यी हुन् रोनाल्डो र मेस्सीभन्दा पनि धनी फुटबल खेलाडी
काठमाडौं । तपाईंलाई लाग्छ क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धनी फुटबलर हुन् ? वा लियोनेल मेस्सी ? फेरि सोच्नुहोस् । विश्वकै सबैभन्दा धनी फुटबलर त्यो नाम हो जुन अधिकांश प्रशंसकहरूले मैदानमा चिन्दैनन् तर मैदानबाहिर उनले तपाईंको मनपर्ने क्लब नै किन्न सक्ने हैसियत राख्छन् । ती फुटबलर हुन् फाइक बोल्कियाह । फुटबल करिअर तर २० अर्ब डलर बराबरको नेटवर्थ । को हुन् उनी ? २७ वर्षीय बोल्कियाह ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् र हाल थाइल्याण्डको क्लब राचाबुरी एफसीका लागि खेलिरहेका छन् । उनी फुटबलमा खासै चर्चित नाम होइनन्, तर उनको अनुमानित नेटवर्थ २० अर्ब अमेरिकी डलर छ- जुन रोनाल्डोभन्दा निकै माथि पर्छ । किन ? किनभने उनी ब्रुनाईका सुल्तानका भतिज हुन् - जो विश्वकै सबैभन्दा धनी राजपरिवारमध्ये पर्छन् । रोनाल्डो वा मेस्सीको जस्तो फुटबल उपलब्धि नहुन सक्छ, तर उनी धनको मामिलामा अलगै लिगमा छन् । उनको परिवारसँग ठूला तेल र ग्यासको भण्डार, विलासी सम्पत्ति र विशाल लगानीहरू छन्, जुन द सन्डे टाइम्स रिच लिस्टले उल्लेख गरेको छ । क्रिस्टियानो रोनाल्डो आधिकारिक रूपमा ‘बिलियनियर’ खेलाडीको सूचीमा प्रवेश गरिसकेका छन् । उनी विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने फुटबलरमध्ये एक हुन् र अहिले साउदी क्लब अल नसर सँगको ठुलो सम्झौतासहित उनी आर्थिक इतिहासमा नाम लेखाउन सफल भएका छन् । सेलिब्रेटी नेट वर्थअनुसार रोनाल्डोको नेटवर्थ १ अर्ब अमेरिकी डलर छ । उनले आफ्नो करिअरमा थुप्रै ब्रान्डसँग सम्झौता गरेका छन्- नाइकसँगको जीवनभरको डिल, आफ्नै सीआरसेभेन ब्रान्ड र अहिले साउदी अरबमा पाएको रेकर्ड ब्रेकिङ तलब । अल नसरसँगको रोनाल्डोको सम्झौतामा के छ ? रोनाल्डोको सम्झौताले उनलाई २ वर्षको अवधिमा ७० करोड अमेरिकी डलर दिने बताइएको छ – जुन खेलकुद इतिहासकै सबैभन्दा ठूलो तलब हो । सम्झौतामा ४८ मिलियन डलरको साइनिङ बोनस र क्लब अल नसरमा १५ प्रतिशत स्वामित्व हिस्सेदारी पनि समावेश छ । साउदी अरबले २०३४ मा फिफा विश्वकप आयोजना गर्दैछ र रोनाल्डोलाई त्यसको विश्वदूतको रूपमा प्रस्तुत गरिँदैछ । साथै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिने व्यक्ति पनि हुन् । लियोनेल मेस्सी हाल अमेरिकाको एमएलएस क्लब इन्टर मियामी मा खेलिरहेका छन् । रिपोर्ट अनुसार उनको नेटवर्थ ८५० मिलियन अमेरिकी डलर रहेको छ । उनले एडिडास, एप्पल, हार्ड रक क्याफेलगायत धेरै ब्रान्डसँग सम्झौता गरेका छन् ।
भुलसुधार* : २० शैक्षिक संस्था विभागको कारावाहीमा
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न २० वटा शैक्षिक संस्थालाई कारवाही गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ (ट) बमोजिमको कसुर र सोही ऐनको दफा ३९ को १ (घ) बमोजिम कारबाही विभागले जनाएको हो । विभागले पाठशाला एजुकेसन प्रा.लिलाई एक लाख, कंगारु एजुकेसन फाण्डेसनलाई ७५ हजार, साप्पोरा एजुकेसनलाई ६० हजार र केपी टाइट इन्स्च्यिुटलाई ५१ हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै, अन्य शैक्षिक संस्थालाई पनि कारवाही गरेको सूचना विभागले सार्वजनिक गरेको छ । (*मिति २०८२ साउन १४ गते प्रकाशित यस समाचारमा असावधानिबस् कवी अर्जुन पराजुलीको नाम र तस्बिर उल्लेख भएकोले यसबाट उहाँलाई पर्न गएको असुविधाप्रति हामी क्षमाप्रार्थी छौं। कवी पराजुलीले पठाएको खण्डन र जानकारीप्रति आभार प्रकट गर्दै विकासन्युज डटकम सधैं सन्तुलित समाचार प्रस्तुत गर्न प्रतिबद्ध रहेको जानकारी गराउँदछौं : सम्पादक)
राष्ट्रिय वाणिज्य बैंकको '७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८' नेप्सेमा सूचीकृत
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको '७ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८८' नेप्सेमा सूचीकृत भएको छ ।बुधबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा राष्ट्रिय वाणिज्य बैंकको ७ वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्र सूचीकरण भएको हो । बुधबार नेपाल स्टक एक्सचेञ्ज र राष्ट्रिय वाणिज्य बैंकबीच नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईंले हस्ताक्षर गरे । उक्त ऋणपत्र साउन १५ गतेदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
संघ, प्रदेश र स्थानीय तहमा खर्च अनुशासन कडाइ गर्न कार्यदल गठन
काठमाडौं । अर्थ मन्त्रालयले बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माणका लागि कार्यदल गठन गरेको छ । कार्यदलमा अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख महेश बराल संयोजक रहेका छन् । सदस्यहरूमा अर्थ मन्त्रालयका बजेट महाशाखाका उपचिव, अर्थ मन्त्रालय कानून तथा फैसला महाशाखाका उपसचिव र विषय विज्ञमा पूर्व सहसचिव निर्मलहरी अधिकारी रहेका छन् । कार्यदलको सदस्य सचिवमा वित्तीय संघीयता महाशाखाका उपसचिव रहेका छन् । चालू आर्थिक वर्षको बजेट वक्तव्यको बुँदा नं. ३५९ मा विनियोजन कुशलता कायम गरी सार्वजिनक वित्तको प्रभावकारिता वृद्धि गर्ने, बजेट अनुशासनबाट सार्वजनिक खर्चको उपलब्धी बढाउने, संघीय सञ्चित कोषलाई सन्तुलनमा राख्न नगद प्रवाह व्यवस्थापनलाई सुढृढ बनाउने उल्लेख छ । यसैगरी सार्वजनिक ऋणको उत्पादनशिल उपयोग र दिगोपन सुनिश्चित गर्ने र राष्ट्रिय वित्त व्यवस्थापन सुधार रणनीति कार्यान्वयन गर्ने उल्लेख छ । बजेटको बुँदा नं. ३७१ मा संविधानले निर्दिष्ट गरे बमोजिम संघ, प्रदेश र स्थानीय तहमा बजेट अनुशासन सुदृढ गर्न कानुन निर्माण गर्ने र तीनै तहमा लागू हुने गरी सार्वजनिक खर्च मापदण्ड तर्जुमा गर्ने उल्लेख छ । बजेटमा रहेको व्यवस्थालाई कार्यान्वयन गर्न अर्थ मन्त्रालयले कार्यदल गठन गरेको हो । संविधानको धारा ५९ मा संघ, प्रदेश र स्थानीय तहको बजेट घाटा व्यवस्थापन तथा अन्य कानून अनुशासन सम्बन्धी व्यवस्था संघीय कानून बमोजिम हुने उल्लेख छ ।
संसद्मा प्रधानमन्त्रीसँगै बसेका मन्त्रीहरू निदाए, सामाजिक सञ्जालमा भाइरल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सत्तापक्षका मन्त्रीहरू निदाएको दृश्य सार्वजनिक भएपछि आलोचना सुरु भएको छ । प्रधानमन्त्रीसँगै पहिलो पंक्तिमा बसेका मन्त्रीहरू संसद्को बैठककै बेला निदाएको देखिएको हो । सभामा सांसदहरू अल्पविकसित मुलुकको सूचीबाट नेपालको स्तरोन्नति पछि उत्पन्न हुने अवस्थाबारे बहस गरिरहेका थिए । प्रधानमन्त्री ओली भने बहसमा चाखसहित सहभागी देखिन्थे । जवाफ दिने क्रममा उनले बहस पूरै ध्यानपूर्वक सुनेको बताउँदै राष्ट्रिय सभाको गरिमा अनुरूप सांसदहरूले सशक्त ढंगले आफ्नो धारणा राखेको भन्दै प्रशंसा गरे । तर, प्रधानमन्त्रीकै लहरमा बसेका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, रक्षामन्त्री मानवीर राई संसद् मै निदाएका थिए । संसद्को यस्तो संवेदनशील विषयमा बहस भइरहँदा मन्त्रीहरू निदाएको दृश्य सामाजिक सञ्जालमा भाइरल बन्न थालेको छ ।
दक्षिण एसियाली युवा नेतृत्वको मञ्च सुरु हुँदै, अन्तरसांस्कृतिक समझदारी र क्षेत्रीय सहकार्यमा जोड दिने
काठमाडौं । जुनियर चेम्बर इन्टरनेशनल (जेसीआई) नेपालको आयोजनामा अन्तर्राष्ट्रिय नेतृत्व विकासका लागि दक्षिण एसियाली एकेडेमी (एसएएआईएल) नेपाल २०२५ सुरु हुने भएको छ । यही साउन १५ देखि १८ (जुलाई ३१–अगस्ट ३) सम्म काठमाडौंको ठमेलस्थित अलोफ्ट होटलमा कार्यक्रम आयोजना हुन लागेको हो । राष्ट्रहरूलाई जोड्दै – सक्षम नेतृत्व निर्माण गर्दै नारासहित सुरु हुने यस एकेडेमीले दक्षिण एसियाली मुलुकका युवाहरूलाई नेतृत्व विकास, अन्तरसांस्कृतिक समझदारी र क्षेत्रीय सहकार्यमा जोड दिनेछ। एसएएआईएलको अवधारणा सन् २०२५ मा मङ्गोलियाको उलानबटारमा सम्पन्न जेसीआई एसिया प्यासिफिक कन्फेरेन्समा जन्मिएको हो । नेपाल, भारत, श्रीलंका र बंगलादेशबीच संयुक्त समझदारी पत्रमार्फत एकेडेमी स्थापना गर्ने निर्णय भएको थियो । नेपाल यस क्षेत्रीय पहलको पहिलो आयोजक राष्ट्र बन्ने गौरव प्राप्त गरेको छ । नेपाल जेसीजकी राष्ट्रिय अध्यक्ष रञ्जनी थापाको नेतृत्वमा आयोजना हुँदै गरेको यस एकेडेमीको निर्देशक जिम्मेवारी पूर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआई सिनेटर प्रज्ञा राज राजभण्डारीले सम्हाल्दै छिन् । आयोजक संस्था जेसीआई नेपालले यसलाई दक्षिण एसियाली युवा नेतृत्व विकासमा ऐतिहासिक कोसेढुङ्गाको रूपमा लिएको छ । युवा नेतृत्व क्षमताको बहुआयामिक विकास, दक्षिण एसियाली राष्ट्रबीच आपसी मित्रता र सहयोगको प्रवर्द्धन, नेपाली संस्कृति, पर्यटन र पहिचानको अन्तर्राष्ट्रिय प्रवर्द्धन, उद्योग, लगानी र नवप्रवर्तनमा युवा सहभागिताको विस्तार र क्षेत्रीय साझेदारी र दीर्घकालीन सञ्जाल निर्माण यस कार्यक्रमका मुख्य विशेषता हुन् । कार्यक्रममा नीति निर्माण, उद्यमशीलता, नवप्रवर्तन र विश्व नेतृत्वमा केन्द्रित कार्यशालाहरू पनि हुने जनाइएको छ। यसैगरी, काठमाडौं, लुम्बिनी, पाटन, भक्तपुर, स्वयम्भू, बौद्धलगायतका ऐतिहासिक तथा विश्व सम्पदा सूचीमा सूचीकृत स्थलहरूको अवलोकन हुने जनाइएको छ । साथै क्षेत्रीय उत्सव र फेलोसिपः सहभागी राष्ट्रबीच सञ्जाल विस्तार, सांस्कृतिक प्रस्तुतिहरू पनि हुने जनाइएको छ। कार्यक्रममा जेसीआई एसिया प्यासिफिकका उपाध्यक्ष मार्क जोसेफ डेभिड, हिरोकी टोमोरीलगायत अन्तर्राष्ट्रिय अतिथिहरूको उपस्थिति रहने पनि जनाइएको छ । जेसीआई नेपालले सम्पूर्ण अन्तर्राष्ट्रिय सहभागीहरूलाई नेपालमा स्वागत गर्दै यो कार्यक्रममार्फत साझा भविष्य निर्माण, युवा क्षमता विकास र दीर्घकालीन सहकार्यको सन्देश फैलाउने लक्ष्य लिएको छ । नेपालमार्फत सुरु भएको यो अभियानले आगामी वर्षहरूमा अन्य दक्षिण एसियाली राष्ट्रहरूमा पनि निरन्तरता पाउनेछ र नेपालले यस मञ्चमार्फत विश्वसमक्ष युवा नेतृत्वको सशक्त पहिचान उजागर गर्ने अपेक्षा गरिएको छ ।
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् । बुधबार हेटौंडामा सम्पन्न निर्वाचनमा बानियाँले बहुमत मत प्राप्त गर्दै संसदीय दलको नेतृत्व सम्हालेका हुन् । कुल ३७ मत खसेको उक्त निर्वाचनमा बानियाँले २२ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी बहादुर सिंह लामाले १४ मत ल्याएका थिए । एक मत बदर भएको थियो । बहुमत अर्थात् २२ मतसहित बानियाँ संसदीय दलको नेता निर्वाचित भएका हुन् । यसअघि बानियाँकै अगुवाइमा तत्कालीन संसदीय दलका नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। सो प्रस्ताव पनि दलका २२ सांसदको समर्थनमा पारित भएको थियो । रिक्त रहेको नेताको पद पूर्ति गर्न बुधबार पुनः निर्वाचन गरिएको हो । यही कार्यकालमा बानियाँ र लामा दोस्रो पटक आमनेसामने भिडेका हुन् । २०७९ सालमा लामाले बानियाँलाई पराजित गर्दै नेतामा निर्वाचित भएका थिए । बानियाँ नेपाली कांग्रेस बागमती प्रदेशका प्रदेश सभापति समेत हुन् । अब उनले पार्टीको संगठनात्मक नेतृत्वसँगै संसदीय दलको पनि बागडोर सम्हाल्ने भएका छन् ।
भरतपुरमा २ लाखदेखि तीन करोडसम्मको जग्गा, यी हुन् सस्तो मूल्यमा जग्गा पाइने ठाउँ
काठमाडौं । भरतपुर महानगरपालिकाले आर्थिक ऐन, २०८२ मार्फत जिल्लाभित्रका विभिन्न क्षेत्रहरूको जग्गाको मूल्यांकन गरेको छ । आर्थिक ऐनले चितवनमा जग्गाको मूल्य प्रतिकठ्ठा न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम तीन करोड रुपैयाँसम्म तोकिएको छ । शिक्षा, स्वास्थ्य, यातायातलगायत विभिन्न भौतिक पूर्वाधारले सम्पन्न क्षेत्र चितवनको नारायणगढ क्षेत्रमा जग्गाको मूल्य प्रतिकठ्ठा ३ करोड रुपैयाँसम्म तोकिएको छ । उक्त क्षेत्रअर्न्तगत लायन्स चोकबाट सहिद चोक पुल्चोक हुँदै नारायणी पुलसम्मका महेन्द्र राजमार्ग जोडिएका जग्गाहरूको मूल्य प्रतिकठ्ठा तीन करोड ८ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । यो मूल्य औद्योगिक क्षेत्रभित्र पर्ने जग्गाको हकमा हो । मुग्लिन-नारायणगढ राजमार्गअन्तर्गतको लीला चोकदेखि पुल्चोकसम्मको घडेरी प्रतिकठ्ठा २ करोड ४० लाख रुपैयाँ तोकिएको छ । सहिदचोक क्षेत्रमा पनि जग्गाको मूल्य प्रतिकठ्ठा २ करोड ४० लाख रुपैयाँ नै मूल्यांकन गरिएको छ । त्यस्तै, मुग्लिन नारायणगढ राजमार्गमा पर्ने पोखरा बसपार्कबाट लिला चोकसम्मको जग्गाको मूल्य औद्योगिक क्षेत्रमा एक करोड ७० लाख रुपैयाँसम्म तोकिएको छ । उक्त क्षेत्रभित्रकै दियालो मार्ग (पोखरा बसपार्कबाट भानु मावि, गौरेश्वर मन्दिर हुँदै लिलाचोक)सम्म पर्ने जग्गाको मूल्य एक करोड रुपैयाँसम्म मूल्यांकन गरिएको छ । नारायणगढमा बाटो नभएको ठाउँमा जग्गाको मूल्य २४ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । वडा न १ मा आर्थिक ऐनअनुसार जग्गाको मूल्य न्यूनतम ४ लाख रुपैयाँदेखि मूल्यांकन गरिएको छ । उक्त क्षेत्रमा कच्ची सडकमा भएका जग्गाहरुको मूल्य चार लाख ८ हजार रुपैयाँदेखि ४ लाख ८० हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । महेन्द्र राजमार्ग हाकिमचोकबाट केन्द्रीय बस टर्मिनलसम्म जोडिएका घडेरी जग्गाको मूल्य प्रतिकठ्ठा १ करोड २ लाख रुपैयाँ तोकिएको छ । रामनगर क्षेत्रमा जग्गाको मूल्य औद्योगिक क्षेत्रअर्न्तगत न्यूनतम ४ लाख रुपैयाँदेखि १५ लाख ५० हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । वडाअनुसार जग्गाको मूल्यांकन वडा न १ मा पर्ने जग्गाहरुको मूल्य औद्योगिक क्षेत्रमा न्यूनतम ३ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । उक्त वडाको आवसीय क्षेत्रहरुमा जग्गाको न्यूनतम मूल्य प्रतिकठ्ठा २ लाख रुपैयाँसम्म तोकिएको छ । व्यवसायिक क्षेत्रमा जग्गाको मूल्यांकन न्यूनतम तीन लाख ४१ हजार रुपैयाँ मूल्यांकन गरिएको छ । त्यस्तै, कृषि क्षेत्रमा जग्गाको मूल्यांकन न्युनतम ४ लाख ३४ हजार रुपैयाँ तोकिएको छ । वडा न २ मा पर्ने जग्गाहरूको न्यूनतम मूल्य औद्योगिक क्षेत्रतर्फ प्रतिकठ्ठा १९ लाख रुपैयाँदेखि १ करोड ७० लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । आवासीय क्षेत्रतर्फ न्यूनतम १९ लाख रुपैयाँदेखि अधिकतम १ करोड ६२ लाख रुपैयाँ मूल्यांकन गरिएको छ । त्यस्तै, महानगरले उक्त वडाभित्रको जग्गाहरुको मूल्य व्यवासायिक क्षेत्रहरूमा प्रतिकठ्ठा न्यूनतम ९१ लाख रुपैयाँदेखि १ करोड ७० लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । वडा न ३ पर्ने जग्गाहरुको मूल्य न्यूनतम प्रतिकठ्ठा औद्योगिक क्षेत्रतर्फ १५ लाख रुपैयाँदेखि अधिकतम २ करोड ८५ लाख रुपैयाँसम्म तोकिएको छ । त्यस्तै आवासीय क्षेत्रमा पर्ने जग्गाको मूल्यांकन न्यूनतम २७ लाख रुपैयाँदेखि अधिकतम २ करोड ९९ लाख रुपैयाँ मूल्यांंकन गरिएको छ । सोही वडामा पर्ने जग्गाको मूल्य व्यवसायिक क्षेत्रमा प्रतिकठ्ठा न्यूनतम ७९ लाख रुपैयाँदेखि अधिकतम ३ करोड १३ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । त्यस्तै, कृषि क्षेत्रतर्फको जग्गाको मूल्यांकन प्रतिकठ्ठा न्यूनतम १३ लाख रुपैयाँदेखि अधिकतम २ करोड ४२ लाख २५ हजार रुपैयाँसम्म तोकिएको छ । वडा न ४ मा पर्ने जग्गाहरूको मूल्यांकन औद्योगिक क्षेत्रमा न्यूनतम १६ लाख रुपैयाँदेखि ४८ लाख रुपैयाँसम्म मूल्यांकन गरिएको छ । आवासीयतर्फ प्रतिकठ्ठा न्यूनतम १७ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म तोकिएको छ । त्यस्तै, व्यवसायिक क्षेत्रतर्फ न्यूनतम १८ लाख रुपैयाँदेखि मूल्यांकन गरिएको छ । त्यस्तै, वडा न ५ मा पर्ने जग्गाहरूको मूल्य अधिकतम ८ लाख ८० हजार रुपैयाँदेखि अधिकतम ३७ लाख ४५ हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । वडा न ६ मा पर्ने जग्गाहरूको मूल्यांकन न्यूनतम ४ लाख ४० हजार २६ लाख रुपैयाँसम्म तोकिएको छ । वडा न ७ मा पर्ने जग्गाहरुको मूल्य प्रतिकठ्ठा न्यूनतम १५ लाख ५० हजार रुपैयाँदेखि ५७ लाख ५० हजार रुपैयाँसम्म मूल्यांकन गरिएको छ । त्यस्तै, वडा नं ८ मा पर्ने जग्गाहरूको न्यूनतम मूल्यांकन प्रतिकठ्ठा ११ लाख रुपैयाँखेखि ४७ लाख ५० हजार रुपैयाँसम्म तोकिएको छ । वडा नं ९ मा पर्ने जग्गाहरूको मूल्यांकन अधिकतम एक करोड २ लाख तोकिएको छ। यस्ताे छ जग्गाकाे मूल्यांकन