विकासन्युज

तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप २४ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप २४ जनालाई पक्राउ गरेको छ । यही चैत १५ गतेको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप २४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, ‘उक्त घटनामा संलग्न रहेको अभियोगमा थप २४ जना पक्राउ परेका छन्, यस अघि ४१ जनालाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।’ उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । झापा निवासी चापागाईं बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी व्यक्तित्व हुन् । उनले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च पदमा रहेर काम गरिसकेका छन् । यसअघि नारदकुमार लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय भए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । लुइँटेल पर्यटन व्यवसायीसमेत भएकाले उनको नाम सिफारिस गर्दा आलोचना हुन सक्ने सम्भावना देखिएपछि मन्त्रिपरिषद्ले पुनः चापागाईंलाई नयाँ सीईओ नियुक्त गरेको हो । नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो ।

गार्डियन माइक्रोलाइफको सेयर मूल्यमा सकारात्मक सर्किट, २०१ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.९५ अंकले घटेर २६७६ बिन्दुमा झरेको छ । आज ४२ कम्पनीको मूल्य बढ्दा २०१ कम्पनीको मूल्य घटेको छ । मंगलबार ३२० कम्पनीको १ करोड ६ लाख लाख कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७९ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ । हिमालयनको ६४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्राइस्ट्रक्चरको ४५ करोड, सीइडीबी होल्डीङसको २७ करोड, नेपाल रिइन्स्योरेन्सको २६ करोड र हिमालयन पावरको २१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज गार्डियन माइक्रोलाइफको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।

‘बब्लु टी स्टाल’–जस्को चियाको चुस्की लिन मरिहत्ते गर्छन् पारखीहरु !

वीरगञ्ज । तीन दशकअघिसम्म वीरगञ्जको बजारमा एक प्याकेट दूधको चिया पकाएर बेच्नका लागि रामनिवास शर्मालाई चोक–चोकमा भौँतारिनुपर्दथ्यो । तर भारतको राजस्थान स्थायी घर भएका शर्माको एक केट्ली चिया बिक्री हुने–नहुने कुनै ‘ग्यारेन्टी’ हुँदैन्थ्यो । तर उनी कहिल्यै विचलित भएनन्। एक न एक दिन त वीरगञ्जवासीको धित मर्ने गरी चिया पिलाउने अभिलाषासहित आफ्नो यात्रामा निरन्तर डटेर लागिरहे। जसको परिणामस्वरुप अहिले सम्भवतः वीरगञ्जकै सबैभन्दा धेरै चिया बिक्री गर्ने चर्चित ‘बब्लु टी स्टाल’का सञ्चालकका रुपमा नयाँ परिचय कमाएका छन्। सुरुआती दिनमा उनलाई चिया बेच्न सहज भने पक्कै थिएन । ‘३० वर्षअघि त शनिबार वीरगञ्जका सबैजसो बजार ठप्प जस्तै हुने गथ्र्यो । आफैँले एक प्याकेट दूधको चिया बनाएर केट्लीमा वीरगञ्जका टोलटोलमा बेच्न गएर ग्राहकलाई लोभ्याउनुपर्ने हुन्थ्यो,’ शर्माले विगत कोट्याउँदै भने, ‘त्यतिबेला ग्राहकलाई आकर्षित गर्नकै लागि बिहान ४ बजेदेखि चियापसल खोलेर ग्राहकको चियाको तलतल मेट्ने काममा भने निरन्तर रुपमा लागिरहेँ । जसको कारणले पनि अहिले हाम्रो चिया भन्ने बित्तिकै मानिसहरु भुतुक्कै हुने गर्नुहुन्छ ।’  शर्माले आफ्नो कान्छो छोरा बब्लुका नामबाट ३० वर्षअघि वीरगञ्जको घडीअर्वा पोखरीको भन्दा डेढ सय मिटर दक्षिणतर्फ ‘बब्लु टी स्टाल’ सञ्चालन गर्दै आइरहेका छन् । शर्माले अहिले दैनिक ८० देखि १०० लिटर दूधको चिया बेच्दै आइरहेका छन्। अहिले शर्माको चियापसलमा दैनिक ८०० देखि एक हजार कपको औसतमा चिया बिक्री हुने गर्छ । ‘सुरु–सुरुमा त डेढ रुपैयाँ कप चिया पनि बेचियो,’ उनले भने, ‘समयको अन्तरालसँगै अहिले चियाको मूल्य भने धेरै नै बढिसक्यो ।’ अहिले पनि ‘बब्लु टी स्टल’मा चिया खाने ग्राहकको सङ्ख्यामा कुनै कमी आएको छैन । शर्मा नेपाल आफ्नो कर्मभूमि भएको बताउँछन्।‘भारतको राजस्थान राज्य मेरो जन्मभूमि भए पनि नेपाल मेरो कर्मभूमि हो,’ उनले विगत सम्झँदै भने, ‘कामको सिलसिलामा ५५ वर्षअघि भारतको राजस्थानबाट वीरगञ्जमा आएको हुँ । सुरुआती चरणमा त वीरगञ्जको महावीर गल्लीमा विभिन्न पसलमा समेत काम गरेँ । त्यसबाट खासै सन्तुष्टि नलागेर चिया पसल खोलेको हुँ ।’ सञ्चालक शर्मा आफैँ पनि वीरगञ्जको अन्य ठाउँको तुलनामा आफ्नो चियाको गुणस्तर र स्वाद राम्रो हुने गरेकाले मूल्य पनि महङ्गो रहेको स्वीकार्छन। सामान्यतया वीरगञ्जका बजारमा एक सानो कप चियाको मूल्य रु २० पर्ने गर्छ । तर, यहाँ भने एक कप मट्का चियाको मूल्य ३५ छ । गुणस्तरीय चियाका कारण ग्राहकले महङ्गो भयो भनेर गुनासो गरेको उनले सुन्नु परेको छैन । ‘वीरगञ्जको अन्य ठाउँका चिया पसलको तुलनामा हाम्रो चिया महङ्गो नै छ । हाम्रो चिया ‘बढिया’ भएकाले पनि धेरै मूल्य परेको हो,’ उनले भने, ‘हामीले सकेसम्म कृषकको घरबाट सोझै भैँसीको शुद्ध दूध ल्याएर चिया पकाउने गर्छौं । किसानलाई दूधको उचित मूल्य दिएकै कारणले पनि चियाको मूल्य बढी पर्ने गरेको हो ।’ उनले देहातबाट औसतमा रु १०० देखि ११० प्रतिलिटरमा भैँसीको दूध खरिद गर्दै आइरहेको दाबी गरे। उनले आफूले प्रयोग गर्ने चियापत्ती पनि भारतको आसाम राज्यबाट ल्याउने गरेको बताए। ‘हामीले चियापत्ती एक पटक मात्रै प्रयोग गर्ने गर्छौं । दोस्रो पटक त्यो चियापत्तीको प्रयोग गर्दैनौँ,’ उनले भने, ‘आसामबाट ल्याएको चियापत्ती र देहातको भैँसीको शुद्ध दूधका कारणले पनि चियाको चुस्की राम्रो भएको होला कि !’ शर्मा आफैँ वीरगञ्जमा मट्का चियाको सुरुआतकर्ता नभएको बताउँछन् । हामीले भन्दा पहिले अरूले नै मट्का चिया बेच्दै आइरहेका थिए। तर अरूले मट्का चिया पसललाई निरन्तरता दिन सकेनन् । ‘मट्कावाला चियाको स्वाद नै अर्कै हुन्छ । माटोका भाँडाको स्वादले पनि ग्राहक लोभिँदै आइरहनुभएको छ,’ उनले भने, ‘हातले नै बनाएका मट्काको प्रयोग गर्ने भएकाले पनि स्वादमा ठूलो अर्थ राख्नेरैछ ।’ उमेरले ७९ वसन्त पारे गरे पनि शर्माको जाँगरमा भने अहिलेसम्म पनि कमी भएको छैन । अहिले पनि बिहान ४ बजे उठेर चिया पसल खोल्न र बिहान साढे ६ बजेसम्म आफैँ चिया पकाएर ग्राहकलाई चिया पिलाउँदै आइरहेका छन्। शर्माका तीन छोरा छन्– सनोदकुमार शर्मा, योगेशकुमार शर्मा र बब्लु शर्मा । बब्लु र अर्का एक छोराले चियापसलमा सहयोग गर्दै आइरहेका छन भने अर्को छोरा जागिरे छन् । ‘बुबाले थालेको चियापसललाई हामीले निरन्तरता दिँदै आइरहेका छौँ,’ कान्छा छोरा बब्लुले भने, ‘दैनिक औसतमा ३० हजारभन्दा बढी मूल्यको चियाको बिक्री हुने गर्दछ । स्वादिलो चिया बनाउने भएकाले एक लिटर दूधले औसतमा करिब १० कप चिया मात्रै बन्ने गर्छ ।’ ‘बब्लु टी स्टाल’ मा एकाबिहानैदेखि बेलुकासम्म ग्राहकको भीड थेगिनसक्नु हुने गर्छ । यसका मुख्य ग्राहकहरुमा पर्साका स्थानीय उद्योगी–व्यवसायी, प्रहरी प्रमुख, प्रशासक, भन्सार प्रशासकहरु र सर्वसाधारण उत्तिकै रहेका छन् । यसका अलावा वीरगञ्जमा घुम्न आएका चियापारखीले पनि खोजी–खोजी ‘बब्लु टी स्टाल’मा चिया पिउनका लागि आउने गर्छन् । गत चैत ८ गते शर्माकै चियापसलमा पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसहितका माओवादी केन्द्रका शीर्षनेताहरु आएर पनि चिया पिउँदा निकै प्रफुल्लित भएको प्रतिक्रिया दिए। उनलाई सो अवसर भने जनतासँग माओवादी–हुलाकी राजमार्ग केन्द्रित मधेस जागरण अभियान अन्तर्गतको कार्यक्रमले जुराइदिएको थियो । ‘नेपालका पूर्वप्रधानमन्त्री नै आएर चिया पिउँदा पक्कै पनि खुसीको महसुस गरिरहेका छौँ,’ शर्माले भने, ‘उहाँहरु जस्तो शीर्षनेता हाम्रो झुपडीमा आएर चिया पिउँदा आफूलाई गौरवान्वित महसुस भइरहेको छ ।’ शर्माले वीरगञ्जमा आउने उच्चपदस्थ कर्मचारी तथा राजनीतिज्ञहरुले आफूले पकाएको चिया पिउँदै आइरहे पनि को को आउनुभयो भनेर रेकर्ड राख्ने नगरेको अनुभव सुनाए। शर्माले आफूले चिया बेचेर नै आफ्नो परिवारका सबै सदस्यलाई खुसीसाथ जीवनयापन गर्न सहज भएको बताउँछन् । रासस

यूएईले १६६ जना नेपालीलाई दियो आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) ले पवित्र रमादान महिना र ईद पर्वको अवसरमा १६६ जना नेपाली बन्दीलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार, यूएई सरकारले नेपाली बन्दीहरूको मुक्तिको लागि यो कदम चालेको हो । यो आममाफी पाउँदा १६६ जना नेपाली नागरिकलाई थुनाबाट रिहा गरिएको छ । परराष्ट्र मन्त्रालयले यूएई सरकारप्रति कृतज्ञता व्यक्त गर्दै उक्त कदमलाई द्विपक्षीय सम्बन्धको लागि सकारात्मक र हार्दिकतापूर्ण नमूना रहेको जनाएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यूएई सरकारले यो रमाइलो अवसरमा नेपाली बन्दीहरूलाई आममाफी दिएकोमा हामी आभारी छौँ। यो कदमले हाम्रो आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने छ ।’ यस निर्णयले नेपाल र यूएई बीचको द्विपक्षीय सम्बन्धमा थप सहयोग र समझदारीको सन्देश दिएको परराष्ट्र मन्त्रालयको भनाइ छ ।

फेरि शिक्षकहरुको आन्दोलन : ४ लाख सडकमा उतार्ने रणनीति, एसईईको कपी नजाँच्ने

काठमाडौं । शिक्षकहरूले २० गते (भोलि) बुधबारदेखि फेरि ‘सडक आन्दोलन’ गर्ने भएका छन् । विगत दिनदेखि आन्दोलित शिक्षकले सिंहदरबार नजिक केन्द्रित हुनेगरी माइतीघर नयाँ बानेश्वरमा आन्दोलन थाल्ने भएको हो । ‘अधिकार र कर्तव्यका लागि शिक्षक एकता’ भन्ने सन्देश सहित विभिन्न संघ संगठनमा आवद्ध नेपाल शिक्षक महासंघले मंगलबार पत्रकार सम्मेलन गरी भोलि सडक आन्दोलन गर्ने बताएको हो । यसका लागि ७७ वटै जिल्लाका शिक्षक कोही काठमाडौं पुगिसकेका छन् भने कोही बाटोमा आउनेक्रममा रहेका छन् । देशभर ४ लाख शिक्षकहरू महासंघमा आवद्ध रहेको बताउँदै शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले ४ लाख शिक्षक सडकमा उतार्ने बताए । उनले अब सरकारले माग सम्बोधन गरी परिणाम देखिँदासम्म आन्दोलन जारी रहने बताए । ‘हामीले विगतमा पनि सम्झौता गर्यौं, सरकारले माग पुरा गरिदिने आश्वासन देखायो आन्दोलन रोक्यौं,’ अध्यक्ष सुवेदी भन्छन्, ‘अब सम्झौता गरेरमात्र आन्दोलन रोकिँदैन, पहिले सरकारले माग पुरा गर्नुपर्छ त्यसपछि हामी आन्दोलन रोक्छौं ।’ शिक्षकहरूले बुधबारदेखि सुरु हुने आन्दोलन अनिश्चत रहने दाबी गरेका छन् । ‘हामीलाई विगतमा सरकारले पटकपटक अल्झायो, हामी अब कुनै बहानामा अल्मलिनेवाला छैनौं । जबसम्म सरकारले पहिले माग पुरा गरी कार्यान्वयन गर्दैन तबसम्म काठमाडौं केन्द्रित आन्दोलन जारी राख्ने छौं,’ महासंघका उपाध्यक्ष नानुमाया पराजुलीले बताइन् । प्रश्नपत्र जाँच्न नदिइने शिक्षकहरूले एसईईको परीक्षा समेत जाँच गर्न नदिने बताएका छन् । परीक्षालाई मर्यादित रूपमा सम्पन्न गर्न आन्दोलनलाई लचिलो बनाएको बताउँदै उनीहरू अब माग पुरा नभएसम्म प्रश्नपत्र जाँचसमेत गर्न नदिने बताएका छन् । ‘हामीले यो हिउँदे अधिवेशनबाटै विद्यालय शिक्षा विद्येयक पारित गर्न माग गरेका थियौं, पारित नहुँदै अधिवेशन अन्त्य भयो,’ अध्यक्ष सुवेदी भन्छन्, ‘हाम्रा मागलाई सरकारले वेवास्ता गर्ने हामी लचिलो हुने कुरा हुँदैन अब एसइइका प्रश्नपत्र जाँच गर्न दिदैनौं ।’ शिक्षकहरूले कक्षा १२ को परीक्षासमेत हुन सक्ने सम्भावना नभएको बताएका छन् । उनीहरूले माग पुरा नहुने हो भने कक्षा १२ को परीक्षा समेत सञ्चालन हुन नदिने चेतावनी दिए । सरकारले भने कक्षा १२ को परीक्षा मिति सार्वजनिक गरिसकेको छ । भर्ना अभियानसमेत प्रभावित जिल्लामा भएका सबै शिक्षकहरू काठमाडौं आएपछि बैशाखबाट सुरु हुने विद्यालय भर्ना अभियानसमेत प्रभावित हुने भएको छ । विद्यालय नै बन्द गरी सबै शिक्षक काठमाडों आउनुपर्ने बाध्यात्मक अवस्था सरकारले सिर्जना गरेकाले शिक्षकहरू विद्यालय बन्द गरी यहाँ आउनु परेको बताएका छन् । राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले बाजुराबाट सरकारलाई दबाब दिन काठमाडौं आएको बताउँछन् । उनले आफू पुगिसके पनि अरू साथीहरू आउनेक्रम जारी रहेको जानकारी दिए । उनले यो पटक आफ्ना माग पुरा भएपछि मात्र जिल्ला फर्कने बताए । उनले पनि विद्यालय बन्दले विद्यार्थीको पढाइ प्रभावित भएको जिम्मा सबै सरकारले लिनुपर्ने बताए । शिक्षकहरूले चैत्र २० गतेदेखि माग पुरा नहुँदा सम्म विद्यालयको पठनपाठनदेखि विद्यार्थी भर्ना, र परीक्षाको नतिजा पनि सावर्जनिक गर्न नदिने बताएका छन् । आन्दोलन शान्तिपूर्ण हुने चार लाख शिक्षक सहभागी हुने आन्दोलन शान्तिपूर्ण, अनुशासित र मर्यादित हुने शिक्षकहरुले बताएका छन् । ‘हामीले विगतमा पनि शान्तिपूर्ण आन्दोलन गरेका थियौं, यो पटक पनि शान्तिपूर्ण नै हुन्छ तर, यसको मतलब सरकारले माग पुरा गर्छु भन्नेबित्तिकै घर फर्किने खालको होइन, ’अध्यक्ष सुवेदीले भने । विद्यार्थीलाई अनुशासनको पाठ सिकाउने शिक्षकले हिंसात्मक गतिविधिमा आन्दोलन गर्ने तर मागप्रति सरकारलाई घुँडा टिकाउन बाध्य पार्ने उनीहरूको भनाइ छ । माघ २० गतेदेखि आन्दोलनमा शिक्षक नेपाल शिक्षक महासंघले गएको माघ २० गतेदेखि आन्दोलन सुरु गरेको हो । यसक्रममा शिक्षकहरूले जिल्ला र प्रदेश तहमा आन्दोलनका कार्यक्रम सम्पन्न गरेका शिक्षकहरूले पहिलो चरणअन्तर्गतको अन्तिम कार्यक्रम फागुन २४ गते गरेको थियो । दोस्रो चरणअन्र्तगत फागुन २७ गतेदेखि चैत्र ५ गतेसम्म राजनीतिक दलहरूको केन्द्रिय कार्यालयमा धर्ना गरेको थियो भने चैत्र ७ गतेदेखि १५ गतेसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रको कार्यालय परिसरमा रिले अनसन गरेको थियो । शिक्षकहरूले दोस्रो चरणको अन्तिम र निर्णयक कार्यक्रमको रूपमा २० गतेदेखि काठमाडौं जाऔं अभियान अघि बढाउने भएको हो । आन्दोलनमा स्थायी, राहत, साविक उमावि, सिकाइ अनुदान, बालविकास कक्षा, अस्थायी, करार, प्राविधिक धार लगायत सबै शिक्षकहरू आन्दोलनमा सहभागी हुने भएका छन् । शिक्षक कर्मचारीका सबै समस्या समाधान गर्न सक्ने विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलन निरन्तर चलिरहने शिक्षकहरूले बताएका छन् । यस्ता छन् शिक्षकका माग शिक्षकहरू सबैभन्दा पहिलो माग विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्नु हो । विधेयकमा राखिएका धेरैजसो विषय संशोधन हुनुपर्ने जस्तै शतप्रतिशत शिक्षक पदपूर्ती आन्तरिक प्रतिस्पर्धाबाट हुनुपर्ने, शिक्षक नियुक्तिको अधिकारलाई स्थानीय तहलाई नभइ संघमा हुनुपर्ने, शिक्षक स्थायी हुँदा अस्थायीको सेवा अवधिपनि शतप्रतिशत जोडिनुपर्ने लगायत रहेका छन् । उनीहरू यो विषयमा विगतमा सम्झौता भइसकेको बताउँदै अव लागु गर्नुपर्ने माग गरेका छन् ।

संसद बैठक बंक गरेर विदेश भ्रमणमा सांसद, फरार सहकारी ठगले पनि बिरामी भन्दै लिन्छन् सुविधा

काठमाडौं । निर्वाचन जिते पनि जनताको मतको सम्मान नगरेर व्यक्तिगत रजगजमा रमाउनु नेपाली सांसदहरूको पुरानै रोग हो । सकेसम्म आफ्नो जिम्लामै रमाउने, पार्टीको कार्यक्रममै व्यस्त हुने, विदेश भ्रमण गर्ने केही काम नभए पनि बिरामी भएँ भनेर संसदलाई जानकारी गराएर घरमै बस्नु अधिकांश सांसदहरूको संस्कार बनिसक्यो । पछिल्लो समय संसद बैंठक बंक गरेर विदेश घुम्न जाने सांसदहरूको संख्या पनि बढ्दै गएको छ । मंगलबारमात्रै प्रतिनिधिसभा संसदका सभामुख देवराज घिमिरेले ७ जना सांसद बैठममा लामो समयदेखि अनुपस्थित रहेको सूचना सुनाए । उनले उनीहरू बैठकमा नआउनुको जानकारी संसद बैठकलाई गराउँदै अनुपस्थित भएको सूचना पारित गराए । उसो त बैठमा नबसे पनि भत्ताकै लागि एक छिन उपस्थित हुने र हाजिर गरेर टाप कस्ने प्रवृत्ति पनि संसदका लागि हानिकारक बनिरहेको छ । एउटा बैठकमा उपस्थित भएवापत गाडी भाडासहित सांसदले दुई हजार रुपैयाँ पाउने व्यवस्था भएअनुसार सो दुई हजार रुपैयाँ असुल्न पनि कतिपय सांसद बैठकमा एकछिन उपस्थित भएर टाप कस्ने गरेको संसद सचिवालयको धारणा छ । मंगलबार पनि सभामुख घिमिरेले संसद बैठक बंग गरेर विदेश भ्रमण गरिरहेका, देशमै भएर पनि बैठक छलिरहेका र स्वास्थ्य उपचार गरिरहेका सांसदहरूको सूची सार्वजनिक गरे । उनीहरू संसद बैठकमा उपस्थित नभए पनि तलब भने पाउने गर्छन् । संसद सचिवालयका सहप्रवक्ता अनन्तप्रसाद कोइराला सांसदहरू जति बैठकमा अनुपस्थित भए पनि तलब भने पाउने व्यवस्था रहेको बताउँछन् । उनका अनुसार बैठकमा अनुपस्थित भएपछि बैठक भत्तावापतको दुई हजार रुपैयाँ भने उनीहरूले पाउँदैनन् । ‘मासिक तलब आए पनि नआए पनि नियमित हुन्छ । तर, लेखाले बैठकमा उपस्थित भएको हाजिरी प्रमाणित गरेपछि मात्रै बैठक भत्ता दिने अभ्यास छ, त्यसैले पनि बैठकमा हाजिरी नगरेका सांसदहरूले बैठक तगा ट्याक्सी भत्ता पाउनु हुन्न,’ उनले भने । १. लीलादेवी बोखिम २०८१ फागुन २२ देखि चैत १९ गतेसम्मका लागि बिदा माग गरेको जानकारी गराइएको छ । उनी १४ पटक बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । उनी पारिवारिक कारणले बेलायतमा गएको जानकारी सभामुख घिमिरेले गरेका छन् । लीलादेवी बोखिम । ताप्लेजङ घर भएकी उनी नेपाली कांग्रेसकी सांसद हुन् । उनी २०७९ मा आदिवासी जनजाति समुदायबाट समानुपातिक प्रतिनिधिको रूपमा निर्वाचित भइन् । २. सरस्वती बजिमय सांसद सरस्वती बजिमय पनि संसद बैठक छलेर अहिले विदेश भ्रमणमा छिन् । उनी फागुन २८ गतेदेखि चैत १९ गतेसम्म १ज्ञ वटा बैठकमा अनुपस्थित रहेको जानकारी गराइएको छ । उनी समानुपातिक निर्वाचन प्रणालीमार्फत नेपाली कांग्रेसबाट प्रतिनिधिसभा सदस्य चुनिएकी हुन् । बजिमय दोस्रो पटक समानुपातिक सांसद बनेकी हुन् । उनी २०७० सालमा पनि सांसद बनेकी थिइन् । उनले आफ्नो व्यक्तिगत कारणले विदेश भ्रमणमा रहेको जानकारी संसदलाई गराएकी छन् ।सरस्वती बजिमय । ३. रमेश रिजाल नेपाली कांग्रेसका नेता सांसद रमेश रिजालले पनि संसद बैठकलाई बंक गरेर विदेश भ्रमणमा छन् । उनी १२ पटक बैठकमा अनुपस्थित भएको जानकारी गरिएको छ । उनी यसअघि मन्त्री पनि भइसकेका छन् । पर्सा क्षेत्र नं ४ बाट निर्वाचित सांसद हुन् । उनी फागुन २५ गतेदेखि चैत १९ गतेसम्म बैठकमा अनुपस्थित रहेको बताइएको छ । उनी यसअघि उद्याेगमन्त्री थिए । रमेश रिजाल । जो नेपालमै छन्, बैठकमा आउँदैनन् ४. शेरबहादुर देउवा शेरबहादुर देउवा । नेपाली काँग्रेसका सभापति समेत रहेका सांसद शेरबहादुर देउवा पनि ११ वटा बैठकमा अनुपस्थित भएको बताइएको छ । पटक–पटक प्रधानमन्त्री भइसकेका उनी संसद बैठकमै बस्न नरुचाउने नेताका रुपमा चिनिन्छन् । डडेल्धुराबाट निर्वाचित उनले पार्टीको कामको व्यस्तताले बैठकमा उपस्थित हुन नसकेको जानकारी गराएका छन् । ५. मनोरमा शेरचन मनोरमा शेरचन । सांसद मनोरमा शेरचन पनि बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । उनी २७ वटा बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । उनको शारिरीक समस्या रहेकोले हाल थेरापी चलिरहेकोले बैठकमा उपस्थित हुन नसकेको सभामुले घिमिरेले जानकारी दिएका छन् । उनी नेपाली कांग्रेसलाई प्रतिनिधितव गर्दै आदिवासी जनजातिबाट समानुपाति सांसद बनेकी हुन् । ६. गीता बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद गीता बस्नेत पनि २७ वटा संसद बैठकमा अनुपस्थित भएको जानकारी गराइएको छ । हाल सहकारी ठगीमा फरार रहे पनि संसद्‍मा भने उनले स्वास्थ्य उपचारमा रहेको सूचना पठाएकी छन् । गीता बस्नेत । सांसद बस्नेत २०८१ माघ १८ गतेदेखि चैत १९ सम्म बैठकमा अनुपस्थित रहेको जानकारी दिए । नवलपरासीको छिपछिपे, चितवनको सनराइज र बर्दियाको नमस्ते सहकारी ठगीमा मुछिएकी सांसद बस्नेत यसअघि नै फरार भइसकेकी थिइन् । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी पनि जारी गरिसकेको थियो । तर, उनी भन्दै फरार भएर संसदमा बिरामी भएको जानकारी गराएकी हुन् ।

महिला सशक्तीकरणमा नबिल बैंकको प्रतिबद्धता, मार्च महिनामा देशव्यापी ७ कार्यक्रम सम्पन्न

काठमाडौं । नबिल बैंकले महिला सशक्तीकरण, क्षमता अभिवृद्धि, लैङ्गिक समानता र समावेशिताको प्रवर्द्धन गर्ने उद्देश्यले मार्च महिनाभर देशव्यापी रूपमा ७ वटा विशेष कार्यक्रम सम्पन्न गरेको छ । सोही अन्तर्गत सोमबार काठमाडौंमा ‘वुमन इन मोसन–एक्सिलेरेट एक्सन’ कार्यक्रम सम्पन्न भएको छ । बैंकका स्वतन्त्र निर्देशक सरिता भट्ट अधिकारीद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले महिलाहरूको सशक्तीकरण, क्षमता अभिवृद्धि र अवसर सिर्जनाका लागि बैंक प्रतिबद्ध रहेको बताए । उनले बैंकिङ क्षेत्रमा महिलाहरूका लागि अझै पनि केही चुनौतीहरू रहेको उल्लेख गर्दै महिला नेतृत्व प्रवर्द्धन गर्न नबिल बैंकले विभिन्न पहल गरिरहेको जानकारी दिए । उनले भने, ‘हामी लैंगिक समानता कायम गर्न प्रतिबद्ध छौँ। जब कार्यस्थल समावेशी बन्छ, तब सबै क्षेत्रमा सकारात्मक प्रभाव पर्छ ।’ उनले विश्वव्यापी रूपमा समेत महिलाहरूलाई कम पारिश्रमिक दिने प्रवृत्ति परिवर्तन हुँदै गएको उल्लेख गर्दै भने, ‘कार्यस्थलमा महिलामाथि हिंसाका घटना भइरहेका छन्, यी समस्याहरू समाधान गर्न नेपालले पहिचान गरिसकेको छ । नबिल बैंकले पनि महिलाहरूलाई उच्च नेतृत्वमा ल्याउन र अवसर प्रदान गर्न प्रतिबद्धता जनाएको छ ।’ बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरूको नेतृत्वमा सहभागिता बढाउनु अपरिहार्य रहेको बताए । उनले भने, ‘बैंकिङ क्षेत्रमा महिलाहरूको संख्यात्मक प्रतिनिधित्व बढाउन जरुरी छ । महिलाहरू तथ्यपरक सोच्ने, काममा बढी केन्द्रित हुने र सुशासनमा पनि बढी सक्षम रहेको देखिन्छ । बैंकिङ क्षेत्रमा उनीहरूको सहभागिता बढाउन यस प्रकारका कार्यक्रमहरू महत्त्वपूर्ण छन् ।’ ज्ञवालीले बैंकिङ क्षेत्रमा महिलाहरूको संख्यात्मक वृद्धिलाई संस्थागत रूपमा प्रवर्द्धन गर्ने आवश्यकता रहेको बताउँदै भने, ‘महिलाहरूलाई कार्यस्थलमा टिकाइराख्न चुनौतीहरू छन् । घर र कार्यालयका जिम्मेवारीका कारण बीचबाटोमै अल्झिनुपर्ने अवस्था आउँछ। त्यसैले कार्यस्थललाई अझ समावेशी बनाउन जरुरी छ ।’ कार्यक्रममा नेपाल सुपर लिगकी अध्यक्ष आश्रयता कार्की चौधरीले महिलाहरूको सहभागिता समाजको आर्थिक विकासका लागि महत्त्वपूर्ण रहेको बताउँदै, संस्कृति परिवर्तनमार्फत महिला सशक्तीकरण आवश्यक रहेकोमा जोड दिइन् । उनले भनिन्, ‘महिलाहरूका लागि खेलकुद, बैंकिङ वा कुनै पनि क्षेत्रमा दिगो भविष्य निर्माण गर्न केवल अवसर मात्र पर्याप्त हुँदैन । यसका लागि संस्कृतिमा परिवर्तन आवश्यक छ । हामीले सानै उमेरदेखि किशोरीहरूमा लगानी गर्नुपर्छ र उनीहरूलाई आफ्नो इच्छाहरू पछ्याउन प्रोत्साहित गर्नुपर्छ ।’ उनले थपिन्, ‘महिलाहरूको सहभागिताले सीप, विज्ञता, नयाँ दृष्टिकोण, सोच र सहकार्यलाई बल पुर्याउनेछ । महिलाहरूको सशक्तीकरणमा पुरुषहरूको भूमिका पनि महत्त्वपूर्ण छ । कार्यस्थलमा महिलाहरूको स्थान सुरक्षित बनाउन सबै पक्षले ध्यान दिनुपर्छ ।’