विकासन्युज

ज्योति विकास बैंकका ग्राहकलाई डेकोर प्यालेसमा विशेष छुट

काठमाडौं । ज्योति विकास बैंक लिमिटेड र काठमाडौंको नयाँबजारस्थित डेकोर प्यालेसबीच विशेष छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । यस सम्झौतापश्चात् ज्योति विकास बैंकका ग्राहकहरूले उक्त फर्निचर शोरुममा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । डेकोर प्यालेसमा घर तथा अफिसहरूको लागि चाहिने सम्पूर्ण फर्निचर, सोफा, कार्पेट लगायतका विभिन्न सामग्रीहरू उपलब्ध छन् । बैंकले ग्राहकहरूको सुविधालाई प्राथमिकतामा राख्दै देशका अन्य विभिन्न व्यवसायहरूसँग निरन्तर सहकार्य गरी ग्राहकहरूलाई विशेष छुट र सुविधा प्रदान गर्दै आइरहेको छ । हालै बैंकले नगरकोटस्थित प्रचलित रिसोर्ट क्लब हिमालय र होटल हिमालयन भिलामा १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने सम्झौता पनि गरेको छ । ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

आगामी बजेटबारे कृषि मन्त्रालयसँग छलफल, अनुदान र सहुलियतलाई व्यवस्थित बनाइने

काठमाडौं । सरकारले कृषि क्षेत्रमा उपलब्ध गराउने अनुदान र सहुलियतलाई व्यवस्थित र प्रभावकारी बनाउने भएको छ । आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयले कृषि तथा पशुपन्छि विकास मन्त्रालयसँग गरेको बैठकमा हाल कार्यान्वयनमा रहेका अनुदान कार्यक्रमहरूबारे गम्भीर समीक्षा गरी नयाँ ढंगले अघि बढ्ने र नतिजामुखी बनाउनेबारे छलफल भएको हो । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषकहरूलाई प्रोत्साहन गर्न र उत्पादन बढाउन अनुदानका कार्यक्रम ल्याइए पनि तिनीहरूको समीक्षा गरी समय सान्दर्भिक र प्रतिफलमुखी बनाउन जरुरी रहेको बताए । कृषिमन्त्री रामनाथ अधिकारीले अनुदानलाई परिणाममुखी बनाउँदै कृषि क्षेत्रमा उत्पादन वृद्धि गरी निश्चित कृषि वस्तुमा आत्मनिर्भर हुनु पर्नेमा जोड दिए । कृषि मन्त्रालयले रासायनिक मल, बाली तथा पशुपन्छि बीमाको प्रिमियम अनुदान, उखु खेती प्रवद्र्धनका लागि किसानलाई प्रोत्साहन अनुदान लगायतका अनुदान दिँदै आएको छ । अर्थ मन्त्रालयका अनुसार यस्तो अनुदान तथा सहुलियतका लागि चालु आर्थिक वर्षमा करिब ३६ अर्ब रुपैयाँ विनियोजन भएको छ । छलफलमा सहभागीहरुले अनुदानलाई उत्पादन प्रोत्साहनसँग जोड्नु पर्ने धारणा व्यक्त गरेका थिए । संवैधानिक कार्यजिम्मेवारी अुनसार प्रदेश र स्थानीय तहको क्षेत्राधिकारसँग मिल्ने तर संघीय तहवाट हाल कार्यान्वयनमा रहेका निश्चित कार्यक्रमहरुलाई तल्लो तहका सरकारमा पठाउनु पर्नेमा छलफलका सहभागीहरुको जोड रहेको थियो । बजेट छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव, कृषि सचिव, विभागीय प्रमुख लगायतको उपस्थिति थियो । नयाँ बजेट निर्माण सम्बन्धी यस अघि अर्थ मन्त्रालयले भौतिक, शहरी, उर्जा, स्वास्थ्य, उद्योग, खानेपानी, संघीय मामिला मन्त्रालयसँग छलफल गरेको थियो ।

बीबीसीविरुद्ध सेयरधनीहरू अदातलमा, अन्तिम घडिमा रोकियो साधारणसभा

काठमाडौं । अदालतको आदेशपछि विशाल बजार कम्पनी (बीबीसी)को साधारण सभा रोकिएको छ । कम्पनीका सेयरधनीहरूले उजुरी दिएपछि १० वर्षपछि हुन लागेको वार्षिक साधारण सभा जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले स्थगित गर्न अन्तरिम आदेश दिएपछि राेकिएकाे हाे । कम्पनी सञ्चालक समितिको गत माघ २८ गते बसेको बैठकले विभिन्न प्रस्तावसहित फागुन २८ गते वार्षिक साधारण सभा बोलाएको थियाे । तर, उच्च अदालतका न्यायाधीश टंकप्रसाद गुरुङ र ऋषि राजभण्डारीको फागुन २६ गतेको इजलाशले कम्पनीको उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो । साथै कम्पनीलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न अदालते आदेश दिएको छ । वार्षिक साधारण सभा सेयरधनीहरूको हित विपरीत भएकोले कम्पनीका विरुद्ध सेयरधनी सुनिलकुमार शाक्यले उच्च अदालतमा रिट दायर गरेका हुन् । शाक्यको पक्षबाट अदालतमा वरिष्ठ अधिवक्ता शम्भु थापा, सतिष कृष्ण खरेल, अधिवक्ता युवराज बन्जाडे र दिपेन्द्र झाले बहस गरेका थिए । ‘के कसो भएको हो ? निवेदकको माग बमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? माग बमोजिमको आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटाका म्याद बाहेक १५ दिन भित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ लिई यस अदालतमा उपस्थित हुनु,’ उच्च अदालत पाटनको अन्तरिम आदेशमा उल्लेख छ । सेयरधनीहरूको लगानीको मूल्याङ्कन नगरी अलग राखी कम्पनीको साधारण सभा सञ्चालन गर्दा निवेदकहरूको हक हितमा प्रतिकूल असर पर्न सक्ने सम्भावना रहेको तथा सुविधा सन्तुलनको सिद्धान्त समेतलाई मध्येनजर गरी निवेदनको अन्तिम किनारा नलागेसम्म साधारण सभा स्थगित गर्न अदालतको आदेश छ । यस्तै, निवेदक विजयनारायण राजभण्डारीको उजुरीमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको फागुन २१ गतेको एकल इजलाशले साधारण सभाको १० नम्बर प्रस्ताव कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । निवेदक राज भण्डारीका तर्फबाट वरिष्ठ अधिवक्ता सम्भु थापाले नै बहस गरेका थिए । कम्पनीले साधारण सभाको बुँदा नम्बर १० मा पसलकवलसँग सेयर गाभी स्वतः नवीकरण हुने गरेको सम्झौता खारेज प्रस्ताव गरेको छ । तर, निवेदकहरूको दाबी अनुसार कम्पनीसँग विसं २०५४ साउन १ गते भएको सम्झौताको दफा १२ मा पसलको बहाल प्रत्येक दुई/दुई वर्षमा तत्काल लागू रहेको बहाल दरमा १० प्रतिशतका दरले वृद्धि भै करारनामा स्वतः नवीकरण हुने उल्लेख छ । साथै विसं २०५२ साउन १५ गते सम्पन्न सम्झौताको दफा ११ मा पसलको बहाल प्रत्येक दुई/दुई वर्षमा तत्काल लागू रहेको बहाल दरमा १० प्रतिशतका दरले वृद्धि भई सम्झौता स्वतः नविकरण हुने र कम्पनीको आर्थिक विनियमावली २०६४ को परिच्छेद ४ मा बहालवालाले पसलसँग अविभाज्य रुपमा रहेको सेयर वा सो वापत कम्पनीमा रहेको नगद धरौटी नामसारी गरेमा सम्बन्धित पसल कोठा समेत स्वतः नामसारी हुनेछ भन्ने व्यवस्था रहेको निवेदकहरूले दाबी गरेका छन् । सोही आधारमा साधारण सभाको १० नम्बर प्रस्ताव कार्यन्वयनमा रोक लगाई बदर गरी पसल यथावत संचालन गरी पाउँ भन्ने फिराद परेकाले उक्त प्रस्ताव कार्यन्वयन नगर्न आदेश जारी गरिएको हो । १० वर्षपछि बोलाएको कम्पनीले १४ प्रतिशत अन्तरिम नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्मको आर्थिक विवरण तथा लेखा परीक्षकको प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव गरेको छ । साथै आर्थिक वर्ष २०८०/०८१ र २०८१/०८२ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने प्रस्ताव गरेको छ ।

सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिजबीच सम्झौता, एमएल प्रविधिको सुदृढीकरण गरिने

काठमाडौं । सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिज लिमिटेड बीच ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि सम्झौता भएको छ । यस सम्झौताले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) निवारण प्रविधिको सुदृढीकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकले लिएको छ । यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बौद्धिकता (एआई) र  एन्टी मनी लाउन्डरिङ (एमएल) को प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रन तथा ग्राहक पहिचान पद्धति अवलम्बन गर्न सक्षम बनाउनेछ । सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँगको सहकार्यमा एमएल प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ । साथै यस पहलले बैंकिङ उद्योगमा नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।

व्यवसायी विभाजित भए पनि ‘नाडा अटो शो’ को अधिकार नाडालाई, बिग कर्पोरेट हाउस सहभागी हुनेमा दुविधा

काठमाडौं । अटो व्यवसायीहरूको दशैंको रूपमा हेरिने ‘नाडा अटो शो’को विषयमा धेरैको चासो हुन्छ । नयाँ अटो शोमा नयाँ सवारी साधनको प्रदर्शनले सेवाग्राहीलाई नयाँ सवारी खरिद गर्न लालायित मात्रै बनाउँदैन, व्यवसायीहरुले नाडा अटो शोमा स्टल राखेर आकर्षक आम्दानी र ब्राण्डिङ गर्ने अवसर पनि पाउँछन् । लामो समयदेखि एकजुट भएर नाडा अटो शोको आयोजना गर्दै आएका अटो व्यवसायी यस पटक भने विभाजित बने । अर्थात् नाडाजस्तै अर्कै संस्था खोलेर ‘हामी अब फरक-फरक भयौं’ भन्ने सन्देश अटो व्यवसायीले दिएका छन् । उसो त नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालभित्रका केही पदाधिकारीले औपचारिक रूपमा अटो व्यवसायी विभाजन भएको विषय स्वीकार गर्न तयार नभए पनि उनीसँगको अनौपचारिक कुराकानीमा भने नाडाभित्रको विवाद खुलस्त रूपमा सुनाउँछन् । परिणामस्वरूप नाडा विभाजन भएर अहिले अर्को संस्था ‘नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरस एसोसिएसन’ दर्ता भइसकेको छ । जसको तदर्थ समितिको संयोजक रितुसिंह वैद्य बनिसकेकी छन् । अबको ६ महिनाभित्र साधारणसभा बोलाएर नयाँ कार्यसमिति निर्माण गर्नुपर्ने दायित्व व्यवसायी वैद्यसामु छ । अटो व्यवसायीहरू विभाजित हुँदा धेरैको चासोको विषय थियो अब नाडा अटो शोको आयोजना कुन संस्थाले गर्छ ? नाडा अटो शोको आयोजना नाडाले गर्दै आएको भएपनि त्यसमा सहभागी हुने अधिकांश ठूला अटो व्यवसायीहरु अहिले नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरस एसोसिएसनमा सक्रिय बनेका छन् । उनीहरूले नाडाको सदस्यता नत्यागेर कायमै राखे पनि उनीहरु अब नाडाभन्दा बढी सक्रिय र प्राथमिकता नयाँ संस्थालाई राख्नेछन् भन्ने विषय बुझ्न धेरै कठिन छैन । यही विषयलाई अड्कल गर्दै अब नाडा कुन संस्थाले आयोजना गर्छ ? नाडा अटो शोमा उनीहरु सहभागी हुन्छन् वा हुँदैनन् भन्ने विषय चासोको रूपमा हेरिएको थियो । यही बीचमा नाडाले आगामी आर्थिक वर्षको भदौमा हुने १७औं संस्करणको ‘नाडा अटो शो २०२५’ को स्टल बुकिङका लागि रजिष्ट्रेशन खुल्ला गरेर नाडा अटो शो आयोजना गर्ने अधिकार आफूमा भएको प्रष्ट्याएको छ । विगतमा केही ढिला रजिष्ट्रेशन खुल्ला गर्ने गरेको नाडाले यस पटक भने धेरैको कौतुहलता मेट्न चाँडै नै जिष्ट्रेशन खुल्ला गरेको छ । नाडाका उपाध्यक्ष पुस्कर ओझाका अनुसार नाडा अटो शो आगामी भदौ ३ देखि ८ गतेसम्म भृकुटीमण्डपमा हुनेछ । यसवर्ष पनि गोलाप्रथा प्रक्रियाबाटै स्टल उपलब्ध गराइने उनको भनाइ छ । उपाध्यक्ष ओझाले नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोबाइल्स कम्पनीहरूबाट सोधखोज भएपछि छिट्टै नै रजिष्ट्रेशन खुल्ला गरिएको जानकारी दिए । नाडा अटो शोको लागि रजिष्टेशन खुल्ला भएपनि अब देशका ठूला व्यवसायीहरु सहभागी हुन्छन् वा हुँदैनन् भन्ने विषयलाई पनि चासोको रुपमा हेरिएको छ । किनकि नाडा विभाजन भएर गाडी आयात गर्ने ठूलो व्यवसायी नेपाल अटोमोबाइल्स इम्पोर्टस् एण्ड म्यानुफ्याक्चरस एसोसिएसनमा आवद्ध भएका छन् । यो संस्थामा आवद्ध व्यवसायीले अब नाडाभन्दा बढी प्राथमिकता नयाँ संस्थालाई दिन्छन् । नाडासँगको विवादले उनीहरु अब नाडा अटो शोमा सहभागी हुन्छन् वा हुँदैनन् भन्ने विषयलाई चासोका रुपमा हेरिन थालिएको छ । किनकि नाडामा विवाद भएर नै अहिले टोयोटा गाडीको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स, बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक, किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ, होन्डा आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ, एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोर्टर्स, हुण्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल, अशोक लेल्याण्डको आधिकारिक बिक्रेता आइएमई मोटर्स, ओमोडा गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स र फोर्ड गाडीको आधिकारिक बिक्रेता जिओ फोर्डले नयाँ संस्थाको सदस्यता लिएका छन् । यस्तै, एमडब्लू, टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ, महिन्द्राको आधिकारिक बिक्रेता अग्नी इन्ककर्पोरेट, बजाज बाइकको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनी र रोयल इन्फिल्डको आधिकारिक बिक्रेता अल्फा अटोमेटिभ पनि नयाँ सदस्य बनेर नयाँ संस्थामा आवद्ध भएका छन् । नेपालका बिग कर्पोरेट हाउसले नेतृत्व गरेका यी कम्पनीहरुको कारण नै विगतमा नाडा अटो शो सफलताका साथ सम्पन्न हुने गरेको थियो भने यी अटो कम्पनीले लै नाडा अटो शोमा बढी स्पेस प्रयोग गरेर नाडाको बिजनेस बढाउन पनि सहयोग गर्ने गरेका थिए । अहिले अटो व्यवसायीबीच नै विवाद बढ्दा अब बिग कर्पोरेट हाउसले सञ्चालन गरेका यी कम्पनी नाडा अटो शोमा सहभागी हुन्छन् वा नयाँ संस्था आफैले यस्तै किसिमको पृथक प्रदर्शनी आयोजना गर्छ भन्ने विषय चासोका रुपमा हेर्न थालिएको छ । नयाँ संस्था स्थापना भएपनि ठूला कर्पोरेट आउसले सञ्चालन गरेका कम्पनीका सदस्य नाडामा निष्कृयजस्तै बनेको एक अधिकारी बताउँछन् । विगतमा नियमित छलफल तथा भेटघाट हुने भए पनि अहिले उनीहरू नाडाप्रति वेवास्ता गरेको जस्तो देखिएको नाडाका एक पदाधिकारीले बताए । नाडाले भने नाडा अटो शो २०२५ मा मा विगतको जस्तै सबै व्यवसायीले सहभागी जनाउने अपेक्षा र विश्वास गरेको छ । नाडामा हाल गाडी बिक्रेतासँगै वर्कसप सञ्चालकदेखि स्पेयर पाट्र्स बिक्रेता र सबडिलरहरु पनि आवद्ध छन् । ‘नयाँ संस्था खोलिए पनि त्यहाँ सदस्य नाडामा पनि छन्, दुवै संस्थालाई सँगै अगाडि बढाउनुपर्ने सबैको जिम्मेवारी हो, नाडा अटो शो नाडाले नै आयोजना गर्ने हो, यस विषयमा कुनैको केही आपत्ति छैन,’ उपाध्यक्ष ओझाले भने । नाडाका उपाध्यक्ष उपाध्यक्ष तेजनारायण शाह पनि नयाँ संस्था स्थापनाले नाडालाई कुनै प्रभाव र असर नपर्ने धारणा राख्छन् । ‘संस्था विभाजन भएर बलियो हुँदैन, बलियो बनाउनलाई सबैले मिलेरै जानुपर्छ, संस्था खोलिनु सामान्य हो । तर, त्यसलाई कार्यान्वयन गरेर गरेर अगाडि बढाउन सक्नु पनि चुनौती छ,’ उनले भने । नयाँ संस्था खोल्नुलाई नाडा अध्यक्ष करण चौधरीले भने आपत्ति जनाउँदै आएका छन् । उनले व्यवसायी विभाजित भएर काम गर्न नसकिने धारणा राख्दै आएका छन् ।

निसानले पायो नयाँ सीईओ, दिशाहीन कम्पनीको लय अनुभवी एस्पिनोसाको हातमा

इभान एस्पिनोसा । फाइल तस्बिर काठमाडौं । निसानले इभान एस्पिनोसालाई आफ्नो नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ । दुई दशकदेखि कम्पनीसँग आबद्ध रहेका एस्पिनोसालाई विगतका वर्षहरूमा घोटाला, व्यवस्थापकीय अस्थिरता र बिक्रीमा गिरावटका कारण बदनाम भएको कम्पनीलाई पुनर्जीवित गर्ने जिम्मेवारी कम्पनीले दिएको छ । ४६ वर्षीय एस्पिनोसा मेक्सिकोका नागरिक हुन् र निसानका मुख्य योजना अधिकृत हुन् । अब उनले तेस्रो ठूलो जापानी कार निर्माता कम्पनीको नेतृत्व गर्नेछन् । यससँगै निसानले ६ वर्षमा चौथो पटक सीईओ नियुक्त गरेको छ । सन् २००३ मा पहिलो पटक निसानको मेक्सिको शाखामा प्रवेश गरेका एस्पिनोसा दक्षिणपूर्वी एसिया र युरोपमा पनि विभिन्न पदहरूमा काम गरिसकेका छन् । उनी अप्रिल १ देखि सीईओको रूपमा कार्यभार सम्हाल्नेछन् । सूत्रहरूका अनुसार निसानको बिग्रँदो आम्दानी र यो वर्ष होन्डासँगको मर्जर वार्ता असफल भएपछि माकोटो उचिडामाथि राजीनामाको दबाब बढ्दै गएको थियो । एस्पिनोसाको नियुक्तिले मर्जर वार्ता पुनः सुरु हुने वा कुनै नयाँ साझेदारबाट लगानीको सम्भावना खुल्ने वा नखुल्ने स्पष्ट छैन । ब्रोकर फर्म सीएलएसएका जापानी अटोविश्लेषक क्रिस्टोफर रिच्टरले भने, ‘उनी एकदमै जोशिला उत्पादन विशेषज्ञ हुन् । निसानले उत्पादनलाई उच्च प्राथमिकता दिन चाहन्छ भन्ने यो राम्रो संकेत हो, किनकि निसान ब्रान्ड लामो समयदेखि दिशाहीन बन्दै गइरहेको छ । अनुभवी कर्मचारी एस्पिनोसाले उत्पादन योजना तथा विकासमा अनुभव राखेका छन् । साथै उनले निसानको वैश्विक उत्पादन रणनीति र पोर्टफोलियोको व्यवस्थापन गरेका छन् । उनी अप्रिल २०२४ मा कम्पनीको मुख्य योजना अधिकारी (सीपीओ)मा नियुक्त भएका थिए । कम्पनीको घोषणापछि आयोजित अनलाइन पत्रकार सम्मेलनमा एस्पिनोसाले भने, ‘मलाई यो निर्णयको बारेमा भर्खरै जानकारी दिइएको छ, म अझै यसलाई बुझ्ने प्रक्रियामा छु । हामीले धेरै सम्भावनाका ढोकाहरू खुला गर्न सक्छौं । होन्डासँग वार्ता पुनः सुरु हुने सम्भावनाबारे सोध्दा उनले प्रतिक्रिया दिन मानेनन् । २०१८ मा पूर्व अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा टोकियोका अभियोजनकर्ताले हटाएपछि निसान कहिल्यै पूर्ण रूपमा उकासिन सकेको छैन । हालको वित्तीय वर्षमा (मार्च अन्त्यसम्म) निसानले तीन पटकसम्म नाफाको पूर्वानुमान घटाइसकेको छ । (एजेन्सीहरूको सहयोगमा) संकटमा निसान : ६ वर्षमै चौथो सीईओको खोजी

लागूऔषधसहित विभिन्न स्थानबाट २८ जना पक्राउ

काठमाडौ । प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट २८ जनलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षद्वारा आज प्रकाशित बुलेटिन अनुसार कैलाली, मकवानपुर, मोरङ, दाङ, उदयपुर, सुर्खेत, झापा, बाँके, सुनसरी र कपिलवस्तु जिल्लाका विभिन्न स्थानबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेकाहरुका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

मुक्तिनाथ विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस फागुण महिनामा सातै प्रदेशहरुको विभिन्न स्थानका जनसमुदाय माझ वृहत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम विषेश गरि कृषक, उद्यमी, महिला तथा युवा लाई लक्षित गरी आयोजना भएको थियो । यस कार्यक्रम अन्तर्गतव्यवसायिक योजनाको तयारी, बजारिकरणको सम्भवना,बजार व्यवस्थापनका रणनीति, व्यक्तिगत बजेट, पारिवारिक बजेट, आम्दानी खर्चको सन्तुलन, नगद प्रवाह, बचत परिचालन, कर्जा परिचालन, विमा, विप्रेषण, डिजिटल बैंकिङ सेवाहरु, डिजिटल माध्यम बाट हुनसक्ने रकम अपचलन, ग्राहकको अधिकार लगायतका विषय बस्तुहरु समेटिएको थियो । वृहत वित्तीय साक्षरता कार्यक्रममा उपस्थित व्यक्तिहरुले यस्ता किसिमका कार्यक्रमले आफुमा भएका दुबिधाहरु हट्ने र भविष्यमा आईपर्ने जोखिमहरुलाई समयमा नै व्यवस्थापन गर्न सहजिकरण हुने आसय व्यक्त गरेका थिए । बैंकले आर्थिक सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गदैं यस किसिमका कार्यक्रमहरु विगतमा पनि संचालन गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने र यस किसिमको कार्यक्रमले जनमानसको बैंक वित्तीय संस्था प्रतिको नकारात्मक धारण हट्ने र वास्तविक सुचना जनसमुदाय माझ पुग्ने भएकोले यसको सकारात्मक प्रभावकारिता रहेको कुरा बैंकको धारणा छ ।