विकासन्युज

उद्यमीमाझ प्रधानमन्त्री : ‘नेपाल बन्छ, गरेर देखाऔँ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान् युवा उद्यमीहरु ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर हुनुपर्ने बताएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर ‘हामी सक्छौँ’ भन्ने भावका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।   'हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदैछौँ । त्यसपछि विकासित मुलुकमा पुुग्नेछौँ । हाम्रो देश अरूले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकासनिर्माण र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादनवृद्धिमा लाग्न सक्नेछौँ', प्रधानमन्त्री ओलीले भने, 'हामी सबै लागेमा ‘वी क्यान डू’... नेपाल बन्छ ।'  

गाउँपालिकाका अध्यक्षले सबै विद्यालयको भित्तामा आफ्नो फोटो राख्न निर्देशन दिएपछि...

काठमाडौं । केही सताअघि अछामको मेल्लेख गाउँपालिकाका अध्यक्ष ज्वाला सिंह साउँदले आफ्नो पालिकाभित्र पर्ने सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई गाउँपालिकामा बोलाए । अध्यक्षले निमन्त्रणा पठाएपछि ४३ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक बैठकमा सहभागी भए । बैठकमा उपस्थित हुन नसक्नेले प्रतिनिधि पठाए ।  निकै महत्वपूर्ण भनिएको बैठकमा अध्यक्ष साउँदले एउटा निर्देशन दिएपछि सबै आश्चर्यमा परे । ४३ वटै सामुदायिक विद्यालयलाई साउँदको निर्देशन थियो, ‘सबै विद्यालयको अफिसको भित्तामा गाउँपालिकाका अध्यक्षको तस्बिर राख्नु पर्ने ।’ केही विद्यालयले उनको त्यो निर्देशन सहजै स्वीकार गरे । केही बैठकमै आलोचना गरे । तर, उनी पछि हटेनन् । आफू जननिर्वाचित अध्यक्ष भएकोले सबैले आफूलाई मान्नुपर्ने र शिक्षक तथा विद्यार्थीले पनि चिन्न आवश्यक रहेकोले आफ्नो तस्बिर विद्यालयको भित्तामा राख्नैपर्ने निर्देशन उनले बैठकमा सुनाए । उनले बैठकमा सामुदायिक विद्यालयलाई आफ्नो तस्बिर बाँडे । चाहना हुनेले फोटो लगेर हिँडे । केहीले आलोचना गर्दै तस्बिर नलिएरै घर फर्किए । अहिले मेल्लेख गाउँपालिकाकाभित्र पर्ने अधिकांश सामुदायिक विद्यालयको कार्यालयको भित्तामा उनको तस्बिर झुण्डिएको छ ।  केहीले भने उनको आलोचना गरिनै रहेका छन् । सामाजिक सञ्जालमा पनि चर्को आलोचना भइरहेको छ । उनलाई आलोचना गर्नेहरुले उत्तर कोरियाका नेता किमजोङको संज्ञा दिइरहेका छन् । किमजोङको mmोटो त्यहाँका हरेक नागरिकको घरमा छ । उत्तर कोरियाका नागरिक हरेक दिन बिहान उठेर उनको फोटो ढोग्छन् र कामको सुरुवात गर्छन् । आलोचना गर्नेहरुले अध्यक्ष साउँदलाई यसरी आलोचना गरिरहेका छन् ।  अध्यक्ष साउँदले ४३ वटा विद्यालयका लागि १ लाख ५० हजार पाँच सय रुपैयाँ खर्च गरेर तस्बिर बनाएको बुझिएको छ । प्रतिफोटो ३ हजार ५ सयका दरले १ लाख ५० हजार पाँच सय रुपैयाँ फोटो बनाउनमा खर्च भएको गाउँपालिका स्रोतले बतायो ।  त्यहाँका स्थानीय र शिक्षकले पनि अध्यक्ष आफ्नो प्रचारको मोह देखाएको धारणा राखिरहेका छन् । एक सामुदायिक विद्यालयका शिक्षकले उनको आलोचना गर्दै भने, ‘सरकार प्रमुख छिटो–छिटो फेरिन्छन् । सरकार प्रमुखको समेत फोटो राख्न समेत नसकिएको बेला अब पालिका अध्यक्षको फोटो पो राख्न निर्देशन दिइयो, हामीले उनको फोटो नराखेर चार सहिदको फोटो भित्तामा राखेका छौं ।’ यस विषयमा अध्यक्ष साउँदसँग बुझ्न खोज्दा उनले जवाफ दिन चाहेनन् । तर, यस विषयमा उनले एक स्थानीयसँग गरेको कुराकानी भने बाहिरिएको छ । उनले ती स्थानीयसँग भनेका छन्, ‘नयाँ अभ्यास बसाल्न यस्तो निर्णय गरेका हौं, यसलाई अनौठो मान्नु पर्दैन ।’ स्थानीय सरकार पनि कार्यकारी सरकार भएकाले नयाँ थिति बसाल्न यस्तो निर्णय गरेको उनको तर्क छ । ‘सरकारी कार्यालयमा प्रधानमन्त्री र राष्ट्रपतिको फोटो राख्न मिल्छ, स्थानीय तह पनि सरकार हो, उनले भनेका छन्, हामीलाई पनि जनताले मत दिएर निर्वाचित भएका हौं, हाम्रो पनि रेकर्ड रहन्छ भन्ने लागेर नयाँ अभ्यास गरेका हौं ।’ अध्यक्ष साउँदले आफ्नो कार्यकाल अब थोरै बाँकी रहेकोले इतिहास रहन्छ भनेर यस्तो निर्देशन दिएको पनि अडियोमा सुन्न सकिन्छ । उनको यो निर्णयप्रति पालिकाभित्रकै कर्मचारी समेत असन्तुष्ट रहेको बुझिएको छ ।  शिक्षकलाई तलब पाउन सकस  फोटोको लागि डेढ लाख  बढी खर्च गर्ने मेल्लेख गाउँपालिकाले अनुदानमा राखेका शिक्षकलाई भने तलब खुवाउन सकेको छैन । दुई महिनादेखि तलब नपाउँदा शिक्षकलाई समस्या भएको गुनासो गरेका छन् ।  पालिकाले ४३ वटा सामुदायिक विद्यालयमा ८८ जना शिक्षक अनुदान कोटामा राखेको छ । उनीहरूले दुई महिनादेखिको तलब नपाएको गुनासो गरेका छन् ।  पालिकाले प्रावि शिक्षकलाई १८ हजार, ८ कक्षासम्मका शिक्षकलाई २० हजार र माविका शिक्षकहरूलाई २२ हजार रुपैयाँका दरले तलब दिएर राखेको छ । सोही पालिकामा पर्ने एक सामुदायिक विद्यालयका शिक्षक भन्छन्, ‘सामुदायिक विद्यालयमा समस्या कति छन कति, सुधारमा ध्यान दिन सकेको छैन, कतिपय विद्यालयमा शिक्षक छैनन्, अनुदानमा राखेका शिक्षकलाई तलब पनि पर्याप्त छैन, समस्या एकातिर अध्यक्षको ध्यान चर्चित हुनेतर्फ भयो ।’  

सिँचाइ अभाव हुँदा आकासे पानीको भरमा इलामका किसान

इलाम ।  जिल्लाको माई नगरपालिका–६ पलाँसेका किसान सुरविर योङहाङले धान रोप्नका लागि एक महिनाअघिदेखि खनजोत गरी खेत तयार पारेका थिए । आकासे पानी आवश्यकता अनुसार नपरेपछि उहाँले अहिलेसम्म एक गाँभो पनि धान रोप्न सकेका  छैनन्  । खेतमा पानी पुग्ने मुहानमा मूल नफुटेकाले रोपाइँ सम्भव नभएको बताउँदै आकासे पानीको भरमा बसेकाले करिब १९ रोपनी खेत अहिलेसम्म बाँझै रहेको सुरविरले जानकारी दिए । ‘खेत जोते पनि सिँचाइ अभावले रोपाइँ गर्न नसकेपछि आकासतिर हेर्दै बस्नुपर्ने बाध्यता छ । खेत जोतेर बीउ पनि तयार पारेको हुँ । अब एक साताभित्र पनि पानी परेन भने यो वर्षको रोपाइँ हुँदैन’, उनले भने । किसान आइतराज लिम्बूको पीडा पनि उस्तै छ । खनजोत गरेर रोपाइँका लागि तयार पारिएको १६ रोपनी खेत आकासे पानीको पर्खाइमा बाँझै छ । 'पहिलापहिला असारको सुरुमा पानी पथ्र्यो, तर यो साल साउन दोस्रो साता बितिसक्दा समेत पानी परेन', उनले भने, 'सिँचाइ अभाव हुँदा खेत बाँझो रहने भयो, खेती नभए के खाने चिन्ता बढ्न थालेको छ ।' समयमा पानी नपर्दा इलामका सुरविर र आइतराजजस्ता सयौँ किसान रोपाइँ गर्न नपाएपछि चिन्तित छन् । यसैबीच साउनको दोस्रो सातासम्म इलाममा ७४ प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख कुलबहादुर राईले साउन दोस्रो सातासम्म ११ हजार ६३ हेक्टरमध्ये आठ हजार १८६ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको जनाउँदै यो कूल क्षेत्रको ७४ प्रतिशत हुने बताए । ‘गतवर्ष यही समयमा ९२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको थियो । गत वर्ष १४ हजार ८१५ हेक्टर क्षेत्रमा धानखेती गरिएको थियो । यस वर्ष आवश्यक वर्षा नभएकाले किसानले समयमा धान रोप्न पाएका छैनन्’, राईले भने । यस वर्ष मनसुन पर्याप्त नभएको, पानीका मूल नफुटेका, जमिनमा पानीको तह घट्नुका साथै सिँचाइ अभावले कम रोपाइँ भएको उनको भनाइ छ । कूलो र नहरको सुविधा भएका, खोला र खोल्सा क्षेत्र छेउछाउमा रहेका खेतमा रोपाइँ सकिएको बताउँदै आकासे पानीको भर परेर रोपिने ठाउँ बाँझै रहेका प्रमुख राईले बताए। रोपेका ठाउँमा पनि सिँचाइ नहुँदा खेतका गह्राहरू चर्किन थालेका किसानले बताएका छन् । साउन दोस्रो सातासम्म पनि रोपाइँ गर्न नपाउँदा यस वर्ष धान उत्पादन गर्न नसकिने चिन्तामा किसान छन् । इलामको तल्लो क्षेत्र अर्थात् चुलाचुली गाउँपालिका, माई नगरपालिका तथा माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका र देउमाई, इलाम र सूर्योदय नगरपालिकाका तल्लो क्षेत्रमा धानखेती हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँको माई नगरपालिका र रोङ गाउँपालिकाका किसानले उन्नत जातका रावित्री र रञ्जित खेती गर्दै आएका छन् । अन्य क्षेत्रका किसानले बेलकुटी, चिराखे, अटे, चुल्ठे, भँगेरे, टिमुरे, बयर्नी, रामतुलसी, रुदुवा, नानिया, चम्पासरी, तापमारालगायत स्थानीय जातका धानखेती गर्ने केन्द्रका प्रमुख राईले जानकारी दिए । उनका अनुसार यहाँको माई नगरपालिका, चुलाचुली गाउँपालिका र इलाम नगरपालिकामा सबैभन्दा बढी धानखेती हुँदै आएको छ । रासस

देशभरका सात राजमार्ग वर्षाका कारण अवरुद्ध

काठमाडौं । मुलुकभर परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट देशभरका सात राजमार्ग पूर्णरूपमा अवरोध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण देशभरका सात मुख्य राजमार्ग अवरोध भएका हुन् । अवरोध हुनेमा सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोशी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल–चीन नाका जोड्ने पुल, रसुवाकै पासाङ ल्हामु राजमार्ग, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालिगण्डकी करिडोर, रोल्पाको परिवर्तन गाउँपालिकास्थित घोराही रुकुम सहिद राजमार्ग र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट डोल्पा भेरी करिडोर सडक पूर्णरूपमा अवरोध भएका प्रहरीले जनाएको छ । यसैगरी, काठमाडौंको टोखाबाट नुवाकोट जाने सडकखण्ड, नवलपरासी पूर्वको गैँँडाकोट नगरपालिकास्थित कालिगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग, रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  

प्रधानमन्त्रीसँग भेट गर्न बालुवाटार पुगे देउवा

काठमाडौं । सत्तारूढ गठबन्धनभित्रको समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटवार्तामा एमाले र कांग्रेस दुवै पक्षका शीर्ष नेताहरू सहभागी छन् । बालुवाटारमा जारी छलफलमा प्रधानमन्त्री ओलीसँगै एमालेबाट उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल सहभागी छन् । कांग्रेस पक्षबाट सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी छन् ।छलफलमा मन्त्रिपरिषद् पुनर्गठन, बागमती प्रदेश सरकारको संरचना, र पछिल्लो राजनीतिक अवस्था सम्बन्धी विषयमा कुराकानी भइरहेको छ । सत्तारूढ गठबन्धनभित्र देखिएको असमझदारी समाधान गर्ने प्रयासस्वरूप शीर्ष नेताहरूबीच आजको भेटवार्ता महत्त्वपूर्ण मानिएको छ ।

एमाले र काँग्रेसबीचको सात बुँदे सहमतिलाई कम नआँक्नूस् : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा एमाले र नेपाली काँग्रेसबीच भएको सात बुँदे सहमतिलाई कम नआँक्न चेतावनी दिएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।  उनले सरकारमा अस्थिरता बढेको र सुशासन कायम हुन नसकेको जनगुनासोपछि स्थायित्व, स्थिरता र सुशासन दिनका लागि जनताको मागअनुसार दुई ठूला राजनीतिक दलहरु मिलेर सरकार बनाएको बताए । वर्तमान सरकारले ६ महिनामा सरकार परिवर्तन हुने अस्थिर बाटोलाई तोडेर अघि बढेको बताए । गत निर्वाचन सकिनासाथ सरकारमा नहुँदा काँग्रेसीजनमा कस्तो भएको थियो भन्ने विचार गर्न पनि सचेत गराए ।  आफूहरु मन्त्री, उपप्रधानमन्त्री र सांसद बन्छु भनेर त्यसबेला पार्टीमा आवद्ध भइ आन्दोलनमा नहोमिएको बताए । आन्दोलनमार्फत आफूहरुले जनताको अधिकार पुनःवहाली गरेको बताए । अबको काम प्राप्त अधिकारलाई सुरक्षित गर्नु रहेको पनि जानकारी दिए ।  उपप्रधानमन्त्री सिंहले भने, ‘हामी जनतालाई अधिकार दिनका लागि राजनीतिमा आएको हो । केही प्राप्त होला, उपप्रधानमन्त्री, मन्त्री, सांसद बनौँला भनेर पार्टीमा लागेको होइन । सात बुँदे जुन समझदारी बनेको छ, त्यो त्यसै सितिमिति कम आँकलन नगरौँ । राजनीतिक स्थिरता ल्याउनका लागि देशको ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर अरु दलहरुलाई पनि समेटेर यो वर्तमान गठबन्धन सरकार चलिरहेको छ । नत्र ६ महिनामा त सरकार परिवर्तन भइरहन्थ्यो ।’ उपप्रधानमन्त्री सिंहले नेपाली काँग्रेसलाई व्यवस्थित गरेर अघि लैजानुपर्ने बताए । काँग्रेसलाई विधि, नियमसम्मत तरिकाले संस्थागत गरेर अघि बढाउनुपर्ने बताए । काँग्रेसलाई चुनौतिको सामना गर्नसक्ने बनाउनु बाहेकको उद्देश्य आफूमा नरहेको जानकारी दिए ।   

रूससँगको सम्बन्धलाई लिएर ट्रम्पद्वारा भारतलाई २५ प्रतिशत कर र ‘जरिवाना’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भारतबाट हुने आयातमा २५ प्रतिशत कर लगाउने बताएका छन् । साथै उनले नयाँदिल्लीले रुसी हतियार र ऊर्जा खरिद गर्दा अनिर्दिष्ट ‘जरिवाना’ लगाउने पनि घोषणा गरेका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मममा यी उपायहरू शुक्रबारदेखि लागु हुने बताए । साथै सोही दिन अन्य भन्सार वृद्धिहरू– जसमा केही ५० प्रतिशतसम्म हुनेछन्– पनि लागु हुनेछन् । छुट्टै पोस्टमा ट्रम्पले अगस्ट १ को समयसीमा ‘बलियो छ र विस्तार गरिने छैन’ भनेका छन् । उनले यसअघि अप्रिलको सुरुमा पहिलो पटक घोषणा गरेदेखि आफ्ना तथाकथित ‘पारस्परिक’ भन्सारहरूमा धेरै ढिलाइ गरेका थिए र १० प्रतिशत अन्तरिम आधारभूत दर लगाएका थिए । भारतमा २५ प्रतिशत कर अप्रिलमा घोषणा गरिएको दरभन्दा थोरै कम हुनेछ, तर वासिङ्टनसँग प्रारम्भिक व्यापार सम्झौता गरेका अन्य एसियाली देशहरूको तुलनामा यो बढी छ । विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारत ट्रम्प प्रशासनलाई व्यापक व्यापार वार्तामा संलग्न गर्ने पहिलो प्रमुख अर्थतन्त्रहरू मध्ये एक थियो । तर छ महिनापछि ट्रम्पका व्यापक मागहरू र भारतको कृषि र अन्य क्षेत्रहरू पूर्ण रूपमा खोल्न अनिच्छुकताले अहिलेसम्म नयाँदिल्लीलाई सम्झौता पूरा गर्नबाट रोकेको छ । 'याद गर्नुहोस्, भारत हाम्रो मित्र भए पनि हामीले वर्षौंदेखि उनीहरूसँग तुलनात्मक रूपमा थोरै व्यापार गरेका छौँ किनभने उनीहरूको भन्सारहरू धेरै उच्च छन्, संसारमा सबैभन्दा उच्च मध्ये, र तिनीहरूसँग कुनै पनि देशको सबैभन्दा कडा र अप्रिय गैर–मौद्रिक व्यापार अवरोधहरू छन्', ट्रम्पले बुधबार बिहान भने, 'भारतले सधैँ आफ्नो सैन्य उपकरणको विशाल हिस्सा रुसबाट किनेको छ, र चीनसँगै रुसको ऊर्जाको सबैभन्दा ठूलो खरीदकर्ता हो, यस्तो समयमा जतिबेला सबैले रुसलाई युक्रेनमा हत्या रोक्न चाहन्छन् ।' कुनै विवरण बिना ट्रम्पले २५ प्रतिशत भन्सारका अतिरिक्त भारतले ‘माथिका लागि जरिवाना’ को सामना गर्ने बताए । पछि बुधबार उनले पत्रकारहरूलाई भन्सारमा वार्ता जारी रहेको र ‘हामी के हुन्छ हेर्नेछौँ’ भने तर जरिवानाको बारेमा विस्तृत जानकारी दिएनन् । यो उपाय ७९ वर्षीय रिपब्लिकन ट्रम्पले युक्रेनमा लडाइँ रोक्न र शान्ति सम्झौता वार्तालाप गर्न मस्कोमाथि अमेरिकी दबाब बढाउने सङ्केत गरेको समयमा आएको हो । मङ्गलबार ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा मार्ग परिवर्तन गर्न वा नयाँ भन्सार शुल्कको सामना गर्न १० दिनको समय दिएको बताए । उनले पहिले नै व्यापक पश्चिमी प्रतिबन्धहरूबाट बच्नका लागि मस्कोको क्षमतामा बाधा पुर्‍याउन खोज्ने चीन र भारत जस्ता रुसका बाँकी व्यापारिक साझेदारहरूलाई लक्षित गर्ने ‘द्वितीयक भन्सार शुल्क’ लगाउने धम्की दिएका थिए । भन्सार धम्कीका बावजुद, नयाँदिल्लीले ‘निष्पक्ष, सन्तुलित र पारस्परिक रूपमा लाभकारी द्विपक्षीय व्यापारिक सम्झौता’ मा वार्ता जारी राख्न प्रतिबद्ध रहेको बताएको छ । चीन व्यापार वार्ता  नयाँदिल्लीमाथि कर लगाउने घोषणा गरेको केही समयपछि, ट्रम्पले भारतको कट्टर प्रतिद्वन्द्वी पाकिस्तानसँग संयुक्त रूपमा आफ्नो तेल भण्डार विकास गर्न सम्झौता गरेको बताए । 'कसलाई थाहा, सायद उनीहरूले कुनै दिन भारतलाई तेल बेच्नेछन् !' उनले ट्रुथ सोसलमा पोस्ट गरे । ट्रम्पले अमेरिकी आर्थिक शक्तिको फाइदा उठाएर व्यापारिक साझेदारहरूलाई करको साथ दबाउन र विदेशी कम्पनीहरूलाई संयुक्त राज्य अमेरिकामा सर्न बाध्य पार्ने प्रयास गरेर विश्वव्यापी अर्थतन्त्रलाई बढावा दिन खोजेका छन् । उनले यसअघि नै बेलायत, भियतनाम, जापान, इन्डोनेसिया र फिलिपिन्स गरी पाँच देश र २७ सदस्यीय युरोपेली सङ्घ (इयु) सँगको सम्झौताको रूपरेखा घोषणा गरिसकेका छन् ।  अमेरिकी र चिनियाँ अधिकारीहरूले यस हप्ता स्टकहोममा व्यापारिक युद्धविराम विस्तार गर्नेबारे वार्ता गरेका छन् । वार्ताले अस्थायी रूपमा तीन अङ्कको उचाइबाट भन्सार घटाएको छ । बैठकमा कुनै सम्झौता घोषणा नभए पनि दुवै पक्षले अगस्ट १२ को समयसीमा अघि विस्तार गर्न खोजिरहेका छन् ।  यसैबीच ट्रम्पले आंशिक रूपमा दक्षिण अमेरिकी सहयोगीलाई कट्टर दक्षिणपन्थी पूर्व राष्ट्रपति जाइर बोल्सोनारोको विद्रोहको आरोपमा मुद्दा बन्द गर्न दबाब दिन ब्राजिलमा ५० प्रतिशत भन्सार घोषणा गरे । उनले स्टिल, तामा र अटोमोबाइल सहित विशिष्ट क्षेत्रहरूलाई लक्षित गर्दै छुट्टै भन्सार शुल्कहरू पनि लगाएका छन् । अमेरिकी अदालतमा चुनौती दिइएका आपत्कालीन अधिकारीहरूलाई उद्धृत गर्दै ट्रम्पले आफ्ना धेरै व्यापक भन्सार शुल्कहरू लगाएका छन् । रासस  

विकासन्युजमा समाचार आएपछि एनपीएलएको आयव्यय सार्वजनिक गर्न बाध्य भयो क्यान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)  नेपाल प्रिमियर लिग (एनपीएल) को आय-व्यय सार्वजनिक गर्न बाध्य भएको छ । विकासन्युज डटकमले एनपीएलको आम्दानी र खर्चको समाचार लेखेपछि क्यान आय-व्यय सार्वजनिक गर्न बाध्य भएको हो ।  एनपीएल आयोजना भएर सम्पन्न भएको करिब एक वर्ष समय पुग्नै लाग्दासम्म पनि आय-व्यय सार्वजनिक नगरेको क्यानले गत मंगलबार विकासन्युजले एनपीएलको आयव्यय सार्वजनिक गरेपछि क्यान औपचारिक  रुपमा हिसाब किताब सार्वजनिक गर्न बाध्य भएको हो ।  एनपीएलको हिसाब किताब सार्वजनिक गर्न बिहीबार क्यानको बोर्ड बैठक बसेको छ । मुलपानीमा बसेको बैठकले एनपीएलको पहिलो संस्करणको आय-व्ययको जानकारी गराउने र त्यसलाई अनुमोदन गर्ने एजेण्डामा छलफल गर्दैछ ।  बैठकमा दोस्रो संस्करणको तयारी र एनपीएलको विषयमा छलफल हुने क्यान स्रोतले बतायो । विकासन्युजले गत मंगलबार स्राेतकाे उल्लेख गर्दै क्यानले एनपीएलबाट साढे एक अर्ब रूपैयाँ प्राप्त गरेको र करिब २० करोड रुपैयाँ खर्च गरेको समाचार सार्वजनिक गरेको थियो ।