काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१४ स्थित भवानियापुरमा निर्माण भएको नेपालगञ्ज सिटी हल सञ्चालनमा आएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना बाँकेले निर्माण गरेको उक्त सिटी हलको लागत २८ करोड रुपैयाँ बढी रहेको छ ।
सिटी हलको क्षमता ७९५ सिट रहेको छ । विसं २०७५ मा निर्माण सुरू गरिएको सिटी हल २०८१ साउनमा निर्माण सम्पन्न भएको थियो । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सिटी हल शुभाररम्भ गर्दै विकास निर्माणका कारण अर्थतन्त्र चलायमान हुने र आर्थिक गतिविधिलाई बढवा दिने बताए ।
उप्रधानमन्त्री सिंहले भने, ‘सहरका यस्ता विकासले अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्छ र यसले अर्थतन्त्रमा योगदान गर्छ ।’
उनले विगतका तुलनामा विकासले गति लिएको उल्लेख गर्दै समाजमा केही नभएको भनेर नकारात्म प्रवृत्ति हावी भएको बताए । सिटी हलको व्यवस्थापन नेपालगञ्ज उपमहानगरपालिकका प्रमुख प्रशान्त विष्टलाई हस्तान्तरण गरिएको छ ।
प्रतिनिधिसभाका सदस्य किशोरसिंह राठौरले सहरमा विकासले गति लिँदै जाँदा त्यसबाट स्थानीयले लाभ लिन सक्नेमा जोड दिँदै समाजमा गलत भाष्य निर्माण गरेर केही नभएको प्रचार गरिएको बताए ।
प्रतिनिधिसभाका सदस्य दीपा शर्माले महानगर बन्नका लागि यस्ता पूर्वाधार सहयोगी हुने विश्वास व्यक्त गरे । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सिटी हललाई शीघ्र सञ्चालनमा ल्याइने जानकारी दिए ।