५ दिने भारत भ्रमणमा जाँदै रवि, यस्तो छ भेट र छलफलका कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणमा जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछानेले जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले जारी प्रेस विज्ञप्ति अनुसार भ्रमणका क्रममा सभापति लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन् । उनले भाजपा नेतृत्वसँग पनि भेटघाट तथा छलफल गर्ने कार्यक्रम छ । 

साथै, भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकसँग भेटघाट गर्ने तथा अयोध्या भ्रमण गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमणमा सहभागी हुनेछन् ।

विज्ञप्तिअनुसार नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले सभापति लामिछानेका उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको छ । रास्वपाले उक्त भ्रमणले नेपाल-भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरेको छ ।

Share News