एलआईसी नेपालको कटअफ मूल्य १ हजार २२ रुपैयाँ, फागुन १९ गतेदेखि रकम फिर्ता गर्दै
काठमाडौं । लिलाममा बिक्री गरिएको लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपाल (एलआईसी)को कटअफ मूल्य प्रतिकित्ता १ हजार २२ रुपैयाँ निर्धारण भएको छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गका अनुसार कम्पनीको सेयरको कटअफ मूल्य १ हजार २२ रुपैयाँ कायम भएको हो । कम्पनीले गत मंसिर १२ गतेदेखि पुस २ गतेसम्म चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशत अर्थात् २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको थियो । उक्त अवधिमा बिक्री नभएको ४ लाख ९२ हजार कित्ता सेयर गत माघ २१ गतेदेखि फागुन ५ गतेसम्म बिक्री खुला गरेको हो । गोप्य शिलबन्दीपत्रद्वारा खरिद गर्न आएका बोलपत्रलाई फागुन १२ गते खोलि फागुन १५ गते बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कटअफ प्राइस १ हजार २२ रुपैयाँ निर्धारण भएसँगै अब सो वा सोभन्दा बढी मूल्यमा कबोल गर्ने सबै आवेदकहरूले माग बमोजिमको सेयर पाएका छन् । बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी फागनु १९ गतेदेखि गरिने कम्पनीले जनाएको छ । साथै आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा एसबिआई मर्चेन्ट बैंकिङ्गमा सम्पर्क गर्न कम्पनीले सूचीत गराएको छ । कम्पनीले बिक्री गरेको उक्त सेयरमध्ये एनआरएन इन्फ्राइट्रक्चर एण्ड डेभलपमेण्टले ४ लाख ७५ हजार ७ सय कित्ता सेयर खरिद गरेको हो ।
कुमारी सहकारी: १.१३ अर्ब बिगो दाबीसहित २५ जनाविरूद्ध मुद्दा दर्ता, आइतबारदेखि थुनछेक बहस
काठमाडौं । म्याग्दी बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध १ अर्ब १३ करोड रुपैयाँ बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि उनिहरूविरूद्ध बिहीबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले माग दाबीसहितको अभियोगपत्र दर्ता गरेको हो । सङ्गठित रूपमा सहकारीमा निक्षेप रहेको सेयर तथा बचत रकम, संस्थाको सम्पत्ति र बाह्य ऋणवापतको रकम, नेपाल सरकारको राजस्वसमेत हानिनोक्सानी पुर्याइ सहकारी ऐन, २०७४ को नियमावली २०७५ र संस्थाको विनियमविपरीत गरेका उनीलाई सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण ऐन २०६४ बमोजिम थप अनुसन्धान र कारबाही गर्न पनि माग गरिएको छ । जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराम पौडेलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम दर्ता भएको अभियोगपत्रका विषयमा आगामी आइतबारदेखि थुनछेक बहस सुरू हुने जानकारी दिए । ‘समय अभावका कारण प्राप्त भएको अभियोगपत्र दर्तामात्र भएको छ । आइतबारदेखि थुनछेक बहस सुरू हुन्छ,’ उनले भने । सहकारीका वर्तमान र पूर्व सञ्चालक समितिका पदाधीकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यलाई विपक्षी बनाइएको छ । २०८१ माघ २० गते पक्राउ परेका ५ र फागुन ७ गते पक्राउ परेका एक जना प्रहरीको हिरासतमा र १९ जना फरार छन् । अनुसन्धान प्रभावित हुने भन्दै प्रहरी, वकिल कार्यालय र अदालतले पक्राउ नपरेका आरोपितको नाम सार्वजनिक गरेका छैनन् । बेनी नगरपालिका-१ का ३६ वर्षीय थापा कुमारी सहकारीका पूर्वसचिव, उपाध्यक्ष र ऋण समितिको पदाधीकारी हुन् । विसं २०७९ को स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) बाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित थापा उक्त पार्टीको पूर्व जिल्ला उपसचिवको जिम्मेवारीमा थिए । थापाले सहकारीको १७ करोड ५८ लाख ६३ हजार ४२६ रुपैयाँ हिनामिना गरेको अनुसन्धानबाट पुष्टि भएको छ । उक्त सहकारीका पूर्वप्रबन्धक जलजला गाउँपालिका-३ पर्वत बेनीका ५३ वर्षीय रूद्र गुरूङले १३ करोड ५९ लाख ४८ हजार ६०९ रुपैयाँ अपचलन गरेका अनुसन्धानबाट खुलेको छ । अनुसन्धान प्रतिवेदनअनुसार सहकारीका सचिव, पूर्वसहसचिव र लेखा समिति सदस्य बेनी नगरपालिका-१ की ४९ वर्षीय देवीकुमारी थापाले ३ करोड ७१ लाख ४ हजार ६३१ रुपैयाँ र पूर्वअध्यक्ष रघुगङ्गा गाउँपालिका-५ का ६७ वर्षीय मनप्रसाद थकालीले ५ करोड ८२ लाख ६६ हजार रुपैयाँ हिनामिना गरेका छन् । पूर्वकोषाध्यक्ष, पूर्वअध्यक्ष, पूर्व ऋण समिति सदस्य अन्नपूर्ण गाउँपालिका-७ का ६६ वर्षीय थमबहादुर गर्बुजाविरूद्ध ४ करोड ५५ लाख ९४ हजार २२७ रुपैयाँ र लेखासमितिका पूर्वसदस्य बेनी नगरपालिका-४ का ३७ वर्षीय लोकबहादुर पुन (लोकेश)ले २ करोड १० लाख ४६ हजार ४४ रुपैयाँ हिनामिना गरेका छन् । फरार रहेकाहरूले पनि कम्तीमा ५२ लाख ९३ हजार रुपैयाँदेखि ७ करोड ४४ लाख रुपैयाँ दुरूपयोग गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रहरीले सहकारी रजिष्ट्रारको कार्यालयले गरेको छानबिन प्रतिवेदन, पक्राउ परेकाहरूसँग सोधपुछ, कागजात तथा प्रमाणको अध्ययन र पीडित बचतकर्ताको उजुरीका आधारमा अनुसन्धान गरेको हो । सञ्चालक समिति, ऋण उपसमिति र लेखा सुपरीवेक्षक समितिमा दबाब दिई समितिका पदाधिकारीलाई बाध्यात्मक स्थिति सृजना गरी संस्थालाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखी सम्पूर्ण सिष्टमको तालाचाबी आफूहरूले नै लिई गलत लेखापरीक्षण गराई झुठा प्रतिवेदन सार्वजनिक गर्ने, अनधिकृत रूपमा कारोबार सञ्चालन गर्ने, सहकारीको रकम अपचलन गरी आफ्नो नाममा निजी सम्पत्ति खरिद बिक्री गरी गैरकानुनी लाभ लिएको अनुसन्धानबाट खुलेको छ । सहकारी ठगी गरेको रकमले निजी सम्पत्ति खरिद गरी एकीकृत गर्ने, निजी कम्पनीमा रकम निकासा गराउने, सहकारीको रकमलाई गैरकानुनी रूपमा ढुकुटीका कारोबारमा प्रयोग गर्ने, प्रचलित कानुनबमोजिम सहकारी ऐन तथा कर्जा प्रक्रियाको मापदण्ड नै पूरा नगरी सहकारीको पुँजी कोषको १० प्रतिशतभन्दा अधिक मात्रामा कर्जा प्रवाह गर्ने, कर्जा प्रवाह गर्दाका बखतमा पर्याप्त मात्रामा कर्जा विष्लेषण तथा सुरक्षण नलिई कर्जा प्रवाह गराउने, पेश्कीका नाममा रकम हिनामिना मिलान गर्ने, ऋण देखाई रकम हिनामिना गराउने, चार हजारभन्दा बढी सदस्यको कारोबार गराई सीमित व्यक्तिलाई सेयर सदस्य प्रदान गरी सहकारीको रकमबाट लाभ लिन जीवन बिमा गराई सहकारीको रकम हिनामिना गर्ने, आफूहरूले लिएको ऋणको दायित्व भुक्तान नगरी आम्दानी हिनामिना गराउने, ब्याज छुट खर्च लेखी रकम हिनामिना गर्ने, सहकारी ऐन, कानुनविपरीत कर्जाभन्दा बढी बचतमा ब्याजदर कायम गराई रकम हिनामिना गर्नेजस्ता कार्य गरेको आरोप अभियोगपत्रमा उल्लेख छ ।
आज ग्याल्पो ल्होसार विविध कार्यक्रम गरी मनाइँदै, १२ वर्गमा विभाजन
काठमाडौं । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाउनुभयो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उनले जानकारी दिए । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।
काठमाडौंका यी स्थानमा काटिदैछ आज बिजुली
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको लाजिम्पाट फिडरमा पर्ने लाजिम्पाट, पानीपोखरी र बालुवाटार क्षेत्रमा बिजुली काटिने छ । आज बिहान १० देखि दिउँसो १५ बजेसम्म लाइन काटिने सूचनामा उल्लेख छ । सो स्थानमा भूमिगत प्रसारण लाइनको केवल परीक्षण एवं चार्ज गर्ने प्रयोजनका लागि लाइन काटिन लागेको प्राधिकरणले जनाएको छ । तोकिएको कार्य समयअगावै पूरा भएमा निर्धारित अवधिअगावै बिजुली प्रवाह हुने उल्लेख गर्दै प्राधिकरणले ग्राहकमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेको छ ।
सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा चट्याङसहित वर्षा हुने, यस्तो छ २४ घण्टाको मौसम
काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । कर्णालीका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । यसैगरी, आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ । आगामी २४ घण्टामा कर्णाली साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने जनाउँदै ती सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
६.१ म्याग्निच्युडको भूकम्प, स्थिति सामान्य
काठमाडौं । सिन्धुपाल्चोक भूकम्पको केन्द्रबिन्दु रहेको भोटेकोशी गाउँपालिकाको स्थिति सामान्य रहेको पाइएको छ । ‘भूकम्पको केन्द्रबिन्दुर रहेको उक्त पालिकामा धक्का ठूलो महसुस भएपनि क्षति भने नभएको जनाएको छ । सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो । खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको हो । राजधानी काठमाडौं र आसपासका स्थानमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का पूर्वी नेपालका केही जिल्लामा समेत महसुस गरिएको छ । भूकम्पका कारण रातको समयमा निद्रामा रहेका मानिससमेत खुला स्थानमा निस्केका थिए ।
अमेरिका पठाइ दिन्छु भन्दै डेढ करोड रूपैयाँ ठगेपछि…
काठमाडौं । पछिल्लो समय सुविधा सम्पन्न देशमा पठाइदिन्छु भनेर ठूलो परिमाणमा पैसा ठग्नेहरु बढेका छन् । अमेरिका, क्यानडा, अष्ट्रेलिया लगायत देशमा सहज रुपमा पठाइदिन्छु भन्दै सर्वसाधारणबाट पैसा उठाउने र पछि सम्पर्कविहीन हुने गिरोहहरु बढेका छन् । यस्तै, एउटा घटना बाहिरिएको छ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू हुँदै अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार यस्ता तीन जनालाई प्रहरीले पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेहरूमा रूकुम पश्चिम मुसिकोट नगरपालिका-१ घर भई ललितपुर महालक्ष्मी नगरपालिका-४ बस्ने २४ वर्षीय मनिषराज खड्का, रूकुम पश्चिम मुसिकोट नगरपालिका-२ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय मधु कुमार खड्का र ३४ वर्षीय बिरेन्द्र खड्का रहेका छन् । उनीहरूले अमेरिका पठाइदिछु भन्दै २ जना पीडितहरूबाट १ करोड ४४ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले मनिषराजलाई काठमाडौं महानगरपालिका-९ बाट तथा मधु कुमार र बिरेन्द्रलाई काठमाडौं टोखा नगरपालिका-८ बाट पक्राउ गरेको जानकारी दिएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
अर्थमन्त्रीले श्रीकृष्णलाई दिए बजेट लेखनको जिम्मा, विश्वासिला पात्र ‘कोर टिम’मा
काठमाडौं । अर्थमन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि समिति गठन गरेको छ । समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल रहेका छन् भने सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल रहेका छन् । बजेट लेखन समितिको बजेटको सिद्धान्त तथा प्राथमिकता निर्धारण, मन्त्रालयगत आयोजनाहरु कार्यक्रमहरुको प्राथमिकीकरण गर्न सहजीकरण, बजेट वक्तव्यको मस्यौदा तयार गर्नुका साथै नीति तथा कार्यक्रममा सुझाव पेस गर्ने कार्य जिम्मेवारी रहेको संयोजक नेपालले जानकारी दिए । यसैबीच अर्थ मन्त्रालयले राष्ट्रिय योजनाबाट स्रोत समितिको निर्णय बमोजिम प्राप्त भएको बजेटको सीमाभित्र रहेर चालु, पूँजीगत, वित्तीय व्यवस्था तथा अन्तर सरकारी वित्त हस्तान्तरणको मन्त्रालयगत सीमा तथा प्रदेश र स्थानीय तहका लागि वित्तीय हस्तान्तरणको सीमा उपलब्ध गराएको छ । आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐनमा फागुन १५ गते सम्ममा आगामी आर्थिक वर्षको बजेटको सीमा तथा बजेट तर्जुमा सम्बन्धी मार्ग दर्शन पठाउने व्यवस्था छ । त्यसैगरी अर्थ मन्त्रालयले समानीकरण अनुदानको सीमा राष्ट्रिय प्राकृतिक तथा वित्त आयोगलाई उपलब्ध गराएको छ । समपुरक र विशेष अनुदानको सीमा राष्ट्रिय योजना आयोग र सशर्त अनुदानको सीमा सम्बन्धित विषयगत मन्त्रालयहरुलाई उपलब्ध गराएको छ । राष्ट्रिय गौरवका आयोजनाहरु र मुख्य मुख्य आयोजनाहरुका लागि बजेट एयरमार्क गरी पठाइएको छ । बजेट मार्ग दर्शनमा बजेटको सीमाभित्र रही गुणस्तरीय आयोजना तथा क्रियाकलापमा बजेट प्रस्ताव गर्न, नयाँ आयोजना प्रस्ताव गर्दा चालु आयोजनाहरुलाई प्राथमिकीकरण गर्ने तयारी पूरा भएका एवं लगानी ढाँचा सुनिश्चित भएका आयोजनामात्र प्रस्ताव गर्ने लगायतका विषय समावेश छन् । त्यसैगरी आयोजनाहरु दोहोरो नपर्ने गरी आयोजना बैंकमा समावेश भएका प्रस्ताव मात्र समावेश गर्न पनि अनुरोध गरिएको छ । अर्थमन्त्री पौडेलले आफू निकट र आफ्नो दल निकट कर्मचारीलाई बजेट लेखन समितिमा राखेका छन् । उसो त उनले बजेट लेखनका लागि यसअघि नै अर्थ सचिवदेखि सहसचिव र उपसचिव पनि फेरबदल गरेका थिए । बजेटका नीति तथा कार्यक्रमहरु विगतका वर्षहरुको जस्तो नचुहियोस् भन्ने उद्देश्यले उनले आफू निकटका कर्मचारीलाई जिम्मेवारी दिएको बुझिएको छ । सम्बन्धित सामग्री : बजेट निर्माणका लागि ‘टिम म्यानेज’मा अर्थमन्त्री : मन मिल्ने इन, नमिल्ने आउट