विकासन्युज

नेपाल-चीन कूटनीतिक सम्बन्धका ७० वर्ष : सिछुआन-नेपाल व्यापार आदानप्रदान महिना सुरु

काठमाडौं । चीन–नेपाल कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सवका सन्दर्भमा सि सिछुआन–नेपाल संस्कृति, पर्यटन, अर्थतन्त्र र व्यापार आदानप्रदान महिनाको सिछुआन शृङ्खला चीनको छेन्दुमा प्रारम्भ भएको छ । सिछुआन प्रान्तीय सरकारको विदेश मामिला कार्यालय र छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासले संयुक्त रूपमा सिछुआन प्रान्तको राजधानी छेन्दुमा गत शुक्रबार व्यापार आदानप्रदान सिछुआन शृङ्खला प्रारम्भ भएको हो । त्यसअवसरमा सिछुआन प्रान्तको विदेश मामिला कार्यालयका महानिर्देशक झाङ ताओले नेपाल र सिछुआन बीचको सम्बन्ध क्रमशः प्रगाढ हुँदै गएको, हालै पोखरा महानगरका प्रमुखको नेतृत्वमा गएको प्रतिनिधिमण्डल र पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सिछुवान विमान कम्पनीले सोझै छन्दुमा हवाई सेवा थालेपछि पारस्परिक आदानप्रदान बढेको बताए । छेन्दुस्थित महावाणिज्य दूतावासका अनुसार एक वर्षयता चीन र नेपालबीचको सामाजिक–सांस्कृतिक आदानप्रदान पनि वृद्धि भएको उनले बताए। चीनका लागि नेपालका राजदूत कृष्णप्रसाद ओलीले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई जनस्तरमा हुने व्यापार, पर्यटन र सांस्कृतिक आदानप्रदानले अझ मजबुत तुल्याएको बताए। महिनाभरि सञ्चालन हुने सिछुआन शृङ्खलामा सिछुआन प्रान्तका विभिन्न सहरमा स्थानीय उत्पादनको प्रदर्शनी र सांस्कृतिक आदानप्रदानका कार्यक्रमले नेपाल र चीनबीचको सुदृढ सांस्कृतिक, व्यापारिक, आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास महावाणिज्य दूतावासले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा व्यक्त गरिएको छ ।

लगानीको वातावरण बनाएका छौँ, थप सहजीकरण गर्न सरकार तयार छ: उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण एसियामा नेपाल लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेकाले गैरआवासीय नेपालीलाई लगानीका लागि आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी)द्वारा माल्टामा आयोजित युरोपेली क्षेत्रीय सम्मेलन, २०२५मा उहाँले सरकारले लगानीको सुरक्षा र उपयुक्त वातावरण बनाउन सरकार तयार रहेको बताए । मन्त्री भण्डारीले भने, ‘नेपालमा लगानीको वातावरण बनाएका छौँ, त्यसमा थप सहजीकरणका लागि सरकार तयार छ । कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा तपाईहरू लगानी गर्न आउनुस्, सरकारले पूर्ण सहयोग गर्नेछ ।’ मन्त्री भण्डारीले आफू मन्त्री भएपश्चात् नेपालमा व्यापार, व्यवसाय तथा उद्योगका क्षेत्रमा थुप्रै सकारात्मक एवं राम्रा काम गरेको उल्लेख गर्दै उनले निर्धक्क भएर लगानीका लागि आग्रह गरे । सरकारले लगानीका लागि आवश्यक कानुनी संरचना बनाइसकेको र त्यसैमा टेकेर उद्योग, व्यापारलगायतका क्षेत्रमा पछिल्लो समय थुप्रै लगानी सुरु भइसकेका उनको भनाइ छ । नेपालमा उत्पादन भएका वस्तुहरु विदेशमा सहजै निर्यात गर्न सकिने भएकाले दक्षिण एसियामा लगानीको सम्भावित क्षेत्रमा भारतपछि नेपाल मन्त्री भण्डारीले दाबी गरे । कार्यक्रममा एनआरएनए आइसीसीका महेश अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी निर्देशक (सीईओ) सुशील ज्ञवाली मध्यस्थकर्ताका रूपमा रहेका थिए । कार्यक्रममा उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवाली, लगानी बोर्डका उपसचिव हिमालचन्द्र अर्याल, डा बद्री केसी, टीका गुरुङ (राधिका), गोविन्द खरेल घनश्याम पाण्डेलगायतले प्रस्तुतीकरण गरेका थिए ।

ढोरपाटनमा सुरु भयो सिकार याम, ३५ वन्यजन्तुको सिकार हुने, १.२६ करोड आम्दानी

काठमाडौं । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो । दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति पाएका छन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन् । यही चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेका ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिए । दोस्रो याम (फागुन-वैशाख) का लागि आगामी वैशाख १६ गतेसम्म सिकारीले सिकार खेल्न पाउने छन् । अहिलेसम्म २ नाउर मात्र सिकार भएको उनले बताए । रेन्जर सुवेदीका अनुसार हिमालयन वाइल्डलाइफ आउटफिर्टसले सिकारीमार्फत दुई नाउर र दुई बँदेल सिकार गर्न अनुमतिपत्र पाएको छ । यो कम्पनीले एउटा नाउर सिकार गरिसकेको रेन्जर सुवेदीले जानकारी दिए । उक्त नाउरको सिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गरेका हुन् । त्यसैगरी, ट्रयाक्स एण्ड ट्रेल्स प्रालिमार्फत अमेरिकी सिकारीले २ नाउर, २ झारल र २ बँदेल सिकार गर्ने अनुमति पाएका थिए । रेन्जर सुवेदीका अनुसार हिमालयन सफारिज प्रालिमार्फत ३ सिकारीले ३ नाउर र १ झारलका लागि अनमति पाएका छन् । ग्लोबल सफारिज नेपाल प्रालिमार्फत २ सिकारीले २ नाउर, १ झारल र २ बँदेलको सिकार गर्ने अनुमति पाएका छन् । उक्त कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा सिकार गरेको उनले जानकारी दिए । नेपाल ट्राभल एक्सपिडिसन प्रालिमार्फत ३ सिकारीले ३ नाउर, ३ झारल र ३ बँदेल सिकार गर्ने अनुमति पाएका छन् । यो कम्पनीबाट आएका सिकारीले हतियारमा समस्या आएपछि सिकार नगरी फर्किएको रेन्जर सुवेदी बताउँछन् । ओपन नेपाल वाइल्डलाइफ सफारी एण्ड ट्रेक्स प्रालिमार्फत ३ सिकारीले १ नाउर, २ झारल र ३ बँदेलको सिकार गर्न अनुमति पाएका छन् । यो सिकार याममा अमेरिका, अर्जेन्टिना, स्पेन र फ्रान्सबाट सिकारी आएको रेन्जर सुवेदीले जानकारी दिए। उनका अनुसार एउटा झारलको ८ लाख रुपैयाँ, नाउराको ६ लाख २५ हजार ५ सय रुपैयाँ तोकिएको छ । यसपालि सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा सिकार भइरहेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले जानकारी दिए । दोस्रो याममा १ करोड २६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए । सिकारीले मारेको वन्यजन्तु लैजान पनि राजस्व तिर्नुपर्ने प्रावधान छ । ढोरपाटनमा हरेक वर्ष २ याममा सिकार खुला हुन्छ । पहिलो (असोज–मङ्सिर) र दोस्रो (फागुन–वैशाख) मा सिकार खुला हुन्छ ।

कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना, देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा आंशिक बदली भएको तथा बाँकी भागको मौसम सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागको एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

नियुक्त भएको एक वर्षमै त्रिविका उपकुलपतिले दिए राजीनामा, प्रधानमन्त्रीले असहयोग गरेको गुनासो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा केशरजंग बरालले राजीनामा दिएका छन् । उनले शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेर राजीनामा पत्र बुझाएका हुन् । उपकुलपति बरालले स्वास्थ्यको कारण देखाएर प्रधानमन्त्री एवं त्रिविका कुलपतिलाई सम्बोधन गरेर राजीनामा पठाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । कार्यालयका अनुसार राजीनामा स्वीकृत भने भएको छैन । राजीनामा दिएर उनी शनिबार बिहानै पोखरास्थित घर गएको त्रिवि स्रोतले जनाएको छ । पछिल्लो समय त्रिविमा निम्तिएका घटनाक्रमप्रति उनी असन्तुष्ट रहँदै आएका थिए भने त्रिवि कुलपति रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत उनी असन्तुष्ट थिए । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बराललाई गत वर्षको फागुन १० गते त्रिवि उपकुलपतिमा नियुक्त गरेका थिए ।

पोखरामा दुई दिवशीय अन्तरराष्ट्रिय सम्मेलन सुरु, ३० विश्वविद्यलायका १५० जना सहभागी

काठमाडौं । ‘दीगो पर्यटन, नवीनता र आर्थिक विकासका लागि उच्च शिक्षाको भूमिका’ विषयक दुई दिवशीय अन्तरराष्ट्रिय सम्मेलन आजदेखि पोखरामा सुरु भएको छ । कालिका बहुमुखी क्याम्पस पोखराद्वारा आयोजित सम्मेलनमा नेपालसहित जापान, बेलायत, बङ्गलादेश, थाइल्याण्ड, अमेरिकालगायत देशबाट विभिन्न ३० वटा विश्वविद्यलाय एवं क्याम्पसबाट १५० जनाको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा.डा. देवराज अधिकारीले आर्थिक विकास र दीगो पर्यटनका लागि उच्च शिक्षाको अहम् भूमिका हुने बताए । उनले उच्च शिक्षाको पाठ्यक्रम व्यावसायिकता प्रवर्द्धन र उत्पादित जनशक्तिको उपयोग हुनेखालको हुनुपर्नेमा जोड दिए । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायका डिन प्रा.डा महानन्द चालिसेले देशमा अध्ययनरत विद्यार्थीमध्ये अधिकांश व्यवस्थापन विषयका भएको उल्लेख गर्दै स्वदेशमा नै उनीहरूको उपयोग हुने वातावरण तयार निर्माणको खाँचो औँल्याए । कालिका बहुुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीले क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिँदै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए । क्याम्पस प्रमुख वीरञ्जी गौतमले गुणस्तर सुनिश्चित तथा प्रत्यायन (क्युएए) प्राप्त क्याम्पसद्वारा गरिएको यस किसिमको कार्यक्रम पोखराको पर्यटन र आर्थिक विकासका लागि महत्वपूर्ण अवसर भएको धारणा राखे । कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई, बैभव पौडेललगायतले पाठ्यक्रम र व्यवसायबीचको तालमेल हुनु जरुरी भएको धारणा राखे । ओटिएस एकेडेमी युकेको सह आयोजना एवम् विश्वविद्यलाय अनुदान आयोग, व्यवस्थापन सङ्काय त्रिभुवन विश्वविद्यालय, पोखरा महानगरपालिका र केसी ग्रुपको सहयोगमा आयोजित कार्यक्रममा विभिन्न प्राध्यापक एवम् अनुसन्धाताका विषयगत प्रस्तुतीसँगै विभिन्न विषयमा समूहगत छलफल रहने आयोजकले जनाएको छ ।

तीनकुने प्रकरणः पक्राउ पर्ने १११ जना पुगे, २१ जनाको अस्पतालमा उपचार जारी

काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घटाउन उक्साउनेसहित १११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार शुक्रबार १०५ जनालाई पक्राउ गरिएको थियो भने आज थप ६ जना पक्राउ परेका हुन् । प्रहरी परिसर काठमाडौँले २५, प्रहरी वृत्त बानेश्वरले २५, प्रहरी वृत्त गौशालाले ९, प्रहरी प्रभाग कोटेश्वरले ४६, प्रभाग गोङ्गबुले ३, प्रहरी वृत्त बालाजुले १, प्रहरी वृत्त सिंहदरबारले २ जनालाई पक्राउ गरेको उनले जानकारी दिए । उक्त घटनामा २ जनाको मृत्यु भएको जनाउँदै प्रहरी प्रवक्ता बोहराले नेपाल प्रहरीतर्फ ५५, सशस्त्र प्रहरीतर्फ २२ र प्रर्दशनकारीतर्फ ५१ जना घाइते भएका उल्लेख गरे । तीमध्ये प्रहरी र प्रदर्शनकारीसहित २१ जनाको विभिन्न अस्पतालमा उपचार जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ । तोडफोड, आगजनी र लुटपाट प्रवक्ता बोहराका अनुसार व्यक्तिगत र सरकारी कार्यालय गरी १८ वटामा तोडफोड भएको छ । विभिन्न १२ ठाउँमा आगजनी तथा १ ठाउँमा तोडफोड तथा लुटपाट भएको छ । ‘प्रहरीतर्फ छ, सरकारी कार्यालयको चार, विवरण नखुलेको छ गाडी तथा विवरण नखुलेको स्कुटर र मोटरसाइकलसहित छ वटामा तोडफोड भएको छ । केही गाडी जलाइएको छ,’ उनले भने ।

उद्योग परिसंघले भन्यो- सुरक्षित रूपमा व्यापार व्यवसाय गर्न पाउनुपर्छ

काठमाडौं । नेपाल उद्योग परिसंघले शुक्रबार तिनकुने क्षेत्रमा भएका हिंसात्मक आन्दोलन, तोडफोड, लुटपाटजस्ता अराजक गतिविधिको विरोध जनाएको छ । निजी सम्पत्ति, सञ्चारगृह, व्यावसायिक प्रतिष्ठान, विभिन्न कार्यालय तथा व्यापारिक गतिविधिमा भएको आक्रमण, आगजनी तथा लुटपाटको विरोध जनाउँदै संघले क्षतिपूर्तिको माग समेत गरेको छ । साथै उद्योग परिसंघले अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेको छ । ‘शुक्रबार निजी सम्पत्ति तथा सञ्चारगृहमा भएको तोडफोड, आगजनी, तथा व्यावसायिक प्रतिष्ठानमा भएको लुटपाटको घटना अत्यन्त दुःखद् हो । विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्दा आमनागरिक, विभिन्न पेसा, व्यवसायमाथि भौतिक आक्रमण, व्यक्तिगत सम्पत्तिमाथि आगजनी, व्यावसायिक प्रतिष्ठानमा तोडफोड एवं लुटपाटजस्ता कार्य जहिले पनि निन्दनीय छ,’ परिसंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी, लुटपाटजस्ता अराजक गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याई सुरक्षित रूपमा व्यापार, व्यवसाय, पेसा गर्न पाउने अधिकारलाई सुरक्षित बनाउन परिसंघले माग गरेको हो । विभिन्न माग राखी आन्दोलन, प्रदर्शन गर्न पाउने अधिकार सुरक्षित भए पनि यस्ता कार्यले अरु कसैको अधिकार हनन् गर्न हुँदैन भन्नेतर्फ समेत सचेत हुन निजी क्षेत्रले आग्रह गरेको छ ।