हिमालयन बैंकमार्फत वैदेशिक रोजगारीमा रहेकाले सामाजिक सुरक्षा कोषमा योगदान गर्न सक्ने
काठमाडौं । हिमालयन बैंक र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषबीच वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्ने सेवा प्रदान गर्न सम्झौता भएको छ । बैंक तथा कोष बीच भएको यस सम्झौता अनुसार योगदानकर्ताहरुले हिमालयन बैंकमा खाता खोली यस बैंकले प्रदान गर्दै आएको हिमालरेमिट, मोबाइल बैंकिङ्ग वा कार्डमार्फत सहज रुपमा सामाजिक सुरक्षा कोषमा योगदानका लागि रकम जम्मा गर्न सक्नेछन् । यसरी योगदानकर्ताहरुले योगदान गरेको रकम सोही दिन कोषको उक्त खातामा जम्मा हुने व्यवस्था गरिएको छ । यस सम्झौता पत्रमा बैंकका तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत उज्जल राजभण्डारी र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सामाजिक सुरक्षा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले बैंक तथा कोषका अन्य कर्मचारीहरुको उपस्थितिमा हस्ताक्षर गरेका थिए ।
एनएमबि बैंकद्वारा दीगो भविष्यका लागि ग्रीन सेभिङ्स डिपोजिट सुरु
काठमाडौं । एनएमबि बैंकले ग्रीन सेभिङ्स डिपोजिट (हरित बचत खाता) नामक अत्यन्तै नौलो बचत खाता योजना सुरु गरेको छ । सो खाताले वातावरण संरक्षणमा व्यक्ति र संस्थाहरूलाई महत्वपूर्ण भूमिका खेल्न मद्दत गर्ने बैकले जनाएको छ । यस खातामा जम्मा भएको रकम सौर्य ऊर्जा, ऊर्जा बचत, र प्रकृतिलाई जगेर्ना गर्ने हरित परियोजनाहरूमा मात्र प्रयोग गरिनेछ । सो खाताबाट ग्राहकहरुले आफ्नो लगानिको राम्रो प्रतिफल पाउनु मात्र नभई हरित ऋणहरूमा समेत विशेष छुटहरू पाउन सक्नेछन् । एनएमबि बैंकको ग्रीन सेभिङ्स डिपोजिट खाता खोली जलवायु परिवर्तन विरुद्ध लड्न र नेपाललाई थप दिगो बनाउन हातेमेलो गर्न सक्नेछन् । एनएमबि बैंक पर्यावरणमैत्री बन्न र सन् २०४५ सम्ममा नेपालको शून्य प्रदूषणको लक्ष्यलाई समर्थन गर्न प्रतिबद्ध छ र सो खाता मार्फत प्रतिबद्धता जनाउन सक्ने बैंकले बताएको छ ।
बारीमा उम्रिएको च्याउ खाँदा एक जनाको मृत्यु
दमौली । जिल्लाको व्यास नगरपालिका–६ शान्तिटोलमा च्याउ खाँदा बिरामी परेका एक जनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका–६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गत शुक्रबार राति च्याउ खाँदा बिरामी परेका १० जनामध्ये पोखरामा उपचारका क्रममा नारायणको सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उनका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त छ । बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका थिए ।
यस्तो छ मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३९ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५१ रुपैयाँ १२ पैसा र बिक्रीदर १५१ रुपैयाँ ६६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदर १७९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १८० रुपैयाँ ५६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५७ रुपैयाँ ०२ पैसा र बिक्रीदर १५७ रुपैयाँ ७० पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ०० पैसा र बिक्रीदर ८८ रुपैयाँ ३९ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ०६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३७ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ १६ पैसा र बिक्रीदर १९ रुपैयाँ २४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ११ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रुपैयाँ १९ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ७० पैसा र बिक्रीदर १३ रुपैयाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ २६ पैसा र बिक्रीदर २० रुपैयाँ ३४ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७ रुपैयाँ ९१ पैसा, कुवेती दिनार एकको खरिददर ४५० रुपैयाँ १० पैसा र बिक्रीदर ४५२ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३६७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ २३ पैसा, ओमनी रियाल एकको खरिददर ३५९ रुयैयाँ ९७ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ५३ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौं । अछाम जिल्लाको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मंगलबार बिहान ६ः३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ । नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।
लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि बन्द भए २३६ ह्याचरी उद्योग
चितवन । कुखुराको चल्ला कोरल्न प्रयोग गरिने दुई सय ३६ ह्याचरी उद्योग बन्द भएका छन् । कोभिडपछि लागत मूल्यमा चल्ला बिक्री हुन छाडेपछि उद्योग बन्द भएका हुन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार कोभिड–१९ अघि देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । अहिले यो सङ्ख्या एक सय २० मा झरेको छ । यस्तै १४ वटा रहेको लेयर्स ह्याचरी घटेर छवटामा झरेको छ । एक सातामा ब्रोइलर चल्ला ५५ लाख उत्पादन हुनेमा अहिले रु ३० लाख उत्पादन हुने गरेको उनले जानकारी दिए । लेयर्स चल्ला सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ । पोखरेलका अनुसार ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ५५ देखि ६० सम्म पर्न जान्छ । लेयर्सको मूल्य रु एक सय २० देखि एक सय २५ पर्छ । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछानेका अनुसार कोभिडपछि दुई वर्षसम्म चल्लाको लागत मूल्य नपाउँदा ती ह्याचरी बन्द भएका हुन् । लामो समयपछि अहिले ब्रोइलर चल्लाको मूल्य प्रतिगोटा रु ७० देखि ७५ मा बिक्री हुने गरेको छ । लेयर्स चल्ला रु एक सय ३० देखि एक सय ५० मा बिक्री हुँदै आएको छ । उनले भने, ‘लामो समय चल्लाले मूल्य नपाउँदा अधिकांश ह्याचरी बन्द भए ‘ चलेकाहरू पनि बैंकको ऋण थपेर धानिएको उनको भनाइ छ । चल्लाले मूल्य नपाउनु, दाना र औषधिको मूल्य बढ्नु, बैंकको व्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनुलगायत कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित भएका हुन् । सङ्घका पूर्वकेन्द्रीय अध्यक्ष ऋषिराम पौडेलका अनुसार ह्याचरी उद्योग बन्द हुँदै गर्दा फार्मसमेत बन्द हुन्छन् । यसबाट एउटै ह्याचरीको करोडौँ नोक्सान हुन्छ । उनले भने, ‘एउटा ह्याचरी उद्योग सञ्चालन गर्न कम्तीमा रु ४० करोडभन्दा बढी लगानी हुन्छ ।’ चार–पाँच बिघा जमिन कम्तीमा आवश्यक पर्ने भन्दै उनले जग्गाको मूल्य बढ्दै जाँदा लागत मूल्यसमेत बढेको बताए । नेपालमा ह्याचरी उद्योगले अधिकांश प्यारेन्ट (माउ) विदेशबाट ल्याउने गर्छन् । पौडेलका अनुसार त्यस्तो एउटा चल्लाको मूल्य रु सात सय पर्न आउँछ । देशभर थोरै ब्रोइलर कुखुरा पाल्ने किसान धेरै छन् । पछिल्लो समय खपत घटेसँगै मासुले मूल्य नपाउँदा धेरै विस्थापित भएका हुन् । रासस
क्रेष्ट माइक्रो लाइफको आईपीओ बाँडफाँट, १ लाख ८४ हजार ५ सयले पाए सेयर
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट गरिएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका अनुसार आज कम्पनीको आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीको आईपीओमा कुल १९ लाख ६५ हजार ८११ जनाले २ करोड २७ लाख ३९ हजार ६५० कित्ता सेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये १० हजार १२६ आवेदन रद्द भएको छ भने बाँकी १९ लाख ५५ हजार ६८५ आवेदन सदर भएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले गोलाप्रथा विधिमार्फत बाँडफाँट गरिएको छ । उक्त विधिअनुसार १ लाख ८४ हजार ५०० आवेदकले १० कित्ताका दरले कम्पनीको सेयर प्राप्त गरेका छन् । साथै, बाँकी आवेदकको हात रित्तो भएको छ । कम्पनीले फागुन २२ गतेदेखि फागुन २६ गतेसम्म १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि बिक्री खुला गरेको थियो । साथै, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशत अर्थात् २ लाख २५ हजार कित्ता, कम्पनीका कर्मचारीलाई ६७ हजार ५ सय कित्ता र सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५ सय कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ ।
पोखराबाट १२६ यात्रु लिएर छेन्दु जाँदै, नियमित उडान गर्न सिचुवान एयरलायन्सले ३ वटा चार्टर्ड गर्ने
काठमाडौं । पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मङ्गलबार चीनको सिचुवान प्रान्तको छेन्दुमा पहिलो व्यवसायिक ‘चाटर्ड’ उडान हुने भएको छ । लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट सञ्चालनमा आएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको २ वर्षसम्म नियमित अन्तरराष्ट्रिय उडान हुन नसकेको अवस्थामा पहिलोपटक सिचुवान एयरलायन्सको जहाजबाट १२६ यात्रु छेन्दु जाँदैछन् । उडान नियमित गर्ने प्रयास स्वरुप सिचुवान एयरलायन्सले छेन्दुबाट ३ वटा चाटर्ड उडान गर्ने सुनिश्चित गरिसकेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले जानकारी दिए । ‘पोखरा-छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलायन्सले चाटर्ड उडान सुरु गरेको हो,’ उनले भने, ‘३ वटा चाटर्ड उडान पछि एयरलायन्सले अन्य नियमित उडानको योजना बनाएको छ ।’ चाटर्ड उडानका लागि एयरलायन्सले हाल भाडादर ६२ हजार रुपैयाँ तय गरेको छ । एयरलायन्सले ३ वटा चाटर्ड उडानपछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने जनाएको छ । उनले पोखरा-छेन्दुु उडान यहाँको पर्यटकीय विकासमा महत्त्वपूर्ण बन्ने विश्वास व्यक्त गरे । पोखराबाट अन्तरराष्ट्रिय उडानका लागि गरिएको निरन्तर प्रयास पछि निजी क्षेत्रका पर्यटन व्यवसायीहरूको विशेष पहल र पोखरा पर्यटन परिषद्को नेतृत्वमा पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ राजदूतावास, सिचुवान एअरलाईन्स र नेपालस्थित चाइनिज एशोसिएशनसँगको सहकार्यमा पहिलो पटक व्यवसायिक चाटर्ड उडान गर्न लागिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए । चीनस्थित चाईना ट्राभल्स इन्टरनेशनल छेन्दुले सुरुवाती उडानमा सहकार्य गरिरहेको छ । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन चलायमान हुने विश्वास लिइएको उनको भनाइ छ । उनका अनुसार आगामी ३ महिनासम्ममा करिब १ हजार २५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट सिधा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । पोखराबाट पहिलोपटक हुन लागेको व्यवसायिक चाटर्ड उडानमा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन व्यवसायी र सञ्चारकर्मी सहभागी हुँदै छन् । पहिलो व्यावसायिक उडानका क्रममा हुने ७ रात ८ दिनसम्मको कार्यक्रममा विशेषतः सिचुवान प्रदेशको छेन्दु, लुझेउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटन विकास, विस्तारका बारे जानकारी लिइने कार्यक्रम तय गरिएको छ । त्यसैगरी नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाली महावाणिज्य दुतावास छेन्दुको सहकार्यमा छेन्दु र छाउछिङमा क्रमशः १९ र २२ मार्चमा नेपाल इभिङ र सेल्स मिसन गर्न लागिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । पोखराबाट अन्तरराष्ट्रिय उडानका रुपमा गर्न लागिएको पहिलो व्यावसायिक चाटर्ड उडानसँगै गरिने ‘सेल्स मिसन’का कार्यक्रमले पोखरासहित समग्र नेपालको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने उनको भनाइ छ । पोखरा भ्रमण वर्षलाई सहयोग पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट हुन लागेको पहिलो व्यावसायिक चाटर्ड उडान पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउन महत्त्वपूर्ण बन्ने विश्वास लिइएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस उडानको सुरुवातसँगै पोखरा भ्रमण वर्ष २०२५ लाई सफल बनाउनुका साथै समग्र पर्यटन राजधानी पोखराको पर्यटकीय विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए । सिचुवान प्रदेश चीनको पर्यटकीय क्षेत्र रहेको र त्यहाँको लुझेउ सिटीमा आफूहरू जाने बताउँदै उनले उक्त पोखराको सहर भगिनी सहर भएको बताए । त्यहाँ हुने कार्यक्रमले दुुई सहरबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास उनले व्यक्त गरे । पोखरा-छेन्दुु उडान सञ्चालन हुँदा पोखरामा चिनीयाँ पर्यटक लक्षित पूर्वाधारमा कुनै कमी नरहेको यहाँको पर्यटन व्यवसायी बताउँछन् । पोखरामा चिनियाँ पर्यटकलाई लक्षित गरेर निर्माण गरिएका होटेल तथा रेष्टुुरेण्टबाट पर्यटकलाई सेवा प्रवाह भइरहेको पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष एवम् पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराईले बताए । ‘पोखरामा पर्यटक लक्षित होटेल तथा रेष्टुरेन्ट थपिने क्रम बढ्दो छ । कोरोना पछि बन्द भएका होटेल तथा रेष्टुरेन्ट पुनः सञ्चालनमा आएका छन्,’ उनले भने । चिनियाँ पर्यटकहरू केवल बस्ने खाने मात्र नभै बोटिङ, सपिङ, पदयात्रा, प्याराग्लाइडिङलगायत सबै किसिमका गतिविधिमा सहभागी हुने गरेको अनुभव उनले सुनाए ।