’ विज्ञप्तिमा भनिएको छ । युरोपियन युनियनले नेपाली हवाई सेवालाई सन् २०१३ देखि सेफ्टी लिस्टमा राखेपश्चात संघका सदस्य वायुसेवा कम्पनीहरूले अहोरात्र खटी नेपाल नागरिक उड्डयन प्राधिकरणको सेफ्टी स्ट्यान्डर्डले निर्दिष्ट गरेअनुसारको कार्य गरी विभिन्न चरणहरु पार गरेतापनि लिस्टबाट हट्न नसकेको हुँदा नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण, सदस्य वायुसेवा कम्पनीहरट्ठ तथा अन्य सरोकार निकायहरु यस सम्बन्धमा तदारुकताका साथ लागि परी नै रहेको जानकारी पनि संघले दिएको छ । युरोपियन यूनियनको सेफ्टी लिस्टले निरन्तरता पाएको खण्डमा नेपाल सरकार तथा नेपाल नागरिक उड्डयन प्राधिकरणले हालको विद्यमान नियमहरूमा समय साक्षेप परिवर्तन गरी नेपालको भौगोलिक सुहाउँदो आवश्यक वायुयानहरूको उचित पहिचान गरी वायुयान खरिद, मर्मत तथा एभिएसन प्रडक्टका लागि वैकल्पिक बजारहरूको हिस्सा विस्तार गर्ने संघले जनाएको छ । साथै संघले नेपाली हवाई सेवा उद्योगहरूको दीर्घकालीन स्थिरता र वृद्धिको लागि महत्त्वपूर्ण भूमिका खेली उडयन क्षेत्रलाई जोगाउन नेपाल सरकार गम्भीर भई उचित कदम चाल्न अनुरोध गरिएको छ ।
प्रकृति लम्साल प्रकरण : भारतबाट फर्किएका विद्यार्थीले कैदीको भेषमा यसरी सुनाए घटनाको फेहरिस्त
काठमाडौं । फेब्रुअरी १६ तारिखको कुरा हो । कलेजमा एउटा कार्यक्रम चलिरहेको थियो । दिउँसो तीन/साढे तीन बजे आसपासमा नेपाली विद्यार्थीले आत्महत्या गरेको भन्ने हैल्ला विश्वविद्यालयभर फैलियो । त्यसपछि सबै नेपाली विद्यार्थी जम्मा भयौं । बुझ्दै जाँदा प्रकृति लम्सालले आत्महत्या गरेको भन्ने कुरा सुनियो । एक महिना अगाडि प्रकृतिले प्रशासनमा उजुरी दिएको कुरा थाहा भयो । हालसम्म पनि प्रशासनले कुनै एक्सन किन नलिएको भन्ने विषयमा हामीले प्रशासनसँग प्रश्न राख्यौं । तर, विश्वविद्यालयले यो विषयमा कुनै चासो दिएन । हामी आईआरओ अफिस गयौं । यता मृतकसँगै होस्टेलमा बस्ने छात्रालाई कोठामा थुनेर राखिएको थियो । हामी पहिले त्यहाँ गयौं । त्यहाँ जाँदा रातको १२ बजिसकेका थियो । हामी होस्टेल अगाडि बसेर न्याय मागिरहेको बेला विश्वविद्यालयका उपकुलपति, डिन, प्राध्यापक सबै आए । हामीले आफ्नो माग सुनायौं । त्यसपछि आत्महत्या गरिएको भनिएकी छात्राको ल्यापटप र मोबाइल नभेटिएकाे कुरा आयो । छात्रा साथीहरूले मोबाइल र ल्यापटप वार्डेनसँग रहेको बताए । उनीहरूलाई सोध्दा प्रहरीसँग छ भनियो, प्रहरीसँग सोध्दा हामीसँग छैन भनियो । त्यसपछि हामीले उपकुलपतिलाई फोन र ल्यापटपको कुरा देखाएर यो केश प्रहरीलाई बुझाइ दिएपछि हामी जान्छौं भन्यौं । उनले पनि सहमति जनाएका थिए । त्यही बेला एक जना महिला आएर प्रहरीसँगै त्यो कोठामा गएर फोन र ल्यापटप छ या छैन भनेर हेर्न गइन । यतिबेलासम्म राति २ बजिसकेको थियो । ती महिला आइनन् । उहाँलाई आउन नदिएपछि यहाँ केही न केही भएको छ भन्ने हामीलाई झन् शङ्का लाग्यो । हामी त्यही बसेर आफ्नो मागमा अडिग भयौं । त्योबेलासम्म बिहानको ५ बजिसकेको थियो । फाउण्डर सर आएर हामीलाई आन्दोलन नगर, यस्ता घटनाहरू भइरहन्छन्, दुई दिनमा सेलाएर जान्छन्, यो घटना हामी आफ्नो तरिकाले मिलाइहाल्छौं भन्ने तरिकाले कुरा गर्नुभयो । उहाँको बोली सुन्दा झन् शङ्का भयाे । हामी त्यहाँबाट फिर्ता भएनौं । हामीले माग यथावत राख्यौं । फाउण्डरको कुरा नमान्दा खोइ के भएको रातिसम्म शालीन भएर कुरा गरिरहेका शिक्षकहरू अचानक आक्रोशित भए । उनीहरू नै प्रहरीलाई बोलाएर लाठीचार्ज गर्न लगाए । हामीले शान्तिपूर्ण रूपमा माग गरिरहँदा कसरी प्रहरी आएर लाठीचार्ज गर्याे भन्ने कुरा अचम्म लाग्यो । प्रहरीमात्र होइन, हामीलाई त्यहाँको सेक्युरिटी गार्डले समेत कुट्न थाले । रातभर नसुतेर बसेका हामी भोकभोकै थियौं । कोही साथी दुई घण्टा आराम गरेर आउनुपर्याे भन्दै होस्टेल गएका थिए । हामी केही व्यक्तिमात्रै थियौं । त्यहीबेला हामीमाथि एक्कासि आक्रमण भयो । त्यसपछि हामी भागेर होस्टेलमा जान बाध्य भयौं । हामीमाथि यता आक्रमण भइराख्दा उता केटी साथीहरू बसेको होस्टेलमा गएर उनीहरूलाई पनि टर्चर गर्न सुरु भएको थियो । ‘तिमीहरू आफ्नो देश फर्क’ भनेर उनीहरूलाई जबरजस्ती कोठाबाट तानिँदै थियो । जुन दुई जना शिक्षिकाले छात्राहरूलाई गाली गर्दै देशको बजेटसँग विश्वविद्यालयको आर्थिक कुरा जाडेको भिडियो आएको थियो, त्याे बिहान ५/६ बजेतिरको भिडियो हो । कुनैपनि देशमा कुनैपनि विद्यार्थीमाथि यस्तो जबरजस्ती गर्न मिल्दैन । तर, त्यहाँ हाम्रा केटी साथीहरूलाई तथानाम गाली गरेर होस्टेलबाट जबरजस्ती निकालियो । यता हाम्रो केटाको होस्टेलमा हामी रातभर सुतेका थिएनौं, थकित थियौं । होस्टेल छोड्न सूचना आउँदा हामीलाई डराउन गरिएको होला, निकाला गरिहाल्ने नहोला भन्ने लागेको थियो । एकास्सि ओडिसा प्रहरीसँगै ठूल्ठूलो ज्यान भएका गुण्डाजस्तै देखिने व्यक्ति होस्टेलमा आए । सँगै गाडी पनि ल्याएका थिए । हामीलाई कोठा ढकढक्याउँदै नेपाली हो भन्दै कोठाभित्रबाट तान्न थालियो । जसलाई देख्यो उनीहरू छोप्दै गाडीमा राख्दै गर्न थालियो । माहोल यस्तो बनिसकेको थियो कि नेपाली हो भन्नेबित्तिकै पिट्दै छोप्दै गाडीमा राख्ने गरियो । गाली गर्दै त आफ्नो देश जाओ भन्दै कोठाबाट जबरजस्ती निकाल्यो । भिडियो बनाइरहेका साथीहरूको मोबाइल नै फुटाइदियो । हामीलाई यसरी कुटे कि अब त्यो भोगाइ र दृश्यको बयान नै गर्न सक्दैनौं । गाडीमा राखिएकाहरूलाई पनि सबैलाई एकै ठाउँ छोडेनन् । कसैलाई कुनै ठाउँ कसैलाई कुनै फरक फरक ठाउँमा लिएर छोडिदियो । सेक्युरिटी गार्ड, जिम ट्रेनर अनि प्रहरी कुट्न त्यत्तिकै आउँदैनन् । प्रशासनले नै हामीमाथि गुण्डा लगाएको हो । हामीलाई यसरी कुट्दै बीच सडकमा ल्याउने शिक्षक, डिन लगायतका कर्मचारीमाथि अहिले पनि कारवाही भएको छैन । कलेजका ४०/५० जनाले हामीमाथि हातपात गरेका छन् । तर, कारवाही गरियो भनेर तीन/चार जनाको नाम मात्र आएको छ । हामी नेपाल आएको सबै विद्यार्थी नेपालमै छौं । तर, हाम्रो सरकारले भनिरहेको छ, घटना मिलिसक्यो । विश्वविद्यालयले माफी मागिसक्यो भन्ने कुरा अहिले बाहिर आइरहेको छ । हाम्रो प्रश्न सरकारलाई हामी कुटाइ खाएर खेदिएका विद्यार्थी नेपालमै बसेका छौं । तपाईंहरूले घटना कसरी मिलाउनुभयो ? हामीले आफ्नो कुरा सुनाउन पाएको आज हो । हामीलाई कसैले तपाईंहरूलाई के गरियो ? कस्तो पीडा सहनुभयो ? भनेर समेत सोधिएको छैन अनि कसरी कुरा मिल्यो ? हामीलाई त बीच सडकमा आउँदा यस्तो समस्या भयो । हाम्रा केटी साथीहरूलाई कस्तो समस्या भयो होला ! हातमा एक पैसा नहुँदा थाहा नभएको ठाउँमा ल्याएर छोड्दाको पीडा हामीलाई थाहा छ । जोसँग पैसा थियो टिकट पाउन सक्यौं, हामी फर्केर आयौं, अरू साथीहरू अहिले पनि त्रासमा त्यहीं बसिरहनुभएको छ । कतिपय साथीहरूको हातमा फोन छैन, पैसा छैन, उहाँहरू अहिले कस्तो अवस्थामा हुनुहुन्छ हामीलाई पनि थाहा छैन । हाम्रो शरीरमा कुटपिटको पीडामात्र होइन, मानसिक समस्या पनि उस्तै छ । लात हानेर निकालेका हामीलाई अहिले आउभन्दा सजिलै जान सकिने अवस्था छैन । हामीमाथि जोजसले हात उठायो, जसले हात उठाउन निर्देशन दियो, उहाँहरू सबैलाई कारवाही गर्नुपर्छ । जसले लातले हान्दै तिमीहरूको देश फर्क भन्दै पठायो अहिले फेरि उसैलै आइजा भनेर जान सकिने अवस्था छैन । जबसम्म ओडिसा सरकार, विश्वविद्यालय र नेपाल सरकारबीच कानुनी रूपमा सम्झौता हुँदैन, तबसम्म हामी त्यहाँ गएर अध्ययन गर्न सक्दैनौं । हामीले आज यसरी मास्क लगाएर, आफ्नो अनुहार छोपेर, आफ्नो पहिचान लुकाएर आफूमाथि भएको पीडा सुनाउनुको कारण पनि यही हो । हामीले फेरि भोलि त्यही विश्वविद्यालयमा गएर कुटाइ खानु नपरोस् । (भारतबाट फर्किएका नेपाली विद्यार्थीले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दैै राखेको भनाइलाई जस्ताको त्यस्तै सम्प्रेषण गरिएको छ ।)
निसान म्यागनाइटको फेसलिफ्ट संस्करण सार्वजनिक, मूल्य ३४.७५ लाख
काठमाडौं । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट संस्करण सार्वजनिक गरेको छ । निसान म्याग्नाइटको नयाँ फेसलिफ्टको आधिकारिक सार्वजनिकीकरण कार्यक्रम शुक्रबार थापाथलीस्थित निसानको सोरुममा सम्पन्न भएकाे हाे । सार्वजनिक कार्यक्रममा पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा, निर्देशक गौरव शारडा,मोटोकर्पका ग्रुप अध्यक्ष धिरेन तामाङ, मोटोकर्पका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्द तथा सिनियर म्यानेजर राजकुमार ढकालको उपस्थिति रहेकाे थियाे। नयाँ म्याग्नाइट अझ ‘बोल्डर’ डिजाइन, उत्कृष्ट सुरक्षा विशेषताहरू र अत्याधुनिक प्रविधिसहित आएको पायोनियर मोटो कर्पले जनाएकाे छ । म्याग्नाइट जसमा ‘भिजिया’, ‘एक्सेन्टा’, ‘एन-कनेक्टा’ र ‘टेक्ना-प्लस’ भेरियन्टमा नेपाल आएकाे हाे । यो नयाँ म्याग्नाइटको प्रारम्भिक मूल्य ३४ लाख ७५ हजार रुपैयाँ छ भने शीर्ष भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ रहेकाे छ । नयाँ निसान म्याग्नाइट फेसलिफ्टले ४० भन्दा बढी स्ट्यान्डर्ड सुरक्षा विशेषताहरू र कुल ५५ सुरक्षा सुधारहरूसहित सुरक्षाको नयाँ मापदण्ड स्थापित गरेको पायोनियर मोटो कर्पले जनाएकाे छ । नेपाली बजारमा यसअघि सर्वाधिक रुचाइएको सब–फोर मिटर एसयूभीका रूपमा पहिचान कायम गरेको यस एसयूभीको अपडेटेड भर्सनमा डिजाइनदेखि सेफ्टी र प्रविधिमा निकै सुधार गरिएको छ । नवप्रवर्तन र ग्राहककेन्द्रित डिजाइन जस्ता विशेषताका कारण नयाँ म्याग्नाइटको उपस्थितिसँगै नेपालमा निसानको उपस्थिति अझै बलियो बन्ने विश्वास कम्पनीले लिएको छ । विश्वव्यापी रूपमा डिसेम्बर २०२० मा लन्च भएको म्याग्नाइट नेपालमा २०२१ मा पहिलो पटक लन्च भएको थियो । यो गाडी हालसम्म १ लाख ५० हजारभन्दा बढी यूनिट बिक्री भैसकेको छ । पायोनिर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडाका अनुसार निसान म्याग्नाइटले नेपाल र अन्तर्राष्ट्रिय दुबै बजारमा नयाँ मापदण्ड स्थापना गरेको छ । आधुनिक र गतिशील डिजाइन नयाँ म्याग्नाइटमा लाइटसेवर शैलीका टर्न इन्डिकेटरसहित स्लिक एलइडी हेडलाम्प उपलब्ध गराइएको छ । यस सेग्मेन्टमै उत्कृष्ट थ्रीडी हनिकम्व प्याट्रन भएको एलईडी टेल ल्याम्प र एल–आकारको सिग्नेचर डिआरएल लाइटले यसलाई थप आकर्षक बनाउनुको साथै आधुनिक लुक्स समेत दिएको छ । रिफ्रेस गरिएको डिजाइनमा फ्लोटिङ अफलिफ्टेड स्किड प्लेट, ठूलो ग्रिल, नयाँ डुअल टोन १६ इन्च डायमण्ड–कट एलोई ह्विल, फंक्सनल रुफ रेल र श्रेणीमा उत्कृष्ट ग्राउन्ड क्लिरियन्स रहेका छन् । ६ वटा मोनोटोन तथा ५ वटा डुअल–टोन कलर अप्सनमा उपलब्ध यस नयाँ एसयूभीले चालकलाई विशिष्ट ड्राइभिङ अनुभव प्रदान गर्दछ । प्रिमियम र विलासी इन्टेरियर थुप्रै फर्स्ट–इन–क्लास सेग्मेन्ट फिचरले सुसज्जित यस नयाँ एसयूभीमा अनौठो ३६० डिग्री लेदर प्याक समावेश छ । जसमा खैरो सुन्तला रंगको लेदरयुक्त ड्यासबोर्ड, हनीकम्ब सिलाइ ढाँचा भएका लेदरट सीटहरु राखिएका छन् । साथै यसको ढोका, पार्किङ ब्रेक लीभर, स्टेरिङ र अगाडिको आर्मरेस्टमा लेदरट सजावट दिइएको छ । क्याबिनमा सबैभन्दा ठूलो स्टोरेज, सुधारिएको सीट, ३३६ लिटरबाट ६९० लिटरसम्म बढाउन मिल्ने बुट स्पेस र पछाडीको सिटलाई ६०ः४० को अनुपातमा स्प्लिट गर्न मिल्ने जस्ता विशेषता पाउन सकिन्छ । पछाडि बस्ने प्यासेन्जरका लागी समेत पर्याप्त स्पेश पाइने यस कारमा दिइएको हाई कमाण्ड ड्राइभिङ पोजिसन, अगाडिको आर्मरेस्ट स्टोरेज र कुल्ड ग्लोभ बक्स जस्ता फिचरले भित्री भागलाई आरामदायी र आकर्षक बनाएको छ । विशिष्ट प्रविधि नयाँ निस्सान म्याग्नाइटमा २० भन्दा बढी पहिलो र सेग्मेन्टका उत्कृष्ट सुविधाहरू समावेश गरिएको छ । यसमा हिट गार्ड सहितको प्रिमियम सिलाइयुक्त लेदरट सीटहरू, मेमोरी फङ्सनसहितको मल्टि कलर एम्विएन्ट लाइट र प्लाज्मा क्लस्टर एयर आयनाइजर जस्ता विशेषता पाउन सकिन्छ । ६० मिटर परबाटै रिमोटको साहयतामा इन्जि स्टार्ट गर्न सकिन नयाँ ग्लोबल स्मार्ट की उपलब्ध यस एसयुभीमा सबैभन्दा ठूलो इलेक्ट्रोनिक बेजललेस अटो डिमिङ आईआरभिएस, पूर्ण एलईडी बाहिरी प्याक (हेडलाम्प, टेललाम्प, डिआरएलएस, इन्डिकेटर, फ्रन्ट फग ल्याम्प) र चारैतिर अवलोकन गर्ने मोनिटर पनि उपलब्ध गराइएको छ । नयाँ म्याग्नाइटमा १७.७८ सेन्टिमिटर लामो डिजिटल क्लस्टर, २०.३२ सेन्टिमिटर लामो फ्लोटिङ टचस्क्रीन। वायरलेस एन्ड्रोइड अटो एन्ड एप्पल कार प्ले, अर्कामिज थ्रीडी साउन्ड सिस्टम र क्रूज कन्ट्रोल जस्ता फिचर राखिएका छन् । साथै, नयाँ युगका ग्राहकलाई लक्षित गरी यसमा ड्यासक्याम, वायरलेस चार्जर, जेविएल स्पिकर, पडल ल्याम्प र एलईडी स्कफ प्लेटजस्ता फिचर समावेश गरिएको विशेष प्रविधि प्याक उपलब्ध गराइएको छ । यी फिचरले नयाँ म्याग्नाइटलाई आधुनिक र प्रिमियम बनाएको छ । शक्तिशाली प्रदर्शन यस एसयूभीमा जडान गरिएको नयाँ १.० टर्बो इन्जिन सेग्मेन्टमै शक्तिशाली र उच्च पर्फमेन्सयुक्त दाबी गरिएको छ । प्रति लिटर पेट्रोलको खपतमा २० किलोमिटर माइलेज दिने यस एसयूभीको इन्जिनले कम गतिमा उच्च टर्क उत्पादन गरी बलियो तीब्रता सुनिश्चित गर्दछ । निसानको स्पोर्ट्स कार जीटीआरमा जस्तै नयाँ म्याग्नाइटमा जडान गरिएको इन्जिनमा पनि उन्नत ‘मिरर बोर कोटिङ सिलिण्डर ब्लक प्राविधि’ उपलब्ध गराइएको छ । १.० नेचुरल्लि एस्पिरिटेड इन्जिनमा समेत उपलब्ध यस कारको इन्जिनलाई ५ स्पिड गियरवक्ससंग जोडिएको छ । साथै यो म्यानुअल र ईजेड–शिफ्ट (एएमटी) अप्सनमा समेत उपलब्ध छ । सेफ्टी फिचर नयाँ म्याग्नाइटमा स्ट्यान्डर्ड र एक्टिभ गरी कुल ५५ भन्दा बढी सेफ्टी फिचर दिइएको छ । सेफ्टी फिचरका हिसाबले समेत यो सेग्मेन्टमै उत्कृष्ट रहेको छ । कारमा ६ वटा एयर ब्याग, भेहिकल डाइनामिक कन्ट्रोल (भीडीसी) ट्रयाक्सन कन्ट्रोल सिस्टम(टिसिएस), हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट, एबिएस, ईबीडी र टायर प्रेशर मोनिटरिङ सिस्टम लगायत थुप्रै फिचर पाउन सकिन्छ । साथै यसमा, थ्री–प्वाइन्ट सीट बेल्ट, सीट बेल्ट रिमाइन्डर, चाइल्ड लक, आइसोफिक्स एङ्करेज र रियर पार्किङ सेन्सर सबै भेरियन्टहरूमा अनिबार्य गरिएको छ । ६७ प्रतिशत हाई–टेन्सायल स्ट्रेन्थ स्टिल प्रयोग गरी निर्माण गरिको यस एसयूभीमा निसानले ३ वर्ष अर्थात ३० हजार किलोमिटर वारेन्टि सुविधा दिएको छ ।
कोदो किन्दा बाहिरियो ५२ करोड, ९ करोडको फापर आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा ५२ करोड ३ लाख रुपैयाँको कोदो आयात भएको छ । भन्सार विभागका अनुसार १ करोड ३ लाख किलो कोदो आयात हुँदा सरकारले ३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । गत आव २०८०/८१ को सोही अवधिमा ५२ करोड ७५ लाख रुपैयाँको कोदो आयात भएको थियो । सो अवधिमा सरकारले ४ करोड रुपैयाँ राजस्व उठाएको थियो । गत वर्षको तुलनामा यो वर्ष कोदोको आयात भने घटेको छ । गत वर्षको तुलनामा ७२ लाख रुपैयाँले घटेको हो । विभागका अनुसार गत वर्षको तुलनामा कोदोको आयात १.३८ प्रतिशतले घटेको छ । नेपालमा विशेषगरी भारत र चीनबाट कोदो आयात हुने गरेको विभागको तथ्यांकमा उल्लेख छ । यो वर्ष सबैभन्दा धेरै भारतबाट ५२ करोड २ लाख रुपैयाँको आयात भएको छ । ९ करोडको फापर आयात चालु आवको माघ महिनासम्म ९ करोड ४२ लाख रुपैयाँको फापर आयात भएको छ । १२ लाख किलो फापर आयात हुँदा १ करोड रुपैयाँ राजस्व संकलन भएको छ । गत वर्षको सोही अवधिमा २ करोड २० लाख रुपैयाँ बराबरको फापर आयात भएको विभागले जनाएको छ । ३ लाख २९ हजार किलो फापर आयात हुँदा सरकारले २१ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको तुलनामा फापरको आयात बढेको छ । गत वर्षको तुलनामा ७ करोड २२ लाख रुपैयाँको फापर आयात भएको छ । ७.६६ प्रतिशतले आयात बढेको विभागले जनाएको छ ।