विकासन्युज

पशुपतिनाथ क्षेत्रमा सवारी साधन चलाउन रोक, यी रूटमा मात्रै गाडी चल्ने

काठमाडौं । आज पशुपतिनाथ क्षेत्रमा सवारी साधन चलाउन रोक लगाइएको छ । महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवं व्यवस्थित गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले यस्तो व्यवस्था गरेको हो । कार्यालयले विशेष सुरक्षा योजनाअनुसार पशुपतिमा पूजा गर्न आउने भक्तजन एवम् दर्शनार्थीलाई सहज रूपमा आवत जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको छ । सवारी साधनहरूको पार्किङ्ग तीलगंगा आँखा अस्पताल अगाडी, सिफलचौर र गुहेश्वरी पारी करिडोर सडकमा मिलाइएको छ भने बनकाली क्षेत्रमा दमकल, एम्बुलेन्स र खानेपानीको ट्याङ्करहरु पार्किङ्ग हुनेछन् । त्यसैगरि कोषको कार्यालय र सिफलचौरमा पासवाहक सवारी साधन र प्रहरी बृत्त गौशालामा सुरक्षाकर्मीका सवारी साधनहरुलाई पार्किङ व्यवस्था मिलाइएको छ ।तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध क्षेत्रबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक सवारी साधनहरुलाई भने निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ । वाग्मती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ । गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाईएको छ ।

भगवान् शिव उत्पत्ति भएको महाशिवरात्रि पर्व, पशुपतिका चार ढोका खुले

काठमाडौं । भगवान् शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजाआराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख, शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले बताए । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजाआराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायतका ग्रन्थमा उल्लेखित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको ह्दयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ । माघ महिनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व ९जगत्को कल्याण गर्ने तत्व०ले गर्दा फागुनमा पलाउन थाल्ने हुनाले शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ । व्रतमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसे सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन भगवान् महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ । पशुपतिनाथमा आजको चार प्रहरमा चार प्रकारका पूजा राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किरातेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न र महाशिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ । महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । आज बेलुकी करिब छ बजेदेखि पशुपतिनाथ मन्दिरमा प्रहर पूजा सुरु हुन्छ । पहिलो प्रहर पूजा करिब पौने नौ बजे सकिन्छ । नौ बजेको हाराहारीमा दोस्रो प्रहर पूजा सुरु हुन्छ । यो करिब पौने १२ बजे सकिन्छ । करिब १२ बजेको हाराहारीमा तेस्रो प्रहर पूजा सुरु हुन्छ । पौने तीन बजे हाराहारीमा यो सकिन्छ । चौथो प्रहर पूजा करिब तीन बजेको हाराहारीमा सुरु भई बिहान छ बजेको हाराहारीमा सकिन्छ । जप, ध्यान, पूजा, अघ्र्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ । महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा आज बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा गरिन्छ । यसबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि चार प्रहर पूजा गर्ने परम्परा रहिआएको छ । यसैबीच पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनहरूको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले बताउनुभयो । सात वर्षअघिदेखि नै पशुपति क्षेत्रमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस वर्ष पनि त्यसलाई निरन्तरता दिइएको छ । यस्ता पदार्थ सेवन, बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कानुनी कारबाही गर्ने उहाँले बताउनुभयो । निषेध गरिएका चिजबीज बेचबिखन गर्न नदिई शान्ति सुरक्षा कायम गर्न आज पशुपति क्षेत्रमा करिब पाँच हजार सुरक्षाकर्मी खटाइएको छ । बिहान दुई बजे नै पशुपतिका चार ढोका खुल्ने महाशिवरात्रिका अवसरमा बुधबार बिहान दुई बजेदेखि नै पशुपतिनाथका चार ढोका खोलिने कोषले जनाएको छ । यस वर्ष १० लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ । कति भक्तजन भने लाइन नबसी पशुपति क्षेत्र पुगेर गजुर दर्शन गरेर फर्कने गरेका छन् । गजुर दर्शन गर्दा पनि पशुपतिनाथ मन्दिरमै गएर दर्शन गरेबमोजिम फल मिल्ने शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । यस वर्षको महाशिवरात्रिमा मन्दिर परिसर साजसजावटमा विशेष ध्यान दिइएको छ । पशुपति क्षेत्र वरपर झिलीमिली बनाइएको छ । बेलुकी पशुपति क्षेत्र जाँदा आकर्षक हुनेगरी फूल र बत्तीले सजाइएको छ । नेपाललगायत विदेशबाट समेत फूलमाला ल्याएर मन्दिर सजावट गरिएको छ । यस वर्ष महाशिवरात्रिका अवसरमा पशुपतिमा दर्शनका लागि बाहिर चार र भित्र आठवटा लाइनको व्यवस्था गरिएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख ईश्वर भण्डारीले बताए । सबै लाइनबाट छिटोभन्दा छिटो भक्तजनलाई दर्शन गराएर फिर्ता गराउने गरी कोषले तयारी गरेको छ । मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रूद्रगाडेश्वर उत्तरढोका, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोका, बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट–तिलगङ्गा भएर पिङ्गलास्थान–सुमार्गी भवन हुँदै चार शिवालय–पञ्चदेवल दक्षिण ढोकाबाट एक–एक लाम गरी बाहिरी रूपमा दर्शन गर्ने व्यवस्था मिलाइएको प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । यसैगरी तिलगङ्गा राममन्दिरतर्फसमेत आवश्यकतानुसार एक लामको व्यवस्था गर्न सकिने गरी व्यवस्थापन मिलाउन लागिएको उहाँले बताउनुभयो । नित्य दर्शनार्थीका लागि बिहान ७ बजेअगावै भुवनेश्वरीस्थित फलामको सानो ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ । जुन दर्शनमार्गबाट मन्दिर प्राङ्गण प्रवेश गरिन्छ सोही मार्ग हुँदै मन्दिर प्राङ्गणबाट बाहिरिने व्यवस्था मिलाइएको छ । दर्शन गर्न आउने दर्शनार्थीको सवारी पार्किङका लागि सिफल, तिलगङ्गा, गुह्येश्वरी पारि, कोषको कार्यालय, वनकालीलगायत स्थानमा व्यवस्था मिलाइएको छ । आज पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्र, डोलेश्वर, नागेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यसैगरी राजधानी बाहिरका शिव मन्दिरमा पनि आशुतोष भगवान् शिवको धुमधामका साथ पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

हामी सबै एउटै डुङ्गामा छौं, क्षति हुँदा एउटा सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र एउटै डुङ्गाका यात्री भएकाले अर्थतन्त्र सुधारको लागि सबै पक्ष गम्भीर बन्नु पर्ने बताएका छन् । संङ्घीय मामिला तथा तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार आयोजना गरेको “संङ्घीय संरचनामा लगानी प्रवद्र्धनः सम्भावना, चुनौती र निजी क्षेत्रको अपेक्षा” विषयका कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले नेपालमा लगानीको पर्याप्त सम्भावना भएपनि सोही अनुरुपको समग्र वातावरण नहँुदा राज्यले प्रतिफल पाउन नसकेको बताए । देश विकासका लागि लगानी प्रवद्र्धन आवश्यक रहेको र यसका लागि लागि सबै राजनीतिक दल, प्रशासन संयन्त्र र निजी क्षेत्र उत्तिकै जिम्मेवार हुनु पर्ने उनले धारणा राखे । ‘सरकार, राजनितिक दल, प्रशासन र निजी क्षेत्र हामी एउटै डुङ्गाका यात्री हौं । डुङ्गामा क्षति पुग्दा एउटा पक्ष सुरक्षित र अर्को असुरक्षित भन्ने हुँदैन् । यसकारण देशको अर्थतन्त्र बलियो बनाउन हामी सबै उत्तिकै जिम्मेवार छौं र हुनु पर्दछ,’ उनले भने । २०७२ सालको संविधानले नेपाललाई एकात्मक प्रणालीबाट संघात्मक पद्धतिमा रुपान्तरित गरि शासन संचालनको स्वायत्तता, सहभागिता र जवाफदेहीताको परिकल्पना गरेपनि तीनै तहका सरकारहरु सोही अनुरुप चल्न नसकेको उनको गुनासो छ । अध्यक्ष ढकालले लगानी प्रवद्र्धनका लागि राजनीतिक एवं नीतिगत अस्थिरता, संघीय सरकारका तहहरूवीचको अन्तरसम्बन्ध र समन्वयको अभाव, निजी क्षेत्र प्रोत्साहन गर्ने कार्यक्रमको कमी, विकास आयोजनामा अवरोध मुख्य चुनौती रहेको बताए । लगानी प्रवद्र्धनका लागि प्रशासनिक सरलता र पारदर्शिता र सबै तहबाट लगानीको सुरक्षाको ग्यारेन्टी आवश्यक भएको उनको भनाइ छ । सरकार वा निजी क्षेत्रबाट प्रवद्र्धित पूर्वाधार एवं विकास परियोजना निर्वाध रुपमा संचालन गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । ‘तीनै तहका सरकार राजस्व केन्द्रित हुनु, व्यवसाय दर्ता नवीकरण एवं अन्य सेवा प्रवाह चुस्त नहुनु, औद्योेगिक व्यवसाय ऐनमा एकरुपता नहुने जस्ता समस्याले गर्दा अपेक्षा अनुरुप लगानी र व्यवसाय प्रवद्र्धन हुन सकेको छैन,’ उनले भने, ‘लगानीमैत्री वातावरणका लागि निजी क्षेत्रलाई प्रोत्साहन, लगानी आकर्षित गर्न प्रतिष्पर्धा, व्यवसाय दर्ता नविकरण एवं राजश्व बुझाउन डिजिटल माध्यमको प्रयोग, नागरिक एपमा व्यवसाय सम्बन्धि आइकन थपि सम्पुर्ण सुबिधा दिनुपर्छ ।’ लगानी प्रवद्र्धनका लागि केन्द्रको औद्योगिक व्यवसाय ऐनमा थप सुविधा दिने, घरेलु उद्योगलाई उद्योग वाणिज्य संघहरुसंग समन्वयमा सेवा विस्तार गर्नुपर्ने उनको माग छ ।

युक्रेन पुनर्निर्माणका लागि ५.२४ खर्ब डलर चाहिने, १३ प्रतिशत घर नष्ट

काठमाडौं । चौथो वर्षमा प्रवेश गरेको रुसी आक्रमणबाट भएको क्षति मर्मत गर्न युक्रेनलाई ५ खर्ब डलरभन्दा बढी आवश्यक पर्ने भएको छ । मङ्गलबार प्रकाशित संयुक्त मूल्याङ्कन अनुसार क्षतिग्रस्त युक्रेन पुननिर्माण गर्न ५ खर्बभन्दा बढी रकम आवश्यक पर्ने देखिएको हो । ‘अर्को दशकमा युक्रेनमा पुनर्निर्माण र पुनर्प्राप्तिको कूल लागत ५ खर्ब २४ अर्ब डलर हुनेछ,’ युक्रेन, विश्व बैंक समूह, युरोपेली आयोग र संयुक्त राष्ट्रसङ्घले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो सङ्ख्या सन् २०२४ का लागि युक्रेनको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को लगभग २.८ गुणा हो ।’ सर्वेक्षणले सन् २०२२ फेब्रुअरीमा आक्रमण सुरुवातदेखि सन् २०२४ डिसेम्बरसम्म भएको विनाशलाई समेटेको छ । सर्वेक्षणले देशको १३ प्रतिशत आवास क्षतिग्रस्त वा नष्ट भएको र यसले २५ लाखभन्दा बढी घरपरिवारलाई प्रभावित पारेको देखाएको छ । सर्वेक्षणअनुसार पूर्व, उत्तर र दक्षिणका अग्रपङ्क्ति क्षेत्रहरूमा तीन चौथाई क्षति भएको छ । ‘यो मूल्याङ्कनले रुसले युक्रेनमा पारेको असाधारण क्षतिलाई प्रकाश पार्छ,’ विस्तारका लागि इयु आयुक्त मार्टा कोसलाई उद्धृत गरिएको छ । यसअघि सन् २०२४ को फेब्रुअरीमा गरिएको सर्वेक्षणमा युक्रेनलाई आगामी दशकमा ४ खर्ब ८६ अर्ब डलरको आवश्यकता पर्ने उल्लेख गरिएको थियो । पुनर्प्राप्ति कार्यक्रमले अहिलेसम्म ऊर्जा पूर्वाधार र घरहरू मर्मत गर्नेमा ध्यान केन्द्रित गरेको छ, किनकि रुसले युद्धग्रस्त देशको बिजुली ग्रिडमा आक्रमण जारी राखेको छ र यसले नियमित रूपमा लाखौँ मानिसलाई अस्थायी विद्युत कटौतीमा डुबाउँदै लगेको छ ।

२८ करोड लगानीमा ७९५ सिट क्षमताको सिटी हल सञ्चालनमा, अर्थतन्त्र चलायमान गर्ने दाबी

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ स्थित भवानियापुरमा निर्माण भएको नेपालगञ्ज सिटी हल सञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बाँकेले निर्माण गरेको उक्त सिटी हलको लागत २८ करोड रुपैयाँ बढी रहेको छ । सिटी हलको क्षमता ७९५ सिट रहेको छ । विसं २०७५ मा निर्माण सुरू गरिएको सिटी हल २०८१ साउनमा निर्माण सम्पन्न भएको थियो । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिटी हल शुभाररम्भ गर्दै विकास निर्माणका कारण अर्थतन्त्र चलायमान हुने र आर्थिक गतिविधिलाई बढवा दिने बताए । उप्रधानमन्त्री सिंहले भने, ‘सहरका यस्ता विकासले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ र यसले अर्थतन्त्रमा योगदान गर्छ ।’ उनले विगतका तुलनामा विकासले गति लिएको उल्लेख गर्दै समाजमा केही नभएको भनेर नकारात्म प्रवृत्ति हावी भएको बताए । सिटी हलको व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गरिएको छ । प्रतिनिधिसभाका सदस्य किशोरसिंह राठौरले सहरमा विकासले गति लिँदै जाँदा त्यसबाट स्थानीयले लाभ लिन सक्नेमा जोड दिँदै समाजमा गलत भाष्य निर्माण गरेर केही नभएको प्रचार गरिएको बताए । प्रतिनिधिसभाका सदस्य दीपा शर्माले महानगर बन्नका लागि यस्ता पूर्वाधार सहयोगी हुने विश्वास व्यक्त गरे । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सिटी हललाई शीघ्र सञ्चालनमा ल्याइने जानकारी दिए ।

मगर दिवस मनाउन सार्वजनिक बिदा

काठमाडौं । ४३औँ राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका विभिन्न पालिकाले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते अर्थात् बिहीबार मगर एकता दिवसको अवसर पारेर रामपुर नगरपालिकासहित रम्भा, बगनासकाली, निस्दी, पूर्वखोला र माथागढी गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । सो दिन पालिका मातहतका कार्यालय, शैक्षिक संस्थामा बिदा दिइएको सार्वजनिक सूचनामार्फत जनाइएको छ । मगर समुदायको बसोबास बढी रहेकाले यस क्षेत्रमा विभिन्न सांस्कृतिक कार्यक्रम, संस्कृति संरक्षण गर्न र उल्लासमय रूपमा दिवस मनाउन एक दिन सार्वजनिक बिदा दिइँदै आएको रामपुर नगरप्रमुख रमणबहादुर थापाले बताए । बगनासकाली गाउँपालिकाले स्थानीय बिदाको दिन आदिवासी जनजाति समन्वय समितिको आयोजना तथा नेपाल मगर सङ्घको सहजीकरणमा हुने कार्यक्रममा सहभागी हुन गाउँसभाका सदस्य एवं सम्पूर्ण कर्मचारीलाई चिलाङ्दी खेलमैदानमा उपस्थित हुन अनुरोधसमेत गरेको छ । दिवसका दिन मगर समुदायका व्यक्तिहरू आफ्नो संस्कृति झल्कने पहिरनमा सजिएर झाँकी, ¥यालीसहित कार्यक्रममा सहभागी हुने गर्दछन् । दिवसको अवसर पारेर खानाका परिकार प्रदर्शनी, सालैजो, झ्यारे, मारुनी जस्ता संस्कृति नाच प्रस्तुतिलगायत कार्यक्रम आयोजना गरिने छन् ।

महाशिवरात्रिको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली पशुपतिमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ महाशिवरात्रि पर्व, २०८१ को पूर्वसन्ध्यामा पशुुपतिनाथ मन्दिरको दर्शन र अवलोकन गरेका छन् । उनले मन्दिरमा पूजा र आरती गर्नुका साथै महाशिवरात्रिको तयारी र व्यवस्थापनबारे पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसँग जानकारी लिएका छन् । प्रधानमन्त्री ओलीले पर्वलाई सुरक्षित, अनुशासित, मर्यादित तथा व्यवस्थित बनाइ सहज रूपमा दर्शनको व्यवस्था मिलाउन निर्देशन दिए । उनका साथ संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, मन्त्रालयका सचिव विनोदप्रकाश सिंह, काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलगायत पशुपतिनाथ मन्दिर पुगेका थिए । हिन्दु धर्मावलम्बीका आराध्यदेव भगवान पशुपतिनाथको मन्दिरमा दर्शनका लागि प्रधानमन्त्री उपस्थितिले मन्दिर परिसरमा रहेका भक्तजनले प्रसन्नता व्यक्त गरेका थिए । महाशिवरात्रिको अवसरमा बुधबार पशुपतिमा भव्य मेला तथा पूजाअर्चना हुँदैछ । त्यसका लागि सम्पूर्ण तयारी पूरा भइसकेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना जारी गरी यही फागुन १२ गतेदेखि १५ गतेसम्म पशुुपतिनाथ मन्दिरको चार किल्लाभित्र मासुु, मदिरा तथा नसालुपदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न निषेध गरेको छ ।

मौद्रिक नीतिको समीक्षामार्फत् नीतिगत र बैंकदर यथावत्, राष्ट्र बैंकले भन्यो- लचिलो नीति अघि सार्यौं

  काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई यथावत राखेको छ । चालुआर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले बैंकदरलाई यथावत राखेको जानकारी दिएको हो । ‘मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई ५.० प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाको रुपमा रहेको निक्षेप संकलन दरलाई ३.० प्रतिशत र ब्याजदर करिडोर अन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई ६.५ प्रतिशतमा यथावत राखिएको छ,’ समीक्षामा भनिएको छ । यस्तै, राष्ट्र बैंकले अनिवार्य नगद मौज्दात र वैधानिक तरलता अनुपातलाई पनि यथावत राखिएको छ । राष्ट्र बैंकले मूल्य वृद्धिको पछिल्लो प्रवृत्तिले नीतिगत दर बढाउनु पर्ने आवश्यकता औंल्याएको भएतापनि आर्थिक क्रियाकलाप विस्तारलाई समेत उच्च प्राथमिकतामा राख्नु पर्ने भएका कारण आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति जारी गर्दा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई यथावत राखिएको बताएको छ ।