एक तोला सुन किन्न एक लाख ७० हजार ३०० रुपैयाँ लाग्ने
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख ७० हजार रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार एक लाख ७० हजार तीन सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार ९७० रुपैयाँ कायम भएको छ ।
विवाहको पार्टीमा पेय पदार्थको रूपमा मोही, बेहुला-बेहुलीसँगै मोहीमा पाहुनाको आकर्षण
काठमाडौं । वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौंमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो । अन्य पेय पदार्थको साटो मोही राखेपछि धेरैले मन पराए । यही फागुन ६ गते थापागाउँको एक क्याङ्कुटमा बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटा जग्गेमा व्यस्त भइरहँदा उनीहरूलाई शुभकामना र आशीर्वाद दिनेको भीड त्यसलगत्तै स्थानीय मोहीतिर लहसिएको थियो । अन्य पेय पदार्थको साटो मोही पिउन पाउँदा फरकपन महसुस गरेको काठमाडौंकी शिक्षा भट्टराईले बताइन् । बिहेमा सहभागी अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेलले भोजमा मोहीको प्रयोग निकै राम्रो भएको बताए । विवाहमा मोहीप्रति मानिसहरुको आकर्षण देख्दा आफूलाई पनि निकै खुसी लागेको सेफ कँडेलले बताए । बिहेमा सहभागी शिक्षक उदय चापागाईँले पनि आफ्ना छोरा र छोरीको बिहेमा अन्य पेयपदार्थ नराखी मोही नै राख्ने रहर जागेको बताए । बिहेका आगन्तुक एवं वरिष्ठ सञ्चारकर्मी डा राजेन्द्रराज तिमिल्सनाले पनि मोहीको महत्वबारे चर्चा गरे । उनले पौराणिक प्रसङ्ग उल्लेख गर्दै देवराज इन्द्रलाई समेत मोही पिउने धोको कहिल्यै पूरा नभएको उल्लेख गरे । कृषि र पर्यटन प्रवर्द्धन अभियन्तासमेत रहनुभएका बेहुलीका पिता एवं टेलिभिजनकर्मी देवीप्रसाद सापकोटाले बिहेलाई केही नयाँपन दिन मोही समावेश गरेको बताए । बिहेमा मोहीको प्रवर्द्धनमा कृषिमन्त्री सरिक भएकोप्रति उनले विशेष खुसी व्यक्त गरे । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटाले मोही पिएर कृषि उत्पादनलाई प्रवर्द्धन गरेका थिए । नेपालीहरूका सबै चाडपर्व र कार्यक्रममा ठाउँअनुसारका उपजको प्रवर्द्धनबाट किसानलाई हौसला मिल्ने भएकाले यस्ता कार्यक्रम बढाउनुपर्ने मन्त्री अधिकारीले बताए । काठमाडौंमा हुने कार्यक्रमका लागि मोही ढुवानीमा केही समस्या भए पनि उपभोक्ताको रुचिअनुसार गुणस्तरीय मोही आपूर्ति गर्न सकिने पवन डेरी चितवनका सञ्चालक पवनप्रसाद बाँस्तोलाले बताए । चितवनमा मात्र प्रचलनमा रहेका विभिन्न कोल्ड ड्रिङ्क्सको करिब ३५ प्रतिशत हिस्ता मोहीले लिइसकेको मोही प्रवर्द्धनमा लागेका अभियन्ताहरूले बताएका छन् । नेपाल सरकार पनि पछिल्ला दिनमा स्वदेशी उत्पादन र कृषि उपजको उपभोग बढाउन आवश्यक नीति र कार्यक्रम बनाउन थालेको छ । रासस
उचित अवसरको खोजीमा वारेन बफेट, जम्मा गरे ३३४ अर्ब डलर नगद
काठमाडौं । पछिल्लो समय वारेन बफेट ‘रहस्यमयी’ बन्दै गएका छन् । ९४ वर्षीय बर्कशायर हाथवेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बफेटले पछिल्लो त्रैमासिकमा थप सेयर बिक्री गरेर नगद संकलनलाई बढाइ ३३४ अर्ब डलर पुर्याएका छन् । तर उनले आफ्नो निकै प्रतीक्षित वार्षिक पत्रमा किन समयक्रममा सेयर खरिद गर्ने लगानीकर्ता अब जोगिने रणनीतिमा देखिएका छन् भनेर खुलाएनन् । तर, बफेटले यो अवस्थाले कुनै पनि सेयरहरूप्रति उनको प्रेमबाट टाढा जाने सङ्केत नरहेको उल्लेख गरेका छन् । ‘केही विश्लेषकहरूले अहिले बर्कशायरको असाधारण नगद अवस्थालाई महत्त्वपूर्ण रूपमा लिएका भए पनि तपाईंहरूको पैसा अझै पनि धेरैजसो सेयरहरूमा नै लगानी गरिएको छ,’ बफेटले शनिबार सार्वजनिक गरेको २०२४ वार्षिकपत्रमा लेखेका छन्, ‘यो प्राथमिकता परिवर्तन हुने छैन ।’ अहिले ब्याजदरहरू लामो समयको उच्च बिन्दुबाट घट्ने अपेक्षा गरिएको छ । त्यसैले बर्कशायरको ठूलो नगद सञ्चितिले लगानीकर्ताहरू र विश्लेषकहरूलाई प्रश्न उठाउन बाध्य तुल्याएको छ । पछिल्ला वर्षहरूमा बफेटले महँगो बजार र सीमित लगानी अवसरहरूप्रति निराशा व्यक्त गर्दै आएका छन् । केही लगानीकर्ता र विश्लेषकहरूले उनको निष्क्रियताप्रति असन्तोष जनाउँदै यसको कारण मागेका छन् । थुप्रै पटक सेयर बिक्री गरे पनि बफेटले बर्कशायर सेयरहरूलाई नगदभन्दा प्राथमिकता दिन जारी राख्ने बताएका छन् । ‘बर्कशायरका लगानीकर्ताहरू ढुक्क हुन सक्नुहुन्छ कि हामी सदैव उनीहरूको ठूलो हिस्सा रकम सेयरहरूमा लगानी गर्नेछौं – मुख्यतया अमेरिकी सेयरहरूमा । यद्यपि तीमध्ये धेरैको अन्तर्राष्ट्रिय कारोबार पनि हुनेछ,’ बफेटले लेखेका छन्, ‘बर्कशायर कहिल्यै नगद जस्तै सम्पत्तिहरूलाई उत्कृष्ट व्यवसायहरूको स्वामित्वभन्दा प्राथमिकता दिनेछैन । चाहे ती व्यवसायहरू पूर्ण रूपमा नियन्त्रणमा होऊन् वा आंशिक रूपमा मात्र ।’ लगानीकर्ताहरूलाई अझै केही समय प्रतीक्षा गर्नुपर्ने देखिन्छ किनभने ओमाहा–आधारित यस कम्पनीले गत वर्षको अन्तिम त्रैमासिकमा लगातार नवौं पटक नेट सेयर बिक्री गरेको छ । बर्कशायरले २०२४ मा १३४ अर्ब डलरभन्दा बढी मूल्यका सेयर बिक्री गर्यो । यो मुख्यतः बर्कशायरका दुई ठूला सेयर होल्डिङहरू– एप्पल र बैंक अफ अमेरिका – को आकार घटेका कारण हो । यसैबीच यस्तो देखिन्छ कि बफेट आफ्नै सेयरलाई पनि आकर्षक ठानिरहेका छैनन् । बर्कशायरले सेयर पुनः खरीद (बायब्याक) निलम्बन जारी राख्यो । उसले चौथो त्रैमासिक र फेब्रुअरी १० सम्मको पहिलो त्रैमासिकमा कुनै सेयर पुनः खरीद गरेन । यो सबै हुँदा पनि बर्कशायरले शनिबार सार्वजनिक गरेको रिपोर्टअनुसार कम्पनीको सञ्चालन आम्दानीमा ठूलो वृद्धि भएको देखिएको छ । ‘धेरैजसो अवसरहरू आकर्षक देखिँदैनन्’ बफेटले दुई वर्ष लगातार २० प्रतिशतभन्दा बढी वृद्धि भोगेको बुल मार्केटको बीचमा कुनै ठूला लगानी गरेका छैनन् । यसैबीच केही विश्लेषकहरूले अमेरिकी अर्थतन्त्र सुस्त हुँदै गएको, नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिगत परिवर्तनका कारण बजार अस्थिर रहेको र उच्च मूल्याङ्कनको चिन्ता बढ्दै गएको बताउँदै आएका छन् । बर्कशायरका सेयरहरू पछिल्लो दुई वर्षमा क्रमशः २५ प्रतिशत र १६ प्रतिशतले बढेका थिए र यस वर्ष हालसम्म ५ प्रतिशत वृद्धि भएका छन् । बफेटले सेयर मूल्याङ्कनबारे चिन्ता व्यक्त गरेजस्तो देखिने सानो सङ्केत पत्रमा दिएका छन् । ‘हामी कुनै पनि प्रकारका सेयरहरूको बारेमा निष्पक्ष छौं जहाँ तपाईंको र मेरो परिवारको बचतलाई सबैभन्दा राम्रो तरिकाले लगानी गर्न सकिन्छ, त्यहाँ हामी लगानी गर्छौं,’ बफेटले लेखेका छन्, ‘धेरैजसो अवस्थामा केही आकर्षक देखिँदैन; धेरै कम अवस्थामा मात्र हामीलाई उत्तम अवसरहरू भेटिन्छ ।’ यस वर्षको पत्रमा बफेटले उत्तराधिकारी ग्रेग एबेलको लगानी अवसर पहिचान गर्ने क्षमताको समर्थन गर्दै उनलाई स्वर्गीय चार्ली मङ्गरसँग तुलना गरेका छन् । गत वर्षको वार्षिक बैठकमा बफेटले घोषणा गरेका थिए कि एबेल– जो बर्कशायरका गैरबीमा सञ्चालनका उपाध्यक्ष हुन्– अब बर्कशायरको सार्वजनिक सेयर पोर्टफोलियोलगायत सम्पूर्ण लगानी निर्णयहरूमा अन्तिम निर्णय लिने छन् । केही लगानीकर्ता र विश्लेषकहरूले बफेटका पछिल्ला सतर्क निर्णयहरू बजार भविष्यवाणी नभई ग्रेग एबेलको लागि कम्पनीलाई तयार पार्न गरिएको भन्दै अति ठूला होल्डिङहरू घटाएर उनको लागि नगद सञ्चित गरिरहेको हुन सक्ने अड्कल गरेका छन् । (एजेन्सीहरूको सहयोगमा) वारेन बफेटको साम्राज्य विभाजित हुने, उत्तराधिकारीहरूको नाम सार्वजनिक परिवारिक सम्पत्तिको वंश परम्पराविरुद्ध वारेन बफेट, गरे थप १.१ बिलियन डलर दान
चेतनाको अभावले घरमै हुन्छन् सुत्केरी
गलकोट । बागलुङको निसीखोला गाउँपालिकामा गत वर्षमात्र ६० जनाभन्दा बढी घरमै सुत्केरी भए । दुई सुत्केरीको अकालमै ज्यानसमेत गयो । चेतनाको कमी, अशिक्षा र भौगोलिक विकटताका कारण निसीखोलाका केही दुर्गम गाउँमा अझै स्वास्थ्य जागरण पुग्न नसकेको हो । निसीखोलामा घरमै हुने सुत्केरीको सङ्ख्या पालिकाको तथ्याङ्कमा आउन नसक्दा झनै समस्या थपिएको छ । गत वर्ष निसीखोला गाउँपालिकामा दुई सय १३ जना संस्थागत सुत्केरी भएको तथ्याङ्क भए पनि घरमै हुने सुत्केरीको तथ्याङ्क सङ्कलनमा समस्या छ । अझै पनि चेतनाको अभावमा निसीखोलाको दुर्गम गाउँमा घरमै सुत्केरी हुने गरेको पाइएको छ । यहाँको दुर्गम गाउँ चुसिबाङ, तिघ्रापानी, भुर्वाङ र निसेलढोरजस्ता गाउँमा गर्भवतीको ४० प्रतिशत घरमै सुत्केरी हुने गरेको पाइएको छ । अशिक्षा, गरिबी र भौगोलिक विकटताका कारण निसीखोलामा होमडेलिभरी पछिल्लो समय चुनौती बन्दै आएको निसीखोला स्वास्थ्य शाखाले जनाएको छ । जनचेतनामूलक कार्यक्रम गरिरहेको पालिकाले सबै गर्भवतीलाई स्वास्थ्य संस्थाको पहुँचमा ल्याउन नसकेको स्वास्थ्य शाखा प्रमुख जुनी घर्तीमगरले जानकारी दिइन् । ‘घरमै सुत्केरी हुनेको सङ्ख्या दुर्गमका तीन गाउँमा बढी पाइएको छ’, प्रमुख घर्तीमगरले भनिन्, ‘तथ्याङ्कमा गत वर्ष आठ जना घरमै सुत्केरी भएको पाइन्छ, चालु आर्थिक वर्षमा समेत सात जना घरमै सुत्केरी भएका छन्, घुम्ती गोठमै सुत्केरी भएका समेत छन् ।’ गत आर्थिक वर्षमा निसीखोला गाउँपालिकामा दुई सय १३ जना संस्थागत सुत्केरी भएका थिए । बागलुङको अधिकांश स्थानीय तह शून्य होमडेलिभरी उन्मुख रहेका छन् । निसीखोला गाउँपालिकामा भने घरमै सुत्केरीलाई मुख्य समस्याको रूपमा लिइएको छ । यहाँको दूर–दराजमा अझै पनि अस्पतालको पहुँचमा आउन नचाहने, अशिक्षा, गरिबीलगायत कारण घरमै सुत्केरी हुने गरेको पाइएको छ । घरमै सुत्केरी हुने महिला अधिकांश दलित समुदायका रहेको स्वास्थ्य शाखा प्रमुख मगरले बताइन् । मगरका अनुसार बालविवाह र घरमै सुत्केरी निसीखोलाको चुनौतीको विषय रहेको छ । उनीहरू अस्पताल आउनै नमान्ने, गर्भवती भएको जानकारी नदिने र महिला स्वास्थ्य स्वयंसेविकालाई ढाँट्ने गर्दछन् । निसीखोला गाउँपालिका–६ चुसिवाङ गाउँमा मात्रै १२ आमामध्ये छ आमा घरमै सुत्केरी भएको स्थानीय महिला स्वास्थ्य स्वयंसेविका मनिमला घर्तीले जानकारी दिइन्। उनका अनुसार घरमै सुत्केरी हुनेमध्ये न्यून आय भएका तथा दलित समुदायका महिला बढी छन् । ‘चेतना भयो भनेत स्वास्थ्य संस्थामा सुविधा थियो, उहाँहरूले गर्भवती भएको जानकारी नै गराउन चाहनुहुन्न, परिवारको समेत सहयोग हुँदैन, त्यसमाथि बालविवाह हुन्छ’, प्रमुख घर्तीले भनिन्, ‘घुम्ती बसाइका कारण खर्कमा जाने महिलाहरू उतै सुत्केरी भएर आउँछन्, गाउँपालिका र स्वास्थ्य कार्यालयले जनचेतना फैलाउन थालेको छ, खासगरी गर्भवती भएपछि सम्पर्कमा आए त्यसपछिको खोजी हामीले र स्वास्थ्य संस्थाले गर्दथ्यौँ, तर कतिपयले जानकारी गराउनै मान्नुहुन्न ।’ निसीखोला गाउँपालिकाका अनुसार गत आर्थिक वर्षमा संस्थागत सुत्केरी भएका दुई सय १३ मध्ये ५८ सुत्केरी २० वर्षभन्दा मुनिका भेटिएका छन् । यस्तै चालु आर्थिक वर्षमा समेत १८ जना २० वर्षभन्दा मुनिकाले बच्चा जन्माइसकेको पालिकाको स्वास्थ्य शाखाको तथ्याङ्कमा उल्लेख गरिएको छ । बालबिबाहलाई लुकाउनसमेत संस्थागत सुत्केरी हुन नचाहने गाउँपालिकामा रहेका छन् ।
यति एयरलाइन्समा उडान भर्दा क्रोकोडाइल लगेज तथा ब्यागप्याक उपहारमा पाइने
काठमाडौं । यति एयरलाइन्समा उडान भर्ने यात्रुहरूले क्रोकोडाइल लगेज तथा ब्यागप्याकमा हात खाली नजाने उपहार पाउने भएका छन् । फेब्रुअरी, मार्च र अप्रिल महिनामा यति एयरलाइन्सबाट यात्रा गर्ने यात्रुहरूले क्रोकोडाइल लगेजको खरिदमा ५० प्रतिशत सम्मको छुट प्राप्त गर्ने भएका हुन् । यति एअरलाइन्सबाट सन् २०२५ को कुनै पनि मितिमा उडान भरेका ग्राहकहरुले आफ्नो बोर्डिङ पास क्रोकोडाइल लगेजका नजिकका आउटलेटमा जम्मा गरी यो छुट प्राप्त गर्न सक्नेछन् । यो छुट सन् २०२५ को डिसेम्बर ३१ तारिखसम्म रहनेछ । अनलाइनबाटै लगेज तथा ब्यागप्याक खरिद गर्न चाहने ग्राहकले भने क्रोकोडाईल लगेज नेपालको आधिकारीक फेसवुक पेज वा इन्स्टाग्राम पेजमार्फत खरिद गरी प्राप्त छुटको लागि डेलिभरीको समयमा यति एयरलाइन्सको बोर्डिङ पास ह्याण्डओभर गर्न सक्नेछन् । यसैगरी, प्रत्येक साता क्रोकोडाइल ब्यागप्याक तथा प्रत्येक पन्ध्र दिनमा क्रोकोडाइल क्याविन लगेज उपहार स्वरूप जित्न सक्ने जनाइएको छ । यति एअरलाइन्सले आफ्ना यात्रुहरूबीच गर्ने लक्की ड्रमार्फत विजेता घोषणा गरी उपहारहरू प्रदान गरिनेछ ।
जहाज बिग्रिएपछि रेसुङ्गा विमानस्थलमा उडान बन्द
तम्घास । रेसुङ्गा विमानस्थलमा यही फागुन महिनाभर उडान नहुने भएको छ । विमानस्थलमा नेपाल एयरलाइन्सको सानो जहाज ले उडान भर्दै आएको थियो । एयरलाइन्सका रेसुङ्गा कार्यालयका प्रमुख सुमन थापाका अनुसार उडान उठान भर्दै आएको जहाजमा समस्या देखिएपछि हाललाई उडान स्थगन भएको हो । साना जहाज नेपाल एयरलाइन्समा दुईवटा छन् । ‘एउटा जहाज पहिले नै बिग्रिएको र बाँकी अर्को जहाजको पनि इन्जिनमा समस्या आएपछि उडानमा समस्या आएको हो । जहाज हाल बिग्रेर मर्मतका लागि काठमाडौंमा छ’, उनले भने, ‘फागुनभर पनि उडान हुने कुनै सम्भावना छैन’, प्रमुख थापाले विदेशबाट सामग्री ल्याएर बनाउनुपर्दा समय बढी लागेको बताए । रेसुङ्गा विमानस्थलमा पछिल्लोपटक एयरलाइन्सले २०८१ मङ्सिर २४ मा तम्घास–काठमाडौं उडान भरेको थियो । विसं २०७९ वैशाख ३ गते पहिलो उडान भएको विमानस्थलमा झण्डै २० महिनामा ९० वटामात्र उडान भएका छन् । उक्त उडानमध्ये तम्घास–काठमाडौं एक हजार एक सय ६५ र काठमाडौं–तम्घास एक हजार ८८ यात्रीले सेवा पाएको स्टेशन इन्चार्ज थापाको भनाइ छ । जहाजले एकपटकमा १९ जनासम्म यात्री बोक्न सक्छ । विमानस्थलमा उडान भए पनि कर्मचारी भने तीनजना छन् ।
नेपाल मेडिकल कलेजका सेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा
काठमाडौं । नेपाल मेडिकल कलेजले सेयरधनीलाई ३० प्रतिशत बोनस दिने घोषणा गरेको छ । कलेजको २५ औं वार्षिक साधारण सभाले सेयरधनीहरुलाई ३० प्रतिशत मुनाफा वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । साधारण सभाका अनुसार आर्थिक वर्ष २०८०/०८१ को खूद मुनाफाबाट १५ करोड, ७४ लाख, २३ हजार ७ सय ४७ रुपैयाँ कर सहितको नगद लाभांश स्वीकृत गरेको छ । साथै, साधारण सभाले यसअघि सञ्चालक समितिले गरेका सम्पूर्ण निर्णयहरु सर्वसम्मतले पारित समेत गरेको छ । नेपाल मेडिकल कलेजका अध्यक्ष प्राडा जैनुद्धिन अन्सारीले चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको क्षेत्रलाई व्यवसायिक रुपमा मात्र हेर्न नहुने बताएका छन् । मेडिकल कलेजहरुले प्रदान गर्दै आइरहेको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाले समाज र राष्ट्रप्रति नै योगदान गरेको बताउँदै अध्यक्ष प्राडा अन्सारीले राज्यले निजी क्षेत्रबाट मेडिकल शिक्षा र स्वास्थ्य सेवामा पुर्याउँदै आएको योगदानको कदर गर्नुपर्ने बताए । सरकारले जनताका लागि ल्याएको निःशुल्क स्वास्थ्य सेवाका अभियानहरु सफल पार्न निजी मेडिकल कलेजहरुले महत्वपूर्ण योगदान दिएको उनको भनाई छ । प्राडा अन्सारीले कलेजमा गोकर्णेश्वर नगरपालिका स्वास्थ्य कार्यक्रम, सामाजिक सुरक्षा स्वास्थ्य कार्यक्रम, कर्मचारी सञ्चय कोष स्वास्थ्य कार्यक्रम, नेपाल सरकार बीमा कार्यक्रम तथा विपन्न नागरिकको स्वास्थ्य सेवा कार्यक्रम सूचारु रहेको जनाए । कलेजको २५ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष प्राडा अन्सारीले कलेजले दक्ष स्वास्थ्यकर्मी उत्पादन गर्न, जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न तथा चिकित्सा क्षेत्रमा नविन सोध र अनुसन्धानहरु गर्न टेवा दिएको जिकीर गरे । कलेजको वार्षिक प्रतिवेदन पेश गर्दै उनले आगामी आर्थिक वर्षभित्रै मुटु रोगको उपचारका लागि क्याथ ल्याब, क्यान्सर उपचारका लागि अंकोलोजी सेवा विस्तार गरिने जानकारी दिँदै ३.५ टेस्ला एमआरआई र १२८ स्लाइसको सिटी क्यान उपकरण केही महिनाभित्रै जडान हुने बताए ।
एभरेष्ट बैंकको फिदिम र फुङ्लिङ गरी एकैपटक दुई शाखाको उद्घाटन
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फिदिम नगरपालिका वडा नं १ पाँचथरमा १३०औँ र फागुन ९ गतेका दिन फुङ्लिङ्ग नगरपालिका वडा नं ४ ताप्लेजुङमा १३१ औँ शाखाको औपचारिक उद्घाटन गरेको छ । ति शाखाहरुको बिहीबार उद्घाटन भएको हो । फिदिम र फुङ्लिङ्गमा शाखा सञ्चालनमा आएसँगै बैंकले पाँचथर र ताप्लेजुङ जिल्लाका नागरिकलाई सरल, सहज र प्रविधिमैत्री सेवा दिने प्रतिबद्धता जनाएको छ ।एभरेष्ट बैंकका शाखाहरुको उद्घघाटनसँगै उक्त स्थानका स्थानीय उपभोक्ताले राष्ट्रिय स्थरको अत्याधुनिक बैंकीङ्ग सेवाहरू प्राप्त गर्ने भएका छन् । फिदिम र फुङ्लिङ्ग शाखाको उद्घघाटन समारोहमा बैंकका तर्फबाट सञ्चालक किरण कुमार श्रेष्ठ, नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र कोशी प्रदेशका प्रमुख सुधीर गौतमका साथै फिदिम शाखामा फिदिम नगरपालिकाका प्रमुख मित्र प्रसाद काफ्ले र फुङ्लिङ्ग शाखामा फुङ्लिङ्ग नगरपालिकाका प्रमुख अमिर मादेन लगायत नेपाल सरकार तथा स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, बैंकका कर्मचारीहरु लगायत स्थानीयबासीको उत्साहजनक उपस्थितिबीच औपचारिक कार्यक्रम सम्पन्न भएको छ । फिदिम र फुङ्लिङ्गमा आफ्नो १३० र १३१ औँ शाखा सञ्चालन गरेसँगै अब यस क्षेत्रको आर्थिक गतिविधिमा थप योगदान पुग्न गइ समग्र आर्थिक विकासमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनमा बैंक पुग्न नसकेको तथा वित्तिय पहुँचबाट बाहिर रहेका अन्य स्थनमा समेत शाखा विस्तार गर्दै जाने योजना रहेको बैंकले जनाएको छ । पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदारमा स्थापित रहेको यस बैंकमा हालसम्म करिब १४ लाख भन्दा बढी ग्राहक संख्या रहेको र देशैभरी १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएम छन् ।