विकासन्युज

प्रधानमन्त्री कप क्रिकेटको उपाधि नेपाल पुलिसलाई

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै पुलिसले उपाधि जितेको हो । जितका लागि १५५ रनको लक्ष्य पछ्याएको पुलिसले २५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । उसका लागि ओपनर कुशल भुर्तेलले ६१ रन बनाए । कूल ७० बलको सामाना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै अमित श्रेष्ठले ३९ र दिलिपनाथले अविजित ३१ रन बनाए । आर्मीका लागि साहब आलमले ३ र नरेन साउदले १ विकेट लिए । त्यसअघि भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा सबै विकेट गुमाउदै १५४ रन बनाएको थियो । २५ रनमै ५ विकेट गुमाएको आर्मीका लागि कप्तान विनोद भण्डारी र वसीर अहमदले ७५ रन बढीको साझेदारी गरेका थिए । उसका लागि बसीर अहमदले १०४ बलको सामना गर्दै ९ चौका र १ छक्काको सहयोगमा ८६ रन बनाए भने कप्तान विनोद भण्डारीले २९ रनको योगदान दिए । त्यसबाहेक विवेक यादवले ११ रन बनाउदा अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । आर्मीलाई सस्तोमै समेट्ने क्रममा बलिङतर्फ नेपाल पुलिसका करण केसीले ७ ओभरमा एक मेडेनसहित ३० रन खर्चेर ३ विकेट लिए । सागर ढकालले ८ ओभरमा २९ रन खर्चेर ३ विकेट लिँदा कप्तान दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशी र गुलशन झाले समान १/१ विकेट लिए । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्र्तगत यसपटक ४६ वटा खेलहरु खेलाइएको थियो । यी सबै खेल पहिलो पटक काठमाडौं बाहिर रुपन्देहीमा रहेको सिद्धार्थ क्रिकेट रङ्गशाला, तिलोत्तमामा रहेको एकस्ट्राटेक ओभल क्रिकेट रङ्गशाला र दाङ्गको लमहिमा रहेको देउखुरी अन्तरराष्ट्रिय रङ्गशालामा आयोजना भएको हो । प्रतियोगितामा ७ वटै प्रदेशका टोली र नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीको बिभागिय टोली सहित १० वटा टोलीहरुले सहभागीता जनाएका थिए ।

घलेगाउँमा ग्रामीण पर्यटन प्रवर्द्धन तथा रजतजयन्ती समारोह हुँदै

काठमाडौं । नेपालको प्रमुख ग्रामीण पर्यटन गन्तव्य घलेगाउँमा ‘पर्यटन प्रवर्द्धन तथा रजतजयन्ती समारोह’ आयोजना हुने भएको छ । विसं २०५७ मा औपचारिक रूपमा ग्रामीण पर्यटनको सुरुआत गरेको घलेगाउँले २५ वर्ष पूरा गरेको अवसरमा आगामी वैशाख २३, २४ र २५ गते विशेष कार्यक्रम आयोजना गरिँदैछ । सो समारोहले घलेगाउँलाई थप पर्यटकीय केन्द्र बनाउने अपेक्षा गरिएको छ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा हुने कार्यक्रममा स्थानीय संस्कृति, ग्रामीण भिलेज होमस्टे, साहसिक खेलकुद तथा विभिन्न सांस्कृतिक झलक प्रस्तुत गरिनेछन् । पर्यटन बोर्ड, स्थानीय तह, निजी क्षेत्र तथा सरोकारवाला निकायको सहकार्यमा कार्यक्रम सम्पन्न गरिनेछ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार पर्यटन प्रवर्द्धनका लागि गुरुङ समुदायको परम्परागत नृत्य, झ्याउरे नाच, घाँटु नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहनेछन् । साथै पर्यटकलाई स्थानीय जीवनशैलीको अनुभव गराउन होमस्टे (घरबास) भ्रमण गराइनेछ । घलेगाउँलाई ‘स्मार्ट भिलेज’ का रूपमा विकास गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिँदैछ । वातावरणमैत्री प्रविधि, फोहर व्यवस्थापन, नवीकरणीय ऊर्जा प्रवद्र्धन तथा डिजिटल पूर्वाधार विकासमा ध्यान दिइनेछ । उनका अनुसार कार्यक्रमअन्तर्गत ग्रामीण पर्यटनको भविष्य, आवश्यक नीतिगत सुधार, सार्वजनिक-निजी साझेदारीका अवसरबारे छलफल गरिनेछ । समारोहमा फुटसल, म्याराथन दौड, साइक्लिङ, साहसिक खेल आयोजना गरिनेछन् । विजेतालाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । फुटबल प्रतियोगितामा एमएससी क्लब बालिया (भारत), त्रिवेणी युवा क्लब बेँसीसहर, नाल्मा ११, बिवाइसी भोटेओडार, भूइँखेल फुटबल क्लब, अभिषेक चर्च, फ्रेण्डसिप युथ क्लब, गुन्नी फुटबल क्लब, सीवाईसी नेपाल तुरतुरे, रड्स रामपुर, एन्फा मनाङ र बँसीसहर युथ सोसाइटी सहभागी हुनेछन् ।

सञ्चारकर्मी र सञ्चारगृहमाथि भएको आक्रमणबारे अध्ययन गर्न ७ सदस्यीय समिति गठन

काठमाडौं । नेपाल पत्रकार महासङ्घले तीनकुनेमा शुक्रबार भएको प्रदर्शनमा सञ्चारकर्मीको मृत्यु र सञ्चारगृहमाथि भएको आक्रमणको अध्ययन गर्न सात सदस्यीय समिति गठन गरेको छ । महासङ्घको आज राजधानीमा बसेको उपलब्ध पदाधिकारी र केन्द्रीय सदस्यको बैठकले उपाध्यक्ष उमीद बागचन्दको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । समितिमा महासङ्घका ६ जना सचिव सदस्य रहेका छन् । समितिमा सचिवहरु रमेश खतिवडा, प्रकाश धौलाकोटी, सोनी शर्मा, अशोक तिवारी, वैकुण्ठ पराजुली र सविन प्रियासन सदस्य रहनुभएको महासङ्घले जनाएको छ । समितिले आजै आक्रमण गरिएका सञ्चारगृहमा गएर अध्ययन गर्न लागेको संयोजक बागचन्दले जानकारी दिए । समितिले घटनाका पीडित, प्रत्यक्षदर्शी र पीडितका परिवारसँग छलफल गर्नेछ । समितिले घटना के, कसरी भयो ?, अब महासङ्घ कसरी अघि बढ्ने ? लगायत विषयमा सुझावसहितको प्रतिवेदन दिने जनाइएको छ । पूर्वराजा समर्थित समूहहरुले शुक्रबार तीनकुने क्षेत्रमा आगलागी, तोडफोडलगायत अराजक गतिविधिमा उत्रेका थिए । प्रदर्शनकारीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधन भएको थियो । कान्तिपुर टेलिभिजन र अन्नपूर्ण पोष्ट दैनिकको कार्यालयमा पनि प्रदर्शनकारीले आक्रमण एवं तोडफोड गरेका थिए ।

‘गणतन्त्रमा आपसी प्रतिस्पर्धा हुन्छन्, तर व्यवस्थाविरुद्ध उद्दण्डता प्रदर्शन गरे प्रतिवाद गरिन्छ’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकहरुले शुक्रबार काठमाडाँैको तीनकुने, कोटेश्वरलगायत क्षेत्रमा गरेको तोडफोड, आगजनी र लुटपाट गरेका क्षेत्रको निरीक्षण गरेका छन् । गृहमन्त्री लेखकसहित गृहसचिव गोकर्णमणि दुवाडी र गृहमन्त्रालयका उच्चपदस्थ अधिकारी र प्रहरी अधिकृतहरुले आगजनी भएको तीनकुनेस्थित निजी घर, कान्तिपुर टेलिभिजनको कार्यालय, अन्नपूर्ण पोष्ट दैनिक, जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय र कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटको निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा गृहमन्त्री लेखकले सञ्चार गृहमाथिको आक्रमण निन्दनीय भएको र घटनामा संलग्न जोसुकै भए पनि कारवाहीको दायरामा ल्याउने बताए । उनले लोकतन्त्रको महत्वपूर्ण अङ्ग सञ्चारमाध्यमलाई ध्वस्त पार्ने कोसिस गरेकामा त्यसको निन्दा गर्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘लोकतान्त्रिक गणतन्त्रमा आपसी प्रतिस्पर्धा हुन्छन् । जनताको अभिमतअनुसार सरकार पक्ष र प्रतिपक्ष हुन्छ । तर जब व्यवस्थाविरुद्ध कसैले उद्दण्डता प्रदर्शन गर्छ भने त्यसको एकाकार भई प्रतिवाद गर्नुपर्छ,’ उनले भने ।

तीनकुने घटना: उच्चस्तरीय छानबिन आयोग गठन गर्न रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीनकुने क्षेत्रमा भएको घटनाबारे उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेको छ । शनिबार बसेको केन्द्रीय सचिवालयको बैठकले दोषीलाई छानबिन गरी कारबाही गर्न आयोग गठनको माग गर्ने निर्णय गरेको हो । प्रवक्ता मनीष झाले काठमाडौंको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा शुक्रबार घटेको घटनामा संलग्न दोषीहरूलाई कानुनी दायराभित्र ल्याई यथोचित कारबाही सुनिश्चित गर्न उच्च न्यायिक छानबिन आयोग गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको बताउ । यस्तै, पार्टीको केन्द्रीय समिति बैठक चैत १८ गते पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने निर्णय पनि बैठकले गरेको छ ।

नवजात शिशु र गर्भवती महिलाको पोषण सुधारमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालले नवजात शिशु तथा गर्भवती महिलाको पोषण सुधार र बहुक्षेत्रीय सहकार्यमा महत्वपूर्ण उपलब्धि हासिल गरेको बताएका छन् । फ्रान्सको राजधानी पेरिसमा आयोजित न्युट्रिसन फर ग्रोथ पेरिस २०२५ मा सम्बोधनका क्रममा मन्त्री पौडेलले पछिल्ला २ दशकमा नेपालले ५ वर्ष मुनिका बालबालिकामा हुने पुड्कोपनामा ३२ प्रतिशत कमी ल्याएको उल्लेख गरे । सन् २००१ मा नेपालमा ५७ प्रतिशतमा समस्या देखिए पनि हाल यो २५ प्रतिशतमा घटेको सरकारी तथ्यांक छ । गर्भवती महिलाहरुलाई आइरन र फोलिक एसिड पूर्तिका लागि सरकारले दिने चक्कीका कारण यसको उपलब्धतामा ६५ प्रतिशत वृद्धि भएको पनि उनले उल्लेख गरे । नेपालमा ६ प्रतिशत गर्भवती महिलामा आइरन र फोलिक एसिडको पूरकता रहेकामा हाल यसमा वृद्धि भएर ७१ प्रतिशत पुगेको छ । ‘यी दुवै क्षेत्रमा हामीले महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं,’ मन्त्री पौडेलले भने, ‘यस कार्यक्रमलाई समुदायस्तरमै पुर्याउन महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र सरकारहरुबीचको समन्वयको भूमिका महत्वपूर्ण छ ।’ मन्त्री पौडेलले विद्यालयमा बालबालिकालाई पोषक आहारा तथा नगद सहायताका अलावा गर्भवती महिला तथा नवजात शिशुलाई भिटामिन ए पूर्ति, आइरन चक्की जस्ता कार्यक्रमजस्ता नेपालले महत्वपूर्ण उपलब्धि हासिल गरेको बताए । नेपालले बालबालिकामा आयोडिनको आपूर्ति, शिशु आहारा तथा समुदायमा आधरित कुपोषण व्यवस्थापन आदिजस्ता कार्यक्रममा महत्वपूर्ण उपलब्धि हासिल गरेको चर्चा गर्दै मन्त्री पौडेलले भने, यसमा सरकारलाई सहयोग गर्ने दाताहरुको साथ समेत महत्वपूर्ण छ । पोषण सुधार अभियानको सदस्यका हैसियतमा नेपाल सरकारले पोषणमा आधारित योजना बनाएको चर्चा गर्दै मन्त्री पौडेलले मातृ शिशु पोषण सुधारमा नागरिक तहसम्मै सचेतना तथा सेवा प्रवाहमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको साथ महत्वपूर्ण रहेको बताए । मन्त्री पौडेलले स्थानीय स्वयंसेविकाको क्षमता अभिवृद्धिमा न्यून कार्यक्रम, बजेटमा कमी तथा विभिन्न क्षेत्रको सहकार्य चुनौती भने नेपालसमु रहेको उल्लेख गरे । नेपालको मातृ शिशु पोषण सुधारको अनुभवले बहुक्षेत्रीय सहकार्य, सामुदायिक संलग्नता तथा दिगो राजनीतिक प्रतिबद्धताले कुपोषण को समस्या सम्बोधन गर्न भूमिका खेलेको अनुभव मन्त्री पौडेलले सम्मेलनमार्फत अन्तर्राष्ट्रिय समुदायसँग साझा गरे । सम्मेलनमा सहभागी हुनुपूर्व मन्त्री पौडेलले नेपालमा गर्भवती तथा नवजात शिशुको पोषणस्तरमा सुधारका लागि विभिन्न अन्तर्राष्ट्रिय दातृ निकाय तथा परोपकारी संस्थासँग वार्ता गरेका थिए । अमेरिकी परोपकारी संस्था एलेनर फाउण्डेसनले गर्भवती महिला तथा नवजात शिशुमा विभिन्न १५ प्रकारका पोषण आपूर्ति गर्ने मन्त्रालयको योजनामा साथ दिने प्रतिबद्धता जनाएको छ ।

रोक्का गरेको युएसएडलाई प्रभावकारी रुपमा ‘पुनर्गठन’ गर्ने ट्रम्पको घोषणा

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकी अन्तर्राष्ट्रिय विकास संस्था युएसएडलाई प्रभावकारी रुपमा ‘पुनर्गठन’ गर्ने घोषणा शुक्रबार गरेको छ । अमेरिकी विदेश मन्त्री मार्को रुबियोले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज विदेश मन्त्रालय र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) ले सन् २०२५ को जुलाई १ सम्ममा विभागलाई युएसएडका केही कार्यहरु पुनः समेट्ने गरी पुनर्गठन गर्ने आफ्नो आशयबारे कङ्ग्रेसलाई सूचित गरेका छन् ।’ विदेश मन्त्रालयले प्रशासनको प्राथमिकतासँग मेल नखाने ‘युएसएड’का बाँकी कामहरू बन्द गर्ने योजना बनाएको उनले बताए । दुर्भाग्यवश यूएसएडका कार्यक्रममा लाभ धेरै कम थियो र लागत धेरै उच्च थियो । संस्था धेरै पहिले नै आफ्नो मूल अभियानबाट पछि हटेको थियो । गत जनवरीमा पदभार ग्रहण गरेपछि रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ९० दिनका लागि अमेरिकी वैदेशिक सहायता रोक्का गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । यसपछि युएसएआइडीका विभिन्न कार्यक्रमहरूमा नाटकीय कटौती गरियो र महत्त्वपूर्ण मानवीय सहायताका लागि केही छुटहरू दिएको हो । सन् १९६१ मा अमेरिकी कङ्ग्रेसले सिर्जना गरेको स्वतन्त्र एजेन्सीमाथि सहायता रोक्काले स्तब्ध र निराश बनाएको छ । विदेश सम्बन्धसम्बन्धी समितिमा सिनेटका डेमोक्र्याट संसद्हरूले यस कदमको निन्दा गर्दै एक विज्ञप्तिमा भनेका छन्, ‘पुनर्गठनले ‘यूएसएडका कुनै पनि कार्यक्रमहरू कार्यान्वयन गर्न असम्भव मात्र बनाउने छैन, तर विदेश विभागमाथि थोपरिएको बोझले यसको मूल मिशनमा विशेष व्यवधान निम्त्याउनेछ।’ बन्द हुनुअघि युएसएडले करिब ४३ अर्ब अमेरिकी डलरको वार्षिक बजेट व्यवस्थापन गरेको थियो, जुन विश्वको मानवीय सहायताको ४० प्रतिशतभन्दा बढी हो । ट्रम्पले पदभार ग्रहण गरेलगत्तै त्यहाँका अधिकांश कर्मचारीलाई प्रशासनिक बिदामा राखिएको थियो । युएसएडका कर्मचारीहरूलाई शुक्रबार एक पत्रमार्फत कानुनले आवश्यक नपरेका सबै रोजगारी हटाउने योजनाबारे जानकारी गराएको विभिन्न अमेरिकी सञ्चार संस्थाहरूले जनाएका छन् । पत्रमा स्वतन्त्र निकाय युएसएडका कार्यवाहक प्रमुख जेरेमी लेविनले अमेरिकी विदेश मन्त्रालयले आगामी महिनाहरूमा युएसएडका अधिकांश स्वतन्त्र कार्यहरू बन्द गर्ने योजना बनाएको बताए ।

म्यानमामा भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या १ हजार नाघ्यो

काठमाडौं । म्यान्माको सागिङ सहरमा केन्द्रविन्दु भई म्यान्मा र थाइल्यान्डमा शुक्रबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या शनिबार १ हजारभन्दा बढी पुगेको छ भने खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ । मध्य म्यान्माको सागिङ सहरको उत्तरपश्चिममा शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प गएको र त्यसको केही मिनेटपछि ६.७ म्याग्निच्युडको पराकम्प आएको थियो । भूकम्पले म्यान्मामा भवन, पुल र सडकका साथै १७ लाखभन्दा बढी मानिसहरूको घरमा क्षति पुगेको छ । म्यान्मामा कम्तीमा १ हजार २ जनाको मृत्यु भएको र करिब २ हजार ४ सय जना घाइते भएको म्यान्मा सरकारले विज्ञप्तिमा जनाएको छ । उक्त भूकम्पको कारण बैङ्ककमा थप १० जनाको मृत्यु भएको र कम्तीमा १०० जना हराइरहेको पुष्टि भएको छ । भुकम्पका कारण सञ्चार प्रणाली अवरुद्ध भएपछि, प्रकोपको वास्तविक तथ्याङ्क सरकारले सार्वजनिक गरिरहेको छ भने मृतकको सङ्ख्या अझै बढ्ने आशङ्का गरिएको छ । विमानस्थल तथा सडकहरु बन्द रहेकाले राहत तथा उद्धार सामाग्री पुर्याउने काममा समेत समस्या भइरहेको जनाइएको छ ।