विकासन्युज

सासु कोषमा अझै बढेन आकर्षण, औपचारिक क्षेत्रका ५ लाख ६५ हजार श्रमिक आवद्ध

काठमाडौं । सरकारले सुरु गरेको सामाजिक सुरक्षा कोषमा अझै पनि आकर्षण कम देखिएको छ । सामाजिक सुरक्षा कोषकाअनुसार २० हजार १९० प्रतिष्ठानमा काम गर्ने ५ लाख ६५ हजार श्रमिक सामाजिक सुरक्षा योजनामा सहभागि भएका छन् । २०७८ को जनगणनाअनुसार नेपालको कुल श्रमशक्ति करिब १ करोड ६८ लाख रहेको अनुमान छ । औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको संख्या २५ लाखदेखि ३५ लाखसम्म हुनसक्ने अनुमान छ । औपचारिक क्षेत्रकै ठूलो जनशक्ति अहिलेसम्म सामाजिक सुरक्षा कोषमा जान सकेको छैन । आकर्षण बढ्न नसकिरहेकै बेला सरकारले भने कार्यविधि संशोधन गरेको छ । सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा योजनामा थप आकर्षण बढाउनकै लागि कार्यविधि पाँचै पटक संशोधन गरिएको र यो लागू भइसकेको बताए । उनले भने, ‘कार्यविधि संशोधन गरेर सुविधाहरू थपिएको छ । कोषले यसअघि योगदानकर्ता र दम्पतीसमेतलाई सुविधा दिँदै आएकोमा अब छोराछोरीले समेत पाउने गरि गरिएको छ । ६० महिना योगदान गर्ने योगदानकर्ताको १ लाखले उपचार सम्भव नहुने अवस्थामा १० लाख रूपैयाँसम्मको खर्चमा तोकिएका अस्पतालमा उपचार गर्दा लागेको खर्चको ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था थपिएको छ ।’ यसैगरी, उनका अनुसार अहिले योगदानकर्ताका दम्पती वा सन्ततिको पनि १ लाखसम्म सुविधाको प्रावधान राखिएको छ । संशोधित व्यवस्थाअनुसार पछिल्लो ६ महिनाको योगदानमा कम्तीमा ३ महिना लगातार योगदान गर्ने योगदानकर्ता, उसको पति वा पत्नी र १८ वर्षमुनिका छोराछोरीले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना अन्तरगत औषधि उपचार तथा स्वास्थ्य सुरक्षा योजना सुविधा पाउने भएका छन् । योगदानकर्तालाई अरु दुर्घटनामा ७ लाख नबढ्नेगरी र कामको सिलसिलामा भएको दुर्घटनामा भने लागेको सबै व्यहोर्ने व्यवस्था छ । कोषमा योगदान गर्न शुरु गरेका योगदानकर्ताले पहिलो तीन महिनाको लगातार योगदान गरेपछि सुविधा प्रारम्भ हुनेछ भने श्रम सम्बन्ध अन्त्य भई योगदान गर्न छाडेको ३ महिनासम्म लागू रहने जस्ता नयाँ व्यवस्था राखिएको छ । सामाजिक सुरक्षा कोषमा हालसम्म ७५ अर्ब ३६ करोड संकलन भइसकेको छ । यो कार्यक्रम अघिल्लो पटक प्रधानमन्त्री भएका बेला केपी ओलीले शुभारम्भ गरेका थिए।

नेपाल बार निर्वाचनको मतदाता नामावलीमा विवाद, डीएलएद्वारा नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ

काठमाडौं । नेपाल बार एशोसिएशनको आउँदो चैत्र २३ गते हुने केन्द्रिय कार्यसमिति निर्वाचनको नामवलीमाथि उजुरी परेपछि नेपाली काँग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन ९डीएलए० ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको छ । उच्च अदालत बार एशोसिएशनले काठमाडौं अदालत बारका ७११ जना मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेपछि मंगलबार डीएलएले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको हो । निर्वाचनका लागि ११ हजार ७ सय ७२ जनाको प्रारम्भिक नामावली सार्वजनिक भएको थियो । उक्त नामवलीमा सोमबारसम्म दाबी–विरोधको समय तोकिएको थियो । उच्चले काठमाडौं जिल्ला बारले बार काउन्सिलको नविकरण नगरेको भन्दै उजुरी गरेपछि जिल्ला बार काठमाडौंले पनि नीतिगत रुपमा सबैको छानबिन गर्न माग गर्दै उजुरी गरेको थियो । डेमोक्र्याटिक लयर्स एशोसिएशन ९डिएलए० का अध्यक्ष सुशीलराज पौडेलले बार काउन्सिल अद्यावधिक गरे/नगरेका सबैको भिडाउनुपर्नेमा निर्वाचन समितिले एकपक्षीय रुपमा काठमाडौं बारको मात्रै छानबिन गर्न लागेकोले विरोधमा उत्रिएको बताए । उनले नेपाल बारको केन्द्रिय समितिले अनुमोदन गरेर निर्वाचन समितिलाई दिइसकेको मतदाता नामावली निर्वाचन समितिले एकतर्फी रुपमा काठमाडौं जिल्ला बारको हकमा मात्रै हटाउने तयारी गरेको आरोप समेत लगाए । उनले नेपाल बारको विधानको धारा २५ अनुसार मतदाता नामावली कायम गर्नुपर्ने आन्दोलनरत पक्षको माग छ । निर्वाचन समितिले एकतर्फी रुपमा गरेको निर्णय बदर गर्नुपर्ने समेत डिएलएको माग रहेको छ ।

चिकित्सक र नर्सको पारिश्रमीक बढाउने तयारी गर्दैछौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सक र नर्सहरुलाई श्रम ऐनले व्यवस्था गरेबमोजिम पारिश्रमीक दिनेगरी सरकारले काम अघि बढाइरहेको बताएका छन् । मंगलबार काठमाडौंमा नेपाल चिकित्सक संघको ७५ औं स्थापना दिवसको अवसरमा आयाजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एकै पटक लोकसेवा आयोगबाट ५ सय चिकित्सक लिनका लागि मन्त्रीपरिषद्बाट सैद्धान्तिक स्वीकृति लिइसकेको जानकारी दिए । चिकित्सक र नर्सहरुको पारिश्रमीक सरकारी पनि बढाउने र निजीमा पनि बढाउन आग्रह गर्नेगरी सरकार अघि बढिरहेको बताए । श्रम ऐनले तोकेको पारिश्रमीक कम्तिमा उपलब्ध गराउनैपर्ने व्यवस्था कडाईका साथ लागू गर्नेगरी सरकार अघि बढिरहेको बताए । चिकित्कसहरुको दैनिकी गुजारा गर्ने स्थिति मात्रै निर्माण गर्नसके विदेश जाने जनशक्ति कम हुने विश्वास व्यक्त गरे । चिकित्सकलाई दबाब मुक्त भएर काम गर्ने स्थिति निर्माण गर्न सरकारले कानूनी प्रवन्धहरु अघि बढाइरहेको बताए । उनले भने, ‘हाम्रो करेन्सी भ्याल्यु अरुको भन्दा कम भएको कारणले पारिश्रमीक पनि हाम्रो भन्दा कयौँ गुणा बढी अन्यत्र प्राप्त हुने स्थिति छ । सुशासनको, रिकग्निशनको पक्षबाट सुखी जीवन बिताउने सन्दर्भबाट तुलना गर्ने हो भने बाहिर नै राम्रो छ भनेर सजिलै भन्न सकिन्छ ।’ मन्त्री पौडेलले नेपाली चिकित्सा शिक्षा विश्वमै विश्वसनीय बनेको बताए । चिकित्सकहरु उत्पादन हुने क्रम विगतको तुलनामा बढिरहेको दाबी गरे । नेपालको स्वास्थ्य क्षेत्रमा विगतको तुलनामा थुप्रै सुधार भएको बताए । आवश्यक चिकित्सक उत्पादन भएपनि नेपालभित्रै जनशक्ति सक्रिय नरहनु ठूलो चनौति भएको बताए । चिकित्सकहरुलाई नेपालमै बस्ने स्थिति कसरी निर्माण गर्ने भन्ने बारेमा गम्भीर बन्न जरुरी रहेको जानकारी दिए ।

यामाहा नेपालद्वारा विशेष अफरहरू सहितको यामाहा मेगा सर्भिस क्याम्पको घोषणा

काठमाडौं । यामाहा नेपालले यही फागुन १८ देखि २४ गतेसम्म देशभरका सबै यामाहा सेवा केन्द्रहरूमा आयोजना हुने यामाहा मेगा सर्भिस क्याम्पको साथमा देशभरका यामाहा चालकहरूका लागि एक रोमाञ्चक अवसर ल्याएको छ। दक्ष, विशेषज्ञ सेवा र यामाहा ग्राहकहरूका लागि आकर्षक अफरहरू सुनिश्चित गर्न यो विशेष सर्भिस क्याम्प ल्याएको हो । यामाहा मेगा सर्भिस क्याम्पको अवधिमा ग्राहकहरूले निम्न विशेष सुविधाहरू प्राप्त गर्न सक्नेछन्: ● उत्कृष्ट इन्जिन कार्यसम्पादनको लागि यामा ल्यूबमा १५% छुट ● टिकाउपन र विश्वसनीयता सुनिश्चित गर्न जेनुइन स्पेयर पार्ट्समा १०% छुट ● लेबर चार्जेजमा ५०% छुट ● सुरक्षा र दक्षता बढाउन १५ पोइन्ट चेक-अप ● नि:शुल्क बाइक वाश ● नि:शुल्क एएमसी कार्ड ● सर्भिस क्याम्पमा आउने ग्राहकहरूका लागि गिफ्ट ह्याम्परहरू नेपालभरि २०० भन्दा बढी अधिकृत सेवा केन्द्रहरू भएको यामाहाले दक्ष प्राविधिकहरू मार्फत् विशेषज्ञ सेवा प्राप्त गर्ने कुरा सुनिश्चित गर्दछ । योसँगै अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधिको साथमा आफ्नो बाइकको उच्चस्तरीय प्रदर्शनका लागि ग्राहकहरूले यामाहा एफआई स्टेशनहरूबाट जेनुइन एफआई हेल्थ रिपोर्ट प्राप्त गर्न सक्नेछन् ।

बीवाईडीले सेयर बिक्रीबाट जम्मा गर्‍यो ५.५९ अर्ब डलर, अन्तर्राष्ट्रिय व्यापार विस्तारमा लगानी गर्ने

  बीवाईडीको हान ईभी । काठमाडौं । चिनियाँ इलेक्ट्रिक गाडी निर्माता बीवाईडीले मंगलबार ५.५९ अर्ब डलर प्राथमिक सेयर बिक्रीबाट संकलन गरेको घोषणा गरेको छ । उक्त सेयर बिक्री हङकङमा चार वर्षयताकै सबैभन्दा ठूलो सेयर बिक्री हो । कम्पनीले १२९.८ मिलियन प्राथमिक सेयर बिक्री गरेको बताएको छ, जुन सोमबार सुरुवात गरिएको योजनाअनुसार ११८ मिलियन सेयरभन्दा धेरै हो । बीवाईडीका हङकङ सूचीबद्ध सेयरहरू मंगलबार ८ प्रतिशतले घटे, जुन सम्झौतामा तय गरिएको छुट अनुरूप हो, जबकि ह्याङ सेङ इन्डेक्स १.५ प्रतिशतले घट्यो । बीवाईडीका अनुसार यो लेनदेन अटोमोबाइल क्षेत्रको विगत १० वर्षयताकै सबैभन्दा ठूलो इक्विटी फलो–अन अफरिङ हो । संयुक्त अरब इमिरेट्स (यूएई) मा आधारित अल-फुटाइम फ्यामिली अफिस प्रमुख लगानीकर्ता रहेको थियो । दुबै कम्पनीहरू रणनीतिक साझेदारी बनाउने योजनामा रहेको बीवाईडीले बताएको छ तर उक्त परिवारले कति लगानी गरेको छ भन्ने खुलाइएको छैन। बीवाईडीको बृहत् विस्तार रणनीति हालका वर्षहरूमा धेरै चिनियाँ कार निर्माता कम्पनीहरूले मध्य पूर्वलाई निर्यात बजारका रूपमा हेरिरहेका छन्, तर चीनको तुलनामा यो बजार अझै सानो मानिन्छ। बीवाईडीले सस्तो ब्याट्री चालित गाडीहरूको प्रतिस्पर्धात्मक सूची प्रयोग गर्दै २०२२ देखि चीनकै सबैभन्दा ठूलो कार निर्माता बन्ने यात्रा तय गरेको छ । २०२४ मा बीवाईडीले कुल ४० लाख कार बिक्री गर्‍यो, जसको ९० प्रतिशतभन्दा बढी चीनमै बिक्री भएको थियो । बीवाईडीले विश्वकै सबैभन्दा ठूलो अटो बजार चीनभित्र इलेक्ट्रिक र प्लग-इन हाइब्रिड गाडीहरूको एक-तिहाइभन्दा बढी बिक्री ओगटेको छ। चिनियाँ प्रविधि क्षेत्रमा सकारात्मक संकेत ५.५९ अर्ब डलरको सेयर बिक्री २०२१ पछि हङकङमा भएको सबैभन्दा ठूलो सेयर बिक्री हो । २०२१ मा मेइटुअनले ६.९ अर्ब डलर उठाएको थियो । युरोपियन कमिसनले कार्बनडाइअक्साइड (सीओ टू) उत्सर्जन लक्ष्यहरू परिमार्जन गर्ने निर्णय गरेपछि लगानीकर्ताहरू सकारात्मक देखिए । सम्झौताले हङकङ र चीनमा विशेष गरी प्रविधि क्षेत्रमा लगानीको सकारात्मक भावनालाई प्रतिबिम्बित गर्छ । राष्ट्रपति सी जिनपिङको नेतृत्वमा उच्चस्तरीय प्रविधि कार्यकारीहरूको सम्मेलनपछि चीनले निजी व्यवसायहरूलाई बढी समर्थन गर्ने संकेत दिएको छ । वैश्विक विस्तार योजना बीवाईडीका हङकङ सूचीबद्ध सेयरहरू यस वर्ष ३६.३८ प्रतिशतले बढेका छन्, जबकि यसको शेन्जेन सूचीबद्ध सेयरहरू २७.४ प्रतिशतले उकालो लागेका छन् । बीवाईडीले सेयर बिक्रीबाट उठेको रकम अनुसन्धान तथा विकासमा लगानी, अन्तर्राष्ट्रिय व्यापार विस्तार, कार्यशील पूँजी पूर्ति र अन्य सामान्य व्यावसायीक प्रयोजनहरूका लागि प्रयोग गर्ने योजना बनाएको छ । कम्पनीले २०२५ सम्म ५० देखि ६० लाख कार बेच्ने लक्ष्य राखेको छ । कम्पनीको लक्ष्य जनरल मोटर्स (जीएम) र स्टेलान्टिससँग प्रतिस्पर्धा गर्ने रहेको छ । सेप्टेम्बरको सुरुवातसम्म बीवाईडीसँग झण्डै १० लाख कर्मचारी थिए, जुन टोयोटा र फक्सवागनभन्दा बढी हो। फेब्रुअरीमा बीवाईडीले २१ नयाँ इलेक्ट्रिक र प्लग–इन हाइब्रिड मोडेलहरू ९ हजार ५०० डलरको सुरुवाती मूल्यमा ‘गड आइज’ स्मार्ट ड्राइभिङ सिस्टम सहित लन्च गरेको थियो । अन्तर्राष्ट्रिय व्यापार विस्तार बीवाईडीले ब्राजिललाई आफ्नो सबैभन्दा ठूलो विदेशी बजार बनाएको छ । युरोपमा कम्पनीले नयाँ हाइब्रिड मोडेलहरू ल्याएको छ किनभने बीवाईडीका इलेक्ट्रिक गाडीहरूमा १७ प्रतिशत अतिरिक्त ट्यारिफ लगाइएको छ । सिटीग्रुपको एक विश्लेषण अनुसार बीवाईडीले हङकङमा पूँजी संकलन गर्नुले अन्तर्राष्ट्रिय व्यापार योजना छिटो कार्यान्वयन गर्न मद्दत गर्छ । ‘बीवाईडीसँग चीनभित्र प्रशस्त नगद प्रवाह छ, तर त्यसलाई विदेशी मुद्रामा रूपान्तरण गर्न महँगो पर्छ,’ सिटी विश्लेषक जेफ चुंगले टिप्पणी गरे । यसका साथै विदेशमा पूँजी खर्च गर्दा सरकारबाट अनुमतिहरू लिनुपर्ने बाध्यता पनि चीनभित्रका कम्पनीहरूका लागि चुनौतीपूर्ण रहँदै आएको छ । (एजेन्सीहरूको सहयोगमा) निसानका सीईओ उचिडाको भविष्य चर्चामा, व्यवस्थापनमा ठूलो परिवर्तन आउँदै बीवाईडीको इन्डोनेसिया प्लान्ट यस वर्षको अन्त्यमा सम्पन्न हुने, बर्सेनि डेढ लाख ईभी उत्पादन हुने चीनमा इभीको वर्चश्व बढ्दै, अरू विदेशी कम्पनी टिक्न सकस साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो २०२५ मा ईभी कारको बिक्री २ करोड नाघ्ने

जापानको श्रम बजार स्थिर

काठमाडौं । जापानको बेरोजगारी दर जनवरीमा २.५ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा अपरिवर्तित रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाएको छ । एक वर्ष अघिको तुलनामा ६ लाख ५० हजारले वृद्धि भएर जनवरी महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६ करोड ७७ लाख ९० हजार पुगेको जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले बताएको छ । मानिसहरूले स्वेच्छाले जागिर छाडी नयाँ काम खोजेका कारण बेरोजगार व्यक्तिहरूको सङ्ख्या जनवरीमा महिनामा ३.३ प्रतिशत पुगेको हो । जापानको राष्ट्रव्यापी काम–देखि–आवेदक अनुपात जनवरीमा १.२६ थियो, अर्थात् त्यहाँ प्रत्येक १०० जागिर खोज्नेहरूको लागि १२६ जागिरहरू थिए, जुन अघिल्लो महिनाको तुलनामा ०.०१ अङ्कले बढेको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयबाट जारी भएको तथ्याङ्कले देखाएको छ । केही कम्पनीले श्रमिक अभावका कारण जागिरको दरबन्दी बढाउँदै लगेको छ भने कतिपयले बढ्दो लागतका कारण नयाँ कर्मचारी भर्ना गर्न सङ्घर्ष गरिरहेको मन्त्रालयले जनाएको छ ।

१० ठूला बैंकको लेखापरीक्षण गर्न ६ अडिट कम्पनी छानिए

काठमाडौं । वाणिज्य बैंकहरूको लेखापरीक्षण गर्न विभिन्न ६ वटा विदेशी अडिट (लेखापरीक्षण) फर्म छनोट भएका छन् । विभिन्न १० वटा ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न ६ वटा अन्तर्राष्ट्रिय लेखापरीक्षक फर्म सर्टलिष्ट (छनोट) भएका नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको शर्तअनुसार १० वटा बैंकको लेखापरीक्षण गर्न राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । राष्ट्र बैंकको आह्वान अनुसार नेपालसहित श्रीलङ्का, भारत र बङ्गलादेशका बाह्य लेखापरीक्षक प्रारम्भिक छनोट भएका हुन् । श्रीलङ्काको डिलोइट पार्टनस्, बङ्गलादेशको हावलदार युनुस एण्ड कम्पनी, भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ, नेपाल भारतको संयुक्त जेभी मेरा जेकेएसएस–एसएसबीडीआइ जेभी, भारतको एमएसकेए एण्ड एशोसिएट्स र नेपाल भारतको संयुक्त जेभी एसआरबिए एण्ड बिके अग्रवाल लेखापरीक्षणका लागि छनोट भएका राष्ट्र बैंकले बताएको छ । लेखापरीक्षकको योग्यता, अनुभव र क्षमताका आधारमा छनोट गरिएको हो । छनोट भएका अडिट फर्मले केही समयपछि ठूला वाणिज्य बैंकहरूको लेखापरक्षण थालनी गर्ने छन् । बैंकहरूले प्रवाह गरेको कर्जा लगानीका विषयमा अडिट फर्मले अध्ययन तथा मूल्यांकन गर्नेछन् । गत पुषमा बैंकको लेखापरीक्षण गराउन नेपाल राष्ट्र बैंकले पुनः बोलपत्र आह्वान गरेको थियो । यसअघि बैंकहरूको लेखापरीक्षण गर्न छनोट भारतको केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालि छनोट भएको थियो । तर, लागत अनुमान र उपलब्ध बजेटभन्दा छनौट भएको प्रस्तावदाताको लागत सारभूत रूपमा बढी भएकाले राष्ट्र बैंकले छनोट प्रक्रिया रद्द गरेको थियो ।

राष्ट्रिय आविष्कार केन्द्रद्वारा २३ लाखमा संघीय अस्पतालमा थन्किएका ५ सय अस्पताल उपकरण मर्मत

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले संघीय अस्पतालहरुमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ । गत भदौ १८ गते मन्त्री पौडेलले बिग्रिए पनि मर्मत अभावमा थन्किएका १७ वटै संघीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए । मन्त्री पौडेलको उपस्थितीमा भएको सम्झौतापछि हालसम्म १० वटा संघीय अस्पतालमा उल्लिखित परिमाणमा उपकरण मर्मत भएको हो । ६ सय ६१ वटा उपकरणको मूल्यांकन गरिएकामा पाँच सय मर्मत सम्पन्न भएको केन्द्रका इञ्जिनियर उमेश किरातीले बताए । केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको उनले जानकारी दिए । ‘हामीले बजार मूल्य सर्वेक्षण गर्दा नेपालमा बजार मूल्य २४ करोड ३० लाख लाग्ने जानकारी पाएका छौं,’ उनले भने । उनका अनुसार यसले सरकारको निकै न्यून खर्चमा ती उपकरणको मर्मत भएको छ । ‘बाँकी अस्पतालबाट पनि आग्रह आएमा उपकरण मर्मत गर्न हामी तयार छौं,’ उनले भने । केन्द्रले गरेको मर्मतमा सामान्य तार जोड्ने देखि थप सामग्री मगाएर गरिएका जटिल मर्मत पनि छन् । ’कतिपय अस्पतालमा तारसम्म मर्मत नगरेर राखिएका उपकरण पनि भेटियो,’ उनले भने, ‘ती सबैको मर्मत भएको छ ।’ केन्द्रका प्रमुख महावीर पुनले हालसम्म पाँच सय उपकरण मर्मत भएको भन्दै यो सक्रियताका लागि स्वास्थ्य मन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन् । सामाजिक सञ्जाल पुनले लेखेका छन्, स्वास्थ्य मन्त्रीज्युको सक्रियतामा १७ वटा संघीय अस्पतालका उपकरण मर्मत सम्भार गरी दिने सम्झौता गरेको थियो । सोही सम्झौताअनुरुप अहिलेसम्म ५ सय जति उपकरण मर्मत गरेको र करोडौं रुपैयाँ बचत भएको प्रगति रिपोर्ट छ । स्वास्थ्य मन्त्री पौडेलले केन्द्रलाई धन्यवाद दिंदै सहकार्य जारी रहने बताएका छन् । ‘संघीय अस्पतालको सेवा विस्तारमा महत्वपूर्ण यो सहयोगका लािग धेरै धन्यवाद महावीर दाइ । मर्मत भएका उपकरणका कारण पहिलेभन्दा धेरैले सहयोग पाउने वातावरण बनेको छ,’ मन्त्री पौडेलले लेखेका छन्, स्वदेशी सीपको प्रयोग गरेर अस्पतालको सेवा सुधार गर्ने हाम्रो अभियानमा तपाईंसँगको साथ र सहकार्य निरन्तर रहनेछ ।’