विकासन्युज

आज देशका अधिकांश भागमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान महाशाखाले पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिक बदली हुनेछ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने हुँदा सतर्कता अपनाउन विभागले सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

‘बाहिरबाट राम्रो देखिए पनि प्राधिकरण संकटमा छ, डेडिकेडेट र ट्रंक लाइनको विवाद समाधान गर्छु’

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यले बाहिरिबाट हेर्दा विद्युत प्राधिकरण राम्रो भएको देखिएपनि भित्रि रूपमा भने संकटमा रहेको धारणा राखेका छन् । मंगलबार साँझ कार्यालय पुगेर पदभार ग्रहण गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘बाहिरिबाट हेर्दा धेरैले प्राधिकरणको प्रंशसा गरेका छन् । नाफा बढेको भनेर वाहीवाही गरिरहेका छन् । वास्तविक अवस्था त्यस्तो छैन । विद्युत प्राधिकरणका कर्मचारीहरूले संकटमा रहेको भनिरहेका छन्,’ उनले भने । यस्तै, उनले वर्तमान ट्रंक र डेडिकेटेड लाइन बक्यौता विवाद आफ्नो नेतृत्वमा समाधान गर्ने बताएका छन् । छानविन समितिले दिएको सुझावका आधारमा सो समस्याको निष्पक्ष समाधान गर्ने उनको भनाइ छ । आफूले यसलाई अवसरका रुपमा लिएको उनले बताए । साथै, उनले अबको चुनौति लोडसेडिङ नभई विश्वसनीय विद्युत सेवा दिनुपर्ने रहेको धारणा राखे । अदालतले दिन नसकेको न्याय सरकारबाट पाएको उनको भनाइ छ । ‘मेरो नियुक्ति अवसरका रुपमा लिएको छु । पहिलाको अवसर बिचमा टुटेको थियो । उर्जाको हिसाबले देश संकटपूर्ण छ । बाहिरिबाट हेर्दा सबै राम्रो देखिएपनि आन्तरिक रुपमा भने चुनौति छ,’ उनले भने ।

सबै नेपालीका पूर्खाले लडेर यो देश बनाएको हो, अबको युुगमा राजतन्त्र फर्कँदैन: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको युग व्यक्तिलाई नायक मान्ने राजतन्त्रात्मक व्यवस्थामा फर्कन नसक्ने भएकाले त्यस्तो भ्रममा कोही पर्न नहुने बताएका छन् । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १५औँ स्मृति दिवसका अवसरमा कांग्रेस नेत्री सुजाता कोइरालाद्वारा लिखित ‘म र मेरो सानो बुबा’ (आत्मकथा)को आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले कुनै एक व्यक्ति वा उसको खान्दानलाई संस्था मानेर हिँड्नु पछौटेपन र सामन्तवादी सोच भएको उल्लेख गरे । ‘सबै नेपालीका पूर्खाले लडेर यो देश बनाएको हो, कुनै एकजना व्यक्तिले बनाएको होइन, कसैले नायकत्व दिएको होला फरक त्यत्ति मात्रै हो,’ प्रधानमन्त्रीले भने, ‘अबको युग त्यसमा फर्कन सक्दैन, त्यस्तो भ्रमका पछाडि कोही नपर्दा हुन्छ ।’ प्रधानमन्त्री ओलीले सबैका विचार फरक भए पनि देश बनाउने साझा गन्तव्य एउटै हुनुपर्नेमा जोड दिँदै देश र जनताको हितको सबैले इमान्दारीका साथ काम गर्नुपर्नेमा जोड दिए । उनले लोकार्पित आत्मकथाबाट पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेत्री सुजता कोइरालाको जीवनका विषयमा धेरै जान्न सकिने उल्लेख गरे । समारोहमा कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालासँग आफ्नो उतारचडावको सम्बन्ध रहेको स्मरण गरे । कांग्रेसका नेता डा.शेखर कोइरालाले माओवादीको जनयुद्धपछि देशलाई शान्ति प्रक्रियामा ल्ययाउनका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसादले पुर्‍याएको योदानको चर्चा गरे ।

सडक, सञ्जाल र सदनसम्म कुलमान

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेपछि देश कुलमानमय बनेको छ । विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा सरकारको आलोचना गर्नेदेखि सडकमा आन्दोलन र संसदमा विरोध गर्ने काम मंगलबार भयो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेर पूर्व कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई प्राधिकरणको नेतृत्व सम्पेपछि यतिखरे प्रधानमन्त्री केपी शर्मा ओली, उर्जामन्त्री दिपक खड्कासँगै सिंगो नेकपा एमाले र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसको पनि विरोध भइरहेको छ । सोमबारदेखि नै सामाजिक सञ्जालमा सरकारको विरोध भइरहेको छ । मंगलबार बिहानैदेखि स्वतन्त्र युवाहरुदेखि राजनीतिक दलका कार्यकता तथा भातृ संगठनले पनि सरकारको चर्को आलोचना गर्दै उनको बर्खास्ती खारेज गर्न माग गरे । सामाजिक सञ्जालसँगै मंगलबार दिनभर माइती मण्डला तनावग्रस्त बन्यो । कुलमानका समर्थकहरुले माइतीघर मण्डलामा सरकारविरुद्द नारावाजी मात्रै गरेनन्, सुरक्षाकर्मीसँग झडप हुनेसम्मका अवस्था सिर्जना भयो । सरकारको यो निर्णयको नेपाली काँग्रेसकै महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खुलेरै आलोचना मात्रै गरेनन्, सरकार उल्टो बाटोमा हिडिरहेको भन्दै सच्चिन माग गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले पनि सोमबार राति नै सरकारको यो निर्णयको विरोध गरे । मंगलबार माओवादी केन्द्र र रास्वपाले विज्ञप्ति नै जारी गरेर कुलमानलाई हटाउने निर्णय सच्याउन माग गरेको छ । माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त भएको जनाएका छन् । (रास्वपाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णयलाई ‘कायरताभित्रको दम्भ’ भनेर निन्दा गरेको छ । उसो त प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका केही सांसदहरुले पनि मंगलबार सरकारको निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् । सत्तारुढ कांग्रेसका सांसद रामकृष्ण यादवले घिसिङलाई हटाउने निर्णयमा पुनर्विचार गर्नका लागि सार्वजनिक लेखा समितिले प्रधानमन्त्रीलाई पत्र पठाउनुपर्ने माग गरे । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद यादवले भने, ‘कुलमानलाई पदबाट नहटाउनुपर्ने थियो, लेखा समितिका तर्फबाट प्रधानमन्त्रीलाई उक्त निर्णयमा पुनर्विचार गर्न पत्र पठाउनुपर्छ,’ उनले भने । बैठकमा माओवादी सांसद अमनलाल मोदीले पनि कुलमान बर्खास्त गरेको भन्दै आपत्ति जनाए । उनले सरकारले बिचौलियाको काम गरिरहेको आरोप पनि लगाए । यस्तै, सोही बैठकमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले ले कुलमानमाथि सरकारले गरेको निर्णय वाहियात भएको धारणा राखे । उनले कुलमानलाई हटाउने देशको दुर्भाग्य भएको पनि धारणा राखे । उनले सरकारलाई निर्णय सच्याउन पनि सुझाव दिए । प्रदेशको संसदमा पनि विरोध सरकारले कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा प्रदेश संसदमा पनि विरोध भएको छ । मंगलबार गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले संसद्मै कालो चस्मा लगाएर सरकारको विरोध गरे । उनले लोडसेडिङमुक्त नेपालका नायकलाई कारबाही गरेको भन्दै सरकारको आलोचना पनि गरे । यस्तै, घिसिङलाई सरकारले हटाएको विषयले कर्णाली प्रदेश सभामा पनि प्रवेश पाएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको धारणा राखे । उनले यो सरकारको राष्ट्र सेवक र जनतामाथि गरेको अन्याय भएको टिप्पणी गरे । सरकार भन्छ : यो सामान्य हो सरकारले भने यो विरोध र आलोचना सामान्य भएको धारणा राखेको छ । मंगलबार सरकारको औपचारिक निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विरोध र प्रदर्शन सामान्य भएको टीप्पणी गरे । सरकारले गरेका निर्णयमा असहमति जनाउने अधिकार सबैमा रहेको बताउँदै उनले यो निर्णयलाई सरकारले अन्यथा नलिएको पनि बताएका छन् । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वर्तमान सरकारले इमानदारिताका साथ काम गरेको बताउँदै विरोध नगर्न आग्रह गरेका छन् । मंगलबार एक सार्वजनिक कार्यक्रमा बोल्दै उनले घिसिङलाई हटाएको विषयलाई ‘तिललाई पहाड’ बनाउने काम भइरहेको धारणा राखे ।

वृज हिमालयन स्प्रिङ र एनएमबि क्यापिटल लिमिटेडबीच सम्झौता

काठमाडौं । वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले नेपालको अग्रणी मर्चेन्ट बैंक एनएमबि क्यापिटल लिमिटेडसँग संस्थागत परामर्श कार्यका निम्ति संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको छ । कम्पनीका अनुसार एनएमबी क्यापिटलको संस्थागत परामर्श सेवाहरू जस्तै पूँजी पुनः संरचना तथा वित्तीय परामर्श सेवा लगायत विभिन्न रणनीतिक साझेदार भित्र्याउने सिलसिलामा चाहिने परामर्श सेवा कम्पनीलाई दिई व्यवसायलाई थप विस्तार र सुदृढ गर्न सहयोगी भूमिका निर्वाह गर्ने जनाइएको छ । यस यात्रामा एनएमबी क्यापिटल लिमिटेडले वित्तीय परामर्श र कम्पनीको विकासका लागि आवश्यक पूँजी पुनः संरचनामा सहयोग गर्नेछ । हाल यस कम्पनीले पूर्ण ब्राण्डमा १ लि, ५०० एमएल, २५० एमएलको बोतलमा मिनरल पानी तथा २० लिको जारमा शुद्ध प्रशोधित पानी उत्पादन गरिरहेको छ । ‘एनएमबि क्यापिटल लिमिटेडलाई हाम्रो वित्तीय परामर्श साझेदारको रूपमा पाएर हामी अत्यन्तै खुसी छौं । केडिया अर्गनाइजेसन अन्तर्गतको हाम्रो यो नयाँ परियोजनालाई अझ अगाडि बढाउन र विकास गर्न उहाँहरूको अनुभव र ज्ञान महत्वपूर्ण हुनेछ । यो सहकार्य हाम्रा सरोकारवालाहरूलाई उच्च प्रतिफल प्रदान गर्न हामी प्रतिबद्ध भएको प्रमाण समेत हो,’ वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक सत्यम केडियाले यस सहकार्यबारे आफ्नो धारणा राखे । एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीई‌ओ) दिपेशकुमार वैद्यले यस सहकार्यप्रति उत्साह व्यक्त गरे । ‘वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडसँगको सहकार्यले उत्पादन क्षेत्रमा नयाँ उद्यमहरूलाई सहयोग गर्ने एनएमबि क्यापिटलको लक्ष्य अनुसारनै कार्य गर्न अवसर पाएकोमा उत्साहित छौं । हामी वृजहिमालयन स्प्रिङ प्राइभेट लिमिटेडको वृद्धि र विकासको योजनालाई सफल पार्न सहयोग गर्ने छौं,’ उनले भने । केडिया अर्गनाइजेसनको नयाँ परियोजनाको रूपमा वृज हिमालयन स्प्रिङ प्राइभेट लिमिटेडले पिउने पानी उद्योगमा नयाँ पहिचान बनाउने लक्ष्य लिएको छ । मनोज केडियाको नेतृत्वमा रहेको केडिया अर्गनाइजेसनले विगतमा वित्तीय, बीमा, उत्पादनमूलक उद्योग ( सिद्वार्थ बैंक, सिद्वार्थ प्रिमियर इन्स्र्योरेन्स लि, सिद्वार्थ क्यापिटल लि, सानिमा रिलायन्स लाइफ इन्स्र्योरेन्स, अवसर इक्विटी, वृज सिमेन्ट, श्री स्टीलस, अर्घाखाँची सिमेन्ट, वृज एडिटिभ्स, वृज ग्लास, एसिएन कंक्रिटो) सहित विभिन्न व्यावसायहरु सफलतापूर्वक सञ्चालन गरी सेयरधनीहरुलाई उच्चतम प्रतिफल प्रदान गर्न सफल रहेको छ ।

गलेश्वर आश्रमको क्यालेन्डर सार्वजनिक

पोखरा । नेपालकै पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रमले सम्पूर्ण तिथि, पर्व र शुभ महुर्तबारे जानकारी दिने गरी २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) सार्वजनिक गरेको छ । गलेश्वर धामका पीठाधीश अनन्तश्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराजले मंगलबार पोखराको रामघाटस्थित गीता मन्दिरमा आयोजित एक विशेष कार्यक्रममा भित्तेपात्रो सार्वजनिक गरेका हुन् । कार्यक्रममा बोल्दै स्वामी महाराजले उक्त भित्तेपात्रो अग्नि, रुद्री, विवाह, ब्रतबन्ध, पास्नी जस्ता शुभकार्य लगायत व्यापार व्यवसाय सुरु गर्ने/खोल्ने, गृह निर्माण, गृह प्रवेश जस्ता शुभ मुहुर्तदेखि लिएर सम्पूर्ण तिथिमिति सर्वसाधारणले समेत सजिलै छुट्ट्याउन सक्ने गरी तयार गरिएको बताए । उक्त भित्तेपात्रो कुन दिन, कुन तिथि कति घडी र कति पलासम्म कायम छ भन्ने कुरा पनि सजिलै छुट्टयाउन सकिने गरी तयार गरिएको छ । पवित्र तीर्थस्थल गलेश्वर आश्रमको महिमा झल्काउने खालका तस्बिरहरु भित्तेपात्रोमा समावेश गरिएको छ । गलेश्वर आश्रमको स्थापना अष्टाङ्ग योगसिद्ध योगीराज ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा)ले करीब ६ दशकअघि गरेका हुन् । गलेश्वर बाबाले आफ्नो धर्म, संस्कृति र संस्कारलाई चीरकालपर्यन्त कायम राख्न २०२३ सालमा स्थापना गरेका वेद–वेदाङ्ग विद्यालय आश्रमअन्तर्गत नै सञ्चालन गरिरहेको छ । आश्रमले धाममा बसोबास गर्ने साधक सन्त तथा तिर्थालुका लागि भोजन र बसोबास सहज बनाउने हेतुले अन्न क्षेत्र पनि नियमित रुपमा सञ्चालन गरिरहेको छ । आश्रमले घरबारविहीन तथा परिवारबाट परित्यक्त वृद्ध–वृद्धाको कल्याणलाई ध्यानमा राखी सहज र सुन्दर कल्पवास निर्माण गरेको छ । आश्रमले पवित्र देवघाटधाममा बसोबास गर्ने साधक एवं वृद्धवृद्धाको स्वास्थ्य उपचारको लागि धर्मार्थ अस्पताल र एक हजार हाराहारीलाई सजिलै बास बस्न पुग्ने अतिथिगृह पनि सञ्चालन गरिरहेको छ । अतिथिगृहमा निःशुल्क भोजन र बसोबास गर्न पाइन्छ । अस्पतालले बिरामीलाई स्वास्थ्य जाँच र औषधि निःशुल्क उपलब्ध गराउँदै आएको छ । आश्रमले तिथिअनुसारका धार्मिक अनुष्ठानहरु पनि नियमित रुपमा सञ्चालन गर्दै आएको छ ।

माछापुच्छ्रे क्यापिटललाई धितोपत्र बोर्डबाट निष्कासन तथा सेयर रजिष्ट्रार सेवा प्रदान गर्ने अनुमति

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट निष्कासन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको रूपमा सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको छ। यस अनुमति पश्चात कम्पनीले प्राथमिक सार्वजनिक निष्कासन, हकप्रद सेयर, ऋणपत्र तथा अन्य धितोपत्रहरूको निष्कासन, बिक्री तथा वितरण प्रक्रिया व्यवस्थापन गर्न सक्नेछ । साथै कम्पनीले सेयर रजिष्ट्रारको रुपमा सेयरधनीहरुको विवरण व्यवस्थापन, लाभांश वितरण, स्वामित्व हस्तान्तरण लगायतका थप सेवा प्रदान गर्न सक्नेछ ।

कुलमान हटाउने विषयमा सरकारलाई उद्योगीको साथ, ‘मौन सन्तोष प्रकट’

काठमाडौं । सरकारले सोमबार राति नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटायो । सरकारले ८ महिनाको ठूलो दौउधूप गरी मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरी घिसिङलाई हटाइएको हो । देशभर घिसिङ उज्यालोको नायकको रूपमा परिचित छन् । लोडसेडिङ हटाउन उनले महत्तपूर्ण भूमिका खेलेका थिए । घिसिङको कार्यकाल सकिन करिब चार महिना मात्रै बाँकी रहँदा सरकारले सुटुक्क उनलाई पदबाट हटाएको हो । उनलाई हटाएको विषयले अहिले सामाजिक सञ्जाल निकै तातिएको छ । सरकारको चौतर्फी आलोचना भइरहेको छ । कुलमानलाई जसरी पनि पदबाट हटाउनुपर्ने पक्षमा केही उद्योगी पनि थिए । ट्रंक लाइन र डेडिकेटेड लाइनको बक्यौताको विषयमा विवाद हुँदा उनीहरु कुलमानप्रति रुष्ट थिए भने कुलमानले आफूहरुलाई सहयोग नगरेको भन्दै उनको सार्वजनिक रुपमै आलोचना गरिरहेका थिए । उनलाई प्राधिकरणबाट हटाउनका लागि बारम्बार सरकारसँग आग्रह गर्दै आएका थिए । उद्योगीको अपेक्षाअनुसार नै सरकारले पनि उनलाई पदबाट हटाएको छ । कुलमानलाई बर्खास्त गरेको विषयमा अहिले सरकारको विरोध र आलोचना भइरहँदा केही उद्योगी व्यवसायी भने मौन रुपमा खुसी छन् ।गत आइतबार साँझ नेपाल सिमेन्ट उद्योग उत्पादक संघ, स्टिल्स उत्पादक संघ र नेपाल धागो उत्पादक संघले संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर नै  कुलमानप्रति आक्रोश पोखेका थिए । देशमा लोडसेडिङ अन्त्य भएको भनेर चर्चा हुने गरेकाे भए पनि आफूहरूले प्रत्येक वर्षको पुस महिनादेखि जेठसम्म लोडसेडिङको समस्या खेप्दै आइरहेकाे गुनासाे उद्योगीहरूले पत्रकार सम्मेलनमा गरेका थिए । उनीहरूकाे गुनासाेपछि सरकारले त्यसकाे एक दिनपछि कुलमानलाई बर्खास्त गरेको हाे । कुलमानलाई हटाएपछि बक्यौता तिर्न बाँकी उद्योगीहरु मौन रुपमा खुसी देखिन्छन् । नेपाल स्टिल उत्पादक संघका अध्यक्ष शोभाकर न्यौपानेले सरकारले कुलमानलाई हटाएको विषयमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताए । उनले प्राधिकरणले बत्तीको लाइन काटेर लोडसेडिङ नगरेको भन्दै बाहिर भ्रम फैलाइएको धारणाा राखे । अध्यक्ष न्यौपानेले भने, ‘सरकारले कुलमानजीलाई हटाएकोमा हामी न खुसी नत दुःखी छौं । यो हटाउने नहटाउने विषय सरकारको हो । हामीलाई त हाम्रो समस्याको निकास चाहिएको हो । हामीले कुलमानजीलाई हटाउनु भनेका छैंनौ ।’ सिमेन्ट उत्पादक संघका अध्यक्ष नघुनन्दन मारु पनि सरकारले कुलमानलाई हटाएको विषयमा आफूहरूको कुनै धारणा नरहेको सुनाए । उनी भन्छन्, ‘पहिला पनि कुलमानजीलाई हामीले हाम्रो समस्या बुझिदिनुपर्छ भनेका थियौं । अझै पनि हामीले त्यही भन्दै आइरहेका छौं । प्राधिकरणमा जाेसुकै आए पनि हाम्रो समस्या समाधान हुनुपर्यो । हिजो पनि आशा नै थियो । अब पनि समस्या समाधान हुने आशामै छौं ।’ उद्योगीहरु नेपाल उद्योग परिसंघको नेतृत्वमा विरोध जनाउँदै आएका थिए । परिसंघको नेतृत्व हाल राजेश अग्रवालले गरिरहेका छन् । घिसिङलाई हटाएपछि मन्त्रिपरिषद्ले प्राधिकरणकै पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेको छ । शाक्य प्रधानमन्त्री केपी शर्मा ओलीका साला हुन् ।