विकासन्युज

मिथिलामा आज रावण वध उत्सव

काठमाडौं । मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो । श्रीराम मिथिलाका ज्वाइँ भएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ ।   वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गर्नुभएको स्मरणमा प्रतिकात्मक रूपमा उत्सव मनाउने परम्परा रहँदै आएको छ । विजयादशमीको दिन साँझको बेला दशानन (१० टाउको भएको) अजङ्को रावण प्रतिमालाई श्रीरामले चलाउनुभएको तीरले शिरछेदन गरिएको दृश्य देखाएर उत्सव मनाउने परम्परा गरिएको छ । यस प्रयोजनका लागि दुर्गा मन्दिर परिसरमा अजङ्को रावणको पुतला बनाइएको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताए ।  मिथिलामा विजयादशमीका दिन देवी विसर्जनसँगै यसै दिन श्रीरामले रावणलाई सम्हार गर्नुभएको विश्वासमा रावण वध उत्सवको परम्परा रहँदै आएको छ । यसैअनुसार मटिहानीमा वर्षौं वर्षदेखि यो उत्सव मनाउन थालिएको उनले जानकारी दिए ।  ‘हामी विजयादशमीका दिन बिहान देवी पूजन विसर्जन गर्छौं, साँझ रावण वध उत्सव मनाउँछौँ,’ मण्डल भन्छन्, ‘विजयाको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गर्नुभएको विश्वासमा यहाँ त्यसैबेला पारेर अजङ्को रावण आकृतिलाई तिरले ढालिन्छ ।’ दशहारा (दसैँ) पर्व सत्य युगमा देवी दुर्गाले चण्ड, मुण्ड र रक्तविजसहितका दैत्यको सम्हार गर्र्नुभएको प्रतीकात्मक रहेझैँ मटिहानीमा रावण वध पनि जोडिएर आएको विश्वास गरिन्छ । सत्ययुगमा देवीले दैत्य सम्हार गरेझैँ त्रेता युगमा श्रीरामले रावणसहितका असुर प्रवृत्तिको अन्त्य गर्नुभएको यही असोज शुक्लपक्षमा रहेको मानिन्छ । खासगरी देवीले नवमीसम्म र श्रीरामले रावणको दशमीकै दिन सम्हार गर्नुभएको विश्वासमा मटिहानीमा रावण वध उत्सवको परम्परा चलेको मटिहानी-७ निवासी प्रेस स्वतन्त्रता सेनानी ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डलको कथन छ । मर्यादा पुरुषोत्तम श्रीरामले दश इन्द्रीयका दास दशानन (रावण) माथि विजय प्राप्त गर्नुभएको हुँदा ‘दशहारा’ (दश इन्द्रीयको दासत्वलाई हराउने) पर्वको नाउँले प्रसिद्धि पाएको मैथिल लोकपरम्पराका ज्ञाता तथा मिथिला माहात्म्यका नेपाली अनुवादक जलेश्वर-५ निवासी सेवानिवृत्त सहप्राध्यापक ध्रुव राय बताउनुहुन्छ । बडादसैँ  नाउँ पनि ‘वर्जय दश इन्द्रीय’ बाट बनेको रायको भनाइ छ । रावण वध उत्सव यस क्षेत्रको महत्त्वपूर्ण संस्कृति र परम्पराको अभिन्न अङ्ग नै बनेको नगरप्रमुख मण्डलको भनाइ छ ।  ‘हामी देवी उपाशनामा पनि रमाउँछौँ, यद्यपि रावण वध उत्सव हाम्रा लागि दसैँको खास परम्परा हो । यस उत्सवमा मटिहानीका जनजन परिचालित हुन्छन्,’ उनले भने ।  मटिहानीमा ‘वध’ गरेको देखाइने रावणको अजङ्को प्रतिमा भोलिपल्ट उल्लासमय वातावरणमा बाजागाजासाथ जलाशयमा पुर्याइ गहिरो पानीमा विसर्जन गर्ने परम्परा रहेको छ ।

राष्ट्रपतिले आमनागरिकलाई दसैँको टीका नलगाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडा दसैँका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् ।  देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिए । विगतमा राष्ट्रपतिबाट बडा दसैँका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

नवदुर्गाको तान्त्रिक नृत्य आजदेखि सुरु

काठमाडौं । तान्त्रिक नाच भनेर चिनिने भक्तपुरको प्रसिद्ध नवदुर्गा नाचको प्रारम्भिक नृत्य आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष विजयादशमीको दिनदेखि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु गरिने नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बाल गोपाल बन मालाले जानकारी दिए ।  तौलाछें टोलको झट्टाप्वा नासद्यःमा नवदर्गाका मूल पुजारीले देवगण हुने सबै वनमालालाई तान्त्रिक विधिअनुरुप पूजा गरेपछि घंघला सिं ल ल्हायगु (घुँघुँरू हस्तान्तरण) गरेपछि नवदुर्गा नाचको प्रारम्भिक नृत्य सुरु भएको मानिन्छ । बनमालाहरुलाई सिद्धि थाप्ने विधानका क्रममा नवदुर्गा मन्दिरका पुजारी कर्माचार्यले तीन प्रमुख बाजा खिं बाजा, तःबाजा, र कार्य बाजा तथा घुँघलाहरु नास द्यः (नृत्यनाथ) को अगाडि राखी तान्त्रिक विधिपूर्वक पूजा गर्ने प्रचलन रहेको अध्यक्ष वनमालाले बताए । नास द्यःलाई भेडाको भोग बलि दिएपछि बाजा र घ“घला प्राप्ति गरेका वनमालाहरुले नास द्यःअघितिर बाजाबजाइ नवदुर्गा नृत्य पहिलो प्रस्तुत गर्नुपर्ने प्रचलन रहेको छ ।

जापानले अमेरिकामा साढे ५ खर्ब डलर लगानी गर्ने, ४५ दिनभित्र रकम उपलब्ध गर्नुपर्ने

काठमाडौं । जापानका कर दूतले बुधबार स्पष्ट पार्दै हालै सम्पन्न जापान-अमेरिका व्यापार सम्झौताको हिस्साका रूपमा प्रस्तावित ५ खर्ब ५० अर्ब डलरको लगानी विषयमा ‘संयुक्त राज्य अमेरिकासँग कुनै विसङ्गति नरहेको’ जानकारी दिए ।  ह्वाइट हाउसका अनुसार उक्त सम्झौता अन्तर्गत खतरामा परेका केही भन्सार शुल्कहरू घटाइने र सोको सट्टा टोकियोले अमेरिकामा लगानी गर्नेछ । यससँगै, दक्षिण कोरियाले पनि ३ खर्ब ५० अर्ब डलर ऋण उपलब्ध गराउने सम्झौता गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान र दक्षिण कोरियाले यसलाई ‘साइनिङ बोनस’ का रूपमा अग्रिम उपलब्ध गराउने धारणा सार्वजनिक गरेका छन् । तर, अमेरिका-जापानबीच भएको समझदारी ज्ञापनपत्र (एमओयु) मा तत्काल भुक्तानीको प्रावधान नभई ‘समय-समयमा’ रकम उपलब्ध गराइने उल्लेख गरिएको छ । सम्झौतामा वासिङ्टनले लगानी क्षेत्र तोकेको ४५ दिनभित्र जापानले आवश्यक रकम उपलब्ध गराउनुपर्ने वा अन्यथा उच्च भन्सार शुल्कको जोखिम ब्यहोर्नुपर्ने व्यवस्था पनि छ । तर, जापानका लागि प्रमुख वार्ताकार रियोसेइ अकाजावाका अनुसार, कुल ५ खर्ब ५० अर्ब डलरमध्ये एक/दुई प्रतिशत मात्र प्रत्यक्ष लगानी हुनेछ भने बाँकी रकम ऋण तथा ऋण ग्यारेन्टीका स्वरूपमा रहनेछ । ‘वासिङ्टनले लगानी, ऋण र ऋण ग्यारेन्टीबीचको भिन्नतामा खास ध्यान दिएको छैन,’ उनले भने, ‘त्यहाँ कुनै विसङ्गति छ भन्ने म विश्वास गर्दिनँ । विसङ्गतिबाट जोगिनका लागि अमेरिकाले एमओयु प्रस्ताव गर्यो, जापानले त्यसको जवाफ दियो र त्यसमा हस्ताक्षर भयो ।’ दूत अकाजावाले भने, ‘समझदारी ज्ञापनपत्र कुनै अन्तर्राष्ट्रिय सन्धि होइन, न त यो कानूनी रूपमा बाध्यकारी हुन्छ । यो त एक प्रशासनिक कागजात मात्र हो जसले साझा बुझाइ र समझदारीलाई अभिव्यक्त गर्दछ, जुन दुवै पक्षबीच विद्यमान छ भन्नेमा म पूर्ण विश्वस्त छु ।’

भारतको मेट्रो रेल परियोजनाको लागि एडीबीले स्वीकृति गर्यो १९० मिलियन अमेरिकी डलर ऋण

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले भारतमा इन्दौर मेट्रो रेल परियोजनाको निर्माणका लागि १९० मिलियन अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।  यस परियोजनामा इन्दौरको अत्यधिक मानविय चाप भएको क्षेत्रलाई विमानस्थलसँग जोड्ने ७ वटा स्टेसन सहित ८.६२ किमी स्थलगत मेट्रो लाइन निर्माण गरिएको थियो ।  मेट्रो लाइनले ग्रीन हाउस ग्याँस उत्सर्जनलाई वार्षिक रूपमा अनुमानित १२ हजार ४१४ टन कार्बन डाइअक्साइड घटाउने र भारतमा हावाको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ । यस पहलमा सेवाहरूसँग बहुआयामिक एकीकरण, शैक्षिक संस्था र बजारमा पहुँच सुधार गर्ने लगायतका प्रयास समावेश गरिएको छ । मेट्रो, विमानस्थल, रेलवे र बस प्रणालीहरू बिचको सम्न्वयात्मक कार्यलाई अनुकूलन गर्न बहुआयामिक एकीकरण अध्ययन पनि गरिने जनाइएको छ ।  सन् २०३० जनवरी सम्ममा सञ्चालन सुरु हुने अपेक्षा गरिएको यस परियोजनालाइ मध्य प्रदेश मेट्रो रेल कर्पोरेसन लिमिटेडले सञ्चालन गर्ने जनाइएको छ ।

आईएमएफले स्वीकृत गर्‍यो ईसीएफको ऋण सुविधा, ४ करोड अमेरिकी डलर पाउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित ऋण सुविधा (ईसीएफ) को किस्ता स्वीकृत गरेको छ । आईएमएफको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे छैटौं समीक्षा गर्दै विस्तारित ऋण सुविधा स्वीकृत गरेको हो । अर्थमन्त्री रामेश्वर खनालका अनुसार आईएमएफको विस्तारित ऋण सुविधा अन्तर्गतको छैटौं समीक्षा सफलतापूर्वक सम्पन्न भएको हो ।  अर्थमन्त्री खनालले आईएमएफ बोर्ड बैठकले नेपालको ईसीएफ छैटौं समीक्षालाई अनुमोदन गरेको जनाए ।  यस स्वीकृतिसँगै नेपालले ईसीएफ कार्यक्रम अन्तर्गत ४ करोड अमेरिकी डलर बराबर वित्तीय सहयोग प्राप्त गर्ने बाटो खुलेको हो । 

विशेष कृषि मौसम बुलेटिनः बालीनालीको उचित व्यवस्थापन गर्न सुझाव

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ ।  जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी/अति भारी वर्षाको समयमा कृषि कर्म गर्दा ध्यान दिन अनुरोध गरिएको छ ।  कृषि मौसम विद् रामेश्वर रिमालले यस समयमा किसानले विशेष ध्यान दिनसके बालीनाली जोगाउन सकिने र त्यसका लागि हालै जारी बुलेटिनलाई ध्यान दिन अनुरोध गरे ।  उनका अनुसार जारी बुलेटिनमा मनसुन सक्रिय रहने समयमा तरकारी बाली, फलफूल बगैँचा तथा पाक्न लागेका धान खेतमा पानी निकासको उचित व्यवस्था गर्न, विषादी छर्कने कार्य रोक्न, नदी, खोला छेउका संरचनाहरू बाढीको जोखिममा पर्नसक्ने हुनाले सम्भव भएसम्म भण्डारणमा रहेका तथा अन्य सामग्री सुरक्षित स्थानमा व्यवस्थापन गर्न भनिएको छ ।  यस्तै, जल तथा मौसम विज्ञान विभागबाट जारी हुने तीन दिने मौसम पूर्वानुमान बुलेटिन अध्ययन गरी सोहीअनुसार व्यवस्थापन गर्न, आगामी असोज १७-१९ सम्म मनसुन सक्रिय रहने देखिएकाले धानबालीमा हुने सम्भावित क्षति न्यूनीकरणका लागि पानीको निवास, धान नकाट्न, काटेको भए भित्र्याइहाल्न, अग्लो ठाउँमा भण्डारण गर्न, विभिन्न तरकारी बालीको नर्सरीमा पानी जमेर बेर्ना कुहिन सक्ने भएकाले पानी निकासको प्रबन्ध गर्न पनि अनुरोध गरिएको छ ।  बर्सातको समयमा मौरीलाई चरन क्षेत्रको कमी हुने भएकाले चिनी चास्नी बनाएर खुवाउन, पशुबस्तुलाई पानीमा भिज्ने गरी नराख्न, दानालाई सफा र ओभानो ठाउँमा भण्डारण गर्न, भिजेका र बाढी पसेका स्थानका घाँस, पराल, दाना वा अन्न नखुवाउन पनि अनुरोध गरिएको छ । यस्तो अवस्थामा पशुबस्तुलाई पाचन प्रणाली र पाचन प्रणाली जन्य रोगका लक्षण देखिन सक्ने हुँदा त्यसबारे चनाखो भई अनुगमन गर्न पनि भनिएको छ ।  ‘चिसो ठाउँमा भण्डारण गरेको दानामा ढुसीको सङ्क्रमण हुनसक्छ, जसले गर्दा पशुबस्तुको पाउनु साथै विष उत्पन्न भई पशुबस्तु मर्न सक्दछ । तसर्थ कुहिएको दाना वा परालमा ढुसीका प्रजाति हुनसक्छन्, जसले दीर्घकालीन रूपमा पशु र मानिसलाई क्यान्सर गराउन सक्दछ,’ बुलेटिनमा भनिएको छ । खोर चिसो र हिलो भएको अवस्थामा कुखुरामा जुम्रा, सुलसुलेजस्ता बाह्य परजीवीको समस्या देखिने हुँदा दैनिक रूपमा खोरको अनुगमन गर्न, परजीवी देखिएमा दक्ष प्राविधिकको सल्लाह लिन, माछा पोखरीमा धमिलो पानी मिसिन नदिन माछापोखरीको निकासद्वारमा माछाको ‘साइज’अनुसारको जाली राखी निकासको उचित व्यवस्था गर्न पनि अनुरोध गरिएको छ । मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले आज पनि देशभर बदली रहेको र शुक्रबारदेखि भने न्यून चापीय प्रणालीका कारण देशका धेरै ठाउँमा भारीदेखि अतिभारीसम्म वर्षा हुने जानकारी गराइसकेकाले सोहीअनुसार सतर्कता अपनाउन आग्रह गरे । 

जीवित देवी कुमारीले सर्वसाधारणलाई दशमीको टीका लगाइदिने

काठमाडौं । कुमारी आर्यताराले सर्वसाधारणलाई दशमीमा टिका लगाइदिने भएकी छिन् । महानवमीको रातमा जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन गराएपछि सर्वसाधारणलाई दशमीको टीका ११ बजेपछि लगाउने कार्यसूची रहेको हनुमान ढोकास्थित कुमारी घर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिए ।  जीवित देवी कुमारीलाई विशेष शक्ति प्राप्त हुने विश्वासका साथ महानवमीको मध्यरातमा तलेजु भवानीको दर्शन गराइने प्रचलन छ । भवानीको प्रतीकका रूपमा कुमारीलाई सम्मान गरिन्छ । नवमीको रातमा पनि मूलचोक नजिकै पूजाआजाका क्रममा ५४ बोका र ५४ राँगाको बलि दिने प्रचलन छ । गएराति कालरात्रिमा समेत पशु बलि दिइएको हो । यसरी तलेजुको पूजाआजा गर्दा राज्य सञ्चालनका लागि शक्ति प्राप्त गर्ने सङ्कल्पसहित धार्मिक गतिविधि गरिँदै आएको छ ।