दमौलीमा निर्माणाधीन ४ लेनको पुल वैशाखभित्र सम्पन्न गर्ने, ७४ प्रतिशत प्रगति
काठमाडौं । मुग्लिन-पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन ४ लेनको पुल आगामी वैशाखभित्र सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । व्यास नगरपालिका-४ र ५ मादी नदीमाथि निर्माण भइरहेको पुलमा ७४ प्रतिशत प्रगति भएको मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ । उक्त खण्डका इन्जिनियर एवं सूचना अधिकारी विष्णुप्रसाद पाण्डेले अब २६ प्रतिशतमात्र काम बाँकी रहेको जानकारी दिए । उनका अनुसार पुल निर्माण तीव्र गतिमा अगाडि बढाइएको छ । ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी उक्त पुलको काम सुरु गरिएकामा गत भदौ २१ गते ठेक्काको म्याद सकिएपछि आगामी असार १९ गतेसम्म म्याद थप भएको उनले बताए । सूचना अधिकारी पाण्डेका अनुसार पुल निर्माणका लागि २०७९ साल साउन २६ गते निर्माण कम्पनीसँग सम्झौता भएको थियो । उनले भने, ‘पुल निर्माणको म्याद सकिएपछि पुनः म्याद थपिएको छ । थप भएको म्यादभित्र काम सम्पन्न गर्ने प्रतिबद्धता आएको छ ।’ उक्त पुलमा ७० प्रतिशत वित्तीय प्रगति भएको छ । ३१५ मिटर लामो पुलमा ६ वटा स्पान रहनेछ । पुलको वारिपारि २/२ ‘प्रिस्टेटस् बक्स गडर’ स्पान सम्पन्न भइसकेको छ । उनका अनुसार फाउन्डेसनदेखि सुपर स्ट्रक्चरको काम सकिएको छ । ‘मिडल स्पान २ वटा कङ्क्रिट नेचर आर्क ब्रिज हो । त्यसको काम पनि भइरहेको छ,’ उनले भने । १ अर्ब २१ करोड रुपैयाँ भ्याटसहित लागतमा निर्माण भइरहेको पुल २३ मिटर चौडाइको एउटै मोनोलेथिक स्क्ट्रक्चर भएको यो नेपालकै पहिलो पुल भएको पाण्डेको भनाइ छ । सूचना अधिकारी पाण्डेले मुग्लिन-पोखरा सडकखण्ड अन्तर्गत पूर्वीतर्फ ८८ प्रतिशत प्रगति भएको जानकारी दिए । कालोपत्र सबै सकिएको बताउँदै उनले सडकका अन्तिम चरणका काम मात्र बाँकी रहेको उल्लेख गरे । पुलको पहुँच मार्गको काम भने बल्ल सुरु भएको पाण्डेले बताए । निर्माण कम्पनी व्यवस्थापक दिनेश कुमार श्रेष्ठले निर्धारित मिति अगावै पुल निर्माणको काम सकिने जानकारी दिए । उनका अनुसार असार १९ गतेसम्म म्याद रहे पनि वैशाखमा पुल निर्माणको काम सक्ने गरी काम भइरहेको छ । पुल निर्माणका लागि हाल दैनिक १५० कामदार खटाइएको छ । ६ वटा स्पानमध्ये २/२ स्पानको काम सकिएको र बीचको २ वटा स्पान ६३ मिटरको काम भइरहेको उनले जानकारी दिए । पुलको दायाँबायाँ ५ सय मिटर पहुँच सडक निर्माण गर्न बाँकी रहेको उनले उल्लेख गरे । उनले भने, ‘बायाँतर्फ व्यक्तिका घर परेकाले मुआब्जा दिनुपर्ने र दायाँतर्फ सडक डिभिजन कार्यालयको भवन रहेकाले भवन भत्काएर पहुँच सडक निर्माण गर्नुपर्ने अवस्था छ ।’ पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल ४ लेनको हुनेछ । हाल नदीमाथि रहेको २ लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।
नेकपा एमाले अनुशासन आयोगका पदाधिकारी निर्विरोध निर्वाचित
काठमाडौं । नेकपा एमाले अनुशासन आयोगका पदाधिकारी निर्विरोध निर्वाचित भएको छ । एमाले को ११औँ महाधिवेशनमा अनुशासन आयोगको अध्यक्षमा प्राध्यापक डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरे निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले आयोगका तीनै पदाधिकारीमा एकल उम्मेदवारी परेपछि पहारी, पराजुली र घिमिरे निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । पार्टीभित्र अनुशासन आयोगलाई अत्यन्त महत्वपूर्ण निकायका रूपमा लिइन्छ । आयोगले पार्टीभित्र उत्पन्न हुने विवाद, अनुशासनसम्बन्धी मुद्दा तथा आन्तरिक असहमतिको निरुपण गर्ने जिम्मेवारी वहन गर्छ । नव निर्वाचित नेतृत्वले पार्टीको संगठनात्मक अनुशासन मजबुत बनाउने, आन्तरिक एकता सुदृढ गर्ने तथा विधि र प्रक्रियाको पालना सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।
एमालेको केन्द्रीय सदस्यमा सङ्कर पोखरेलकी बहिनीसहित ४ जना निर्विरोध निर्वाचित
काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा नरेश रोकाया निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी ११ औं महाधिवेशनमा । उनको एकल उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । अनेरास्ववियुमा ३२ बर्षको उमेरहदले बहिर्गमनमा परेका रोकाया एमालेको केन्द्रीय कमिटीमा निर्विरोध हुने पहिलो केन्द्रीय सदस्य बनेका हुन् । रोकाया ४० बर्ष भन्दा तल्लो उमेर समूहको तर्फबाट निर्विरोध निर्वाचित भएको निर्वाचन आयोगले जानकारी दिएको छ । अखिलका पूर्व महासचिव रोकाया विद्यार्थी माझ लोकप्रिय थिए । यस्तै, लुम्बिनी प्रदेशबाट महिलातर्फ केन्द्रीय सदस्यका लागि गुमादेवी आचार्य, मेनका कुमारी पोखरेल र शान्तिदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेशबाट महिलातर्फ तीन जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेकामा सोही सङ्ख्यामा मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् । आचार्य बुटवल उप-महानगरपालिकाकी उपमेययर हुन् । उनी लगातार दुई कार्यकाल उपमेयर निर्वाचित भएकी हुन् । पोखरेल महासचिवका उमेदवार सङ्कर पोखरेलकी बहिनी हुन् ।
एमाले लेखा आयोग अध्यक्षमा कँडेल, उपाध्यक्षमा घिमिरे र सचिवमा खरेल निर्विरोध
काठमाडौं । नेकपा एमाले केन्द्रीय लेखा आयोगको अध्यक्षसहित ३ जना निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा जारी ११ औं महाधिवेशनमा केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्र राज घिमिरे र सचिवमा ईश्वरी प्रसाद खरेल निर्विरोध निर्वाचित भएका हुन् । सम्बन्धित पदमा एकल उम्मेदवारी परेपछि निर्वाचन समितिले उनीहरू निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । धादिङ निवासी कँडेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । पाल्पाका पुराना नेता घिमिरे कुशल सङ्गठक हुन् । कञ्चनपुरका खरेलसँग कन्चनपुर जिल्ला अध्यक्ष तथा महेन्द्रनगर नगरपालिकाका उपमेयरमा काम गरेको समेत अनुभव छ । खरेल यसअघि लेखा आयोगको सदस्य थिए । तीनै जना निर्विरोध भएसँगै लेखा आयोगमा मुख्य तीन पदको चयन प्रक्रिया औपचारिक रूपमा टुंगिएको छ ।
मुद्रास्फीति न्यून, रेमिट्यान्स र सञ्चिति बलियो, यस्तो छ देशको अर्थतन्त्र
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालको अर्थतन्त्र सहज अवस्थामा रहेको देखिएको छ । चालु आवको कात्तिकसम्ममा मुद्रास्फीति न्यून रहेको छ भने रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा उल्लेखनीय वृद्धि भएको छ । तर, व्यापार घाटा र न्यून पुँजीगत खर्च भने चिन्ताको विषय बनेको छ । समग्रमा रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति र न्यून मुद्रास्फीति अर्थतन्त्रका लागि सकारात्मक संकेत मानिन्छन् । तर आयातमा निर्भरता, बढ्दो व्यापार घाटा र कमजोर पुँजीगत खर्चले दीर्घकालीन आर्थिक स्थायित्वमा चुनौती देखिएको छ । खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक कात्तिक महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.११ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ५.६० प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३२ प्रतिशतले ऋणात्मक रहेको छ भने गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ९.१० र ३.६५ प्रतिशत रहेको थियो । चालु आव २०८२/८३ को ४ महिनामा औसत मुद्रास्फीति १.५३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिको औसत मुद्रास्फीति ४.५९ प्रतिशत रहेको थियो । गत कात्तिक महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.२५, गैर-मदिराजन्य पेय पदार्थको ३.६१ र दुग्ध पदार्थ तथा अण्डाको १.९७ प्रतिशतले बढेको छ । तरकारी उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १४.४३, मरमसलाको ७.८५ र दाल तथा गेडागुडीको ५.३६ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १५.१७, शिक्षाको ७.५६, कपडाजन्य तथा जुत्ता चप्पलको ६.२९, सुर्तीजन्य पदार्थको ४.८४ र फर्निसिङ तथा घरायसी उपकरणको ४.५५ प्रतिशतले बढेको छ । बीमा तथा वित्तीय सेवा उप-समूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.२३ प्रतिशतले घटेको छ । त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ०.६६ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.२६ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८०, मधेस प्रदेशको १.७३, बागमतीको ०.८१, गण्डकीको ०.३७, लुम्बिनीको १.२७, कर्णालीको १.०८ र सुदूरपश्चिमको ०.२६ प्रतिशत रहेको छ । काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.१६, तराईको १.२४, पहाडको ०.८८ र हिमालको १.०६ प्रतिशत रहेको छ । वैदेशिक व्यापार चालु आवको चार महिनामा कुल वस्तु निर्यात ७७.५ प्रतिशतले वृद्धि भई ९३ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः ११३.९ प्रतिशत र २.९ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५६.२ प्रतिशतले कमी आएको छ । यस्तै, ४ महिनामा कुल वस्तु आयात १८.७ प्रतिशतले वृद्धि भई ६ खर्ब ९ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ०.२ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २८.५ प्रतिशत र ४८.९ प्रतिशतले वृद्धि भएको छ । कुल वस्तु व्यापार घाटा १२ प्रतिशतले वृद्धि भई ५ खर्ब १५ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ०.३ प्रतिशतले कमी आएको थियो । समीक्षा अवधिमा निर्यात-आयात अनुपात १५.३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.३ प्रतिशत रहेको थियो । ४ महिनामा भित्रियो पौने ७ खर्ब रुपैयाँ रेमिट्यान्स राष्ट्र बैंकका अनुसार चालु आवको ४ महिनामा ६ खर्ब ८७ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । जुन गत वर्षको तुलनामा ३१.४ प्रतिशत बढी हो । कात्तिक महिनामा मात्रै १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकले जनाएको छ । जबकी गत वर्षको कात्तिकमा १ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ४ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८.२ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ७ खर्ब ५४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ खर्ब ६९ अर्ब २९ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार कात्तिकसम्म वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ४५ हजार ९७३ जना र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख २७ हजार ८३७ जना रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ४७ हजार ४७८ जना र ९४ हजार १०५ जना मात्रै थियो । विदेशी मुद्रा सञ्चिति साढे ३० खर्ब रुपैयाँ कात्तिकसम्ममा कुल विदेशी विनिमय सञ्चिति १४.१ प्रतिशत बढेर ३० खर्ब ५५ अर्ब ५२ करोड रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ । जबकि गत असार मसान्तसम्ममा कुल विदेशी मुद्रा सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति १०.३ प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ । २०८२ असारसम्ममा १९ अर्ब ५० करोड अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति रहेको थियो । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा २७ खर्ब २४ अर्ब ६६ करोड रुपैयाँ र बैंक तथा वित्तीय संस्थामा ३ खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ रहेको छ । गत असारसम्ममा राष्ट्र बैंकसँग २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ र बैंकहरुसँग २ खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ विदेशी मुद्रा सञ्चिति थियो । समीक्षा अवधिमा राष्ट्र बैंकमा रहेको मुद्रा सञ्चिति १२.८ प्रतिशत र बैंकमा २५.८ प्रतिशत बढेको हो । कात्तिकको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २०.८ महिनाको वस्तु आयात र १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५०.० प्रतिशत, १४४.९ प्रतिशत र ३७.८ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए । चालु खाता २.७९ खर्ब रुपैयाँ र शोधनान्तर ३.१८ खर्ब रुपैयाँले बचतमा समीक्षा अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४७ अर्ब ७८ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ९९ करोडले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ६ अर्ब २१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ४७ करोड रुपैयाँ रहेको थियो । यसैगरी, समीक्षा अवधिमा २ अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) ५ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो । राष्ट्र बैंकका अनुसार कात्तिकसम्ममा शोधनान्तर स्थिति ३ खर्ब १८ अर्ब ४० करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब ५ अर्ब ८३ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ । सरकारको खर्च कति ? चालु आवको ४ महिनामा सरकारले कुल ४ खर्ब ६८ अर्ब ८८ करोड रुपैयाँ खर्च गरेको छ । समीक्षा अवधिमा चालु खर्च ३ खर्ब २० अर्ब ९९ करोड रुपैयाँ, पुँजीगत खर्च २५ अर्ब ३१ करोड रुपैयाँ र वित्तीय व्यवस्था खर्च १ खर्ब २२ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । साथै ४ महिनामा सरकारले ३ खर्ब २६ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । जसअन्तर्गत कर राजस्व ३ खर्ब ६ अर्ब ८९ करोड रुपैयाँ र गैरकर राजस्व १९ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । कात्तिकसम्ममा राष्ट्र बैंकमा सरकारका विभिन्न खातामा २ खर्ब २ अर्ब ९७ करोड रुपैयाँ (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८२ असार मसान्तमा यस्तो मौज्दात १ खर्ब ३० अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा प्रदेश सरकारहरूको कुल खर्च १ अर्ब ४१ करोड रुपैयाँ र स्रोत परिचालन ६० अर्ब ३६ करोड रुपैयाँ रहेको छ । प्रदेश सरकारहरूको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी ४७ अर्ब ३ करोड रुपैयाँ र प्रदेश सरकारहरूले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व १२ अर्ब ४८ करोड रुपैयाँ रहेको छ ।
बीवाईडी डल्फिन विश्वभर १० लाख बिक्री, नेपाली सडकमा २५ सयभन्दा बढी
काठमाडौं । लोकप्रिय चिनियाँ विद्युतीय सवारीसाधन (ईभी) निर्माता बीवाईडीको डल्फिनले बिक्री १० लाख युनिट पार गर्न सफल भएको छ । योसँगै डल्फिन चिनियाँ अटो बजारमा सबैभन्दा छिटो १० लाख युनिट बिक्री हुने ह्याचब्याक ईभी बन्न सफल भएको छ । विश्व बजारमा जस्तै नेपालमा पनि बीवाईडी डल्फिनको ‘क्रेज’ लोभलाग्दो छ । नेपालका लागि बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका अनुसार हाल नेपालका सडकमा २ हजार ५०० भन्दा बढी डल्फिन गुडिरहेका छन् । सन् २०२३ को सेप्टेम्बरमा नेपालमा सार्वजनिक गरिएको यो गाडी छोटो समयमै सर्वाधिक बिक्री हुने विद्युतीय सवारीको सूचीमा शीर्ष स्थानमा उक्लिएको छ । नेपाली बजारमा ह्याचब्याक सेग्मेन्टको बिक्री सुस्त भइरहेको समयमा डल्फिनको आगमनले उपभोक्ताको रुचि पुनः जागृत गराएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार डल्फिन प्रविधि, मूल्य र डिजाइन तीनवटै पक्षमा अब्बल छ । यसका मुख्य विशेषताहरूमा विवाईडीको अत्याधुनिक ‘ई–प्लेटफर्म ३.०’ मा आधारित यो गाडीमा ७८.२ प्रतिशत ‘हाइ स्ट्रेन्थ स्टिल’ प्रयोग गरिएको छ । जसले नेपाली सडकको जुनसुकै परिस्थितिमा पनि यात्रुलाई उच्च सुरक्षा प्रदान गर्छ । यसमा १२.८ इन्चको रोटेटिङ (घुमाउन मिल्ने) टचस्क्रिन, मोबाइल कनेक्टिभिटी र २७०० मिमीको ह्विलबेससहितको फराकिलो क्याबिन स्पेस रहेको छ । स्मार्ट ड्राइभिङः डल्फिनमा ‘लेभल २ एड्भान्स ड्राइभर एसिस्टेन्ट सिस्टम’ जडान गरिएको छ। यसमा क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ र लेन डिपार्चर असिस्टेन्सजस्ता सुरक्षा फिचरहरू समावेश छन् । बीवाईडीले सन् २०२६ का लागि डल्फिनको नयाँ संस्करणको परीक्षण सुरु गरिसकेको छ। हाल चीनमा परीक्षणको चरणमा रहेको नयाँ मोडलमा डिजाइन र ड्राइभिङ अनुभवमा महत्त्वपूर्ण सुधार हुने अपेक्षा गरिएको छ।
सुहाङले गरे खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा इलामका सुहाङ नेम्वाङले खुला केन्द्रीय सदस्यतर्फ उम्मेदवारी दर्ता गरेका छन् । एमालेका तत्कालीन उपाध्यक्ष सुवास नेम्वाङका छोरा समेत रहेका सुहाङलाई एमाले पंक्तिले आशालाग्दा अनुहारका पमा हेरेको पाइन्छ । सुहाङ इलामका निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत हुन् ।
राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाश श्रेष्ठ नियुक्त
काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको हो । त्यसैगरी, सदस्यमा प्रा.डा. सुनीति श्रेष्ठ नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । यसअघि श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्य थिए । उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुन् ।