काठमाडौं । नेपाल बार एशोसिएशनको आउँदो चैत्र २३ गते हुने केन्द्रिय कार्यसमिति निर्वाचनको नामवलीमाथि उजुरी परेपछि नेपाली काँग्रेसनिकट डेमोक्रेटिक लयर्स एशोसिएशन ९डीएलए० ले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको छ ।
उच्च अदालत बार एशोसिएशनले काठमाडौं अदालत बारका ७११ जना मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेपछि मंगलबार डीएलएले नेपाल बारको निर्वाचन समिति कार्यालय घेराउ गरेको हो । निर्वाचनका लागि ११ हजार ७ सय ७२ जनाको प्रारम्भिक नामावली सार्वजनिक भएको थियो । उक्त नामवलीमा सोमबारसम्म दाबी–विरोधको समय तोकिएको थियो ।
उच्चले काठमाडौं जिल्ला बारले बार काउन्सिलको नविकरण नगरेको भन्दै उजुरी गरेपछि जिल्ला बार काठमाडौंले पनि नीतिगत रुपमा सबैको छानबिन गर्न माग गर्दै उजुरी गरेको थियो । डेमोक्र्याटिक लयर्स एशोसिएशन ९डिएलए० का अध्यक्ष सुशीलराज पौडेलले बार काउन्सिल अद्यावधिक गरे/नगरेका सबैको भिडाउनुपर्नेमा निर्वाचन समितिले एकपक्षीय रुपमा काठमाडौं बारको मात्रै छानबिन गर्न लागेकोले विरोधमा उत्रिएको बताए ।
उनले नेपाल बारको केन्द्रिय समितिले अनुमोदन गरेर निर्वाचन समितिलाई दिइसकेको मतदाता नामावली निर्वाचन समितिले एकतर्फी रुपमा काठमाडौं जिल्ला बारको हकमा मात्रै हटाउने तयारी गरेको आरोप समेत लगाए । उनले नेपाल बारको विधानको धारा २५ अनुसार मतदाता नामावली कायम गर्नुपर्ने आन्दोलनरत पक्षको माग छ ।
निर्वाचन समितिले एकतर्फी रुपमा गरेको निर्णय बदर गर्नुपर्ने समेत डिएलएको माग रहेको छ ।