हरेक बिहान भिजाएको बदाम खाँदा शरीरमा यी फाइदा
काठमाडौं । बदाम स्वास्थ्यको लागि धेरै फाइदाजनक छ । यसमा प्रोटिन, फाइबर, भिटामिन, खनिज र ओमेगा- ३ फ्याटी एसिड हुन्छ । जुन शरीरको लागि आवश्यक पोषक तत्व हो । बिहान खाली पेटमा रातभर पानीमा भिजाएर राखेको बदाम खाँदा धेरै समस्याबाट बच्न सकिन्छ । भिजाएको बदाम खानुका धेरै फाइदा छन् । आउनुहोस् भिजाएको बदाम खाँदा के-कस्तो फाइदा हुन्छ, यसबारेमा चर्चा गराैं । कोलेस्ट्रोल नियन्त्रणमा बदाम खानाले एलडीएल भनिने खराब कोलेस्ट्रोलको स्तर कम गर्न र राम्रो कोलेस्ट्रोलको स्तर बढाउन मद्दत गर्छ । यसैगरी, उच्च घनत्व एचडिएलको स्तर बढाउन मद्दत गर्छ । बदाममा एन्टी–इन्फ्लेमेटरी गुणहरू पनि हुन्छन्, जसले मुटुसम्बन्धी रोगबाट बचाउन मद्दत गर्दछ । तौल नियन्त्रणमा बदाममा क्यालोरी धेरै भए पनि यसले तौल बढ्ने र मोटोपनको जोखिम कम गर्न मद्दत गर्छ । बदाममा पाइने प्रोटिन र फाइबरले तपाईंलाई चाँडै पेट भरिएको महसुस गराउन मद्दत गर्छ। त्यसैले तपाईंले आफ्नो भोक मेटाउँदै आफ्नो क्यालोरी सेवनलाई राम्रोसँग नियन्त्रण गर्न सक्नुहुन्छ । रगतमा चिनी नियन्त्रण मधुमेहका बिरामीहरूले आफ्नो रगतमा चिनीको मात्रा नियन्त्रण गर्नु धेरै महत्त्वपूर्ण छ । बदाममा ग्लाइसेमिक इन्डेक्स कम हुन्छ र यसमा फाइबर पनि हुन्छ, त्यसैले बदाम खाँदा यसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ । छालाको लागि पनि फाइदाजनक बदाममा प्रोटिन, भिटामिन, खनिज, फाइबर र ओमेगा–३ फ्याटी एसिड पाइन्छ । त्यसैले यसलाई खाँदा तपाईंको छाला पनि स्वस्थ रहन्छ । यसमा पाइने पोषक तत्वहरूले बुढ्यौलीका लक्षणहरूलाई टाढा राख्छ ।
‘वैध रूपमा ल्याइने सुनसहितका सामग्रीको पनि आर्थिक स्रोत खोजिनुपर्ने’
काठमाडौं । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले विदेशबाट फर्किने नेपालीले ल्याएका सुन, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामग्रीको आम्दानीको स्रोत खोजिनुपर्ने बताएका छन् । अर्थसमितिको आइतबारको बैठकमा महानिर्देशक भट्टराईले मुख्यगरी दुबई र हङ्कङबाट सुन तस्करी हुने गरेको देखिएको उल्लेख गर्दै झिटीगुण्टासम्बन्धी कानुनले तोकेअनुसार वैध रूपमा ल्याइने सुनसहितका सामग्रीको पनि आर्थिक स्रोत खोजिनुपर्ने बताए । ‘झिटीगुण्टासम्बन्धी कानुनले महिलाका लागि ५० ग्राम र पुरुषको हकमा २५ ग्राम सुन ल्याउनसक्ने व्यवस्था गरेको छ । हप्तादिनका लागि दुबई घुम्न गएकाले त्यहाँबाट फर्किंदा ५० ग्राम सुन, दुईटा आइफोन, कम्प्युटर, क्यामेरालगायत सामग्री लिएर आउने प्रवृत्ति छ । दुबई र हङ्कङका विमानस्थलमा सुन पठाउने गिरोह नै हुनुपर्छ,’ भट्टराईले भने, ‘विदेशमा घुम्न जानेहरूले नेपालबाट बढीमा अमेरिकी डलर दुई हजार पाँच सय बराबर मात्रै लिएर गएका हुन्छन् । एक हप्तापछि फर्किंदा अमेरिकी डलर पाँच हजार बराबरको सुन लिएर आउँछन् । झिटीगुण्टा कानुनले तोकेको मापदण्डभित्रै भए पनि त्यसको आर्थिक स्रोत खोज्ने हो भने यो सरासर तस्करीका रूपमा लिन सकिन्छ ।’ नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई प्रतिदिन २० किलोसम्म सुन आयात गर्न दिने गरेको बताउँदै झिटीगुण्टाका रूपमा दैनिक त्योभन्दा बढी परिमाणको सुन नेपाल आइरहेको उनले उल्लेख गरे । ‘म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रमुखका रूपमा रहँदा त्यहाँ एक दिनमा २२ किलोसम्म सुन झिटीगुन्टाका रूपमा आएको भेटियो । त्यो सुन गरगहनाका रूपमा व्यक्तिगत प्रयोगका लागिभन्दा पनि अधिकांश बजारमा जाने गर्दछ,’ भट्टराईले भने । समितिको आजको बैठकमा सभापति सन्तोष चालिसेले त्रिभुवन विमानस्थल भन्सारबाट अवैध सुन भित्रिने गरेकाले वैध रूपमा ल्याइएको सुनलाई पनि भन्सार कर्मचारीले दुःख दिने गरेको व्यापक गुनासो आइरहेको बताए । उनले यसबारे महानिर्देशक भट्टराईसँग जवाफ मागेका थिए । जवाफमा महानिर्देशक भट्टराईले झिटीगुन्टा कानुनले वैध मानेको सामग्रीको पनि कुन आर्थिक स्रोतबाट खरिद भएको हो भनेर जाँचबुझ गर्नुपर्ने आवश्यकता औंल्याए । अर्थसमितिले आज ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि संशोधनकर्ता सांसदहरूसँग छलफल गरेको छ । संशोधनकर्ता सांसद महेशकुमार बर्तौलाले विधेयकले अन्तरराष्ट्रिय व्यापारलाई मात्र नभई आन्तरिक व्यापारलाई पनि सहजीकरण गर्ने विषय कानुनमा अटाउनुपर्नेमा जोड दिए । त्यस्तै, भन्सारमा वस्तु घोषणा गर्दा व्यापारीका प्रतिनिधिको ठाउँमा स्वयं व्यापारी उपस्थित भएर घोषणा गरिनुपर्ने व्यवस्था कानुनमा राख्नुपर्ने उनले सुझाव दिए । बैठकमा सांसदहरू ज्ञानेन्द्रबहादुर कार्की, सूर्यबहादुर थापा क्षेत्री, गङ्गा कार्कीलगायतले यो विधेयकमाथिको छलफल यथाशीघ्र सक्नुपर्ने धारणा राखेका थिए । भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकूल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको जनाएको छ । नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गनठको व्यापार सहजीकरण सम्झौताको पक्ष राष्ट्र हो । यी सम्झौताअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानमध्ये सामान्य प्रावधान सदस्य भएको तीन वर्षभित्र तथा सङ्क्रमणकालीन मापदण्ड पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नुपर्ने महासन्धिमा उल्लेख छ । त्यस्तै, व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधानहरू भन्सार ऐन नियमबाट सम्बोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।
पनौती-काठमाडौं खण्डमा विद्युतीय सवारी सञ्चालन
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि विद्युतीय सवारी (इभी माइक्रो) सञ्चालनमा ल्याएको छ । यसअघि मिनीबसबाट सेवा दिँदै आएको समितिले आइतबारदेखि पनौती नगरपालिकाको खोपासी र शङ्खुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ गरेको हो । खोपासी र शङ्खुबाट पनौती बसपार्क हुँदै कोटेश्वर–तिनकुने गएर पुनः खोपासी र शङ्खु फर्कने गरी दुई नयाँ रुट कायम गर्दै सेवा दिन थालेको समितिले जनाएको छ । सेवारम्भको कम्पनीका अध्यक्ष राजेशसुन्दर सैँजूले पनौतीस्थित मानेश्वरी पार्कमा इभी माइक्रो सञ्चालन उद्घाटन गरे । ‘हाल दुई रुटबाट पाँच(पाँच वटा इभी माइक्रोले सेवा दिनेछौँ, पछि आवश्यकताअनुसार थप्दै जानेछौँ’, उनले भने । पर्यावरण, प्रविधि तथा यात्रुको जनघनत्वलाई ध्यानमा राख्दै छिटोछरितो सेवा दिने उद्देश्यले विद्युतीय गाडीले मिनीबसको साविक भाडादरमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । हाल खोपासीबाट ११ सिट क्षमताको र शङ्खुबाट १४ सिट क्षमताको इभी माइक्रो सञ्चालनमा ल्याइएको हो ।
कस्तो बनाउने घर ? कति गर्ने लगानी ?
निर्माण क्षेत्रमा ‘स्किल सेवा’ अर्थात् ‘तपाईंको घरको डाक्टर’को पृथक पहिचान छ । प्रसंगको सुरुवात नामबाट गरौं । धेरैले हाम्रो कम्पनीको नाम घरको डाक्टरको विषयमा चासो राख्नुहुन्छ । सुरुवातमा हामीले नाम राख्नेभन्दा पनि सामाजिक प्रयोगकर्ताले नै हामीलाई घरको डाक्टरका रूपमा चिन्न थाले । त्यही शब्द भन्न थाले । यो कम्पनीको सुरुवात सन् २०१९ मा भएको हो । हामीले सुरुवातमा घरमा प्लम्बर, इलेक्ट्रिसिएन र टायल लगाउने मान्छे पठाएर मर्मतका काम गर्याैं । घरमा धेरै समस्या देखिने रहेछ भन्ने हामीले महसुस गर्यौं । अब एकै पटक सबै समस्या समधान गर्दै जानुपर्छ भन्ने उद्देश्यले हामीले अहिले घर निर्माणको काम पनि गर्छौं । स्किल सेवाले अहिले घरको मर्मत तथा मेन्टेनेन्स नवीकरण, तला थप्ने, घरका कोठाहरू घटाउने तथा बढाउने काम गर्दै आएको छ । आवास सबैका लागि अतिआवश्यक नै हो । मध्यम वर्गका मानिस सबैले आफ्नो घर होस् भन्ने चाहन्छन् । कतिपयले काठमाडौंमै घर बनाउन सकियोस् भन्ने इच्छा हुन्छ । काठमाडौंमै नसकेपनि सदरमुकाममा घर बनाउने रहर अधिकांशको हुन्छ । अर्को महत्त्वपूर्ण कुरा घर हाम्रो समाजमा पहिचानको विषय बन्यो । घर कहाँ बनाउने ? कस्तो बनाउने ? कसरी बनाउने र बनाइसकेपछि त्यसको प्रतिफल के भन्ने विषयमा धेरैलाई जानकारी नै हुँदैन । बस् यत्ति थाहा हुन्छ कि घर चाहिं जसरी पनि बनाउनु पर्यो । घर बनाउनुअघि तपाईंसँग बजेट कति छ ? पहिला त्यसलाई विचार गरेर मात्रै अघि बढ्न सुझाव दिन्छौं । सामान्यतया आजको दिनमा काठमाडौंमा घर बनाउँदा बुढानीलकण्ठमा बनाउनु र गोदाबरीमा बनाउनुमा फरक छ । त्यहाँ लगानी, वातावरणलगायत धेरै कुरामा फरक छ । घरमा कति जनाका परिवार छ ? परिवारको लागि मात्रै हो कि ? भाडामा पनि दिनु हुन्छ कि वा वा अन्य प्रयोजनका लागि भन्ने विषयमा ध्यान दिनुपर्छ । आजको दिनमा दरबारमार्ग, बानेश्वर, बागबजार र कोटेश्वरलगायत प्राइम लोकेसनमा घर बनाउँछु भनेर रहर पालेर मात्रै हुँदैन । पैसा हुनेले मात्रै त्यो सम्भव छ, अर्को कुरा आफूसँग आम्दानी आ कुनै आयको स्रोत नभई लगानी गर्नु पनि राम्रो होइन । जसको कुनै प्रतिफल नै छैन । समाजमा छिमेकीभन्दा ठूलो घर बनाउने प्रतिस्पर्धा हुन्छ । घरलाई आफ्नो पहिचान र प्रतिष्ठाको रूपमा हेरिन्छ, जुन गलत मनसाय हो । हाम्रो सुझाव छिमेकीभन्दा ठूलो घर बनाउनु हुँदैन भन्ने रहन्छ । आफ्नो क्षमता र हैसियतअनुसार घर बनाउनुपर्छ । अर्को भाडामा लगाउने गरी पनि घर बनाउनु हुँदैन । करोडौं लगानी गरेर घर बनाइएको हुन्छ तर त्यसको प्रतिफल भाडाबाट असुल्न सकिँदैन । सबै ठाउँमा भाडामा जान्छ भन्ने पनि हुँदैन । एउटा घरको फ्ल्याटको तयारी गर्न न्यूनतम ३० लाख रुपैयाँ लाग्छ । त्यो फ्ल्याटको मासिक भाडा २० हजार रुपैयाँ पनि आउँदैन भने लगानी किन गर्नु ? काठमाडौंमा जग्गाको मूल्य धेरै महँगो छ तर उपत्यका बाहिर यति धेरै महँगो छैन । यति धेरै महँगो भएपनि मान्छेहरू काठमाडौंमै घर बनाउन लालायित हुन्छन् । घर आफूलाई पायक पर्ने ठाउँमा लगाउने हो । तर, घरमा लगाइने लगानीको विषयमा भने ध्यान दिनुपर्छ । ३ करोड रुपैयाँ लगानी गरेर घर बनाइँदैछ भने त्यसको प्रतिफल के हो ? भन्ने विषयमा ध्यान दिनुपर्छ । काठमाडौं देखाउनकै लागि भएपनि भनेर करोडौं लगानी गरेर घर बनाउनु राम्रो होइन । पछिल्लो समय नेपालमा भविष्य नदेखेर एउटा राम्रो घरघडेरी जोड्नैका लागि भएपनि युवाहरू विदेश गइरहेका छन् । उसो त नेपालमा पनि व्यापार व्यवसाय गर्न सहज छैन । हामीलाई पनि यो व्यवसायमा लागेकाो सात वर्ष भइसकेको छ । सात वर्षको अवधिमा हामी स्वरोजगार मात्रै भएका छैनौं, हामीजस्ता अरू चार सय जनालाई पनि रोजगारी दिएका छौं । अझै यसलाई बढाएर लैजाने तयारी छ । विदेश मात्रै सबथोक होइन, नेपालमा पनि धेरै सम्भावनाहरू छन् । लाखौं लगानी गरेर विदेशिनुभन्दा सानो पुँजीबाट स्वदेशमै व्यवसाय गर्नु राम्रो हो । विदेश जानुभन्दा स्वदेशै सीप सिकेर काम गर्न सकिन्छ । हामीले पनि दक्ष जनशक्ति नपाइरहेको अवस्था छ । नेपालमा अहिले पनि दक्ष जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्था छ । आफूसँग व्यवसायका लागि पैसा भएपनि जनशक्ति विदेशबाट ल्याउनु पर्ने बाध्यता हामीले हटाउनुपर्छ । स्वदेशमै सीप सिकेको छ भने विदेश जानै पर्दैन । नेपाली व्यवसायीले पनि दक्ष जनशक्ति पाइरहेका छैनन् । हामीले घर बनाउनुअघि अध्ययन गर्दा धेरै घरधनीहरू ठगिएको पायौं । तयसपछि नै हामी आफैले घर निर्माण गर्ने योजनामा पुगेका हौं । अर्को नयाँ काम भनेको उपभोक्ताहरूलाई जग्गा खोजीदिने र घर बनाउने जनशक्ति जुटाइदिने काम पनि हामीले गर्छौं । उनीहरूको डिजाइनअनुसार घर बनाइदिने काम सुरु गरेका छौं, जसले गर्दा न उपभोक्ताहरु ठगिन्छन् न त कमसल सामान नै प्रयोग हुन्छ । यसैलाई मध्यनजर गरेर आगामी फागुन १५ गतेदेखि १७ गतेसम्म घरनिर्माणसम्बन्धि एउटा कार्यक्रम गर्दैछौं । त्यसबाट के कस्ता घरनिर्माण गर्ने भन्ने सम्बन्धी धेरै कुरा सिक्न सकिन्छ । (प्रधान तपाईंकाे घरको डाक्टर अर्थात् स्किल सेवाका सञ्चालक तथा व्यवस्थापक हुन् । उनीसँग गरिएको कुराकानीको सम्पादित अंश)
कुमारी क्यापिटलले सञ्चालनमा ल्यायो मोबाइल एप
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ । कुमारीले ‘कुमारी क्यापिटल’ नाम गरेको एप सार्वजनिक गरेको हो । यसले विशिष्टिकृत लगानी योजना (एसआईपी) सहित अन्य लगानीका सेवाहरू सहज र पहुँचयोग्य बनाउने विश्वास कुमारीले गरेकाे छ । अब लगानीकर्ताहरूले आफ्नो मोबाइलबाटै सरल, छिटो र सुरक्षित तरिकाले लगानी गर्न सक्नेछन् । मोबाइल एपबाट एसआईपी व्यवस्थापन, लगानी योजना निर्माण र अनुगमन अब केही क्लिकमै सम्भव हुने क्यापिटलले जनाएको छ । यो एपले नयाँ र अनुभवी दुवै प्रकारका लगानीकर्ताहरूलाई सहज एवं व्यवस्थित रूपमा लगानी गर्न मद्दत गर्नेछ । एपका प्रमुख विशेषताहरू कुनै पनि समय अथवा जहाँ भएपनि एसआईपी व्यवस्थापनकाे व्यवस्थापन गर्न सकिने कुमारीले जनाएकाे छ । यसैगरी, डिम्याट खाता व्यवस्थापन र हेर्न सहज हुने जनाइएकाे छ । यसैगरी, आईपीओ, एफपीओ र हकप्रद सेयर आवेदन दिन सकिनेछ । कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुष्प शर्माले लगानीकर्ताहरूलाई सजिलो होस् भन्ने हेतुले एप ल्याएको जानकारी दिए । कुमारी क्यापिटल मोबाइल एप एन्ड्रोइड युजर्सका लागि गुगल प्ले स्टोर र एप्पल युजर्सका लागि एप स्टोरमा उपलब्ध छ ।
सेयर बजार परिसूचक ११ अंक बढेर २७५५ विन्दुमा, ११ अर्बको कारोबार
काठमाडौं । साताको पहिलो कारोबारको दिन अर्थात आइतबार सेयर बजारमा सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११ अंकले बढेर २७५५.४० बिन्दुमा पुगेको छ । आज ९२ कम्पनीको मूल्य बढ्दा १४७ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । आइतबार ३२८ कम्पनीको २ करोड १२ लाख कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ९५ करोड रुपैयाँको कारोबार भएको छ । साथै, सिटिजन लाइफको ६१ करोड, नेपाल रिइन्स्योरेन्सको ६० करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४० करोड र सिइडीबी होल्डीङको ३६ करोड रुपैयाँको कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ ०.०३, लगानी १.३३, जीवन बिमा ०.८६, उत्पादन तथा प्रशोधन २.७८, म्युचुअल फण्ड ०.०२, निर्जीवन बिमा ०.१३ र अन्य समूह ३.७२ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक ०.४८, वित्त ०.४५, होटल तथा पर्यटन ०.५०, जलविद्युत् ०.५६, लघुवित्त ०.६६ र व्यापार समूह १.३२ प्रतिशतले घटेको हो । गार्डियन माइक्रो लाइफइस्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने रिलायन्स फाइनान्स लिमिटेडको सेयर मूल्य ७.२४ प्रतिशतले घटेको छ ।
३२ करोड रुपैयाँको अंगुर आयात
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ७ महिनामा ३२ करोड रुपैयाँको अंगुर आयात भएको छ । चालु आवको माघ महिनासम्म ३२ करोड ८४ लाख ३२ हजार अंगुर आयात भएको भन्सार विभागले जनाएको छ । ३६ लाख किलो अंगुर आयात हुँदा नेपाल सरकारले ५ करोड ३१ लाख रुपैयाँ राजस्व उठाएको छ । विभागका अनुसार गत वर्षको तुलनामा अंगुर आयात घटेको छ । गत आवको माघ महिनासम्म ३६ करोड २१ लाख ९४ हजार रुपैयाँको अंगुर आयात भएको छ । सो अवधिमा ४१ लाख किलो अंगुर आयात हुँदा ३ करोड राजस्व संकलन भएको विभागले जनाएको छ । गत वर्षको तुलनामा यो वर्ष अंगुर आयात ९.३२ प्रतिशतले घटेको छ । चालु आवमा नेपालमा भारत र चीनबाट अंगुर आयात भएको विभागको तथ्यांकमा उल्लेख छ । भारतबाट २५ करोड र चीनबाट ७ लाख रुपैयाँ बढीको आयात भएको छ ।
बास्किन रोबिन्सले गर्यो वसन्तपुरमा ३४औं शाखाको उद्घाटन
काठमाडौं । आइसक्रिम ब्राण्ड बास्किन रोबिन्सले नेपालमा आफ्नो ३४औं शाखा काठमाडौंको वसन्तपुरमा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । नेपालमा बास्किन रोबिन्सको आधिकारिक आयातकर्ता तथा वितरक सन इन्टरनेशनल इन्कर्पोरेटेडद्वारा सञ्चालित यो शाखा प्रतिष्ठित पद्म ज्योति ग्रुप नेपालको एक हिस्सा हो । कम्पनीका अनुसार वसन्तपुर शाखाले बास्किन रोबिन्सका प्रसिद्ध ३१ फ्लेबर र प्रिमियम आइसक्रिम केकहरू ल्याएको छ ।उद्घाटन समारोहमा नेपालको समृद्ध नेवारी संस्कृतिलाई सुन्दर सांगीतिक प्रस्तुतिसँग जोडि परम्परा र बास्किन रोबिन्सको आधुनिकतालाई एकसाथ प्रस्तुत गरिएको थियो । उक्त उद्घाटन कार्यक्रममा अमेरिकी राजदूत डीन आर.थम्पसन लगायत धेरै प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो । ‘बास्किन रोबिन्स ग्राहकहरूलाई गुणस्तरीय सामग्रीबाट तयार गरिएको विभिन्न फ्लेबरहरुको साथ खुशी दिन समर्पित छ । यस ब्राण्ड नेपालमा विस्तार हुँदै गर्दा, आइसक्रिम प्रेमीहरूलाई विश्वभर मन पराइएका फ्लेबरहरू र गुणस्तरीय आइसक्रिमहरूको स्वाद दिँदै अघि बढिरहेको छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।