महाशिवरात्रिको अवसरमा चन्द्रागिरि केबलकार टिकटमा ५० प्रतिशत छुट
काठमाडौं । महाशिवरात्रिको अवसरमा चन्द्रागिरि भालेश्वर महादेव मन्दिर परिसरमा महाशिवरात्रि विशेष भक्तिमय उत्सव आयोजना हुने भएको छ । महाशिवरात्रिमा चन्द्रागिरिमा अवस्थित भालेश्वोर महादेवको महिमालाई जोड्दै विशेष भक्तिमय उत्सव आयोजना गर्न लागिएको चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । महाशिवरात्रिको पुरै दिन भालेश्वर मन्दिर परिसरमा विशेष भक्तिमय भजन कार्यक्रम समेत सञ्चालन हुनेछ । साथै साँझ ५ बजेपछि विशेष महाआरती हुने छ । चन्द्रागिरि हिल्सले महाआरतीलाई लक्षित गर्दै साँझ ४ बजेदेखि ६ बजेसम्मको केबलकार टिकटमा ५० प्रतिशत प्रतिशत छुट प्रदान गर्ने जनाएको छ ।
नेपाल भाषाका साहित्यकार सम्मानित
काठमाडौं । काठमाडौं महानगरपालिका–२२ ले साहित्य लेखनका माध्यमबाट नेपाल भाषाको संरक्षण र प्रवर्द्धनमा योगदान गरेका पाँच साहित्यकारलाई सम्मान गरेको छ । अन्तरराष्ट्रिय मातृभाषा रजत जयन्तीका रूपमा विविध कार्यक्रम आयोजना गरेर मनाउने क्रममा शनिबार वडाले ‘कविता वाचन तथा स्रष्टा सम्मान’ कार्यक्रम आयोजना गरेको हो । सम्मानित हुनु हुनेमा कथाकार पुष्प चित्रकार, कथाकार सुवर्णकेशरी चित्रकार, कथाकार तथा गीतकार निरञ्जनरत्न शाक्य, कवि नवीन चित्रकार र कवि श्रीराम श्रेष्ठ हुन् । कार्यक्रममा भाषा आयोगका अध्यक्ष डा गोपाल ठाकुरले भाषामा विविधता हुनु नै नेपालको सुन्दरता भएको बताए । उनले पहिले बोलेका भरमा वा लेखेका भरमा दण्डित हुनुपर्ने अवस्था थियो, अहिले त्यो अवस्था छैन भने । वडा नं २२ का अध्यक्ष एवं महानगरपालिकाको शिक्षा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले बहुभाषिक नेपालीले नेपालको सुन्दरता उज्यालो बनाएको उल्लेख गरे । कामपाको जिम्मेवारीको प्रसङ्ग उठाउँदै वडाध्यक्ष महर्जनले भने, ‘स्थानीय सरकारको दायित्वभित्र पूर्वाधार निर्माणसँगै सामाजिक, सांस्कृतिक तथा भाषिक अवस्थितिलाई जोगाउनु पनि हो । यसको विकास र विस्तार गर्नु पनि हो । यसकै लागि हामीले प्रयास गरेका हौँ ।’ यस क्रममा भाषिक आयोगका सदस्य सुरेशकिरण मानन्धरले युनेस्कोले दिवस घोषणा गर्नुअघि नेपाल भाषालाई मातृभाषाका रूपमा संरक्षण गर्नका लागि कविता वाचन कार्यक्रम आयोजना गरिएको स्मरण गरे । कथाकार पुष्प चित्रकार २०२२ सालमा रेडियो नेपालबाट नेपाल भाषाको समाचारमा रोक लगाएपछि साहित्य सम्मेलन गरेर विरोधको आयोजना गरेका थिए। उनले निवन्ध, कविता र समलोचनामा पनि कलम चलाएका थिए। कथाकार सुवर्णकेशरीले लेखेका ‘इल फपुइकी’ जापानी, अङ्ग्रेजी र नेपाली भाषामा अनुवाद भएको छ । निरञ्जनरत्न शाक्य न्हूदँ समारोह समिति ११४२ का अध्यक्ष थिए । उनका नेपाल संवत् १०९८ मा प्रकाशित निकचा, ११०१ मा प्रकाशित ब्वलासालगायत कृति महत्त्वपूर्ण मानिन्छन् । कवि नवीन चित्रकार भाषिक अधिकारका लागि स्थापित मुनासःयाका संस्थापक हुन् । उनले नेपाल भाषाको नाटक निर्देशन पनि गरे । यस्तै पद्मरत्न तुलाधरले लेखेका शिक्षक र विद्यार्थी नाटकमा शिक्षकको भूमिका निर्वाह गरेका छन् । ‘जुलुसहीन जुलुसय् जि हालाच्वना’ कविता सङ्ग्रहका लेखक श्रीराम श्रेष्ठ नयाँ धारको प्रगतिशील कविका रूपमा परिचित हुन् । साहित्यमा कलम चलाउने श्रेष्ठको मूल विधा कविता हो ।
सुकेको लसुन प्रतिकेजी ३०० रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकेजी रु ५०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २३, आलु रातो प्रतिकेजी रु ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ७५, गाजर (लोकल) प्रतिकेजी रु ३५, गाजर (तराई) प्रतिकेजी रु २५, बन्दा (लोकल) प्रतिकेजी रु १५, बन्दा (तराई) प्रतिकेजी रु १२, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १८, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २५, काउली (तराई) प्रतिकेजी रु १८, मूला रातो प्रतिकेजी रु ४५, मूला सेतो (लोकल) प्रतिकेजी रु २५, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु २०, भन्टा लाम्चो प्रतिकेजी रु २५, भन्टा डल्लो प्रतिकेजी रु ६० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी रु ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६५, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६५, घिउ सिमी (राजमा) प्रतिकेजी रु ९०, टाटे सिमी प्रतिकेजी रु ५०, तिते करेला प्रतिकेजी रु १५०, लौका प्रतिकेजी रु ६०, घिरौला प्रतिकेजी रु १३०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु ४५, पिँडालु प्रतिकेजी रु १००, स्कूस प्रतिकेजी रु ४५, रायो साग प्रतिकेजी रु २०, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग रु ५०, तोरीको साग प्रतिकेजी रु १५, मेथीको साग प्रतिकेजी रु ६०, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ७०, तरुल प्रतिकेजी रु ८०, च्याउ (कन्य) प्रतिकेजी रु १००, च्याउ (डल्ले) प्रतिकेजी रु ४५० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ७०, रातो बन्दा प्रतिकेजी रु ७०, जिरीको साग प्रतिकेजी रु ६०, ग्याठ कोबी प्रतिकेजी रु ४०, सौफको साग प्रतिकेजी रु ६०, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ६०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२० र गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २००, स्याउ (फूजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १६०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु १८०, अङ्गुर (कालो) प्रतिकेजी रु २५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १७०, सुन्तला (भारतीय) प्रतिकेजी रु ११०, तरबुजा प्रतिकेजी रु ५०, मौसम प्रतिकेजी रु १५०, जुनार प्रतिकेजी रु ११०, भुइँ कटहर प्रतिगोटा रु १८०, काँक्रो (लोकल) प्रतिकेजी रु १००, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ४५, रुख कटहर प्रतिकेजी रु १२०, नासपाती (चाइनिज) प्रतिकेजी रु २४०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १४०, लप्सी प्रतिकेजी रु १२०, खरबुजा प्रतिकेजी रु ५०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किबी प्रतिकेजी रु ४५० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी रु १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ६०, भेडे खुर्सानी प्रतिकेजी रु ८०, लसुन हरियो प्रतिकेजी रु ७०, हरियो धनिया प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु ६०, ताजा माछा (रहु) प्रतिकेजी रु ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु ३००, ताजा माछा (छडी) प्रतिकेजी रु ३००, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु १००० तोकेको छ ।
स्ट्रबेरीखेतीबाट वार्षिक ६ लाख बचत
घोराही । किसान वीरेन्द्र खड्काले व्यावसायिक रूपमा स्ट्रबेरी (भुइँऐसेलु)को खेती गर्दै आएका छन् । आफ्नै देशमा केही गर्नुपर्छ भन्ने सोचका साथ उनी विगत दुई वर्षदेखि स्ट्रबेरीखेतीमा हुन् । उमेरले २६ वर्ष पुगेका उनले यही व्यवसायबाट वार्षिक रु छ लाख बचत गर्दै आएका छन् । रोल्पा माडी गाउँपालिका–१ जबाङ दुदिलाबोट स्थायी घर भएका खड्काले दाङको घोराही उपमहानगरपालिका–१४ झिँगौरामा गरेको स्ट्रबेरीखेती सोचेभन्दा पनि राम्रो हुँदै गएको उनको भनाइ छ । सोह्र कट्ठा जग्गामा व्यावसायिक रूपमा स्ट्रबेरीखेती गर्दै आएका उनले वार्षिक रूपमा रु १४ लाख बराबरको कारोबार गर्न सफल भएका हुन् । दाङमै स्ट्रबेरी प्रतिकिलो रु आठ सयका दरले बिक्री हुने गरेको छ । उनले बारीबाटै दैनिक २०–२५ किलोसम्मको बिक्री गर्दै आएका छभने आजभोलि फार्म छेउमै महोत्सव लागेका कारण झन् माग बढेर दैनिक ५० किलोसम्म बिक्री गर्दै आएको उनको भनाइ छ । यस वर्षको हालसम्म रु चार लाख बढीको बिक्री गरिसकेको उनी बताउँछन् । किसान खड्काले भने, ‘कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नुपर्छ भन्ने उद्देश्यले छ वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यावसाय गर्दै आएको थिएँ, विगत दुई वर्षदेखि भने व्यावसायिक रूपमा स्ट्रबेरीखेती पनि गर्दै आएको छु ।’ उनले घोराहीस्थित झिँगौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा भाडामा लिएर व्यावसायिक स्ट्रबेरीखेती गर्दै आएका छन् । दाङ एग्रोमार्ट कृषि फार्ममार्फत उनले चाडपर्वको समयमा सयपत्री फूलको पनि खेती गर्छन् भने गर्मी मौसममा खरबुजाको पनि व्यावसायिकखेती गर्दै आएका छन् । स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले समेत राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने भन्दै खड्काले भने, ‘बिरुवा ल्याउँदा, थोपा सिँचाइका लागि मल्चिङ विधि अपनाउँदा सुरुमा रु आठ लाख बढी खर्च भएको छ । भदौको अन्तिमतिर रोपेका बिरुवाले अहिले उत्पादन दिएको र फल बिक्री भइरहेको छ । यसले अझै राम्रो आम्दानी दिने आशा छ ।’ स्ट्रबेरीको उपयुक्त हावापानी र माटो भएकाले खेती गरेको भन्दै उनले जिल्लामा उत्पादन भएको स्ट्रबेरी घोराही, तुलसीपुर, लमहीलगायत बजारमा बिक्री भइरहेको उनले बताए । परम्परागत कृषि व्यवसायलाई बदल्दै आधुनिक प्रविधिका माध्यमबाट नयाँ व्यवसाय गर्नुपर्छ भनेर जिल्लामा स्ट्रबेरीखेती गर्दै आएको उनले बताए । किसान खड्काले यस वर्षदेखि रोल्पामा पनि सात रोपनी जग्गामा स्ट्रबेरीको व्यावसायिक खेती थालेका छन् । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले उत्पादन भएको स्ट्रबेरी दैनिक बिक्री गर्न सकियो भने राम्रो हुने बताए । जिल्लामा बजार सानो भएको हँदा विशेष गरेर प्याकिङ र ढुवानीमा सावधानी अपनाउन आवश्यक रहेको उनको भनाइ छ । टिपेर धेरै दिनसम्म प्याकिङमा राख्दा बिगे्रर खेर जाने सम्भावना हुने हुँदा किसानले ख्याल गर्नुपर्ने बताए । जिल्लाको हावा, पानी, माटो सबै राम्रो रहेको बताए । ‘स्ट्रबेरी चिसो ठाउँमा हुनेमध्येको फलफूलको बिरुवा हो”, उनले भने, ‘आज भोलिको समय राम्रो हुन्छ ।’ जिल्लामा व्यावसायिक रूपमा धेरै खेती नगरेको भए पनि कहीँकतै घरका गमलामा थोरैथोरै लगाउने गरेको उनको भनाइ छ । रासस
बीमा नियमावलीमा अभिकर्ताको असन्तुष्टि, प्राधिकरण घेराउ गर्ने चेतावनी
काठमाडौं । ‘मैले एक जनाको बीमा गर्न सक्दिँन । तपाईहरू कसरी गर्नुहुन्छ ?,’ अभिकर्ताहरूसँगको भेटमा बीमा प्राधिकरणका कार्यकारी निर्देशक (ईडी) सुशीलदेव सुवेदीको भनाई उदृत गर्दै अभिकर्ता कल्यान बिक्रम पाण्डेय प्रश्न गर्छन, ‘बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुवेदी सरलाई सोध्नुहोस् कतिको बीमा गर्नु भएको छ भनेर ? बीमा प्राधिकरणका कर्मचारीले कति जनाले बीमा गरेका छन्, उनीहरूका परिवारले कति जनाले बीमा गरेका छन् ?’ उनका अनुसार बीमा गराउनु भनेको सबैभन्दा जटिल विषय हो । १० जनालाई बीमाका बारेमा जानकारी गरायो भने मुस्किलले एक जनाले मात्रै बीमा गर्छ । त्यसैले बीमा व्यवासय संसारकै जटिल पेशा हो । माघ २८ गते बसेको मन्त्रीपरिषदको बैठकले बीमा नियमावली २०८१ पारित गरेपछि बीमा व्यवसाय झनै जटिल बन्दै गएको उनले दाबी गरे । ३०/३५ वर्षदेखि अभिकर्ता पेशा गर्दै आएका पाण्डेयलाई बीमा नियमावली २०८१ लागू हुने भएपछि पेशा धरापमा पर्ने चिन्ता छ । ‘सरोकारवाला पक्ष हामी अभिकर्तासँग छलफल नगरी बीमा नियमावली घुमाउरो बाटो ल्याइएको छ, आर्थिक चलखेल गर्ने घरानीयाहरूले नियमावलीमा आफू अनूकुल व्यवस्था गरेर ल्याइएको छ,’ उनले भने, ‘एजेन्ट एकजुट भएपछि उनीहरूसँग धेरै वादविवाद गर्न सकिँदैन भनेर केही सीमित तत्वहरूलाई फाइदा हुने गरी नियमावली ल्याइएको छ । राज्यले रोजगारी दिन नसकेको अवस्थामा नियमावली लागू भएपछि ३०/३५ वर्ष काम गरेका अभिकर्ता पलायन हुन्छन् ।’ यदि अभिकर्ता नै नरहे प्राधिकरणको भविष्य पनि नरहने उनले बताए । उनका अनुसार अभिकर्ताले काम गरेबापत प्राधिकरणले एउटा पोलिसीमा ७५ पैसा, नवीकरणबाट २५ पैसा शुल्क लिन्छ । अभिकर्ताले झुकेर ल्याएको बीमामा प्राधिकरणका कर्मचारीले मस्ती गर्ने गरेको उनले आरोप लगाए । ‘सुशील सर चेतना भया, हालै डीडीमा बढुवा हुनु भएको छ । यसलाई गहन छलफल गरी नियमावली संशोधन भएन भने भर्खरै बनेको बीमा प्राधिकरणको पुछ्न नपाएको सीसा फुट्छ,’ आक्रोसित हुँदै पाण्डेयले भने । पेसागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओम केसीका अनुसार अभिकर्ताको अहित हुने, मानमर्दन हुने, सामाजिक बेइज्जत हुने गरी बीमा नियमावली आएको छ । बीमा अभिकर्तालाई छलकपट गरेर ल्याएको उनको भनाइ छ । ‘पेसागत बीमा अभिकर्ता संघ नेपालले बीमा प्राधिकरण, अर्थमन्त्रालय, कानुन मन्त्रालय र प्रधानमन्त्रीको कार्यालय लगायतका ठाउँमा पगेर बीमा नियमावलीको ज्ञापनपत्र दिने वा माग राखेर खबरदारी गरेको थियो । जसकारण हामीले राखेका केही मागहरू सम्बोधन भएका छन् भने केही मागहरू सम्बोधन हुन सकेका छैनन्,’ उनले भने । पेसागत बीमा अभिकर्ता संघका अध्यक्ष केदारनाथ अधिकारीले ६ महिनामा आउनुपर्ने बीमा नियमावली केही स्वार्थ समूहले खेलेर २ वर्ष ढिला आएको बताए । बीमा नियमावली २०८१ मा १० वटा माग बीमा अभिकर्ता अनुकुल आएपनि २/४ वटा विषय भने अभिकर्ताको हित प्रतिकूल हुने गरी आएको उनको भनाइ छ । ‘हाम्रा १० वटा माग कनिकुथी नियमावलीमा अट्न सफल भएका छन् । तथापी २/४ वटा विषय आउनु हुँदनैथ्यो । र, नियमावलीको ड्राफ्टमा पनि थिएनन् । ती विषय नियमावलीमा समावेश भएर आउँदा आपत्ति छ । बीमाको अन्तर्राष्ट्रिय अभ्यास र नेपालको बीमा बजारमा हुँदै नभएको अभ्यास थालनी भएको छ,’ उनले भने, ‘यो तुरुन्त संशोधन गर्नुपर्छ भनेर बीमा प्राधिकरणसँग एक चरणमा छलफल भयो । सञ्चालक समितिबाट खारेजीका लागि पठाउने जबाफ दिनु भएको छ । बीमक संघले पनि नियमावलीमा भएका व्यवस्था कार्यान्वयन गर्न कठिन रहेको बताएको छ ।’ अध्यक्ष अधिकारीका अनुसार बीमा नियमावली २०८१ को परिच्छेद १० को ४३ (१) मा उल्लेख भएको व्यवस्था हालसम्म बीमा क्षेत्रमा नै छैन । उनका अनुसार उक्त व्यवस्थाले अभिकर्ताहरूलाई इजाजतपत्र (लाइसेन्स) जोगाउन सम्भव छैन । यस्तै, उनले परिच्छेद १० को नियम ४४ को उपनियम ३ मा रहेको व्यवस्था पनि खारेज हुनुपर्ने माग राखे । अभिकर्ताहरूका लागि उक्त व्यवस्था ठूलो सजायका रूपमा ल्याइएको उनले गुनासो गरे । ‘बीमितहरूलाई नवीकरणको प्रयास गर्दैगर्दा पनि उनीहरूले नवीकरण नगर्दा हाम्रो कमिशन आउँदैन । यो घाटा हुन्छ नै । र, अब पाइरहेको कमिशन पनि इन्सेन्टिभ पनि अर्काे सजायको रुपमा यहाँ थपिएको छ,’ उनले भने, ‘बीमाको नवीकरण अहिले भएन । अभिकर्ताको प्रयास जारी रहन्छ । अर्काे वर्ष बीमा नवीकरणमा फर्किएर आयो र किस्ता तिर्याे भने पुरानो वर्षको इन्सेन्टिभ पाउने वा नपाउने भन्ने विषय उल्लेख छैन ।’ साथै नियम ४४ को उपनियम ४ मा बीमित आफैं प्रत्यक्ष बीमा गर्न आएमा बीमकले कमिशनको ५० प्रतिशतले हुन आउने रकम बीमा शुल्कमा छुट दिनुपर्ने व्यवस्था छ । उक्त व्यवस्था हास्यास्पद भएको उनले बताए । उनका अनुसार यो अभ्यास कुनै पनि देशमा छैन । ‘अभिकर्ताहरू एउटा निश्चित बीमा नियमावली, बीमा ऐन अनुसार सुविधा पाउने गरी नियुक्ति गरिएको हुन्छ । प्रतिशतको आधारमा कमिशन तोकिएको हुन्छ । उसले पाउने कमिशन आम नागरिक बीमा कम्पनीमा गयो भने उसले पाउने पैसाको आधा उसैले पाउने भन्ने तोकेर आएको छ,’ उनले भने, ‘बीमा व्यवसायीहरूलाई निरुत्साहित गर्ने र यो पेशाबाट विकल्पमा अर्काे दफा सिर्जना गर्न खोजिएको छ र अभिकर्ता नभएपनि हुन्छ भन्ने भाष्य हामीले बुझेका छौं ।’
हिमालयन बैंकले दोहोरो खाता बन्द गर्ने
काठमाडौं । हिमालयन बैंकले दोहोरो खाता बन्द गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनमा दोहोरो खाता बन्द गरिने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको एकिकृत निर्देशन, २०८१ को निर्देशन नं. २१ को बुँदा नं. ४५ मा बैंक वा वित्तीय संस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एउटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न नपाइने व्यवस्था छ । सोही व्यवस्था बमोजिम एक भन्दा बढी खाता रहेका ग्राहकहरूले एउटा खाता मात्रै सञ्चालन गर्न बैंकले आग्रह गरेको छ । ३५ दिनभित्र दोहोरो खाताहरूमध्ये एउटा मात्र खाता सञ्चालनमा रहने गरी बन्द गर्नुपर्नेछ । यदि उक्त समयभित्र दोहोरो खाता भएका ग्राहकहरूले एउटा खाता बन्द नगरे खाता स्वतः निष्कृय हुने जनाएको छ ।
काभ्रेका किशोरीले ‘एचपिभी’ खोप लगाउन मानेनन्
काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका कक्षा ६ देखि १० सम्म अध्यनरत ९५ प्रतिशत बालिकाले पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी (ह्युमन प्यापीलोमा भाइरस) विरुद्धको खोप लगाएका छन् । यहाँका १६ हजार ९७ बालिकालाई खोप लगाइने लक्ष्य रहेकामा १५ हजार ३४४ अर्थात् ९५.३२ प्रतिशत बालिकालाई उक्त खोप लगाइएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि गत माघ २२ देखि यही फागुन ६ गतेसम्म खोप अभियान सञ्चालन गरिएको थियो । नेपाल सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट प्रमाणित उक्त खोप कक्षा ६-१० विद्यालय समूहका तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेरका बालिकाका लागि उक्त खोप लगाइएको हो । अशिक्षा तथा चेतनाको कमीलगायत विविध कारण लक्ष्यअनुसार केही प्रतिशत खोप लगाउने बालिकाको सङ्ख्यामा कमी आएको कार्यालयले जनाएको छ । ‘केही बाललिकाले खोप लगाउनै नमानेको विद्यालयबाट जानकारी आयो, सायद अशिक्षा तथा चेतनाको कमी नै शतप्रतिशत खोप सम्पन्न गर्न नसकेको होला !,’ कार्यालय प्रमुख रागिश्री कक्षपति श्रेष्ठले भने । उनका अनुसार भौगोलिक विकटतालगायत समग्रमा खोप कार्यक्रम सफल भएको मानिएको छ । जिल्लाको २५२ सामुदायिक विद्यालय तथा ८४ निजी विद्यालयका छात्रालाई उक्त खोप लगाएको हो । जिल्लाको १३ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा लक्ष्यको ९९ प्रतिशत खोप लगाएको देखिन्छ । कार्यालयको तथ्याङ्कानुसार सबैभन्दा कम चौँरीदेउराली गाउँपालिकामा ८१ प्रतिशत तथा धुलिखेल नगरमा ८५ प्रतिशत बालिकाले खोप लगाएका छन् । ४५० बालिकालाई खोप लगाउने लक्ष्य लिइएकामा चौँरीदेउरालीमा ३६४ ले मात्रै खोप लगाए । सदरमुकामस्थित धुलिखेल नगरमा भने एक हजार चार सय १६ बालिकामध्ये १ हजार २०४ बालिकाले मात्र खोप लगाएका छन् । यस्तै खानीखोला, नमोबद्ध, भुम्लु र तेमाल गाउँपालिकाका ९९ प्रतिशत बालिकाले खोप लगाएका छन् । बनेपा र पाँचखाल नगर तथा बेथान्चोक गाउँपालिकामा ९८ प्रतिशत बालिकालाई खोप दिइयो । रोशी गाउँपालिकाले ९५ प्रतिशत, मण्डनदेउपुर र पनौती नगरमा ९४ प्रतिशत, महाभारत गाउँपालिकामा ९३ प्रतिशत बालिकाले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कानुसार नेपालमा हरेक वर्ष २ हजार २ सय महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको छ । यसमध्ये १ हजार ३ सयको महिलाको निधन हुने गरेको जनाइएको छ ।
सम्भावनाहरुलाई अवसरमा बदल्न आवश्यक छ: अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावनाहरु रहेको उल्लेख गर्दै ती सम्भावनाहरुलाई अवसरमा बदल्नु पर्ने बताएका छन् । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७२औं स्थापना दिवसको अवसरमा शनिबार बुटवलमा आयोजित कार्यकममा बोल्दै अध्यक्ष ढकालले नेपालमा केही छैन भन्ने गलत भाष्य स्थापित भएको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको समेत बताएका हुन् । ‘नेपालमा प्राकृतिक स्रोत साधनको प्रचुर सम्भावना छ । हामीले यसलाई ‘क्यापिटलाईज’ गर्नु सक्नु पर्छ । यहाँ भएका स्रोत साधनमा आधारित भएर लगानी गर्ने हो भने उद्यमशिलता पनि विकास हुने र रोजगारी पनि प्रसस्त सिर्जना गर्न सकिन्छ,’ उनले भने । यस्तै अध्यक्ष ढकालले देशको आर्थिक विकासका लागि नीतिगत स्थिरता कायम गर्नु पर्ने र आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु पर्ने बताए । ‘मुलुकको आर्थिक समृद्धिका लागि नीतिगत स्थिरताका साथै आन्तरिक लगानीलाई प्रोत्साहन गर्नु पर्छ । यसो गर्न सके मात्रै मुलुकमा लगानीको वातावरण सिर्जना, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न सकिन्छ,’ उनले भने । अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघहरुको माग अनुसार विधान संशोधन गरिएको बताउँदै विधान संशोधनसंगै जिल्ला नगर उद्योग वाणिज्य संघबाट महासंघमा जानको लागि अवसर सिर्जना गरेको बताए । वि.स. २०१० सालमा स्थापित बुटवल उद्योग वाणिज्य संघ पश्चिम नेपाल कै अग्रणी संस्था भएको उल्लेख गर्दै अध्यक्ष ढकालले बुटबल उद्योग वाणिज्य संघले उद्योगी व्यवसायीहरुको हकहित संरक्षण, सम्बर्द्धनका साथै यस क्षेत्रको शिक्षा, स्वास्थ लगायतका अन्य पूर्वाधारको विकासमा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएकोमा संघको प्रशंशा गरे । कृषि, पर्यटन, उद्योग, व्यापार सबै दृष्टिले रुपन्देही नेपालकै उर्वर भूमी रहेको चर्चा गर्दै अध्यक्ष ढकालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, विशेष आर्थिक क्षेत्र ९सेज०, बुटबल अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, भन्सार र पछिल्लो समय निर्माण भएका अन्य भौतिक पूर्वाधारको विकास त्यसका आधारहरु रहेको समेत अध्यक्ष ढकालको भनाइ छ । कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले यस क्षेत्रका उद्योगी व्यवसायीहरुले २००९ सालमा तदर्थ समिति गठन गरी विधिवत रुपमा २०१० साथमा बुटवल उद्योग वाणिज्य संघको स्थापना गरेको जानकारी गराउँदै संघको स्थापनासंगै संघले यस क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासमा समेत लगानी सहितको नेतृत्वदायी भूमिका खेल्दै आएको बताए ।