विकासन्युज

झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । झापा इनर्जीले साउन १४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात् ३ करोड ८० लाख १९ हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ८० हजार १९० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गर्नेछ ।  जसमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापाको शिवसताक्षी नगरपालिका वडा नं. ४ मा सौर्य विद्युत आयोजना निर्माण र सञ्चालन भइरहेको स्थल र आयोजना क्षेत्रबाट १०० मिटर वरपरका बासिन्दालाई र १ लाख ९० हजार ९५ कित्ता सेयर झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नं. ४ का बासिन्दालाई छुट्याइएको छ ।  साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५७ लाख २ हजार ९०० रुपैयाँको ५७ हजार २९ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीयले छिटोमा साउन २८ गते र ढिलोमा भदौ १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा साउन १८ गते र ढिलोमा साउन २८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले हिमालय बैंकको दुधे, दमक तथा सुरुङ्गाका शाखा कार्यालय तथा आयोजना स्थलबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग सिंगल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

वातावरणमैत्री बगैँचा रिसोर्ट जसले एकल महिला र राउटे समुदायलाई सक्षम बनाउँदै

काठमाडौं । पोखराको लेकसाइड भन्नसाथ पर्यटकीय क्षेत्र भनेर सबैको मनमा आउँछ । जहाँ स्वदेशी तथा विदेशी पर्यटकको ओहोरदोहोर, भीडभाड, संगीत र कफी क्याफे रहेका छन् ।  पोखराको विशेषता बोक्ने नै लेकसाइड र तालै तालको सहर भनेर आम धारणा बनिसकेको छ ।  अझ भनौ पोखरा पुग्ने हरकोही एकपटक लेकसाइड पुग्ने र फेवातालमा डुंगा सयर गर्छन् ।  अब भने लेकसाइडमै पुग्ने स्वदेशी तथा विदेशी पर्यटकले फरक अनुभूती गर्न पाउँने छन् । जोकोहीलाई तालले मात्र आकर्षण गर्दैन । सहर भित्र बनेका भौतिक संरचनालेसमेत लोभ्याउने गर्छ ।  वातावरणमैत्री, दीर्घकालीन सोच तथा विकासको नवीनतम् उद्देश्यसहित लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक समिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैँचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याउने भएको छ ।   साउनको दोस्रो सातादेखि पूर्ण रूपमा सुचारु हुनेछ । पोखराको प्रकृति, वरिपरि रहेको डाँडाकाँडा तथा हरियालीको आभास रिसोर्टले समेत दिने भएको छ । बगैँचा रिसोर्ट वातावरणमैत्रीको आभास दिलाउने र प्लाष्टिकरहित तथा प्रदुषणमुक्त वातावरण बनाइ जैविकमैत्री अभियानसहित सञ्चालन हुँदैछ ।  एकल महिलाद्वारा निर्मित सामग्री, स्थानीय क्षेत्रमा पाइने काठ, ढुंगा र हस्तकलामा आधारित सामग्रीले बनाइएका बगैँचाले मानिसलाई पुन: प्रकृतिसम्म पुर्याउने ग्रुपका सञ्चालक सौगात थापा बताउँछन् । ‘सहर भित्र पनि मानिसलाई प्रकृतिसँग नजिक राख्न सकिने उद्देश्य र वातावरणलाई जीवित तुल्याउन पनि बगैँचाले ठूलो योगदान पुर्याउने छ,' उनले भने,’ बाहिरको कोलाहलबाट मुक्ति दिलाउन सक्नु र शान्त वातावरण तथा वातावरणको दीर्घकालीन विकासलाई लामो समयसम्म राख्नु बगैँचाको उद्देश्य हो ।'  नेपाली माटो सुहाउँदो नाम हुँदा बगैँचाले सुन्दर अर्थ बोकेको हुनाले प्रकृतिसँग नजिक बनाउन खोजिएको उनको भनाइ छ । बगैँचाले प्रकृतिप्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने निर्देशक थापाले बताए । मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकाले प्रकृतिको नजिक लैजान यो शैलीको हस्पिटालिटी व्यवसाय सुरू गरिएको थापाले खुलाए । यहाँ आउने पाहुनाले व्यवसायीक रूपमा चाहेको सब कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए ।  बगैँचा रिसोर्टको कोठमा न्यानो काठका टोन, बाहिरबाट पातलो प्रकाश र हस्तकलाबाट बनेका फर्निचरका सामग्री राखिएको छ । कोठाको सजावटलाई बढी आकर्षक बनाएको छ । बगैँचाले प्राकृतिक अनुकुलतालाई पहिलो प्राथमिकतामा राखेको छ । प्लास्टिकको प्रयोगलाई पूर्ण रूपमा निषेध गरिएको छ । ‘वातावरणमैत्री बनाएर प्रकृतिको संरक्षण गर्नु हामी सबैको दायित्त्व हो भनेर सन्देश दिएका छौ,’ उनी भन्छन्,’ यहाँको सामग्रीहरू सबै वातावरणमैत्री रहेको छ । जसले गर्दा हाम्रो यहाँ आउनु हुने पाहुना र हामीले वातावरणलाई असर गर्दैनौ भनेर सन्देश पुर्‍याउँनेछौ ।‘  महिला सशक्तीकरणलाई पहिलो प्राथमिकतामा राखेर लक्जरी रिसोर्ट सञ्चालनमा ल्याएको उनी बताउँछन् । लैङ्गिक समानता तथा आर्थिक सबलीकरणलाई बढी ध्यान दिएको उनले प्रस्ट पारे । महिलाहरूले निर्माण गरेका सामग्रीहरू राखिएको छ । महिलाद्वारा निर्मित सामग्रीहरू विभिन्न जिल्लाबाट मगाएर रिसोर्टमा राखिएको छ । एकल महिलालाई आर्थिक रूपमा सक्षम बनाउन उहाँहरूको सामग्री रिसोर्टमा प्रयोग गरिएको उनले बताए ।' हातले बनाएका सामग्री राखेका छौ, थापाले सुनाए, 'नेपालमा स्थानीय वस्तुहरू प्रयोगमा ल्याएका छौ । लोपोन्मुख राउटे समुदायले प्रयोग गर्ने भाडाकुँडा छन् ।' पछिल्लो समय जलवायु परिवर्तनको असर विश्वभर देखा पर्दै गएको छ । यसको असर नेपाल लगायत पोखरामा पनि देखा पर्न थालिसकेको छ । समयमा पानी नपर्ने तथा पानीको अभाव हुने जस्ता संकेत देखा पर्न थालिसकेका छन् । प्रकृतिको केही भर हुन्न भने जस्तै बगैँचाले अहिलेदेखि वर्षाको पानी संकलन गर्न थालिसकेको थापाले जानकारी दिए ।  उनी प्राकृतिक रूपमा सिर्जित पानीको प्रयोगलाई पहिलो प्राथमिकतामा राखिएको बताउँछन् । रिसोर्टलाई प्रदूषणमुक्त बनाउन इलेक्ट्रिक सवारीसाधन प्रयोग गरिएको छ । निर्देशक थापाले यातायातको रूपमा विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाइएको बताए ।  स्थानीय जैविक विविधतालाई संरक्षण गरेर वरिपरिको वातावरणलाई जगेर्ना गर्नु यस रिसोर्टको मुख्य उद्देश्य रहेको उनले बताए ।  थापाले रिसोर्टकै नाम अनुसार स्पाको समेत सेवा सुविधा रहेको जानकारी दिए । उनले अगाडि थपे,’ नेपाली पारम्परिक उपचार पद्धतिबाट मसाज सेवा, ध्वनि उपचार ९ साउन्ड हेलिङ् र सिङ्गिङ बाउल थेरापी० बगैंचाभित्र शान्त वातावरणमा हुने योग अभ्यासहरू र मानसिक पुनःस्थापनाका लागि समर्पित डिजाईन बगैंचाका विशेषता रहेका छन् ।‘  यहाँको अर्को विशेषता भनेको स्थानीय जडीबुटीबाट तयार पारिएको विशेष चिया उपलब्ध गराइने उनले जानकारी दिए । अन्त कतै उपलब्ध नहुने यस बगैंचामा रिसोर्टमा मात्र चिया उपलब्ध हुन थापाले उल्लेख गरे । पोखरालाई तालै तालको सहर भनेर पनि चिनिन्छ ।  तर पर्यटन क्षेत्रमा बगैँचाले पोखराको परिचय बदल्ने उनको विश्वास छ । तालहरूमा शान्त बोटिङ र बगैंचामा रुखका छहारी तथा यसका हाँगाले पाहुनालाई आनन्द र शितलता प्रदान गर्ने धारणा थापाले सुनाए । बगैंचाको शान्त वातावरणले पाहुनालाई पुनः पोखराका लागि निम्ता दिइरहने उनको विश्वास छ ।  रिसोर्टको बनोट र संरचना फरक किसिमले बनाइएकाले पनि अझ बढी आकर्षण बढ्ने थापा बताउँछन् । बगैँचा पारिवारिकमैत्री रहेको उनले जानकारी दिए । 'यहाँ परिवारसहित मजाले घुमेर आनन्द लिन सक्न गरे हामीले यहाँ भित्र संरचना तयार गरेका छौ,’ उनले सुनाए,’ यहाँको विशेष सेवा परिवारमैत्री रहेको छ । जसले गर्दा पाहुनालाई आफ्नो घरमा बसेर आनन्द लिइरहेको जस्तो होस ।' बगैँचामा दुई रेष्टुरेण्ट रहेको छ । मरिच इन्डो–चाइनीज र कन्टिनेन्टल खाना पाइन्छ । उद्यमी रेष्टुरेण्ट जसले परिष्कृत प्यान–एशियनको स्वाद लिन पस्कने उनले जानकारी दिए ।  बगैँचामा 'टारो' पूलसाइड बार रहेकाले बगैँचाको थप आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे । यहाँ पाइने खानाका परिकारका सामग्रीहरू बगैंचाको आफ्नै अर्गानिक फार्मबाट ल्याइने निर्देशक थापाले जानकारी दिए । मौसम अनुसारका उपलब्ध हुने तरकारी अन्य खाद्य सामग्री पाइने उनले प्रस्ट पारे । ‘रिसोर्टमा आउने पाहुनाका लागि स्टयान्डर्ड रूम, एक्जिक्युटिभ रूम, आर्बर सुइट, बगैंचा सुइट गरि अतिथिका लागि चार प्रकारका आकर्षक कोठाको प्रबन्ध गरिएको छ,’ उनले उत्साहित हुँदै भने,’ ३२ वटा कोठामै निजी बाल्कोनी रहेकाले रिसोर्टबाट हरियाली वातावरण दृश्यको अवलोकन गर्न सकिन्छ ।‘   रिसोर्टमा १५० देखि ३५० डलरसम्मका कोठाहरू पाइने थापाले जानकारी दिए । उनका अनुसार साढे चार रोपनी क्षेत्रफलमा र ७० करोड लागतमा सम्पन्न भएको छ । ‘यो एउटा उद्यम नभइ मुलुकका लागि बगैंचा दर्शन रहेको छ । जहाँ मानिसलाई शान्त बनाएर योग मार्फत स्वस्थ्य तथा मजबुत बनाउने नयाँ योजनासहित आएका छौ,' उनी दार्शनिक सुनिए,’ साँचो लक्जरी भनेको विचारशीलता हो, विचारले पनि मानिसलाई स्वस्थ्य बनाउन सकिन्छ भन्ने हाम्रो उद्देश्य हो । जहाँ विश्राम, पुनर्जागरण र सम्बन्धको समिश्रण हुन्छ । बगैंचा अभिव्यक्ति, भावनात्मक र अनुभवको स्वतन्त्रता पनि हो । यसलाई नेपालभित्रको भविष्यसूचकको संकेतका रूपमा लिन सकिन्छ ।‘ त्यसैगरी, ३१ एभिन्यु बाराही चोकमा ३१ पार्क पनि केही महिनापश्चात सञ्चालनमा आउने अंशुवाराका निर्देशक अविरल थापाले जानकारी दिए ।  

नाइमा मोबिलिटी एक्स्पो २०२५ मा ‘जेको जे-५’ इभी सार्वजनिक हुने

काठमाडौं । ओमोडा एन्ड जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नाइमा मोबिलिटी एक्स्पोमा नयाँ विद्युतीय सवारीसाधन एसयुभी ‘जेको जे-५’ सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने लक्ष्यका साथ यो प्रिमियम एसयुभी ल्याउन लागेको हो ।  कम्पनीका अनुसार जे-५ लाई एडभेन्चरस यात्राका लागि उपयुक्त हुने गरी रगेड डिजाइनमा तयार पारिएको छ । यसमा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास), प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा र इन्डिपेन्डेन्ट सस्पेन्सन जस्ता सुविधा उपलब्ध हुनेछन् ।  यो एसयुभीमा १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ ।  कम्पनीले एक पटकको फुल चार्जमा यसले ४०२ किलोमिटरको डब्लुएलटीपी प्रमाणित रेन्ज दिने दाबी गरेको छ। जे-५ को लम्बाई ४३८० मिमी, चौडाई १८६० मिमी, उचाई १६५० मिमी छ र यसमा १८ इन्चको एलोय ह्विल प्रयोग गरिएको छ । एसयुभीको भित्री भागमा भेन्टिलेटेड सिट, डिजिटल इन्सट्रुमन्ट क्लस्टर, र २५६-कलर एम्बिएन्ट लाइटिङ जस्ता प्रविधि समावेश छन् ।  यसमा १३२० मिमी चौडा दोस्रो पङ्क्तिको सिट रहेको कम्पनीले जनाएको छ । सामान राख्नका लागि ४८० लिटरको बुट स्पेस र ३६ वटा स्टोरेज कम्पार्टमेन्टहरू उपलब्ध छन् ।  सुरक्षाका लागि जेको जे-५ मा लेभल २ एडास अन्तर्गतका विभिन्न फिचरहरू छन् । यसमा फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल र स्वचालित आपतकालीन ब्रेकिङ सहित १९ भन्दा बढी सुरक्षा प्रविधि रहेको बताइएको छ । जेको जे-५ को सार्वजनिकसँगै एसपिजि अटोमोबाइल्सले नेपालमा आफ्नो इभी लाइनअपलाई थप बलियो बनाउनेछ । कम्पनीले यसअघि नै ओमोडा इ-५ र जेइको जे-६ इभी पनि बजारमा ल्याउने घोषणा गरिसकेको छ।  पर्फर्मेन्स, प्रविधि र लक्जरी सुविधासहितको जे-५ ले नेपाली बजारमा नयाँ प्रतिस्पर्धा सिर्जना गर्ने अपेक्षा गरिएको छ । यो ईभी नेपाल आइपुगेको छ । नेपाल आएको जेको जे-फाइभको मूल्य ६० लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।  आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नाइमा मोबिलिटी एक्स्पो आयोजना हुनेछ ।

केरुङमा फसेका नेपालीलाई आज स्वदेश फर्काइँदै

काठमाडौं । नेपाल-चीन सिमानामा रहेको ल्हेन्दे खोलामा गत असार २४ गते आएको बाढीबाट चीनमा फसेका नेपालीलाई आज स्वदेश फर्काइने भएको छ । बाढीका कारण नेपाल-चीन मितेरी पुल बगाएपछि स्वदेश फर्कन नपाएका नेपालीलाई आज सिन्धुपाचोकको तातोपानी नाका हुँदै नेपाल फर्काउन लागिएको हो । चीनमा फसेका नेपालीलाई स्वदेश फर्काउनका लागि गत सोमबार रसुवाका प्रतिनिधिसभा सदस्य इञ्जिनियर मोहन आचार्यले पपराष्ट्रमन्त्री डा आरजु राणा देउवालाई भेटेर कूटनीतिक पहलका लागि आग्रह गरेका थिए । भेटमा सांसद आचार्यले केरुङमा रहेका नेपालीलाई नेपाल ल्याउन भइरहेको ढिलाइ, नेपाल-चीन जोड्ने अस्थायी पुल निर्माण, दुई देश जोड्ने मितेरी पुलको पुनर्निर्माण, मौसम पूर्वानुमानसम्बन्धी सूचना आदानप्रदानलगायत विषयमा परराष्ट्रमन्त्री डा. राणाको ध्यानाकर्षण गराएकी थिइन् । उक्त ध्यानाकर्षणसँगै चीनमा फसेका नेपालीलाई आज सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै स्वदेश फर्काउन लागिएको हो । चीनमा फसेकालाई रसुवामा पुल नबनेका कारण तातोपानी नाका हुँदै नेपाल ल्याउन लागिएको हो । तातोपानी नाकाबाट नेपाल आउने नेपालीहरूका लागि काठमाडौंसम्मको यातायातको व्यवस्था सरकारले गरेको छ भने चिनियाँ भूमिमा चीन सरकारले गरेको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पौडेलले नेपाल फर्काउन लागिएकामा सवारी चालक तथा बिरामी परेका, नियमित औषधि सेवन गरिरहेका र औषधि सकिएका गरी २०३ नेपाली रहेको जानकारी दिए । बाढीका कारण अवरुद्ध भएको स्याफु्रबेँसी–रसुवागढी सडकखण्ड सञ्चालनमा आए पनि मितेरी पुल सञ्चालनमा नआएका कारण तातोपानी नाकाबाट उनीहरूलाई नेपाल फर्काउन लागिएको उनले बताए ।  

होटल सिराइचुलीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट

काठमाडौं । चितवनको भरतपुरमा अवस्थित चारतारे होटल सिराइचुली लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपीओ) निष्कासन गर्ने तयारी गरिरहेको छ । कम्पनीले धितोपत्र बोर्डको नियमावली र निर्देशिकाअनुसार आवश्यक स्वीकृति प्राप्त गरेपछि शेयर निष्कासन प्रक्रिया अघि बढाउने बताएको छ । सो कार्यका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।  आयोजित औपचारिक सम्झौता कार्यक्रममा होटल सिराइचुली तर्फबाट अध्यक्ष चुडामणी खनाल र नबिल इन्भेष्टमेन्ट बैंकिङका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीबीच सम्झौतामा हस्ताक्षर गरिएको हो । कार्यक्रममा होटल सिराइचुलीका प्रबन्ध सञ्चालक विष्णु कुँवर र सञ्चालक बाबुराम उपाध्यायको पनि उपस्थिति रहेको थियो । भरतपुर–१० मा अवस्थित सिराइचुली होटल एक आधुनिक र सुविधासम्पन्न चारतारे होटल हो । होटलमा समकालीन आवास, मल्टिकुजिन रेस्टुरेन्ट, ३ वटा बैंक्वेट हल, ५ वटा बोर्डरुम, इन्फिनिटी स्विमिङ पूल, रुफटप रेस्टुरेन्ट, पुलसाइड बार, जिम र स्पा लगायतका सेवा उपलब्ध छन् । होटलको विशेषता भनेको हिमालय पर्वत शृङ्खलाको दृश्यावलोकन गर्न मिल्ने सिटी सेन्टर लोकेशनमा रहेको शानदार सुविधा हो, जसले आन्तरिक र बाह्य पर्यटकहरूलाई आकर्षण गर्ने कम्पनीको विश्वास छ ।

झलनाथको टिप्पणी : अहिलेको सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न सकेन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सरकारले जनताको हितमा कमिलोसम्म पनि मार्न नसकेको टिप्पणी गरेका छन् । बुधवार कीर्तिपुरमा आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।  सरकारमा दुई वटा हात्ती जस्तै शक्तिशाली पार्टी रहेको भएपनि जनताको हितमा कुनै काम गर्न नसकेको जिकिर गरे । उनले एक पछि अर्को भ्रष्टाचारका काण्डहरु देखा परेको भन्दै भ्रष्टहरुले देशमा शासन गरिरहेको बताए । देशमा भ्रष्टाचार आज हरेक क्षेत्रमा व्याप्त रहेको जानकारी दिए ।  भ्रष्टाचारविरुद्धको अभियान सञ्चालन गरेर उन्मुलन नगरेसम्म जनताले आफ्नो हक नपाउने बताए । हरेक दिन २५ सय नेपालीहरु विदेशमा रोजगारीका लागि जाने गरेको र ५ जनाको शव दैनिक नेपाल आउने गरेको भन्दै बहुदलीय जनवाद र पुँजीवादी जनवादले गरेको काम र प्रगति यही हो ? भन्दै प्रश्न गरे ।  नेता खनालले भने, ‘अहिले कस्तो सरकार बनिरहेको छ । के गरिरहेको छ । जनताको हितमा । कम्युनिष्ट पार्टीको सरकार छ । तर पुँजीवादी जनवाद स्थापना भयो । बहुदलीय जनवाद स्थापना भयो । त्यसले हामीलाई दलाल पुँजीवादतर्फ लग्यो । राजनीतिक संकट हरदिन गहिरिएको छ । दुई वटा हात्ती जस्ता पार्टीहरु छन्, सत्तामा । कमिलो पनि मार्दैनन् । हात्ती जस्ता पार्टीहरुले । पुँजीवादी जनवादले गरेको काम र प्रगति ? व्यवहारमा यही कुरा देखिरहेका छौँ ।’ नेता खनालले नयाँ जनवादलाई लागू गर्दै अघि बढ्ने सिलसिलामा एउटा खास बिन्दुमा गएपछि नेपालको कम्युनिष्ट आन्दोलन भड्किएको बताए । ०६२/०६३ को क्रान्ति पुँजीवादी जनवादी क्रान्ति मात्रै भएको बताए । 

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ६८औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले आफ्नो ६८औं वार्षिकोत्सव मंगलबार विविध कार्यक्रमहरूमार्फत भव्य रूपमा सम्पन्न गरेको छ । पेशागत महासंघका अध्यक्ष पुण्यप्रसाद ढकालले प्रमुख अतिथि रहनुभएको मूल समारोहमा उनले श्रमिकको रोजगारी र सेवासुविधा सुनिश्चित हुन सकेमा उत्पादकत्वमा स्वतः वृद्धि हुने धारणा व्यक्त गरे । बैंकमा हाल चलिरहेको आन्दोलनमा महासंघले ऐक्यबद्धता जनाउँदै आवश्यक पहलकदमी लिने प्रतिबद्धता पनि उनले व्यक्त गरे । संघका अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेयको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले पुराना सम्झौताहरू कार्यान्वयन नभएकोप्रति चिन्ता व्यक्त गर्दै अब बाध्यात्मक आन्दोलनमा जानुपर्ने अवस्था आउन सक्ने चेतावनी दिए । कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थितिसँगै सेवाप्रति योगदान पुर्‍याउने कर्मचारीहरूलाई सम्मान गरिनुका साथै निबन्ध र खेलकुद प्रतियोगिता आयोजना गरिएको थियो । यस अवसरमा संघको कर्णाली प्रदेश समितिलाई उत्कृष्ट कार्यसम्पादनको आधारमा सम्मान गरिएको थियो । त्यस्तै, ‘उपदान प्रणालीको प्रभाव’ विषयक निबन्ध प्रतियोगितामा जानकी कुमारी न्यौपाने प्रथम भएकी थिइन् । कार्यक्रममा केन्द्रका अलावा कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश समितिहरूले समेत विविध सामाजिक र अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालन गरेका थिए । संघको यो वार्षिकोत्सव रक्तदान, खाद्यान्न वितरण, वृदाश्रम र बालगृहमा सेवा, तथा विपन्न विद्यार्थीलाई सामग्री वितरण जस्ता सामाजिक उत्तरदायित्वका कार्यमार्फत अर्थपूर्ण रूपमा सम्पन्न भएको हो ।

एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए

भद्रपुर । जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा कार्यालयमा उद्योगतर्फ पाँच सय ८१ र वाणिज्यतर्फ चार सय ९८ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ एक हजार छ सय नौ र वाणिज्यतर्फ एक हजार छ सय ६५ उद्योग नवीकरण गरिएको उनले बताए । सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा आव २०८१/८२ मा उद्योगतर्फ तीन सय २४ र वाणिज्यतर्फ दुई सय ३७ गरी पाँच सय ६१ उद्योग खारेज हुँदा ५८ उद्योगको ठाउँसारी तथा एक सय ५२ उद्योगले उद्देश्य थपेका छन् । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताए ।  उद्योग बन्द हुनेभन्दा नयाँ थपिने क्रम बढ्दै गएको छ ।  कार्यालयले आव २०८१र८२ मा विभिन्न शीर्षकमा रु दुई करोड ९१ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।