विकासन्युज

धनीको शीर्ष स्थानबाट हट्न सक्छन् मस्क, ओरेकलका संस्थापक एलिसनले दिए चुनौती

काठमाडौं । विश्वका सबैभन्दा धनी एलन मस्कको गद्दी अहिले संकटमा परेको छ । यस वर्ष उनको नेटवर्थमा ५९.४ अर्ब डलरको गिरावट आएको छ । यति ठूलो गिरावट आए पनि उनी अझै पनि ३७३ अर्ब डलर नेटवर्थका साथ पहिलो स्थानमा कायम छन् । तर यो अवस्था चाँडै परिवर्तन हुन सक्छ । यो परिवर्तनको कारण सफ्टवेयर कम्पनी ओरेकलका संस्थापक ल्यारी इलिसन हुन्, जसको नेटवर्थ तीव्र गतिमा बढिरहेको छ ।  ब्लूमबर्ग बिलियनेयर्स इन्डेक्स अनुसार मंगलबार एकैदिन इलिसनको नेटवर्थ २८.४ अर्ब डलरले बढेको छ । यससँगै उनको नेटवर्थ २८९ अर्ब डलर पुगेको छ । यदि यस्तै गति कायम रह्यो भने उनी आगामी तीन दिनमै एलन मस्कलाई उछिनेर पहिलो स्थानमा पुग्न सक्छन् । हाल मस्क र इलिसनबीच ८४ अर्ब डलरको अन्तर छ । इलिसनको नेटवर्थ यस वर्ष मात्रै ९६.८ अर्ब डलरले बढिसकेको छ । ८० वर्षीय इलिसनसँग ओरेकल कम्पनीको करिब ४० प्रतिशत सेयर स्वामित्व छ ।  झण्डै ३७ वर्षसम्म कम्पनीको बागडोर सम्हालेपछि उनले २०१४ मा सीईओ पदबाट राजीनामा दिएका थिए । साथै उनी डिसेम्बर २०१८ देखि अगस्ट २०२२ सम्म टेस्लाको बोर्ड सदस्य पनि थिए । इलिसनले सन् २०१२ मा हवाई द्वीपमा ३०० मिलियन डलरमा एउटा टापु किनेर २०२० देखि त्यहाँ स्थायी रूपमा बसोबास गर्न थालेका छन्। धनीहरूको सूचीमा अरू पनि फेरबदल भएका छन् । फेसबुकको मूल कम्पनी मेटा प्लेटफम्र्सका सीईओ मार्क जुकरबर्ग अब चौथो स्थानमा झरेका छन् । मंगलबार उनको नेटवर्थमा २।७९ अर्ब डलरको गिरावट आएर कुल नेटवर्थ २४८ अर्ब डलरमा झरेको छ । यसैबीच अमेजनका संस्थापक जेफ बेजोस २४९ अर्ब डलर नेटवर्थका साथ तेस्रो स्थानमा पुगेका छन् ।

पहिरोले तातोपानी नाका पूर्णरूपमा अवरुद्ध

चौतारा । भोटेकोशी गाउँपालिका-२ कोदारीमा पहिरो जाँदा अरनिको राजमार्ग पूर्णरूपमा बन्द भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरूपमा बन्द भएको हो । इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईका अनुसार आज बिहान करिब ५ः०० बजे भोटेकोशी गाउँपालिका(२ कोदारीस्थित इकु पहिरो क्षेत्रबाट सडक माथिबाट ठूलो मात्रामा पहिरो खस्दा सडक सम्पूर्ण रूपमा बन्द भएको हो ।  उनले पहिरोका कारण तातोपानी नाकासँगको आवतजावत र सवारी सञ्चालन पूर्णरूपमा रोकिएका बताए । पहिरो झर्ने क्रम अझै नरोकिएकाले हालको अवस्थामा सडक सञ्चालन गर्न असम्भव देखिएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङनुर्पु शेर्पाले जानकारी दिए । उनका अनुसार इकु पहिरो क्षेत्र विगतदेखि नै संवेदनशील मानिँदै आएको छ ।  पटकपटक सडक भासिने समस्या आइरहेको यस क्षेत्रमा, २०७२ सालको भूकम्पले कोदारी बस्ती बगाएपछि उक्त क्षेत्र पहिरोको उच्च जोखिममा परेको शेर्पाले बताए । हाल बस्ती पूर्णरूपमा विस्थापित भइसकेको उल्लेख गर्दै उनले सडक खुलाउने सम्भावनाबारे सडक डिभिजन कार्यालय चरिकोट र स्थानीय सरकारबीच छलफल जारी रहेको जानकारी दिए ।  

तीव्र गतिमा सवारीसाधन चलाउँदा बढी दुर्घटना

काठमाडौं । सबैभन्दा बढी दुर्घटना तीव्र गतिमा सवारीसाधन चलाउँदा भएको नेपाल प्रहरीको पछिल्लो विश्लेषणमा देखाइएको छ । पछिल्लो एक महिनाको सवारी दुर्घटनाको अवस्था अध्ययन गर्दा तीव्र गतिका कारण बढी दुर्घटना हुने गरेको पाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बताए । गएका महिनामा दुई हजार ९२२ सवारी दुर्घटना भएका जनाउँदै उहाँले त्यसमा एक हजार ४५० दुर्घटना तीव्र गतिका कारण भएका बताए । त्यसपछि मापसे गरेर सवारी चलाउँदा दुर्घटना भएको पाइएको छ । बाटो काट्दा, ‘ओभटेक’ गर्दा, लेन मिच्दा पनि दुर्घटना भएको पाइएको प्रहरीले जनाएको छ ।  'यसरी हुने दुर्घटनामा अधिकांश मोटरसाइकल परेका छन् । जसले गर्दा मोटरसाइकल यात्रा जोखिममा रहेको देखाएको छ, त्यसैले तीव्र गतिमा मोटरसाइकल चलाउनै हुँदैन', प्रवक्ता घिमिरेले भने । नेपाल प्रहरीका अनुसार गत असारमा भएका दुर्घटनाको अध्ययन गर्दा ५६ दशमलव ५७ प्रतिशत मोटरसाइकल दुर्घटनामा परेका छन् । केन्द्रीय प्रवक्ता घिमिरेले ती दुर्घटनामा परेका कुल चार हजार ४२८ गाडीमध्ये दुई हजार ५०५ वटा मोटरसाइकल रहेका जानकारी दिए । त्यसपछि जिप/कार दुर्घटना १७ दशमलव २३ प्रतिशत छन् । ट्रक, ट्याङ्कर छ दशमलव ४६ प्रतिशत र बस चार दशमलव ४३ प्रतिशत दुर्घटनामा परेका छन् । कुल दुई हजार ९२२ वटा दुर्घटनामा ती सवारीसाधन संलग्न रहेका प्रहरीले जनाएको छ ।   ती दुर्घटनामा परेर एक महिनामै २३९ जनाको मृत्यु भएको छ । प्रवक्ता घिमिरेका अनुसार १८६ पुरुष, ३६ महिला र १७ जना बालबालिकाको दुर्घटनामा परेर मृत्यु भएको हो । ती दुर्घटनामा ६२५ जना घाइते भएका उनले जानकारी दिए । रासस 

एक्सेल डेभलपमेन्ट बैंक २१औं वर्षमा प्रवेश, वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले स्थापनाको २० औं वर्ष पार गर्दै २१ औं वर्षमा प्रवेश गरेको छ । बैंकले साउन ६ गते विविध कार्यक्रमहरूसहित २० औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बैंकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट विहान ६:३० बजे सुरु गरिएको प्रभातफेरी कार्यक्रममा वित्तीय साक्षरतासम्बन्धी प्लेकार्डहरूसहित बैंकका कर्मचारीहरूको उत्साहजनक सहभागिता रहेको थियो । त्यसै दिन, बैंकले मेची प्रादेशिक अस्पताल भद्रपुर र नेपाल अपाङ्ग संघ, झापा शाखाका बिरामीहरूलाई फलफूल वितरण गर्ने समाजिक उत्तरदायित्व कार्यक्रम पनि सञ्चालन गरेको थियो । यस अतिरिक्त, बैंकका सबै शाखा कार्यालयहरूले वार्षिकोत्सवको अवसरमा ग्राहकहरूलाई चकलेट वितरण गर्दै उत्सव मनाएका थिए । २० वर्षको यात्रामा झापा, इलाम, मोरङ, सुनसरी, पाँचथर, उदयपुर, संखुवासभा र धनकुटा जिल्लाका ४७ स्थानमा शाखा विस्तार गरिसकेको बैंकले अब कोशी प्रदेशका अन्य जिल्लामा पनि सेवा विस्तार गर्ने लक्ष्य लिएको छ । बैंकले स्थापनाकालदेखि अहिलेसम्म साथ र सहयोग गर्ने संस्थापक, सेयरधनी, ग्राहक, नियामक निकाय, कर्मचारी तथा सरोकारवाला सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा अझ आधुनिक, प्रविधिमैत्री र विश्वासिलो सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

बीमा प्राधिकरणको सञ्चालक समितिबाट बाहिरिइन् राधा पोखरेल

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिबाट महिला सदस्य राधाकुमारी पोखरेल बाहिरिएकी छिन् । सञ्चालक समितिको महिला सदस्यबाट राजीनामा दिएसँगै वेबसाइटबाट उनको नाम हटाइएको छ ।   पोखरेलले केही दिनअघि राजीनामा दिएपनि आइतबार मात्रै आफ्नो राजीनामा स्वीकृत भएको बताइन् । आफ्नो स्वास्थ्य अवस्थाको कारणले गर्दा प्राधिकरणमा समय दिन नसकेको कारण खुलाउँदै उनले राजीनामा दिएकी हुन्। केही दिनअघि राजीनामा गरे पनि प्राधिकरणले वेबसाइटमा भने सञ्चालक समिति सदस्यहरूको विवरण मंगलबार मात्र अद्यावधिक गरेको छ । सञ्चालक समितिमा अध्यक्ष सेवन्तक पोखरेल, सदस्यद्वय मानबहादुर अर्याल र सन्तोष रिजाल मात्र छन् । प्राधिकरणको सदस्य पदमा नियुक्त हुँदा धेरैले उनको नियुक्तिमा प्रश्न उठाएका थिए । अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णयका आधारमा चैत १ गतेदेखि लागू हुने गरी पोखरेललाई विज्ञ महिला सदस्यका रूपमा नियुक्त गरेका थिए ।

कालीमाटीमा भेटियो अत्यधिक विषादीयुक्त रायो साग, उपभोग अयोग्य घोषित

काठमाडौं । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ। दोलखाबाट बुधबार ल्याइएको रायो सागमा ८०.९५९० प्रतिशत 'अर्गानोफस्फेट' विषादीको मात्रा पाइएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ । बुधबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारका १७ वटा पसलबाट संकलित तरकारी तथा फलफूलको नमुना परीक्षण गरेको थियो। परीक्षणका क्रममा रायो सागमा अत्यधिक विषादी भेटिएको हो । सरकारी मापदण्डअनुसार ४५ प्रतिशतभन्दा बढी विषादी पाइएका तरकारी उपभोग गर्न अयोग्य मानिन्छ, जसअनुसार उक्त रायो साग स्वास्थ्यका दृष्टिकोणले खतरनाक र प्रतिबन्धित मानिएको छ । यसअघि पनि, २४ असारमा भक्तपुर र २६ असारमा काभ्रेबाट ल्याइएको तरकारीमा विषादीको अत्यधिक मात्रा भेटिएको थियो । विशेषज्ञहरूले पटक–पटक यस्तो विषादी प्रयोगको कारण स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चेतावनी दिँदै आएका छन् । उपभोक्ताहरूले सतर्कता अपनाउनुपर्ने आवश्यकता झनै बढेको छ ।

अमेरिका-जापानबीच ‘सबैभन्दा ठूलो व्यापार सम्झौता’, जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार जापानसँग ‘विशाल’ व्यापार सम्झौताको घोषणा गरेका छन् । जसअनुसार जापानी निर्यातमा अमेरिका प्रवेश गर्दा १५ प्रतिशत ‘पारस्परिक’ भन्सार दर लाग्नेछ । रिपोर्टअनुसार जापानी सवारीसाधनमा लाग्ने भन्सार पनि १५ प्रतिशतमा झारिनेछ । ट्रुथ सोशलमा पोस्ट गर्दै ट्रम्पले यस सम्झौतालाई ‘सायद अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौता’ भनी व्याख्या गरे । उनले भने, ‘जापानले अमेरिकाभित्र ५५० अर्ब डलर लगानी गर्नेछ र अमेरिका त्यसबाट ९० प्रतिशत नाफा प्राप्त गर्नेछ ।’ ट्रम्पका अनुसार जापानले ‘आफ्नो बजार सवारीसाधन, ट्रक, चामल, कृषि वस्तुहरू र अन्य सामग्रीका लागि खुला गर्नेछ ।’ उनले थपे, ‘यस सम्झौताले लाखौं रोजगारी सिर्जना गर्नेछ ।’ जापानले भन्सार दर घटायो रोयटर्सका अनुसार जापानी प्रधानमन्त्री शिगेरु इसिबाले टोकियोबाट अमेरिका निर्यात हुने सवारीसाधनमा लाग्ने भन्सार दर हालको २५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याइने बताएका छन् । सन् २०२४ मा जापानको कुल निर्यातमध्ये २८।३ प्रतिशत सवारीसाधन अमेरिका पठाइएको थियो । एननेक्स वेल्थ म्यानेजमेन्टका प्रमुख अर्थशास्त्री ब्रायन ज्याकबसेनले सीएनबीसीसँग भने, ‘एक वर्षअघि १५ प्रतिशत भन्सार दर अचम्मको कुरा हुन्थ्यो। तर आज राहतको सास फेर्न सकिन्छ ।’ जापानको अमेरिका निर्यातमा आधारित अटोमोबाइल कारोबार २०२४ को जुन महिनामा २६‍.७ प्रतिशतले घटेको थियो, जबकि मे महिनामा यो गिरावट २४.७ प्रतिशत थियो ।  जनवरीदेखि जुनसम्म अमेरिका पठाइएको कुल जापानी सामानको मूल्य १०.३ ट्रिलियन येन (७०.३४ अर्ब डलर) पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.८ प्रतिशत कम हो । घोषणापछि जापानका मुख्य व्यापार वार्ताकार रियोसेई अकाजावाले एक्स (पुरानो ट्वीटर) मा ‘मिसन अकम्प्लिश्ड’ लेख्दै सम्झौतामा संलग्न सबैलाई धन्यवाद दिए । ट्रम्पले ट्रुथ सोशलमा पोस्टपछि दिएको सम्बोधनमा भनेका छन्, ‘हामी जापानसँग तरल प्राकृतिक ग्याससम्बन्धी छुट्टै सम्झौता पनि टुंग्याउँदैछौं ।’ ‘हामीसँग युरोप सम्झौता पनि भोलि आउँदैछ, उनले थपे । तर उनले थप विवरण भने खुलाएनन् । राजनीतिक संकटको बीचमा सम्झौता यो सम्झौता जापानको सत्तारूढ गठबन्धनले माथिल्लो सदनको बहुमत गुमाएपछि आएको हो, जसले प्रधानमन्त्री इसिबाको नेतृत्वलाई सुदृढ पार्न सक्ने विश्लेषण गरिएको छ । हालै इसिबाले भनेका थिए कि उनी प्रधानमन्त्रीको रूपमा रहने छन्, तर जापानको माइनिची समाचारपत्रका अनुसार उनले अगस्टभित्र राजीनामा दिने तयारी गरिरहेका छन् । यामियोरी पत्रिकाका अनुसार इसिबा भन्सार वार्ताको प्रगति मूल्यांकन गरेपछि मात्र आफू बस्ने वा नबस्ने निर्णय गर्नेछन् । एचएसबीसी बैंकले दिएको टिप्पणीमा भनिएको छ, ‘प्रधानमन्त्री इसिबाका लागि यो अनुकूल अमेरिकी व्यापार सम्झौताले अविश्वास प्रस्ताव वा पार्टीभित्रको चुनौतिबाट जोगिन मद्दत गर्न सक्छ ।’ सम्झौतापछि जापानी सेयर बजार उकालो लाग्यो । निक्केई २२५ सूचकांक २ प्रतिशतभन्दा बढीले बढ्यो भने प्रमुख अटो कम्पनीहरूको सेयरमा तीव्र वृद्ध‍ि आयो ।  टोयोटामा ११ प्रतिशत, होन्डामा ८ प्रतिशत, निसानमा ८ प्रतिशत, माज्डाका मोटर्स १७ प्रतिशत र मित्सुबिसी मोटर्समा १३ प्रतिशतले वृद्धि भएको छ । ट्रम्पले यसअघि जापानलाई पठाएको पत्रमा अगस्ट १ बाट जापानी निर्यातमा २५ प्रतिशत भन्सार दर लगाउने चेतावनी दिएका थिए । विसडमट्रीका ग्लोबल मुख्य लगानी अधिकृत जर्मी श्वार्ट्जका अनुसार बजारमा देखिएको तीव्र प्रतिक्रिया यसको संकेत हो कि पहिले बजार अत्यधिक निराशावादी थियो ।

पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन एमालेको रोक, सम्झायो संविधानको धारा ६१

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा आउने चाहनालाई नेकपा (एमाले) ले रोकिदिएको छ । मंगलबार (साउन ६ गते) मध्यराति सम्पन्न एमाले केन्द्रिय कमिटी बैठकले राष्ट्रिय एकता र गणतन्त्रको प्रतिकका रुपमा रहेको तथा राष्ट्रिय गौरवको व्यक्तित्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको हो ।  बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउँदा यसले गणतन्त्र, स्थापित प्रणाली र संविधानमा असर पर्ने एमालेको निष्कर्ष रहेको सुनाए । पूर्वराष्ट्रपतिलाई गणतन्त्रको प्रतिकका रुपमा सबैले सम्मान गरेको स्पष्ट पार्दै उनले त्यो सम्मान कायम राख्न आग्रह पनि गरे । एमालेले पूर्वराष्ट्रपति भण्डारीलाई नेपालको संविधानको धारा ६१ बारे पनि स्मरण गराएको छ । प्रचार विभाग प्रमुख गौतमले भने, ‘आज बहुचर्चित भएको, तपाईंहरूको पनि जिज्ञासा भएको, पूर्वराष्ट्रपतिको पार्टी सदस्यता र पार्टी जीवनमा सक्रिय हुने उहाँले जो अभिव्यक्ति दिनुभएको छ, त्यसको सन्दर्भमा त्यसका धेरै आयामहरूमा हामीले छलफल गर्यौँ । संविधानको भाग २८ को धारा २६७ को २ मा नेपाली सेनाको परमाधिपति हुने व्यवस्था गरेको छ । यसको आधारमा पार्टी के निष्कर्षमा पुग्यो भने एउटा, देशको सर्वोच्च राष्ट्राध्यक्ष पदमा पुगेको व्यक्ति, एउटा राष्ट्रिय एकताको सिम्बोल भएको व्यक्ति, संविधानको संरक्षण र पालनकर्ता भएको व्यक्तित्व, नेपाली सेनाको परमाधिपति भएको व्यक्तित्व, साझा व्यक्तित्व, राष्ट्रिय गौरव, गणतन्त्रको प्रतिक, साझा व्यक्तित्व राजनीतिक दलको नेता या कार्यकर्ता हुने कुरा हाम्रा स्थापित मूल्य, मान्यताले यो राम्रो हुँदैन ।’ प्रचार विभाग प्रमुख गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेले मात्रै नभएर सबै दलले एकताको प्रतिकका रुपमा सम्मान गरेको कुरा पनि स्मरण गराए । प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराईले पनि उनलाई सम्मान गरिसकेको स्पष्ट पार्दै राष्ट्रिय एकताको प्रतिक एउटा दलमा आवद्ध हुनेकुरा अमान्य रहेको गौतमको भनाई थियो ।   उनले भने, ‘त्यसकारण हामीले उहाँलाई दिएको सम्मानमा कुनै पनि कमी गर्न हुँदैन र हामीले उहाँलाई दिएको सम्मान कायम राख्नुपर्छ । उहाँ एउटा राष्ट्रिय व्यक्तित्व, राष्ट्रिय गौरवको व्यक्तित्व, हाम्रो पनि गौरवको व्यक्तित्व, हामीले उहाँलाई गौरवको सिम्बोलको रुपमा सम्मान पनि गरिसकेका छौँ । यसले हाम्रो व्यवस्थामा, जनतामा, प्रणालीमा, संविधानको मर्म र भावनामा पनि यसले असर पार्छ । यसले गलत नजिर र अभ्यास हुन्छ । त्यसकारण पार्टीले सम्पूर्ण रुपमा उहाँलाई दिएको सम्मानका रुपमा अगाडि बढ्नुपर्छ भन्ने निष्कर्ष निकालेको छ ।’  प्रचार विभाग प्रमुख गौतमले यो निष्कर्षमा तीनजना नेताहरू उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले असहमति व्यक्त गरेको जानकारी पनि दिए । केन्द्रिय कमिटीले ‘सर्वसम्मत’ निर्णय गरिसकेपछि उहाँहरूले उठेर यसमा ‘नोट अफ डिसेन्ट’ राखेको प्रचार विभाग प्रमुख गौतमले बताए ।