दरमखोला हाईड्रोको आईपीओ बिक्री खुला, ५० हजार कित्तासम्म आवेदन दिन पाइने
काठमाडौं । दरमखोला हाईड्रोपावर इनर्जीले आज साउन १५ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३ करोड ५ लाख रुपैयाँको ३८.३३ प्रतिशत अर्थात् ३९ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३९ लाख ५० हजार कित्ता सेयर बिक्री खुला गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् १० लाख ३० हजार ५ सय कित्ता सेयरमा आयोजना प्रभावित क्षेत्र गुल्मीको मुसीकोट नगरपालिका, बाग्लुङको गल्कोट नगरपालिका, बडीगाड गाउँपालिकाका स्थानीय र सर्वसाधारणलाई छुट्याइएको २८.३३ प्रतिशत अर्थात् २९ लाख १९ हजार ५ सय कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् २ लाख ९१ हजार ९५० कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा २ प्रतिशत अर्थात् ५८ हजार ३९० कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोष र बाँकी २४ लाख २३ हजार १८५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा साउन १९ गतेसम्म आवेदन सकिनेछ । यदि सो समयमा पूर्ण बिक्री नभएमा आवेदन दिने समय साउन २९ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।
जोशी हाइड्रोको हकप्रद सेयर बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले आज साउन १५ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले चुक्ता पुँजी ३७ करोड १४ लाख रुपैयाँको ६५ प्रतिशत अर्थात् हाल कायम १ कित्ता सेयर बराबर नयाँ ०.६५ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री गरेको हो । कम्पनीले २४ करोड १४ लाख १० हजार रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका २४ लाख १४ हजार १०० कित्ता सेयर बिक्री गरेको हो । हकप्रद सेयर निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ । हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो । त्यसैले असार ५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा भदौ ४ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै कम्पनीको कार्यालय र लक्ष्मी सनराइज बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी सिंगल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।
आजदेखि पोखराको बगैंचा रिसोर्ट तथा स्पा सञ्चालनमा, लागत ७० करोड
काठमाडौं । पोखराको बगैंचा रिसोर्ट तथा स्पा आजदेखि सञ्चालनमा आएको छ । लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक समिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याएको हो । बुधबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले रिसोर्टको उद्घाटन गरिन् । । नेपाली माटो सुहाउँदो नाम हुँदा बगैंचाले सुन्दर अर्थ बोकेको हुनाले प्रकृतिसँग नजिक बनाउन खोजिएको उनको भनाइ छ । बगैंचाले प्रकृतिप्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने निर्देशक थापाले बताए । मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकाले प्रकृतिको नजिक लैजान यो शैलीको हस्पिटालिटी व्यवसाय सुरू गरिएको थापाले जानकारी दिए । यहाँ आउने पाहुनाले व्यवसायीक रूपमा चाहेको सब कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए । थापाले रिसोर्टकै नामअनुसार स्पाको समेत सेवा सुविधा रहेको जानकारी दिए । बगैंचामा दुई रेष्टुरेण्ट रहेका छन् । बगैंचामा “टारो” पूलसाइड बार रहेकाले थप आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे । रिसोर्टमा आउने पाहुनाका लागि स्टयान्डर्ड रूम, एक्जिक्युटिभ रूम, आर्बर सुइट, बगैंचा सुइट गरी अतिथिका लागि चार प्रकारका आकर्षक कोठाको प्रबन्ध गरिएको छ ।’ यसैगरी, रिसोर्टमा ३२ वटा कोठा रहेका छन् । रिसोर्टमा १५० देखि ३५० डलरसम्मका कोठाहरू पाइने थापाले जानकारी दिए । उनका अनुसार साढे चार रोपनी क्षेत्रफलमा र ७० करोड लागतमा सम्पन्न भएको छ।
नाडा र यातायात व्यवस्था विभागबीच सवारीसाधन आयात, उत्पादन तथा जडानसम्बन्धी छलफल
काठमाडौं । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपाल र यातायात व्यवस्था विभागबीच छलफल भएको छ । नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलसँग बुधबार छलफल गरेको हो । सवारीसाधन आयात उत्पादन तथा जडानसम्बन्धी निर्देशिका २०८२ का सम्बन्धमा छलफल भएको हो । उक्त छलफलमा विशेषगरी सवारी आयात, उत्पादन र जडान, नेपालमा यातायात व्यवसायी महासंघको माग सम्बन्धमा विद्युतिय सवारी साधनहरुको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर, चार्जिङ्ग स्टेसनको व्यवस्था गरेर मात्र आयात गर्न पाउने माँग, सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य गर्ने, प्रयोग भएका ब्याट्रीको दीर्घकालीन व्यवस्थापन, डुप्लिकेट सर्टिफिकेसन, डकुमेन्टेसन, छाप र लोगो प्रयोग, मोटर क्षमता र सिट संख्यामा भएको विवाद, भन्सार महसुल निर्धारणको लागि आधारहरूको सिफारिस, ट्याक्सीमा प्रयोग हुने सवारी साधनहरू व्यक्तिगत सवारीभन्दा महँगो भएको ट्याक्सी व्यवसायीको गुनासो र आयात हुने सवारीमा जीपीएस अनिवार्य गर्ने लगायतका विषयहरूमा छलफल गरिएको थियो । सो छलफलमा नाडाका अध्यक्ष चौधरीले सो निर्देशिकाको विषयमा बुँदागत छलफल गरिनु पर्ने धारणा राखे । यसै क्रममा चौधरीले सो निर्देशिकाका सम्बन्धमा नाडामा विस्तृत छलफलगरी सुझाव पठाउने बताउँदै विभागले छलफलका लागि नाडालाई बोलाएकोमा आभार प्रकट गरे । सो बैठकमा उपस्थित हुनु भएका नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठले सो निर्देशिकामा रहेका केही बुँदाहरु नेपालको सन्दर्भमा व्यावहारिक बनाउनु पर्ने र कतिपय जटिल विषयहरुमा थप छलफलको आवश्यकता रहेको बताए । छलफलको अन्त्यमा विभागका महानिर्देशक पोखरेलले सवारीसाधन आयात उत्पादन तथा जडानका सम्बन्धमा नेपालमा कुनै स्पष्ट नीति नियम नभएको सन्दर्भमा यो निर्देशिका ल्याउन लागेको बताउँदै यसका लागि विभिन्न चरणमा छलफल गरिने जानकारी दिए । सोही छलफलको क्रममा उनले सरकारले व्यवसायीहरुका लागि विभिन्न व्यवधानहरु सिर्जना गर्ने गरेको आम बुझाइरहेको भए पनि अव सरकार व्यवसायीहरुको परिपूरकको रुपमा उभिने बताउँदै देशको आर्थिक विकासमा नीजिक्षेत्रको ठूलो भूमिका हुने बताए । विभागसँग मिलेर नाडाले सवारी साधनहरूका लागि टेष्टिङ फेसिलिटीको व्यवस्था गर्न सकिने भन्ने नाडाका अध्यक्ष चौधरीको प्रस्तावमा प्रतिक्रिया दिदै महानिर्देशक पोखरेलले मुख्यतः ३ वटा विषयमा नाडासंग सहकार्य गरेर अघि बढन सकिने बताउँदै सही समयमा सही छलफल भएको धारणा राखे । उक्त छलफलमा सो विभागका प्राविधिक निर्देशक श्रीकान्त यादवले नेपालमा सवारीसाधन आयात आयात हुने सम्बन्धी व्यवस्थाहरूका सम्बन्धमा बैठकलाई विस्तृत रुपमा जानकारी गराएका थिए । सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य यमुना श्रेष्ठ तथा एसोसिएसन सचिव सुरेन्द्र प्रधानसमेतको उपस्थिति रहेको थियो ।
आरोग्य पर्यटनलाई नीतिगत संरचनामा ल्याउने तयारी, १३ सदस्यीय उपसमिति गठन
काठमाडौं । राष्ट्रिय पर्यटन परिषद्को प्रथम बैठकले आरोग्य पर्यटनको प्रवद्र्धनका लागि रणनीतिक अवधारणापत्र तयार गर्ने निर्णय गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकले पर्यटन क्षेत्रको दीर्घकालीन तथा समावेशी विकासका लागि आरोग्य पर्यटनलाई प्राथमिकतामा राख्दै नीतिगत संरचना विकास गर्नुपर्ने निष्कर्ष निकालेको हो । स्वास्थ्य, वातावरण, पर्यटन, शिक्षा तथा स्थानीय तहका प्रतिनिधिहरू रहने गरी उपसमिति गठन गर्दै उक्त अवधारणा निर्माणको प्रक्रियालाई औपचारिकता दिने निर्णय भएको सहसचिव इन्दु घिमिरेले जानकारी दिए । आरोग्य पर्यटन सम्बन्धी रणनीतिक अवधारणापत्र तयार गर्नका लागि पर्यटन महाशाखा प्रमुखको संयोजकत्वमा १३ सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, पर्यटन विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, त्रिभुवन विश्वविद्यालय, नेपाल पर्यटन बोर्ड, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, नेपाल नगरपालिका संघ, गाउँपालिका राष्ट्रिय महासंघ, होटल एसोसिएसन नेपाल र नेपाल स्पा एण्ड वेलनेस एसोसिएसनका प्रतिनिधिहरू सदस्यका रूपमा रहनेछन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन प्रवर्द्धन शाखाका उपसचिव उपसमितिका सदस्य सचिव तोकिएका छन् । परिषद्को यो निर्णयले नेपालमा नयाँ सम्भावनाको रुपमा देखा परिरहेको आरोग्य पर्यटनको समृद्धि र नीति निर्माणमा महत्वपूर्ण टेवा पुर्याउने अपेक्षा गरिएको छ । बैठकमा कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका पर्यटनमन्त्री, अन्य प्रदेशका मन्त्रालयका प्रतिनिधिलगायत परिषद्का सदस्यहरुको उपस्थिति थियो । हालै जारी भएको पर्यटन नीतिमा पर्यटनमन्त्रीको अध्यक्षतामा २७ सदस्यीय राष्ट्रिय पर्यटन परिषद् रहने व्यवस्था गरिएको छ । पर्यटन नीतिको रणनीति अन्तर्गत पर्यटकीय गन्तव्य र वस्तुको विविधिकरण र विस्तार गर्ने सन्दर्मामा परम्परागत तथा प्राकृतिक चिकित्सा, ध्यान, योग र आरोग्य (वेलनेस) पर्यटनको प्रवर्द्धन गर्न सम्बन्धित संघसंस्थासँग सहकार्य गरिने उल्लेख छ । परिषद् बैठकले पर्यटन नीति, २०८२ को कार्यान्वयनका लागि कार्ययोजनामा उल्लेख भएका आआफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयहरु कार्यान्वयनलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
बीमा प्राधिकरणमा इञ्जिनियरिङ बीमासम्बन्धी विषयमा छलफल
काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा इञ्जिनियरिङ बीमासम्बन्धी समस्या तथा चुनौतीहरूका सम्बन्धमा निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल आयोजना गरेको छ । इञ्जिनियरिङ बीमाअन्तर्गत देखिएका समस्या तथा चुनौतीहरूको समाधानका लागि निर्माण व्यवसायीहरू र बीमकहरूसँग छलफल गरी राय सुझावहरू लिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले इञ्जिनियरिङ बीमा अन्तर्गत देखिएका समस्याहरूको समाधानका लागि सम्बद्ध सरकारी निकाय, बीमा कम्पनी र निर्माण व्यवसायीहरूसँग छलफल गरी निष्कर्ष निकालिने जानकारी दिए । कार्यकारी निर्देशक सुवेदीले इञ्जिनियरिङ बीमासम्बन्धी प्राविधिक विषयमा नीतिगत तहमा सम्बद्ध निकाय, नियामक र संस्थाहरूसँग छलफल गरी अगाडि बढ्ने उल्लेख गर्दै करिब ९० प्रतिशत बीमालेख नेपाली भाषामा भए तापनि बीमा गर्दा बीमालेख राम्रोसँग नपढेका कारण समस्या आउने गरेको बताए । नेपाल बीमा प्राधिकरणका निर्देशक निर्मल अधिकारीले म्याद थप भएका ठेक्काको बीमालेख नवीकरण गर्ने सम्बन्धमा त्यस्ता ठेक्काको सङ्ख्या कति छ, त्यसको यकिन भएपछि स्पष्ट गरिने जानकारी दिए । निर्देशक अधिकारीले बीमालेख बीमितको आवश्यकता अनुसार हुनुपर्ने, बीमालेखका सेवा तथा सुविधाहरू स्पष्ट हुनुपर्ने र बीमाप्रतिको बुझाइमा एकरूपता हुनुपर्ने बताए । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बीमा गरेपछि सुरक्षित भइन्छ भन्ने बारेमा सबैलाई बुझाउनुपर्ने, दबाब र प्रभावले दाबी भुक्तानी पाउने अवस्था आउन नहुने, बीमालेख जारी गर्दा गलत कुरालाई प्रोत्साहन गर्न नहुने र बीमालाई बाध्यकारी नभई विश्वसनीय बताउनुपर्ने विचार व्यक्त गरे । नेपाल बीमक संघका अध्यक्ष वीरेन्द्र बैदवारले बीमा घोषणा गर्दा सही रूपमा गर्नुपर्ने, बीमा बेच्ने र लिनेले बीमाका प्रावधानलाई एउटै अर्थमा बुझ्नुपर्ने र स्वदेशी पुनर्बीमा कम्पनीले रक्षावरण गरे म्याद थप भएका ठेक्काको बीमालेख नवीकरण गर्न समस्या नहुने धारणा राखे । कार्यक्रममा सहभागी निर्माण व्यवसायीहरूले बीमा कम्पनीहरूले बीमा सर्भेयरले प्रतिवेदन बुृझाएपछि क्षतिको निश्चित प्रतिशत भुक्तानी दिनुपर्ने, बीमा गराउँदा बीमालेखका सबै प्रावधानका बारेमा स्पष्ट जानकारी गराउनुपर्ने, बीमाप्रतिको विश्वास बढ्ने गरी काम गर्नुपर्ने, बीमालेखका प्रावधान सरल रूपमा नेपाली भाषामा हुनुपर्ने र बीमालेख नवीकरण, दाबी भुक्तानीका चरण तथा दाबी भुक्तानीका बारेमा अनलाइनका माध्यमबाट बीमितलाई जानकारी दिने व्यवस्था हुनुपर्ने लगायतका विचार व्यक्त गर्दै डीएलपी र एक्सेस सम्बन्धी विषय समेत उठाएका थिए । यसैगरी, निर्जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूले सबैले बीमालाई बाध्यताका रूपमा नभई आवश्यकताका रूपमा बुझ्‌नुपर्ने, बीमालेखका प्रावधानहरू पढेर मात्र बीमा गर्नुपर्ने, अन्तर्राष्ट्रिय अभ्यास र आवश्यकताका आधारमा बीमालेखका प्रावधानहरू थपिंदै गएको र बीमादरमा खासै समस्या नहेको लगायतका धारणा राखेका थिए । कार्यक्रममा नेपाल बीमक संघका पदाधिकारीहरू तथा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू तथा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरू र निर्माण व्यवसायीहरूको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका उपनिर्देशक केशवप्रसाद दाहालले गरेका थिए ।
टेलिग्राम बन्द गर्ने सरकारको निर्णयप्रति सरोकारवाला संस्थाहरूको आपत्ति
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले साउन २ गते इन्टरनेट सेवा प्रदायकहरूलाई सामाजिक सञ्जाल एप टेलिग्राम बन्द गर्न निर्देशन दिएको निर्णयप्रति विभिन्न सरोकावालाहरूले आपत्ति जनाएका छन् । बुधबार डिजिटल राइटस् नेपाल, डिजिटल मिडिया फाउण्डेस, मिडिया एक्सन नेपाललगायत दुई दर्जनभन्दा बढी सरोकारवालाहरूले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् । उक्त निर्णयलाई ‘एकपक्षीय, अपारदर्शी र प्रमाणविहीन’ भन्दै लोकतान्त्रिक मूल्य, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथिको प्रत्यक्ष हस्तक्षेपको संज्ञा दिएका छन् । ‘नेपालको संविधानको धारा १७ र १९ ले प्रत्याभूत गरेका विचार तथा अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हक डिजिटल माध्यममा पनि प्रयोग गर्ने नागरिक अधिकारलाई संकुचित पार्ने काम भएको छ,’ विज्ञप्तिमा उल्लेख छ । टेलिग्रामजस्ता डिजिटल माध्यमहरू सूचनाको आदानप्रदान, जनसहभागिता, शैक्षिक कार्य, सामाजिक अभियान्ता र समुदाय समन्वयका लागि महत्वपूर्ण प्लेटफर्म भएको भन्दै विज्ञप्तिमा यस्तो प्रतिबन्धले प्रेस स्वतन्त्रता, सूचनामा पहुँच र डिजिटल समावेशिताको सरकार पक्षधरता माथि नै प्रश्न उठाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘२०८० मा टिकटकमाथि लगाइएको प्रतिबन्धप्रति परेको रिटमा सर्वोच्च अदालतले कानुनी व्यवस्था बनाएर सामाजिक सञ्जाल नियमन गर्न आदेश दिएको थियो । त्यसको सन्दर्भमा हाल राष्ट्रिय सभामा सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक विचाराधीन रहेको अवस्थामा, कुनै वैध कानुन बिना टेलिग्राममाथि लगाइएको प्रतिबन्ध अलोकतान्त्रिक र संविधानविपरीत छ ।’ सरकारले टेलिग्राममा आपराधिक गतिविधि भइरहेको दाबी गरे पनि त्यस्ता घटनासम्बन्धी कुनै प्रमाण वा कानुनी आदेश सार्वजनिक नगरिएको पनि विज्ञप्तिमा जनाइएको छ । प्लेटफर्मको दुरुपयोगबाट आपराधिक गतिविधि भएमा दुरुपयोग गर्ने व्यक्तिलाई कारबाही गर्नुपर्ने र प्लेटफर्म बन्द गर्नु गैरउत्तरदायी कदम भएको विज्ञप्ति जारीकर्ताहरूको ठम्याइ छ । साथै ‘नेपालले अंगीकार गरेका अन्तर्राष्ट्रिय सन्धि–महासन्धिका दायित्वहरू र मानव अधिकारको सार्वभौमिक घोषणापत्रको समेत उल्लङ्घन भएको’ विज्ञप्तिमा उल्लेख छ। सरोकारवालाहरूले विज्ञप्तिमार्फत टेलिग्राममाथिको प्रतिबन्ध तत्काल फिर्ता गर्न माग राखेका छन् । त्यस्तै, डिजिटल प्लेटफर्म नियमन संविधान र अन्तर्राष्ट्रिय मानव अधिकार मापदण्डअनुसार पूर्णपरिपालना गर्न अनुरोध गरेका छन् । यस्तै, डिजिटल अधिकारको संरक्षणका लागि सरोकारवालाबीच पारदर्शी, समावेशी र उत्तरदायी संवाद सुरु गर्नुपर्ने सरकोकारवालाहरूको माग छ ।
यी हुन् रोनाल्डो र मेस्सीभन्दा पनि धनी फुटबल खेलाडी
काठमाडौं । तपाईंलाई लाग्छ क्रिस्टियानो रोनाल्डो विश्वकै सबैभन्दा धनी फुटबलर हुन् ? वा लियोनेल मेस्सी ? फेरि सोच्नुहोस् । विश्वकै सबैभन्दा धनी फुटबलर त्यो नाम हो जुन अधिकांश प्रशंसकहरूले मैदानमा चिन्दैनन् तर मैदानबाहिर उनले तपाईंको मनपर्ने क्लब नै किन्न सक्ने हैसियत राख्छन् । ती फुटबलर हुन् फाइक बोल्कियाह । फुटबल करिअर तर २० अर्ब डलर बराबरको नेटवर्थ । को हुन् उनी ? २७ वर्षीय बोल्कियाह ब्रुनाईको राष्ट्रिय टिमका कप्तान हुन् र हाल थाइल्याण्डको क्लब राचाबुरी एफसीका लागि खेलिरहेका छन् । उनी फुटबलमा खासै चर्चित नाम होइनन्, तर उनको अनुमानित नेटवर्थ २० अर्ब अमेरिकी डलर छ- जुन रोनाल्डोभन्दा निकै माथि पर्छ । किन ? किनभने उनी ब्रुनाईका सुल्तानका भतिज हुन् - जो विश्वकै सबैभन्दा धनी राजपरिवारमध्ये पर्छन् । रोनाल्डो वा मेस्सीको जस्तो फुटबल उपलब्धि नहुन सक्छ, तर उनी धनको मामिलामा अलगै लिगमा छन् । उनको परिवारसँग ठूला तेल र ग्यासको भण्डार, विलासी सम्पत्ति र विशाल लगानीहरू छन्, जुन द सन्डे टाइम्स रिच लिस्टले उल्लेख गरेको छ । क्रिस्टियानो रोनाल्डो आधिकारिक रूपमा ‘बिलियनियर’ खेलाडीको सूचीमा प्रवेश गरिसकेका छन् । उनी विश्वकै सबैभन्दा धेरै कमाइ गर्ने फुटबलरमध्ये एक हुन् र अहिले साउदी क्लब अल नसर सँगको ठुलो सम्झौतासहित उनी आर्थिक इतिहासमा नाम लेखाउन सफल भएका छन् । सेलिब्रेटी नेट वर्थअनुसार रोनाल्डोको नेटवर्थ १ अर्ब अमेरिकी डलर छ । उनले आफ्नो करिअरमा थुप्रै ब्रान्डसँग सम्झौता गरेका छन्- नाइकसँगको जीवनभरको डिल, आफ्नै सीआरसेभेन ब्रान्ड र अहिले साउदी अरबमा पाएको रेकर्ड ब्रेकिङ तलब । अल नसरसँगको रोनाल्डोको सम्झौतामा के छ ? रोनाल्डोको सम्झौताले उनलाई २ वर्षको अवधिमा ७० करोड अमेरिकी डलर दिने बताइएको छ – जुन खेलकुद इतिहासकै सबैभन्दा ठूलो तलब हो । सम्झौतामा ४८ मिलियन डलरको साइनिङ बोनस र क्लब अल नसरमा १५ प्रतिशत स्वामित्व हिस्सेदारी पनि समावेश छ । साउदी अरबले २०३४ मा फिफा विश्वकप आयोजना गर्दैछ र रोनाल्डोलाई त्यसको विश्वदूतको रूपमा प्रस्तुत गरिँदैछ । साथै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिने व्यक्ति पनि हुन् । लियोनेल मेस्सी हाल अमेरिकाको एमएलएस क्लब इन्टर मियामी मा खेलिरहेका छन् । रिपोर्ट अनुसार उनको नेटवर्थ ८५० मिलियन अमेरिकी डलर रहेको छ । उनले एडिडास, एप्पल, हार्ड रक क्याफेलगायत धेरै ब्रान्डसँग सम्झौता गरेका छन् ।