पर्यटन गन्तव्यका लागि जुगाडखोला करिडोर, करिडोरभित्र स्टेट लाइट, सिसी क्यामेरा र विश्रामस्थल
काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाले आन्तरिक तथा बाह्य पर्यटनको गन्तव्य बनाउन सदरमुकाम खलङ्गा बजारको बीचमा उत्तर दक्षिण बग्ने जुगाडखोलामा करिडोर निर्माणको काम अघि बढाएको छ । सदरमुकाममा रहेको खोलालाई स्वच्छ सफा, हराभरा र व्यवस्थित बनाउनेदेखि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिडोर बनाउन थालिएको नगरप्रमुख राजुसिंह कठायतले जानकारी दिए । चन्दननाथ नगरपालिकाका उपप्रमुख रामदेवी खड्काले करिडोरको शिलान्यास गर्दै यसले जुगाडखोलालाई नयाँ पहिचान दिने बताए । पर्यटन पूर्वाधार निर्माणका लागि करिडोरको रेखाङ्कन यसअघि नै भइसकेको छ । खानेपानी उपभोक्ता समितिको कार्यालय नजिकैबाट डोजर प्रयोग गरी काम सुरु गरिएको नगरपालिका उपप्रमुख खड्काको भनाइ छ । बहुवर्षीय योजनाअन्तर्गत पहिलो चरणमा ६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षभित्रै ३ किलोमिटर क्षेत्रमा करिडोर निर्माण गरिने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाको भनाइ छ । खानेपानी उपभोक्ता समितिको कार्यालयदेखि चन्दननाथ-४ मालाभिडसम्म दायाँबायाँ २ मिटर फराकिलो करिडोर निर्माण हुने छ । उक्त करिडोर निर्माणका लागि सहकारी विकास तथा भवन निर्माण आयोजना जुम्लाबाट २० करोड रुपैयाँ बजेट प्राप्त भएको छ । करिडोरभित्र स्टेट लाइट, सिसी क्यामेरा र विश्रामस्थल निर्माण गरिने छ । जुगाडखोलाको सफाइ र सौन्दर्यकरणसँगै यो करिडोर स्थानीयका लागि मात्रै होइन, बाहिरी आगन्तुकका लागि पनि आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बुढ्थापाले बताए ।
महाशिवरात्रिमा आकर्षक बनाइँदै पशुपति क्षेत्र, झन्डा आकारमा सजाइए बत्ती
काठमाडौं । महाशिवरात्रि पर्वको दिन नजिकिएसँगै पशुपति क्षेत्रलाई साजसजावट गरेर आकर्षक बनाउन थालिएको छ । पशुपति क्षेत्रका वनकाली, भुवनेश्वरी, मुख्य मन्दिर क्षेत्र, घाट क्षेत्र, राममन्दिर, मृगस्थलीलगायतको स्थान झिलिमिलि बत्तीले सिँगारिएको छ । बत्तीका कारण रातभर पशुपति क्षेत्र जाज्वल्यमान देखिन थालेको छ । विभिन्न स्थानमा नेपालको झन्डा आकारमा बनाइएका बत्तीले भक्तजनलाई थप आकर्षित गरिरहेको छ । भुवनेश्वरीमार्गदेखि नै बत्ती र फूलले आकर्षक सजावट गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए । बत्ती र फूलले सजावट गरिएको पशुपति क्षेत्रमा महाशिवरात्रिका अवसरमा गरिएको रङरोगन पनि अन्तिम चरणमा पुगेको छ । रङरोगनले पशुपति क्षेत्र आकर्षक बेनेको छ । नेपालको झन्डा आकारमा सजाइएका बत्ती र फूलले आकर्षक देखिएको बालाजुबाट पशुपति क्षेत्र आएका दीपकप्रसाद घिमिरेले बताए । महाशिवरात्रिको तयारीका लागि कोष सञ्चालक परिषद्को अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । मूल समारोह समिति अन्तर्गत नौ उपसमिति छन् । कोषका सदस्य सचिव थापाको संयोजकत्वमा सुरक्षा व्यवस्था उपसमिति, कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा अनुगमन तथा तथ्याङ्क सङ्कलन व्यवस्था उपसमिति, परिषद् सदस्य हरिप्रसाद ढकालको संयोजकत्वमा स्वयंसेवा परिचालन व्यवस्था उपसमिति तथा परिषद् सदस्य शिक्षित पराजुलीको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था उपसमिति गठन गरिएको छ । यसैगरी परिषद् सदस्य डा. भरतप्रसाद बडालको संयोजकत्वमा साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्था उपसमिति, परिषद् सदस्य राजुकुमार खत्रीको संयोजकत्वमा प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमिति, परिषद् सदस्य बाबुशरण सुवेदीको संयोजकत्वमा आवास/भोजन तथा भौतिक पूर्वाधार व्यवस्था उपसमिति, परिषद् सदस्य रामेश्वर सँगतको संयोजकत्वमा मन्दिर दर्शन, चन्दन वितरण एवं रात्रीकालीन व्यवस्था उपसमिति, परिषद् सदस्य रेणुका पराजुलीको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमिति तथा कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीको संयोकत्वमा महाशिवरात्रि पर्व-२०८१ को सचिवालय गठन गरिएको छ । महाशिवरात्रिको तयारीका लागि गठन भएको मूल समारोह समिति र ९ वटै उपसमितिले आफ्नो कार्य क्षेत्र अनुसारका तयारीलाई अन्तिम चरणमा पुर्याएको कोषका सदस्य सचिव थापाले बताए ।
आज पहाडी भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने, हिमाली भागका थोरै स्थानमा हल्का हिमपात
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम बुलेटिनका अनुसार आज कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिक रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लाग्ने छ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको हुनाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
सानिमा फ्लेक्सी फण्डमा आवेदन दिने समय लम्बियो, अब फागुन २० गतेसम्म खरिद गर्न सकिने
काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि बिक्री खुला गरेको सानिमा फ्लेक्सी फण्डमा आवेदन दिने समय लम्बिएको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १ अर्ब रुपैयाँको सानिमा फ्लेक्सी फण्डमा फागुन २० गतेसम्म आवेदन दिने सकिनेछ । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको ४ करोड इकाई क्यापिटलले पहिलो चरणमा बिक्रीमा राखेको हो । ४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबर्द्धक सानिमा बैंक, २० लाख इकाई सानिमा क्यापिटल र बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो । क्यापिटलको फण्डमा न्यूनतम १ सय इकाईदेखि ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट फण्डको इकाईमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कोष प्रबर्द्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ ।
भिजिविलिटी कमजोर हुँदा ८६ पटक उडान अवरुद्ध, वृद्धवृद्धा र बिरामी प्रभावित
काठमाडौं । सङ्खुवासभा जिल्लाको तुम्लिङटार विमानस्थलमा भिजिविलिटी कमजोर हुँदा एक वर्षमा ८६ पटक उडान अवरुद्ध भएका छन् । जलवायु परिर्वतनको असरले प्रतिकूल मौसमका कारण भिजिविलिटी कमजोर हवाई उडान अवरुद्ध भएका हुन् । सन् २०२४ को अवधिमा ८६ पटक हवाई उडान अवरुद्ध भएको नागरिक उड्यान प्राधिकरण कार्यालय तुम्लिङ्टारका प्रमुख नवराज दाहालले जानकारी दिए । उनका अनुसार विमानस्थलमा उडानका लागि कम्तीमा ५ किलोमिटर वरपरको डाँडा देखिनुपर्छ । प्रतिकूल मौसम र जलवायु परिर्वतनको असरले समयमा पानी नपर्दा तुवाँलो र धुलोको कणले विमानस्थल आसपासका क्षेत्र ढाकेपछि विभिन्न समयमा हवाई उडान अवरुद्ध भएको उनले बताए । पछिल्लो समय हाइड्रोपावर, सडक निर्माणमा राखिएका प्लान्ट, आगलागीलगायत कारणले धुवाँ र धुलोका कणले विमानस्थल ढाक्ने गरेको उनको भनाइ छ । विमानथलको धावनमार्ग छेउछाउका डाँडामा तुवाँलो र धुलोको कणले ढाकेपछि उडान प्रभावित भएको हो । भिजिविलिटी कमजोर हुँदा सन् २०२५ मा मात्र २३ पटक हवाई उडान अवरुद्ध भएका प्रमुख दाहालले जानकारी दिए । ‘माघ र फागुनमा मात्र लगातार तीन साता उडान ठप्प भएको थियो । उडान अवरुद्ध हुदाँ वृद्धवृद्धा र बिरामी प्रभावित हुने गरेका छन्,’ उनले भने । उनका अनुसार तुम्लिङटार विमानस्थलमा निजी कम्पनीका विमानले उडान भर्दै आएका छन् । उडान सुचारु भएपछि सङ्खुवासभा, भोजपुर, धनकुटाका बासिन्दा लाभान्वित हुँदै आएका विमानस्थल कार्यालयले जनाएको छ । तुम्लिङटार विमानस्थल पहाडी जिल्लाको सबैभन्दा बढी यात्रु भिडभाड हुने गर्दछ । तुम्लिङटार विमानस्थलमा बुद्धको एटीआर-७२ ले दैनिक उडान भर्दै आएको थियो । धावनमार्गको स्तरोन्नति भएसँगै गत वर्षदेखि बुद्ध एयरको एटीआर-७२ सिटको जहाजले दैनिक उडान भर्न थालेको थियो । विश्वको पाँचौँ अग्गो हिमाल मकालु, अरुण तेस्रो जलविद्युत् आयोजना, पर्यटकका लागि छोटो दूरीको उडानका कारण यात्रुको घुइँचो हुने गर्दछ ।
उपन्यासकार घिमिरे सम्मानित
काठमाडौं । नवसर्जक साहित्य चौतारी नेपाल केन्द्रीय कार्यालय हेटौडाद्वारा आयोजित ‘दोस्रो नवसर्जक उत्सवमा’ लेखक तथा उपन्यासकार केशव घिमिरेलाई नवसर्जक प्रतिभा सम्मान प्रदान गरिएको छ । नयाँ लेखकहरुलाई हौसला र उनीहरूको साहित्यप्रतिको योगदानको कदर गर्दै दिइने यो पुरस्कार २०८१ मा बागमती प्रदेशबाट उपन्यासकार घिमिरेलाई दिएको हो । अग्रज स्रष्टाका रूपमा प्राध्यापक डाक्टर चुडामणि बन्धु, कोशी प्रदेशबाट चिन्तामणि निरौला, मधेश प्रदेशबाट सरोजप्रसाद शाह, बागमती प्रदेशबाट केशव घिमिरे, गण्डकी प्रदेशबाट रोशन तिमल्सिना, लुम्बिनी प्रदेशबाट निशा पाण्डे, कर्णाली प्रदेशबाट शिवराज शाही र सुदूरपश्चिम प्रदेशबाट सुनिल बुढा ’कछुवा’ सम्मानित भएका छन् । साहित्य क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएका घिमिरे नवसर्जक प्रतिभाका उत्कृष्ट नवसर्जकका रूपमा चयन भएका छन । घिमिरे विगतका एक दशकदेखि कलम चलाउँदै आएका छन र उनको तीन वर्ष अगाडि नै ’रुपीका’ नामक उपन्यास बजारमा आइसकेको छ । प्रदेश स्तरीय छनोटमा केशव घिमिरे प्रथम स्थानमा छनोट भएको हुँदा उनलाई ’टिका ईश्वरी स्मृति नवसर्जक प्रतिभा सम्मान २०८१’ द्वारा सम्मान गरिएको हो। यस स्मृतिका संरक्षक गोकर्ण सुवेदी र जयन्ती अर्याल रहेका छन् । केशव घिमिरे विगतका लामो समयदेखि निरन्तर रूपमा लागि परेको र साहित्यलाई एक उचाइमा पु¥याउनको लागि उनले दिएको योगदानको कदर गर्दै यो सम्मान उनलाई अर्पण गरिएको हो । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका र नेपाली साहित्यका विभिन्न साहित्य संस्थाहरु, प्रज्ञा प्रतिष्ठान, वाङ्मय प्रतिष्ठान र अन्य विभिन्न साहित्यिक क्रियाकलापमा सक्रिय रूपमा अनवरत रुपमा लागि पर्दै आएका छन ।
आइटीलाई विकासको मेरुदण्ड मान्नुपर्छ, देश समृद्ध बनाउन मानव पुँजी विकासमा सुधार आवश्यक
काठमाडौं । विज्ञहरूले देश समृद्ध बनाउन मानव पुँजी विकासमा सुधार आवश्यक रहेको बताएका छन् । ‘फ्रेन्डस् अन द क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्सर्स नेपाल’ ले आयोजना गरेको ‘नेपाल चाइना पार्टनरसीपः एडभान्सिङ नेपालस् फिनान्सियल ग्रोथ’ कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञहरूले आइटी, पूर्वाधार, शैक्षिक विकासमा जोड दिनुपर्ने र आवश्यकताअनुसार छिमेकी देश चीनसँग सहकार्य र साझेदारी गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा सुदनकुमार वलीले देश विकासका लागि आगामी लक्ष्य के हो भन्ने निर्धारण गर्दै अगाडि बढ्नुपर्ने धारणा राखे । उनले भने, ‘देश समृद्धितर्फ लिन मानव पुँजी विकासमा सुधार आवश्यक छ । शिक्षा र स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा ध्यान दिनुपर्छ । पर्यटनमा लगानी र आतिथ्य व्यवस्थापनमा ध्यान दिनुपर्छ । कृषि, यातायातमा चीन निकै अगाडि छ त्यसमा सहकार्य गर्न सकिन्छ ।’ प्रा.डा. केशव बस्यालले शिक्षा क्षेत्रको विकास र लगानीबारे सोच्नुपर्ने बेला आएको बबताए । उनले अब बन्ने नीति तथा कार्यक्रम प्रमाण तथा तथ्यका आधारमा बन्नुपर्नेमा जोड दिए । ‘पुरानै उद्देश्यले अब काम चल्दैन । दीर्घकालीन रूपमा कसरी काम गर्नुपर्छ भन्नेमा हामी गएनौँ । चीनले प्राइभेट क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिरहेकामा रोजगारी सिर्जनामा नेपालले पनि त्यो मोडल अपनाउनुपर्छ,’ बस्यालले भने । पूर्वाधारविज्ञ लालकृष्ण केसीले पूर्वाधार समग्र देश विकाससँग जोडिएकाले यसमा प्रतिफल दिने गरी लगानी गर्नुपर्ने बताए । उनले पूर्वाधार विकास नभइ आर्थिक विकास र त्यो नभए सामाजिक विकास नहुने धारणा राखे । आइटीविज्ञ वसन्त वनले प्रविधिको गतिअनुसार काम गर्न नसके विकासको गति पछि पर्ने तर्क गरे । ‘आइटी क्षेत्रलाई विकासको मेरुदण्ड मानेर अघि बढ्नुपर्छ । यसले आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउँछ । हामीसँग अवसर र चुनौती दुवै छन् । हाम्रा कमजोरी र सामार्थ्य के हुन् त त्यसलाई केलाएर अघि बढ्नुपर्छ । आवश्यकताअनुसार साझेदारी गर्न सकिन्छ,’ उनले भने । आयोजक संस्थाका अध्यक्ष शोभित उप्रेतीले विभिन्न क्षेत्रमा नेपाल र चीनसँगको सहकार्यले आर्थिक समृद्धिमा सहयोग पुग्ने बताए । हामीहरूसँग स्रोत भए पनि तिनको प्रयोग गर्न नजान्दा समस्या भएको धारणा राख्दै अब सीमित स्रोतसाधन उपयोग गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
मध्य चमेलिया जलविद्युत आयोजनाको शिलान्यास, ३ वर्षमा निर्माण सम्पन्न, लागत ६.२३ अर्ब रुपैयाँ
काठमाडौं । दार्चुलामा २८ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको शिलान्यास गरिएको छ । जिल्लाको मार्मामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजनाको शनिबार शिलान्यास गरिएको हो । दार्चुला पावर लिमिटेडले निर्माण गर्ने आयोजनाको शिलान्यास गरिएको हो । मार्मा गाउँपालिका–२ लाम्बगरमा रहेको जलविद्युतको ड्याम क्षेत्रमा प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले आयोजनाको शिलान्यास गरेका हुन् । जलविद्युत आयोजनाको ड्याम लाम्बगर र विद्युत् गृह सेरीमा रहने दार्चुला पावर लिमिटेडले जनाएको छ । ३ वर्षमा निर्माण सम्पन्न हुने आयोजनाको लागत ६ अर्ब २३ करोड ६२ लाख भन्दा बढी रहेको आयोजनाका सञ्चालक गुरु न्यौपानेले बताए । उनका अनुसार सेरीदेखि साढे ८ किलोमिटर लामो प्रसारण लाइनमार्फत विद्युत् चमेलियामा जोडिनेछ ।