न्यूनतम पारिश्रमिक नदिने संस्थाहरूलाई कारबाहीको दायरामा ल्याउने प्रधानमन्त्री ओलीको दावी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नुपरेको अवस्था रहेको भन्दै कतिपय गैरसकारी अस्पतालहरूमा नर्सहरूले न्यूनतम पारिश्रमीक नपाएको गुनासो सुनेको बताएका छन् । मंगलबार ट्रेड युनियन आन्दोलनको ७८ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले न्यूनतम पारिश्रमीकभन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन नपाइने र लगाएको पाए कारबाही गर्ने चेतावनी दिए । पारिश्रमीक कुनैपनि बहानामा न्युनतम भन्दा तलको पारीश्रमीक दिन नपाइने उनले बताए । प्रधानमन्त्री ओलीले भने, ‘अहिले पनि न्यूनतम ज्यालाका लागि लड्नुपरेको छ । अहिले पनि कतिपय गैरसकारी हस्पिटलहरूमा म सुन्छु । नर्सहरूले पनि न्यूनतम स्यालरी बराबरको रकम पाइरहेका छैनन् । यो न्यूनतम पारिश्रमिकभन्दा तलको पारिश्रमीक दिएर काममा लगाउन कतै पनि पाइँदैन । यो दण्डनीय कानुन लाग्ने विषय बनाउनु पर्दछ । पारिश्रमिक कुनैपनि बहानामा न्यूनतमभन्दा तल दिन पाइँदैन।’ उनले रोजगारी र रोजगारीका अवसर उपलब्ध गराउने बाटो उद्याशीलता र व्यावसायीकता भएको पनि बताए ।
कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमाकम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा
काठमाडौं । कम्पनी रजिष्ट्रारको कार्यालयले मंगलबारदेखि लागू हुने गरी कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गरी सो विषयबारे जानकारी गराएको हो । योसँगै कम्पनी स्थापना, सञ्चालन तथा प्रशासनसम्बन्धी काम सहज हुने मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ । यस प्रणालीको प्रयोग गरी भौतिक रूपमा कार्यालयमा उपस्थित नभईकन कम्पनी दर्तादेखि खारेजीसम्मका सम्पूर्ण प्रक्रियाहरू सम्पन्न गर्न सकिने तथा यस प्रणालीबाट कार्यालयमा आवेदन दिन सकिने, प्राप्त आवेदनहरू प्रणालीबाटै स्वचालित रूपमा सम्बन्धित कर्मचारीको डेस्कमा तोकिने, नाम स्वीकृति र कम्पनी दर्ताका निवेदनहरू एक तहबाट टुङ्गो लगाइने व्यवस्था मिलाइएको जनाइएको छ । यस प्रणालीमा नागरिकतालगायत व्यक्तिगत विवरणका लागि राष्ट्रिय परिचयपत्र प्रणाली, करदाताको स्थायी लेखा नम्बर लिनेलगायत कार्यका लागि एकीकृत कर प्रणाली तथा लेखापरीक्षकको विवरणका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको प्रणालीसँग आबद्ध गरी कम्पनीले सम्बन्धित विवरण प्राप्त गर्न सक्ने प्रावधान राखिएको र अन्य सरकारी प्रणालीहरूसँग आबद्ध गरी सूचनाको सहज प्राप्ति र प्रमाणीकरणको प्रबन्ध गर्दै लगिने जनाइएको छ । ‘यस प्रणालीको सदुपयोग गरी आफ्नो कम्पनी प्रशासनसँग सम्बन्धित काम कारबाही ‘अनलाइन’ प्रणालीमार्फत सम्पादन गर्नु हुन एवं प्रणाली सञ्चालन गर्दा आइपर्ने समस्या समाधान तथा प्रणाली सुधारका लागि पृष्ठपोषणसमेत प्रदान गर्नु हुन सरोकारवाला सम्पूर्ण महानुभावहरूमा अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
३० अंकले घट्यो नेप्से, कारोबार रकममा समेत गिरावट
काठमाडौं । सोमबार घटेको सेयर बजार मंगलबार पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार मंगलबार नेप्से ३०.३६ अंकले घटेर २८४६.३० बिन्दुमा कायम भएको छ । सोमबार नेप्से परिसूचक १३.६२ अंकले घटेर २८७६.६६ बिन्दुमा पुगेको थियो । सोमबार नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । आज ३१८ स्टकको १ लाख २२ हजार ३३६ पटक कारोबारमा २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँको कारोबार भएको छ । आज गार्डियन माइक्रो लाइफ इन्स्यारेन्सको सेयरमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको सेयर सोमबार पनि सकारात्मक सर्किट लागेको थियो । त्यस्तै, आज सिन्धु विकास बैंकको सेयरमा नकारात्मक सर्किट लागेको छ । आज १३ उपसमूह नै राताम्मे देखिएका छन् । बैंकिङ १.०५, विकास बैंक ०.३९, फाइनान्स २.१०, होटल तथा पर्यटन ०.९७, हाइड्रोपावर १.०८, लगानी १.७५, व्यापार ०.८४, उत्पादन २.२१, माइक्रोफाइनान्स १.४१ प्रतिशतले घटेको छ । त्यस्तै, अन्य ०.०६, निर्जीवन बीमा १.११, जीवन बीमा ०.५९ प्रतिशतले घटेको छ । कारोबार रकमको आधारमा आज हिमालयन रिइन्स्यारेन्सको सर्वाधिक १ अर्ब ९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । दोस्रोमा नेपाल रिइन्स्यारेन्स कम्पनीको ६४ करोड २५ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै सिन्धु विकास बैंकको ४७ करोड १३ लाख, घलेम्दी हाइड्रोको ३९ करोड १० लाख र युनिर्भसल पावरको २७ करोड ५२ लाखको कारोबार भई शीर्ष पाँचमा प्रवेश गरेका छन् ।
त्रिभुवन विमानस्थलमा ४० प्रतिशतभन्दा बढी काम सम्पन्न, चैत १९ देखि राति बन्द नहुने
काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातिको समयमा बन्द नहुने भएको छ । विमानस्थल चैत १९ गते रातिदेखि बन्द नहुने भएको हो । ट्याक्सी वे विस्तारका क्रममा बन्द गरिएको विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने भएको हो । विमानस्थलमा हाल भइरहेको काम सम्पन्न हुँदै गइरहेको छ भने विमानस्थल बन्द नै गरेर गर्नुपर्ने काम भने यही मार्च महिनाभित्रै सकिने भएको छ । विमानस्थल स्रोतका अनुसार बन्द गरेर गर्नुपर्ने काम ४० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेकाे छ । सबै काम पूरा हुन अझै एक-डेढ वर्ष लाग्ने जनाइएको छ । गत कात्तिक २३ देखि विमानस्थल दैनिक १० घण्टा बन्द हुँदै आएको थियाे भने गत माघ १९ देखि ८ घण्टा बन्द हुँदै आएकाे थियाे । यात्रु क्षमता बढाउनुका साथै अन्तर्राष्ट्रिय मापदण्डअनुसारको पूर्वाधार विस्तारको काम भइरहेको विमानस्थल स्रोतले जनाएकाे छ । ३० प्रतिशत उडान कटाैती भएकाे आन्तरिक वायुसेवाको उडान पुन: रिसेड्युल हुने पनि जनाइएको छ ।
बाफिया र धितोपत्र विधेयक चाँडो पारित गरी कार्यान्वयनमा ल्याउनुपर्छ : अर्थमन्त्री पौडेल
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्क तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० (बाफिया) र धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई संसदबाट चाँडो पारित गरेर कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् । प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिको मंगलबारको बैठकमा अर्थमन्त्री पौडेलले बाफिया र धितोपत्रसम्बन्धी विधेयकलाई समितिमा छलफल चाँडो टुङ्ग्याएर प्रतिनिधिसभामा छलफलका लागि लगिनुपर्ने बताए । ‘भन्सार विधेयकसँगै वाफिया र धितोपत्रसम्बन्धी विधेयकमाथिको छलफल चाँडो सकेर चैत मसान्तभित्र समितिको प्रतिवेदनसहित प्रतिनिधिसभामा पुग्नेछ भन्ने अपेक्षा गरेको छु,’ उनले भने । कानुन निर्माणका काम सुस्त भएको भनेर समिति र सदनको प्रभावकारिता माथि जनस्तरबाटसमेत आलोचना हुने गरेको उनले उल्लेख गरे । ‘विधि निर्माणको काम सुस्त भयो भन्ने आलोचना आउने गरेका छन् । यसमा सरकारको ध्यानाकर्षण भएको छ । राष्ट्रिय आवश्यकतासमेत हेरेर बढी प्राथमिकताका कानुन निर्माणमा शीघ्रता दिनुपर्नेछ,’ अर्थमन्त्री पौडेलले भने । अर्थ समितिको आजको बैठकमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि परेका संशोधन माथि छलफल भएको छ । व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउने, भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झट हटाउनुपर्ने, कर्मचारीको तजबिजी अधिकार घटाउनुपर्ने, वस्तुहरूको क्वारेन्टाइन तथा गुणस्तर परीक्षणका लागि पर्याप्त पूर्वाधार तयार पारिनुपर्नेलगायतका विषयमा सांसदहरुका संशोधन आएका छन् । भन्सार जाँचपास प्रक्रियालाई थप प्रविधिमैत्री र सहज बनाउन तथा नेपाल पक्ष राष्ट्र रहेको क्योटो महासन्धि अनुकुल हुनेगरी भन्सार ऐन संशोधन आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो । नेपाल संशोधित क्योटो महासन्धि सम्झौता र विश्व व्यापार सङ्गनठको व्यापार सहजीकरण सम्झौताको पक्षधर राष्ट्र हो । यी सम्झौताअनुसार संशोधित क्योटो महासन्धिका प्रावधानमध्ये सामान्य प्रावधान सदस्य भएको तीन वर्षभित्र तथा सङ्क्रमणकालीन मापदण्ड पाँच वर्षभित्र कार्यान्वयनमा ल्याइसक्नु पर्ने महासन्धिमा उल्लेख छ । त्यस्तै, व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधान भन्सार ऐन नियमबाट सम्वोधन गर्न आवश्यक रहेको भन्दै सरकारले यो विधेयक ल्याएको हो ।
लिपमोटर टीओथ्री सार्वजनिक, मूल्य २८ लाख ९९ हजार
काठमाडौं । लिपमोटर टीओथ्री नेपालमा आधिकारिक रूपमा सार्वजनिक भएको छ। साङ्ग्रिला मोटर्स प्रालिले मंगलबार एक विशेष समारोहको आयोजना गर्दै लिपमोटर टीओथ्री सार्वजनिक गरेको हो । समारोहमा बोल्दै साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गरे । लिपमोटर टीओथ्रीमा ३७.३ किलोवाट हर्स ब्याट्री रहेको छ जसले डब्ल्यूएलटीपी रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साकलमा ३९५ किमी रेन्ज प्रदान गर्छ । यसमा लेभल २ एडभान्स्ड लीप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ । यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ रहेकाे छ । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लिपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले कार्यक्रमलाई सम्बोधन गरेका थिए। साङ्ग्रिला मोटर्स प्रालि सन् २०१७ देखि प्यूजोको एकमात्र आधिकारिक आयातकर्ता र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ । नेपालमा दिगो सवारीका लागि नयाँ मापदण्ड तय गर्दै नयाँ पुस्तामा विद्युतीय सवारीसाधनहरू उपलब्ध गराएर अटोमोटिभ ल्यान्डस्केपलाई नयाँ आकार दिन समर्पित भएको सांग्रिला मोटर्सले जनाएको छ । साङ्ग्रिला मोटर्स प्रालि गोल्छा अर्गनाइजेसनको सदस्य हो ।
स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमका लागि करिव ४ अर्ब रुपैयाँ थप निकासा
काठमाडौं । अर्थ मन्त्रालयले स्वास्थ्य बीमाको भुक्तानीसहित स्वास्थ्यसँग सम्बन्धित कार्यक्रमहरुका लागि थप ३ अर्ब ८४ करोड रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मागका आधारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त रकम निकासा निर्णय गरेका हुन् । जसमा स्वास्थ्य बीमा बोर्डलाई ३ अर्ब रुपैयाँ, ज्येष्ठ नागरिकहरुको उपचारलगायतका लागि ६० करोड रुपैयाँ र मुटु रोगका बिरामीलाई निशुल्क उपचारका लागि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई २४ करोड रुपैयाँ रहेको छ ।
शङ्करपुर ताल सिँचाइ आयोजनाको शुभारम्भ, लागत १९ करोड
काठमाडौं । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, ३ र ४ को ७०० हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तारका लागि निर्माण हुन लागेको शङ्करपुर ताल एकीकृत सिँचाइ तथा जलस्रोत संरक्षण योजनाको शुभारम्भ भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मंगलबार उक्त आयोजनाको शुभारम्भ गरेका हुन् । उक्त ताल निर्माणका लागि आयोजना कार्यालयले बाबुल लुम्बिनी सांस्कृतिक जेभी सिद्धार्थनगर रुपन्देहीसँग गत पुस २ गते ठेक्का सम्झौता गरेको थियो । आयोजना निर्माणसँगै उक्त गाउँपालिकाका एक हजार ७१५ घरधुरी लाभान्वित हुने आयोजनाका प्रमुख अविनाशी सिग्देलले जानकारी दिए । आयोजनाको शुभारम्भ गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले धेरै आयोजनाहरु सम्झौता भएर अलमलमा पर्ने गरेकामा उक्त आयोजनालाई समयमै सम्पन्न गर्न निर्देशन दिए । ‘आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न स्थानीय समुदाय चनाखो बन्नुपर्छ, आयोजनाको सम्पन्नतासँगै यहाँको कृषि क्षेत्रको विकासमा सहयोग पुग्छ,’ मन्त्री खड्काले भने । उक्त कार्यक्रममा मन्त्री खड्कासँगै सांसद एवं पूर्वमन्त्री सुरेन्द्र आचार्य, सिँचाइ विभागका महानिर्देशक देवराज निरौलालगायत स्थानीय जनप्रतिनिधिको सहभागिता थियो । उक्त आयोजना दुई वर्षभित्र सम्पन्न गरिसक्नुपर्नेछ । आयोजनाको लागत १९ करोड रुपैयाँ रहेको छ ।