सेयर किन्न बैंक खातामा पैसा अनिवार्य हुनुपर्ने
काठमाडौं । सेयर खरिद गर्न चाहने व्यक्तिको बैंक खातामा रकम अनिवार्य रूपमा हुनुपर्ने व्यवस्था लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको ‘नीति तथा कार्यक्रम’ मा यस्तो व्यवस्था अघि बढाउने घोषणा गरेको हो । बोर्डको नीतिमा उल्लेख गरिएको छ, ‘’ दोस्रो बजारबाट धितोपत्र खरिद गर्दा खरिदकर्ताको बैंक खातामा रकम भएपश्चात मात्र कारोबार हुने व्यवस्था गर्ने कार्य अगाडि बढाइनेछ ।’ त्यस्तै, आईपीओ (प्राथमिक निष्काशन) मा आवेदन दिने क्रममा बैंक खाताको रकम रोक्का हुने व्यवस्था पनि अघि सारिएको छ । यसका लागि आस्वा सदस्य बैंकरवित्तीय संस्थाले सिडिएस मार्फत ‘एपीआई’ प्रणाली प्रयोग गरी आवेदन भेरिफिकेसनको साथै रकम रोक्का गर्ने प्रणाली लागू गरिनेछ । बोर्डका अनुसार, धितोपत्र बजारको प्रणालीगत जोखिम कम गर्न, लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्न र बजारमा जनविश्वास बढाउन यी सुधारहरू आवश्यक छन् । साथै, बोर्डले इक्विटी डेरिभेटिभ बजारको पूर्वाधार निर्माण, मर्चेण्ट बैंकर, दलाल व्यवसायी, सामूहिक लगानी कोष लगायतका संस्थाहरूले पेश गर्नुपर्ने विवरणहरूको ढाँचा लागू गर्ने, जोखिममा आधारित सुपरीवेक्षण प्रणाली ल्याउने, र सूचीकृत कम्पनी वर्गीकरणलाई सुधार गर्ने नीति पनि सार्वजनिक गरेको छ । त्यस्तै, आईपीओबाट उठाइएका रकम वास्तवमै तोकिएको उद्देश्यअनुसार प्रयोग भएको छ कि छैन भन्ने अनुगमन सुरु गर्ने निर्णय पनि बोर्डले गरेको छ । दलाल व्यवसायीले लगानीकर्ताको आदेश अनुसार सेवा दिन आवश्यक प्राविधिक पूर्वाधारहरू प्रभावकारी छन् वा छैनन् भन्ने मूल्यांकनको अनुगमन व्यवस्था पनि गरिनेछ ।
वर्षाका कारण देशभरका चार राजमार्ग अवरुद्ध
काठमाडौं । वर्षाका कारण आएको बाढीपहिरोले देशभरका प्रमुख चार राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार वर्षाका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी करिडोर, पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकास्थित मेची राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित पासाङल्हामु सडक र रुकुम पश्चिमको आठबिसकोठ नगरपालिकास्थित जाजरकोट(डोल्पा भेरी करिडोर अवरुद्ध भएका हुन् । यसैगरी, वर्षाका कारण अवरुद्ध भएका छ राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । टोखा नगरपालिका-२ स्थित काठमाडौं-नुवाकोट सडकखण्ड, बाग्लुङ नगरपालिका र नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकाको ग्रामजिम, भुर्तिवाङ र धामाचौरस्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालन भएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जगदुल्ला हाइड्रोपावरबारे लेखा समितिले भन्यो-प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउनू
काठमाडौं । जगदुल्ला हाइड्रोपावरमा भएको अनियमितताबारे प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले प्रचलित कानूनअनुसार आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । बुधबार भएको छलफल पछिको निर्णय सुनाउँदै सभापति ऋषिकेश पोखरेलले प्रचलित कानूनहरु अनुसार उठेका विषयहरु छानविन गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । पहिल्यै यो विषय अदालतमा गएको थाहा नभएका कारण छलफलमा ल्याइएको बताउँदै आगामी दिनमा यस्ता विषयमा सजगतापूर्वक छलफल चलाइने बताए । समिति सभापति पोखरेलले भने–‘उक्त विषय सर्वोच्च अदालतमा विचाराधिन भएको अवस्थामा हामीले यसबारे छलफल अघि बढाउनुपर्ने देखिएन । हामीले निकाल्ने निष्कर्षले कुनै परिणाम दिने देखिएन । प्रचलित कानून विपरित नहुने गरी सम्बन्धित निकायलाई जवाफदेही हुनेगरी आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिने निर्णय गर्दछौं ।’ पोखरेलले निर्णय सुनाउँदै गर्दा माओवादी सांसद अमनलाल मोदीले भने नोट अफ डिसेन्ट भने । उनले अनियमितताबारे गम्भीर रुपमा छानविन हुनुपर्ने बताएका थिए । सांसद मोदीले भने–‘यस्ता अनियमितताका विषयमा यति हल्का निर्णय गरिन्छ भने मेरो सहमती छैन । नोट अफ डिसेन्ट ।’ सांसद मोदीले समिति बैठकमा सो कुरा बताइरहँदा सभापति पोखरेलले भने अदालतमा गएको विषयमा समिति संयम हुनुपर्ने अवस्था आएको बताए ।
धनीको शीर्ष स्थानबाट हट्न सक्छन् मस्क, ओरेकलका संस्थापक एलिसनले दिए चुनौती
काठमाडौं । विश्वका सबैभन्दा धनी एलन मस्कको गद्दी अहिले संकटमा परेको छ । यस वर्ष उनको नेटवर्थमा ५९.४ अर्ब डलरको गिरावट आएको छ । यति ठूलो गिरावट आए पनि उनी अझै पनि ३७३ अर्ब डलर नेटवर्थका साथ पहिलो स्थानमा कायम छन् । तर यो अवस्था चाँडै परिवर्तन हुन सक्छ । यो परिवर्तनको कारण सफ्टवेयर कम्पनी ओरेकलका संस्थापक ल्यारी इलिसन हुन्, जसको नेटवर्थ तीव्र गतिमा बढिरहेको छ । ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्स अनुसार मंगलबार एकैदिन इलिसनको नेटवर्थ २८.४ अर्ब डलरले बढेको छ । यससँगै उनको नेटवर्थ २८९ अर्ब डलर पुगेको छ । यदि यस्तै गति कायम रह्यो भने उनी आगामी तीन दिनमै एलन मस्कलाई उछिनेर पहिलो स्थानमा पुग्न सक्छन् । हाल मस्क र इलिसनबीच ८४ अर्ब डलरको अन्तर छ । इलिसनको नेटवर्थ यस वर्ष मात्रै ९६.८ अर्ब डलरले बढिसकेको छ । ८० वर्षीय इलिसनसँग ओरेकल कम्पनीको करिब ४० प्रतिशत सेयर स्वामित्व छ । झण्डै ३७ वर्षसम्म कम्पनीको बागडोर सम्हालेपछि उनले २०१४ मा सीईओ पदबाट राजीनामा दिएका थिए । साथै उनी डिसेम्बर २०१८ देखि अगस्ट २०२२ सम्म टेस्लाको बोर्ड सदस्य पनि थिए । इलिसनले सन् २०१२ मा हवाई द्वीपमा ३०० मिलियन डलरमा एउटा टापु किनेर २०२० देखि त्यहाँ स्थायी रूपमा बसोबास गर्न थालेका छन्। धनीहरूको सूचीमा अरू पनि फेरबदल भएका छन् । फेसबुकको मूल कम्पनी मेटा प्लेटफम्र्सका सीईओ मार्क जुकरबर्ग अब चौथो स्थानमा झरेका छन् । मंगलबार उनको नेटवर्थमा २।७९ अर्ब डलरको गिरावट आएर कुल नेटवर्थ २४८ अर्ब डलरमा झरेको छ । यसैबीच अमेजनका संस्थापक जेफ बेजोस २४९ अर्ब डलर नेटवर्थका साथ तेस्रो स्थानमा पुगेका छन् ।
पहिरोले तातोपानी नाका पूर्णरूपमा अवरुद्ध
चौतारा । भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरूपमा बन्द भएको हो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार आज बिहान करिब ५ः०० बजे भोटेकोशी गाउँपालिका(२ कोदारीस्थित इकु पहिरो क्षेत्रबाट सडक माथिबाट ठूलो मात्रामा पहिरो खस्दा सडक सम्पूर्ण रूपमा बन्द भएको हो । उनले पहिरोका कारण तातोपानी नाकासँगको आवतजावत र सवारी सञ्चालन पूर्णरूपमा रोकिएका बताए । पहिरो झर्ने क्रम अझै नरोकिएकाले हालको अवस्थामा सडक सञ्चालन गर्न असम्भव देखिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । उनका अनुसार इकु पहिरो क्षेत्र विगतदेखि नै संवेदनशील मानिँदै आएको छ । पटकपटक सडक भासिने समस्या आइरहेको यस क्षेत्रमा, २०७२ सालको भूकम्पले कोदारी बस्ती बगाएपछि उक्त क्षेत्र पहिरोको उच्च जोखिममा परेको शेर्पाले बताए । हाल बस्ती पूर्णरूपमा विस्थापित भइसकेको उल्लेख गर्दै उनले सडक खुलाउने सम्भावनाबारे सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबीच छलफल जारी रहेको जानकारी दिए ।
तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना
काठमाडौं । सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा भएको नेपाल प्रहरीको पछिल्लो विश्लेषणमा देखाइएको छ । पछिल्लो एक महिनाको सवारी दुर्घटनाको अवस्था अध्ययन गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताए । गएका महिनामा दुई हजार ९२२ सवारी दुर्घटना भएका जनाउँदै उहाँले त्यसमा एक हजार ४५० दुर्घटना तीव्र गतिका कारण भएका बताए । त्यसपछि मापसे गरेर सवारी चलाउँदा दुर्घटना भएको पाइएको छ । बाटो काट्दा, ‘ओभटेक’ गर्दा, लेन मिच्दा पनि दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ । 'यसरी हुने दुर्घटनामा अधिकांश मोटरसाइकल परेका छन् । जसले गर्दा मोटरसाइकल यात्रा जोखिममा रहेको देखाएको छ, त्यसैले तीव्र गतिमा मोटरसाइकल चलाउनै हुँदैन', प्रवक्ता घिमिरेले भने । नेपाल प्रहरीका अनुसार गत असारमा भएका दुर्घटनाको अध्ययन गर्दा ५६ दशमलव ५७ प्रतिशत मोटरसाइकल दुर्घटनामा परेका छन् । केन्द्रीय प्रवक्ता घिमिरेले ती दुर्घटनामा परेका कुल चार हजार ४२८ गाडीमध्ये दुई हजार ५०५ वटा मोटरसाइकल रहेका जानकारी दिए । त्यसपछि जिप/कार दुर्घटना १७ दशमलव २३ प्रतिशत छन् । ट्रक, ट्याङ्कर छ दशमलव ४६ प्रतिशत र बस चार दशमलव ४३ प्रतिशत दुर्घटनामा परेका छन् । कुल दुई हजार ९२२ वटा दुर्घटनामा ती सवारीसाधन संलग्न रहेका प्रहरीले जनाएको छ । ती दुर्घटनामा परेर एक महिनामै २३९ जनाको मृत्यु भएको छ । प्रवक्ता घिमिरेका अनुसार १८६ पुरुष, ३६ महिला र १७ जना बालबालिकाको दुर्घटनामा परेर मृत्यु भएको हो । ती दुर्घटनामा ६२५ जना घाइते भएका उनले जानकारी दिए । रासस
एक्सेल डेभलपमेन्ट बैंक २१औं वर्षमा प्रवेश, वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले स्थापनाको २० औं वर्ष पार गर्दै २१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले साउन ६ गते विविध कार्यक्रमहरूसहित २० औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बैंकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट विहान ६:३० बजे सुरु गरिएको प्रभातफेरी कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी प्लेकार्डहरूसहित बैंकका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । त्यसै दिन, बैंकले मेची प्रादेशिक अस्पताल भद्रपुर र नेपाल अपाङ्ग संघ, झापा शाखाका बिरामीहरूलाई फलफूल वितरण गर्ने समाजिक उत्तरदायित्व कार्यक्रम पनि सञ्चालन गरेको थियो । यस अतिरिक्त, बैंकका सबै शाखा कार्यालयहरूले वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई चकलेट वितरण गर्दै उत्सव मनाएका थिए । २० वर्षको यात्रामा झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका ४७ स्थानमा शाखा विस्तार गरिसकेको बैंकले अब कोशी प्रदेशका अन्य जिल्लामा पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । बैंकले स्थापनाकालदेखि अहिलेसम्म साथ र सहयोग गर्ने संस्थापक, सेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारी तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ आधुनिक, प्रविधिमैत्री र विश्वासिलो सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
बीमा प्राधिकरणको सञ्चालक समितिबाट बाहिरिइन् राधा पोखरेल
काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिबाट महिला सदस्य राधाकुमारी पोखरेल बाहिरिएकी छिन् । सञ्चालक समितिको महिला सदस्यबाट राजीनामा दिएसँगै वेबसाइटबाट उनको नाम हटाइएको छ । पोखरेलले केही दिनअघि राजीनामा दिएपनि आइतबार मात्रै आफ्नो राजीनामा स्वीकृत भएको बताइन् । आफ्नो स्वास्थ्य अवस्थाको कारणले गर्दा प्राधिकरणमा समय दिन नसकेको कारण खुलाउँदै उनले राजीनामा दिएकी हुन्। केही दिनअघि राजीनामा गरे पनि प्राधिकरणले वेबसाइटमा भने सञ्चालक समिति सदस्यहरूको विवरण मंगलबार मात्र अद्यावधिक गरेको छ । सञ्चालक समितिमा अध्यक्ष सेवन्तक पोखरेल, सदस्यद्वय मानबहादुर अर्याल र सन्तोष रिजाल मात्र छन् । प्राधिकरणको सदस्य पदमा नियुक्त हुँदा धेरैले उनको नियुक्तिमा प्रश्न उठाएका थिए । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयका आधारमा चैत १ गतेदेखि लागू हुने गरी पोखरेललाई विज्ञ महिला सदस्यका रूपमा नियुक्त गरेका थिए ।