नाडा अटो शो भदौ ९ गतेदेखि, स्टल बुकिङ जेठ २६ गतेसम्म खुला
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आगामी ‘नाडा अटो शो २०२६’ का लागि स्टल बुकिङ खुला गरेको छ । नाडा अटो शोको १८औँ संस्करण भदौ ९ गतेदेखि १४ गतेसम्म आयोजना हुने भएको हो । सवारी साधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अन्य सम्बन्धित सरोकारवाला संघ-संस्थाहरूको सहभागितामा हुने यस प्रदर्शनीलाई नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल एक्स्पोका रूपमा लिइँदै आएको छ । नाडा अटो शो समितिका सभापति अनुप कुमार बरालका अनुसार स्टल बुकिङ जेठ १८ गतेदेखि २६ गतेसम्म खुला गरिएको छ । उनले अटो शोले अटोमोबाइल उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक तथा सम्बन्धित उद्योगहरूलाई आफ्ना नवीनतम उत्पादन, प्रविधि र सेवाहरू प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने बताए । प्रदर्शनीमा हजारौं आगन्तुक, उद्योग व्यवसायी, लगानीकर्ता तथा सञ्चारकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । स्टल बुकिङ सम्बन्धी विस्तृत जानकारी, आवेदन प्रक्रिया तथा शुल्कबारे जानकारी व्यवस्थापक कम्पनीमार्फत प्राप्त गर्न सकिने नाडाले जनाएको छ । सहभागी संस्थाहरूलाई समयमै बुकिङ सुनिश्चित गरी प्रतिष्ठित प्रदर्शनीको हिस्सा बन्न आग्रह गरिएको छ ।
देशका विभिन्न भागमा मौसम बदली हुने, केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं । आज देशका विभिन्न भू-भागको मौसम सामान्यतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ । यस्तै, कर्णाली र सुदूरपश्चिम लगायत कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थान तथा कोशी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ । आज राति देशको हिमाली भू-भागमा साधारणतया, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । यसैगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली र पहाडी भू-भागलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भू-भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
५ दिने भारत भ्रमणमा जाँदै रवि, यस्तो छ भेट र छलफलका कार्यक्रम
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछानेले जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ। रास्वपाका प्रवक्ता मनिष झाले जारी प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन् । उनले भाजपा नेतृत्वसँग पनि भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ । साथै, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग भेटघाट गर्ने तथा अयोध्या भ्रमण गर्ने कार्यक्रमसमेत तय गरिएको छ । लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमणमा सहभागी हुनेछन् । विज्ञप्तिअनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ । रास्वपाले उक्त भ्रमणले नेपाल-भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।
सानिगाड हाइड्रोको आईपीओ बिक्री खुला, २० हजार कित्तासम्म आवेदन दिन सकिने
काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । यसअघि जेठ १४ गतेदेखि खुला गर्ने भने पनि बकर ईदमा सरकारले सार्वजनिक बिदा दिएपछि मिति परिवर्तन गरिएको थियो । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र विदेशमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् ८५ करोड ५० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका ८५ लाख ५० हजार कित्ता सेयर बिक्री जारी गरेको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् २८ लाख ५० हजार कित्ता स्थानीय, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् ५ लाख ७० हजार कित्ता विदेशमा रहेका नेपाली, ३ प्रतिशत अर्थात् १ लाख ७१ कित्ता कर्मचारी र ५ प्रतिशत अर्थात् २ लाख ८५ हजार कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा बाँकी रहेको ४६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा जेठ २१ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ २९ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
स्थानीयले जुटाए ३ करोड रुपैयाँ, खरिद गरे जग्गादेखि एक्स-रे मेसिन
काठमाडौं । बागलुङको गलकोट नगर अस्पतालको सुविधा सम्पन्न भवन निर्माणका लागि आवश्यक जग्गा खरिदका लागि २ करोड ७९ लाख रुपैयाँ स्थानीयस्तरबाटै जुटाइएको छ । अस्पतालको जग्गा व्यवस्थापन, खरिद तथा स्वास्थ्य उपकरण खरिदका लागि सञ्चालन गरिएको सहयोग अभियानबाट उक्त रकम सङ्कलन गरिएको हो । गलकोट नगरपालिका आर्थिक तथा जग्गा व्यवस्थापन समितिका कोषाध्यक्ष टङ्कबहादुर केसीका अनुसार अभियानमार्फत हालसम्म २ करोड ७९ लाख ६२ हजार रुपैयाँ सङ्कलन गरिएको हो । रकममध्ये २ करोडबाट अस्पतालको जग्गा खरिदमा खर्च गरिएको छ भने १९ लाख १० हजार रुपैयाँ बराबरको एक्स-रे मेसिन खरिद गरिएको छ । समितिका अनुसार हालसम्म २ करोड २१ लाख ७५ हजार रुपैयाँ खर्च भइसकेको छ भने ७२ लाख ८७ हजार रुपैयाँ बैंक मौज्दात छ । गलकोट नगर अस्पतालको स्तर वृद्धि, पूर्वाधार विस्तार तथा दीर्घकालीन विकासका लागि आवश्यक जग्गा व्यवस्थापन गर्ने उद्देश्यले आर्थिक तथा जग्गा व्यवस्थापन समिति गठन गरी सहयोग सङ्कलन गरिएको थियो । अभियानमा देशका विभिन्न जिल्ला तथा विदेशमा रहेका गलकोटवासीले आर्थिक सहयोग गरेका थिए । गाउँमै अस्पतालको सुविधा सम्पन्न भवनसँगै अन्य पूर्वाधार थप गर्न स्थानीय जुटेका थिए । गलकोट नगरपालिका-५ हरिचौरस्थित गलकोट नगरपालिका अस्पताल अघिको जग्गा अस्पतालको नाममा बनाउन स्थानीयले सक्रियता जनाएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । उनले गलकोट नगर अस्पतालको स्तर वृद्धि र गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि स्थानीयले झन्डै ३ करोड रुपैयाँ जुटाएकामा खुसी व्यक्त गरे । अस्पताललाई थप व्यवस्थित, सुविधा सम्पन्न र नागरिकमैत्री बनाउने लक्ष्यसहित जग्गा व्यवस्थापन अभियान सञ्चालन गरिएको थियो । गलकोट नगर अस्पतालमा थप स्वास्थ्य सेवा विस्तार, आधुनिक उपकरण व्यवस्थापन तथा विशेषज्ञ चिकित्सकीय सेवा सञ्चालनका लागि जग्गा व्यवस्थापनले सहज भएको गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश शर्माले बताए । अस्पताल स्तरोन्नतिका लागि अस्पतालसँग जोडिएको झन्डै साढे २ रोपनी जग्गा अस्पतालका नाममा ल्याइएको हो । अस्पताल स्तरोन्नतिका लागि अस्पतालका नाममा जग्गा आवश्यक भएकाले स्थानीयको सक्रियतामा जग्गा खरिद गरिएको गलकोट नगरपालिका-५ हरिचौरका वडाध्यक्ष पवन हमालले जानकारी दिए ।
नदीजन्य पदार्थको अवैध उत्खननविरुद्ध प्रहरीको एक्सन, ३ सवारी साधन नियन्त्रणमा
काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाँकेले नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न अग्रसरता देखाएको छ । राप्ती नदी र अन्य खोलाबाट अवैध रूपमा हुने गरेको माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानी रोक्न नियमित अनुगमन तथा निगरानी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए । उनका अनुसार शनिबार मात्र कोहलपुर नगरपालिका-७ लखनहवा र बैजनाथ गाउँपालिका-२ जब्दहवा क्षेत्रमा अवैध रूपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन एवं ढुवानीमा संलग्न ३ सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले एक थान जेसिबी, एक थान टिपर र एक थान ट्याक्टर नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका सवारी साधनलाई आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको प्रहरी उपरीक्षक जिसीले बताए । नदीजन्य पदार्थको अवैध रूपमा उत्खनन र ढुवानी भइरहेको जन गुनासोका आधारमा जिल्ला प्रहरी कार्यालयले प्राकृतिक स्रोत तथा साधनको अवैध दोहन रोक्न नियमित अनुगमन तथा निगरानीलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ ।
१६ वर्षपछि २० मिनेटको यात्रा ५ मिनेटमा, भुक्तानीको काम बाँकी
काठमाडौं । म्याग्दीको बेनी नगरपालिका-१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीय स्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुद्री सतहदेखि २ हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङखला, गुराँसे जङ्गल, पहाडी भूगोलको अवलोकनका लागि पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । स्थानीय पूर्वाधार आयोजना पोखरामार्फत पात्लेखेत-वाखेत-टोड्के सडक अन्तर्गत गहते चोकदेखि वाखेत हुँदै राम्जाली मन्दिर खण्डमा ढलान गरेर सडकलाई पक्की बनाएको बेनी नगरपालिका-१० का वडाध्यक्ष मसवीर रोकाले जानकारी दिए । ‘सडक ढलान गरेर पक्की बनाएपछि यसअघि २० मिनेट लाग्ने गहतेचोक-राम्जाली मन्दिर खण्डको यात्रा ५ मिनेटमा छोटिनुका साथै स्थानीयवासी र टोड्के आवातजावत गर्ने पर्यटकलाई सहज भएको छ,’ उनले भने, ‘राम्जाली मन्दिरदेखि बराहथान हुँदै टोड्के जोड्ने सडक स्तरोन्नति योजनालाई निरन्तता दिन नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँग पहल गरेका छौँ ।’ वाखेत-टोड्के सडक स्तरोन्नति योजना निर्माणका लागि गत माघ १० गते दुप्चेश्वर शुभम् बिल्डर्सले २ करोड ३६ लाख २३ हजार १५२ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । एक किलोमिटर ७०० मिटर सडक स्तरोन्नति गर्ने आगामी असार ३० गतेसम्म ठेक्काको म्याद रहेको योजना निर्माण कम्पनीले लक्ष्यभन्दा २ महिना अघिनै सम्पन्न गरेको हो । निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौता लगत्तै उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्रीको व्यवस्थापन गरेर इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद लक्ष्य अघिनै काम सम्पन्न गरेको बताए । निर्माण सकिए पनि प्राविधिक नापजाँच र भुक्तानीको काम बाँकी रहेको उनको भनाइ छ । ३.५ देखि ५ मिटर फराकिलो सडकमा ढलान गरेर पक्की बनाइएको छ । बेनी नगरपालिका-१० का वडा सदस्य बेगम पाइजाले २०६६ सालमा मार्ग खुलेको सडक १६ वर्षपछि पक्की भएको बताए । पक्की सडक बनेपछि स्थानीयवासी उत्साही भएका छन् । आवतजावत सहज भएको वाखेतका बासिन्दा अर्जुुन पुनको भनाइ छ । ‘साँघुुरो र कच्ची सडकमा यात्रा गर्न असहज भएको थियो । सडक ढलान भएपछि यात्रा अवधि छोटिनुका साथै सहज भएको छ,’ उनले भने । बेनी नगरपालिका-१० वाखेत, रघुगङ्गा गाउँपालिका-५ झिँ, बेनी नगरपालिका-५ डडुवा, मङ्गला गाउँपालिका-१ पूर्णगाउँ र कुहुँ-भिरकटेरा हुँदै टोड्के जोड्ने सडक छन् । गुर्जा, चुरेन, मानापाथी, धवलागिरि, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कनलाई एकै ठाउँबाट अवलोकन गर्न पाउनु टोड्केको प्रमुख विशेषता हो । हिमालसँग आँखा जुधाएर योग र ध्यानमा रमाउन सकिन्छ । यहाँ उत्पादन भएको मुला, आलु र सिमीका परिकारको स्वाद लिन सकिन्छ । स्वर्गद्वारी महाप्रभुलगायत धेरै सन्तले तपस्या गरेका टोड्केको धार्मिक महत्व पनि छ । डाँडाको थाप्लोमा स्वर्गद्वारी आश्रमको शाखा ‘तपोवन शिवालय’ र सिद्धथान पनि छ । शिवालय स्वर्गद्वारी आश्रम, प्युठानको शाखा हो । स्वर्गद्धारी, शिष्यहरू पुजारी महाराज र रखाल महाराजलगायतका सन्तको मूर्ति राखिएका मन्दिरभित्र रहेका शिवलिङ्ग र महाप्रभुले प्रयोग गरेका खराउ ऐतिहासिक सम्पदा हुन् । आश्रम परिसरमा गौशाला पनि छ ।
४ दिनमा ५० हजार बढीले गरे मुक्तिनाथको दर्शन
काठमाडौं । मुक्तिनाथ मन्दिरमा पछिल्ला चार दिनमा करिब ५० हजारले दर्शन गरेका छन् । विगतमा औसत दैनिक तीनदेखि चार हजार भक्तजन उपस्थिति हुने मन्दिरमा बिहीबारदेखि आइतबारसम्म करिब ५० हजारले दर्शन गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। बिहीबारदेखि आइतबारसम्म सार्वजनिक बिदा परेको तथा भारतमा अत्यधिक गर्मी हुँदा भारतीय पर्यटकको मुस्ताङ आएको उनको भनाइ छ । मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले मुक्तिनाथ दर्शन गर्न आएका दर्शनार्थी पर्यटकमध्ये ७० प्रतिशत भारतीय रहेको जानकारी दिए । पर्यटकको सङ्ख्या बढेसँगै म्याग्दीको बेनीदेखि मुक्तिनाथसम्म होटल भरिभराउ भएका छन् ।