विकासन्युज

अन्तत : पृथ्वीमा फर्किए विलमोर र विलियम्स

काठमाडौं । नासाका अन्तरिक्ष यात्री बुच विलमोर र सुनीता विलियम्स पृथ्वी फर्किएका छन् । उनीहरू स्थानीय समयअनुसार मंगलबार बेलुका फ्लोरिडाको टलाहासी तट नजिकै स्पेसएक्स ड्रागन क्याप्सुलमा सफलतापूर्वक अवतरण गरेका हुन्। विलमोर र विलियम्स उनीहरूका सहकर्मी नासा अन्तरिक्ष यात्री निक हेग र रोस्कोसमोसका अन्तरिक्ष यात्री अलेक्जान्द्र गोर्बुनोभसँग पृथ्वीमा फर्किएका हुन् । उनीहरूलाई समुद्रमा अवतरण गरिएको हो । जसलाई ‘स्प्ल्यास डाउन’ भनिन्छ । यो पृथ्वीमा फर्कनको लागि सरल तरिका हो । अन्तरिक्ष यात्रीहरू अब केही दिनको लागि स्वास्थ्य परीक्षणका लागि ह्युस्टनको नासाको जोनसन स्पेस सेन्टर जानेछन्, त्यसपछि मात्र घर जान पाउनेछन् । विलमोर र विलियम्स गत जूनमा पृथ्वीबाट करिब नौ दिनको परीक्षण उडानका लागि प्रस्थान गरेका थिए । तर, बोइङको स्टारलाइनर क्याप्सुलमा समस्या आएपछि उनीहरूको बसाइ लम्बिएको थियो । यस घटनाले क्याप्सुलले उनीहरूलाई सुरक्षित रूपमा पृथ्वीमा ल्याउन सक्ने वा नसक्ने भन्ने चिन्ता बढाएको थियो । अन्ततः नासाले करिब तीन महिना अन्तरिक्ष केन्द्रमा डक भएको क्याप्सुललाई खाली फिर्ता पठाउने निर्णय गर्‍यो ताकि स्पेसक्राफ्टमा देखिएका समस्याहरूको ’खास कारणहरू अझ बुझ्न’ सकियोस् । नासाले विलमोर र विलियम्सलाई स्पेसएक्स ड्रागन स्पेसक्राफ्टमा फर्काउने घोषणा गर्‍यो । यसले नासाको अन्तरिक्ष यात्रीहरूको रोटेशन योजनामा परिवर्तन गरी स्पेसएक्सको क्रू-९ मिसनबाट दुई व्यक्तिलाई हटाएर उनीहरूलाई ठाउँ दिइयो । त्यो क्याप्सुल, जसले क्रू-९ का दुई सदस्यहरूलाई बोकेको थियो, सेप्टेम्बरमा अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसस) मा पुगेको थियो । आईएससमा नयाँ टोली आएपछी अन्तरिक्ष यात्रीहरू पालैपालको काम गर्छन् । नासाले सुरुमा स्पेसएक्सको क्रू-१० मिसनलाई फेब्रुअरीमा प्रक्षेपण गर्ने योजना बनाएको थियो, तर त्यसमा करिब एक महिना ढिलाइ भयो । चार नयाँ टोलीका सदस्यहरू बोकेको रकेट शुक्रबार बेलुकी प्रक्षेपण गरियो र त्यसको क्याप्सुल २९ घण्टापछि अन्तरिक्ष केन्द्रमा डक गरियो । स्टारलाइनर क्रू फ्लाइट टेस्ट बोइङका लागि अन्तिम परीक्षण थियो, जसले नासालाई आईएससतर्फ पालैपालो दुई कम्पनी– बोइङ र एलन मस्कको स्पेसएक्स पठाउने आफ्नो सपना पूरा गर्न सक्थ्यो । तर, अब बोइङको भविष्यमा मानवयुक्त अन्तरिक्ष योजनाहरू के हुने हुन्, त्यो स्पष्ट छैन । कम्पनीले आफ्नो स्टारलाइनर स्पेसक्राफ्टमा २ अर्ब डलरभन्दा बढी घाटा बेहोरेको छ । नासा अधिकारीहरूले स्टारलाइनरले अझ धेरै परीक्षण गर्नुपर्ने बताएका छन् । साथै यसको अर्को उडान बिना चालक दलको हुन सक्ने सम्भावना पनि उनीहरूले खुलाएका छन् । विलमोर र विलियम्सको यात्रा राजनीतिक मामिलामा पनि उल्झियो, जब राष्ट्रपति डोनाल्ड ट्रम्पले पद सम्हाले । राष्ट्रपति ट्रम्पका निकट सल्लाहकार मस्कले क्रू-१० को छिटो प्रक्षेपणका लागि दबाब दिनुका साथै दुई अन्तरिक्ष यात्रीहरूलाई ‘अन्तरिक्ष केन्द्रमा फँसाइएको’ आरोप लगाए । बाइडेन प्रशासनले तिनीहरूलाई त्यहाँ राजनीतिक कारणले राखेको उनको दावी थियो । गत वर्ष मस्कले यी अन्तरिक्ष यात्रीहरूलाई चाँडै फर्काउने प्रस्ताव राखेको तर बाइडेन प्रशासनले अस्वीकार गरेको उनको आरोप थियो । ‘उनीहरूलाई राजनीतिक कारणले त्यहाँ छोडियो, जुन राम्रो होइन,’ मस्कले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर्वार्तामा भनेका थिए। प्यारासुटमार्फत क्याप्सुललाई ल्यान्ड गरिँदै । तस्बिर : नासा नासाले क्रू-१० को प्रक्षेपण डिसेम्बरमा ढिलाइ गरेको थियो ताकि नयाँ ड्रागन क्याप्सुल तयार गर्न समय मिलोस् । तर, प्रतीक्षा समय घटाउन नासाले पुनः प्रयोग गर्न सकिने क्याप्सुल प्रयोग गर्ने निर्णय गर्‍यो । अगस्टमा नासाले घोषणा गरेको योजनाअनुसार नै यी दुई अन्तरिक्ष यात्रीहरूलाई फर्काउने तयारी भएको हो । पानीमा ल्यान्ड भएको क्याप्सुल । तस्बिर : नासा आफ्नो लम्बिएको बसाइमा विलमोर र विलियम्स सामान्य रोटेशनको हिस्सा बने जहाँ अन्य अन्तरिक्ष यात्री झैं वैज्ञानिक प्रयोगहरू र नियमित मर्मत कार्यहरू गरे । विलियम्सले एउटा स्पेसवाक (अन्तरिक्षमा हिँडाइ) पनि गरिन् । विलियम्सले बारम्बार आईएससमा आफूहरूलाई ‘त्यागिएको’ महसुस नभएको बताएकी थिइन् । तर उनले आफ्नो परिवार र आफ्ना दुई कुकुरहरू भेट्न उत्साहित भएको उल्लेख गरेकी थिइन् ।

नवनियुक्त आवासीय राजदूत नेपालीले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् । त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको  उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

बरामद भएको २५ करोड अवैध मुद्राबारे उच्चस्तरीय छानविन समिति गठन गर्न माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काठमाडौंबाट बरामद भएको २५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्राका बारेमा छानविन गर्र्न उच्चस्तरीय समिति गठन गर्न माग गरेका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले मुलुकमा आर्थिक अपराध मौलाउदै गएकोप्रति समेत चिन्ता व्यक्त गरे । उनले यस्तो अपराध उच्च तहको संलग्नताबिना सम्भव नहुने भन्दै आवश्यक अनुसन्धान गर्न माग गरे । उनले घटनाको छानविन गरि संलग्न जोसुकै भएपनि कानूनी दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए । उनले भने, ‘यस्ता प्रकृतिका घटनामा भरिया र ड्राइभरमात्र पक्राउ पर्दछन् । केही समय ठूलाठूला समाचार बन्दछन् र निश्चित समयपछि सामान्य रुपमा जाने गरेको छ । हाम्रो दलको तर्फबाट, यो घटनाको लागि छानविन गर्न एउटा विशेष छानविन समिति गठन गरियोस् र यो घटनामा संलग्न उच्च तहका नेता एवं कर्मचारी भएपनि कानूनी दायरामा ल्याउन माग गर्दछु । ’ काठमाडौं प्रहरीले करिव २५ करोड नगदसहित दुई जनालाई पक्राउ गरेको थियो । अमेरिकी डलर र युरोसहित दुईजनालाई पक्राउ गरी मंगलवार सार्वजनिक गरिएको छ ।

औद्योगिक प्रर्दशनीसहित महासंघको अधिवेशन तयारी पुरा, प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो महाधिवेशन सहितको औद्योगिक प्रदर्शनीको तयारी पुरा गरेको छ । औद्योगिक प्रवद्र्धनका लागि महासंघले पहिलो पटक औद्योगिक प्रदर्शनी सहितको महाधिवेशन गर्न लागेको र त्यसको तयारी पुरा भएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । महासंघले आगामी चैत ८ र ९ गते आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन गर्दै छ । उक्त महाधिवेशन सहितको औद्योगिक प्रदर्शनीको प्रमुख अतिथि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । अहिलेको विषम परिस्थितीमा देशमा औद्योगिक वातावरण निर्माण गर्दै उद्योगी व्यवसायीको हितमा काम गर्ने उद्देश्य लिएर अधिवेशन गर्न लागिएको समेत संयोजक सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार महासंघले बबरमहलस्थित कार्की बैंकेटलमा देशभरका करिव ३ हजार उद्योगी व्यवसायीको सहभागितामा निर्वाचन सहितको महाधिवेशन गर्ने भएको छ । यसैगरी महासंघले देश भित्र रहेका लघु घरेलु, साना मझौलादेखि ठूला उद्योगबाट उत्पादित बस्तुहरुको बजाररिकरण गर्नका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । ‘लामो समयको आर्थिक मन्दीको कारण अहिले उद्योगी व्यवसायीको मनोवल खस्किदो अवस्थामा छ,’ उनले भने, ‘औद्योगिक वातावरण निर्माण गर्दै देशभित्र आर्थिक गतिविधी चलायमान बनाउनका लागि औद्योगिक प्रदर्शनी गर्न लागिएको हो ।’ महासंघले अधिवेशनको अबसरमा देशभरका उद्योगी व्यवसायी उपस्थित गराई उनीहरुले उत्पादन गरेको वस्तुहरुलाई प्रदर्शनीमा राख्ने छ । साथै उक्त स्थललाई वस्तु उत्पादक र खरिदकर्ताको जमघट स्थल बनाईने समेत उनले जानकारी दिए । उक्त प्रदर्शनीमा देशभरका ३ हजारभन्दा बढी उद्योगी व्यवसायीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका साना मझौला किसानदेखि ठूला उद्योगी व्यवसायीले उत्पादन गरेका वस्तुहरु रहेन उक्त मेला उपसमितिका संयोजक गोपाल खनालले जानकारी दिए । ‘हामीले मेलामा साना, घलुघरेलु देखि मझौला र ठूला गरी करिव १ सय स्टलहरु राख्दैछौं,’ उनले भने, ‘जहाँ कर्णालीमा पाईने जिम्बु, यार्चा, सिलाजित देखि पूर्वको छुर्पी, अलैची देखि चियाकफी सम्म रहने छ ।’

ग्लोबल मनी विकको अवसरमा राष्ट्रिय वाणिज्य बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्लोबल मनी विकको अवसरमा देशभर २९४ शाखामार्फत १० हजारभन्दा बढी नागरिकलाई वित्तीय साक्षरतासम्बन्धी प्रशिक्षण प्रदान गरिरहेको छ। बैंकले चैत ४ देखि १० गतेसम्म ‘Think before you follow, wise money tomorrow’ नारासहित वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरिरहेको छ । सातै प्रदेशमा रहेका शाखा कार्यालयमार्फत विद्यार्थी, कर्मचारी, मजदुर, कृषक लगायतलाई डिजिटल बैंकिङ, बचत, कर्जाको सदुपयोग, साइबर सुरक्षा, तथा वित्तीय कारोबारका फाइदाबारे सचेतना दिने कार्य भइरहेको छ। यस अभियान अन्तर्गत, बैंकले क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ, इन्टरनेट बैंकिङ, ओटीपी, रेमिट्यान्स कारोबार जस्ता सेवाबारे नागरिकहरूलाई जानकारी गराइरहेको छ। साथै, वित्तीय सचेतनामूलक अन्तरक्रिया, सामाजिक सञ्जालमार्फत श्रव्यदृष्य सामग्री प्रसारण, तथा वित्तीय साक्षरता कार्यक्रम समेत नियमित रूपमा सञ्चालन गर्दै आएको बैंकले जनाएको छ । सन् २०१२ देखि १७६ भन्दा बढी मुलुकमा मनाइँदै आएको ग्लोबल मनी विक मुख्यतः किशोर-किशोरी तथा युवा-युवतीमा वित्तीय शिक्षाको महत्वबारे जागरूकता फैलाउने उद्देश्यले सञ्चालन गरिएको विश्वव्यापी अभियान हो । राष्ट्रिय वाणिज्य बैंकले यस अभियानलाई नेपालभर विस्तार गर्दै वित्तीय साक्षरताको पहुँच बढाउने लक्ष्य लिएको छ ।

आर्थिक मन्दीले पर्वतमा १३३ उद्योगको दर्ता खारेज

फाइल फोटो पर्वत । मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव, बढ्दो पलायनदरलगायत प्रभाव पर्वतका उद्योग व्यवसामा प्रत्यक्ष रूपमा परेको छ । पर्वतमा चालु आर्थिक वर्षको पहिलो छ महिनामा एक सय ३३ उद्योगको दर्ता खारेज गरिएको छ । आर्थिक वर्ष २०८०/८१ मा दुई सय ३६ उद्योग बन्द भएकामा चालु आवको छ महिनामा ती उद्योगको दर्ता खारेज गरिएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । कार्यालयमा यस वर्ष दर्ता भएका उद्योग व्यवसायको तुलनामा बन्द हुने उद्योग व्यवसायको सङ्ख्या उल्लेख्य छ ।  चालु आवमा कार्यालयमा ९९ उद्योग दर्ता भएका छन् । जसमध्ये ४९ उद्योग र ५० वटा वाणिज्य फर्म दर्ता भएको कार्यालय प्रमुख पोषनाथ शर्माले जानकारी दिए । खारेज हुनेमा ६४ उद्योग र ६९ वाणिज्य फर्म छन् । दैनिकजसो उद्योग दर्ता गर्नेभन्दा बन्द गर्न आउने सेवाग्राहीको सङ्ख्या बढ्दै गएको उनले बताए । त्यसैगरी, आव २०८०/८१ को अन्त्यमा तीन हजार चार सय १३ उद्योग रहेकामा अहिले घटेर तीन हजार तीन सय ९० पुगेका छन् भने तीन हजार दुई सय ४७ वाणिज्य फर्म कायम रहेकामा अहिले तीन हजार एक सय ३५ उद्योग रहेको कार्यालय प्रमुख शर्माले बताए । छ महिनामा एक सय ३५ वटा उद्योग व्यवसायको सङ्ख्या कम भएको हो । मुलुकमा देखिएको आर्थिक मन्दी, युवा शक्तिको बढ्दो पलायन, आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्नु, बजार अभावलगायत कारण उद्योग विस्थापित हुने क्रम बढेको कार्यालय प्रमुख शर्माले बताए । उद्योग व्यवसाय छाडेर विदेश जान थालेपछि बजार क्षेत्रका २० प्रतिशत सटर खाली भएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुरबी पौडेलले बताए । व्यापार व्यवसायमा परेको मन्दीले उद्योगी, व्यवसायी पलायन हुने क्रम बढेको उनको भनाइ छ । लाखौं रुपैयाँ लगानी गरेर उद्योग व्यवसाय सञ्चालन गरे पनि पर्याप्त आम्दानी हुन नसकेपछि उद्योग तथा व्यवसायी नै विस्थापित हुनुपरेको उनको भनाइ छ । कोरोना सङ्क्रमणपछि दर्ता हुने उद्योगको तुलनामा खारेज हुने क्रम उल्लेख्य मात्रामा छन् । सरकारबाट बेरोजगारी समस्यालाई समधानका लागि उद्योग व्यवसायीलाई प्रोत्साहन कार्यक्रम आउन थालेपछि उद्योग दर्ता प्रक्रिया बढ्दै गएको भए पनि सोही अनुपातमा बन्द गर्ने क्रम पनि नरोकिएको अध्यक्ष पौडेलले बताए । कृषि, पशुपक्षी फार्म, फलफूलखेती, गाईपालन, भैँसीपालन, होमस्टे, व्यावसायिक बाख्रापालनलगायत अन्य घरेलु उत्पादनका उद्योग दर्ता गर्ने बढ्दै गएको छ । वैदेशिक रोजगारीमा जाने विद्यार्थीका लागि स्वदेशमा नै उद्यम गरेको प्रमाण देखाउनुपर्ने भएकाले पनि उद्योग दर्ता बढेको हुनसक्ने बताइएको छ । वाणिज्य फर्मतर्फ भने दर्ताको सङ्ख्यासँगै फर्म बन्दको सङ्ख्य पनि उच्च छ । कतिपय देशमा बैंक मौज्दात ग्यारेण्टी देखाउनुपर्ने र उक्त मौज्दात देखाउँदा फर्म वा कम्पनीको नाममा देखाउनुपर्दछ । यसका लागि पर्यटन तथा उद्योग कार्यालय वा स्थानीय तहमा फर्म वा उद्योग दर्ता भएको प्रमाणपत्र आवश्यक पर्नेहरूले दर्ता गरे पनि व्यावसायिक दृष्टिकोणले गर्नेहरू न्यून रहेको देखिएको छ । पछिल्लो समय उद्योग व्यवसाय दर्ता प्रक्रिया पर्यटन तथा उद्योग कार्यालयसँगै स्थानीय तहबाट पनि हुन थालेको छ । दुवै निकायबाट उद्योग दर्ता हुने गरेपछि व्यवसायीहरू कहाँबाट दर्ता गर्ने भन्ने विषयमा अलमल पर्न थालेका छन् । पर्यटन तथा उद्योग कार्यालयले चालु आवमा २८ लाख ६६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयमार्फत यस वर्ष ४२ पर्यटन पूर्वाधारका योजना निर्माण भइरहेका छन् । अहिलेसम्म ३६ वटा योजना सम्झौता भइसकेको र छवटा सम्झौता हुन बाँकी रहेको कार्यालयले जनाएको छ । रासस

बैंकमा पैसा थुप्रियो, २५ अर्ब तरलता तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत बुधबार २५ अर्ब रुपैयाँ बराबर तरलता खिच्न लागेको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरण बोलकबोल मार्फत तरलता खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१/८२ सुरुवातबाट नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएको राष्ट्र बैंकले निक्षेप संकलन उपकरण बोलकबोल मार्फत पनि तरलता खिचिरहेको छ । आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको सावाँ–ब्याज आगामी २७ चैतमा भुक्तानी हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । बोल गर्न सकिने रकम न्यूनतम १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म हुनेछ । बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको १ लाख ७६ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ७६ हजार रुपैयाँ कायम भएको जनाएको छ । मंगलबार सुन प्रतितोला १ लाख ७५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य बढेपनि बुधबार चाँदी भने सस्तिएको छ । चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर २ हजार ४५ रुपैयाँ प्रतितोला कायम भएको छ ।