कागज उद्योगमा रमाउँदै पासाङ, १० देखि २० टन कागज उत्पादन गर्दै
काठमाडौं । भोजपुरको सिलिचोङबाट रोजगारीका लागि ३५ वर्षअघि भौतारिएर हिँडेका पासाङ निमा शेर्पाले ताप्लेजुङको एक नेपाली हाते कागज उद्योगमा काम पाए । घरमा चौंरी पाल्न दुःख भएपछि गाउँ छोडेर जागिरको खोजीमा निस्केका उनलाई के काम पाइन्छ र के गर्ने भन्ने टुङ्गो थिएन । हाते कागज उद्योगमा काम छाडेर फेरि कामकै खोजीमा उनी बाजुरा पुगे । पासाङले बाजुरामा काम त पाए तर त्यहाँ पनि हाते कागज उद्योगमै । केही समयमा बाजुरा छोडेर सुर्खेत गएका उनी फेरी कागज उद्योगमै पुगे । ‘त्यो उद्योगमा काम जानेको मान्छे अरु रहेनछ, उद्योगले मान्छे खोजी रहेका बेला म पुगेँ, बसौँ भन्यो त्यहाँ पनि डेढवर्ष जति काम गरेँ,’ विगत सम्झँदै उनले भने । २२ वर्षअघि गोरखा र लम्जुङको सिमानामा रहेको चेपेखोलामा आफ्न्तले चलाएको उद्योगमा आएर ६ वर्ष जति काम गरेपछि आफैलाई उद्योग आफै चलाउने हिम्मत आयो । करिब ५ लाख रूपैयाँ ऋण खोजेर हाते कागज उद्योग चलाउन सुरु गरे । ‘अहिले वार्षिक १५ देखि २० लाखसम्म कारोवार हुन्छ । नियमित पाँच जनालाई रोजगारी दिएको छु, सिजनमा कच्चा पदार्थ ९लोक्ता० काढ्ने थुप्रै हुन्छन्,’ उनले भने । चैत–बैशाखमा सयजना जतिले लोक्ता काढ्ने गरेको उनी बताउँछन् । ‘पुर्जी बनाएर पठाइदिएपछि धार्चे, चुमनुब्री, अजिरकोटलगायतका क्षेत्रमा सङ्कलन गरिएको लोक्ता मजुदरले उद्योगमा ल्याउछन्,’ पासाङले भन्नुभयो, ‘उनीहरुले पनि प्रतिकिलो १५० रुपैयाँभन्दा बढी बुझेर फर्कन्छन ।’ गोरखा नगरपालिका-६, स्थित नयाँबस्तीमा पासाङले सञ्चालन गरेको गोरखा मनकामना नेपाली हाते कागज उद्योगबाट उत्पादित नेपाली कागजको बजारमा माग धेरै छ । ‘धेरैजसो त कागज लिन उद्योगमै आइपुग्छन्, कहिले त पहिले पैसा पठाइदिन्छन् अनि मलाई यति सामान चाहियो भन्छन्, त्यसपछि म यहाँबाट कागज पठाइदिने गरेको छु,’ उनले भने । जग्गा भाडामा लिएर उनले उद्योग सञ्चालन गर्दै आएका छन् । पासङको उद्योगमा बार्षिक गर्दछ । उत्पादित नेपाली हाते कागज चार किलोको ३ हजार ५०० रुपैयाँसम्ममा बिक्री हुन्छ । ‘बजारको मागअनुसार पुर्याउन अझै सकेको छैन । कच्चा पदार्थ राम्रो पाइने हुँदा गोरखामा उत्पादित नेपाली कागज अन्य ठाउँको तुलनामा राम्रो र छिटो नगल्ने भएकाले पनि माग बढी भएको हो,’पासाङले भने । पासाङको उद्योगमा अहिले २० देखि ६० ग्राम तौलसम्मका नेपाली कागज उत्पादन हुँदै आएको छ । उद्योग चलाएर उहाँले दुईवटा छोरीलाई पढ्नै लागि विदेश पठाएका छन् । साना तथा घरेलु उद्योगलाई स्थानीय सरकारले पनि सहयोग गरेमा अझै सजिलो हुने उनी बताउँछन् ।
मनाङमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइने, ५ सिटे पिकअप जिपको मनोमानी हट्ने
फाइल फाेटाे काठमाडौं । हिमाली जिल्ला मनाङमा पहिलो पटक सार्वजनिक यातायातका रूपमा बस सञ्चालनमा ल्याइने भएको छ । स्थानीय तथा पर्यटकलाई सहज रूपमा सेवा प्रवाह गर्ने उद्देश्यले सार्वजनिक बस सञ्चालनमा ल्याउन लागिएको हो । प्रमुख जिल्ला अधिकारी मातृका आचार्यको संयोजकत्वमा बसेको समन्वयात्मक बैठकले सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको छ । बैठकमा सुरक्षा निकायका प्रमुख, यातायात व्यवसायी समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि तथा पूर्वाधार विकास कार्यालयका प्रमुखको सहभागिता रहेको थियो । बैठकले सार्वजनिक बस सेवा व्यवस्थित, सुलभ र सरल बनाउँदै स्थानीय बासिन्दा, पर्यटक तथा सरकारी कर्मचारीलाई सहुलियतपूर्ण तथा सहज रूपमा यात्रा सुनिश्चित गर्ने निष्कर्षसहित सो निर्णय गरिएको प्रजिअ आचार्यले बताए । ‘भौगोलिक रूपमा विकट क्षेत्र मनाङमा पहिलो पटक सार्वजनिक सवारीसाधन सञ्चालनमा ल्याउन लागिएको छ,’ उनले भने, ‘सार्वजनिक सवारीसाधन सञ्चालनले स्थानीयवासीका साथै पर्यटक र कर्मचारीलाई सहज हुनेछ ।’ मनाङमा हालसम्म यात्रुका लागि मुख्य रूपमा ५ सिटे क्षमताका पिकअप जिप मात्र सञ्चालन हुँदै आएका छन् । जसका कारण यात्रुले कठिन यात्रा गर्नुपर्ने, महँगो भाडा तिर्नुपर्ने तथा सुरक्षित यात्रा गर्न नसक्ने समस्या छ । सार्वजनिक बस सञ्चालन भएसँगै यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने, यात्रुहरूले उचित भाडामा सहज यात्रा गर्न सक्ने र मालसामान ढुवानीसमेतमा सहजता कायम हुने विश्वास गरिएको छ । प्रजिअ आचार्यले सार्वजनिक सवारीसाधन सञ्चालनमा आउँदा यसले यातायात व्यवस्थापनलाई थप सुधार गर्नुका साथै व्यवस्थित बनाउने बताए । बेँसीसहर–चामे सडक–खण्डमा यात्रुबाहक बस सञ्चालनका लागि विगतमा विपद् व्यवस्थापन समितिले निर्णय गरिसकेको भए पनि कार्यान्वयनमा ल्याउन सकिएको थिएन । समन्वय बैठकले उक्त निर्णयलाई पुनःअनुमोदन गर्दै तत्काल बस सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको उनको भनाइ छ । बस सञ्चालनका लागि आवश्यक रुट इजाजत पत्र लिनुपर्ने भएकाले लमजुङ कालिका प्रालिलगायतका यातायात व्यवसायीलाई सम्बन्धित निकायमा निवेदन दिन अनुरोध गरिने जानकारी दिए । बेसीसहर–चामे सडक खण्ड जोखिमयुक्त भएकाले बस सेवा सुरक्षित र व्यवस्थित बनाउन सडकका समस्याग्रस्त तथा जोखिमयुक्त स्थानको पहिचान गरी मर्मत एवम् निर्माणलाई तीव्रता दिइने प्रजिअ आचार्यले बताए । उक्त कार्यमा यातायात व्यवसायी तथा पूर्वाधार विकास कार्यालयसँग समन्वय गरी कामलाई तिव्रता दिइने जनाइएको छ । प्रजिअ आचार्यले भने, ‘पहिचान गरिएका स्थानको स्तरोन्नति गर्न सडक डिभिजन कार्यालय दमौली, डुम्रे–बेसीसहर–चामे सडक आयोजना, जलविद्युत् आयोजना तथा स्थानीय तहसँग आवश्यक पहल गर्नेछौँ ।’
आजको मौसम : कोशी, गण्डकी र कर्णालीमा वर्षाको सम्भावना, हल्का हिमपात
काठमाडौं । हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्नसक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन विभागले अनुरोध समेत गरेको छ ।
कुलमान घिसिङले पेस गरे १७ पृष्ठको स्पष्टिकरण, सरकारले पूर्वाग्रह राखेको आरोप
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई स्पष्टिकरण पेस गरेका छन् । आइतबार १७ पृष्ठको प्रतिवेदन पेस गर्दै घिसिङले आफूमाथि अनावश्यक पूर्वाग्रह राखेको उल्लेख गरेका छन् । मन्त्रिपरिषदको फागुन २१ गतेको बैठकले घिसिङलाई चार बुँदे स्पष्टिकरण सोधेको थियो । ५ माघ २०७८ मा प्राधिकरणसँग भएको कार्यसम्पादन सम्झौता अनुसार आर्थिक वर्ष २०७८/७९ मा ९४.२३ र २०७९/८० मा ९८.९४ अंक प्राप्त भएको र २०८०/८१ मा ९८.९९ अंक प्राप्त हुने वस्तुगत अवस्था सहति मूल्यांकन प्रयोजनार्थ पेस भएको घिसिङले उल्लेख गरेका छन् । सम्झौतापत्र अनुसार मूल्यांकन गरिँदा ५० प्रतिशत अंक प्राप्त हुन नसके विद्युत् प्राधिकरणले सम्झौतापत्र वा नियुक्तिपत्र रद्द गर्न सिफारिस गर्न सक्ने र यसरी सिफासिर गर्नुअघि सुनुवाईको मौका दिने उल्लेख छ । ‘समिति गठन भई मुल्यांकन कारबाही गरिएको भए कार्यसम्पादन प्रतिवेदनमा सन्तुष्टी नभएमा मलाई आफ्नो व्यहोरा राख्न र कार्य सम्पादन मूल्यांकनमा ५० प्रतिशत अंक प्राप्त नगरेकोले सम्झौतापत्र र नियुक्ति बदर गर्ने सिफारिस गर्नु पूर्व अधिकार प्राप्त निकायबाट सुनुवाईको मौका दिइएको छैन । मूल्यांकन समिति वा प्राधिकरण तहबाट उपरोक्त प्रकृया बिना कुनै कारवाही गर्न सिफारिस गरिएमा सोसमेत प्राकृतिक न्यायको सिद्धान्त प्रतिकुल भै मान्य हुन सक्दैन। सम्झौतापत्रको प्रकरण नं. १०.३ बमोजिम प्राधिकरण तहबाट सम्झौतापत्र र नियुक्ति रद्दको सिफारिस बिना सम्झौतापत्र र नियुक्ति रद्दको कारवाही गर्ने पूर्वावस्था नै हुन सक्दैन,’ उनले उल्लेख गरेका छन् । यस्तो छ घिसिङले ऊर्जा मन्त्रालयमा पेस गरेको सफाइपत्र: nea md clearification
कामना सेवा विकास बैंकले गर्यो २०८२ को डिजिटल क्यालेन्डर सार्वजनिक
काठमाडौं । कामना सेवा विकास बैंकले विसं २०८२ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । नेपालभित्र रहेका विभिन्न धर्मावलम्वीहरूका धार्मिक स्थल तथा मन्दिरहरूलाई समावेश गर्दै २०८२ को क्यालेन्डर तयार गरिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिबाट स्वीकृत प्राप्त उक्त क्यालेन्डर डिजिटल माध्यमबाट प्राप्त गर्नको लागि क्युआर कोड समेत सार्वजनिक गरेको छ । उक्त क्युआर कोड बैंकको सामाजिक सञ्जालहरू तथा वेबसाइटमार्फत् सार्वजनिक गरिएको बैंकले जनाएको छ । उक्त क्यालेन्डरमा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्णय गरेका विभिन्न तिथिहरू समेत समावेश गरिएको छ ।
ग्लोबल म्याथ डिबेट लिगमा चम्किए नेपालका युवा गणित बहसकर्ताहरू
काठमाडौं । ग्लोबल म्याथ डिबेट लिगको पछिल्लो संस्करणले नेपालका युवा गणित बहसकर्ताहरूको उत्कृष्ट उपलब्धिको उत्सव मनाएको छ । उक्त लिगमा युरो स्कूल भैरहवाका विद्यार्थीहरूले अल्फा श्रेणीमा शीर्ष सम्मान प्राप्त गरे, जसको प्रतिनिधित्व आध्या पाण्डे, हर्षित पाण्डे र गायत्री आसवानीले गरेका थिए । युरो स्कुल हात्तीगौँडाले न्यासा लुनिया, कपिश अग्रवाल र अर्ना अग्रवालको प्रतिभा प्रदर्शन गरेको थियो । जिनियस आईबी वर्ल्ड स्कुलको विजेता टोलीमा एल्भिरा महर्जन, निया पालुङ्गुआ र नित्या राउत थिए । विजेताहरू आराध्यान पाण्डे, आर्यन दास र लिजा पराजुलीको साथले युरो स्कूल छाउनीले आफ्नो विशिष्ट स्थान प्राप्त ग¥यो । त्यसैगरी सफल ओङ्गेल गुरुङ, शिवांगी राणा र रोनक सञ्चेतीको साथमा प्रतिनिधित्व गरेको संस्कृति इन्टरनेशनल स्कूल पनि विशिष्ट श्रेणीमा विजयी भयो । ग्लोबल म्याथ डिबेट लीग, कक्षा ५ देखि कक्षा ८ सम्मका विद्यार्थीहरूलाई व्यवस्थित गणितीय बहसहरूमा संलग्न गराउन डिजाइन गरिएको एउटा नवीन अन्तर्राष्ट्रिय प्रतिस्पर्धा हो । परम्परागत गणित प्रतियोगिताहरू भन्दा फरक, जसले गणना र सूत्रहरूमा जोड दिन्छ, ले आलोचनात्मक सोच, तार्किक तर्क र गणितीय अवधारणाहरूको वास्तविक- विश्व प्रयोगलाई बढावा दिन्छ । प्रतियोगिताको बिटा विधामा पनि नेपालका तीक्ष्ण दिमाग भएका युवाहरूले असाधारण प्रदर्शन देखाए । आर्य शर्मा लौडारी, अदिती जोशी र साम्रागी स्नेही प्रधान अंकुराम एकेडेमीको विजेता टोलीमा थिए भने कुमुदिनी होम्स माविको प्रतिनिधित्व साने गुरुङ, आभाना सिंह विश्वकर्मा र प्रतिष्ठा केसीले गरेका थिए । त्यस्तै, इम्पेरियल वल्र्ड स्कुलले टोलीका सदस्य अमारा श्रेष्ठ, निम्सा थापा र अदरित थपलियासँग विजयी उत्सव पनि मनायो । काष्ठमण्डप विद्यालयको विजयीहरुमा अर्थक दुवाडी, प्रबोधराज चालिसे र सौभागी भण्डारी थिए । त्यसैगरी, पाठशाला नेपाल फाउण्डेसनका उत्कृष्ट विद्यार्थीहरू श्रेनिशा बोगटी, सदीक्षा अधिकारी र हर्षित खेतानले पनि असाधारण बहस कौशल प्रदर्शन गरे ।
७ महिनामा बैंकहरूको नाफा ३६ अर्ब रुपैयाँ, आधा दर्जन बैंक करोड क्लबमै सीमित
काठमाडौं । वाणिज्य बैंकहरूले ७ महिनाको अवधिमा ३६ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को माघसम्ममा २० वटा वाणिज्य बैंकहरूले ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । ७ महिनाको अवधिमा नबिल बैंकले सबैभन्दा धेरै नाफा आर्जन गरेको छ । गत माघसम्म नबिलले ४ अर्ब १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ३ अर्ब ८९ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ, एभरेष्ट बैंकले २ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ, नेपाल बैंकले २ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ खुद नाफा गरेका छन् । राष्ट्र बैंकका अनुसार एनएमबि बैंकले २ अर्ब ३४ करोड ४९ लाख रुपैयाँ, प्राइम बैंकले २ अर्ब १८ करोड २३ लाख रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले १ अर्ब ८३ करोड ८५ लाख रुपैयाँ, प्रभु बैंकले १ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकले १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ, नाफा गरेका छन् । ७ महिनाको अवधिमा हिमालयन बैंकले १ अर्ब ४७ करोड २४ लाख रुपैयाँ, सानिमा बैंकले १ अर्ब ३७ करोड १९ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले १ अर्ब २३ करोड ८६ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ९ करोड १७ लाख रुपैयाँ नाफा गरेका छन् । अधिकांश बैंकले ७ महिनाको अवधिमा अर्बभन्दा बढी नाफा गरेपनि विभिन्न आधा दर्जन बैंक भने करोड क्लबमै सीमित भएका छन् । जसमध्ये माछापुच्छ्रे बैंकले ९६ करोड ८१ लाख रुपैयाँ, सिटिजन्स बैंकले ९० करोड २६ लाख रुपैयाँ, सिद्धार्थ बैंकले ८५ करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकले ७९ करोड ९९ लाख रुपैयाँ, कुमारी बैंकले ७३ करोड ८६ लाख रुपैयाँ र एनआईसी एशिया बैंकले ४६ करोड ४७ लाख रुपैयाँ नाफा गरेका छन् ।
आईएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभाध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले कम्पनीको आर्थिक वर्ष २०८०/०८१ को सञ्चालक समितिको प्रतिवेदन, आव २०८०/०८१ को एनएफआरएस बमोजिमको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धित अनुसूचीसहितको वित्तीय विवरण पारित गरेको छ। साथै उक्त सभाले आव २०८१/०८२ को लागि कम्पनीको बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक समेत निर्धारण गर्न प्रस्ताव स्वीकृत गरेको छ । उक्त सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आव २०८०/०८१ को वितरण योग्य मुनाफाबाट कम्पनीको तत्काल कायम रहेको चुक्ता पूँजी पाँच अर्ब मात्रको २१.०५२६४ प्रतिशत (अक्षरेपी एक्काइस दशमलब शून्य पाँच दुई छ चार प्रतिशत) का दरले हुने रकम एक अर्व पाँच करोड छब्बीस लाख बत्तीस हजार रुपैंया नगद लाभांश (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गरको छ । यसका साथै उक्त सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरको छ । उक्त सभाले आव २०८०/०८१ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्चहरु अनुमोदन गरेको छ । सभाध्यक्ष डा. अर्यालले सभामा बोल्दै कम्पनी आर्थिक स्थायित्व, आधुनिक प्रविधिको उपयोग, सेवा विस्तार तथा नयाँ बीमा योजनाहरूको विकास गर्दै शेयरधनीहरुको लगानीलाई सुरक्षित राख्दै दीर्घकालीन रूपमा आकर्षक प्रतिफल प्रदान गर्न तदरुकताका साथ लागिरहेको जानकारी दिए ।