टोखा-छहरे सुरुङ अध्ययन गर्न आएन चिनीयाँ टोली, सम्झौता गरेको चार महिनासम्म पनि बेखबर मन्त्रालय

<p>काठमाडौं । उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदा होस् या चीनको उच्चस्तरीय टोली नेपाल आउँदा, प्रायः नछुट्नेमध्येको एक आयोजना हो, टोखा–छहरे सुरुङमार्ग । यो आयोजनाको चर्चा चल्न थालेको वर्षौं भयो । तर, अहिलेसम्म अध्ययन नै पूरा हुन सकेको छैन । गत मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) [&hellip;]</p>

काठमाडौं । उच्चस्तरीय टोली चीन भ्रमणमा जाँदा होस् या चीनको उच्चस्तरीय टोली नेपाल आउँदा, प्रायः नछुट्नेमध्येको एक आयोजना हो, टोखा–छहरे सुरुङमार्ग । यो आयोजनाको चर्चा चल्न थालेको वर्षौं भयो । तर, अहिलेसम्म अध्ययन नै पूरा हुन सकेको छैन ।

गत मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्झौतामा यो परियोजनालाई पनि समेटेका थिए ।

सहमतिसँगै टोखा छहरे सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ टोली छिट्टै नेपाल आउने सन्देश प्रवाह भएपनि हालसम्म त्यसको कुनै सुरसार छैन । ओली चीनबाट फर्केको चार महिना बितिसक्दा समेत यो परियोजनाको काम अगाडि बढाउने विषयमा दुवै पक्ष बेखबर छन् ।

सुरुङमार्ग निर्माणको मुख्य काम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अगाडि सार्नुपर्ने भएपनि यस विषयमा मन्त्रालय पनि जानकारीविहीन छ । दुई महिनाअघि नै सुरुङमार्गको सम्भाव्यता अध्ययन तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नका चिनियाँ टोली आउने भनिएको थियो । तर, हालसम्म नआएको मन्त्रालयअन्तर्गतको सडक विभागले जानकारी दिएको छ ।

विकास सहायता कार्यान्वन महाशाखाका सिनियर डिभिजन इन्जिनियर मुकुन्दराज अधिकारीका अनुसार हालसम्म यस परियोजनाको विषयमा चीनबाट कुनै जानकारी आएको छैन ।

उनले भने, ‘यो आयोजनालाई के गर्ने भनेर न न्त्रालयबाट सूचना आएको छ न चीनबाट । यो विषयमा हामीलाई कुनै जानकारी छैन, यो आयोजनाको काम छिट्टै अगाडि बढ्ने भने पनि कुनै सुरसार छैन ।’

विभागका अनुसार आजभन्दा ५ वर्षअघि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा चीनले आफ्नो देशको सीमाबाट सबैभन्दा छिटो नेपालको राजधानी जोड्ने उक्त सुरुङमार्ग अनुदानमा बनाइदिने भनेको थियो । त्यसपछि सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययनका लागि चिनियाँ परामर्शदाता नेपाल आएको थियो ।

परामर्शदाता टोलीले सुरुङमार्गको निर्माण गर्ने स्थानको अध्ययन गरेको थियो । प्रारम्भिक अध्ययनका क्रममा टोलीले फिल्ड अवलोकन, तथ्यांक संकलन, गल्छी र बालाजु सडकको अध्ययन गरेको थियो । उक्त अध्ययन सामान्यमात्र भएको बुझिन्छ ।

परराष्ट्र मन्त्रालय भन्छ- सम्पर्कमै छौं

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार हाल यो परियोजनाको विषयमा सम्बन्धित मन्त्रालयले अध्ययन गरिरहेको छ ।

उनले भने, ‘यो काम सम्बन्धित मन्त्रालयको हो । हामीले त चीनसँग समन्वय मात्रै गरिदिने हो । हाम्रोतर्फबाट हुने काम भइरहेकै छ । बाँकी सम्बन्धित मन्त्रालयले गर्ने हो ।’

उनले आफूहरूले चीनसँग पनि नियमित छलफल गरिरहेका जानकारी दिए ।

छहरे–टोखा सुरुङमार्ग निर्माण गर्ने सहमति भएपछि नुवाकोट र रसुवाका नागरिकहरूमा उत्साह छाएको थियो । तर, अहिले त्यो उत्साह सेलाउँदै गएको त्यहाँका स्थानीयहरू बताउँछन् ।

Share News