विकासन्युज

ढोरपाटन जोड्ने सडक स्तरोन्नितका लागि एक अर्ब बजेट

म्याग्दी । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–ताकम–शिवाङ–ताकम–मुना–जलजला–ढोरपाटन सडक स्तरोन्नतिका लागि रु एक अर्ब बजेटको योजना कार्यान्वयन प्रक्रिया अघि बढेको छ । पूर्वाधार विकास कार्यालयले उक्त सडकअन्तर्गत दरवाङ–धारापानी र झिनडाडा–मुना खण्डमा कालोपत्र र ढलान गरेर स्तरोन्नतिका लागि रु ९२ करोड बजेटको योजना सञ्चालन गरेको हो । योजनाको सर्वेक्षण, लागत अनुमान, विस्तृत परियोजना प्रतिवेदन तयार पारेर सोमबार ठेक्का आह्वान गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए । सङ्घीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु १२–१२ करोड बजेट विनियोजन गरेको उक्त योजना गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका मध्ये सबैभन्दा ठूलो आयोजना हो । यसै वर्ष ठेक्का सम्झौता गरी कार्यक्षेत्रमा ठेकेदार परिचालन गर्ने लक्ष्य छ । उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किलोमिटर दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि गत वर्ष रु १४ करोड ६१ लख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनी रामसागर–बिएस धवलागिरि जेभीले करिब ५० प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । म्याग्दीबाट ढोरपाटन हुँदै पूर्वीरुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई प्राथमिकता दिएको म्याग्दी १ (२) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताए । ‘बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किलोमिटर सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ’, उनले भने, ‘यो योजनामार्फत अबको तीन वर्षभित्र दरवाङबाट मुनासम्मको सडकलाई पक्की बनाउने लक्ष्य छ ।’ म्याग्दीको मङ्गला, मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न छोटो पर्ने भएकाले जुग्जालीले गण्डकी प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेको समयमा विसं २०८० मा यो सडकलाई सङ्घीय समपूरक योजनामा समावेश गराउने निर्णय गराएका थिए । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको बताए । सङ्घीय सरकारले मरेनीबाट जलजला ढोरपाटन जोड्ने सडकका लागि चालु आवमा विनियोजन गरेको रु छ करोड ५० लाख बजेटको योजनामार्फत सडकको मार्ग खोल्ने काम भइरहेको छ । रासस

नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित

काठमाडौं । नेपाल एसबिआई बैंक ‘एचआरएम नेपाल अवार्ड फर कर्पोरेट एक्सिलेन्स’ बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालद्वारा प्रदान गरिने ‘वाणिज्य बैंक’ विधा तर्फको यो प्रतिष्ठित अवार्ड बैंकले नेपाली कर्पोरेट र सामाजिक क्षेत्रमा दिएको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्राप्त गरेको हो । उक्त अवार्ड नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी र प्रमुख संचालन अधिकृत विकास आनन्द ले ग्रहण गरेका थिए । कार्यक्रममा मुख्य निर्णायक प्रा. डा. फत्त बहादुर केसीले अवार्ड प्रदान गरेका थिए भने शेयरिङ कमिटी अफ द अवार्ड फर कर्पोरेट एक्सिलेन्सका अध्यक्ष मोहनराज ओझाको उपस्थिति रहेको थियो । सो कार्यक्रममा नेपाल सरकारका गृहमन्त्री रमेश लेखक को पनि उपस्थिति रहेको थियो ।

राष्ट्र बैंकको कार्यकारी निर्देशक बने गौतम र पण्डित

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा २ जना बढुवा भएका छन् । राष्ट्र बैंक सञ्चालक समितिले राम प्रसाद गौतम र किरण पण्डितलाई कार्यकारी निर्देशकमा बढुवा गरेको हो । गौतम गत मंसिर २० गते बढुवा भएका हुन् भने पण्डित गत फागुन १ गते कार्यकारी निर्देशकमा बढुवा भएका हुन् । ३० वर्षे सेवा अवधि पुरा भएपछि देवकुमार ढकालले गत मंसिर ६ गते कार्यकारी निर्देशक पदबाट अवकाश पाएका थिए । ढकालले अवकाश पाएपछि निर्देशकको पहिलो वरियतामा रहेका गौतम स्वतः कार्यकारी निर्देशकमा बढुवा भएका राष्ट्र बैंकले जनाएको छ । यस्तै, कार्यकारी निर्देशकमा ७ वर्ष सेवा अवधि पूरा भएपछि नेफिल मताङ्गी मास्केले गत माघ २६ गते अवकाश पाए । मास्केले अवकाश पाएपछि पण्डितलाई कार्यकारी निर्देशकमा बढुवा गरिएको राष्ट्र बैंकले जनाएको छ । कार्यकारी निर्देशकमा बढुवा भएपछि गौतमलाई वित्तीय व्यवस्थापन विभाग प्रमुख र पण्डितलाई भुक्तानी विभागको प्रमुखको जिम्मेवारी दिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसा कार्यकारी निर्देशक रिक्त रहेको १५ दिनभित्रमा पदपूर्ति गरिसक्नुपर्ने व्यवस्था छ । निर्देशकको बढुवा भने तत्काल नभएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार डा. प्रकाश कुमार श्रेष्ठलाई भने गभर्नर कार्यालयमा सरुवा गरिएको छ । गभर्नर कार्यालयको कार्यकारी निर्देशक रिक्त भएपछि उनलाई सो ठाउँमा सरुवा गरिएको हो ।

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ५० पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ १० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ २३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४६ पैसा कायम गरिएको छ । यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ८७ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९७ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९० पैसा निर्धारण भएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १३ पैसा र बिक्रीदर १९ रुपैयाँ २१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २० पैसा र बिक्रीदर ३७ रुपैयाँ ३६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २८ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४४ पैसा कायम भएको बैंकले जनाएको छ । यस्तै, थाई भाट एकको खरिददर चार रुपैयाँ आठ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३८ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ सात पैसा र बिक्रीदर १३ रुपैयाँ १३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९ रुपैयाँ ६३ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८ रुपैयाँ दुई पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५१ रुपैयाँ ७९ पैसा र बिक्रीदर चार सय ५३ रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपैयाँ १० पैसा र बिक्रीदर तीन सय ७१ रुपैयाँ ६९ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ६२ रुपैयाँ ३५ पैसा र बिक्रीदर तीन सय ६३ रुपैयाँ ९१ पैसा निर्धारण गरेको छ । त्यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अस्ट्रेलियाबाट पूर्व बैंकरको चिठ्ठी

 नेपालमा कार्यरत सम्पूर्ण बैंकर्स मित्रहरू  नमस्कार, म पूर्व बैंकर, सपनाको उडान भर्दै हाल अस्ट्रेलियामा बस्दैछु । अष्ट्रेलियाको बीएमसीटीमा काम गर्दैछु । तपाईं यो बीएमसीटी भनेको कुनै ठूलो कम्पनी सोच्दै हुनुहुन्छ होल, मल्टिकम्प्लेक्स ठान्नु भयो होला । हो, त्यस्तै त्यस्तै हो । तर, खास बीएमसीटीको अर्थ पछि भन्नेछु । आदरणीय नेपालमा कार्यरत बैंकर साथीहरु । म अर्थात कुनैदिन तपाईं जस्तै चिटिक्क परेको, टाई, कालो कोट, टिलिक्क परेको जुत्ता लगाएर अफिसको एसीभित्र बसेर काम गर्ने एक बैंकर र हाल पूर्व बैंकर । मान्छे प्रगतिवादी हुन्छ । आज जुन ठाउँमा हामी छौं भोलि योभन्दा एक पाइँला अगाडि आफूलाई देख्न खाज्छौं र यो स्वाभाभिक पनि हो । म नेपालकै एक प्रतिष्ठित वाणिज्य बैंकमा काम गरिरहँदा र त्यसमा पनि कर्जा शाखा र त्यस भित्र पनि खास गरेर मैले शैक्षिक कर्जा शाखा हेर्ने भएकोले मेरो विभागमा कर्जाको लागि अस्ट्रेलिया, क्यानडा र यूके जानका लागि विद्यार्थीको भीड हुनु स्वाभाविक थियो । मलाई थाहा थियो, नेपालको बैंकिङ क्षेत्र दिनहुँ टफ (गाह्रो) हुँदै थियो । दिनहुँ टार्गेट (व्यवसायको लक्ष्य)को सकस, बिदाको दिन पनि काम गर्नुपर्ने बाध्यता, कोरोनापछि खर्च कटौतीको बाहनामा बैंकरको सुविधा कटौती, पातलिँदै गएको बोनस, कर्जा असुलीमा समस्या, दुर्गा प्रसाई जस्ता अराजक ऋणिले कालोमोसो दल्ने खतरा र मर्जरको नाममा पद घट्ने डर । यी सबै कारणले अस्ट्रेलिया जान पाए हुन्थ्यो भन्ने लहड मेरो मनमा चलिरह्यो । अष्ट्रेलियामा गएपछि जीवनशैली धेरै राम्राे हुन्छ, उन्नत हुन्छ, सुविधायुक्त र दुःख मुक्त नै हुन्छ भन्ने विद्यार्थीको कुराले ममा पनि विदेसिने मोह जाग्यो । र, डिपेण्डेड भिसामा कागजी विवाह गरेर बैंकको नोकरी राजीनामा दिँदै म पनि हानिएँ सपनाको देश, सपनाको सहर अस्ट्रेलिया । घरमा बिहान ८ बजेसम्म सुतिरहने म । घरमा कुचोसम्म पनि नलगाएको म । जुठो गिलास र कचौरा पनि नमाझेको म । खानाको नाममा चियासम्म पकाउन नजान्ने म । अस्ट्रेलिया पुगेपछि कामको खोजीमा निक्कै महिना भौतारिरहेँ । कागजी विवाह भएकोले उसले (केटी) कलेजमा पढ्नुपर्ने र बदलामा उसको पढाइको सम्पूर्ण खर्च मैले व्यहोर्नु पर्ने सर्त थियो । त्यही कारणले ममा पैसा जसरी पनि कमाउनु पर्ने बाध्यता थियो । तर, नेपालमा भनिएजस्ताे अस्ट्रेलियामा जागिर सजिलै पाइने वा रुखमा पैसा फल्छ भनेजस्तो सजिलो नहुँदो रहेछ । अस्ट्रेलिया दुःखको देश रहेछ । दुःखीहरुको सहर रहेछ । हाल म बीएमसीटीको काम गर्दै सोच्दैछु । नेपालकै जागिर ठिक थियो । जागिर छोडेर नआएकै भए ठिक थियो । महिनैपिच्छे ५०/६० हजार रुपैयाँ तलब आइरहन्थ्यो । सस्तो ब्याजमा कर्मचारीलाई ‘होमलोन’ पाइरहेकै थियो क्यारे ! थोरै भएपनि बोनस आएकै थियो । सधैं नेपालको बैकिङ क्षेत्र अहिलेजस्तो नरहला नि ! अवस्था राम्रो भएपछि बोनस पनि मोटाउँदै जाने थियो होला । क्षणिक टारगेटको सकसले रन्थनिएर, बिदाको दिन पनि काम गनुपर्यो भनेर रिसको झोकमा राजीनामा दिए । अहिले धिक्कार छु म आफैलाई । खाइपाइ आएको त्यस्तो राम्रो एसीमा बसेर काम गर्ने नेपालको बैंकको जागिर छोडेर अष्ट्रेलिया आएँ । अहिले कसैले अस्टेलियामा के काम गर्छौ ? भनेर सोधे भने भन्न पनि लाज लाग्छ । तर, यहाँ काम गरिरहेको छु बीएमसीटीको । अर्थात् भाडा मस्काउने, चम्काउने र टल्काउने ।

आजको मौसम: सुदूरपश्चिममा हल्का वर्षा, कर्णाली र लुम्बिनीमा आंशिक बदली

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदूरपश्चिम, लुम्बिनी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ । सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकी प्रदेशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छ । सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान तथा कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ । आगामी २४ घण्टामा सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

मेलम्चीको पाइप फुटेपछि थापाथलीमा बाढी, सडक अवरुद्ध

काठमाडौं । काठमाडौंको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेपछि जलमग्न भएको छ । आज बिहान पाइप फुट्दा उक्त क्षेत्रमा जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको छ । थापाथलीमा के कारणले पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाइ पाइप मर्मत गरेर पानी सञ्चालन गर्ने तयारी भइरहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए । उनले भने, ‘पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन कारण पत्ता लगाई पाइप मर्मतपश्चात पानी वितरण कार्य सुरु गरिने छ ।’ थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ । यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा सो क्षेत्र जलमग्न थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए । काठमाडौंको थापाथली चोक नजिक मेलम्चीको पाइप फुटेका विषयमा छानबिन गरिने भएको छ । थापाथलीमा के कारणले आज पाइप लाइन फुटेको सो विषयमा पत्ता लगाउन छानबिन गरिने केयुकेएलका प्रमुख कार्यकारी निर्देशक पौडेलले बताए । ‘पाइप फुटेर क्षति भएको छ । के कारणले पाइप फुटेको हो । त्यसको एकीन कारण पत्ता लगाउन छानबिन गर्छौँ, छानबिनपश्चात पाइप मर्मत गरी पानी वितरण गरिने छ,’ उनले भने । बिहानै पाइप फुट्दा उक्त क्षेत्रमा बाढी आएर जलमग्न हुनुका साथै सडकसमेत अवरुद्ध भएको थियो । थापाथली चोकबाट नर्भिक इन्टरनेसनल अस्पताल आउने सडकमा पाइपको लाइन फुट्दा पानी नजिकका घर र पसलमा पसेको बताइएको छ । यसअघि पनि बबरमहल क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको काम गर्ने बेलामा खानेपानीको मुख्य पाइप लाइन फुट्दा बाढी आएको थियो । त्यस क्षेत्रका सरकारी कार्यालय डुबानमा परेका थिए ।

आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पियोर इनर्जीको आईपीओ बिक्री खुला

काठमाडौं । पियोर इनर्जीले आज फागुन २० गतेदेखि प्राथमिक सेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ६० हजार कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र बाँके जिल्लाका स्थानिय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् । यस्तै, कम्पनीले जारी पुँजीको १८ प्रतिशत अर्थात् १४ लाख ४० हजार कित्ता सेयरको १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता सेयरमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगार रहेका नेपालीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अधिकतममा १६ हजार कित्ता र वैदेशिक रोजारीमा रहेका नेपालीले अधिकतम ७ हजार २ सय कित्ता सेयरका आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा चैत ५ गतेभित्र आवेदन दिनु पर्नेछ । तर, आयोजना प्रभावित क्षेत्रलाई छुट्याएको सेयरमा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानिय बासिन्दाले आयोजना स्थल, नबिल बैंक र लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगञ्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्युरोड नेपालगञ्ज र वि पि चोक शाखा र कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगञ्ज र रिमझिम बजार शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।