विकासन्युज

पूर्व-पश्चिम राजमार्ग विस्तारका लागि ३७ अर्ब ४६ करोड बजेट विनियोजन

काठमाडौं । सरकारले पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नति कार्यलाई तीव्रता दिन ठूलो रकम विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट प्रस्तुत गर्दै पूर्व-पश्चिम राजमार्गका विभिन्न खण्डहरूलाई चार लेनमा विस्तार गर्ने कार्यका लागि कुल ३७ अर्ब ४६ करोड रुपैयाँ बजेट छुट्ट्याएको जानकारी दिएका हुन् ।  विगत केही वर्षदेखि नारायणगढ-बुटवल, कमला-कञ्चनपुर लगायतका विभिन्न खण्डहरूमा राजमार्ग विस्तारको काम भइरहेको छ । सवारी चाप बढ्दै गएकाले दुई लेनको सडकलाई चारदेखि छ लेनसम्म बिस्तार गर्ने कार्यलाई सरकारले राष्ट्रिय गौरव र रणनीतिक महत्वको आयोजनाका रूपमा प्राथमिकतामा राखेको छ ।

कृषि र पशुबीमा अनुदानलाई निरन्तरता दिइने

काठमाडाैं । सरकारले किसानका लागि कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अन्य अनुदान हटाउँदै लाने भएको छ । शुक्रबार आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले कृषि र पशुबीमामा दिँदै आएको ८० प्रतिशत अनुदान निरन्तरता दिने भएको हो ।  अर्थमन्त्री स्वर्णिम वाग्लले बजेट भाषण सार्वजनिक गर्दै कृषि बीमाको अनुदानलाई निरन्तरता दिने र अरु अनुदान हटाउँदै लाने बताए । 

नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाइने

काठमाडौं । सरकारले नेपाल औषधि लिमिटेडलाई कम्तीमा २५ प्रकारका औषधि उत्पादन गर्न सक्षम बनाउने घोषणा गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । नागरिकलाई निःशुल्क उपलब्ध गराइने कम्तीमा २५ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने उद्देश्यले यस्तो घोषणा गरिएको हो ।   त्यस्तै, सरकारले निःशुल्क औषधि कार्यक्रमलाई प्रभावकारी बनाउन स्वदेशी उत्पादन बढाउने र बाह्य निर्भरता घटाउने नीति लिएको छ ।

काठमाडौंलाई धुलोमुक्त बनाइने, २८ अर्ब ९२ करोड बजेट विनियोजन

काठमाडाैं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सामाजिक सुरक्षा, रणनीतिक पूर्वाधार र सहरी सौन्दर्यीकरणलाई विशेष प्राथमिकतामा राखेर नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको छ। संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय राजधानी काठमाडौंलाई धूलोमुक्त र खाल्डाखुल्डीमुक्त बनाउने घोषणा गरे । राजधानीको समग्र वातावरणीय अवस्था र सहरी गुडस्तरमा सुधार ल्याउन सडकहरूको तत्काल मर्मतसम्भार, दायाँबायाँ सफाइ र स्तरोन्नतिका कार्यहरूलाई अभियानकै रूपमा अगाडि बढाइने बजेटमा उल्लेख छ। यसैगरी, देशभरका सडक सञ्जाललाई सफा, सुरक्षित र गुणस्तरीय रूपमा सुधार तथा विस्तार गर्न सरकारले २८ अर्ब ९२ करोड रुपैयाँ विनियोजन गरेको छ।

नेप्सेमा सूचीकृत कम्पनी विदेशी सेयर बजारमा पनि सूचीकृत हुन सक्ने

काठमाडौं । सरकारले पूँजी बजारलाई मर्यादित, पारदर्शी र लगानीमैत्री बनाउने उद्देश्यसहित धितोपत्र बजारमा व्यापक सुधारका कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नियामक निकायको क्षमता अभिवृद्धि, प्रविधिमैत्री कारोबार प्रणाली र लगानीकर्ता संरक्षण संयन्त्र सुदृढ गरिने बताए । उनका अनुसार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना अघि बढाइनेछ । साथै बजारमा नयाँ वित्तीय उपकरणहरू क्रमशः लागू गरिने योजना रहेको छ । इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ तथा डेरिभेटिभ जस्ता उपकरणलाई चरणबद्ध रूपमा सञ्चालनमा ल्याइने उनले जानकारी दिए । बजेटमा सेयर बजारमा हुने अवाञ्छित गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ । सेयर कर्नरिङ र इनसाइडर ट्रेडिङ जस्ता गैरकानुनी गतिविधिविरुद्ध ‘शून्य सहनशीलता’ नीति अपनाइने उल्लेख गरिएको छ । त्यस्तै, नेपालमा सूचीकृत कम्पनीलाई अन्तर्राष्ट्रिय बजारमा समेत पहुँच दिलाउने उद्देश्यले ग्लोबल डिपोजिटरी रिसिट जारी गर्न सकिने व्यवस्था मिलाइनेछ ।

विद्युत् प्राधिकरणलाई तीन टुक्रा पारिने

काठमाडौं । सरकारले लामो समयदेखि चर्चामा रहेको नेपाल विद्युत् प्राधिकरणको पुनर्संरचना कार्य आगामी आर्थिक वर्षभित्रै सम्पन्न गर्ने घोषणा गरेको छ ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै लामो समयदेखि थाती रहेको प्राधिकरणको पुनर्संरचना प्रक्रियालाई आगामी वर्षभित्र तार्किक निष्कर्षमा पु¥याइने जानकारी दिएका हुन्  । बजेट वक्तव्यअनुसार नेपाल विद्युत् प्राधिकरणको कार्यदक्षता बढाउन र ऊर्जा क्षेत्रलाई थप प्रतिस्पर्धी बनाउन यसलाई संस्थागत रूपमै खण्डीकरण गरिनेछ ।  जसअन्तर्गत प्राधिकरणलाई तीनवटा स्वायत्त कम्पनीहरूमा विभाजन गरिने भएको छ । जसमा विद्युत् उत्पादन कम्पनी यसले विद्युतको उत्पादन र सोसम्बन्धी आयोजनाहरूको व्यवस्थापन गर्नेछ ।  यसैगरी, प्रसारण कम्पनी जसले देशभित्रको प्रसारण लाइन विस्तार, सञ्चालन र राष्ट्रिय ग्रिडको व्यवस्थापन सम्हाल्ने तथा वितरण तथा व्यापार कम्पनी यसले उपभोक्ताको घरदैलोसम्म विद्युत् वितरण गर्ने र आन्तरिक तथा अन्तरदेशीय विद्युत् व्यापारको जिम्मा लिनेछ ।  ‘ऊर्जा क्षेत्रको उत्पादकत्व र कार्यकुशलता बढाउन नेपाल विद्युत् प्राधिकरणको संगठनात्मक पुनर्संरचना गरी उत्पादन, प्रसारण र वितरण तथा व्यापारका छुट्टाछुट्टै कम्पनी स्थापना गर्ने कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिनेछ,’ बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले भने ।   

सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने

काठमाडौँ । सरकारले काठमाडौंको स्यूचाटारमा देशकै पहिलो सार्वभौम एआई कम्प्युट सेन्टर स्थापना गर्ने घोषणा गरेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटमार्फत हजारौं एआई प्रोसेसिङ युनिट खरिद गरी एआई उद्यमी र स्टार्टअपलाई सहुलियतपूर्ण कम्प्युट क्षमता उपलब्ध गराइने बताए। 

पोषण भत्ता दोब्बर, अब मासिक एक हजार रुपैयाँ पाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत प्रदान गरिँदै आएको पोषण भत्तामा उल्लेख्य वृद्धि गरेको छ । संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पोषण भत्तालाई दोब्बर बनाउने घोषणा गरेका हुन् । सरकारको यस नयाँ व्यवस्थासँगै अब लक्षित समूहले मासिक एक हजार रुपैयाँ पोषण भत्ता प्राप्त गर्नेछन् । यसअघि यो भत्ता मासिक पाँच सय रुपैयाँ मात्र रहेको थियो। बालबालिका तथा लक्षित वर्गको स्वास्थ्य र पोषणको अवस्थामा सुधार ल्याउने उद्देश्यले सरकारले चालु भत्तामा शतप्रतिशत वृद्धि गरी मासिक एक हजार रुपैयाँ कायम गरेको अर्थमन्त्री डा. वाग्लेले बताए । यस वृद्धिले ग्रामीण तथा विपन्न परिवारका बालबालिकाहरूको पोषण स्तर सुधार गर्न थप सघाउ पुग्ने अपेक्षा गरिएको छ ।