विकासन्युज

महामन्त्री विश्वप्रकाश यसपटक चुनाव नलड्ने, देशभर कांग्रेस उम्मेदवारका पक्षमा खटिने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटकको निर्वाचनमा आफू उम्मेदवार नबन्ने स्पष्ट गर्दै देशव्यापी रूपमा पार्टीका उम्मेदवारहरूको पक्षमा सक्रिय रहने बताएका छन् । बिहीबार (आज) बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आफ्नो धारणा राख्दै शर्माले आगामी निर्वाचन नलड्ने घोषणा गरेका हुन् ।  उनले आफू पद, क्षेत्र वा व्यक्तिगत स्वार्थका लागि राजनीति नगरेको स्पष्ट पार्दै पार्टी र लोकतान्त्रिक मूल्य सुदृढ गर्न सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिए । महामन्त्री शर्माले राजनीतिमा देखिँदै आएको बाँचुन्जेल क्षेत्र कब्जा गर्ने र सास रहेसम्म मन्त्री बन्ने सोचप्रति कडा टिप्पणी गरे ।  यस्तो प्रवृत्तिले राजनीति प्रति जनविश्वास कमजोर बनाएको उल्लेख गर्दै उनले अब त्यस्ता अभ्यासहरू तोड्नुपर्ने आवश्यकता औँल्याए । नेतृत्व हस्तान्तरण, नयाँ पुस्तालाई अवसर र जिम्मेवारी दिनु नै स्वस्थ लोकतन्त्रको आधार भएको उनको भनाइ थियो । उनले कांग्रेसलाई संगठनात्मक रूपमा बलियो बनाउन आफू देशका विभिन्न स्थानमा पुगेर उम्मेदवारहरूका पक्षमा चुनावी अभियानमा सहभागी हुने बताए ।  ‘व्यक्तिगत उम्मेदवारीभन्दा पार्टीको जित र लोकतान्त्रिक प्रणालीको मजबुती महत्त्वपूर्ण छ,’ शर्माले भने ।

आगामी चुनावको रणनीति बुन्दै बालेन : रवि लामिछानेसँग वान–टु–वान, बहुपक्षीय संवाद तीव्र

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पछिल्ला दिनहरूमा राजनीतिक भेटघाट र छलफलमार्फत आफ्नो सक्रियता बढाएका छन् । बिहीबार (आज) ललितपुरको ज्वागलस्थित एकजना समर्थकको घरमा उनले विभिन्न राजनीतिक तथा सामाजिक नेतासँग भेटवार्ता गरेका छन् ।  यस क्रममा उनले आगामी निर्वाचन र हुनसक्ने आगामी गठबन्धनका बारेमा संवाद गरेको स्रोतहरूले बताएका छन् । आजको भेटघाटको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसँग वान–टु–वान वार्ता भएको थियो । दुबै नेताले आगामी निर्वाचनका सन्दर्भमा रणनीतिक सहकार्यका सम्भावनाहरूमा छलफल गरेको स्रोतहरूले बताएका छन् । आगामी प्रतिनिधिसभा चुनावको रणनीति, राजनीतिक सहकार्य र वैकल्पिक शक्ति निर्माणको सम्भावना विषयमा छलफल भएको हो । त्यस्तै, शाहले ऊर्जामन्त्री तथा उज्यालो पार्टीका अवधारणाकार कुलमान घिसिङसँग पनि भेट गरेका छन् । भेटमा आगामी निर्वाचन र सहकार्यका सम्भावनाहरूबारे कुराकानी भएको छ । बालेनले नेपाली कांग्रेसका नेता सुनील शर्मा र अभियन्ता सुदन गुरुङसँगसमेत संवाद गरेका छन् । यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्रबहादुर शाही र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि भेट भएको बालेनका एक सहयोगीले जानकारी दिए ।  बालेनले रविसँग वान–टु–वान र अरूसँग सामूहिक भेटघाट गरेको वताइएको छ । भेटघाटमा दुवै पक्षले समसामयिक राजनीतिक विषय र निर्वाचनको तयारीबारे विचार विमर्श गरेका छन् । भेटघाटमा सहभागी नेताहरूले पारस्परिक समझदारी र सहकार्य कायम राख्ने संकेत दिएको राजनीतिक वृत्तमा सुनिन थालेको छ । राजनीतिक विश्लेषकहरूले आजका भेटघाटलाई शाहको वैकल्पिक मोर्चा निर्माणको पहिलो चरणको रूपमा मूल्याङ्कन गरेका छन् ।  यस्तै, बालेनले आफ्ना विश्वासपात्र राजनीतिक सहयोगी र विभिन्न सामाजिक संस्थाका प्रतिनिधिसँग पनि भेट गरेका छन् । उनले आजको भेटघाटवाट समान लक्ष्य र साझा सोंच भएका नेतासँगको संवादले देशको शक्ति सन्तुलनमा सकारात्मक योगदान पु‍र्‍याउने सम्भावना रहेको उनका एक सहयोगीले जानकारी दिए ।  आफ्ना अत्यन्तै नजिकका सहयोगीहरूसँग बालेनले राजनीतिक सहकार्य र विचार विमर्शको माध्यमबाट मात्र जनताको अपेक्षा पूरा गर्न सकिने बताएका छन् ।  स्रोतका अनुसार बालेन मोर्चा निर्माणमा सक्रिय भएपनि निष्कर्षमा भने पुगेका छैनन् । केही नयाँजस्ता देखिएका तर पुरानो संस्कार भएकाहरूसँग सचेत हुनुपर्ने बालेनको तर्क रहेको ती सहयोगीले बताए । राजनीतिक विश्लेषकहरूका अनुसार बालेनको यस्तो सक्रियताले आगामी निर्वाचनमा उनलाई रणनीतिक रूपमा बलियो स्थिति बनाउन सहयोग पु‍र्‍याउन सक्छ ।  विशेष गरी बालेनले विभिन्न दलका नेतासँगको भेटघाटमा केही नवीन छलफल गरेको बताइएको छ । तर उक्त नवीन छलफल के हो भनेर खुलाउन स्रोत तयार भएन  । उनका समर्थकहरूले यस भेटघाटलाई सकारात्मक रूपमा लिएका छन् ।  संघीय निर्वाचनको तयारीको दृष्टिले बालेनको राजनीतिक सक्रियता निकै महत्त्वपूर्ण मानिएको छ । यो भेटघाटले उनले आफू महानगरमा मात्र सीमित नरही राष्ट्रव्यापी राजनीतिक संवादमा पनि आफूलाई स्थापित गर्दै गरेको पूर्वसंकेत दिए। यसबीच, भेटघाटमा सहभागी नेताहरूले बालेनसँग सहकार्यका सम्भावनाहरूमा उत्साहसमेत देखाएका छन् । राजनीतिक सहकार्य, साझा सोंच र रणनीतिक योजना निर्माणका लागि उनीहरूको यस किसिमको सक्रियताले आगामी चुनावमा निर्णायक भूमिका खेल्न सक्ने अनुमान गर्न सकिन्छ । राजनीतिक विशेषज्ञहरूका अनुसार बालेनको यस्तो भेटघाटको श्रृंखलाले केवल काठमाडौं मात्र नभई राष्ट्रिय राजनीतिमा पनि उनको प्रभाव बढाउने देखिएको छ । यस भेटघाटले उनी आगामी निर्वाचनका दृष्टिले गठबन्धन र रणनीतिक सहकार्यको दृष्टिले तयार छन् भन्ने सन्देश यस भेटघाटबाट दिन खोजेको छ । आजको राजनीतिक भेटघाटले राजनीतिक संवादमा नयाँ उत्साह थपेको भेटघाट पछि रास्वपाका सभापति लामिछानेले दिएको प्रतिक्रियाले आगामी दिनमा बालेनले अझ व्यापक राजनीतिक बैठक र छलफलका माध्यमबाट आफ्नो सक्रियतालाई निरन्तरता दिने तयारीमा रहेको अनुमान लगाउन सकिन्छ ।

नयाँ वर्षमा आक्रमण गर्ने षड्यन्त्रको आरोपमा टर्कीएमा आईएसका ११५ संदिग्ध पक्राउ

काठमाडौं । टर्कीएका अधिकारीहरूले क्रिसमस र नयाँ वर्षका कार्यक्रमहरूलाई लक्षित गरी गरिने आक्रमणको षड्यन्त्र विफल पारेको बताएका छन् । यस क्रममा तथाकथित इस्लामिक स्टेट (आईएस) समूहसँग सम्बन्धित १०० भन्दा बढी संदिग्धहरूलाई पक्राउ गरिएको छ । इस्तानबुलका प्रमुख सरकारी अभियोजकका अनुसार सहरभर १२४ स्थानमा ठूलो मात्रामा छापेमारी गरिएको थियो ।  छापामारका क्रममा हतियार, गोलीबारुद तथा संगठनसँग सम्बन्धित कागजातहरू बरामद गरिएको छ । अधिकारीहरूका अनुसार आईएस समर्थकहरूले यसै हप्ता टर्कीएमा आक्रमण गर्ने सक्रिय योजना बनाइरहेका थिए, जसको मुख्य निशाना विशेषगरी गैर-मुस्लिम व्यक्ति तथा कार्यक्रमहरू थिए । एक आधिकारिक विज्ञप्तिमा प्रहरीले ११५ जनालाई हिरासतमा लिएको र थप २२ जनाको खोजी जारी रहेको उल्लेख गरिएको छ ।

महामन्त्रीलाई प्रवक्ताको चेतावनी– जिम्मेवारी बिर्सेर बाहिर नबोल्नू

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले महामन्त्री गगन थापालाई पार्टीभित्रको आफ्नो जिम्मेवारीप्रति सचेत रहन र बाहिर धेरै नबोल्न सुझाव दिएका छन् ।  पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महतले महामन्त्री थापालाई जिम्मेवारी बिर्सेर अतिरञ्जित ढंगले प्रस्तुत नहुन आग्रह गरेका हुन् । उनले पार्टीका पदाधिकारीहरूले आ-आफ्नो भूमिका र मर्यादाभित्र रहेर अभिव्यक्ति दिनु आवश्यक रहेको उल्लेख गरेका छन् ।  महामन्त्री थापाले महाधिवेशनको तालिकाबारे दिएको अभिव्यक्तिप्रति महतले पार्टी एकता र अनुशासन कायम राख्न नेतृत्व तहका नेताहरूले संयमित र जिम्मेवार व्यवहार गर्नुपर्नेमा जोड दिए । ‘पार्टीमा सबैको आ-आफ्नो भूमिका र दायित्व हुन्छ । महामन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नो जिम्मेवारीलाई ख्याल गर्दै अभिव्यक्ति दिनुपर्छ । व्यक्तिगत धारणा प्रस्तुत गर्दा पनि पार्टीको हित र मर्यादालाई प्राथमिकतामा राख्नुपर्छ,’ महतको भनाइ थियो । हालैका दिनमा पार्टीभित्र देखिएका मतभेद र सार्वजनिक अभिव्यक्तिका विषयमा सञ्चारकमीहरूका प्रश्नको जवाफ दिँदै उनले आन्तरिक छलफल र विधिबाट समस्याको समाधान खोजिनुपर्ने धारणा राखे ।  उनले कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले विचार राख्न पाइने भए पनि त्यसले पार्टीलाई कमजोर बनाउने अवस्था आउन नदिन सबै सचेत हुनुपर्ने पनि बताए ।

जस्मिन पेन्ट्सको विजेता नेपालगञ्जकी देवी बुढाले जितिन् जापान भ्रमणको अवसर

काठमाडौं । जस्मिन पेन्ट्स लिमिटेडले 'चाडपर्वको उमंग, जापान घुमौं जस्मिन पेन्ट्ससँग' उपहार योजनाको बम्पर विजेताको घोषणा गरेको छ । कम्पनीले २०८२ भाद्र १ देखि कार्तिक मसान्तसम्म संचालन गरेको यस ग्राहक उपहार योजनामा विजेताको घोषणा ब्राण्ड एम्बेसेडर पारस खड्काको उपस्थितिमा लक्की ड्र कुपनमार्फत गरिएको थियो । पुष ७ गते भएको कार्यक्रममा नेपालगञ्ज निवासी देवी बुढाले जापान भ्रमण गर्ने सुनौलो अवसर प्राप्त गरिन् । यसबाहेक, अन्य ग्राहकहरुले पनि विभिन्न उपहार जित्न सफल भए । ७५ जनाले डिनर सेट, १०५ जनाले हिटर, १५१ जनाले आइरन र ७५० जनाले भित्ते घडी जितेर कुल १०८२ जनाले पुरस्कार प्राप्त गरे । तीन महिनासम्म सञ्चालन भएको यस योजनामा नेपालभरिका २६४७ भन्दा बढी ग्राहक सहभागी भएका थिए । ग्राहकहरुलाई ७५ हजार रुपैयाँ बराबरको जस्मिन पेन्ट्स उत्पादन खरिदमा बम्पर कुपन प्रदान गरिएको थियो । कम्पनीका कन्ट्री म्यानेजर डिल्ली राम पौडेलले ग्राहकहरूको उत्साहजनक सहभागिताले उपहार योजना सफल भएको र यसले कम्पनीको व्यावसायिक वृद्धिमा सहयोग पुगेको बताए । साथै उनले आगामी दिनमा सञ्चालन हुने नयाँ उपहार योजनामा सहभागी हुन ग्राहकहरूलाई आग्रह समेत गरे ।

राष्ट्रियसभाको अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको अधिवेशन तत्काल आह्वान गर्न सरकारसँग माग गरेको छ ।  बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले राष्ट्रियसभाको अधिवेशन बोलाउन सम्बन्धित निकायसमक्ष औपचारिक पहल गर्न राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाललाई आग्रह गर्ने निर्णय गरेको हो । प्रमुख सचेतक कृष्णबहादुर रोकायाले विकासन्युजसँग कुरा गर्दै भने, ‘हामी सदन सञ्चालनको माग गर्न भोलि अध्यक्षज्यूलाई भेट्दै छौं ।’  संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयमा वर्तमान राजनीतिक परिस्थितिलाई असामान्य र संवैधानिक संकटको अवस्थाका रूपमा चित्रण गरिएको रोकायाले जानकारी दिए ।  दलको बैठकमा प्रतिनिधिसभा असंवैधानिक ढङ्गबाट विघटन गरिएको भन्दै त्यसको आलोचना गरिएको उनले बताए ।  रोकायाका अनुसार देशमा बदलिएको राजनीतिक विषम परिस्थितिमा प्रतिनिधिसभा विघटन भएपछि जनताको आवाज उठाउने सार्वभौम सङ्घीय संसद् अन्तर्गत राष्ट्रियसभा मात्र कायम रहेको अवस्था छ ।  यस्तो अवस्थामा राष्ट्रियसभाको बैठक बस्न अत्यावश्यक भएकाले अविलम्ब राष्ट्रियसभाको अधिवेशन आह्वान गर्न राष्ट्रिय सभाका अध्यक्षलाई ध्यानाकर्षण गर्न लागिएको रोकायाले बताए । त्यसैगरी, बैठकले नेपाली कांग्रेसका विभिन्न नेता तथा संविधानसभा सदस्यहरूको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गर्ने निर्णय पनि गरेको छ ।

रास्वपाको समानुपातिक सूचीमा डा. रुपक घिमिरे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको आकांक्षी सूचीमा छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ डा. रुपक घिमिरे समावेश भएका छन् । डा. घिमिरे हाल रास्वपाको केन्द्रीय अभियान विभागका सदस्य तथा तनहुँ–काठमाडौं सम्पर्क समितिका संयोजक हुन् ।  काठमाडौं विश्वविद्यालयबाट एमबिबिएस र एमडी (डर्माटोलोजी) अध्ययन गरेका उनले भारत र दक्षिण कोरियाबाट कपाल प्रत्यारोपणसम्बन्धी विशेष तालिम लिएका छन् । नेपाल मेडिकल काउन्सिलका निवर्तमान निर्वाचित सदस्य रहेका डा. घिमिरे चिकित्सा क्षेत्रमा सुधारका पक्षधर व्यक्तित्वका रूपमा परिचित छन् ।  काउन्सिलमा रहँदा उनले मेडिकल मालप्र्याक्टिसविरुद्ध कडा अडान लिँदै सेवा प्रणालीलाई डिजिटल र पारदर्शी बनाउने पहल गरेका थिए । युवामैत्री राजनीतिका पक्षधर डा. घिमिरे ‘हामी नेपाल’ संस्थाका संस्थापक उपसभापति समेत हुन् ।  स्वास्थ्य, शिक्षा र रोजगारीलाई प्राथमिक एजेन्डा बनाउँदै आएका उनी जेनजी आन्दोलनका अगुवाका रूपमा चिनिन्छन् ।  

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बिहीबारदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीले बिहीबार र शुक्रबार ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने जनाइएको छ । प्रवक्ता झाकाअनुसार यस प्रक्रियामा देशभरबाट निवेदन दिएका करिब चार सय आकांक्षी सहभागी छन् ।       तीमध्येबाट ११० जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइने छ । उम्मेद्वार छनोट तथा प्रतिस्पर्धाका सबै कार्यक्रम काठमाडौँको गोंगबुस्थित बिजी ब्याङ्क्वेटमा सञ्चालन भइरहेको छ ।       प्रवक्ता झाले यही पुस ५ गते आयोजित छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका समानुपातिक उम्मेद्वारका आकांक्षीहरूलाई पुनः छलफलमा सहभागी गराइने बताए । प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी पार्टी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहोरालाई दिइएको छ । आवश्यकताअनुसार पार्टी उपसभापति डा. स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त प्रक्रियाको अनुगमन गर्ने बताइएको छ ।      प्रवासमा रहेका उम्मेद्वारका आकांक्षीहरूको मूल्याङ्कन ‘भर्चुअल’ माध्यमबाट गरिने छ । उम्मेद्वार छनोट समितिको प्रस्ताव तथा पार्टी उपसभापति डोलप्रसाद अर्याल र वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजीकरण गर्न केन्द्रीय समितिका सदस्यहरूसमेत सहभागी गराइने रास्वपाले जनाएको छ ।