विकासन्युज

इसेवाबाट सबै प्रकारका बीमा योजना खरिद अब झन् सहज र लाभदायक

काठमाडौं । इसेवाले बीमा योजना खरिदलाई अझ सहज बनाउँदै अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत इसेवाका प्रयोगकर्ताहरूले इसेवाबाट बीमा योजना खरिद गर्दा स्मार्ट वाच तथा स्मार्ट टिभी जित्ने अवसर पाउनेछन् । इसेवाका अनुसार यो अफर पौष १ देखि पौष ३० सम्म सञ्चालन हुनेछ । यस अवधिमा इसेवा एपमार्फत जीवन बीमा, स्वास्थ्य बीमा, गैरजीवन बीमा, व्यवसाय तथा मोटर बीमा योजना खरिद र ब्लूबुक नवीकरण गर्ने प्रयोगकर्ताहरू स्वचालित रूपमा पुरस्कार योजनामा सहभागी हुन सक्नेछन् । इसेवा एपमार्फत यी बीमा योजनाहरू घरमै बसि, केही क्लिकमै खरिद गर्न सकिन्छ । अफर अन्तर्गत हरेक हप्ता इसेवामार्फत बीमा खरिद गर्ने एक जना प्रयोगकर्ताले स्मार्ट वाच जित्ने अवसर पाउनेछन् भने अफर अवधि समाप्त भएपछि एक जना विजेतालाई स्मार्ट टिभी प्रदान गरिनेछ । विजेताको छनोट लकी ड्रमार्फत गरिनेछ । डिजिटल प्रक्रिया र विश्वासिला बीमा साझेदारमार्फत बीमा योजना खरिद अब छिटो, सुरक्षित र झन्झटमुक्त भएको छ । यस अफर मार्फत इसेवाले प्रयोगकर्तालाई डिजिटल रूपमा बीमा खरिद गर्न प्रोत्साहित गर्नुका साथै आर्थिक सुरक्षा सुनिश्चित गर्ने लक्ष्य राखेको इसेवाले जनाएको छ ।

महालक्ष्मी विकास बैंकको विभिन्न क्षेत्रका सामाजिक कार्यक्रमहरू सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले विभिन्न क्षेत्रका सामाजिक कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण र सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकार कार्य जस्ता विभिन्न क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम सञ्चालन गर्ने नीति अनुरूप आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासमा विभिन्न कार्यक्रमहरू सम्पन्न गरेको हो । बैंकले यस क्रममा जेष्ठ नागरिक चौतारी, ठेचो, ललितपुरलाई सुदूरपश्चिम प्रदेशको हुम्ला जिल्लाका जेष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य परीक्षण सहित स्वास्थ्य शिविर सञ्चालन गर्न तथा नसर्ने रोगको रोकथाम सम्बन्धी कार्यशाला सञ्चालनमा आर्थिक सहयोग गरेको छ । त्यसैगरी, आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य गर्न ५ थान कम्प्युटर सेट र ५ थान टेबल उपलब्ध गराएको छ । साथै हुम्ला जिल्लाको सिमकोटदेखि ४४ कोष दक्षिण पूर्वको अदानचुली गाउँपालिका वडा नं. १ का ६५ घरधुरीका दलित समुदाय, विपन्न वर्गका मानिस, अनाथ बालबालिका, एकल महिला र पुरुषलाई खाद्यान्न पुर्याउने गरी एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोट, हुम्लालाई आर्थिक सहयोग प्रदान गरिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले बागलुङ्ग जिल्लाका भुकृटी माध्यमिक विद्यालय र श्री सल्यान सुखौरा माध्यमिक विद्यालय, झापाका श्री पृथ्वी माध्यमिक विद्यालय र श्री अरनिको माध्यमिक विद्यालय तथा श्री गणेशसुर्य आधारभूत विद्यालयमा आधुनिक शौचालय निर्माण गर्न विभिन्न रोटरी क्लबहरूसँगको सहकार्यमा आर्थिक सहयोग गरेको छ । त्यसैगरी, बालकुमारी आधारभूत विद्यालय, सैंबु, ललितपुरमा अध्ययरत १८० जना विद्यार्थीलाई जाडोबाट बच्न १८० थान न्यानो कपडा वितरण गरिएको छ । गोरखा जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई मुनलाईट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गरिएको  छ। बैंकले गर्दै आएका यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरूले समग्र आर्थिक तथा सामाजिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ ।

एमसीए नेपालअन्तर्गत धानखोला–लमही ४० किमि सडक मर्मत हुने, लगानी ३ अर्ब रुपैयाँ

काठमाडौं । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) नेपाल अन्तर्गत दुई महत्त्वपूर्ण सडक आयोजनाका लागि सम्झौता भएको छ ।  सम्झौताअनुसार धान खोला–लमही सडक खण्ड स्तरोन्नति कार्य फुल डेप्थ रेक्लेमेसन  तथा सुपरपेभ प्रविधि प्रयोग गरी गरिनेछ ।  साथै सोही सडक खण्डको स्तरोन्नति कार्यको सुपरीवेक्षणका लागि परामर्श सेवा र नारायणघाट–मुग्लिन सडक खण्डको आवधिक मर्मतसम्भारका लागि डिजाइन तथा निर्माण सुपरीवेक्षण सेवासम्बन्धी सम्झौता पनि गरिएको छ ।  सडक मर्मत आयोजनाअन्तर्गत सम्पन्न हुने यी परियोजनाले सडकको दिगो सुधार, यातायात सुरक्षामा वृद्धि तथा आवागमन सहज बनाउने अपेक्षा गरिएको छ ।  एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले धानखोला लमहीको ४० किमि क्षेत्रमा फुल डेप्थ रेक्लेमेसन टेक्नोलोजीबाट मर्मत गरिने जानकारी दिए ।  उनका अनुसार त्यो निर्माणलाई सुपरभाइज गर्ने कन्सल्टिङ ठेक्का समेत गरिएको छ, त्यससम्बन्धी सम्झौता आदानप्रदान पनि गरिएको छ । यो सम्झौता २ वर्षको हो । २४ महिनामा सबै काम सकिनुपर्छ । २४ महिनाभित्र धान खोला–लमही क्षेत्रको पूरै मर्मत कार्य सक्ने र मुग्लिन नारायणघाटको नयाँ प्रविधिअनुसार डिजाइन गरिनेछ ।  बाँकी काम गर्न फेरि अर्को कन्ट्याक्टरबाट हुने खड्काले बताए । विष्टका अनुसार धानखोला लमहीको मर्मतका लागि २ करोड अमेरिकी डलर अर्थात् करिब ३ अर्ब लागत लाग्नेछ । त्यसको सुपरभिजन कन्सल्टिङ ठेक्काका ३७ लाख अमेरिकी डलर अर्थात् ५० करोड खर्च हुने अनुमान छ।    विष्टले ५ वर्षको निर्धारित समयभित्रै परियोजना सक्नेगरी कामहरू अघि बढेको समेत बताए । उनका अनुसार २ वर्ष ४ महिना बितिसकेकाले बाँकी अवधिमा परियोजनाहरू सकिनेछ । एमसीए नेपालले समयमै परियोजनाहरू सकिने बताए पनि आयोजनाहरूको प्रगति हेर्दा निर्धारित अवधिमै सकिनेमा संशय कायमै छ । 

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं । नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टीसम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ । चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैंकको पक्षमा फैसला गरेसँगै चारवटा बैंक ग्यारेन्टीबापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलरबराबरको रकम प्राप्त गरेको नबिल बैंकले जनाएको छ । चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग त्रिशूली थ्रीबी आयोजनाले ठेक्का तोडेपछि चिनियाँ बैंक चाइना एभरब्राइट बैंक, छेन्दु शाखाले काउन्टर ग्यारेन्टीबापतको रकम भुक्तानी गर्न अस्वीकार गरेको थियो । नबिलले बैंक ग्यारेन्टी भुक्तानीका लागि सन् २०२३ डिसेम्बर १ मा आह्वानपत्र प्राप्त गरेको थियो । त्यसपछि बैंकले चाइना एभरब्राइट बैंकलाई स्वीफ्ट सन्देशमार्फत जानकारी गराएको थियो । तर सन् २०२३ डिसेम्बर १० मा उक्त बैंकले छेन्दु फाइनान्सियल अदालतबाट जारी भएको निषेधाज्ञा आदेशका कारण काउन्टर ग्यारेन्टीअन्तर्गतको रकम भुक्तानी गर्न असमर्थ रहेको जानकारी गराएको थियो । नबिल बैंकले भने दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई बैंक ग्यारेन्टीबापतको रकम भुक्तानी गरिसकेको थियो । त्यहाँको अदालतले सन् २०२४ जनवरी १७ मा नबिल बैंकको पक्षमा फैसला सुनाएको थियो । उक्त फैसलाविरुद्ध सुइफा आन्हे ग्रुप कम्पनीले चोइछिङ  हाइयर पिपुल्स कोर्टमा पुनरावदेन दायर गरेको थियो । उक्त मुद्दामा सन् २०२५ सेप्टेम्बर २३ मा अदालतले नबिल बैंकको पक्षमा फैसला गरेको थियो । त्रिशूली जलविद्युत् कम्पनीले आयोजनाको निर्माण तीन वर्षमा सक्नेगरी सुइफा आन्हे ग्रुप कम्पनीसँग २०७४ साल फागुन ३० गते ठेक्का सम्झौता गरेको थियो । तर निर्धारित समयमा निर्माण कम्पनीले काम नगरेपछि त्रिशूली जलविद्युत् कम्पनीले २०८० साल मङ्सिर ३० गते ठेक्का सम्झौता रद्द गर्दै बैंक ग्यारेन्टी जफत गरेको थियो ।  

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं । जेनजी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको सम्मान गरेको नेपाली सेनाले उल्लेख गरेको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै भएको समेत स्पष्ट पारेको छ । तत्कालीन अवस्थाका बारेमा चर्चा गरिएको जङ्गीअड्डा लेखमा भनिएको छ, 'सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरू आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको छ । जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो ।' सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको स्पष्ट गर्दै लेखमा भनिएको छ, 'सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ ।' सेनामा राजनीतिक महत्वकाङ्क्षा पटक्कै नभएको उल्लेख गर्दै भनिएको छ, 'तत्कालीन राजनीतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो । सेनामा यदि राजनीतिक महत्वकाङ्क्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र ?' विद्यमान अवस्थालाई मूल्याङ्कन गरी सुरक्षा निकायलाई मजबुत बनाउनु राष्ट्रको हितमा भएको उल्लेख गर्दै भनिएको छ, 'परिस्थितिको सतहीभन्दा वस्तुपरक ढङ्गबाट विश्लेषण गरी नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूलाई मजबुत बनाउनु नै राष्ट्रको हितमा रहन्छ', लेखको पूर्ण विवरण यसप्रकार छ : भदौ २३–२४ गतेपश्चातको परिस्थिति : नेपाली सेनाको भूमिका गत भदौ २३–२४ गतेको जेनजी आन्दोलन र सोपश्चात् विकसित घटनाक्रममा सेनाको भूमिका र राष्ट्रिय सुरक्षाको सम्बन्धमा विभिन्न पक्षबाट बहस भएको देखिन्छ । लोकतन्त्रमा समालोचना अपरिहार्य हुन्छ । नेपाली सेनालगायत राज्यका संरचनाहरूको समालोचना, प्रशंसा तथा खबरदारी गर्न पाउनु जनताको लोकतान्त्रिक अधिकार हो । यसबाट उक्त निकायहरूलाई आआफ्नो जिम्मेवारी थप प्रभावकारी ढङ्गबाट निर्वाह गर्न सहयोगीसिद्ध हुने नै छ । तत्कालीन सङ्कटको परिस्थितिमा भएको घटना सम्बन्धमा तीन महिनापछिसम्म पनि बहस कायम रहनु तथा विविध कोणहरूबाट विश्लेषण हुनु सुरक्षा सचेतनाको परिप्रेक्षमा सकारात्मक नै हो । नेपाली सेनाको भूमिकामा विभिन्न दृष्टिकोणबाट टिकाटिप्पणी तथा प्रश्नहरू आए । देशमा आइपरेको अकल्पनीय सङ्कटको अवस्थालाई पार लगाउने क्रममा राज्यको प्रमुख सुरक्षा अङ्गले खेलेको भूमिकाको सम्बन्धमा भएका टिकाटिप्पणी बारेमा यहाँ थप स्पष्ट पारिएको छ । संवैधानिक दायरा र नागरिक सर्वोच्चता नेपालको संविधानले नेपाली सेनालाई पूर्णतः नागरिक सर्वोच्चता र निर्वाचित सरकारको अधिनमा राखेको छ । सेनाको परिचालन, भूमिका र सीमा स्पष्ट छन् । कार्यपालिकाको निर्णयबिना सेना आन्तरिक सुरक्षामा स्वतः प्रवेश गर्न सक्दैन । यही संवैधानिक मर्यादाले नेपाली सेनालाई आज पनि देशकै सबैभन्दा विश्वसनीय संस्था बनाएको हो । यो नेपाली सेनाको संविधान र लोकतान्त्रिक शासन प्रणालीप्रतिको सम्मान पनि हो । यदि सेनाले कार्यपालिकाको स्पष्ट आदेशबिना हस्तक्षेप गरेको भए र २४ गते थप नागरिकको मृत्यु भएको भए परिस्थिति सम्हालिन कठिन त हुने नै थियो । बिनाआदेश आफैँ परिचालन भयो भनी त्यसको दोष पनि सेनामाथि नै पर्ने थियो । गत भदौ २४ मा तत्कालीन अवस्थाले उच्च जोखिममा परेका विशिष्ट व्यक्तिहरू, कूटनीतिज्ञ तथा सर्वसाधारणको जीवन रक्षा नेपाली सेनाको पहिलो दायित्व बन्यो । जीवन रक्षा कुनै व्यक्ति विशेषको संरक्षण होइन, यो राज्यको आधारभूत कर्तव्य हो । भदौ २४ मा अवस्था अझ व्यापक र अराजक बन्दा जीवन जोगाउने प्राथमिकतासहित संयमित रुपमा उपस्थित भयो सेना । उक्त दिन कुनै अकल्पनीय घटना भएको भए त्यसले निम्त्याउने थप द्वन्द्व र अस्थिरतातर्फ पनि गहिरिएर विचार पुर्याउनु पर्दछ । भौतिक पूर्वाधार महत्त्वपूर्ण भए पनि जीवनभन्दा माथि कदापि हुँदैन । मानवीय क्षतिको मूल्यमा भौतिक संरचना जोगाएको भए पनि फेरि प्रश्न उठ्ने पक्का थियो कि, सेनाले सिंहदरबार जोगाउन जनतालाई किन गोली हान्यो ? सर्वसाधारण व्यक्तिहरूले पनि कठिन परिस्थितिमा सेनाले तत्काल सहयोग र उद्धार गरेको अनुभव सार्वजनिक गरेकै छन् । नेपाली जनताको जीवन रक्षालाई नै पहिलो प्राथमिकता दिएको थियो । भूकम्पजस्तो विपद्का समयमा मानिस घर÷सम्पत्ति छोडेर किन खुला ठाउँमा निस्कन्छन् ? यो पनि विचारणीय छ । विश्वसनीयताको मेरुदण्ड, नागरिक सरकारको आदेशमा आधारित कार्यप्रणाली आन्तरिक दङ्गा नियन्त्रणमा प्रहरी र सशस्त्र प्रहरी बल नेपाल अग्रपङ्क्तिमा रहने संवैधानिक व्यवस्था छ । सेना अन्तिम उपायका रूपमा रहन्छ । यही विभाजनले लोकतन्त्रलाई सुरक्षित राख्छ । सोहीअनुसार आवश्यकताको सिद्धान्तले छिटोभन्दा छिटो पहलता लिई सेनाले उद्धार, मानवीय सहायता र संवेदनशील स्थानको संरक्षणमा संयमित भूमिका खेलेकै थियो । अप्रत्याशित रूपमा विकसित घटनाक्रममा सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद नेपाली सेनाले सङ्कटको व्यवस्थापन गरेको कुरामा पर्याप्त सार्वजनिक बहस भएकै छन् । सङ्कटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासमा समेत प्रश्नहरु आइरहेका छन् । सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकाङ्क्षा देखाएको छ । परिस्थितिलाई थप बिग्रिन नदिन जतिसक्दो छिटो सङ्कट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण बनाउन सहजीकरण गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व नै हो, जुन हाल विकसित परिस्थितिले उजागर गरेकै छ । अन्ततः निर्णयको अधिकार कार्यपालिका र सम्माननीय राष्ट्रपतिको नै रह्यो र सेनाले त्यसलाई सम्मान ग¥यो । यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको प्रमाण हो । पृथ्वीनारायण शाहको तस्बिर : राष्ट्रिय एकताको प्रतीक भदौ २४ गते सेना प्रमुखको सन्देशमा पृथ्वीनारायण शाहको तस्बिर देखिनुलाई विभिन्न ढङ्गबाट आलोचना गरेको देखिन्छ । पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता र राष्ट्रिय एकताको प्रतीक हुन् भन्नेमा कोही पनि सच्चा नेपाली जनताको दुईमत नहोला । राष्ट्र निर्माता कुनै पनि तन्त्र र वादभन्दा माथि रहेको नेपालको ऐतिहासिक पहिचान हुन् । सङ्कटको क्षणमा राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको स्मरण गराउनु कुनै राजनीतिक सन्देश होइन, राष्ट्रिय चेतनाको आह्वान हो । त्यस सन्दर्भमा सेनाको नेतृत्वले एकताको सन्देश दिने प्रयास गर्नु सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई कायम गर्नु पर्दछ भन्ने सन्देश थियो । सेनाको विश्वसनीयता र प्रतिबद्धता इतिहासतर्फ फर्केर हेर्दा आजको दिनसम्म नेपाली सेनाले कहिल्यै सत्ता हस्तक्षेप गरेको छैन । बरु, संवैधानिक सङ्क्रमणको समयमा संयम र अनुशासित भई नागरिक सर्वोच्चताको पक्षमा उभिएको छ । इतिहासकालदेखि हालसम्म नेपालमा भएका परिवर्तनहरूलाई सेनाले आत्मसाथ गर्दै आएको छ । संयुक्त राष्ट्र सङ्घका शान्ति मिसनहरूमा निरन्तर सहभागी हुँदै फौज खटाउने राष्ट्रहरुको सूचीमा अग्रस्थानमा रहेको नेपाली सेनाले आफ्नो व्यावसायिकता, मानवअधिकारप्रतिको प्रतिबद्धता र अन्तरराष्ट्रिय विश्वसनीयता प्रमाणित गरेको छ । सेनामा राजनैतिक महत्वाकाङ्क्षा पटक्कै देखिँदैन । तत्कालीन राजनैतिक शून्यताको अवस्थालाई अन्त्य गर्न सहजीकरण गरेको चाहिँ पक्कै हो । सेनामा यदि राजनीतिक महत्वाकाङ्क्षा हुन्थ्यो भने, आज हामी यो अवस्थामा हुन्थ्यौँ र ? वर्तमान राष्ट्रिय सुरक्षा र आगामी निर्वाचन आज देश निर्वाचनको दिशामा अघि बढिरहेको छ । यस्तो समयमा संस्थागत धैर्य, सुरक्षा संयन्त्रबीच स्पष्ट कार्यविभाजन र सबै निकायका नेतृत्वहरुको जिम्मेवारी महत्त्वपूर्ण रहेको छ । सेनाले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र अन्य सरोकारवाला निकायहरुसँग समन्वय गर्दै संवैधानिक आदेशअनुसार भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याएको छ । नजिकिँदै गएको निर्वाचनलाई भयरहित ढङ्गबाट सुसम्पन्न गर्न आम जनसमुदायसहित सबै एकजुट हुनु पर्दछ । अन्त्यमा, गत भदौ २३–२४ गतेको जटिल परिस्थितिमा सेनालगायत सबै सुरक्षा निकायको भूमिकाको सन्दर्भमा नागरिक वृत्तमा सकारात्मक छलफल तथा बहस गरी सुझाव दिनुलाई राम्रै मान्नुपर्छ । सोहीअनुसार सेनाले आन्तरिक रूपमा उक्त कार्य गरेकै छ । यद्यपि परिस्थितिको सतहीभन्दा वस्तुपरक ढङ्गबाट विश्लेषण गरी नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूलाई मजबुत बनाउनु नै राष्ट्रको हितमा रहन्छ । सङ्कटको समयमा राष्ट्रिय सुरक्षाका अङ्गहरूबीच थप आपसी समन्वय, सद्भाव र सहकार्य हुनु जरुरी छ । उक्त घटनाक्रममा सेनाले संविधानको अक्षर र मर्म दुवैको पालना गरेको छ । तत्कालीन परिस्थितिमा न त हस्तक्षेप गरेको छ, न कुनै राजनीतिक महत्वाकाङ्क्षा राखेको छ । जीवन रक्षालाई सधैँ प्राथमिकतामा राख्यो, संयमता अपनायो र अन्ततः निकास प्रक्रियाबाटै खोजियो । सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रही राष्ट्रिय एकता तथा राष्ट्रिय सुरक्षामा प्रतिबद्ध छ । रासस (स्रोत : जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डा)

छुनुमुनुले गर्‍यो  वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान

काठमाडौं । बाल नाट्य संस्था छुनुमुनुले वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापा र वरिष्ठ नाट्यकर्मी हरिहर शर्मालाई सम्मान गरेको छ ।  छुनुमुनुमा १ वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाको दीक्षान्त समारोहको अवसर पारेर आयोजित कार्यक्रममा थापा र शर्मालाई जनही नगद ११ हजार १ सय ११ रूपैयाँ ताम्रपत्र दोसल्ला र भादगाउँले टोपी लगाएर सम्मान गरिएको हो ।  छुनुमुनुका अध्यक्ष युवा रंगकर्मी राजन भुजेलले आ(आफ्नो विधाका विराट प्रतिभालाई सम्मान गर्न पाउँदा छुनुमुनु संस्था नै गौरवान्वित भएको बताए । यस्तै, छुनुमुनुका वरिष्ठ सल्लाहकार तथा रंगकर्मी प्रभाकर न्यौपानेले नृत्य र नाट्य विधामा थापा र शर्माको योगदानको तुलना हुनै नसक्ने भन्दै संस्थाले आफ्नो गच्छेले भ्याएसम्मको सम्मान गरेर दुबै जनाको योगदानको स्मरण गर्न खोजेको बताए । सम्मानित व्यक्तित्व वरिष्ठ नृत्य निर्देशक थापाले नृत्य र अभिनय विधामा लागेर कला साहित्यको उन्नयनमा योगदान गर्ने सवैप्रति कृतज्ञता ज्ञापन गरे । अर्का सम्मानित व्यक्तित्व वरिष्ठ रंगकर्मी शर्माले उन्नत समाजमा सधैं कलाको सम्मान हुनाको साथै घरघर, विद्यालय र विश्वविद्यालयमा समेत रङ्गकर्म, नृत्यका साथै साहित्यका अन्य विधाको अध्ययन अध्यापन हुने गरेको स्मरण गरे ।  नेपालमा पनि विद्यालय तहमा रङ्गकर्ममा वालवालिकाको आकर्षण बढ्दै गएकोमा उनले प्रसन्नता व्यक्त गरे । कार्यक्रममा छुनुमुनुको १ वर्षे नाट्य कक्षा पूरा गरेका बालबालिकाले जुठो शीर्षकको नाटक प्रस्तुत गरेका थिए । उनीहरूलाई कोर्ष पुरा गरेको अवसरमा दीक्षान्त प्रमाण पत्र प्रदान गरिएको थियो ।

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ । स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन कार्यालय गाभिएका हुन् । सदरमुकाममा रहेका दुई कार्यालय गाभिएसँगै यही पुस १ गतेदेखि एउटै कार्यालयबाट सेवा सुरु भएको हो । गण्डकी प्रदेश सरकारको निर्णयअनुसार नयाँ संरचना सृजना भएसँगै गण्डकी प्रदेश सरकार उद्योग तथा पर्यटन मन्त्रालय र सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत ‘एकीकृत सेवा कार्यालय’ राखिएको छ । पुतलीबजार नगरपालिकाका छुट्टै स्थानबाट सेवा दुई छुट्टाछुट्टै कार्यालय स्थापना गरी सेवा दिइरहेका कार्यालय गाभिएर बनेको एकीकृत सेवा कार्यालयले साविकको सामाजिक विकास कार्यालय र साविकको पर्यटन तथा उद्योग कार्यालयले प्रदान गर्ने सेवालाई निरन्तरता दिने कार्यालय प्रमुख जीवन पौडेलले बताए । 'दुई छुट्टाछुट्टै कामको प्रकृति भएका कार्यालय एकै ठाउँबाट सञ्चालन हुँदा सेवाग्राहीलाई सहजता हुनुका साथै खर्चमा मितव्ययिता हुन्छ', उनले भने, 'सेवाग्राहीलाई छिटो, छरितो र बढीभन्दा बढी सेवा कसरी दिन सकिन्छ भन्ने विषयमा हामी प्रयत्नशील छौँ ।' दुई कार्यालय गाभिएर हाल बनेको एकीकृत सेवा कार्यालयले साविकको पर्यटन तथा उद्योग कार्यालय पुतलीबजार–१ अभियानपथबाट सेवा दिन थालेको हो । साविकको पर्यटन तथा उद्योग कार्यालयले प्रदान गर्दै आइरहेको उद्योग व्यवसाय दर्ता, नवीकरण, उद्यम तथा व्यवसायको प्रवर्द्धनात्मक कार्यक्रम, बजार अनुगमन, पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण, सीपमूलक तथा आयआर्जनमूलक तालिम निरन्तर रूपमा सञ्चालन हुने उनले बताए । त्यस्तै साविकको सामाजिक विकास कार्यालयले प्रदान गर्दै आएको लक्षित वर्गका लागि क्षमता अभिवृद्धि, सीपमूलक तालिम, शिक्षाका क्षेत्रमा पूर्वाधार निर्माण, सांस्कृतिक, धार्मिक क्षेत्रमा पूर्वाधार विकासका कार्यक्रमलाई एकीकृत कार्यालयमार्फत निरन्तरता दिइने भएको हो । एकीकृत विकास कार्यालयमा १५ जना कर्मचारीको दरबन्दी रहेको छ । रासस

जेनजी प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाल पक्राउ

काठमाडौं । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानाको नेतृत्वमा युवाहरूले माइतीघर मण्डलामा सुरु गरेको प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्न सुरु गरेको छ ।  प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको आन्दोलनमा सहभागी एकले जानकारी दिए । उनका अनुसार युवा निकोलस भुसाललाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । प्रदर्शनकारीहरूले सर्वपक्षीय सरकार गठन भएपछि मात्रै निर्वाचन प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका छन् ।  उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो’ भन्ने सन्देशसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए । अनुमति नलिइ प्रदर्शन गरेकोले नियन्त्रण गर्नुपरेको सुरक्षा अधिकारीहरूले बताएका छन् ।