मोटरसाइकल दुर्घटनामा काङ्ग्रेस नेता पौडेलको निधन
दमौली । शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा नेपाली कांग्रेस तनहुँका सदस्य बालकृष्ण पौडेलको निधन भएको छ । दुर्घटनामा परी घाइते भएका शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका ५२ वर्षीय पौडेलको उपचारका क्रममा निधन भएको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल नर्सरीमा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाइ छ । घाइते पौडेललाई उपचारका लागि जिपी कोइराला अस्पताल पठाइएकामा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक पोषण थापाले बताए ।
भरतपुरको विकास चोकमा कजारियाको नयाँ सोरुम उद्घाटन
काठमाडौं । भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै विकास चोक, भरतपुरमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । पशुपति ग्रेनाइट एण्ड टाइल्स सप्लायर्सद्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । उद्घाटन समारोहमा प्रमुख अतिथिमा उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठको उपस्थिति रहेको थियो । साथै, कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहको उपस्थितिले कार्यक्रमलाई थप गौरवमय बनाएको थियोे । प्रमुख अतिथिले सुमन कुमार श्रेष्ठले रिबन काटेर सोरुम विस्तारको शुभारम्भ गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख प्रवीन सिंहले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने, ‘भरतपुर कजारियाकालागि महत्वपूर्ण बजार हो, र यो सोरुमले हामीलाई हाम्रो प्रिमियम टाइल्सलाई स्थानीय ग्राहकसम्म पुर्याउन मद्दत गर्नेछ । हाम्रो उद्देश्य भनेको आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई टिकाउ र राम्रो गुणस्तरका उत्पादनहरू दिनु हो, जसले कार्यक्षमता र डिजाइन दुबैमा सुधार ल्याउने छ ।’ भरतपुरको महत्वपूर्ण क्षेत्रमा सुरु भएको यो नयाँ सोरुमको प्रिमियम टाइल्सहरुले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्ने कम्पनीले बताएको छ । यसको विस्तारसँगै कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीहरूको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ । रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चापदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ । ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ । यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।
यामाहा नेपालले सार्वजनिक गर्यो यामाहा डब्लूआर १५५आर
काठमाडौं । यामाहा नेपालले अनरोड र अफरोड एड्भेन्चरका लागि डिजाइन गरिएको बहुप्रतीक्षित अल्टिमेट डुअल पर्पोज मोटरसाइकल ‘यामाहा डब्लूआर १५५आर’ आधिकारिक रूपमा सार्वजनिक गरेको छ । धुलिखेलको डर्ट टेम्पलमा आयोजित उत्साहले भरिपूर्ण लन्च कार्यक्रमले एड्भेन्चरका उत्साही र यामाहा ग्राहकहरूलाई विशेष डर्ट ट्र्याक एक्सपिरियन्स दिलाएको थियो । कार्यक्रमकै दौरान यामाहा नेपालका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार अग्रवालले डब्लूआर १५५आरका ग्राहकहरूलाई एकमुस्ट साँचो हस्तान्तरण गरे । राइडरहरूको अनुभवलाई अझ बढाउन यामाहाले सबै सहभागीहरूलाई आवश्यक अफ-रोड सवारी प्रविधिहरूसँग सुसज्जित गर्दै डर्ट राइडिङ तालिम पनि प्रदान गर्यो । तालिमपछि राइडरहरूले ओपन डर्ट ट्र्याकमा डब्लूआर १५५आरको क्षमताको पूर्ण अनुभव लिँदै रियल वर्ल्ड कन्डिसनमा आफ्नो सीप परीक्षण गर्ने अवसरसमेत पाएका थिए ।
भायानेटले ल्यायो ‘साम्बा प्याक’ द्रुतगतिको इन्टरनेट सेवा
काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन लिमिटेडले ‘साम्बा प्याक’ सार्वजनिक गरेको छ । चर्चित नेपाल महिला राष्ट्रिय फुटबल टोली खेलाडी साम्बाबाट प्रेरित इन्टरनेट योजना उच्च गतिको भरपर्दो र किफायती सेवाका लागि डिजाइन गरिएको छ । कम्पनीका अनुसार साम्बा प्याकअन्तर्गत ५० एमबीएपीएस, १०० एमबीएपीएस, २०० एमबीएपीएस र ३०० एमबीएपीएस इन्टरनेट योजना उपलब्ध छन् । विशेष रूपमा १०० एमबीएपीएस वा सोभन्दा माथिको वार्षिक योजनामा ग्राहकहरूले एक महिना इन्टरनेट निःशुल्क प्राप्त गर्ने छन् । १०० एमबीएपीएस को मूल्य ८ हजार ५०० (कर सहित)बाट सुरु हुनेछ। भायानेट साम्बासँगको सहकार्यमा गर्व महसुस गर्छ । जसको प्रेरणादायी करियरले उनलाई महिला फुटबलमा चर्चित नाम बनाएको छ । उनको समर्पण, दृढता र उत्कृष्टता ‘साम्बा प्याक’का मुख्य मूल्य- गति, शक्ति र भरपर्दोपनको प्रतिविम्ब हो । यो सहकार्य कम्पनीको महिला खेलकुदप्रति प्रतिबद्धता र उच्च गुणस्तरीय इन्टरनेट सेवाको प्रतिबद्धतालाई झल्काउने एउटा महत्त्वपूर्ण उपलब्धि हो। यो सेवा मर्च ९, २०२५ मा सार्वजनिक गरिँदै छ ।
धनगढीमा कामना सेवा विकास बैंकको कन्क्लेभ, राहतका योजनामा व्यवसायीको जोड
काठमाडौं । कामना सेवा विकास बैंकले शुक्रबार कैलाली उद्योग वाणिज्य संघअन्तर्गतका धनगढीस्थित उद्योगी व्यवसायीबीच बैंकिङ एण्ड बिजनेस कन्क्लेभ कार्यक्रम सम्पन्न गरेको छ । पछिल्लो समयमा व्यवसायी र बैंकबीच रहेको दुरी घटाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा धनगढीका करिब १२० भन्दा बढी व्यवसायीको सहभागीता रहेको थियो । पत्रकार महासंघ सुदूरपश्चिमका महासचिव शिवराज भट्टले उक्त कार्यक्रमको मध्यस्तता गरेका थिए । उक्त कार्यक्रममा नेपाल राष्ट्र बैंक, धनगढीका उपनिर्देशक हरिशचन्द्र ढकाल, कामना सेवा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल, एफसिए उमेश राज पाण्डेय र कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझा वक्ताको रुपमा रहेका थिए। उक्त कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका उपनिर्देशक हरिशचन्द्र ढकालले आर्थिक स्थायित्व, दिगो विकास र आर्थिक समुन्नतीका लागि दीर्घकाललाई सोचेर नेपाल राष्ट्र बैंकले आफ्ना नीति नियम तय गर्ने तथा बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिने गरेको बताए। व्यवसायीका गुनासालाई सम्बोधन गर्दै उपनिर्देशक ढकालले बैंक तथा वित्तीय संस्थासँगका केही गुनासा भएमा नेपाल राष्ट्र बैंक समक्षसमेत गुनासा राख्न सकिने बताए । एफसिए उमेश राज पाण्डेयले आर्थिक चक्रका हरेक चरणहरुमा बैंक र व्यवसायीबीच फरक मत रहने भएता पनि एकअर्काका परिपूरक भएकाले आर्थिक अनुशासन कायम गरी व्यवसाय संचालन गर्दा बैंक र व्यवसायीबीचको सम्बन्ध सुधार हुने बताए । कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर राज ओझाले अहिलेको अवस्थामा व्यवसायीसँग छलफल गर्नका लागि बैंकलाई अनुरोध गर्दा नमान्ने गरेको तर कामना सेवा विकास बैंकले यस्तो कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिँदै कोरोनाको अवस्थाबाट व्यवसायी उठ्न नसकेको हुँदा नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाले व्यवसायीलाई राहत हुने खालका योजनामा जोड दिन अनुरोध गरे । साथै, नियमनकारी निकायका विभिन्न नीतिहरूले व्यवसायी थप आक्रान्त बनेको तथा व्यवसायबाट पलायन हुन सक्ने भएकाले बैंकहरूले साना तथा मझौला व्यवसायीलाई संरक्षण गर्नुपर्ने जिकीर गरे । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहालले पछिल्लो समय नियमन र वित्तीय अनुशासन कायम गर्न केन्द्रीय बैंक तथा वित्तीय संस्था अग्रसर हुँदा व्यवसायीलाई असहज महसुस भएता पनि दीर्घकालमा यसले सकारात्मक प्रभाव पार्ने बताउँदै कामना सेवा विकास बैंकले व्यवसायीका पिर मर्का बुझ्दै बैंकको कारोवार अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे । बैंकले हालै मात्र चितवनका व्यवायीबीच समेत यस्तै किसिमको कन्क्लेभ आयोजना गरेको थियो ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नबिल बैंकको वाकाथन
काठमाडौं । नबिल बैंक लिमिटेडले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा वाकाथन आयोजना गरेको छ । ‘वुमन इन मोसन–एक्सलेरेट एक्सन’ शीर्षकमा महिलाको सहनशीलता, उपलब्धि र योगदानको उत्सव मनाउने उद्देश्यले वाकाथन आयोजना गरिएको बैंकले जनाएको छ । बैंकको केन्द्रीय कार्यालयमा वाकाथनको सुरुआत गर्दैै बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले दिवसको अवसरमा महिलाहरुलाई शुभकामना दिँदै बैंकले महिलाहरुलाई प्राथमिकता दिएको बताए । उनले बैंकका विभिन्न विभागमा महिलाहरुले नेतृत्व गरिरहेको उल्लेख गर्दै बैंकको विकासमा महिलाहरुको भूमिका महत्वपूर्ण रहेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकले आज मात्रै नभई मार्च महिनाभरी नै विभिन्न कार्यक्रम गरी महिला दिवस मनाउन गइरहेको जानकारी दिए । ‘महिलाहरु पनि नेतृत्वका लागि अगाडि आउन जरुरी छ, त्यसका लागि बैंक विभिन्न क्षेत्रमा अवसरहरु उपलब्ध गराउनका लागि सदैव तयार छ’, उनले भने । बैंकका अनुसार दिवसका अवसरमा विभिन्न १२ स्थानबाट एकैसाथ वाकाथन सुरु गरिएको थियो । काठमाडौं, विराटनगर, बिर्तामोड, जनकपुर, विरगन्ज, पोखरा, नेपालगन्ज, तुलसीपुर, सुर्खेत, धनगढी, बुटवल र नारायणगढमा भएको वाकाथनमा बैंकमा कार्यरत १२ सयभन्दा बढी कर्मचारीहरुको सहभागिता थियो । उक्त कार्यक्रमले लैंगिक समानताका पक्षमा सन्देश प्रवाह गर्दै समावेशी समाज निर्माणका लागि सकारात्मक परिवर्तन ल्याउनेमा बैंकले विश्वास व्यक्त गरेको छ । पुरुषहरुको सहभागितासँगै हिँड्नु मात्रै नभई समाजमा व्याप्त पुरानो सोच र विभेदको अन्त्यका लागि पनि जरुरी रहेको वाकाथनमा सहभागीहरुले बताए ।
इसेवा र हिमालयन बैंकबीच विद्युतीय कारोबार बनाउने सहकार्य
काठमाडौं । इसेवा र हिमालयन बैंकबीच विद्युतीय कारोबार सम्भव बनाउनको लागि साझेदारी भएको छ । यस साझेदारी पश्चात अब इसेवा प्रयोगकर्ता तथा हिमालयन बैंकका ग्राहकहरुले सहजै विद्युतीय माध्यमबाट रकम ट्रान्सफर गर्न सक्ने छन् । कम्पनीका अनुसार दुवै संस्थाका ग्राहकहरूलाई थप सेवा र पहुँच प्रदान गर्ने उद्देश्यले गत हप्ता एउटा औपचारिक कार्यक्रममा दुवै संस्थाका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर गरी यस सेवाको प्रारम्भ गरेका हुन् । यस साझेदारी पश्चात अब हिमालयन बैंकको ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ्ग एप प्रयोग गरी सिधै इसेवा वालेटमा रकम लोड गर्न सक्ने छन् भने इसेवा प्रयोगकर्ताहरूले आफ्नो इसेवा वालेटमा भएको रकम हिमालयन बैंकको खातामा ट्रान्सफर गर्न सक्नेछन् । इसेवामा हालसम्म ४९ वटा साझेदार बैंक तथा वित्तीय संस्थाहरू आबद्ध छन्, र यसमा हिमालयन बैंक पनि जोडिए पश्चात नेपालको डिजिटल वित्तीय सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । इसेवा र हिमालयन बैंक बीच भएको यस सम्झौताप्रति खुशी व्यक्त गर्दै, इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले यो सम्झौताले दुवै पक्षका ग्राहकलाई बिना झन्झट आफ्नो बैंक खाता र इसेवा वालेट बीच रकम ट्रान्सफर कार्य गर्न सहज बनाउने उल्लेख गरेका छन् । यस सम्झौताले ग्राहकहरूको अमूल्य समय बचाउनुको साथै डिजिटल कारोबारलाई थप सुरक्षित र प्रभावकारी बनाउने कुरामा समेत उनले जोड दिएका छन् । खड्काले भविष्यमा ग्राहकहरूको हित तथा सहजताका लागि आवश्यकता अनुसार थप सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
दिक्तेल-रेग्मीटार सडक निर्माण अन्तिम चरणमा
खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा छोटो दूरीको सडक निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित आहालेबाट हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित रेग्मीटारसम्मको १४ दशमलव पाँच किलोमिटर सडक निर्माणको काम अन्तिम चरणमा पुगेको हो । सडक निर्माण सम्पन्न भएपछि दिक्तेलबाट महुरे–बुइपा–विजयखर्क–राजापानी घुम्दै रेग्मीटार पुग्नुपर्ने बाध्यताको अन्त्य हुने नगरप्रमुख तीर्थराज भट्टराईले जनाए । ‘दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले गौरवको आयोजनामा राखेर आर्थिक वर्ष २०७९/८० बाट उक्त सडक निर्माण सुरु गरेको हो । निर्माण हुन पाँच सय मिटरमात्र बाँकी छ । पूर्वी तराई जोड्ने यो सडक एक महिनाभित्र सम्पन्न गर्ने योजनामा छौँ’, उनले भने, ‘दिक्तेल–रेग्मीटार सडक निर्माणमा नगरपालिकाको रु ८५ लाख खर्च भइसकेको छ । यो सडकका लागि कोशी प्रदेश सरकारले यो आवका लागि रु ४० लाख बजेट उपलब्ध गराएको छ ।’ यो सडक निर्माणका लागि नगरपालिकाबाट आव २०७९/८० मा विनियोजित रु ४० लाख र २०८०/८१ मा विनियोजित रु २० लाख खर्च भएको जनाइएको छ । नगरपालिका तथा प्रदेश सरकारको साझेदारीमा विनियोजित बजेटमार्फत दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणको कामलाई तीव्रगतिमा अगाडि बढाइएको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिए । नगरपालिकाले गौरवको आयोजनामा राखेर दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माणको कामलाई तीव्रता दिएपछि स्थानीयवासी हर्षित भएका छन् । निर्माणाधीन सडकलाई विकल्पका रूपमा गत वर्ष हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित पुरानो गाउँ हुँदै रेग्मीटारसम्म यातायाता सञ्चालन गरिएको थियो । दिक्तेल–रेग्मीटार सडकको मार्ग खोलिसकेपछि अर्को वर्षबाट सडक स्तरोन्नतिको कामलाई निरन्तरता दिइने नगर उपप्रमुख विशन राईले बताए। ‘दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक सञ्चालन हुँदा करिब एक घण्टा छोटो हुन्छ । यो सडक सञ्चालन गर्ने तयारीमा छौँ’, उनले भने, ‘दिक्तेल–महुरे–रेग्मीटार सडक घुमाउँरो छ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडक निर्माण सम्पन्न भएपछि पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने सबैभन्दा उपयुक्त सडक बन्नेछ ।’ तत्कालीन जिल्ला विकास समिति खोटाङले आहालेबाट राजापानीको घर्तीभिरसम्म र सगरथामा राष्ट्रिय राजमार्गको दिक्तेल–गाईघाट सडकखण्डको रेग्मीटारबाट घर्तीभिरसम्म सिधा मार्ग (ट्रयाक) खोल्ने प्रयास गरिएको थियो । घर्तीभिरमा ठूलो चट्टान भएकाले अहिलेसम्म दुवैतर्फको ट्रयाकलाई जोड्न नसकिएको हो । कालोपत्रको काम भइसकेको दिक्तेल–महुरे २० किलोमिटर र कालोपत्रको काम भइरहेको महुरे–राजापानी–रेग्मीटार सडक २९ किलोमिटरगरी दिक्तेल–रेग्मीटार सडक ५९ किलोमिटर लामो छ । निर्माणाधीन दिक्तेल–खानीडाँडा–आहाले–रेग्मीटार सडक दिक्तेल–महुरे–राजापानी–रेग्मीटार सडकभन्दा साढे १७ किलोमिटर छोटो छ । दिखुवाखोला पारिबाट थ्रीस्टार हाइड्रोपावर कम्पनीले राजापानीको पुरानो गाउँसम्म सडक निर्माण गरिदिएको छ । उक्त निर्माणाधीन दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा नियमित यातायात सञ्चालन भएमा जिल्लामा खाद्यान्न, हार्डवेयर, इन्धनलगायत दैनिक उपभोग्यवस्तु ढुवानी मूल्यमा प्रतिकेजी रु दुईदेखि पाँचसम्म घट्ने अनुमान गरिएको स्थानीय व्यवसायीले बताएका छन् । यता, दिक्तेल–खानीडाँडा–आहाले सडक भर्खरै कालोपत्र सम्पन्न गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु २१ करोड एक लाख ८८ हजार लगानीमा १०.९७४ किलोमिटर लामो सो सडक कालोपत्र गरिएको हो । रासस