विकासन्युज

नेप्सेको सीईओ बन्न कार्कीसहित १० जना पुगे अर्थमन्त्रालय, क-कसले दिए आवेदन ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि १० जनाले आवेदन दिएका छन् । अर्थमन्त्रालका अनुसार नेप्सेको सीईओका लागि आइतबार अन्तिमदिनसम्म १० जनाले आवेदन दिएका हुन् । मन्त्रालयका अनुसार नेप्सेको सीईओका लागि पूर्णप्रसाद आचार्यले आवेदन दिएका छन् । उनी यसअघि सीडीएस एण्ड क्लियरिङका सीईओ समेत भइसकेका हुन् । यस्तै, बद्रीप्रसाद प्याकुरेल, नारदकुमार लुइँटेल, युवराज दाहाल, प्रविण अधिकारी, चुडामणि चापागाईं, विमलकुमार तिवारी, कृष्णबहादुर कार्की, हेमन्त बश्याल र मुकन्दराज जोशीले सीईओका लागि आवेदन दिएका हुन् । आवेदन दिएका कार्की नेप्सेका पूर्वसीईओसमेत हुन् । सीईओ नियुक्तिको लागि गठित सिफारिस समितिले आवेदन ७ दिन म्याद थप्दै फागुन २५ गतेसम्म लम्ब्याएको थियो । गत फागुन १२ गते सूचना प्रकाशन गर्दै समितिले फागुन १८ गतेसम्म सीईओ पदका लागि आवेदन माग गरेको थियो । तर, उक्त समयमा तीन दिन सार्वजिनक बिदा परेको कारण समय थप गरिएको सिफारिस समितिले जनाएको छ । सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयले संयोजक सहसचिव सेवन्तक पोखरेललाई बनाएको छ भने सदस्यहरूमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्य डा. खोमराज खरेल छन् । कृष्णबहादुर कार्कीको कार्यकाल सकिएपछि गत माघ २५ गतेदेखि नेप्स सीईओविहीन छ । कामु सीईओको जिम्मेवारी प्रबन्धक निरञ्जन फुयाँलले सम्हाल्दै आएका छन् ।

पर्यटक र सर्वसाधारणलाई सकस पार्ने पूर्वराजाको स्वागत (तस्बिरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा बसाइँपश्चात आइतबार काठमाडौं फर्किएका छन् । उनको स्वागतका लागि राजावादीहरूको भीड लागेको थियो । उनको स्वागतमा एयरपोर्टदेखि, गौशाला, चाबहिल हुँदै महाराजगञ्ज खासगरी चक्रपथमा राजावादीको भीड लागेको हो । त्रिभुवन विमानस्थलको मुख्य गेटबाट ज्ञानेन्द्रले आफ्ना समर्थकहरूप्रति हात हल्लाइरहेका थिए । राजावादीहरूले विमानस्थल नै पुग्ने तयारी गरेपछि सरकारले विमानस्थलको सुरक्षामा कडाइ गरेको थियो । जुलुससहित विमानस्थल पुग्ने उनीहरूको योजना थियो । विमानस्थललगायतका आसपास ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएका छन् । विमानस्थलमा प्रवेश गर्नेहरूलाई कडा चेकजाँच गरेर मात्र भित्र जान दिइएको थियो । प्रदर्शनका कारण त्रिभुवन विमानस्थल अस्तव्यस्त भएको थियो । विशेषगरी प्रदर्शनको व्यापक असर पर्यटक र यात्रुहरूलाई परेको देखिन्थ्यो । उनीहरूले आफ्नो सामान आफै बोकेर विमानस्थल पुग्नु परेको थियो । केही यात्रुहरूसँग सोधपुछ गर्दा कसैले कौशलटार त कसैले कोटेश्वरबाट हिँड्दै आएको बताएका थिए । तस्बिरहरू : नरेश बोहोरा 

राष्ट्रिय वाणिज्य बैंकद्धारा ९४ जना नवनियुक्त कर्मचारीलाई पूर्व सेवाकालिन तालिम प्रदान

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ । तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले तालिममले बैंकिङ्ग काम प्रतिको ज्ञान बढाउनुका साथसाथै काम गर्ने दौरानमा कामप्रति स्मार्टनेश, सकारात्मकता र सेवाभाव झल्कने बताए । उनले नवनियुक्त युवा कर्मचारीहरुलाई प्रतिस्पर्धी बजारमा खरो रुपमा उत्रनुका साथै जनताको असल सेवक हुनु पर्ने बताए। कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक ९४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । कार्यक्रम माानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए । कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विमल डंगोल, दुर्गा कुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जिसी लगायत कर्मचारीहरुके उपस्थिति रहेको थियो ।

गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुने प्रधानमन्त्री ओलीको दावी

कञ्चनपुर । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आइतबार सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा तीन सय ७२ विदार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् । दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने बताए । उनले गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्दै भने, ‘यो खुसीको कुरा हो । नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ ।’ डडेल्धुराको पर्शुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको जनाउँदै उनले त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्रीले हुलाकी राजमार्ग, दैजी छेला औद्योगिक क्षेत्र, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पनि चाँड प्रारम्भ हुनेर सुक्खा बन्दरगाह बनाउन भारत सरकारसँग छलफल जारी रहेको जानकारी दिए । दीक्षान्त समारोहमा भारतको उत्तराखण्डका सोबनसिंह जीना विश्वविद्यालयका कुलपति प्राडा. सतपालसिंह अतिथि थिए ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष ओझाविरुद्ध अख्तियारमा पर्‍यो उजुरी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । सरकारलाई ढाँटेर झुटो विवरण बुझाएर नियुक्ति लिएको आरोप लगाउँदै दीपक बोहराले अध्यक्ष ओझाविरुद्ध उजुरी हालेका हुन् । बोहराले छानविन गरी कारबाहीको मागसमेत राखेका छन् । ‘ओझाले अध्यक्ष नियुक्ति प्रक्रियामा बुझाएको अनुभवसम्बन्धी अधिकांश प्रमाणहरू झुटा हुन्,’ आरोपपत्रमा लेखिएको छ, ‘नेपाल सरकारलाई झुटा विवरण बुझाएर लाखौंलाख बीमितहरूले तिरेको करिब सात खर्ब रुपैयाँको सदुपयोग गरी बीमितको हीत र देशविकासमा योगदान दिनुपर्ने नियामक निकाय नेपाल बीमा प्राधिकरणजस्तो निकायमा नियुक्ति लिन सफल भएका ओझामाथि छानविन गरी तत्काल कारबाही गर्नुपर्छ ।’ उजुरीपत्रमा अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यहरूको नियुक्ति र मनोनयसम्बन्धी मापदण्ड २०७३ (पहिलो संशाेधन) ले प्राधिकरणको अध्यक्ष बन्न ३५ वर्ष नाघेको हुनुपर्ने भनिएको भएता पनि ओझाको उमेर ३३ वर्ष मात्रै भएकोले उनी प्राधिकरणको अध्यक्ष बन्न लायक नभएको उल्लेख छ । ओझालाई फागुन २२ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो । उनी अध्यक्षमा नियुक्त भएदेखि उनको क्षमतामाथि विभिन्न प्रश्नहरू उठ्दै आएका छन्।

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौंमा, समर्थकले गरे स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । उनी आइतबार अपराह्न ४ बजेतिर पोखराबाट काठमाडौं आइपुगेका हुन् । समिट एयरको ९एन–एकेजेड कलसाइन चार्टर्ड उडानमार्फत काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थलबाहिर समर्थकहरूले स्वागत गरेका थिए । उनलाई स्वागत गर्न कमल थापासहितका नेताहरू पनि विमानस्थल पुगेका थिए । समर्थकहरूले ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ नारा लगाइरहेका छन् । र्‍यालीसहित उनलाई निर्मलनिवास पुर्‍याउने राजावादीको तयारी छ । यसैलाई मध्यनजर गरेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

चीनमा वृद्धवृद्धाको हेरचाहमा एआईको प्रयोग गरिने

काठमाडौं । चीनले वृद्धवृद्धा र सामाजिक हेरचाहमा बौद्धिक कृतिमता (एआई) र बिग डाटाको प्रयोगलाई तीव्रता दिने बताएको छ । अधिकारीहरूले देशको कम जन्मदर र घट्दो श्रमशक्तिसँग जुधिरहेका बेला यो घोषणा गरिएको हो । ‘हामी सामाजिक सहायता, वृद्ध हेरचाह सेवा र अशक्तहरूका लागि सेवाहरूको क्षेत्रमा बिग डाटा र एआईजस्ता नयाँ प्रविधि र उत्पादनहरूको विकास र अनुप्रयोगलाई तीव्रता दिनेछौं,’ नागरिक मामिला मन्त्री लु झियुआनले चीनको वार्षिक राजनीतिक भेलाको ‘दुई सत्र’ का क्रममा गरिएको एक पत्रकार सम्मेलनमा भने । ‘यस कदमले सेवाहरूलाई ‘अधिक सुविधाजनक, अधिक सुलभ र अधिक मानकीकृत’ बनाउनेछ,’ लुले भने । सन् २०२४ मा चीनको जनसङ्ख्या लगातार तेस्रो वर्ष घटेको छ र त्यहाँ ६० वर्ष वा सोभन्दा बढी उमेरका ३१ करोडभन्दा बढी मानिस रहेका छन् । श्रमशक्ति खुम्चिँदै जाँदा सरकारले भविष्यको आर्थिक वृद्धिका लागि प्रविधिको प्रयोग गरिरहेको छ । गत जनवरीमा डिपसिकले आफ्नो च्याटबोटको पछिल्लो संस्करण सार्वजनिक गरेपछि स्थानीय सरकारहरूले आफ्नो सेवामा डिपसिकको एआई मोडेल लागू गर्न हतार गरेका छन् । डिपसिकको मूल्य कटौती ढाँचाले चिनियाँ कम्पनीहरूलाई उन्नत एआई चिप्सको बिक्रीमा अमेरिकी प्रतिबन्धको बावजुद यसका धेरै पश्चिमी एआई प्रतिस्पर्धीहरूलाई पछि पारेको छ । राष्ट्रपति सी चिनफिङले गत महिना निजी कम्पनीहरूका लागि एक दुर्लभ सङ्गोष्ठी आयोजना गर्दा यस क्षेत्रका लागि आधिकारिक समर्थनको सङ्केत गरेका थिए जसमा धेरै एआई र अन्य प्रविधि मालिकहरू सामेल रहेका र उनीहरूलाई ‘आफ्नो प्रतिभा देखाउन’ भनेका थिए । सङ्गोष्ठीमा डिपसिकका संस्थापक लियाङ वेनफेङका साथै टेन्सेन्ट, हुवावे र शाओमीजस्ता शीर्ष प्रविधि कम्पनी तथा फर्मका प्रतिनिधिहरू उपस्थित थिए ।

सिटिजन्स बैंक र ईलाइट डेन्टल स्टुडियोबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सामाखुशीस्थित ईलाइट डेन्टल स्टुडियोबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक, प्रिभिलेज कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले ईलाइट डेन्टल स्टुडियोमा १५ प्रतिशत आकर्षक छुट पाउने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साह गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।