काठमाडौं । म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा निर्माणाधीन ४८.५ मेगावाट क्षमताको अपर (माथिल्लो) राहुघाट जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ । तुँदी पावर प्रवर्द्धक रहेको आयोजनाले बाँध, विद्युत गृह, सुरुङ, प्रसारण लाइन निर्माणलाई पूर्णता दिनुका साथै विद्युत गृहमा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको हो ।
सन् २०२५ को जुलाईभित्र विद्युत् उत्पादन गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको आयोजनाका आवासीय इन्जिनियर नरोत्तम कार्कीले जानकारी दिए ।
‘हालसम्म सिभिलतर्फ ९५ प्रतिशत , हाइड्रोमेकानिकल ८० प्रतिशत र इलेक्ट्रोमेकानिकलको ७० प्रतिशत प्रगति भएको छ । विद्युत गृहमा ‘कन्ट्रोल रुम’ र पानी नदीमा मिसाउने (टेलरेस) बाहेक भौतिक संरचनाको निर्माण सकिएको छ,’ उनले भने ।
तुदीँ पावरका हाइड्रो मेकानिकल इन्जिनियर घनश्याम भट्टराईले विद्युत गृहभित्र टवाइन, जेनेरेटरका उपकरण जडानको काम तीव्रताका साथ भइरहेको बताए ।
रघुगङ्गा-७ चिमखोलामा बाँध र रघुगङ्गा-४ दग्नामको फेदीमा विद्युत गृह रहेको यस आयोजनाको सुरुङ ४ हजार ९ सय मिटर लामो छ ।
‘आउटलेटबाट विद्युत गृहसम्म ६८० मिटर लामो पेनस्टक पाइप जडानको काम करिब १ सय मिटर मात्र बाँकी छ । विद्युत गृहबाट उत्पादन भएको विद्युत्लाई प्रसारण लाइनमा जोड्ने स्विचार्ड निर्माण थालिएको छ,’ उनले भने ।
तुँदी पावरले राहुघाटमा निर्माण गरेको अर्को ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको एक महिनाभित्र परीक्षण सुरु गर्ने तयारी भइरहेको भट्टराईले जानकारी दिए । उनका अनुसार रघुगङ्गा-८ को बन्दीमा बाँध, रघुगङ्गा-७ को चिमखोलामा विद्युत गृह र ५ हजार ३२८ मिटर लामो सुरुङको सबै काम सकिएको छ ।
मङ्गले राहुघाटको विद्युत गृहबाट निस्कने र चिमखोलाको बगरखोलाको पानी मिनाउन मिल्नेगरी अपर राहुघाटको बाँध निर्माण गरिएको छ । दुई वटै आयोजनाको अनुमानित लागत १३ अर्ब रुपैयाँ रहेको तुदीँ पावरका इन्जिनियर भट्टराईले उल्लेख गरे ।
अपर राहुघाट र मङ्गले राहुघाटबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट सबस्टेसनबाट चिमखोलासम्म २ सय केभी क्षमताको १४ किलोमिटर दूरीको प्रसारण लाइन निर्माण अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ । राहुघाट नदीको सहायक ठुलोखोलामा संयुक्त उर्जा प्रालिले २१.३ मेगावाट क्षमताको ठुलोखोला र ठुलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।
राहुघाट नदीमा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको जनाएको छ ।