आज मध्यरातदेखि संसद् अधिवेशन अन्त्य
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन मंगलबार राति १२ः०० बजेदेखि अन्त्य गरेका छन् । नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले दुवै सदनका चालु अधिवेशन अन्त्य गरेका हुन् । मन्त्रिपरिषद्को सोमबारको बैठकले सङ्घीय संसद्का दुवै सदनका चालु अधिवेशन आज राति १२ः०० बजेदेखि अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।
नाङ्गो भइसकेको तीनकुने घटना झैँ सरकारले म माथिको पर्साको मुद्दा लुकाएका छौँ भन्ठान्छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले पर्साको वीरगञ्जस्थित सानोपाइला सहकारीको रकम गोर्खा मिडियामा गएको भन्दै झूटो आरोप लगाएको दाबी गरेका छन् । मंगलबार सिंहदरबारमा सभामुख देवराज घिमिरेसँग भेटका क्रममा उनले तीनकुने घटनाको जस्तै पर्साको मुद्दालाई सरकारले ढाकछोप गर्न खोजेको आरोप लगाए । सभापति लामिछानेले सरकारले नियोजित रूपमा आफूविरुद्ध मुद्दा लगाएको जिकिर गरे । उनले भने, ‘तीनकुने घटना सबै नाङ्गो भइसकेपछि पनि सरकारले ढाकछोप गर्न खोजिरहेको छ । सरकार अब पर्साको मुद्दा लुकाउन खोज्दै छ ।’ उनका अनुसार, पर्साको मुद्दा सरकारले मान्छे लगाएर दर्ता गराएको हो । ‘मैले संसद्मा उपस्थिति जनाउन पाउनुपर्छ भनेर सभामुखसँग भेट गरेको हुँ । संसद्को विषय संसद्बाटै टुंग्याउनुपर्छ भन्ने मेरो आग्रह हो,’ उनले भने । लामिछानेले आफू जन्मनुअघि हजुरबुबाको सम्पत्ति र आफ्नो विवाहअघि श्रीमतीको सम्पत्ति समेत कसुर मान्दै राजनीतिक प्रतिशोधस्वरूप सांसद पद निलम्बन गर्न खोजिएको आरोप लगाए । उनले सभामुखलाई भने, ‘सरकारले मुद्दा दर्ता गराएर कसैलाई पनि निलम्बन गर्न सक्छ । यसले प्रतिशोधको रुप लिन्छ । यो हतियार प्रयोग गरेर सरकार परिवर्तन गर्न खोज्ने काम हुन सक्छ ।’ सभापति लामिछानेले आफू अदालतको सम्मान गर्ने व्यक्ति भएकाले कानूनी प्रक्रियालाई पूरा गर्न केही समय राजनीतिक कार्यक्रममा सहभागी नभएको स्पष्ट पारे । उनले भने, ‘सरकारले पर्साको मुद्दालाई हतियार बनाएर राखेको छ । यो मुद्दामा हदम्याद छैन । सरकार लुकाएको छ भन्छ, तर हामी सबै नाङ्गो देखिरहेका छौँ । तीनकुने घटनामा पनि सरकारले यस्तै ढाकछोप गर्न खोजेको थियो ।’ उनले बिहीबार एकैदिन देशका चारवटा अदालतमा उपस्थित हुनुपर्ने अवस्था आएको भन्दै त्यसलाई असम्भव बताएका छन् । ‘म चितवनका जनताले दुईपटक निर्वाचित गराएर पठाएको सांसद हुँ । सरकार मलाई थुन्न खोज्न सक्छ, तर सत्य लुक्दैन । पर्साको ढाकछोप सरकारले जति गरे पनि नाङ्गो भइसकेको छ,’ उनले भने ।
कुलमान र हितेन्द्रको रिट चुडाल र पाण्डेयको इजलासमा
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वप्रमुख कुलमान घिसिङ र नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा परेको छ । सर्वोच्च अदालतको मंगलबारको दैनिक पेसी सूचीमा पहिलो नम्बरमा कुलमान घिसिङको र दोस्रो नम्बरमा हितेन्द्रदेव शाक्यको निवेदन परेको छ । यसअघि आइतबार प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश शारङ्गा सुवेदीको संयुक्त इजलासले दुवै मुद्दा हेर्न नभ्याइने सूचीमा राखेको थियो । निर्वतमानप्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले गैरकानुनी रूपमा हटाएको दाबी गर्दै गत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । त्यस्तै, नवनियुक्त प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आफूलाई हटाएर पुनः कुलमानलाई नियुक्त गरेको विषय टुंग्याइदिन आग्रह गर्दै सर्वोच्चमा निवेदन दिएका थिए । गत शुक्रबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा मुद्दाको प्रारम्भिक सुनुवाइ हुँदा अन्तरिम आदेश जारी नगरी दुबै पक्षलाई आइतबार उपस्थित हुन आदेश दिइएको थियो । सरकारले अघिल्लो सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई पुनः प्राधिकरणको नेतृत्व दिने निर्णय गरेको थियो । अब सर्वोच्चको नयाँ आदेशले विद्युत प्राधिकरणको नेतृत्वबारे स्पष्ट दिशा तय गर्ने अनुमान गरिएको छ ।
३ सय अर्ब डलरको बन्यो ओपनएआई, एक दशकमै एक ट्रिलियनको एआई उद्योग हुने विज्ञको दावी
काठमाडौं । ओपनएआईले ४० अर्ब डलरको लगानी जुटाएको छ, जुन हालसम्मकै सबैभन्दा ठूलो निजी प्रविधि सम्झौता हो । यो ४० अर्बको लगानीले च्याटजीपीटी निर्माता ओपनएआईको मूल्यांकन ३०० अर्ब डलर पुर्यायो । पिचबुकका अनुसार यो कुनै पनि निजी प्रविधि कम्पनीले अघिल्लो पटक उठाएको रकमको करिब तीन गुणा हो । यसले ओपनएआईलाई मात्र स्पेसएक्स (३५० अर्ब डलर) पछाडि राख्छ र टिकटकको अभिभावक कम्पनी बाइटडान्ससँग बराबर बनाउँछ। जापानको सफ्टबैंकले ३० अर्बको लगानी गर्दै नेतृत्व गरेको छ, जसमा मुख्य लगानीकर्ता माइक्रोसफ्ट, अल्टीमिटर, थ्राइभजस्ता संस्थाहरू पनि सामेल छन् । ओपनएआईले ब्लग पोस्टमा उल्लेख गरेअनुसार यो नयाँ पूँजी एआई अनुसन्धानलाई थप अघि बढाउन र कम्प्युटिङ पूर्वाधारलाई विस्तार गर्न प्रयोग गरिनेछ । सीएनबीसीले रिपोर्ट गरेअनुसार लगानीमध्ये १८ अर्ब डलर स्टारगेट परियोजनामा प्रयोग गरिने अपेक्षा गरिएको छ । सफ्टबैंक, ओपनएआई र ओराकलबीचको यो संयुक्त परियोजना जनवरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा घोषणा गरिएको थियो । सुरुवाती चरणमा १० अर्ब लगानी हुनेछ भने २०२५ को अन्त्यसम्म बाँकी ३० अर्ब थपिनेछ । तर यो सम्झौतासँग एउटा शर्त पनि जोडिएको छ । सफ्टबैंकले सोमबार अपडेट गरेको फाइलिङमा उल्लेख गरेअनुसार यदि ओपनएआईले २०२५ को डिसेम्बर ३१ भित्र नाफामुखी संरचनामा परिवर्तन नगरेमा सफ्टबैंकको कुल लगानी घटाएर २० अर्बसम्म सीमित गर्न सकिनेछ । यस प्रावधानले ओपनएआईलाई नाफामुखी रूपान्तरण पूरा गर्न दबाब बढाउनेछ, जसका लागि माइक्रोसफ्टको समर्थन र क्यालिफोर्निया एटर्नी जनरलको अनुमोदन आवश्यक हुनेछ । यस्तै, ओपनएआईका सह-संस्थापक एलन मस्कले अदालतमा यो रूपान्तरणको विरोध गरेका छन् । ओपनएआई हाल एक ‘क्याप्ड–प्रोफिट’ संरचनामा सञ्चालन भइरहेको छ, जसले २०१९ मा स्थापना गरिएको सीमित साझेदारी मोडेललाई समेट्छ । संस्थाको मूल गैर-नाफामुखी इकाइ प्रमुख सेयरधारक हो र यदि पुनर्संरचना भएमा यसलाई छुट्टै संस्थाका रूपमा विभाजन गरिनेछ । ओपनएआईका लगानीकर्ताहरूले कनर्भटिबल नोट्स पाएका छन्, जुन भविष्यमा इक्विटीमा परिणत हुनेछ । ओपनएआईको लगानी इतिहासकै सबैभन्दा ठूलो निजी प्रविधि सम्झौता हो । यसअघि एन्ट ग्रुपले २०१८ मा १४ अर्ब लगानी उठाएको थियो । सफ्टबैंक र अन्य लगानीकर्ताहरूले च्याटजीपीटीको तीव्र वृद्धि जारी रहने विश्वास गरेका छन् । ओपनएआईले सोमबार च्याटजीपीटीका साप्ताहिक प्रयोगकर्ताहरू ५०० मिलियन पुगेको घोषणा गर्यो, जुन गत महिना मात्र ४०० मिलियन थियो । कम्पनीले २०२५ को अन्त्यसम्म राजस्व १२.७ अर्ब पुग्ने अनुमान गरेको छ । ओपनएआईका सीईओ साम अल्टम्यानले एक्स (पूर्व ट्वीटर) मा लेखेका छन्, ‘च्याटजीपीटीको लन्च मेरो जीवनकै सबैभन्दा ठूलो भाइरल क्षण थियो, हामीले पाँच दिनमै एक मिलियन प्रयोगकर्ता जोड्यौं । तर अहिले हामीले मात्र एक घण्टामा एक मिलियन प्रयोगकर्ता जोडिरहेका छौं ।’ उद्योग विशेषज्ञहरूका अनुसार जेनेरेटिभ एआई बजार १० वर्षभित्र १ ट्रिलियनको उद्योग बन्नेछ । गुगल, अमेजन, एन्थ्रोपिक, पेर्पलेक्सिटीलगायतका कम्पनीहरू एआई एजेन्टहरू विकास गर्न प्रतिस्पर्धा गरिरहेका छन् । ओपनएआईले हालै सीईओ अल्टम्यानको भूमिकामा परिवर्तन गर्दै उनलाई अनुसन्धान र उत्पादनमा केन्द्रित गराएको छ भने मुख्य सञ्चालन अधिकारी ब्राड लाइटक्यापलाई व्यापार र दैनिक सञ्चालनको जिम्मेवारी दिइएको छ ।
सुनको मूल्य निरन्तर अकासिदो, तोलाको एक लाख ७९ हजार ७००
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बितेका चारदिनदेखि पहेँलो धातुको मोल बढिरहेको छ । सोमबार प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार तोलामा एक हजार ८०० रुपैयाँले बढेर एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । आजका लागि चाँदीको मूल्य प्रतितोला रु दुई हजार ३५ निर्धारण भएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय ४० अमेरिकी डलर कारोबार भइरहेको छ । निरन्तर अमेरिकी डलरको मूल्य वृद्धि, आन्तरिक माग व्यवस्थापनलगायत कारण स्थानीय बजारमा सुनको मूल्य हरेक दिन उकालो लागिरहेको छ ।
राप्रपाका नेता तथा सांसद दीपक बोहराको निधन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहराको ६१ वर्षको उमेरमा निधन भएको छ। उनी पोस्ट कोभिड समस्याबाट पीडित थिए । लामो समयदेखि स्वास्थ्य समस्याबाट संघर्ष गरिरहेका बोहराको काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको उनका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए । रुपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद बोहरा कोरोना महामारीको दोस्रो लहर (२०७७ जेठ) मा संक्रमित भएका थिए। संक्रमण निको भएपछिको चार–पाँच महिनामा उनको स्वरमा परिवर्तन देखिएको थियो । थप उपचारका लागि दिल्ली पुगेका उनले पोस्ट कोभिडका कारण घाँटीमा समस्या भएको चिकित्सकहरूबाट थाहा पाएका थिए । स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनी अमेरिका पुगेर स्पीच थेरापी गर्दै आएका थिए । तर, स्वास्थ्य समस्या झन् जटिल बनेपछि उनलाई घाँटीको क्यान्सर भएको पुष्टि भएको थियो । बोहराले स्वास्थ्य समस्याका कारण निर्वाचन अभियानमा पनि भाषण गर्न सकेनन् । तर, जनताको साथ पाउँदै उनी नबोली नै सांसद निर्वाचित भएका थिए । संसदमा पनि उनले प्रत्यक्ष बोल्न सकेनन्, आफ्ना विचार पार्टीकै अन्य सांसदमार्फत व्यक्त गर्ने गर्थे ।
बिपी राजमार्ग : पहिरो प्रभावित क्षेत्रमा वैकल्पिक सडक निर्माण गरिँदै
धुलिखेल । गत असोजको दोस्रो साताको बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गमा अहिले तत्कालका लागि खोलाको बगरैबगर बनाएको वैकल्पिक बाटोमा सवारीसाधन सञ्चालन भइरहेको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका- ५ चौकीडाँडाबाट सिन्धुलीको सिमाना बर्खेखोलासम्म अहिले त्यसरी वैकल्पिक सडक बनाएर खोलाको बगरैबगर सवारी सञ्चालन हुँदै आएको छ । काठमाडौँबाट पूर्वीतराई जाने छोटो दूरीको यात्रा बिपी राजमार्ग सबैको छनोटको गन्तव्य हो । तर बर्खायाम नजिकिएसँगै ती सडकमा सवारी सञ्चालन गर्न सकिने अवस्था नभएका कारण सडक डिभिजन भक्तपुर त्यसको विकल्पमा आउँदो बर्खायामलाई मध्यनजर गर्दै खोलाको सहतभन्दा माथि उठाएर वैकल्पिक सडक निर्माण गर्ने क्रममा छ । जसअन्तर्गत चौकीडाँडास्थित धेरै क्षतिग्रस्त बनेको खण्डमा खोलाको सतहदेखि माथि उठाएर वैकल्पिक बाटो निर्माणको काम भइरहेको छ । कार्यालयले दीर्घकालीन पक्की सडक निर्माण गर्न ठेक्का आह्वान गरेको भए पनि ‘विड ओपनिङ’ गर्ने, मूल्याङ्कन हुने र ठेकेदार फिल्डमा आउने प्रक्रिया नै बाँकी रहेकाले अहिले तत्कालका लागि वैकल्पिक सडक बनाउने क्रममा रहेको सडक डिभिजन कार्यालय भक्तपुरका इन्जिनियर दुर्गाप्रसादले बताए । खोलाको उचाइ पनि बढेको र अहिले बगरमा नै गाडी गुडाइरहेको कारण बर्खामा असर हुने भएकाले खोलाको धार परिवर्तन गर्ने र सडकको उचाइलाई खोला सहतभन्दा माथि उठाएर भित्ताबाट चल्नेगरी काम भइरहेको छ । त्यसका लागि अहिले चौकीडाँडा खण्डमा तीव्रगतिमा काम भइरहेको छ । बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको सिमानासम्ममा करिब आठ किलोमिटर सडक बगाएको थियो । ‘तत्कालका लागि बगाएको सडक ग्राभेल गर्ने, सफा गर्ने र कतिपय स्थानमा खोलाबगर भएर चल्ने गरी बाटो बनाएका छौँ,’ उनले भने,’अहिले जहाँजहाँ खोलाको सतह भएर बाटो बनाइएको छ, ती ठाउँमा खोलाको धार परिवर्तन गर्ने र भएको सतहभन्दा माथि उठाएर बाटो बनाउने क्रममा छौँ ।’ भक्तपुर सडक डिभिजनका कर्मचारी चन्द्रबहादुर लामाका अनुसार अहिलेसम्ममा मङ्गलटार नजिकैको बोक्सेकुना र चिउरीबासमा काम सम्पन्न भइसकेको तथा माम्ती, डालाबेँसी, नार्के, गिम्दीबेँसी, चार सयबेँसी र कटुञ्जे घुम्तीमा काम गर्न बाँकी छ । अहिले चौकीडाँडामा काम भइरहेकामा केही दिनमा नै सो खण्ड सम्पन्न हुनेछ । सो कार्य सम्पन्न गर्न अहिले सडक डिभिजन कार्यालयबाट दुई इन्जिनियर, एक सबइन्जिनियरसहित ३० जना अपरेटर निरन्तर काममा छन् । आगामी वैशाखभित्र ती सबै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको कार्यालयले जनाएको छ । त्यसरी सडक बनाएको खण्डमा बर्खायाममा पनि बिपी राजमार्गमा सवारीसाधन सञ्चालन हुने आशामा यात्री छन् । रासस
त्रिभुवन विमानस्थल अब दैनिक १८ घण्टा खुल्ने, सुरक्षा र उडान क्षमतामा सुधार
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि दैनिक १८ घण्टा सञ्चालनमा आउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले सोमबारदेखि विमानस्थलको सञ्चालन अवधि बढाउने निर्णय गरेको हो । गत कात्तिक २३ गतेदेखि विमानस्थलको सञ्चालन अवधि घटाएर दैनिक १४ घण्टा मात्र राखिएको थियो । तर, अब नयाँ व्यवस्था अनुसार बिहान ६ बजे खोलिने विमानस्थल राति १२ बजे बन्द हुने छ । यसअघि सञ्चालन अवधि बिहान ८ बजेदेखि बेलुकी १० बजेसम्म मात्र थियो । विमानस्थल कार्यालयका अनुसार धावनमार्गसँग जोड्ने लिंक वे निर्माण कार्य सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आईकाओ) को मापदण्डअनुसार विमानस्थल सञ्चालन गर्न सकिने अवस्था बनेको हो । विमानस्थल प्रमुख जगन्नाथ निरौलाका अनुसार स्तरोन्नति कार्य आंशिक रूपमा सम्पन्न भएसँगै सुरक्षा तथा उडान क्षमतामा सुधार आएको छ । यसले गर्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानको संख्या बढ्ने अपेक्षा गरिएको छ । हालको नयाँ समय तालिका भने कात्तिक २३ अघिको भन्दा केही छोटो छ । स्तरोन्नति अघि विमानस्थल राति २:३० बजेसम्म सञ्चालनमा रहन्थ्यो भने बिहान ६ बजेभन्दा अघि नै खुल्थ्यो । तर, नयाँ व्यवस्थाअनुसार रातिको २ घण्टा तथा बिहानको १ घण्टा सञ्चालन अवधि घटाइएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार अब यही समय तालिका स्थायी रूपमा कायम रहने सम्भावना छ । नयाँ सञ्चालन अवधिले हवाई यातायातको सुचारुता बढाउने विश्वास गरिएको छ ।