४० दिनमा विपद्बाट ७० जनाले गुमाए ज्यान
काठमाडौं । विसं २०८३ को वैशाखयता शनिबारसम्म भएका एक हजार ३४२ वटा विपद्जन्य घटनामा देशभर गरेर ७० जना नागरिकले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वर्ष २०८३ को पछिल्लो ४० दिनमा उक्त घटना भएको र ३३३ जना नागरिक घाइते भएका छन् । प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सबैभन्दा बढी लेक लागेर १६, चट्याङबाट १४ र आगलागीबाट ११ जनाले ज्यान गुमाएका छन् । यसैगरी, हुरीबाट नौ, जनावरको आक्रमणबाट आठ, सर्पदंशबाट पाँच, पहिरोबाट दुई, डुंगा पल्टिएर दुई तथा वन डढेलो, बाढी र हिउँपहिरोमा परेर एकरएक जनाको मृत्यु भएको छ । ती विपद्का घटनाबाट एक हजार ६२१ परिवार प्रभावित भएका प्राधिकरणले शनिबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । विपद्जन्य घटना संख्या हेर्दा भने सबैभन्दा बढी आगलागीका ४८८ वटा घटना भएका छन् । यसैगरी, हुरीका २३०, चट्याङका १३९ र सर्पदंशका १०५ वटा घटना भएका छन् । पछिल्लो २४ घण्टामा मात्रै विपद्जन्य घटनामा परेका तीन जनाको मृत्यु भएको पनि उनले बताए । ३२ वटा घटनामा १३ जना घाइते भएका र १७ लाखभन्दा बढीको क्षति भएको पनि प्राधिकरणले जनाएको छ । देशमा मनसुन प्रवेशको चरणमा रहेका बेला कतै बाढी पहिरो र कतै तातो हावाको लहर जारी छ । आज पूर्वी नेपालका विभिन्न जिल्लामा भीषण बाढी आउँदा धेरै क्षेत्र प्रभावित भएको छ ।
बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध
काठमाडौं । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकको म्याग्दी खण्ड अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा शनिबार (आज) साँझ रूख ढलेर ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सम्पर्कविच्छेद भएको हो । सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसोमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधनहरु बीच बाटोमै रोकिएका छन् । स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्रीहरू प्रभावित भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर तिमिल्सिनाले सडक विभागका उपकरण, सुुरक्षाकर्मी र मजदुुर परिचालन गरेर अवरुद्ध सडक खुलाउन पहल भइरहेको जानकारी दिए ।
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय नागरिक पक्राउ
काठमाडौं । नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा दुई जना भारतीय नागरिकलाई पक्राउ गरी शनिबार (आज ) सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भारत देश राजस्थान प्रदेश मागेवास ग्राम पञ्चायत जयपुर जिल्ला बरुणपथ थानाधर ठेगाना भएका २४ वर्षीय छोटुलाल जांगिड तथा भारत राजस्थान प्रदेश सभम विहार मानेवार ग्रामपञ्चाय जयपुर जिल्ला घर भएका २१ वर्षीय देन्वेन्द्रकुमार हरिजन रहेका नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनले भने, “ललितपुर महानगपालिका-१४ खुमलटार बस्ने एक बालिकालाई फकाई भारतको दिल्ली जाने बसको टिकट काट्दै गरेको अवस्थामा पीडित बालिकाको उद्धार गरी उनीहरुलाई पक्राउ गरिएको हो ।” पक्राउ परेका उनीहरू दुवै जनामाथि मानव बेचबिखन ओसारपसारअन्तर्गतमा थप अनुसन्धान कार्य जारी रहेको प्रवक्ता काफ्लेले बताए।
राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालकमा डा. परितोष पौड्याल विजयी
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको बागमती प्रदेश सञ्चालक पदमा डा. परितोष पौड्याल विजयी भएका छन् । आज सम्पन्न निर्वाचनमा आफ्ना प्रतिस्पर्धी रामशरण शर्मा घिमिरेलाई २७५ मतको प्रष्ट अन्तरले पराजित गर्दै डा. पौड्याल सञ्चालक पदमा निर्वाचित भएका हुन् । निर्वाचनमा विजयी डा. पौड्यालले कुल १ हजार ८२७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी शर्माले १ हजार ५५२ मत मात्रै प्राप्त गरे । डा. पौड्यालले अब बैंकलाई अझ बढी सुदृढ र पारदर्शी बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले सहकारी बैंकमार्फत वित्तीय सुशासन प्रवर्द्धन गर्ने र नीतिगत स्थिरता कायम गर्न विशेष पहल गर्ने स्पष्ट पारे । आगामी दिनमा बैंकलाई पूर्ण रूपमा सदस्यमैत्री बनाउने बताउँदै उनले सहकारी अभियानमा आफ्नो तीन दशकभन्दा लामो अनुभव नै आगामी सफल नेतृत्वको मुख्य आधार भएको उल्लेख गरे । प्रारम्भिक सहकारी संस्थादेखि राष्ट्रिय स्तरका विभिन्न संघसंस्थाहरूमा रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका डा. पौड्यालले सहकारी क्षेत्रको वित्तीय व्यवस्थापन, संस्थागत विकास र सदस्य सेवामा व्यापक सुधार ल्याउनु नै आफ्नो प्रमुख प्राथमिकता रहने बताए ।
उद्योगमन्त्री यादवले गरे बन्द हेटौंडा कपडा उद्योगको निरीक्षण
काठमाडौं । सङ्घीय उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले आज हेटौंडा औद्योगिक क्षेत्रभित्र बन्द अवस्थामा रहेको हेटौंडा कपडा उद्योगको निरीक्षण गरेका छन् । मन्त्री यादवले हेटौंडा कपडा उद्योगको प्रशासकीय भवन, धागो उत्पादन कक्ष, कपडा उत्पादन कक्षहरू तथा उपकरणहरूको वर्तमान अवस्थाका बारेमा हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रबन्धक सङ्गीता कुँवरबाट जानकारी लिए । मन्त्री यादवले सरकारले बन्द रहेको हेटौंडा कपडा उद्योग दीर्घकालीन रूपमा सञ्चालन गर्नेगरी आवश्यक स्रोतसाधन परिचालन गर्ने तयारी गरिरहेको सम्बन्धित सरोकारवाला पक्षहरूलाई जानकारी दिए । उक्त उद्योग निरीक्षणका क्रममा मन्त्रालयका सचिव कृष्णबहादुर राउत, उच्च अधिकृतहरू, हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय प्रबन्धक सङ्गीता कुँवर तथा मकवानपुर क्षेत्र नं १ का सांसद प्रकाश गौतम पनि उपस्थित थिए ।
ट्रेड युनियन महासंघले ४ रोपनी जग्गा नगर विकास समितिलाई गर्यो फिर्ता
काठमाडौं । अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकीले लामो समयदेखि उपभोग गर्दै आइरहेको भवनसहित चार रोपनी जग्गा शनिबार (आज) फिर्ता गरेको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा पृथ्वीचोकमा रहेको सार्वजनिक जग्गामा महासङ्घले स्वीकृति लिएर पक्की संरचना बनाएको थियो । पोखरा महानगरपालिका र उपत्यका नगर विकास समितिको सार्वजनिक जग्गा स्वीकृति लिएर वा नलिईकन बनाइएका संरचना खाली गर्नका लागि दिएको ३५ दिने सूचनाको म्याद सकिनु एक दिनअघि महासङ्घले आफूले निर्माण गरेका संरचना बुझाएको हो । ट्रेड युनियन महासङ्घले विसं २०६७ मा करिब एक करोड ५३ लाख रुपैयाँ लागतमा निर्माण भएको १३ कोठे भवनको चाबी आज महासङ्घ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका महानगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेका हुन् । भवनको साँचो बुझ्दै नगर प्रमुख आचार्यले सार्वजनिक तथा सरकारी स्वामित्वमा रहेको जग्गा संरक्षणका सम्बन्धमा यसलाई सुखद सुरुआतका रूपमा उल्लेख गरे । उपत्यका नगर विकास समिति र महानगरपालिकाको अनुरोधलाई समन्वयात्मक ढङ्गले भवनको चाबी बुझाएको महासङ्घप्रति उनले आभार व्यक्त गरे । पोखरा महानगरपालिका सार्वजनिक तथा सरकारी स्वामित्वमा रहेका जग्गाहरूको संरक्षण गर्दै विकास अभियान सञ्चालन गर्ने कार्यमा प्रतिबद्ध रहेको उनले बताए। उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गामा यसरी नै बसोबास वा कार्यालय सञ्चालन गरिरहेका अन्य व्यक्ति वा सङ्घसंस्थाहरुलाई तत्काल खाली गर्न अनुरोध गरे । “पोखरा महानगर सार्वजनिक जमिनको संरक्षण अभियानमा रहेको छ । राज्यका अन्य निकायहरुले समेत सार्वजनिक सम्पत्तिको रक्षाका लागि पटक पटक ताकेता गर्दै आएका छन्,” प्रमुख आचार्यले भने । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पृथ्वीचोक र आसपासको जग्गामा विभिन्न सङ्घसंस्था र व्यक्तिहरूले भोग चलन गर्दै आइरहेका छन् । पोखराको पृथ्वी चोकमा व्यवस्थित बसपार्क निर्माणको प्रक्रिया अगाडि बढेकाले सो क्षेत्रसहित महानगर क्षेत्रभित्रको सार्वजनिक जग्गा खाली गर्न महानगरपालिकाले जारी गरेको ३५ दिने सार्वजनिक सूचनाको म्याद आज सकिँदैछ । महानगरले बसपार्कका संरचना खाली गर्नुअघि त्यहाँ बसोबास गरिरहेका भूमिहीन सुकुमवासीको विवरण सङ्कलन गरेको छ । महानगरका अनुसार शुक्रबारसम्मको विवरण सङ्कलनको समयसीमासम्ममा बसपार्कका ५७५ जनाले नाम दर्ता गराएका छन् ।
मकालुमा पहिराले दुई सय भेडा पुरिए
काठमाडौं । सङ्खुवासभाको मकालु गाउँपालिका-५ माङ्सिमास्थित फोक्टेमा पहिरोले भेडी गोठ पुरिँदा २०० बढी भेडा बेपत्ता भएका छन् । शनिबार (आज) बिहान आएको पहिराले मकालु-५ का स्थानीय दलबहादुर गुरुङको भेडीगोठ बगाउँदा २१८ भेडा पुरिएर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए । वर्षापछि फोक्टे क्षेत्रमा अचानक पहिरो आएको हो । पहिराले स्थानीय दलबहादुरका २५० भेडामध्ये २१८ भेडा पहिरोमा पुरिएर बेपत्ता भएका हुन् । पहिरोमा पुरिएका ३२ भेडा मात्रै जीवित अवस्थामा फेला परेका छन् । बाढीमा परेर भेडा गोठालाको काम गर्दै आएका स्थानीय २० वर्षीय झलक गुरुङ घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । अर्का गोठाला ३० वर्षीय कमल गुरुङ भने सकुशल रहेका छन् । घटनास्थल दुर्गम क्षेत्रमा पर्ने भएकाले उद्धार तथा खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । घटनास्थल नुम प्रहरी चौकीबाट करिब ४० किलोमिटर टाढा र करिब १० घण्टा पैदल दुरीमा पर्दछ । घटनापछि नुम प्रहरी चौकीबाट प्रहरी टोली, स्थानीयवासी उघार तथा खोजी कार्यका लागि घटनास्थलतर्फ गएका छन् ।
ऋण नतिर्दा बैंकहरूको एनबीए ४६.१० अर्ब रुपैयाँ पुग्यो, ७ बैंकले घटाए
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा गैरबैंकिङ सम्पत्ति (एनबीए) ४६ अर्ब रुपैयाँ नाघेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४६ अर्ब १० करोड ७४ लाख रुपैयाँ पुगेको हो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २० प्रतिशत अर्थात् ७ अर्ब ६९ करोड ६० लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्ष २०८१/८२ को चैतसम्म बैंकहरूमा ३८ अर्ब ४१ करोड १४ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति रहेको थियो । तथ्याङ्कअनुसार बैंकहरूमा गैरबैंकिङ सम्पत्ति निरन्तर बढ्दै गएको देखिएको छ। ऋणीहरूले कर्जा चुक्ता गर्न नसकेपछि बैंकहरूले धितो लिलामी गर्नुपर्ने अवस्था आएको छ। तर, लिलामीमा धितो बिक्री हुन नसकेपछि बैंकहरू आफैंले ती सम्पत्ति सकार्न बाध्य भएका हुन् । बैंकहरूका अनुसार गैरबैंकिङ सम्पत्ति वृद्धिमा कर्जा डिफल्टको प्रभाव स्पष्ट देखिएको छ । ऋण असुली हुन नसक्दा त्यस्ता कर्जालाई खराब कर्जा (एनपीएल) मा वर्गीकरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । बैंकिङ क्षेत्रमा गैरबैंकिङ सम्पत्ति बढ्नु सकारात्मक संकेत मानिँदैन । त्यसैले नेपाल राष्ट्र बैंकले निष्क्रिय तथा गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको छ । तर, उक्त कम्पनी सञ्चालनको मोडालिटी र कार्यप्रक्रियाबारे हालसम्म ठोस पहल अघि बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म हिमालयन बैंकमा सबैभन्दा बढी गैरबैंकिङ सम्पत्ति (एनबीए) रहेको छ । बैंकको गैरबैंकिङ सम्पत्ति ६ अर्ब ८ करोड १२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.२३ प्रतिशत अर्थात् ९३ करोड ७७ लाख रुपैयाँले बढी हो। गत वर्ष चैतसम्म बैंकमा ५ अर्ब १४ करोड ३५ लाख रुपैयाँ बराबरको एनबीए रहेको थियो । समीक्षा अवधिमा सबैभन्दा धेरै प्राइम बैंकको गैरबैंकिङ सम्पत्ति वृद्धि भएको देखिन्छ । बैंकको एनबीए १०९.३५ प्रतिशत अर्थात् २ अर्ब ६० करोड ९६ लाख रुपैयाँ ४ अर्ब ९९ करोड ६० लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा बैंकमा २ अर्ब ३८ करोड ६३ लाख रुपैयाँ बराबरको गैरबैंकिङ सम्पत्ति थियो । राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा १२ बैंकको गैरबैंकिङ सम्पत्ति वृद्धि हुँदा ७ बैंकको भने घटेको छ । चालु आवको चैत मसान्तसम्ममा एनएमबि बैंकको ७६.३९ प्रतिशत अर्थात् ८७ करोड ४५ लाख रुपैयाँ बढेर २ अर्ब १ करोड ९१ लाख रुपैयाँ, सिटिजन्स बैंकको ५२.३१ प्रतिशत अर्थात् ५३ करोड ९६ लाख रुपैयाँ बढेर १ अर्ब ५७ करोड १२ लाख रुपैयाँ, नेपाल एसबिआई बैंकको ५२.१९ प्रतिशत अर्थात् ४६करोड ५९ लाख रुपैयाँ बढेर १ अर्ब ३५ करोड ८५ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति रहेको छ । यस्तै, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि)को ४८.५४ प्रतिशत अर्थात् १ अर्ब ५१ करोड २८ लाख रुपैयाँ बढेर ४ अर्ब ६२ करोड ८९ लाख रुपैयाँ, प्रभु बैंकको ४२.४० प्रतिशत अर्थात् ५६करोड ४२ लाख रुपैयाँ बढेर १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको ४१.४० प्रतिशत अर्थात् ७० करोड ८९ लाख रुपैयाँ बढेर २ अर्ब ४२ करोड १४ लाख रुपैयाँ, कृषि विकास बैंकको ३७.६१ प्रतिशत अर्थात् ३७ करोड ९६ लाख रुपैयाँ बढेर १ अर्ब ३८ करोड ८८ लाख रुपैयाँको सम्पत्ति रहेको छ । यस्तै, सानिमा बैंकको २९.७० प्रतिशत अर्थात् २५ करोड ३५ लाख रुपैयाँ बढेर १ अर्ब १० करोड ७१ लाख रुपैयाँ, नेपाल बैंकको १४.४७ प्रतिशत अर्थात् २ करोड ९५ लाख रुपैयाँ बढेर २३ करोड ३६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ७.४१ प्रतिशत अर्थात् ५ करोड ५८ लाख रुपैयाँ बढेर ८१ करोड १ लाख रुपैयाँ बराबरको गैर बैंकिङ सम्पत्ति पुगेको राष्ट्र बैंकको तथ्याङ्क छ । तर, समीक्षा अवधिमा विभिन्न ८ वटा बैंकले भने आफ्नो गैरबैंकिङ सम्पत्ति घटाएका छन् । माछापुच्छ्रे बैंकको ३४.८३ प्रतिशत अर्थात् ३३ करोड ७१ लाख रुपैयाँ घटेर ६३ करोड ७ लाख रुपैयाँ, एभरेष्ट बैंकको १७.२८ प्रतिशत अर्थात् १० करोड ५ लाख रुपैयाँ घटेर ५० करोड ६८ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको ९.१४ प्रतिशत अर्थात् ४१ करोड ९५ लाख रुपैयाँ घटेर ४ अर्ब १६ करोड ८० लाख रुपैयाँमा गैरबैंकिङ सम्पत्ति सीमित राखेका हुन् । यस्तै, नबिल बैंकको ६.६६ प्रतिशत अर्थात् २५ करोड ३१ लाख रुपैयाँ घटेर ३ अर्ब ५४ करोड ६६ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको २.८० प्रतिशत अर्थात् ८९ लाख रुपैयाँ घटेर ३१ करोड ९ लाख रुपैयाँ, कुमारी बैंकको १.३८ प्रतिशत अर्थात् ३ करोड ५१ लाख रुपैयाँ घटेर २ अर्ब ५१ करोड ११ लाख रुपैयाँ र ग्लोबल आइएमई बैंकको १.२६ प्रतिशत अर्थात् ७ करोड ६१ लाख रुपैयाँ घटाएर ५ अर्ब ९२ करोड १८ लाख रुपैयाँमा गैरबैंकिङ झारेका छन् ।