कागती बारीमै कुहिन थाले, बजार नपाउँदा किसान निराश
दमौली । तनहुँको देवघाट गाउँपालिका-२ का कृषक मनिष मल्ल उत्पादित कागतीले बजार नपाउँदा निराश भएका छन् । व्यावसायिक कागतीखेतीमा लागेका उनी आफ्नो उत्पादनले बजार नपाउँदा समस्या भएको गुनासो गर्छन् । मल्लले २० रोपनी क्षेत्रफलमा कागतीखेती गरेका छन् । कागती उत्पादनको अन्तिम अवस्थामा छ, तर बजार अभाव हुँदा बारीमै रहेको उनले बताए । मल्लले भने, 'बारीसम्म गाडी पुग्ने बाटो छैन । मान्छेले बोकेर गाडीसम्म लैजाँदा लागत मूल्य धेरै पर्न जान्छ । त्यसमाथि कागतीको उचित मूल्य नपाउँदा समस्या छ ।' स्थानीयस्तरमा बजार नपाएपछि काठमाडौंस्थित कालीमाटी तरकारी बजारमा पुगेर बिक्रीका लागि व्यापारीसँग अनुरोध गरेको उनले सुनाए । गत वर्ष चितवन, तनहुँको दमौली र पोखरामा कागती बिक्री भए पनि यस वर्ष बजार नपाएपछि काठमाडौं पुग्नुपरेको उनको भनाइ छ । 'उत्पादित कागती काठमाडौंसम्म लैजाँदा लागत धेरै पर्ने र उत्पादन लागत पनि पाउन गाह्रो छ, तर बारीमै कुहिनुभन्दा काठमाडौंमा बिक्री गर्न सके केही न केही सहयोग हुने आशा गरेको छु । ३० केजीभन्दा माथि खरिद गर्ने कृषकलाई बारीमै आएर छानीछानी कागती टिप्न दिने भनेको छु', मल्लले भने, 'गाउँपालिकाले नै कागतीको बजार खोजिदिएको भए हामीजस्ता कृषकले चिन्ता गर्नुपर्थेन । स्थानीय कृषकलाई प्रोत्साहन गर्ने दायित्व स्थानीय तहको पनि हो नि, तर सहयोग पाएका छैनौँ ।' एकातिर उत्पादनले बजार पाएको छैन, अर्कातिर गत जेठ १ र २ गते आएको हावाहुरीले कागतीखेतीमा क्षति पुगेको छ । यसले देशमै केही गरौँ भन्ने सोच लिएर सात वर्षअगाडि देखि कागतीखेतीमा लागेका मल्ल थप निराश बनेका छन् । उनले ५०० भन्दा बढी बोट कागती लगाएका छन् । हावाहुरीले ५० बोटमा क्षति पुगेको थियो । वर्षौं मिहिनेत गरेर हुर्काएको कागती प्रत्येक वर्ष आउने हावापानीले क्षति पुर्याए पनि कतैबाट राहतसमेत नपाइएको मल्लको दुःखेसो छ । रासस
पर्यटक बढेपछि बुकीपाटनका गोठालाको आम्दानी दोब्बर
गलकोट । बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आयआर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटकहरू पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान–बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्न थालेको हो । पदमार्ग आसपास र बुकीपानमा चिया–नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । पाटन पुगेका पर्यटक गोठमै बस्ने र खाने गर्दा भैँसीको दूध, घ्यू तथा भेडाको मासु खपत हुन थालेको र यसले आयआर्जनमा वृद्धि भएको गोठालाहरू बताउँछन् । पर्यटकलाई भैँसीको दूधसँगै खीर, चिया, मोही तथा दही खुवाएर आम्दानी गर्न थालिएको गोठालाहरूको भनाइ छ । बुकीपाटनका भैँसी गोठाला ७२ वर्षीय देवबहादुर विकले चरिचरनका रूपमा रहेको बुकीपाटन पर्यटकीय गन्तव्य बनेपछि गोठमै पैसा आउन थालेको बताए । 'पहिला त ढोरपाटन ल्याएर घ्यू बिक्री गरिन्थ्यो, मही फालिन्थ्यो । हाल बर्खामा पनि पर्यटक भरिभराउ छन, मोहीसमेत बिक्री हुन्छ', उनले भने, 'पर्यटक बढेपछि यही गोठमा समेत बस्न आउँछन्, भैँसीको दूधको खीर पकाएर खुवाउँछु । गोठमै दूध, मोही बिक्री भएपछि बोकेर ढोरपाटन जानै पर्दैन ।' बुकीपाटन उक्लनले बीच बाटोको चेप्टेढुङ्गामा गोठबाटै चिया बिक्री गरेर गुमानसिंह कुमाईले पनि राम्रो आम्दानी गरिरहेका छन् । बुकी उक्लनेलाई प्रतिगिलास रु १०० मा चिया बिक्री गर्दै आएको उनको भनाइ छ । दूधको चिया खपत भएपछि घ्यू र दही बनाउने झन्झट नभएको कुमाईले बताए । उनको गोठमा एकै दिन एक सय गिलाससम्म चिया खपत हुने गर्छ । तीनवटा भैँसी र ६० वटा बाख्रा पाल्दै आएका कुमाईको घुम्ती गोठ पदयात्रा गर्ने छेउमै भएकाले असारयता दूध र चिया निकै खपत भएको हो । 'बुकीमा चरेका भैँसीको दूधको चिया पदयात्रीले निकै मीठो मानेर खाने गरेका छन्, दूधबाट चिया बनाउन थालेपछि यो ‘सिजन’मा घ्यू बनाउन आवश्यक छैन', उनले भने, 'पर्यटकका कारण गोठमै पैसा आएको छ, पहिला–पहिला खेर जाने मोही पनि हाल महङ्गो मूल्यमा बिक्री हुन्छ ।' ढोरपाटनमा एक वर्षमै आठ हजारले पर्यटक वृद्धि भएपछि यसपटक बुकीपाटन गुल्जार बनेको छ । प्रचारप्रसार, पर्यटकीय पूर्वाधार, बुकी र जलजलामा पदयात्रा गर्ने पर्यटकका कारण पर्यटकको सङ्ख्या बर्सेनि बढ्दै गएपछि घोडा सफारी, घरबास र गोठमा बस्ने पर्यटकका कारण आयआर्जनमा सघाउ पुगेको हो । ढोरपाटन सिकार आरक्षमा पहिले सिकार खेल्न विदेशी पर्यटक मात्र आउने गरेकामा पछिल्लो समय आरक्ष क्षेत्र, ढोरपाटन उपत्यका, निशेलढोर, ढोरबराह मन्दिर, बुकी पाटन र जलजलालगायत क्षेत्रको अवलोकनका लागि आन्तरिक पर्यटक पनि यहाँ आउने गरेका छन् । समुन्द्री सतहदेखि दुई हजार ९०० मिटरको उपत्यकादेखि चार हजारभन्दा माथिको बुकीपाटनसम्म पर्यटक पुग्ने थालेका छन् । रासस
रुपन्देही–३ उपनिर्वाचन : उम्मेदवार सिफारिस गर्न एमालेको परिपत्र
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य दीपक बोहोराको निधनपछि रिक्त भएको रुपन्देही क्षेत्र नंं. ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा एक महिलासहित तीन जना उम्मेदवारको नाम सिफारिस गर्न जिल्ला र प्रदेश कमिटीलाई परिपत्र गरेको छ । पार्टी महासचिव शङ्कर पोखरेलले आगामी भदौ १५ गतेभित्र उम्मेदवारको नाम पार्टी केन्द्रीय कार्यालयमा सिफारिस गर्न परिपत्र गरेका हुन् । उम्मेदवार सिफारिस गर्नुअघि निर्वाचन क्षेत्र समन्वय कमिटीले जिल्ला र प्रदेश कमिटीसँग पनि राय लिन आग्रह गरिएको छ ।
प्रोटेक्टिभ माइक्रोको नाफा ७९.५७ प्रतिशत बढ्यो, १८.६९ करोड रुपैयाँ पुग्यो कुल बीमाशुल्क
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ मा १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७९.५७ प्रतिशत बढी हो । गत वर्ष कम्पनीले ५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्ष २ करोड ७८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको यस कम्पनीले गत वर्ष १८ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत वर्ष २ करोड ६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष कम्पनीले २ करोड ७३ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा २३ लाख १९ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ३१ हजार रुपैयाँ, सञ्चित नाफा ५ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा १५ लाख ९१ हजार रुपैयाँ रहेको छ । गत वर्ष कम्पनीले ४८ करोड १० लाख रुपैयाँ दीर्घकालीन र ३ करोड रुपैयाँ अल्पकालीन लगानी गरेको छ ।
५ करोडमा सञ्चालनमा आयो इन्स्टा होटल, ३६ जनालाई रोजगारी
काठमाडौं । काठमाडौंको नक्सालमा इन्स्टा होटल सञ्चालनमा आएको छ । सन् २०१४ देखि हस्पिटालिटी क्षेत्रमा सक्रिय ईश्वर प्रसाद पन्तले होटल सञ्चालनमा ल्याएका हुन् । अर्धबुटिक र पूर्ण आधुनिक शैलीमा सजाइएको, अत्याधुनिक सुविधा सम्पन्न होटलमा २१ वटा आकर्षक र वातावरणमैत्री कोठा, १ सय जना क्षमताको कन्फ्रेन्स हल, विभिन्न परिकार उपलब्ध हुने रेस्टुरेन्ट रहेको छ । व्यावसायिक बैठक, सेमिनार, विवाह तथा अन्य कार्यक्रम आयोजना गर्न कन्फ्रेन्स हल उपयुक्त हुने पन्तले बताए । ५ करोड रुपैयाँ लगानीमा सञ्चालनमा आएको होटलले ३६ जनाभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । ईन्स्टा होटलमा आकर्षक तथा आरामदायी लक्जरी र स्ट्यान्डर्ड कोठा रहेका छन् । होटलको रेस्टुरेन्टमा नेपाली, अन्तर्राष्ट्रिय तथा फ्यूजन खानाहरू विशेष रूपमा उपलव्ध रहेका छन् । होटलले उद्घाटन अवधिमा ‘ओपनिङ डिस्काउन्ट अफर’ पनि ल्याएको जनाएको छ ।
देशभर मनसुनी वायुको प्रभाव, मधेस र सुदूरपश्चिममा मध्यम वर्षा हुने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको बताएको छ । साथै मनसुनको न्यूनचापीय रेखा पनि सरदर स्थानको आसपास नै रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा साधारणतया आंशिक बदली हुनेछ भने सुदूरपश्चिम लगायत पहाडी भागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराईका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही तराई भेगमा आंशिक बदली हुनेछ । मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगका भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । सम्भावित वर्षाका कारण भूक्षय, बाढी तथा गेग्रान बहावको जोखिम रहेको, सहरी तथा तराई क्षेत्रमा डुबान हुनसक्ने, ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्ने भएकाले सचेत रहन महाशाखाले सम्बद्ध सबैलाई अनुरोध गरेको छ । साथै अधिक वर्षाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता तथा पूर्वतयारी अपनाउन सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।
आज ५ संसदीय समितिका बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । आज सङ्घीय संसदका विभिन्न पाँच संसदीय समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ११ बजेर ३० मिनेटमा बस्दैछ । बैठकमा भूमिसम्बन्धी केही नेपाललाई संशोधन गर्न बनेको विधेयक, २०८२ माथि छलफल हुने कार्यसूची छ । जहाँ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, भूमि आयोगका पदाधिकारी, भूमि, वन तथा कानुन क्षेत्रका विज्ञसँग छलफल हुनेछ । यस्तै, कानुन, न्याय तथा मानवअधिकार समिति तथा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ बजे बस्दैछ । मानवअधिकार समितिमा मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्य योजनासम्बन्धी सुझावको मस्यौदा र नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा समेत छलफल हुने कार्यसूची छ । यस्तै, राष्ट्रिय सभा अन्तर्गतको विधान व्यवस्थापन समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बिहान ११ बजेर ३० मिनेटमा बस्ने सुशासन समितिको बैठकमा मधेस प्रदेशलगायत देशभरका विभिन्न क्षेत्रमा देखिएका खानेपानी समस्याको समाधानका लागि मन्त्रालयबाट भएका कामकारबाहीबारे छलफल हुँदैछ । दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफलको गर्ने कार्यक्रम छ । बिहान ११ बजे बस्ने राष्ट्रिय सरोकार समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग छलफल हुँदैछ । उक्त बैठकमा उक्त मन्त्रालयअन्तर्गतको राष्ट्रिय गौरवका आयोजनाको प्रगति अवस्था, समस्या र समाधानका लागि भएका प्रयास तथा समितिसँगको अपेक्षाका विषयमा छलफल हुनेछ ।
आज खीर दिवस नेपाली समाजमा खीर खाएर मनाइँदै, यस्तो छ महत्व
काठमाडौं । साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मर मसलालगायत चीजबीच हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्त्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिक शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राडा रामचन्द्र गौतम बताउँछन् । ‘साउन महिनामा गाउँघरमा पनि खेतिपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई-भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलीबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ,’ उनले भने । साउन भगवान शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधि पूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उनले बताए । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ । चामल, सावधाना, सेवई, मकै, गाजर लगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली वृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ठ खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही च्युरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घिउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ ।