विकासन्युज

गुल्मीको तम्घास बजारमा आगलागी

काठमाडौं । गुल्मीको सदरमुकाम तम्घास वजारमा रहेको एक मोटर ग्यारेजमा आगलागी भएको छ ।  विक्रम ग्यारेजमा आगलागी हुँदा धेरै क्षति भएको हुनसक्ने आँकलन गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आगो नियन्त्रणका लागि स्थानीय वारुणयन्त्रसहित प्रहरी खटिएको छ । तम्घासको बुढाथोकी वसपार्कको छेउमै रहेको मोटर ग्यारेजमा बिजुलीको तार सट भएर आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले प्रहरी र रेसुंगा नगरपालिकाको बारुणयन्त्रले आगो नियन्त्रणको प्रयास गरिरहेका छन् ।  आगो नियन्त्रणपछि आगलागीको कारण र क्षतिबारे अध्ययन हुने प्रहरीले जनाएको छ ।

भोटखोलाको सिमबोक्प डाँडामा टेलिकमको फोरजी सेवा

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित सिमबोक्प डाँडामा नेपाल टेलिकमको फोरजी सेवा आजदेखि सुरु भएको छ । टेलिकमको बेस ट्रान्सिभर स्टेशन (बिटीएस) अनएयर भएसँगै भोटखोला क्षेत्रका स्थानीय लाभान्वित भएका छन् । नेपाल टेलिकम खाँदबारीका प्रमुख प्रेम राईका अनुसार लामो समयदेखि सञ्चार सेवाबाट वञ्चित रहँदै आएको यस क्षेत्रका लागि फोरजी सेवा सञ्चालन हुनु महत्त्वपूर्ण उपलब्धि हो । टेलिकमका इन्जिनियर आशिष आचार्यको नेतृत्वमा रहेको प्राविधिक टोली, भोटखोला गाउँपालिका–२ का वडाध्यक्ष जिप्पा भोटे, नेपाल आर्मी तथा स्थानीयको सहयोगमा टावर स्थापना गरिएको हो । दुर्गम हिमाली भूगोल र कठिन मौसमका बाबजुद सेवा सञ्चालनमा ल्याउन सफल भएको टेलिकमले जनाएको छ ।      भोटखोला गाउँपालिका–१ अन्तर्गतको किमाथाङ्का क्षेत्रमा पनि केही दिनभित्र फोरजी सेवा सञ्चालनमा ल्याइने तयारी भइरहेको नेपाल टेलिकमले जानकारी दिएको छ ।

रूङ्गटा ग्रुपको ओसीबी फुड्सको आम्दानीमा १४८ प्रतिशत उछाल, एक वर्षमै १२ अर्ब रुपैयाँ

काठमाडौं । खाद्य तेल उत्पादन गर्ने ओसीबी फुड्स एण्ड फिड्स प्रालिले एक वर्षमै करिब १२ अर्ब रुपैयाँ आम्दानी गरेको छ । सूर्यमुखी, पामोलिन तथा सोयाबिनबाट प्राप्त कच्चा तेललाई प्रशोधन तथा परिष्करण गरी खाने तेल उत्पादन गर्ने ओसीबी फुड्सले सन् २०२५ मा ११ अर्ब ९३ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो ।  जुन अघिल्लो वर्षको तुलनामा १४८.७३ प्रतिशत अर्थात् ७ अर्ब १३ करोड ५० लाख रुपैयाँ बढी आम्दानी गरेको हो । अघिल्लो वर्ष सन् २०२४ मा कम्पनीले ४ अर्ब ७९ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  यस्तै, कम्पनीले सन् २०२३ मा ८ अर्ब १२ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।  सन् २०१६ सेप्टेम्बरमा स्थापना भएको ओसीबी फुड्सले बारामा अवस्थित आधुनिक उत्पादन केन्द्रमार्फत खाद्य तेल उत्पादन गर्दै आएको छ । उद्योगको क्षमता वार्षिक १ लाख २० हजार मेट्रिक टन रहेको छ, जसबाट मूख्यतः सोयाबिनबाट तेल उत्पादन गरिन्छ। त्यसैगरी, रिफाइनरी प्लान्टको वार्षिक क्षमता ६० हजार मेट्रिक टन रहेको छ, जसले सूर्यमुखी, पामोलिन तथा सोयाबिनबाट प्राप्त कच्चा तेललाई प्रशोधन गरी खाने तेल उत्पादन गरिरहेको छ । ओसीबी फुड्सले आफ्ना उत्पादनहरू ‘दिव्या’ ब्रान्डबाट बजारमा बिक्री वितरण गर्दै आएको छ । ओसीबी फुड्सले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट ७ अर्ब ६३ करोड रुपैयाँ ऋण लिएको छ । जसमा १ करोड रुपैयाँ दीर्घकालिन र ७ अर्ब ६२ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । भारत सरकारले कच्चा तथा प्रशोधित खाद्य तेलमा अपनाएको अनुकूल भन्सार नीतिले आम्दानीमा वृद्धि भएको कम्पनीले जनाएको छ । यद्यपि भारत सरकारले सन् २०२५ जुन ३ देखि कच्चा तेलमा लाग्दै आएको आधारभूत भन्सार दर २० प्रतिशतबाट घटाएर १० प्रतिशतमा झारेपछि नेपालका खाद्य तेलको व्यापार वृद्धि हुन पुगेको हो ।  खाद्य तेल उद्योगमा लामो अनुभव भएका उद्योग, आन्तरिक बजार तथा निर्यातमा विस्तार हुँदै गएको मार्केटिङ सञ्जाल, उत्पादन केन्द्रको भौगोलिक लाभ तथा मध्यम अवधिमा खाद्य तेलको स्थिर मागले पनि कम्पनीको व्यावसायिक प्रोफाइललाई बलियो बनाएको छ ।  तर, आम्दानीको ठूलो हिस्सा भारत निर्यातमा निर्भर हुनु तथा भारत सरकारको भन्सार नीतिमा हुने परिवर्तनले प्रत्यक्ष असर पार्न सक्ने जोखिम भने उद्योगका लागि चुनौतीको विषय बनेको छ । साथै, मौसमी कृषि उत्पादनको मूल्य उतार-चढाव, विदेशी मुद्राको विनिमय दर जोखिम तथा नियामकीय जोखिमप्रति पनि कम्पनी संवेदनशील रहेको छ । ओसीबी फुड्स उद्योग रूङ्गटा ग्रुपको लगानीमा सञ्चालनमा आएको हो । व्यापार व्यवसायमा लामो समयदेखि आबद्ध ओसीबीले अन्य विभिन्न व्यवसाय पनि सञ्चालन गरिरहेको छ । ओसीबी फुड्समा ६ जना अनुभवी व्यवसायी तथा उद्योगपतिहरूको सञ्चालक समिति छ । जसको अध्यक्ष प्रदीप कुमार रूङ्गटा रहेका छन् । उनीसँग खाद्य उद्योग क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव छ । 

१७ करोडको लागतमा १५ शय्याको नगर अस्पताल निर्माण

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६ लाख २८ हजार रुपैयाँको लागतमा नगर अस्पताल भवन निर्माण गरिएको छ । मध्यविन्दु नगरपालिकाको चोरमारामा उक्त नगर अस्पताल भवन निर्माण गरिएको हो । २०७९ मङ्सिरमा शिलान्यास गरी भवन निर्माण शुरु गरिएको थियो । तीन वर्षको अवधिमा सुविधा सम्पन्न मध्यविन्दु नगर अस्पतालको भवन निर्माण गरिएको मध्यविन्दु नगरपालिका नगर प्रमुख भीमलाल अधिकारीले जानकारी दिए । चोरमारा प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी १५ शय्याको नगर अस्पताल पुनःनिर्माण गरिएको नगर प्रमुख अधिकारीले बताए । ४२ कोठा सहितको दुई तलको अस्पताल निर्माण भएसँगै स्वास्थ्य सेवा प्रदान गर्न सहज भएको नगर प्रमुख अधिकारीले बताए । नवनिर्मित अस्पताल भवनमा बहिरङ्ग सेवा, ल्याब, अपरेशन थियटर, फार्मेसी, अन्तरग विभाग, प्रशासनिक सेवा र चिकित्सक आवास कक्ष छन् । सुविधा सम्पन्न पूर्वाधारको अस्पताल निर्माण भएको र अब गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नका लागि सेवाहरू थप गर्नेक्रममा रहेको नगर प्रमुख अधिकारीले बताए । मध्यविन्दु नगर अस्पतालबाट मध्यविन्दु नगरपालिकाभित्रका बासिन्दासहित विनयी त्रिवेणी, हुप्सेकोट र पूर्वी पाल्पाका बासिन्दालाईसमेत स्वास्थ्य सेवा लिन पाएकपर्ने नगर प्रमुख अधिकारीले बताए । पन्ध्र शय्याको अस्पताल निर्माण भएसँगै स्वास्थ्य उपचार सेवासमेत विस्तार गरिँदै लैजाने उनले बताए । यसै महिनादेखि एमडिजिपीसहित, दैनिक रुपमा हरेक दिन एउटा विशेषज्ञ सेवा प्रदान गर्ने गरी काम अगाडि बढाएको नगरप्रमुख अधिकारीले बताए । बालरोग विशेषज्ञ, फिजियोथेरापी, हाडजोर्नी लगायतका सेवा प्रदान गर्ने बताए । अस्पतालमा आँखा अस्पताल पनि सञ्चालनमा ल्याइएको छ । शल्यक्रिया सहितको आँखा उपचार सेवा सुरु गरिएकाले यस क्षेत्रका आँखाका बिरामीले थप लाभ लिन सक्ने उनले बताए । ग्रामीण क्षेत्रका बासिन्दालाई सहजरुपमा आफ्नै घर नजिक स्वास्थ्य सेवा लिनका लागि नगर अस्पतालले सहयोग पुग्ने नगर प्रमुख अधिकारीले बताए । ‘सुविधा सम्पन्न नगर अस्पताल निर्माण हुँदा यस क्षेत्रका बासिन्दालाई नजिकै सहज रुपमा स्वास्थ्य उपचार सेवा लिन सहज हुने छ,’ नगर प्रमुख अधिकारीले भने । मध्यविन्दु नगर अस्पतालमा अहिले दैनिक रुपमा करिब तीन सय बिरामीले उपचार सेवा लिइरहेको अस्पतालका प्रमुख अमरेशचन्द्र साहले जानकारी दिए । अस्पतालले आकस्मिक उपचार सेवासमेत सञ्चालन गरेको प्रमुख शाहले बताए । पूर्व–पश्चिम राजमार्गसँगै रहेकाले मध्यविन्दु आसपास राजमार्ग क्षेत्रमा सम्भावित दुर्घटनाका घाइतेलाई समयमै उपचार सेवा उपलब्ध गराउनका लागि नगर अस्पतालले सहयोग पुग्ने उनले बताए । रासस

जीवन बीमा अभिकर्ताको परीक्षामा अनियमिता गर्ने ११ परीक्षार्थीलाई प्राधिकरणले गर्‍यो कारबाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको परीक्षामा सहभागी भएका ११ जना परीक्षार्थीलाई कारबाही गरेको छ । परीक्षामा अनियमिता गरेको भन्दै प्राधिरकणले कारबाही गरी परीक्षा रद्द गरेको हो । कारबाहीमा पर्ने परीक्षार्थीमा धनुषा चीरेश्वरनाथ नगरपालिकाका अम्बिका शाह, नुवाकोट राउतबेसीका गोपीकृष्ण आचार्य, तनहुँ व्यासका अमृत नेपाली छन् । शाह हिमालयन लाइफ, आचार्य नेपाल लाइफ र नेपाली सूर्यज्योति लाइफका तर्फबाट परीक्षामा सहभागी भएका थिए । यसैगरी, संखुवासभा पाथीभराका छिरिङ डोमा शेर्पा, सर्लाही लालबन्दीकी कान्तिकुमारी शर्मा र पर्वत जलजलाकी सिर्जना कारबाहीमा परेका छन् । तीनै जना सन नेपाल लाइफबाट परीक्षामा सहभागी भएका थिए । त्यस्तै, कपिलवस्तु भृकुटीका सन्दीप थारु, लमजुङ दूधपोखरीका रमेशचन्द्र दवाडी र लमजुङ दोर्दीकी आश्का मिश्र पौडेल छन् । थारु सन नेपाल लाइफ, दवाडी नेपाल लाइफ र पौडेल सूर्यज्योति लाइफबाट परीक्षामा सहभागी भएका थिए ।  त्यस्तै, भक्तपुर सूर्यविनायकका विवेक विष्ट र कास्की रूपाका मन्दीप सुवेदीलाई कारबाही गरेको छ । दुवैजना एसियन लाइफबाट परीक्षामा सहभागी भएका थिए । 

रेयर अर्थमा विश्व राजनीति : चीनको प्रभुत्व, अमेरिकाको चिन्ता र भारतको रणनीति

काठमाडौं । नोभेम्बरमा चीनबाट अमेरिकातर्फ हुने दुर्लभ पृथ्वी चुम्बक (रेयर अर्थ म्याग्नेट) को निर्यात अक्टोबरको तुलनामा ११ प्रतिशतले घटेको छ । यस्तो गिरावट त्यतिबेला आएको हो, जब विश्वका दुई ठूला अर्थतन्त्रबीच चलिरहेको व्यापार युद्ध केही नरम बन्दै गएको बताइएको थियो । चिनियाँ भन्सार तथ्यांकअनुसार अमेरिकातर्फ पठाइने रेयर अर्थ चुम्बकको ढुवानी अक्टोबरमा ६५६ टनबाट घटेर करिब ५८२ टनमा सीमित भयो । यद्यपि अर्को एउटा रिपोर्टअनुसार सबै दुर्लभ–पृथ्वी उत्पादनहरूको बिक्री अघिल्लो महिनाको तुलनामा वृद्धि भएको छ । जसमा चुम्बक प्रमुख छन् । रेयर अर्थ चुम्बकहरू सैन्य उपकरणदेखि लिएर विद्युतीय कारसम्ममा प्रयोग हुन्छन् । यस वर्ष अमेरिका–चीन व्यापार युद्धका क्रममा यी चुम्बक चीनको शक्तिशाली हतियार बनेका थिए ।  अप्रिलमा बेइजिङले निर्यात नियम कडा पारेपछि अमेरिकातर्फ पठाइने चुम्बकको ढुवानी ५० टनभन्दा पनि कममा झरेको थियो । यसले विश्वभर तीव्र अभावको आशंका पैदा गरेको थियो । वर्षभरि तनाव पटक–पटक बढ्यो र केही समय शान्त पनि रह्यो । तर अहिले निर्यात फेरि सामान्य स्तरमा फर्किएको छ । यसैबीच अन्य देशहरूले पनि रेयर अर्थ क्षेत्रमा आफ्नो पहिचान बनाउने प्रयास गरिरहेका छन् । कजाकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान, ताजिकिस्तान र तुर्कमेनिस्तानले हालै एउटा बैठक सम्पन्न गरेका छन् । मध्य एसियाका यी पाँच देशसँग सुन, दुर्लभ–पृथ्वी तत्व र युरेनियमजस्ता विशाल खनिज स्रोत छन् । रूस, चीन, दक्षिण एसिया र मध्यपूर्वबीचको भौगोलिक अवस्थाले यी देशहरूलाई पूर्वाधार र व्यापारका लागि रणनीतिक बाटो बनाएको छ । दुर्लभ पृथ्वी तत्व १७ वटा तत्वहरूको समूह हो । यी वस्तुलाई ‘दुर्लभ’ भनिनुको कारण पृथ्वीमा कम पाइने भएकाले होइन (वास्तवमा यी प्रशस्त मात्रामा उपलब्ध छन्) । बरु, यी तत्वहरूलाई शुद्ध रूपमा निकाल्न र प्रशोधन गर्न अत्यन्तै कठिन, महँगो र वातावरणीय रूपमा जटिल हुने भएकाले यस्तो नाम दिइएको हो ।  यी तत्वहरू प्रायः मिसिएको अवस्थामा पाइन्छन् र छुट्याउनु ठूलो चुनौती हुन्छ । यस क्षेत्रमा चीनको प्रभुत्व छ । आधुनिक प्रविधिका लागि यी तत्व अत्यन्त महत्त्वपूर्ण छन् । स्मार्टफोन, कम्प्युटर, विद्युतीय सवारी, पवन टर्बाइन र रक्षा उपकरणलगायत धेरै उत्पादनमा यसको प्रयोग हुन्छ । चीन विश्वकै सबैभन्दा ठूलो दुर्लभ पृथ्वी उत्पादक हो । अमेरिकासहित धेरै देश आपूर्तिका लागि चीनमा अत्यधिक निर्भर छन् । व्यापार युद्धका क्रममा चीनले निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिएपछि अमेरिका र अन्य देशहरूलाई रेयर अर्थका वैकल्पिक स्रोत खोज्न प्रेरित गरेको छ । मध्य एसियाली देशहरूको पहल यस दिशामा महत्त्वपूर्ण विकास हुन सक्छ । ती देशहरूसँग रहेका खनिज भण्डार र रणनीतिक अवस्थाले उनीहरूलाई रेयर अर्थ आपूर्ति शृंखलामा महत्त्वपूर्ण खेलाडी बनाउन सक्छ । भारतले पनि ‘रेयर अर्थ’ क्षेत्रमा चीनको वर्चस्वलाई चुनौती दिन र आत्मनिर्भर बन्न हालै आफ्नो रणनीति तीव्र बनाएको छ । राष्ट्रिय महत्त्वपूर्ण खनिज मिसनअन्तर्गत खनिज विदेश इन्डिया लिमिटेड स्थापना गरिएको छ । यसको मुख्य उद्देश्य विदेश—विशेषगरी अष्ट्रेलिया र दक्षिण अमेरिका (जस्तै अर्जेन्टिना र चिली)– मा रेयर अर्थ र लिथियमजस्ता महत्वपूर्ण खनिज स्रोत पहिचान गर्नु र त्यहाँ खनन अधिकार हासिल गर्नु हो ।  भण्डारका हिसाबले भारत विश्वमा पाँचौं स्थानमा पर्छ । तर प्रशोधन प्रविधिको अभावका कारण आवश्यकताका लागि अझै पनि चीनमा धेरै हदसम्म निर्भर छ । भारतसँग विश्वको करिब ६ प्रतिशत रेयर अर्थ भण्डार छ, जुन मुख्यतः तटीय राज्यहरू (ओडिशा, केरल, तमिलनाडु) का बालुवामा पाइन्छ । अदालतको एक फैसलाले मस्क मालामाल, नेटवर्थ ७०० अर्ब डलर पार गर्ने पहिलो व्यक्ति

सुन-चाँदी दुवैको ऐतिहासिक छलाङ, नेपाली बजारमा नयाँ कीर्तिमान

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले सोमबार ऐतिहासिक उचाइ छोएको छ । लगातार बढ्दो क्रममा रहेको सुनको भाउ आज एकैदिन ३ हजार ४ सय रुपैयाँले उकालो लाग्दै अहिलेसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत मंसिर २९ गते सुनको मूल्य २ लाख ६० हजार ७ सय रुपैयाँ पुग्दै उच्चतम स्तरमा पुगेको थियो । सोमबारको मूल्यले त्यो रेकर्डसमेत तोडेको छ । सुनसँगै चाँदीको मूल्यले पनि नयाँ इतिहास रचेको छ । आज चाँदी प्रतितोला १३० रुपैयाँले बढ्दै ४ हजार २३५ रुपैयाँमा पुगेको छ । यो पनि हालसम्मकै उच्च मूल्य हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि, भू-राजनीतिक तनाव र लगानीकर्ताको सुरक्षित लगानीतर्फ बढ्दो आकर्षणले नेपाली बजारमा सुन-चाँदीको मूल्यलाई नयाँ उचाइमा पुर्‍याएको विश्लेषण गरिएको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश नदिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश नदिने निर्णय गरेको छ । पुस ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । साथै, सोहीअनुसारको गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरी नेपाल राष्ट्र बैंकमा पठाउने निर्णय पनि बैठकले गरेको बैंकले जनाएको छ ।