सडक, सञ्जाल र सदनसम्म कुलमान

<p>काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेपछि देश कुलमानमय बनेको छ । विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा सरकारको आलोचना गर्नेदेखि सडकमा आन्दोलन र संसदमा विरोध गर्ने काम मंगलबार भयो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेर पूर्व कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई प्राधिकरणको नेतृत्व सम्पेपछि यतिखरे प्रधानमन्त्री केपी शर्मा [&hellip;]</p>

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेपछि देश कुलमानमय बनेको छ । विभिन्न व्यक्तिले सामाजिक सञ्जालमा सरकारको आलोचना गर्नेदेखि सडकमा आन्दोलन र संसदमा विरोध गर्ने काम मंगलबार भयो ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गरेर पूर्व कार्यकारी निर्देशक हितेन्द्र शाक्यलाई प्राधिकरणको नेतृत्व सम्पेपछि यतिखरे प्रधानमन्त्री केपी शर्मा ओली, उर्जामन्त्री दिपक खड्कासँगै सिंगो नेकपा एमाले र प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसको पनि विरोध भइरहेको छ ।

सोमबारदेखि नै सामाजिक सञ्जालमा सरकारको विरोध भइरहेको छ । मंगलबार बिहानैदेखि स्वतन्त्र युवाहरुदेखि राजनीतिक दलका कार्यकता तथा भातृ संगठनले पनि सरकारको चर्को आलोचना गर्दै उनको बर्खास्ती खारेज गर्न माग गरे । सामाजिक सञ्जालसँगै मंगलबार दिनभर माइती मण्डला तनावग्रस्त बन्यो । कुलमानका समर्थकहरुले माइतीघर मण्डलामा सरकारविरुद्द नारावाजी मात्रै गरेनन्, सुरक्षाकर्मीसँग झडप हुनेसम्मका अवस्था सिर्जना भयो ।

सरकारको यो निर्णयको नेपाली काँग्रेसकै महामन्त्रीहरु गगन थापा र विश्वप्रकाश शर्माले खुलेरै आलोचना मात्रै गरेनन्, सरकार उल्टो बाटोमा हिडिरहेको भन्दै सच्चिन माग गरे । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले पनि सोमबार राति नै सरकारको यो निर्णयको विरोध गरे । मंगलबार माओवादी केन्द्र र रास्वपाले विज्ञप्ति नै जारी गरेर कुलमानलाई हटाउने निर्णय सच्याउन माग गरेको छ ।

माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले मंगलबार विज्ञप्ति जारी गर्दै बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त भएको जनाएका छन् । (रास्वपाले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाउने निर्णयलाई ‘कायरताभित्रको दम्भ’ भनेर निन्दा गरेको छ ।

उसो त प्रमुख सत्ता साझेदार नेपाली काँग्रेसका केही सांसदहरुले पनि मंगलबार सरकारको निर्णय फिर्ता हुनुपर्ने माग गरेका छन् । सत्तारुढ कांग्रेसका सांसद रामकृष्ण यादवले घिसिङलाई हटाउने निर्णयमा पुनर्विचार गर्नका लागि सार्वजनिक लेखा समितिले प्रधानमन्त्रीलाई पत्र पठाउनुपर्ने माग गरे ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा सांसद यादवले भने, ‘कुलमानलाई पदबाट नहटाउनुपर्ने थियो, लेखा समितिका तर्फबाट प्रधानमन्त्रीलाई उक्त निर्णयमा पुनर्विचार गर्न पत्र पठाउनुपर्छ,’ उनले भने ।

बैठकमा माओवादी सांसद अमनलाल मोदीले पनि कुलमान बर्खास्त गरेको भन्दै आपत्ति जनाए । उनले सरकारले बिचौलियाको काम गरिरहेको आरोप पनि लगाए ।

यस्तै, सोही बैठकमा नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले ले कुलमानमाथि सरकारले गरेको निर्णय वाहियात भएको धारणा राखे ।

उनले कुलमानलाई हटाउने देशको दुर्भाग्य भएको पनि धारणा राखे । उनले सरकारलाई निर्णय सच्याउन पनि सुझाव दिए ।

प्रदेशको संसदमा पनि विरोध

सरकारले कुलमान घिसिङलाई पदबाट हटाइएको विषयमा प्रदेश संसदमा पनि विरोध भएको छ । मंगलबार गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले संसद्मै कालो चस्मा लगाएर सरकारको विरोध गरे ।

उनले लोडसेडिङमुक्त नेपालका नायकलाई कारबाही गरेको भन्दै सरकारको आलोचना पनि गरे ।

यस्तै, घिसिङलाई सरकारले हटाएको विषयले कर्णाली प्रदेश सभामा पनि प्रवेश पाएको छ । मंगलबार बसेको प्रदेश सभा बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक कृष्णबहादुर जिसीले घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको धारणा राखे ।

उनले यो सरकारको राष्ट्र सेवक र जनतामाथि गरेको अन्याय भएको टिप्पणी गरे ।

सरकार भन्छ : यो सामान्य हो

सरकारले भने यो विरोध र आलोचना सामान्य भएको धारणा राखेको छ । मंगलबार सरकारको औपचारिक निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विरोध र प्रदर्शन सामान्य भएको टीप्पणी गरे ।

सरकारले गरेका निर्णयमा असहमति जनाउने अधिकार सबैमा रहेको बताउँदै उनले यो निर्णयलाई सरकारले अन्यथा नलिएको पनि बताएका छन् ।

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वर्तमान सरकारले इमानदारिताका साथ काम गरेको बताउँदै विरोध नगर्न आग्रह गरेका छन् । मंगलबार एक सार्वजनिक कार्यक्रमा बोल्दै उनले घिसिङलाई हटाएको विषयलाई ‘तिललाई पहाड’ बनाउने काम भइरहेको धारणा राखे ।

Share News