विकासन्युज

पेट्रोल पम्पमा इभी चार्जिङ जडानको व्यवस्था मिलाउने

काठमाडौं । सरकारले देशभरका पेट्रोल पम्पमा इभी चार्जिङ जडानको व्यवस्था मिलाउने भएको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ लागि बजेट सार्वजनिक गर्दै पेट्रोल पम्पमा इभी चार्जिङको व्यवस्था मिलाउने घोषणा गरेका हुन् ।  

‍‍३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको लक्ष्य

काठमाडौं । सरकारले ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छ ।  आगामी आर्थिक वर्षको बजेट विनियोजन गर्दै अर्थमन्त्री वाग्लेले बजेटमार्फत देशभर निर्माणाधीन ३ सय ३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएको हो । यस्तै, निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र त्यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ भने दूरदराजका क्षेत्रमा स्वास्थ्य पहुँच विस्तार गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ।  साथै संघीय स्तरमा विशिष्टीकृत अस्पतालअन्तर्गत जलन उपचार केन्द्र स्थापना गरिने घोषणा गरिएको छ।

कृषि बीमा अनुदानका लागि २ अर्ब १९ करोड  बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कृषि बीमा अनुदानका लागि २ अर्ब १९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा कृषि बीमा अनुदानका लागि उक्त रकम छुट्याएको जानकारी दिए ।

उद्योग मन्त्रालयका लागि ८ अर्ब ३१ करोड विनियोजन

  काठमाडौं । सरकारले उद्योग तथा वाणिज्य मन्त्रालयका लागि आर्थिक वर्ष २०८३/८४ मा ८ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदमा बजेट प्रस्तुत गर्दै औद्योगिक विकास, व्यापार विस्तार र निर्यात प्रवर्द्धनलाई प्राथमिकतामा राखेर उक्त बजेट विनियोजन गरिएको बताए । विनियोजित बजेट औद्योगिक पूर्वाधार विकास, लगानीमैत्री वातावरण निर्माण, लघु तथा मझौला उद्योग प्रवर्द्धन तथा स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता बढाउने कार्यक्रममा खर्च गरिने बताइएको छ। सरकारले आन्तरिक उत्पादन वृद्धि गर्दै आयात प्रतिस्थापन र निर्यात विस्तार गर्ने लक्ष्य लिएको छ। साथै, औद्योगिक क्षेत्रलाई रोजगारी सिर्जनाको प्रमुख आधारका रूपमा विकास गर्ने नीति पनि अघि सारिएको छ। अर्थमन्त्री वाग्लेले निजी क्षेत्रसँगको सहकार्यलाई मजबुत बनाउँदै उद्योग व्यवसाय विस्तारका लागि आवश्यक नीतिगत सुधार गरिने जानकारी दिए।

भरतपुर विमानस्थलबाट रात्रीकालीन उडान हुने

काठमाडौं । सरकारले भरतपुर विमानस्थलबाट रात्रीकालीन उडान गर्ने भएको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/ ०८४ लागि बजेट सार्वजनिक गर्दै भरतपुर विमानस्थलबाट रात्रीकालीन उडान गर्ने घोषणा गरेका हुन् । सरकारले विमानस्थलको थप विकास गरी रात्रीकालीन उडानको व्यवस्था गर्ने भएको हो ।

पर्यटन क्षेत्रमा १० अर्ब बढी बजेट, यी हुन् सरकारको प्राथमिकतामा परेका विमानस्थल

काठमाडौं । सरकारले मुलुकका प्रमुख विमानस्थलहरूको स्तरोन्नति, विस्तार तथा सञ्चालन सुधारका लागि ठूलो बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका लागि १ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । त्यस्तै, निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण मोडालिटी ६ महिनाभित्र टुंगो लगाइने घोषणा गरिएको छ । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने नीति लिएको छ । भरतपुर विमानस्थललाई विस्तार गरी रात्रीकालीन उडान सेवा सञ्चालन गर्ने योजना रहेको छ भने प्रदेश सरकारको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गरिनेछ । यसैगरी मुगुको ताल्चा र दाङ विमानस्थलको स्तरोन्नति गरिने पनि बजेटमा उल्लेख छ । संस्कृति तथा पर्यटन क्षेत्रका लागि ७ अर्ब ३४ करोड रुपैयाँ र नागरिक उड्डयन क्षेत्रका लागि २ अर्ब ९३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

काठमाडौं-तराई द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट

काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को निर्माण कार्यलाई तीव्रता दिन ठूलो रकम विनियोजन गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै द्रुतमार्ग आयोजनाका लागि कुल १७ अर्ब ६४ करोड रुपैयाँ बजेट छुट्ट्याएको घोषणा गरे ।  नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको यो रणनीतिक सडक खण्डमा यातायातलाई सहज र द्रुत बनाउन पूर्वाधार निर्माणलाई जोड दिइएको छ । बजेट वक्तव्यका अनुसार आगामी आर्थिक वर्षमा यस आयोजना अन्तर्गत कुल ४० वटा आधुनिक पुलहरू निर्माण गरिनेछ । जटिल भौगोलिक गन्तव्यहरूलाई जोड्न कुल ५.४ किलोमिटर लामो सुरुङ मार्ग निर्माण कार्यलाई अघि बढाइनेछ ।   

शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रकम विनियोजन

काठमाडौं । सरकारले शिक्षा तथा खेलकुद मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २ खर्ब १८ अर्ब ३० करोड रकम विनियोजन गरेको छ । अर्थमन्त्री स्वर्णीम वाग्लेले शुक्रबार संयुक्त सदनमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन् ।   अघिल्लो आर्थिक वर्ष २०८३/०८३ का लागि सरकारले २ खर्ब ११ अर्ब १७ करोड रकम विनियोजन गरेको थियो ।  जुन  कुल बजेटको  १०.७५ प्रतिशत बजेट हो । त्यस अगाडिको आर्थिक वर्ष २०८१/०८२ २ खर्ब ३ अर्ब ६६ करोड बजेट निनियोजन गरिएको थियो ।