अस्ट्रेलियाबाट पूर्व बैंकरको चिठ्ठी
नेपालमा कार्यरत सम्पूर्ण बैंकर्स मित्रहरू नमस्कार, म पूर्व बैंकर, सपनाको उडान भर्दै हाल अस्ट्रेलियामा बस्दैछु । अष्ट्रेलियाको बीएमसीटीमा काम गर्दैछु । तपाईं यो बीएमसीटी भनेको कुनै ठूलो कम्पनी सोच्दै हुनुहुन्छ होल, मल्टिकम्प्लेक्स ठान्नु भयो होला । हो, त्यस्तै त्यस्तै हो । तर, खास बीएमसीटीको अर्थ पछि भन्नेछु । आदरणीय नेपालमा कार्यरत बैंकर साथीहरु । म अर्थात कुनैदिन तपाईं जस्तै चिटिक्क परेको, टाई, कालो कोट, टिलिक्क परेको जुत्ता लगाएर अफिसको एसीभित्र बसेर काम गर्ने एक बैंकर र हाल पूर्व बैंकर । मान्छे प्रगतिवादी हुन्छ । आज जुन ठाउँमा हामी छौं भोलि योभन्दा एक पाइँला अगाडि आफूलाई देख्न खाज्छौं र यो स्वाभाभिक पनि हो । म नेपालकै एक प्रतिष्ठित वाणिज्य बैंकमा काम गरिरहँदा र त्यसमा पनि कर्जा शाखा र त्यस भित्र पनि खास गरेर मैले शैक्षिक कर्जा शाखा हेर्ने भएकोले मेरो विभागमा कर्जाको लागि अस्ट्रेलिया, क्यानडा र यूके जानका लागि विद्यार्थीको भीड हुनु स्वाभाविक थियो । मलाई थाहा थियो, नेपालको बैंकिङ क्षेत्र दिनहुँ टफ (गाह्रो) हुँदै थियो । दिनहुँ टार्गेट (व्यवसायको लक्ष्य)को सकस, बिदाको दिन पनि काम गर्नुपर्ने बाध्यता, कोरोनापछि खर्च कटौतीको बाहनामा बैंकरको सुविधा कटौती, पातलिँदै गएको बोनस, कर्जा असुलीमा समस्या, दुर्गा प्रसाई जस्ता अराजक ऋणिले कालोमोसो दल्ने खतरा र मर्जरको नाममा पद घट्ने डर । यी सबै कारणले अस्ट्रेलिया जान पाए हुन्थ्यो भन्ने लहड मेरो मनमा चलिरह्यो । अष्ट्रेलियामा गएपछि जीवनशैली धेरै राम्राे हुन्छ, उन्नत हुन्छ, सुविधायुक्त र दुःख मुक्त नै हुन्छ भन्ने विद्यार्थीको कुराले ममा पनि विदेसिने मोह जाग्यो । र, डिपेण्डेड भिसामा कागजी विवाह गरेर बैंकको नोकरी राजीनामा दिँदै म पनि हानिएँ सपनाको देश, सपनाको सहर अस्ट्रेलिया । घरमा बिहान ८ बजेसम्म सुतिरहने म । घरमा कुचोसम्म पनि नलगाएको म । जुठो गिलास र कचौरा पनि नमाझेको म । खानाको नाममा चियासम्म पकाउन नजान्ने म । अस्ट्रेलिया पुगेपछि कामको खोजीमा निक्कै महिना भौतारिरहेँ । कागजी विवाह भएकोले उसले (केटी) कलेजमा पढ्नुपर्ने र बदलामा उसको पढाइको सम्पूर्ण खर्च मैले व्यहोर्नु पर्ने सर्त थियो । त्यही कारणले ममा पैसा जसरी पनि कमाउनु पर्ने बाध्यता थियो । तर, नेपालमा भनिएजस्ताे अस्ट्रेलियामा जागिर सजिलै पाइने वा रुखमा पैसा फल्छ भनेजस्तो सजिलो नहुँदो रहेछ । अस्ट्रेलिया दुःखको देश रहेछ । दुःखीहरुको सहर रहेछ । हाल म बीएमसीटीको काम गर्दै सोच्दैछु । नेपालकै जागिर ठिक थियो । जागिर छोडेर नआएकै भए ठिक थियो । महिनैपिच्छे ५०/६० हजार रुपैयाँ तलब आइरहन्थ्यो । सस्तो ब्याजमा कर्मचारीलाई ‘होमलोन’ पाइरहेकै थियो क्यारे ! थोरै भएपनि बोनस आएकै थियो । सधैं नेपालको बैकिङ क्षेत्र अहिलेजस्तो नरहला नि ! अवस्था राम्रो भएपछि बोनस पनि मोटाउँदै जाने थियो होला । क्षणिक टारगेटको सकसले रन्थनिएर, बिदाको दिन पनि काम गनुपर्यो भनेर रिसको झोकमा राजीनामा दिए । अहिले धिक्कार छु म आफैलाई । खाइपाइ आएको त्यस्तो राम्रो एसीमा बसेर काम गर्ने नेपालको बैंकको जागिर छोडेर अष्ट्रेलिया आएँ । अहिले कसैले अस्टेलियामा के काम गर्छौ ? भनेर सोधे भने भन्न पनि लाज लाग्छ । तर, यहाँ काम गरिरहेको छु बीएमसीटीको । अर्थात् भाडा मस्काउने, चम्काउने र टल्काउने ।
आजको मौसम: सुदूरपश्चिममा हल्का वर्षा, कर्णाली र लुम्बिनीमा आंशिक बदली
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
मेलम्चीको पाइप फुटेपछि थापाथलीमा बाढी, सडक अवरुद्ध
काठमाडौं । काठमाडौंको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । उनले भने, ‘पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन कारण पत्ता लगाई पाइप मर्मतपश्चात पानी वितरण कार्य सुरु गरिने छ ।’ थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ । यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा सो क्षेत्र जलमग्न थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए । काठमाडौंको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेका विषयमा छानबिन गरिने भएको छ । थापाथलीमा के कारणले आज पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाउन छानबिन गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक पौडेलले बताए । ‘पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन कारण पत्ता लगाउन छानबिन गर्छौँ, छानबिनपश्चात पाइप मर्मत गरी पानी वितरण गरिने छ,’ उनले भने । बिहानै पाइप फुट्दा उक्त क्षेत्रमा बाढी आएर जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको थियो । थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ । यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए ।
आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पियोर इनर्जीको आईपीओ बिक्री खुला
काठमाडौं । पियोर इनर्जीले आज फागुन २० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ६० हजार कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यस्तै, कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगार रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतममा १६ हजार कित्ता र वैदेशिक रोजारीमा रहेका नेपालीले अधिकतम ७ हजार २ सय कित्ता सेयरका आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा चैत ५ गतेभित्र आवेदन दिनु पर्नेछ । तर, आयोजना प्रभावित क्षेत्रलाई छुट्याएको सेयरमा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, नबिल बैंक र लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगञ्ज र वि पि चोक शाखा र कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
४८.५ मेगावाटको माथिल्लो राहुघाट जलविद्युत अन्तिम चरणमा, जुलाईभित्र विद्युत् उत्पादन गर्ने
काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो । सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए । ‘हालसम्म सिभिलतर्फ ९५ प्रतिशत , हाइड्रोमेकानिकल ८० प्रतिशत र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ । विद्युत गृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ,’ उनले भने । तुदीँ पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युत गृहभित्र टवाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको बताए । रघुगङ्गा-७ चिमखोलामा बाँध र रघुगङ्गा-४ दग्नामको फेदीमा विद्युत गृह रहेको यस आयोजनाको सुरुङ ४ हजार ९ सय मिटर लामो छ । ‘आउटलेटबाट विद्युत गृहसम्म ६८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब १ सय मिटर मात्र बाँकी छ । विद्युत गृहबाट उत्पादन भएको विद्युत्लाई प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ,’ उनले भने । तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए । उनका अनुसार रघुगङ्गा-८ को बन्दीमा बाँध, रघुगङ्गा-७ को चिमखोलामा विद्युत गृह र ५ हजार ३२८ मिटर लामो सुरुङको सबै काम सकिएको छ । मङ्गले राहुघाटको विद्युत गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्नेगरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ । दुई वटै आयोजनाको अनुमानित लागत १३ अर्ब रुपैयाँ रहेको तुदीँ पावरका इन्जिनियर भट्टराईले उल्लेख गरे । अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म २ सय केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् । राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।
कर्जा नोक्सानी १ प्रतिशत, जलविद्युत्, केबलकार, सिमेन्ट, होटल र निर्माणलाई राहत
काठमाडौं । व्यावसायिक रूपमा गरिने फलफूलखेतीका लागि प्रदान गरिने कर्जामा अबदेखि १ प्रतिशत मात्रै ‘साधारण कर्जा नोक्सानी’ को प्रबन्ध गरिएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वत्तीय संस्थाका लागि वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनअनुसार रेशम, जुट कपासलगायत कृषिखेती र व्यावसायिक रुपमा गरिने आँप, सुन्तला, जुनार, मौसम, किबी, ड्र्यागन फ्रुट, कागती, लिची, एभोकाडो जस्ता फलफूलखेतीका लागि लिइने कर्जामा उक्त प्रबन्ध गरिएको हो । त्यस्तो कर्जाको ग्रेस अवधि ४ रहेको अवस्थामा पहिलो वर्ष ०.२५ प्रतिशत, दोस्रो वर्ष ०.५० प्रतिशत र तेस्रो वर्ष ०.७५ प्रतिशत र चौथो वर्ष १ प्रतिशत मात्रै साधारण कर्जा नोक्सानी व्यवस्था कायम गर्न सकिने निर्देशनमा उल्लेख छ । एक वर्षभन्दा बढी ग्रेस अवधि भएका ऊर्जालगायत पूर्वाधार निर्माणसँग सम्बन्धित परियोजनामा प्रवाहित भएको असल कर्जाको ग्रेस अवधिसम्म प्रत्येक वर्ष समानुतपातिक रुपमा कर्जा नोक्सानीको व्यवस्था गरी अन्तिम वर्ष १ प्रतिशत मात्रै सामान्य कर्जा नोक्सानीको प्रबन्ध गरिएको छ । यसअघि त्यस्तो कर्जाको व्यवस्था १.१० प्रतिशत थियो । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह भएका परियोजनाको उत्पादन क्षमता विस्तार हुने सुनिश्चित भएकालाई पनि १ प्रतिशत मात्रै कर्जा नोक्सानीको व्यवस्था गरिएको छ । राष्ट्रिय प्राथमिकतामा रहेका जलविद्युत्, केबलकार, सिमेन्ट, तारे होटल वा अन्य पूर्वाधार निर्माणसम्बन्धी परियोजनाको पुनःतालिका वा पुनःसंरचना गरेको अवस्थामा १ प्रतिशतमात्रै कर्जा नोक्सानीको व्यवस्था गर्न सकिने एकीकृत निर्देशनमा उल्लेख छ । सवारीसाधनको हकमा ऋण मूल्यको अनुपात ६० प्रतिशत मात्र कायम गर्नुपर्नेछ । त्यसमा सबै प्रयोजनका विद्युतीय सवारीसाधन र निजी प्रयोजनका व्यक्तिगत अन्य सवारीसाधन रहनेछ । यसअघि इजाजत प्राप्त संस्थाले व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सो सवारीसाधनको मूल्यको अधिकतम ५० प्रतिशत र व्यक्तिगत विद्युतीय सवारीसाधनको हकमा ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्दै आएका थिए ।
सुर्खेत-जुम्ला विमानस्थल विस्तार गर्न ११ अर्ब लाग्ने, माथिल्लो कर्णाली उड्ने जहाज देखिन छाडे
काठमाडौं । कर्णाली र लुम्बिनी प्रदेशका तीन विमानस्थल विस्तार गर्न स्रोत सुनिश्चितताको माग गरिएको छ । कर्णाली प्रदेशस्थित सुर्खेत र जुम्ला विमानस्थल तथा लुम्बिनी प्रदेशको दाङ टरिगाउँ विमानस्थल विस्तारका लागि स्रोत सुनिश्चितताको माग गरिएको हो । सङ्घीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यी तीन विमानस्थल विस्तारका लागि थप बजेट व्यवस्थापन गर्न अर्थ मन्त्रालयसँग प्रस्ताव गरेको छ । मन्त्रालयका शाखा अधिृकत प्रकाश पोखरेलका अनुसार विमानस्थल विस्तारका लागि अर्थ मन्त्रालयलाई स्रोत सुनिश्चितता गरिदिन अनुरोधसहित प्रस्ताव गरिएको छ । तीनवटै विमानस्थल विस्तारका क्रममा आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस भएबमोजिम फागुन १५ गते बसेको मन्त्रिस्तरीय बैठकले स्रोत सुनिश्चितता गर्ने निर्णय गरेको छ । सोहीअनुसार दाङ टरिगाउँ विमानस्थल जग्गा अधिग्रहणका लागि रु पाँच अर्ब लागत अनुमान गरिएकामा १ करोड रुपैयाँ विनियोजन र ९९ करोड रुपैयाँ स्रोत सुनिश्चितताको माग गरिएको छ । साथै सुर्खेत विमानस्थल जग्गा अधिग्रहणका लागि १० अर्ब रुपैयाँ लागत अनुमान गरिएकामा १० करोड रुपैयाँ विनियोजन र ४ अर्ब ९० करोड रुपैयाँ स्रोत सुनिश्चितताका लागि माग गरिएको मन्त्रालयका शाखा अधिृकत पोखरेलले जानकारी दिए । उनका अनुसार जुम्ला विमानस्थलको जग्गा अधिग्रहण गर्न १ अर्ब रुपैयाँ लागत अनुमान गरिएकामा १० करोड रुपैयाँ रकम विनियोजन र ४० करोड रुपैयाँ स्रोत सुनिश्चितताका लागि माग गरिएको छ । विसं २०७५ मा कर्णालीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले आफ्नै हवाई सेवा सञ्चालन गर्ने महत्वाकाङ्क्षी योजना अगाडि सारिएको थियो । प्रदेश सरकारले ‘कर्णाली एयरलाइन्स’का नामबाट आन्तरिक तथा अन्तरप्रदेश उडानका लागि हवाई सेवा सुरु गर्न ल्याइएको योजना अहिले अन्योय बनेको छ । शाहीका पालामा प्रदेश सरकारले सुर्खेतमा अन्तरराष्ट्रियस्तरको विमानस्थल र मुगुमा ‘हाई अल्टिच्युट’ विमानस्थल निर्माणको घोषणा गरेको थियो । चिनियाँ कम्पनी नर्थवेष्टले दुईवटै विमानस्थलको निःशुल्क विस्तृत सम्भाव्यता अध्ययन गरेर प्रदेश सरकारलाई प्रतिवेदन बुझाएको थियो । अहिले सुर्खेत-काठमाडौं, काठमाडौं-सुर्खेत दैनिक चार वटा उडानमात्र हुने गरेका छन् । माथिल्लो कर्णाली उड्ने जहाज देखिन छाडेका छन् । विसं २०७७ मा हालको विमानस्थललाई विस्तार गरी १ हजार ५ सय मिटरको धावनमार्ग विस्तार गरी रात्रिकालीन उडान भर्ने उद्देश्यका साथ सुर्खेत विमानस्थल विस्तारको योजना अगाडि बढाइएको थियो । तत्कालीन मुख्यमन्त्री शाहीको अध्यक्षतामा विसं २०७७ मङ्सिर अन्तिम साता बसेको बैठकले ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने निर्णय गरेको थियो । सो विमानस्थल विस्तार र स्तरोन्नतिका लागि झण्डै रु दुई अर्ब बराबर खर्च लाग्ने भन्दै पहिलो चरणमा प्रदेश सरकारले ५० करोड रुपैयाँ र केन्द्र सरकारले ५१ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए । विस्तारका लागि सङ्घीय र प्रदेश सरकारबीच १५ असोज २०७७ सालमा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । विमानस्थल विस्तारको काम अघि नबढेपछि केन्द्र र प्रदेश सरकारले छुट्याएको १ अर्ब १ करोड रुपैयाँ फ्रिज भएको थियो । आर्थिक वर्ष २०७८/७९ मा पनि १ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भए पनि काम हुन सकेन । विमानस्थलको धावनमार्ग विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिकाका-१०, ११, र १२ नं वडाका करिब ९२३ घरधुरी र विद्यालय पनि प्रभावित हुने भएपछि स्थानीयहरू सङ्घर्ष समिति गठन गरेर विरोधमा उत्रिएपछि काम रोकिएको थियो । सदरमुकाम खलङ्गा बजारमा रहेको जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन नागरिक उड्डयन प्राधिकरणले १८३.८० रोपनी जग्गा अधिग्रहण गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणअन्तर्गत जुम्ला नागरिक उड्डयन कार्यालयले जग्गा अधिग्रहणका लागि थप प्रक्रिया सुरु गरिएको जनाएको छ । जुम्ला विमानस्थल हाल ६७० मिटर लम्बाइ, २० मिटर चौडाइ छ । उड्डयन प्राधिकरणले विमानस्थल विस्तारका लागि बजेट विनियोजन भइसकेकाले आवश्यक समन्वय गर्न जिल्लास्थित उड्डयन कार्यालयलाई निर्देशन दिएको छ । उक्त बजेटबाट धावनमार्ग विस्तार, जहाज पार्किङ गर्ने ठाउँ (अप्रोन) निर्माण, अप्रोनदेखि जहाजसम्म जाने बाटोलगायत संरचना निर्माण हुनेछन् ।
७ करोडमा गल्धाफाँट र कठैडाँडा जोड्ने पुल बन्ने, दुई वर्षभित्र सम्पन्न गर्ने
काठमाडौं । पाल्पा जिल्लाको निस्दी गाउँपालिका-५ स्थित निस्दी खोलामा पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ । गल्धाफाँट र कठैडाँडा जोड्ने गरी निस्दी खोलामा निर्माण हुने पुलको सोमबार शिलान्यास गरिएको हो । दुई स्पानसहितको ५३ मिटर लम्बाइ र १० मिटर चौडाइ रहेको पुल निर्माण हुने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव भीमार्जुन पाण्डेले जानकारी दिए । उनका अनुसार आरसिसी, टि-गर्डर मोटरेबल पुल ओपन फाउन्डेशन मोडलमा निर्माण हुनेछ । सडक पूर्वाधार विकास कार्यालय पाल्पाले ७ करोड १० लाख १९ हजार ६३३ रुपैयाँ लागत अनुमानसहित ठेक्का आह्वान गरेको थियो । शुभलक्ष्मी-शुक्रकमली-हेभन जेभी कञ्चनपुरले भ्याटसहित ५ करोड ९८ लाख ६३ हजार ९३३ रुपैयाँ लागतमा दुई वर्षभित्र सम्पन्न गर्नेगरी गत कात्तिक ४ गते ठेक्का सम्झौता गरी निर्माण थालनी गरेको जनाएको छ । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले पुल शिलान्यास गर्दै समयमा निर्माण सम्पन्न गर्न मन्त्रालयले रकमको अभाव हुन नदिने बताए । यस पुलले गाउँका स्थानीयको जीवनस्तर उकास्न सघाउ पुग्ने उनको भनाइ छ । प्रतिनिधिसभाका सांसद नारायणप्रसाद आचार्य, लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारु, लुम्बिनी प्रदेश अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति राजुप्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टङ्कनाथ खनाल, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुलगायतले निस्दी खोलामा पुल निर्माण भएसँगै गाउँमा उत्पादित कृषिउपज बजारीकरण गर्न सहज हुने बताए ।